Saturday, May 7, 2016

समयको सूईमा घडी

उदाउन र अस्ताउन लागेको सूर्य, डाँडामाथिका जून, तीनतारा, कुखुराको डाँको र छायाँहरु नै थिए गाउँलेहरुले समय पत्ता लगाउने घडि । “खास गरेर ठूला जहानका बुहारी र परदेश लागेका बटुवालाई रात दिन नछुट्टिँदैमा उठी काम थाल्न अथवा बाटो लाग्न हतपत पर्दा पूर्वतर्फ उदाएका तीनताराले आजकल नाडीमा बाँधेको घडिले जस्तो काम दिन्थे । कारण जति रात छिप्पिँदै गयो, ती तीनतारा उति पर पुगेको जस्तो देखिन्थे ।” ६८ वर्षको उमेरमा भीमबहादुर पाँडेले २०३८ सालमा प्रकाशन गरेको पुस्तक त्यसबखतको नेपालमा लेखेका छन् ।


विशालबजारमा रहेको घडी मर्मत केन्द्रमा राखिएको घडी । यो घडी कलकत्ताबाट ल्याइएको हो ।
  घरबाट काम गर्न निस्केका गाउँलेले रुख र पहाडको छायाँबाट दिन वितेको थाहा पाउँथे, खेतारीहरुले काम सक्थे, गोठाले गाई फर्काउँथे । घाम यति टगालो आयो र अझ उति टगालो बाँकी छ भन्ने अन्दाजैअन्दाजबाट गाउँलेको दैनिक कार्यक्रम चल्दथ्यो । उ बेला गाउँघरमा मानिसहरु “पानीघडि कै भरमा लगन गाँठो बधाउँथे, जन्म–कुन्डली बनाउँथे, छेवर ब्रतबन्ध हुन्थ्यो, साइत सार्दथे र घरको जग हाल्दथे । गाउँपिच्छे पानीघडि हुन्थे यस्तै विशेष अवस्थामा काम लिन ।” पाँडेले लेखेका छन् । तामाबाट बनाइएको प्याला आकारको घडालाई कुनै अनुभवी मानिसले बनाउँथे र यसमा सरकारद्वारा मान्यता प्राप्त छाप लगाउनु पर्दथ्यो । यसमा एक सानो प्वाल हुन्थ्यो र भाँडाभरी हालेको पानी जुन बेला निथ्रन्छ त्यसलाई एकघडि मान्ने गरिन्थ्यो ।
गाउँमा सूर्यनारायणको गति
सूर्यनारायणको गति र छायाँबाहेक तत्कालिन समयमा ज्योतिषीहरु समय र साइतका स्वरुप थिए । बाइसे चौविसे राज्य आक्रमण गर्नलाई बहादुर शाहले १८३५ सालमा आफ्नो फौजसित ज्योतिष रहनुपर्ने भएकाले कालु पाँडेका माइला छोरा नवयुवक ज्योतिषी लक्ष्मीपतिलाई लिएर हिँडेका थिए । प्रसिद्ध इतिहासकार नयराज पन्त र अरुहरुले २०६४ सालमा प्रकाशित गरेको दैवज्ञशिरोमणि लक्ष्मीपति पाँडेको धूपघडि नामक पुस्तकमा उल्लेख भएअनुसार त्यो बेला लक्ष्मीपतिले महिना, गते, बार, तिथि, घडि, पला, नक्षत्र हेर्दै हिँडेका थिए । गुल्मी, अर्घा, खाँची राज्यहरु कहिले गल्लान् भनेर विचार गरेका लक्ष्मीपतिले त्यसबाट प्राप्त कुराहरु संक्षेपमा पात्रोमा टिपेका छन् । 
लडाईँमा हिडेका यी ज्योतिषहरुले कपडा कात्ने, सिउने, धान, पात, दही, माछा, उखु, साग, चोखीमाटी ल्याउने, मंगलकर्म थाल्ने साइत हेर्थे । सामाजिक तहमा राजज्योतिषको सिको गर्दै सामाजिक ज्योतिष पनि उत्पन्न हुँदै गए । अझैपनि गाउँघरमा घर बनाउने काठ काट्न, बाँस काट्न, परदेश जानुपर्दा ज्योतिषकहाँ पुगेर साइत हेर्ने चलन छ ।
