टुकीको उज्यालोमा मध्यरातको एक बजेदेखि नै च्युरा कुट्ने
हाते औजार ‘लुसी’
ले उगल (ओखल) मा ट्वाङ–ट्वाङ गरी च्युरा कुट्दा आउने आवाज अब भक्तपुर बोडे–टिगनीबासीका सम्झनामा मात्र छन् । ‘टिगनी बजी’ ब्रान्ड बनेको त्यो च्युरा ठिमीबाट असन र बाङ्गेमुढाका साहुकहाँ व्यापार
हुने प्रिय वस्तु थिए ।
काठमाडौं
खाल्डो मात्र होइन, तिब्बत र
भोटसम्म यसको व्यापार हुन्थ्यो । २०३० सालमा बिजुलीबत्ती आएपछि भने गाउँभरि सुनिने
त्यो ‘ट्वाङ–ट्वाङ’ आवाज बिस्तारै
हराउँदै गयो । हाते श्रम गरेर जीविका चलाउने यो स्रोत हराउँदा भोकमरी जस्तै अनुभव
भएको थियो टिगनीबासीलाई । यहाँ मैले त्यही च्युराको कथा विस्तारमा लेखेको छु । जुन
अचेल भृकुटीमण्डपमा हुने घरेलु–प्रदर्शनीमा पनि आक्कलझुक्कल देखिन्छ (हेर्नुहोस् तस्विर) ।
![]() |
तस्बिर : कान्तिपुर |
गएको बर्खामा
टिगनी बस्तीतिर पुग्दा भूकम्पले चर्काएर पनि टालेको पुरानो घरबाहिर एक जना आमै तान
बुनिरहेकी थिइन् । त्यसै गरी ठिमी सहरको एक साहुले दिएको ‘अमिलो–गुलियो’ खानेकुरालाई
बाटामा राखेर वरिपरिबाट महिला तथा केटाकेटी गोलो पारेर मिठाई बनाइरहेका थिए ।
उनीहरूले साहुको लागि ज्यालामा त्यो काम गरिरहेका थिए । कोही एउटा सटरभित्र बसेर
साग र धनियाँका पत्ताहरूलाई परालको त्यान्द्रोले बाँधिरहेका थिए ।
सामूहिक
रूपमा तरकारी खेती गरेका उनीहरूले ‘सहर’ मा बेच्न
त्यस्तो गरेका थिए । सामान्यतया यस्तै दृष्य देखिन्थ्यो टिगनीमा । अर्थात् चार
दशकअघिसम्म ब्रान्डेड च्युरा बेच्ने टिगनीबासीको जीविकाको माध्यम बदलिएको देखिन्थ्यो
। उनीहरू भन्थे, ‘उगल र लुसीलाई
त धेरैले बन्चराले चिरेर आगो तापिसके ।’
खरानी
भइसकेको त्यो प्रविधिको विगतबारे मलाई रुचि थियो । कसैले बताइदेला कि भनेर गाउँभरि
डुलें । किरानापसल थापेर बसेका राम राजबहाक मलाई टिगनी बजीबारे आफ्नो अनुभव सुनाउन
तयार भए । ‘उबेला घरमा
धेरै परिवार हुनेकहाँ उगल र लुसी चल्थे । अलि थोरै परिवार हुनेले काठमाडौंको
बाङ्गेमुढाबाट चना केराउ ल्याएर भुट्थे ।’ दुई ‘सिफ्ट’
मा काम गर्न धेरै मान्छे चाहिने भएकाले
ठूलो परिवार वा समूहले मात्र बजी बनाउन सक्थ्यो । राति १ बजेदेखि बिहान ९ बजेसम्म
र दिउँसो १ देखि साँझ ६ बजेसम्म हुन्थ्यो यो काम ।
राजबहाकका
अनुसार बजी बनाउन उगल, पला
(उगलको पनि भित्र राख्ने नफुट्ने काठ), लुसी (धान थिच्ने औजार), कुसाकुटी (काठको पन्यू), धान भुट्ने हाँडी, चलाउने सिन्का (भुटना), माटाको उसिन्ने भाँडा (कासी) वा तामा अथवा सिलावरको भाँडा (फोसी),
चाल्ना (सलिंचा),
नाङ्लो (हासा),
डाली (उसिना धानको पानी छान्न) आदि सामान
चाहिन्थ्यो । मेरा उत्तरदाताले ठिमीबासीलाई ‘ठूलो देश’ का
मान्छे भनिरहेका थिए ।
यसबाट
टिगनीका राजबहाक–समुदाय
सीमान्तीकृत नेवारहरू हुन् भन्नेबारे मैले भेउ पाइसकेको थिएँ । किनभने बोडेको ठूलो
फाँट गाउँको नाकैमुनि भएर पनि उनीहरूको थिएन । त्यो फाँट सबै बोडेली-ठिमीले नेवारहरूको थियो । यो सीमान्तकृत पक्ष अनुसन्धेय नै
छ । मेरो उद्देश्य बजीबारे एकसरो जान्नुभएकाले सीमान्तकृत पक्षबारे म घोत्लिनुपरेन
।

राजबहाकहरू
राजाका भान्सामा काम गर्ने भएकाले पकवानमा पोख्त भएको उनले सुनाए । तर अहिलेका
युवाहरूलाई यो पक्ष त्यति मन पर्दैन रे । यही त्यान्द्रो समातेर अरूहरूले हेप्छन्
