Tuesday, April 25, 2017

रक्सीको राज्य

हिजोआज सराव पिएर सवारी गरेमा मादक पदार्थ सेवन (मापसे) को कसुरमा प्रहरीले समात्न सक्छ। तर पनि कतैकतै मद्यशालेहरूले चुनौती दिने नियम बनाएका छन्, ५ हजारसम्मको मापसे गर्नेलाई आफ्नो गाडीमा घरैसम्म पुराइदिने व्यवस्था। यस्ता मद्यशाला या जमघटमा नयाँ पन्थेलाई पिलाउन खुब बल गरिन्छ। उनीहरूले फिरीमा खाइदिए पुग्छ, सुरुमा। यत्र, तत्र, सर्वत्र अपार छ, मद्यको बेपार। त्यही रक्सीको राजबारे यस लेखमा चर्चा गर्न खोजिएको हो। आधुनिक नेपालमा व्यावसायिक हिसाबले रक्सी पार्ने र सार्वजनिक रूपमा घुट्काउने चलन कहिले भएहोला भन्ने चासोले यो लेखमा एउटा पोयो बाट्न खोजिएको छ।

भीमबहादुर पाँडेका अनुसार तुर्की, इराकी तथा जर्मनसँग लड्न पहिलोपटक युरोप पुगेका नेपाली ठिटाहरूले त्यहाँको रहनसहन देखेका थिए। उनीहरूले चिया खाने, चुरोट पिउने, तास खेल्ने, रक्सी खाने र पैसालाई हत्केलाको मयलझैँ ठान्ने आदत सिकेका थिए। उनीहरू गाउँघरमा फर्केपछि तास खेल्ने बानी समाजमा छिट्टै चल्यो। थोरैले जित्ने र धेरैले हार्ने यो खेलले जित्तल र हरल दुवैलाई भट्टीमा बसेर रक्सी खान पनि सिकायो। उनका अनुसार जुवाडी बाहुन–क्षत्रीले पनि जुवा जितेको सुरमा मद्यभट्टीमा पसेर जाँड खान सुरु गरे। त्यही बेलादेखि नेपाली गाउँघरमा रक्सी सार्वजनिक पेय भएको हुनुपर्छ।

पाँडेको तर्क छ, जुवाले जाँड खान त सिकायो, यसको प्रकोप जारीमा बिस्तारै पर्न थाल्यो। स्वास्नी पिट्ने बानी मौलाउँदा विपत् खप्न नसकेर महिलाले घर पनि छाडे। अन्य समस्या थपिए र अड्डाखाना पनि त्यसपछि बढ्न थालेका हुन्। जुवा, जाँड र जारीले निखारिएका एकथरी गाउँलेहरूलाई उनले ‘जाली’ भनेका छन् (पृ. १०३)। यसरी दुई लाख नेपाली युवाहरूले भाग लिएको पहिलो विश्वयुद्धपछि नेपाली समाज उस्तै रहेन। सांस्कृतिक लेपमा समाज कसिकसाउ देखिए पनि भित्रभित्रै उध्रिएको थियो। प्रचार गरिएजस्तो समाज बन्द थिएन।

विश्वयुद्धपछि लाहुरबाट फर्केका किशोरलाई लक्षित गरेर तराईका नाकाहरूमा मद्यभट्टीहरू खोलिएका थिए। दोस्रो विश्वयुद्धताका सन् १९४३ मा भर्ती भएका कास्की लुम्लेका ललितबहादुर गुरुङले लेखक झलक सुवेदीलाई ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’ पुस्तकमा भनेका छन्, ‘बाटामा थकाली र मगरका भट्टीहरू हुन्थे, खान र बास बस्नका लागि। यस्ता भट्टीहरू लाहुरेको सिकार गर्न बसेका जस्ता लाग्थे।’ (पृ. १०२) अझ ब्रिटिस भारतबाट फर्केका यी लाहुरेहरूले पतिया लिनलाई एक साता जति त तराईमा बस्नुपथ्र्यो।

मुलुकबाहिर गएपछि बिटुलो भएको भनी चोख्याउन पतिया लिनुपर्ने चलन थियो। पतियाको नाममा बाहुनहरू लगाएर पैसा लिइन्थ्यो। पूर्वलाहुरेहरूले सुवेदीसँगको कुराकानीमा भनेका छन्, एक सातासम्म बस्दा लाहुरेहरूको कमाइको पोको पनि भट्टीवालका थैलामा पथ्र्यो (पृ. १४८)। यी भट्टीहरूमा पसेका कतिपय त बेखर्ची भएर फर्कन्थे, बिचरा। नभए तुम्मडी भएर पहाडतिर उकालो लाग्थे। कसैले रिक्सा चलाएर बस्थे। भूपी शेरचनको ‘भैरहवा’ कविताले पनि लाहुरे, भट्टी र रक्सीको झल्को दिन्छ :

लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली? ‘अच्छा यार’
र देखिन्छ केवल
साँझमा
रिक्सा, साइकल, भट्टी र सडकमा
लाहुरेहरू र कान्छीहरूको मांसाहारी प्यार
उफ्† यो पट्याइलाग्दो ठाउँ

यो पट्याइलाग्दो ठाउँ बन्नुमा ब्रिटिसकालीन भारतका सुगरमिलको कथा पनि जोडिन्छ। अंग्रेजको शासनकालमा उत्तरी भारतका गोरखपुरदेखि कलकत्तासम्मका ठाउँहरूमा प्रशस्त सुगरमिल खोलिएको थियो। त्यसबाट चिनीबाहेक वाइप्रोडक्टको रूपमा भेली पनि बन्थ्यो। उत्पादित भेली रक्सी बनाउने कच्चा पदार्थको रूपमा नेपालमा भित्रिएको थियो। मेरा माइला मामाले भनेअनुसार खस्यौलीका नेवारहरूले सुनौलीदेखि खस्यौलीसम्म गोरुगाडामा सामान ओसार्थे। त्यस्तो सामानमा ज्वानो, तमाखु, भेली, साबुन, कपडा आदि पाइन्थ्यो खस्यौली बजारमा।

सन् १९३९/४० तिर उखु उत्पादन गरिने भारतभरको जम्माजम्मी थलोमध्ये ५० प्रतिशतभन्दा धेरै जमिन उत्तरप्रदेशको थियो भनी सन् १९८४ मा लेखक सहिद अमिनले आफ्नो पुस्तक ‘सुगरकेन एन्ड सुगर इन गोरखपुर’ मा लेखेका छन्। यस्तो भेली जोगवनी, भैरहवा, गौरीफन्टा, पक्लिहवा, कोइलाबासलगायतका भन्सार वा छोटी भन्सारबाट भित्रिएर तराई मात्र हैन नेपालका पहाडमा पुगेको छ, जसबाट बनाइएको रक्सीलाई पहाडमा ‘भेलीको झोल’ पनि भनिन्थ्यो। यस्तो झोल बनाउने कारखाना नेपालमा पनि खोलिँदै थियो।

मोरङ सुगर मिल्स २००३ सालमै खुलेको थियो। यो ब्रिटिस भारतको थोत्रे मिसिन थियो। अहिले पनि काठमाडौँमा काम गरेर थोत्रा बनाइएका कम्प्युटर गाउँघरतिर सप्लाई गरिएजस्तै भारत पाकिस्तान विभाजन हुनुअघि पाकिस्तानतिर पर्ने नारायणगन्ज भन्ने ठाउँमा बेकामे भएर बसेको मिसिनलाई विराटनगरमा ल्याएर जडान गरिएको थियो। कलकत्ते सेठले १५ लाख मूलधनमा खोलेको भनिएको यो कारखानाले त्यति बेला भारतबाटै उखु ल्याएर चिनी र रक्सी उत्पादन गथ्र्याे। त्यसका नेपाली प्रतिनिधि जुद्धबहादुर श्रेष्ठले ‘बितेका ४ वर्षतिर फर्केर हेर्दा’ भन्ने पुस्तकमा यसबारे लेखेका छन्। तराईमा यस्ता सुगर मिल थपिने उपक्रम चलिरह्यो।

त्यत्तिकै बेकामे पल्टेका पुराना कलकारखानाहरूलाई यसका कारखानेदारले नेपाली पाटनर खोजेर तराईमा विभिन्न उद्योग स्थापनाको प्रयास गर्न थाले। यसै उपक्रममा रक्सी उत्पादनको एउटा कथा जोडिन्छ। यो कथा बोरिस लिसानेभिचसँग जोडिएको छ। ब्रिटिसकालीन भारतको कलकत्तामा रहँदा यी रुसी नागरिकले नेपालका पनि केही सम्भ्रान्तहरू वा भविष्यका सत्ताधारीलाई साथी बनाएका थिए। तीमध्ये सी क्लासका कलकत्ते राणाहरू पनि थिए। उदाहरणको रूपमा महावीरशमशेर पनि हुन्। यिनीसँग मिलेर पश्चिम बंगालको कुच विहारमा मद्यशाला खोलेका थिए। तर सन् १९४७ मा भारत पाकिस्तान विभाजन भएपछि कुच विहारमा अलपत्र परेको सामान नेपालमा ल्याएर रक्सी उत्पादन गर्ने सरसल्लाह महावीरशमशेरसँग गरे।