काठमाडौँका सर्वसाधरण पनि आफ्नो शुभ मुहुर्तको लागि हनुमानढोकाका ज्योतिषकहाँ पुग्थे । मखनटोलका ओजमानसिंह श्रेष्ठका अनुसार हनुमानढोका वरिपरीका मानिसहरु बच्चा जन्मिँदावित्तिकै उसको धर्को(कुण्डली) बनाउन हनुमानढोका आउँथे । बच्चाको बाबु वा घरको कोही मान्छे जन्मेपछिको चाल गन्दै हनुमानढोकासम्म पुग्थे । त्यहाँ रहेका ज्योतिषले “कति पाइला हिँडेर आयौ”  भनी सोध्थे । त्यही चालको आधारमा ज्योतिषले धर्को बनाइदिन्थे ।
यी मध्ये केही महाज्योतिषले घडिका स्वरुप पनि बनाएका थिए । सर्वसाधरणका पहुँचबाट टाढै हुने यस्ता घडिमा प्रताप मल्लको समयताका ढुंगामा कुँदिएको धूपघडि(Sun Dial)बारे माथि उल्लेखित पुस्तकमा लेखिएको छ । यो स्वयम्भूमा भेटिएको थियो । वि.सं. १८४७ जेष्ठशुक्ल पूर्णिमामा बनाएको यो धूपघडि अहिले छाउनीको संग्रहालयमा छ ।
त्रिचन्द्र कलेज घण्टाघरको छेवैमा पनि एउटा धूपघडि अझै छ । तुलसी रोप्ने मैरी आकारको यो धूपघडिलाई तत्कालिन राणा शासक श्री ३ चन्द्रशमशेरले बेलायती प्राविधिकलाई बनाउन लगाएका थिए । यो धूपघडिमा अंग्रेजीमा लेखिएको वाक्यलाई नयनराज र अरुहरुले यसरी अनुवाद गरेका छन्, “श्री ३ महाराज चन्द्रशमसेर जबराबाट वि.सं. १९६८ मा तयार गराइएको बेलायतका विज्ञान विषयका यन्त्रनिर्माता बार्करले बनाएको काठमाडौँको धूपघडि हो यो ।” यो धूपघडिको छेवैमा ठूलो घण्टाघर पनि छ । त्रिचन्द्र परिसरमा रहेको घण्टाघरको सानो कथांश यस्तो छ ।
सन् १९९०को भूइँचालोपछि निर्माण गरिएको घण्टाघर
श्री ३ वीरशमशेरले आफ्ना चार– हिटी, लाल, फोहरा र सेतो दरबारमा सजाउन बेलायतबाट ४ विशाल घडि मगाएका थिए । एक आपसमा जोडिएका यी घडि स्थापनाको लागि घण्टाघर निर्माण गरिएको तथ्य देखिएको छ । यूरोपमा पनि यस्ता धूपघडी वा घण्टाघर कलेजकै परिसरमा हुने हुनाले राणाहरुले पनि त्रिचन्द्र कलेज परिसरलाई रोजेको होलान् । तस्बिरमा नेपाल नामक फेसबुक पेजमा लेखिएअनुसार लण्डनको ‘विग वेन’ घण्टीसँग तुलना गरिएको घण्टाघरको घडिको आवाज सो समय १ सय फिट माथिसम्म सुनिन्थ्यो । पश्चिमी मुलुकमा देखिएको संरचनाबाट प्रभावित भएर वि.सं. १९५१ मा निर्माण भएको यस भवनका लागि इञ्जिनियरद्वय कुमार नरसिंह र किशोर नरसिंह राणालाई जापानमा तालिमका लागि पठाइएको थियो । घण्टाघर निर्माण पछि टुँडिखेलमा सिपाहीले तोप पड्काउनु अघि दुरविनबाट हेरेर घण्टाघरको समय अनुसार तोप पड्काइने प्रचलन पनि सुरु भयो । घण्टाघर तयार भएपछि वीरशमशेरबाट भवनको एक भागलाई वीर पुस्तकालयको रुपमा पनि विकास गरेका थिए । १९९० सालमा आएको ठूलो भूकम्पले पूर्ण रुपमा ध्वस्त भएपछि नयाँ डिजाइनमा हालको अवस्थामा घण्टाघर पुनर्निर्माण गरिएको हो । 