कि भनेर । यी दोस्रा उत्तरदाताको नाउँ सानुकाजी थियो । उनले ३/४ किसिमको
च्युराबारे थपे, ‘कुटेर राम्रो
निस्किएको च्युरा ‘पुँ बजी’
। टुक्रिएर निस्केको ‘चोक बजी’, भुसैसँग मिसिएर निस्किएको ‘माँ बजी’ र डल्ला–डल्ला भएर निस्किएको ‘प्याँ बजी’ ।’
यीमध्ये ‘पुँ बजी’लाई नोचा (खर्पनजस्तै ‘नोल’) मा राखेर
सहरतिर बेच्न लगिन्थ्यो । टिगनीबाट सिनामंगल–पुरानो बानेश्वर–डिल्लीबजार–बागबजारबाट
पैदल हुँदै असनका ‘साहुको पसल’
मा बेचिन्थ्यो । चना–केराउ भुट्नेले त घरघर डुलेर पनि बेच्थे । त्यति मात्र कहाँ
हो र ! टिगनीको बजी लिएर राजबहाकका पुर्खाहरू ल्हासा र तिब्बतसम्म पनि पुगेका
रहेछन् ।
बाह्रबिसे
माइती भएकी मिमाया राजबहाकले आफ्नो बिहेको रहस्य पनि खोलिन् । व्यापार गर्ने
सिलसिलामा उनको श्रीमान् टिगनीबाट बाह्रबिसे गएको मौकामा देखादेख भएको रहेछ । धेरै
पछिसम्म पनि त्यो रुटमा टिगनीबाट मानिसहरू व्यापार गर्न जाने रहेछन् । ‘त्यस्तो सम्बन्ध भएका मानिसहरू अरू पनि छन् टिगनीमा’
उनले भनेकी थिइन् ।
उति बेला
असनतिर बजी बेच्न हूलका हूल युवाहरू खर्पन बोकेर निस्कन्थे । राम राजबहाकले भने,
‘हामी नोल र ढोकर (बजी झुन्ड्याउने बोरा)
बोकेर बिहान खाना खाई १० बजेदेखि डेढ दुई घण्टा एकोहोरो हिँड्थ्यौं । कम्तीमा १५
बढीमा ३० युवक असन बजारका लागि लहरै निस्कन्थ्यौं ।’ गाउँमा चाहिँ बिहानको ९ देखि १२ बजेसम्म आराम लिएका मान्छेहरू दिउँसोको
१ बजेदेखि ६ बजेसम्म फेरि कुटनीमा लाग्थे । दसैं र बिस्केट जात्राका ६/७ दिनबाहेक
वर्षैभरि टिगनीले ट्वाङ–ट्वाङ
आवाज दिइरहन्थ्यो ।
चिउरा बेचेरै
२०३० सालको दशकमा असनबाट साढे १४ पाथीको १ सय २८ रुपैयाँ जति रकम लिएर फर्कन्थे
टिगनीबासी । राजबहाकले भने, ‘असनबाट लिएको सबै पैसा मैले बुवालाई दिन्थे । त्यो पैसाले उनीहरू ठिमीमा
धान किन्न निस्कन्थे । त्यहाँ ताइचिन धान वा चिनी धान वा घैया धान खोज्न दिनभर
लाग्थ्यो, उबेलाका ३२ घरे
टिगनीबासीलाई । यसरी ठिमिलेकहाँबाट धान किनेर त्यसलाई चिउरा बनाई बेच्थे । अनि
त्यो पैसाले फेरि ठिमिलेकहाँ नै किन्न जानुपर्ने चक्र घुमिरहेको थियो ।
‘२०३०/३२ सालले ती दिन खोसेर लग्यो । त्यो समयमा गाउँमा बिजुली आएपछि
गाउँ नै अँध्यारो भयो,’ राजबहाकले
सुनाए, ‘टुकी निभेपछि एक्कासि भोकमरी सुरु
भएझैं भयो ।’ बिजुलीले गर्दा
बोडेदेखि ठिमीसम्म नै लस्करै राइस मिलहरू खुले । जुन मिल एरियालाई अहिले ‘मिल रोड’ भनिन्छ । त्यसपछि क्रमश: उगल र लुसीलाई मान्छेहरूले दाउरा बनाए ।
टिगनीमा ‘टिँ’ को अर्थ नेवारी भाषामा निगालो हो । निगालोबारे त मैले प्रश्न नै उठाइनँ
। तर अहिले टिगनीमा न निगालो देखिन्छ न टिगनी बजी नै । २०३० सालको दशकपछि गाउँको
परम्परागत जीविकोपार्जनको अवस्था तितरबितर भयो । कोही गलैंचामा कामदार बने । कोही
चना–केराउ नै भुटिरहे । अझै पनि चनाकेराउ
भुटेर सहर निकासी गर्ने परिवार मैले भेट्टाएँ । कोही तरकारी खेती गर्न थाले । कोही
तरकारीका खुद्रा व्यापारी, कोही प्लम्बर बने । कोही हाउस वायरिङतिर लागे । कोही ज्यालादारी काममा
लागे । अहिले करिब ५० देखि सय जना विदेश आउने–जाने पनि गर्छन् । विकल्पका पेसाहरू बलियो बनिसकेका छैनन् । बजी
उत्पादनको ज्ञान धरापमा परेपछि बिजुलीबत्तीले पनि उज्यालो दिएको छैन टिगनीलाई ।