काठमाडौँ तथा तराईमा पनि रक्सी पिउने बानी रहेको र रक्सीमा प्रतिबन्ध नभएकाले राणादेखि सर्वसाधारणमा पनि सामाजिक रूपमा नै रक्सी स्वीकार्य रहेको देखाई महावीरलाई बोरिसले फकाएका थिए। भारतबाट पनि प्रशस्त उखुहरू ल्याउन सक्ने सम्भावना भएकाले सुरुमा विराटनगरमा यस्तो उद्योग खोलेमा फाइदा हुने र त्यसबाट आउने करले सरकारलाई सहयोग हुने बताएका थिए। उनीहरूले सम्भवत: तराईका भट्टीपसलले देखाएको सम्भावनालाई पनि ख्याल गरेका थिए। २००७ सालपछिको तत्कालीन मन्त्रिमण्डलमा महावीर उद्योग मन्त्री पनि भए। त्यसपछि त बोरिसलाई गज्जब भयो। कुच विहारबाट सामान आइनसकेको हुँदा विराटनगरमा उद्योग सेटअप भएको थिएन। त्यति बेलासम्म हतार भएकाले भारतबाट महिनाको ५ हजार ग्यालेन रक्सी बोकी ल्याएर तराई र काठमाडौँमा पनि बेच्न थाले।

यसबाट महावीर र बोरिसले ४५० ससाना पसललाई ग्राहक बनाए। तर त्यति बेला विभिन्न फलफूलको स्वाद आउने रक्सीलाई गैँडा, बाघ, चितुवा नामका कागजले सिसीमा बेरेर आकर्षक र सस्तो मूल्यमा यिनले रक्सी बेचे।
तराई क्षेत्रमा खोलिएका मद्यभट्टीहरूमा बोरिसले रक्सी सप्लाई गर्थे। बोरिसको व्यापारलाई करिब १२ सय मद्यशालेहरूले विरोध गरेका थिए। नगरुन् पनि किन? विभिन्न स्वादको रक्सीले, भेलीको रक्सी बिक्री भएको थिएन। उता बोरिसलाई सरकारले पनि १ लाख ७५ हजार रुपैयाँ पनि करस्वरूप मागेको थियो। त्यो झोँकमा उनले पैसा दिएनन्। सरकारले पनि बाँकी राखेन। बोरिस पनि सरकारले मागेको पैसा नतिरी डिल्लीबजार सदरखोरमा बसे। सन् १९५४ मै बोरिस–महावीरले आफ्नो मद्यशाला नै बन्द गर्नुपर्‍यो। यसले भट्टीवाललाई फाइदा नै भयो। यो कथा मैले मिसेल पिसेलले लेखेको ‘टाइगर फर ब्रेकफास्ट’ भन्ने पुस्तकबाट लिएको हुँ। बोरिसको लामो कथा ‘सिन्हास’ जर्नलमा मार्क लिक्टीले पनि लेखेका छन्।

राणाकालमा भारतमा उत्पादित वस्तुहरू नेपालका पहाडी इलाकामा जताततै पुग्थे। भेलीको पहाड यात्रा पनि यससँग जोडिन्छ। टोनी हागनले नुन बोक्ने यात्रामा सन् १९५० को मध्यतिर २० देखि ३० लाख मानिस संलग्न हुन्थे भनेका छन्। पहाडबाट झरेका खचाखच मान्छेले आफूलाई चाहिने सरसामानहरू घ्यूसँग साटेर लैजान्थे। सन् १९६६ मा धनगढी बजारबाट कम्तीमा १ लाख केजी घ्यू भारत निकासी हुने तथ्य हर्क गुरुङले ‘मैले देखेको नेपाल’ पुस्तकमा उल्लेख गरेका छन्।