पछिल्लो इतिहास
दोस्रो विश्वयुद्ध पछिको समयमा नेपालमा सर्वसाधरणका हातमा घडि झुण्डिन थाले । सबैभन्दा पहिले स्वीस घडि आएको देखिन्छ । स्वीस कम्पनी ‘वेस्ट इन्ड वाच’ले पहिलो विश्वयुद्धमा बेलायतीको तर्फबाट लडेका सिपाहीलाई घडि बनाइदिएको र उनीहरुले नै नेपालमा घडी बानेर आए । पछि आफ्नो व्यावसायको लागि सन् १९८० को दशकमा वेस्ट इन्ड वाचले एशियाका १८ देशमा यसको व्यापार गरेको थियो । काठमाडौँको विशालबजार नजिकै शुक्रपथमा रहेको ‘रत्न ट्रेडर’ अथवा ‘सेतो घर’मा यसको पहिलो विक्री तथा सेवा प्रदान गर्ने केन्द्र रहेको छ । जसलाई वरिपरीका स्थानीयहरु ‘ग्रेटवारका घडि विक्री गर्ने पसल’ पनि भनेर चिन्छन् ।
विशालबजार नजिकै सेतो घरमा रहेको रत्न ट्रेडर अर्थात् ग्रेटवारका घडी बेच्ने पसल
स्वीसपछि नेपाली बजारमा जापानी घडिले बजार पिटेका थिए । यी घडीहरु नेपालमा भित्राउने लाहुरेहरु नै हुन् । अमिर राईले घडिबारेको संस्मरणमा लेखेका छन्, “लाहुरेको घना बस्ती भएको शहर धरानमा त सबैको हातमा प्राय ‘सेइको फाइभ’ घडि हुने गर्थ्यो ।” विदेशबाट आफन्तजनलाई ल्याइदिने उपहारको रुपमा । यस्ता घडि लगाउने मानिसको समाजमा छुट्टै पहिचान हुन्थ्यो । जस्तै ‘घडि मास्टर’ । बच्चाहरुलाई स्कूलमा राम्रो पढेमा उनीहरुको अभिभावकले घडिको कल्पना देखाइदिन्थे । फर्स्ट भएमा अभिभावकले घडि किनिदिन्छु भन्थे । हातमा घडि भएकाले सुरुसुरुमा त छिनछिनमा घडि हेर्थे । बाटो हिंड्दा कसैले ‘कति बज्यो’ भनेर सोध्छन कि भनेर हेर्ने, घडि बाँधेकोले देब्रे हात झड्काउने, ‘सवा, साँढे, पउने’ जोडेर समय भन्ने बानी पछिसम्म थियो । 
नेपालमा पनि बाँसबारी छालजुत्ता, ट्रली बस, याक चुरोट कारखाना हुनेताका नेपालमै बनेको डोल्मा घडिको पनि उत्पादन हुन्थ्यो । संभवत विदेशबाट सामान ल्याएर नेपालमा जोडजाड गरी । त्यति बेला रेडियो नेपालले यसको विज्ञापन बजाउँथ्यो । “‘नेपालमा बनेको डोल्मा घडि, ठीक समय दिने डोल्मा घडि, बलियो भरपर्दो डोल्मा घडि’ भन्ने विज्ञापन प्रत्येक साँझ ९ बजे रेडियो नेपालमा बज्ने गथ्र्याे ।” राईले लेखेका छन् । उनकाअनुसार त्यस बेला पनि नेपालमा बनेको हुनाले यसलाई खिसी नै गरिन्थ्यो । खास गरी लाहुरेहरु भएको वस्तीमा । यो समाजमा कसैको घडिले एक्युरेट समय नदिए कि त्यसले ‘आलु घडि’ कि ‘डोल्मा घडि’ को संज्ञा पाउने गर्थ्यो । तर लाहुरेबाहेकको समाजमा भने अर्कै कल्पना थियो । त्यति बेला रेडियो नेपालले घडिको विज्ञापन बजाउँदा मानिसले त्यो डोल्मा घडि भयंकर होला भन्ने कल्पना पनि गर्थे । किनकी विज्ञापन दिँदा नै ट्वाङ्ग...ट्वाङ्ग...ट्वाङ्ग आवाज बजाउँथ्यो । शिवानीसिंह थारुले डोल्मा घडिबारे आफ्नो संस्मरण यसरी लेखेकी छन्, “ट्वाङ्ग...ट्वाङ्ग...ट्वाङ्ग... ‘डोल्मा घडि !’ अर्को विज्ञापन । त्यही जमानामा सुन्दा डोल्मा घडि कत्रो होला भन्ने लाग्थ्यो ।” 
स्वीस, जापानी, नेपालमा जोडजाड गरी बनाइएको घडिपछि चिनियाँ घडिले हरेक प्रकारका घडिको ब्यापारलाई प्रभाव पारेको र सर्वसाधरणको पहुँचमा पुराएको छ । किनभने २०४० सालको दशकदेखि नै सस्तो खालको चाइनिज घडि खासाका व्यापारीमार्फत सर्वसाधरणमाझ आउन थालेका हुन् । 

