Friday, July 1, 2016

साहेबको 'टाढाको घर'



सन् १९५० को दशकमा खोलिएका होटलको सुरुवाती कथा हो यो लेख । त्यति बेलाका एक पात्र बोरिस लिसानेभिचले राणा दरवारलाई प्रयोग गरेर कसरी होटल खोले, उनको योगदान र दुखबारेको वयान छ यहाँ । सन् १९६६ मा फ्रान्सेली नृवंशशास्त्री माइकल पिसेलले तयार पारेको टाइगर फर ब्रेकफास्टमा 'अलग तर प्राकृतिक काठमाडौँ'मा यूरोपेली र अमेरिकी मध्यमवर्गिय नागरिकलाई प्रवेश गराउने युक्रेनी (रसियन) बोरिस केन्द्रीय पात्र छन् । बोरिसको होटलमा ६ महिना बसेर उनको १२ वर्षको अनुभवलाई पिसेलले मानवशास्त्रिय खजाना बनाएका छन् । पिसेलबाहेक पुरुषोत्तम शमशेर जबरा, प्रभाकर शमशेर राणा, सुवोध राणा, नरेन्द्र कायस्थ, किसन उपाध्याय तथा न्यूयोर्क टाइम्सका रिपोर्ट पनि यो लेखका थप घुड्का हुन् ।




भुटान, तिब्बततिर हान्निन नपाएका पिसेल कालिम्पोङ्गमा अल्मलिँदा काठमाडौँतिर उक्लिने योजना बनाए । उपत्यका छिरेपछि सीधै रोयल होटल पुगे । उनी लेख्छन्,  त्यहाँ स्वागत गर्न सेवकहरु बाहेक बोरिस पनि आइपुगे । आयातकार तर अनौठो होटल देखेर पिसेलले बोरिसलाई सोधे, 'यहाँ बस्न कति महँगो छ ?' बोरिसले भने, 'बस तर पैसासँग नडराउ' । यो उनको टाढाको आतिथ्यता थियो ।

       'इसिएस' म्यागेजिनसँगको कुराकानीमा हानसनले रोयल होटल अघि खोलिएको स्नो भ्यू होटलको नारा 'तपाईँको टाढाको घर' भएको बताएका छन् । उनी स्नो भ्यूका सञ्चालक टोम मेन्डिसका सौतेला छोरा हुन् । बर्मामा जन्मिएका भारतिय मुलका मेन्डिसले लाजिम्पाट(हालको महागुठी)सँगै सन् १९५४ मै होटल स्नो भ्यू सुरु गरेका थिए । किसन उपाध्यायले आफ्नो पुस्तक दि लास्ट अरेन्ज अ लस्ट एण्ड फाउण्ड मेम्वायर (सन् २०१२)मा नरशमशेर राणाले उनलाई होटल खोल्न नेपाल बोलाएका थिए भनेका छन् । यो होटलको पक्ष अनुसन्धेय छ । 

       सन् १९०५ मा जन्मेका बोरिस १९ वर्षको उमेरमा बोल्सेभिकले सत्ता लिएपछि युक्रेन छाडेका थिए । भागेर रुमानिया हुँदै फ्रान्स पुगेका उनले नतर्कको काम पनि पाए । त्यही नतर्की जीवन बोरिसको लागि पूर्वीय समाज बुझ्ने एउटा बाटो बन्यो । उनी सन् १९३३ मा दक्षिण-पूर्वी एसियामा उपनिवेश जमाएका शासकको मनोरञ्जनको निम्ति मुम्बई आएका थिए । त्यति बेला इन्डियाका ठूलठूला होटलमा फजुल खर्च गर्न युरोपियन र अमेरिकन आउँथे । बोरिस र उनको पहिलो पत्नी किरा धनी ग्राहकको लागि नाचेर मनोरञ्जन दिए । मुम्बई टेकेपनि उनले धेरैजसो समय कलकत्तामै विताए । सुवोध राणाले आफ्नो ब्लगमा लेखेअनुसार यहि क्रममा त्यति बेला उनले कलकत्ताका ३ सय इलिटलाई सदस्य बनाई 'क्लब ३००' खोलेका थिए । लण्डनको 'क्लब ४००' जस्तै । तत्कालिन राजा त्रिभुवन कलकत्तामा रहेको 'क्लब ३००' मा सन् १९४४ मा पहिलो पटक जाँदा बोरिसले केही पुस्तक र बस्तुहरु उपहार दिएका पनि थिए । यसरी कलकत्तामै उनले नेपालका भविष्य(राणाशासन पछि)का नेतासँग सम्बन्ध बढाएको देखिन्छ ।