सन् १९६५–६६को एक वर्षमा बैतडीको झुलाघाटबाट सबैभन्दा धेरै ३ लाख ३३ हजार ६४८ केजी घ्यू भारत निर्यात भएको थियो। बुटवल पनि त्योभन्दा कम थिएन। घ्यू नै पैसाजस्तो थियो। पहाडमा घ्यू उत्पादन नगर्नेहरूले राडीपाखी, अन्न, छाला आदि लिएर तराई झर्थे। यसैले बाजेका पालादेखि नै अन्य विदेशी वस्तुको स्वाद नेपाली समाजले चाखेको थियो। त्यसपछि त नेपालमै पनि सुगर मिल स्थापित भएका र तिनीहरूले बाइप्रोडक्टको रूपमा भेली वा रक्सी बनाउन थालेका थिए।

नेपालमा २०२३ सालदेखि खोलिएको महेन्द्र सुगर मिल्सले चिनी त उत्पादन गर्ने नै भयो। यसले उच्च कोटिको मदिरा पनि उत्पादन सुरु गर्न थाल्यो। त्यति बेला यसले ८ हजार सिसी रक्सी प्रतिदिनमा उत्पादन गथ्र्याे। यसले उत्पादन गरेको रक्सीमध्ये २०३६ सालतिर ‘थ्री लायन्स ह्वीस्की’ पपुलर थियो भनेर किशोर नेपालले आफ्नो संस्मरणात्मक पुस्तक ‘मेरो समय’ मा लेखेका छन्। उनका अनुसार त्यति बेला काठमाडौँको आभिजात्य समाजमा फ्रेन्च वाइन र ब्रान्डीका पारखी थिए।

२०२८ सालसम्म मुलुकमा ३ ओटा चिनी कारखाना थिए। भैरहवा, वीरगन्ज र मोरङ। सँगसँगै रक्सी उत्पादन गर्ने डिस्टिलरी उद्योग पनि खोलिए। जस्तो काठमाडौँ डिस्टिलरी, दी नेपाल डिस्टिलरी, जावलाखेल डिस्टिलरी, भीम डिस्टिलरी–धरान आदि। यी कम्पनीले भट्टी खारेज गराई डिस्टिलरी खुलाउने गरी सरकारसँग इजाजत माग्ने गरेको देखिन्छ। यसबाट पनि डिस्टिलरी उद्योगलाई त्यो बेला भट्टी चुनौती बनेको देखिन्छ। त्यसैले भट्टी–राज्य पनि धेरै समय चलिरहे। डिस्टिलरीले उत्पादन गरेका रक्सीका पाउँच गोजीमा राखेर मानिसले गाउँघरतिर तन्काउँदै पनि हिँडे। कुनै जमानामा तमाखुका अम्मलीझैँ पहाडमा पनि मानिसहरू रक्सीका अम्मली बने।

रक्सी उपभोगसँग अन्य पक्षहरू पनि जोडिएका हुन्छन्। नयाँ शिक्षा लागू भएपछि २०२८ सालमा राष्ट्रिय विकास सेवा (राविसे) उच्च शिक्षाको एउटा पाटोको रूपमा लिइयो। त्यति बेला विद्यार्थीलाई आफ्नो देशको वास्तविक स्थिति बुझ्न पठाइयो। सुरुमा राविसे विद्यार्थीलाई शिक्षकको अभाव पूर्ति गर्न पठाइएको थियो। त्यो बेला कतिपय शिक्षकले रक्सी पिउने बानी पनि सिकेर आए। सरकारको तर्फबाट गाउँघरमा खटाइएका साना तथा मझौला कर्मचारीले पनि गाउँघरबाट फर्किँदा रक्सी खान सिकेर फर्कन्थे। पञ्चायतकालमा अनुगमन गर्न गएका कर्मचारीलाई रक्सी र कुखुराको मासुले स्वागत गरिन्थ्यो। उनीहरू ठाउँ–ठाउँमा स्वाद चाखेर डुल्थे। मेरो विचारमा ब्रिटिसहरूले स्थापना गरेका सुगरमिलबाट उत्पादित भेली र रक्सीले नेपाली पहाडलाई उहिले नै एउटा आदत उपहार दिएर गएको थियो।

सन् १९९० पछि नेपालमा धेरै संस्थाहरू जन्मे। बाटोघाटोहरू बने। पर्यटन फस्टायो। राणाकालीन भट्टीहरू होटलमा रूपान्तरित भए वा बाटोघाटो पुगेका ठाउँहरूमा भट्टी बिस्तारिए। चलायमानता बढ्दै जाँदा उपभोग्य बानी पनि कमजोर भएन। बरु वर्गीय खाडलअनुसार खानेबानी पनि वितरित भयो। त्यसैले रक्सी सस्ता र महँगा हुन थाले। अहिले दरबारमार्गमा खुब महँगा रक्सीहरू पनि बिक्री हुन्छन्। ५ देखि १० हजारसम्मका रक्सीहरू मझौला नेपालीको रोजाइमा परे पनि लाखे रक्सीहरू पनि नेपालमा धेरै बिक्री हुन्छन्। कान्तिपुर दैनिकको एक रिपोर्टिङमा विष्णु पोखरेलले २०७३ साउनदेखि माघसम्मको आयातको आधारमा नेपालमा हरेक दिन ७२ लाख ३५ हजार रुपैयाँको मदिरा भित्रिने गरेको उल्लेख गरेका छन्। यसमा अनौपचारिक कारोबारको गणना छैन।