अन्तमा
नेपाली समाजमा सूर्यको गतिबाट अनुमान गरेर दैनिकी चलाउने समय अझै पनि बुढापाकामा धिपधिपे अवस्थामा छ । ल्यापटप, मोबाइल जस्ता यन्त्रले घडिको पनि काम गरेका हुनाले नाडीघडि समयको भन्दापनि गहनाको रुपमा पनि प्रयोग हुन थालेको छ । मँहगो ब्राण्डका घडिहरु गहनाकै स्वरुप हुन् । त्यस्ता घडि मर्मत गर्न नै १० देखि ५० हजार रुपैँयासम्म पर्ने घडि मर्मतज्ञको भनाइले यसको पुष्टि गर्छ ।
स्वीस घडी मर्मत केन्द्रका मर्मतज्ञ
नेपालमा सर्वसाधरणबीचमा घडि भित्राउने श्रेय लाहुरेलाई जान्छ । विश्वयुद्धमा लड्न पुगेका सिपाही देखि लिएर, सिंगापुर, मलेसिया, लेबनान, भारत पुगेका लाहुरेले विभिन्न ब्राण्डका घडिहरु भित्राएका हुन् । यसको निरन्तरता अभैm छ । लाहुरे परिवारबाहेकको परिवारमा डोल्मा घडि आएपनि वि.सं. २०४० तथा २०५० को दशकतिर भारतीय र चिनीया घडिले गाउँघरका सामान्यजनको रहर पुरा गरेको हो ।

२०७३ वैशाख १५

यो लेख २०७३ वैशाख २५ को कान्तिपुर को सनिवारिय परिशिष्टांक कोसेलीमा पनि प्रकाशित छ ।

Monday, May 2, 2016

गाउँको दुख: पानी र स्कूल


डिही, अर्घाखाँचीका ५३७ गाउँमध्ये एक हो । यसको अर्थ कसैकसैले पाखोबारी त कसैले फुलवारी भनेर चिनाउँछन् । तर सधै सुख्खाराम हुँदा यसको अर्थ फुलवारी भन्नेमा मलाई हिजोआज शंका लाग्न थालेको छ । करिव सय कुरिया घरभएको गाउँमा जनसंख्या निकै पातलो छ । आधाभन्दा धेरै घर बसाईसराईको तयारीमा भएकाले गाउँमा सून्यता बढ्दै छ । 'तराइमा जग्गा' किन्ने सपना त सबैको छ । त्यहाँ तत्काल दुइओटा समस्या देखिन्थ्यो । एउटा पानी र दोस्रो स्कूल । अझ अहिले चलिरहेको खडेरीले यसका छिमेकी गाउँमा डढेलोको प्रकोप बढिरहेको छ । यस्तो सामान्यीकरण छत्रगञ्ज गाविस, जिल्ला वा छिमेकी गुल्मी, पाल्पा, स्याङ्ग्जा र प्यूठान जिल्लाकै अन्य गाउँहरुसँग गर्न सकिन्छ ।
टाकुराबाट देखिएको डिहीको माझ भाग - २०७३ वैशाख


पानी
पानी पुस्तेनी दुखको विषय हो । तर खडेरीले महादुखमा परिणत गरेको छ । गाउँलेको अनुभवमा २०३४ सालपछि २०६१ र अहिले २०७२/२०७३ सालमा खडेरी परिरहेको छ । यो खडेरीले त्यहाँको आर्थिक गतिविधि ठप्प छ । वस्तुभाउको विक्री सुस्ताएको छ । खास गरी वाख्रापालनमा जोड भएकोले किसानले वस्तुभाउलाई पानी पुराउन नसकेर विक्री गर्न चाहिरहेका छन् । तर त्यो पनि संभव भएको छैन । गाउँमा उसै त सुख्खायामको लागि खनिएका पोखरीहरुमा खडेरी नपर्दा त पानी हुँदैनथ्यो । झन् अहिलेको खडेरीले पानी हुने कुरै भएन । डिहीमा पानीको लागि ४ ओटा कुवा र एउटा खानेपानी योजना छ । सबैभन्दा धेरै पानी जम्मा हुने कुवामा १ घण्टामा १० लिटर पानी अटाउने दुईदेखि तीन ओटासम्म गाग्री भरिन्छन् । त्यसैले तरान दिएको छ । धारा २ दिन विराएर १ घण्टा आउँथ्यो । त्यो पनि पातलिँदै गएको छ । कुवा पनि सुक्दै गएकाले टाढा पुगेर पानी बोक्ने काम नै मुख्य बनेको छ ।
गाउँको एक छेउको खोल्सामा रहेको कुवाबाट पानी उवाउँदै वालवालिकाहरु- २०७३ वैशाख
       गाउँलेहरु पानीको खोजीमा रातभर कुवालाई कुर्छन् । पानी भर्छन र घरमा फर्कन्छन् । स्थानिय समाजसेवी माधव पन्थीले भने,"विदेश गएका र छोराछोरी पढाउन शहर पसेका गाउँका मानिसहरु सबै फर्कन र गोठभरी वस्तुभाउ पाल्न यही पानीको कारणले संभव छैन । बरु यहाँका बाहिर जाने हो ।" यस वर्ष खडेरीले समस्या अलि बढि भएहोला नत्र यस्तो दुख सधैँको हो । यसले गर्दा घरभित्रको सदस्य अस्थायी बसाईँसराईँ बाध्यात्मक छ । "छोराभएर जन्मेपछि देशविदेश जानुपर्छ" भनेर बुढापाकाहरु यही दुखले गर्दा सम्झाएका होलान् । गाउँमा भएका युवाहरु शहर वा विदेश पसेका आफन्तलाई 'लौ न जागिर खोजिदेउ', 'लौ न भिसा पठाइदेउ' भनेर अनुरोध गरिरहन्छन् । त्यसैले अर्घाखाँची र गुल्मीमा लाहुर र विदेश जाने चलन पुरानो हो ।