       सन् १९५४ मा बोरिसलाई होटल खोल्न अनुमति दिइएको दरबारको बारेमा पुरुषोत्तम शमशेरले लेखेका छन्, "दरबार सिलन्यास हालको वीर अस्पताल रहेको स्थानमा गरिएको थियो । तर त्यो स्थान शहर/बजारको नजिक रहेकाले निर्माण स्थगित गरियो ।" र जमलको पश्चिमपट्टि वीरशमशेरले चारबुर्जा दरबार स्थापना गराएका थिए । मुगालको परम्पराजस्तै । दरबारको छानोमा ४ ओटा मिनार(बुर्जा)हरु राखिएकाले यसलाई चारबुर्जा दरबार भनिएको हो । यसमा साढे २ महिना बसेर चन्द्रशमशेरले राजकाज पनि गरेका थिए ।

       वीरशमशेरकी कान्छी महारानी तोपकुमारी देवीका छोरा रुद्रशमशेरलाई जुद्धशमशेरले पदमुक्त गरी पाल्पा पठाएपछि आफ्ना माहिला छोरा बहादुरशमशेरलाई दरबार दिए । त्यसैले यसलाई बहादुर भवन पनि भनिन्छ । २००७ सालपछि तिनै बहादुर शमशेरले १८ लाख रुपैँयामा त्रिभुवनका कान्छा छोरा बसुन्धरालाई बेचे । होटल सञ्चालन हुँदा समेत बहादुर शमशेर त्यो होटलका ४/५ ओटा कोठा प्रयोग गरी बस्थे । पुरुषोत्तमका अनुसार पछि १८ लाख फर्काई ४० लाखमा बेच्न खोजेकाले बसुन्धराले उनलाई त्यहाँबाट हटाए ।

       यो चारबुर्जा दरबारमा रहेको रोयल होटलले सन् १९५० र १९६० को दशकमा विश्वका ठूलठूला कम्पनीका पर्वतारोहीलाई आश्रय दिएको थियो । यहाँ वृटिश सेनाका अफिसर, प्रख्यात आरोहीहरु बसे । रसियन अन्तरिक्ष यात्री भेलेन्टिना तेरेस्कोभा हनिमुन मनाउन यही बसेकी थिइन् । यस्तै कथा स्नो भ्यू होटलबारेमा पनि पढ्न पाइन्छ । बोरिसले अंग्रेजी बोल्न नजान्ने फ्रान्सेली र स्वीसलाई पनि पर्वतारोहणमा धेरै सघाए । रोयल होटलमा आरोहीहरुले बोरिसलाई चुचुराका ढुंगा उपहारको रुपमा बोकेर ल्याइदिन्थे । हिँउका कथा, आरोहण गर्दाका सजिलो र अप्ठ्यरा सुनाउँथे, पिसेलको वयानमा छ । पर्वतारोहणको लागि काठमाडौँ 'गेटवे'हुँदा बोरिस'साइत' बनेका थिए पश्चिमाहरुको लागि । त्यसैले उति बेला 'सगरमाथापछि दोस्रो नम्बरमा लोकप्रिय' भनिने बोरिसलाई 'नेपाली आतिथ्यसंस्कार(हस्पिटालिटी)' उद्योगका पिता पनि भनिन्छ ।