गएको फागुन पहिलो साता मन्त्रीस्तरीय बैठकले ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ पारित गरेको छ। जसमा २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने उल्लेख छ। नीतिले सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरेको छ। बिहान ५ देखि साँझ ७ बजेसम्म फुटकर मदिरा खरिद–बिक्री गर्न नपाइनेलगायतका व्यवस्था यसमा छन्। तर यो नीति के–कसरी लागु हुन्छ, त्यो हेर्न भने बाँकी छ। अहिलेसम्म पनि रक्सी व्यापार निस्फिक्री चलेकै छ।

भारतबाट खरिद गरी ल्याएको कोदोबाट काठमाडौँ वरिपरिका केही गाउँहरूले रक्सी उत्पादन गरी काठमाडौँलाई पनि बिक्री गर्छन्। अहिले पनि तरकारीजस्तै केही काठ क्षेत्रबाट रक्सी ग्यालेनमा भित्रिन्छ। भेली, कोदो र कनिकाजस्ता कच्चापदार्थबाट रक्सी बनाई साताको ८० लिटरसम्म एक परिवारले रक्सी पारेर उपत्यकामा बिक्री गर्छन्। तर यस्ता साना उत्पादकलाई कानुनी अनुमति छैन। ठूला डिस्टिलरीबाट मोटो कर असुल्न पाएकाले पनि साना अवैध भएका हुन्। त्यसैले यस्तो बनुवा रक्सीको गणना छैन।
यसरी, नेपालमा पानी जसरी रक्सीको पैसा पनि उँधो बगेको छ। लाग्छ, रक्सी–राज्यको यस्तै कथा अन्य वस्तु–राज्यमा पनि देखिन्छ।

यो लेख कान्तिपुर कोसेलीमा ९ वैशाख, २०७४ मा प्रकाशित भएको थियो ।

Monday, March 13, 2017

चिया चर्चा

कीर्तिपुरमा सँगै पढेका साथीसँग थापाथलीमा भेट्ने कुरा मात्र होइन चौतारीमा भेटियो पनि । सामान्य सन्चोबिसन्चोपछि बसेर कुरा गरौँ न त भन्ने भयो, तर कहाँ ? कुरा मिल्यो, नजिकैको चियापसलमा । पसलैपसलको सहरमा चिया नपाउने कुरै थिएन । एउटा पसलभित्र पसेर, ‘तीन कप चिया है, चिनी कम रङ कडाभन्दै अर्डर गर्यौँ । चिसो मौसम थियो, कुर्सीमा बिस्तारै पिठ्युँ टेकाउँदै, गफ सुरु भयो । कुरा त्यो बसाइमा गरेको गफको हैन, चियाको बारेमा हो । चिया बनाउने यस्तो टोले पसल कति होलान् ? चाय गफाडी कति होलान् ? अनुमान गर्न सजिलो छैन । राणाकालमा हुन्थ्यो भने यसरी चिया खानेलाई कांग्रेसी बानीभएको बात लाग्थ्यो । लुकेर खानुपर्‍थ्यो । यसप्रकार यो लेख नेपालमा चियाको चलनको बारेमा लेखिएको हो ।