खोलाबाट पानी बोक्दै स्थानिय वासिन्दा

       राम्रो पक्ष चाहिँ गाउँमा बजार विस्तारले गर्दा अनिकाल पसेको छैन । कमाउन बाहिरिएका युवा र गाउँमा अन्धाधुन्ध विस्तार भएका सडकमा गुड्ने गाडिलेअनिकालको समस्या टारेको छ । तर विदेश वा शहरमा आफन्त नभएका र गाउँमा नै आश्रित परिवारलाई दुखले छोडेको छैन । ऋण सहि, हरेक परिवारलाई दोकानले पालेको छ । भर्खरै मलेसियाबाट फर्केका थापाचौपारीका गोपाल पाण्डेले भने "खेतिपाती र बस्तुभाउ त गर्नलाई मात्र हो, खानलाई त दोकान छँदैछ नि ।" घरघर डुल्दा खाजा पकाउनस् न भन्यो भने, चियाबाहेक अरु केही टक्र्याउन सक्ने स्थिति छैन । दोकानबाट ल्याएका चिजविजबाट बनेका परिकार नै खानुपर्ने बाध्यता छ ।



मकै छर्न ठिक्क परेका बारीहरु तर वर्षात् हुन नसकेकाले मकै छर्न सकिरहेका छैनन किसानहरु ।
       सबै भेला हुने ठाउँ, ठाँटीमा बसेर कुरा गर्ने मानिसहरु पानीबाहेक चर्चा नै गर्दैनन् । पानीका नियम, योजनाहरु बनाइरहेका हुन्छन् । कुवामा कसैले दोस्रो मानिसलाई पालो दिएमा उ अन्तिममा गएर पालो कुर्नुपर्ने जस्ता नियमबारे छलफल गरेको सुनिन्थ्यो । पालो नकुरेर ठाउँमात्र सट्टापट्टा गर्दा झगडा हुने गरेको छ । स्रोतको नजिक रहेको मानिसले पानी धेरै खायो भने बाँकी गाउँलेहरुमा छट्पटाहट हुन्छ । छिमेकी दौँघा गाउँमा त लिटरको २ रुपैँयामा पानी किनेर खाएका समाचार सुनिन्थ्यो । तर विवाह भतेरको लागि ट्यांकरमा पानी ल्याउँदा छत्रगञ्जमै पनि पानी त्यति नै महँगो बनेको छ । छिमेकी सिर्थुम गाउँका देवराज श्रेष्ठले आफूले व्यावसायिक रुपमा पालेका कुखुरा मर्छन् कि भनेर दैनिक ६ जना पँधेर्नीहरु तीनसय रुपैँयाको दरले काममा लगाएका छन् ।



चरालाई पनि पिउने पानी छैन । स्थानियले यसरी राखिदिन्छन उनीहरुलाई पिउने पानी


       फिनिडाको सहयोगमा बनेका ठूलठूला पानीका घैँटा हुनेहरु 'पानी साहु' जस्तै हुन् । यस्ता घैटा वितरण स्थानिय रुपमा यथोचित हुननसक्दा केहीघरहरु पीडित छन् । गरिबीको कारण छिमेकी गाउँका मानिसहरुले यस्ता घैँटाहरु विक्री पनि गरे । व्यक्तिगत तवरबाट पनि बनाउन सक्नेले पनि कुनै 'प्रोजेक्ट'ले बनाइदेलाकी भनेर कुरिरहेका छन् । "किनभने अरुहरुले 'फ्री'मा यस्ता घैँटा बनाएका थिए भने हामीले पैसा किन खर्च गर्ने ? तैपनि प्रोजेक्ट आउँछ कि ?" एक स्थानियले भने । मानिसहरु यस्ता घैँटालाई रातो माटो र सेतो चुनाले लिपेर चिटिक्क पारी राखेका हुन्छन् । यो खडेरीमा पानीको सुरक्षामा यस्ता घैँटाहरुमा कुची लगाइएको छ ।
वर्षामा यस्ता घैँटामा संकलन गरिएको पानीले हिउँदको दुख टार्छन्