       फजुल खर्च हुने राज्याभिषेकको तयारीको बेला सन् १९५६ मा रोयल होटल विदेशीलाई चाँजोपाँजो मिलाउने हेडक्वार्टर र बोरिस त्यसका व्यस्त नायक थिए । खास गरी नेपाली भाषा नबुझ्ने विदेशी र अंग्रेजी नजान्ने नेपालीका विचमा उनी आकर्षण थिए । रातविरात खटेर काम गरे । पहाडहरुमा बोरिसले राज्याभिषेकको लागि ५० हजार कुखुरा, १०० टन चामल, लाखौँ कुखुराका अण्डा किन्दैछ भन्ने हल्ला थियो रे, पिसेलले लेखेका छन् । न्यूयोर्क टाइम्सको अप्रिल २९, १९५६ को रिपोर्टिङ्ग अनुसार बोरिसले भारतबाट ४ हजार कुखुरा, २ हजार हाँस, १३० जना सेवक र २५ हजार अण्डा मगाएका थिए । उनले राज्याभिषेकको बेला ३० ओटा वाथरुम हवाइयात्राबाट नेपाल ल्याए । टनका टनमाछा आए । त्यसको लागि ३ ओटा भाडाका जहाज पटना काठमाडौँ चलिरहन्थे । ल्याएका मध्ये आधा कुखुरा मरेकाले पहाडी गाउँहरुमा हतारमा कुखुरा खोज्न पठाइएको थियो ।

       न्यूयोर्क टाइम्सले नेपाली अधिकारीको अनुमान उद्धृत गर्दै ४०० जति विदेशी पाहुना आएको हुनसक्ने बताएको थियो । पिसेलको बयानमा राज्याभिषेकको बेला काठमाडौँमा १६० प्रेस प्रतिनिधिहरु थिए, भनिएको छ । रोयल होटलको बँगैचामा पत्रकारको लागि टेन्टका घर बनाइएका थिए । नेपाली बोल्न नजान्ने फोटोपत्रकारले काठमाडौँको संभवत: सबैभन्दा धेरै फोटो खिचे । त्यही बेला पहिलो पटक आएकी फोटो पत्रकार हान स्वयेनले काठमाडौँ पटक पटक आइ 'द माउन्टेन इज योङ्ग' भन्ने प्रख्यात पुस्तक लेखिन् । राज्याभिषेकमा आएका विदेशी अध्ययनकर्ता, अन्वेषक, पत्रकार, कलाकार, धर्म प्रचारक आदिले काठमाडौँको समाजलाई व्यापक बनायो ।

       भाषाको समस्या, वाथरुमको अभाव, अमेरिकनहरु चाइनिजसँग बस्न नरुचाउने, कतिपय विशिष्टलाई खाजा पनि नपुग्ने समस्याले बोरिसलाई सताएको थियो । त्रिभुवनको पालामा व्रिटिश रेजिडेन्ट र ५ जना अरु विदेशीहरु थिए । महेन्द्रको पालोमा त्यति ठूलो संख्यामा विदेशीले राज्याभिषेक हेरेको पहिलो थियो । बोरिसले सन् १९६१ मा भएको बेलायती महारानी एलिजावेथको भ्रमणको बेला पनि हङकङमा १० दिन विताइ ४८ टन समान नेपाल भित्राएका थिए । त्यसमा खाना मात्र थिएन । फ्रिजर, क्याम्पमा प्रयोग गर्ने स्टोभ, कुर्ची थिए । त्यो बेला कम्तिमा  ३७६ ओटा हात्ती चितवनको सौराहमा तैनाथ भए । सबै विदेशीको लागि हात्तिहरु थिए । १० ओटा हात्ती पत्रकारको लागि छुट्टाइएको थियो । महेन्द्रको राज्याभिषेक र एलिजावेथ भ्रमणले पनि धेरै विदेशी भित्राएको र नेपालबारे विदेशमा प्रचार हुन सघाएको देखिन्छ ।