चिया चर्चाको लागि तस्बिर परिणाम
    नेपाली सेनाबाट पेन्सन पकाएका लप्टनले २००७ सालअघि डिल्लीबजारको उकालोमा सामान्य चियापसल खोलेका थिए । अरविन्द रिमालले यसबारे डिल्लीबजारको लप्टनको होटलनामक संस्मरण पुस्तक नै लेखेका छन् । उनका अनुसार त्यस बखत (राणाकालमा) घरबाहिर चिया खानुलाई नागरिकको स्वतन्त्र विचार तथा व्यवहार ठानिन्थ्यो । त्यसैले खुलेआम खानु हुँदैनथ्यो । सातसाल अघि बीपी कोइरालाले गुप्त रूपमा भेष बदलेर धरहराको माहिला साहुको पसलमा चिया खान जान्थे । पद्मशमशेरको पालामा घरघरमा अलिअलि आँट गरेर चिया खाने चलन सार्वजनिक ठाउँमा पनि हुन थालेको थियो ।
     सात सालपछि त मध्यमवर्गीय परिवारमा चिया खाने चलन व्यापक भइसकेको थियो । रिमालका अनुसार लप्टनको होटलमा ५ पैसाको आधा कप चिया पाइन्थ्यो । २००४ सालको जयन्तु संस्कृतम् र त्यसलगत्तै भएको विद्यार्थी आन्दोलनका व्यक्तिहरू लप्टनको होटलका ग्राहक थिए । त्यहाँ पाँडे, गुरुपुरेत, थापाकाजी, राणा शाह, दीक्षित लोहनी आदि सम्भ्रान्त र मध्यमवर्गीय व्यक्ति तथा साहुमहाजन आउँथे । त्यस्तै भेला हुने, गफ गर्ने र चिया पिउने अर्को ठाउँ नयाँ सडक पनि थियो । नयाँ सडकको कथा पनि रिमालले झैं कसैले लेखे जाती हुन्थ्यो । यसरी जम्मा हुने क्रममा डिल्लीबजारलाई चीन समर्थित र नयाँ सडकलाई भारत समर्थित क्षेत्र पनि भनिन्थ्यो भनेर रिमालको पुस्तकमा भूमिका लेख्ने क्रममा श्यामदास वैष्णवले पनि लेखेका छन् ।