       गाउँमा पेट्रोल छ पानी छैन । गाडिहरु कुँदिरहेका छन् । स्थानिय स्कूल नजिकै होटल गरिबसेका छविन्द्र सेन ठकुरीले मोटरसाइकलबाट दिनको २८ ग्यालेन पानी ल्याइ ड्रममा भर्छन् । मोटरसाइकल हुने युवाहरु १ घण्टाको दुरीमा रहेको खोलामा गइ नुवाइधुवाइ गर्छन् । फर्केर आउँदा पसिना र धुलोले शरिर जस्ताको तस्तै भएपनि कपडा धुन पाइने हुनाले टाढाको खोलामा मोटरसाइकलको ताँती लाग्छ । विवाह भोजभतेरमा त ट्यांकरको पानीले नै काम चलाउनुपर्छ । "खाना मासु खेर फाले मन फाट्दैन,तर यो पानी खेर फालेमा चित्त दुख्छ ।" एक स्थानियले भने । गाउँमा भएको एक विवाहको भतेरमा चुन्नीले बाँधेर पानी सुरक्षित राखिएको थियो ।

स्थानियले बनाएका पानी घैँटा । यी घैटालाई दशैँतिहार छेक रङ्गाएर चिटिक्क पारिन्छ

       गाउँलेहरु पानीलिन सुरुमा कुवातिर जाँदैनन् । रातमा अन्य छिमेकीहरु सुतेका छन कि छैनन् । चियो गरेर मात्र कुवातिर जान्छन् । केटाकेटीहरु जतिवेला पनि कुवामा पसेर पानी नितार्छन भनेर । पानी लिएर फर्केकाहरुले "आज यत्रो (ठूलो) रातो मन्टो गरेको सर्प देखेँ"भनेर अरुलाई तर्साउँछन् । खडेरीले पानी सुक्दैजाँदा आत्तिएका सर्पहरु बाहिर आउन थालेका छन् । अँध्यारो रातमा गीत गाउँदै वा मोबाइलमा गीत बजाउँदै पँधेरे पँधेर्नीहरु कुवा रुँगेर बस्छन् । खोल्साहरुमा खोस्रँदै खोस्रँदै पानी आउँछ कि भनेर ससाना कुन्टाहरु बनाइएको छ । यो वर्ष पनि पानी नपरी सुख्खाराम हुने हो कि भन्ने भय गाउँलेहरुमा छ ।

लिफ्टिङ्ग गर्न खोजिएको जिम्रीघाटको एकअौँले  मुहान

       खडेरीमा पानी नपुगेर गाउँमा केही योजना तय गरी लिफ्टिङ्ग सिस्टमबाट पानी तान्न खोजिँदैछ । तर भरपर्दो स्रोतको अभावमा योजनाप्रति नै शंका गरिएको छ । स्थानिय जिम्रीघाट खोल्साको दुई औँला मुल भएको पानी तान्न ओभरसियरले ७ लाख रुपैँया मागेका छन् । तैपनि स्थानिय अगुवाहरु यो काम गर्न तत्पर छन् । यो काम उपभोक्ताको सहयोग विना हुन सक्दैन । गाविसले यस अघि नै खानेपानी योजनाको लागि गाउँमा रहेका प्रत्येक कुरियासँग १ हजारका दरले पहिलै पैसा उठाइसकेको छ । त्यसैमा फेरि अर्को स्थानिय योजनाबाट पानी ल्याउँछौँ भन्दा फेरि उपभोक्ताबाट पैसा उठाउनुपर्ने हुन्छ । त्यसैले यसमा गाउँलेको मन कुँडिएको छ । तर स्थानिय योजना भएकाले नगरौँ कसरी नगरौँ गरौँ पहिला नै पैसा उठाइएको छ । यो दोधारबीचमा पनि योजना अघि बढाउने कुरामा स्थानिय अगुवाहरु दृढ देखिन्छन् ।

जिम्रीघाटबाट पानी बोक्दै स्थानीय वासिन्दा


       गाउँबाट डेढ घण्टाको पैदल दुरीमा रहेको अटुट ठूलो खोलामा पनि पानी खण्डित रुपमा बगिरहेको छ । कम्तिमा ५ गाविसका मानिसहरु यसमा आश्रित छन् । खास गरी मोटरसाइकल भएका युवाहरु कपडा धुने र नुहाउने गरेपनि फर्किँदा पसिना र धुलोले उस्तै भएर आउँछन् । अरु दुखले पनि घेरिएका छन् गाउँलेहरु । यो स्कूलको दुखको कुरा हो ।