       पिसेलले लेखेका छन्, ५५ वर्षका बोरिस ४५ वर्षका जस्ता देखिन्थे । उनी निकै जोशिला मानिस थिए । कामले नथाक्ने । बोरिसले रोयल होटलमा स्ट्रबेरी रोपेका थिए । उनले त्यति बेला होटलको गार्डेनमा तरकारी खेति पनि गरेका थिए । उनले नेपालमा गाजर, चुकन्दर, पालुङ्गो, सलादमा राखिने साग, स्ट्रबेरी आदिलाई परिचित गराए । बोरिसले हप्तान्त विताउन इचङ्गु नारायणमा पनि घर बनाए र बुङ्गुर पनि पालेका थिए ।

       त्यति बेला सेता कपडा र कालो टोपी लगाएका सेवकलाई बोरिसले विदेशीसँग बोल्ने र व्यवहार गर्ने तथा हात धुने विषयमा पनि सिकाउँथे । होटलमा सेवा दिनेमा काठमाडौँ र यस वरिपरीबाट तामाङ युवतीहरु पनि हुन्थे । उनीहरुले होटलको लागि विहानै दाउरा लिएर आउँथे । पैसा कुरेर बसिरहेका युवतीहरुलाई पिसेलले आफू बस्ने कोठाबाट देख्थे । कागजका नोटमा विश्वास नभएकाले सिक्का नै लिएर जान्थे । केही युवाहरु दाउरा चिर्न बस्थे । कसैले दाउरा ल्याउँथे । एउटा गईसकेपछि होटलमा अर्को समुह आउँथ्यो । कोही शिल्पी समुदायका हुन्थे । कोही अरुहरु हुन्थे । उनीहरुले आफ्नो सानो शोकेशमा सामान राखेर विक्रीको लागि बस्थे ।

       पानी पिउने गिलास, चक्कु, चम्चा काँटा जस्ता चिज काठमाडौँको बजारले होटललाई ढुवानी गर्न सिके । किचन र बेडमा चाहिने ससाना चिजबारे काठमाडौँको व्यापारीहरुलाई ज्ञान भयो । बोरिसले नै नेपालमा पहिलो पटक रसियन शैलीले केक बनाएका थिए । त्यसमा १० जनालाई काम पनि लगाएका थिए । एक अज्ञात टिप्पणीकारले सुवोध राणाद्वारा रोयल होटलबारे लेखिएको लेखको प्रतिक्रियामा त्यति बेला एक स्लाइस फ्रुट केक र कप चियाको ३ रुपैँया ५० पैसा पर्ने बताएका छन् ।

       बोरिसलाई बोरिङ लाग्ने पक्ष भनेको त्यति बेला होटल र पाहुनाको लागि काठमाडौँमा भैँसीको बाहेक मासु नपाइनु, चिठीपत्र पठाउन भारतीय दुतावासमा भरपर्नु इत्यादि थिए । नेपालको जातीय समस्या होटल व्यावसायमा पनि देखिन्थ्यो । कुचो लगाउने, किचनमा काम गर्ने मानिसका छुट्टाछुट्टै जात हुने र एकले अर्काको काम नगर्ने समस्या थियो । जस्तो कुचो लगाउने किचनमा नजाने, किचनकोले कुचो नलाउने आदि ।