     नेपाली सेनामा काम गरेका बानेश्वरका ९० वर्षीय रत्नध्वज थापाले २००७ साल वरिपरि खुलेको न्युरोडको एउटा पसलको कथा मलाई सुनाएका थिए । यस होटलको उपल्लो तलामा चिया बनाइन्थ्यो । त्यहाँबाट गिलास छिर्ने प्वाल पनि थियो । तल चिया खान आउनेले प्वालतिर मुख सोझ्याउँदै माग्थे । माथिबाट चिया दिइन्थ्यो । उनका अनुसार इन्द्रचोकमा त दूधैदूधको लतरी चियाबनाइन्थ्यो । यहाँ को आउँथे भन्ने कुरा अनुत्तरित छ । तर रिमालले नयाँ सडकको पीपलबोट (अखवारी थलो) र डिल्लीबजार (विवेचनात्मक) पनि भनेका छन् । तर पीपलबोटेहरूले के सोच्दा हुन् जान्न बाँकी नै छ ।
     उल्लिखित वयानबाट कम्तीमा सार्वजनिक ठाउँमा चिया खानु भनेको स्वतन्त्रताको उपभोग गर्ने अर्थ पनि लाग्ने बुझियो । यसको अर्थ के चिया प्रगतिशीलपेय हो ? भन्ने प्रश्न मेरो मनमा उठेको थियो । राणाकाल र त्यसअघिका शासक र भारदारी खलकमा यसको प्रयोगको अभ्यासबारे ज्ञानमणि नेपालको एउटा सामग्री छ । जसले भोट जाने व्यापारीले चियाको चलन ल्याएको बताउँछ ।
     २०४४ सालमा निस्केको मुहूर्तभन्ने पत्रिका संकलनका सोखिन शिव रेग्मीकहाँबाट पढ्न पाएको थिएँ । सो पत्रिकामा चिया खाने चलनशीर्षकमा ज्ञानमणि नेपालले एउटा लेख लेखेका रहेछन् । उनका अनुसार पहिला (?) कुनै पनि नयाँ चलन, नयाँ खाद्यपदार्थ आउँदा धार्मिक दृष्टिले त्यस्ताको खेदो गरिन्थ्यो । भनाइको अर्थ चियामा कुनै कानुनी बन्देज नभए पनि भावनात्मक रूपमा बन्देजजस्तै थियो । तर बसाइसराइ, युद्ध, भ्रमण, रोजगारीका सिलसिलामा नयाँनयाँ पेय पदार्थबारे ज्ञान लिने र त्यसको प्रयोग चलन सुरु भएको देखिन्छ ।
     ज्ञानमणिको स्रोत अनुसार वि.सं. १०९९ सम्म भारतमा पनि चियाको चलन थिएन । नेपाल हुँदै तिब्बत गएका भारतका विक्रमशिला महाविहारका आचार्य दीपंकर श्रीविज्ञानले आफ्ना ३५ जना अनुयायीसँग भोटमा जाँदा स्वागतमा चिया टक्राउँदा उनी कन्फ्युजभएका र खाएपछि प्रशंसा गरिएको कुरा अलका चट्टोपाध्यायको अतिशा एन्ड तिबेटपुस्तकबाट उद्धृत गरेका छन् । पछिपछि भोट जाँदा नेपाली प्रतिनिधिमण्डलका सदस्यलाई पनि सत्कारमा चिया खुवाउन थालियो । यस अर्थमा चिया सत्कारको प्रतीक मान्न सकिन्छ ।
     ज्ञानमणिले भाषा वंशावलीलाई उद्धृत गर्दै लेखेअनुसार तिब्बतसँग ब्यापार सम्बन्ध राख्ने काजी भीम मल्लले चियाको चलन ल्याएका हुन् । मल्लकालका अन्य व्यापारीहरूलाई यसको पहिचान सर्वसाधारणसम्म पुर्‍याउने श्रेय जान्छ । त्यति बेला कचहरी बस्दा मुखियाका घरमा तमाखु र चिया पकाउने व्यवस्था हुने कुरा नेपालले उल्लेख गरेका छन् । एकीकरणपछि भोटका अलावा चीनसम्म जाने चलन पनि भयो । वि.सं. १८४९ देखि ५/५ वर्षमा नेपालबाट काजी सरदारको नेतृत्वमा प्रतिनिधिमण्डल चीन वादशाहकहाँ दर्शन गर्न जाने क्रम चल्यो । फर्केर आउँदा चीनबाट दिएको सौगातको सामानमा चिया पनि अनिवार्य रूपले पर्थ्यो । चियाको साथै चिया पकाउने चाँदीको कित्ली, कचौरा, चिया घोल्ने डोब्बो पनि आउने गर्थे भनेर नेपालले लेखेका छन् ।
     वि.सं. १८८४ मा चौतारिया पुस्कर शाहको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपालबाट चीनको कुतीतर्फ गएको थियो । फर्केपछि त्यति बेलाका महाराजाधिराजलाई चौतारियाले लेखेको कुरालाई ज्ञानमणिले यसरी उल्लेख गरेका छन्, ‘यहाँ (त्यहाँ) चिया खुवाउने चलन रहेछ । आइपुग्नासाथ चिया पकाइ बाटैमा पर्खेर बस्दा रहेछन् । अघिअघि आउने काजीहरूले चिया खाने गर्दा रहेछन् । तर मैले खाइनँ ।ठाउँठाउँमा पाल टाँगी चिया खुवाउने चलन भए पनि पुष्कर शाहले चिया नखानुमा आफ्नो धर्म नछाडेकोअर्थमा उनले बयान गरेका छन् । विदेश जाने मानिसहरू नियममै नरहने र खान नहुने चीज पनि खाने हुँदा भोट वा मुग्लान जाने जोसुकैले सिमानामा पतिया गर्ने वा गोदान गरी चोख्याउने वा प्रायश्चित्त गर्नुपर्थ्यो ।