छत्रगञ्ज गाविसका ३ ओटा विद्यालय गाभिएको स्कूल

स्कूल
डिही गाउँमा बोर्डिङ्ग र सरकारी स्कूलको शिक्षालाई "दुईथरी शिक्षा" भनिन्छ । यस्तो 'दुइथरी शिक्षा'बसाईँसराईँको अर्को मुख्य कारण बनेको छ । पहिला एसएलसीसम्म पढेपछि विद्यार्थीहरु बसाईसराई गर्थे । स्थानिय शिक्षक प्रकाश शाहले भने,"अहिले दुइथरी शिक्षा बसाइसराइको कारण बनेको छ ।" सरकारी विद्यालयमा अभिभावकले २ कारणले पढाउन चाहँदैनन् । पहिलो शिक्षा गुणस्तरीय नहुनाले । दोस्रो सामाजिक प्रतिष्ठाको कारणले । यदि आफ्नो छोराछोरीलाई सरकारी प्राथमिक विद्यालयमा पढायो भने छिमेकीहरु आफूलाई तन्नम् भन्लान कि भन्ने डरले नसक्नेले पनि रिन खोजेर भएपनि गाउँबाहिर कमाउन गएर भएपनि बोर्डिङ्गमा पढाउन बाध्य छन् । युवाहरु विदेशमा जस्तोसुकै काम गरेर भएपनि नयाँ पीँढीलाई बोर्डिङ्ग पढाउन चाहन्छन् । त्यसैले बुढा हुँदै गरेका बाबुआमाको भन्दा नयाँ सन्तानको शिक्षादिक्षाको चिन्ता अरेबियन देशमा पुगेका युवाहरुको छ । त्यसैले उनीहरु आफ्नो परिवारलाई खण्डित गरेर भएपनि तराईतिर अस्थायी बसोबास गरेका छन् । स्थानिय एक युवाले भने, "आफूले पढ्न पाइएन, यी लालाबालालाई त शिक्षा दिनुपर्यो त्यसैले यिनीहरुलाई बुटवल राखेर आफू विदेश जान्छु या उतै पेशो गरेर बस्छु ।"


२०३८ सालमा गाउँको सुन्दर ठाउँमा खुलेको यो विद्यालय विद्यार्थी संख्या कम हुँँदा बन्द हुन पुगेको थियो ।

गाउँमा बोर्डिङ्ग स्कूल त छन् । तरनाफाका लागि खोलिएका यस्ता स्कूल जनसंख्या भएको ठाउँलाई हेर्छन् । गाउँ पातलिँदै गएकाले ती बोर्डिङ्ग आफैपनि संकटमा छन् । डिही यसै त बसाइसराइले पातलो जनसंख्या भएको र पुछारको गाउँ भएकाले यहाँ बोर्डिङ्ग स्कूल छैन । करिब १ घण्टाको दुरीमा बोर्डिङ्ग स्कूल छ । ससाना बच्चाहरु टाढा पुग्न सक्दैनन् । अझ नर्सरी पढाउने बच्चाको लागि त झनै समस्या छ । घण्टाको दुरीमा रहेको बोर्डिङ्गमा बच्चालाई बोकेर लानल्याउनकै समस्या छ । सरकारी स्कूलमा पढाउँदा प्रतिष्ठामा आँच आउँने भयो । त्यसैले यो भौगोलिक अनुकुलता नहुँदा गाउँका कसैले मामाघर बच्चालाई राखेर पढाएका छन् । कसैले कोही आफन्तकोमा । तर यस्तो झन्झट गर्नुभन्दा बरु तराई झर्नु नै उत्तम विकल्प देखिएको छ ।

तीन स्कूल गाभिँदा एकदेखि पाँच कक्षासम्मका विद्यार्थी । स्कूल गाभिँदा शिक्षक मात्र गाभिने तर विद्यार्थी नगाभिने समस्या छ ।
       सरकारी स्कूलमा शिक्षकहरुलाई विद्यार्थी संख्याको पिरलो छ । डिहीको गाउँमा २०३८ सालमा एउटा प्राथमिक विद्यालय खुलेको थियो । २०४८ सालमा यसले ५ कक्षामा करिव ३५ जना विद्यार्थी उत्पादन गरी गाविसको माझमा रहेको माध्यमिक विद्यालयमा विद्यार्थी पठाउँथ्यो । २०७१ सालमा ५ ओटा कक्षामा जम्माजम्मी ३५ विद्यार्थी पनि नपुगेर यो विद्यालय छिमेकी विद्यालयसँग गाभियो । यसरी गाभिनेमा छत्रगञ्ज गाविसका ३ ओटा वडाका ३ विद्यालय थिए । तर पनि विद्यार्थी संख्या अझै ३५ कै हाराहारीमा छ । यसरी विद्यालय गाभिँदा विद्यार्थीको लागि भौगोलिक दुरी बढ्न जाँदा अर्कै स्कूलमा जानेहुन कि, बसाईसराई गर्नेहुन कि भनेर स्कूलले निशुल्क झोला, कापी वितरण गरेर कायम गर्न प्रयास गरिरहेका हुन्छन् ।
सुन्दर तर सुख्खा देखिन्छ जमिन