       सन् १९५६ मा महेन्द्रको राज्याभिषेक अघि बोरिस साढे २ महिना जेल परेका थिए । कर नतिरेको कारणले । पिसेलको वयानअनुसार भारतको कुचविहारमा आफूले खोलेको डिस्टिलरीबाट सर्जाम ल्याई विराटनगरमा रक्सी उद्योग पनि खोलेका थिए । यो कारखाना खुलेपछि ४५० पसल यसका विक्रेता थिए । विभिन्न फलफुलको स्वाद आउने गैँडा, बाघ, चितुवा नामका रक्सी यिनले उत्पादन गरेका थिए । यो डिस्टिलरी उद्योगले त्यहाँका १२ सय रक्सी बेच्ने पसललाई धरापमा पारेको थियो । पछि स्थानियको विरोधबाट सरकारले यसको लाइसेन्स खारेज गर्यो । एक लाख ७५ हजार रुपैयाँ पनि सरकारले माग्यो । त्यो झोँकमा बोरिसले पैसा दिएनन् । बरु डिल्लीबजार सदरखोरमा बसे । नेपालको इतिहासमै एक विदेशी पाहुनालाई जेलखानमा हालियो । बोरिसको सम्झनाको बयान गर्दै पिसेल लेख्छन्, "डिल्लीबजारको सदरखोरमा उनलाई हेर्न सर्वसाधरण आउँथे । त्यति बेला बोरिसले आफूलाई चिडियाघरको बाँदरझैँ सम्झन्थे । अभिभावकले बच्चालाई काँधमा राखेर बोरिसलाई देखाउँथे ।" साढे २ महिना जेल बसेका उनलाई महेन्द्रको राज्याभिषेक समारोहमा आवश्यकता देखेर मुक्त गरिएको थियो ।

       सन् १९७६ मा न्युयोर्क टाइम्सका पत्रकारको उत्तरमा बोरिसले, "रोयल होटलमा १४० कोठा भएपनि त्यहाँ २/३ ओटामात्र वाथरुम भएकाले होटल बन्द गरेर याक एण्ड यति(सन् १९६५) खोलेको" बताएका छन् । तर पनि यो पक्षका अरु पाटा अनुसन्धेय छ । विदेशीको प्रवाह बढ्दै जाँदा पूराना भवनले नथेग्ने अवस्था आयो । उच्च वर्गीय विदेशीको लागि आधुनिक भवनको आवश्यकता थियो । नरेन्द्र कायस्थले सन् १९८५ मा तयार पारेको 'इम्प्लोयमेन्ट इन होटल इन्ड्स्ट्री' नामको रिपोर्टमा तेस्रो योजना अवधि(सन् १९६५-१९७०)मा नेपालमा थुप्रै होटलहरु खोलेको बताएका छन् । त्यति बेला ऋण, करमा सरकारले छुट दिएको थियो । २०१३ सालमा स्थापना भएको 'औद्योगिक विकास केन्द्र'मा युएसएआइडीको सहयोग भित्रिएपछि २०१६ सालमा 'औद्योगिक विकास कर्पोरेसन' भयो । यसले ऋण दिएकाले पनि सन् १९६५ मा सोल्टी होटल खोल्नको लागि सहायक भयो । त्यसै गरी १९६६ मा डेल अन्नपूर्ण खुल्यो । यी होटलहरु उच्च वर्गका टुरिस्टको लागि खोलिएको थियो । हाल यो उद्योग ठूलो लगानी र रोजगारको माध्यम हो ।

अन्तमा
नेपाली समाजको लागि होटल भनेको के हो ? यसले के माने दिन्छ ? भन्ने विश्लेषण पक्ष बाँकी नै छ । खास सन्दर्भ र प्रयासले सन् १९५० को दशक ब्रिटिश राजका 'साहेव'लाई नेपाल आकर्षण बनेको देखिन्छ । तिब्बत र भूटानतिर जान नपाएका मध्यमवर्गीय पश्चिमालीलाई त्यति बेला काठमाडौँमा खुलेका होटलले 'टाढाको घर'को अनुभूति दिलाए । यस बेला खुलेका होटलले पर्यटन सँगसँगै वस्तु प्रवेश र प्रयोगको हिसावमा पनि महत्त्वपूर्ण योगदान दिए ।

यो लेख २०७३ असार १८ अर्थात् २४ जुन २०१६ मा कान्तिपुर कोसेली, ृष्ठ ख मा प्रकाशित भएको थियो ।