       गाउँमा पुगेको बेला एक विद्यालयले अर्को विद्यालयका विद्यार्थीलाई आफ्नो स्कूलमा आकर्षित गर्न स्वेटर, छात्रवृत्तिको आश्वासन दिएका थिए । त्यसपछि गाभिएको विद्यालयका विद्यार्थीलाई पनि कायम गर्न प्रति विद्यार्थी बराबर १ दर्जन कापी बाँड्ने योजना गरियो र बाँडियो पनि । यसरी भएका विद्यार्थी तानातान गर्ने प्रतिस्पर्धा विद्यालयमा चलिरहेको छ ।


श्री सरस्वति प्राविमा कापी वितरणपछि खिचाइएको सामुहिक तस्बिर ।

       गाउँमा विद्यार्थी कम हुनुको कारण बोर्डिङ्ग स्कूल मात्र होइनन् । एक स्थानिय शिक्षकले भने,"प्रजनन दर निकै कम छ । एक दम्पतिले १ जनाबाहेक बच्चा जन्माउँदैनन् । उक्त बच्चालाई जसोतसो गरेर भएपनि गाउँकै बोर्डिङ्ग नभए शहरमा रहेका आफन्त वा आफै बसाई सराई गरेर भएपनि बोर्डिङ्ग पढाउने सपना देखिरहेका छन् ।"
स्कूलमा विद्यार्थी कसरी बढाउने भन्ने विषयमा व्यवस्थापन समितिमा छलफल गर्दै
                गाउँघरमा "ज्वाईँ रोड" धेरै बनेका छन् । दशैँमा एक दिन मोटरसाइकल लिएर आउने छोरीज्वाईँलाई वा छोराबुहारीलाई अलिकति पनि हिँड्न नपरोस् भनेर बनाइएका शाखा बाटाहरु । खडेरीमा यी शाखा बाटाहरुमा एक गमबुट धुलो छ । चैत वैशाखको हावाहुरीले र त्यहाँ चल्ने मोटरसाइकल तथा अन्य सवारीले छेउछाउका घर, घाँसे रुखहरु चिन्न नसकिने भएका छन् । मोटरसाइकल चढ्नेले गर्मीयाममा पनि रेनकोट लगाएर मोटरसाइकल चलाउँछन् । घरबाट चिटिक्क परेर पढ्न गएका छोराछोरी धुलोले चिन्न नसकिने भएर फर्कन्छन् । यसैलेधुलो र मैलो कपडा खडेरी टाढाको बोर्डिङ्ग गाउँमा वोरिङ्ग भइरहेको छ ।

अन्तमा

स्कूल र पानीको असुविधा भएको गाउँमा को बस्छ ? शहरी सपना देख्नुपरेन ? गुल्मी अर्घाखाँची यस्ता जिल्ला हुन् जसलाई काठमाडौँमा 'व्यूरोक्रेसीमा पकड' भएका सम्पन्न जिल्ला भनिन्छ । तर २०६८ सालको जनसंख्याको रिपोर्ट अनुसार सबैभन्दा धेरै विदेश जाने जनसंख्या भएको जिल्लामा यिनीहरु परेका छन् । काठमाडौँ तथा अन्य शहरहरुमा 'लुम्बिनी तन्दुरी' भनेर ब्राण्ड बनेको उदाहरण यहि वैदेशिक रोजगारी हो । पञ्जाव काम गर्न गएका युवाको सीपलाई प्रयोग गरेर तन्दुरी रोटी बनाउन यो क्षेत्रका बासिन्दाले सकेका हुन् । कम वर्षाहुने ठाउँमा यि जिल्लाहरु पर्छन् । स्थानियहरुले यसलाई "सुख्खाग्रस्त जिल्ला" घोषणा गरी राज्यले सहयोग गर्नुपर्ने बताउँछन् । उत्पादन कमजोर भएको हुनाले यहाँका मानिसहरु धेरै बसाईसराई वा वैदेशिक रोजगारी वा सरकारी निकाय ताकेका छन् ।बसाईँसराईँको डरलाग्दो अवस्था यि ठाउँमा देखिन्छ ।
२/३ मे २०१६
२०७३ वैशाख २०/२१
३०चैत-११ वैशाखसम्म डिहीबाट फर्केपछि