     यसप्रकार ज्ञानमणि नेपालले ऊ बेला चिया खाने चलन भारदारी खलकसम्म र व्यापारीमार्फत् सर्वसाधरणकहाँ पुगेको भनेर लेखे पनि साधारण परिवारकहाँ वा गाउँघरमा चिया खाने अभ्यास कस्तो थियो भनेका छैनन् । काठमाडौँबाहेकका अन्य चिसो ठाउँहरूमा चियाजस्तै तातो जिनिसको प्रयोग गरिन्थ्यो होला । यसबारे नेपालको लेख अनुत्तरित छ ।
     नेपाली पारिवारिक वृत्तमा चिया पिउने चलन कस्तो थियो भन्नेबारे जान्न सजिलो छैन । तर पनि केही फुटकर सामग्री भने नभएका होइनन् । जनकलाल शर्माले आफ्नो पुस्तक कौतुकमय डोल्पो’ (२०३१) मा जुम्ला हुँदै डोल्पो जाँदा जुम्लाको डिल्लीकोटको एक घरमा बास बस्दा खाएको भोटे चियाको बयान गरेका छन् । उनले चिया खाँदा सुरुको सन्दर्भ कोटयाउँदै लेखेका छन्, ‘एकै छिनपछि तिब्बती चिया आयो । चिया खाने क्रम पनि तिब्बती ढंगबाट बनेका चाँदीका फुरु थिए । फुरु भनेको चिया खाने भाँडो हो, गिलासजस्तै । शर्माले लेखेका छन्, ‘तिब्बती चिया खाने परम्पराअनुसार फुरुको चिया घटाघट एकैचोटि खानु हुँदैन । बिस्तारै स्वाद लिईलिई खानुपर्छ ।’ (पृ. २५)
     शर्माका अनुसार आधा कप चिया बाँकी भएपछि चुप लागेर धैर्यसाथ बस्नुपर्छ । आधा कप चियामाथि पुन: चिया थपिँदै जान्छ । जहिलेसम्म कपको चिया पूरै समाप्त हुँदैन तबसम्म फुरुमा चिया थपिँदै जान्छ । कसैले अज्ञानवश अथवा जानेर नै फुरुको अन्तिम घुँट लियो भने ऊ तृप्त भएको मानिन्छ र चिया थपिँदैन । चिया खाइसकेपछि स्थानीय मानिसहरू फुरुको भित्री भाग चाट्छन् । घ्यू फुरुको भित्री भागमा जमेर बस्ने हुँदा त्यसलाई निकाल्ने क्रममा चाटिएको हो ।
     चिया बनाउने तरिका र यसमा प्रयोग हुने वस्तुबारे पनि शर्माले बयान गरेका छन् । जस्तो चिया बनाउँदा पहिले चियाको पत्ति एउटा भाँडामा हालेर खुबसित पकाइन्छ र त्यसको पानी एउटा काठको थिरीमा हालिन्छ । पुस्तक पढ्दा काठको थिरी कस्तो हुन्छ मैले जानिनँ । मेरो कल्पनामा त्यो मही राख्ने ठेकीजस्तै तर सानो आकारमा हो कि झैँ लाग्थ्यो । त्यसमा चौंरीको नौनी घ्यू र नुन हालेर एउटा फिर्के (सायद मदानीजस्तै सानो औजार होला) ले तलमाथि गरेर खुब घोलेर मथिन्छ ।
     यसरी घोलेपछि नौनी त्यसैमा मिलेर जान्छ । लेखकका अनुसार चिया ठीक भयो कि भएन भनेर स्वास्नीमानिसहरू चाख्ने पनि गर्छन् । ठीक भएपछि एउटा ठूलो कित्लीमा हालेर आगाको छेउमा राखिन्छ र बाँडिन्छ ।
     कहिलेकाहीँ चिया नसेलाओस् भनेर फुरुको ढक्कन पनि लगाइएको हुन्छ । फुरु भने प्राय: काठको र धेरैजसोमा बाहिरबाट, कसैकसैमा भित्रबाट पनि चाँदीले मोहरेको हुन्छ । पुस्तक पढ्दै जाँदा मलाई अचम्म लागेको पक्ष भने, यसरी स्थानीय स्वाद दिने चियाको पत्ति भने कालिम्पोङबाट नै पैठारी गरिएको हुन्थ्यो ।
     यसप्रकार पुस्तकमा चियाको कुरा अंग्रेजले स्थापित गरेको चियाबगानसँग ठोकियो । कालिम्पोङबाट आएको चियापत्ती राख्नुअघि कस्तो पत्तीको प्रयोग गरिन्थ्यो भन्ने कुरा जान्न सकिँदैन । किनभने अंग्रेजहरूले चिया खाने चलन चाइनिजहरूबाट सिकेका हुन् भन्ने बुझाइ छ । त्यसैले डिल्लीकोटमा पनि चीन, तिब्बत हुँदै कुनै पत्ति आउँथ्यो कि ? अथवा पत्ति नै नराखी चिया खाइन्थ्यो, शर्माको बयान यसबारेमा अनुत्तरित छ ।
     अंग्रेजसँगको युद्धपछि नेपालले केही भूभाग गुमाउनुपर्यो  । त्यसमा सिक्किम, दार्जिलिङलगायतका ठाउँ थिए । चिया बगान खोलेर अंग्रेजहरूले नेपालीलाई पनि कामदारको रूपमा ती क्षेत्रमा आकर्षण गर्न थाले । सन् १९८५ मा लेखिएको हिमालयन स्टेट फर्मेसनलेखमा रिचार्ड इंगलिसले यसबारे विस्तारमा लेखेका छन् । सन् १८२० को दशकमा ब्रिटिस कोलोनियलअधिकारीले चीनबाट ल्याएको चियाको बीउलाई कलकत्ताको बोटानिकल गार्डेनमा परीक्षण गरेपछि त्यसलाई सोही समयमा नै कुमाउमा रोपिएको थियो । त्यसको केही दशकपछि दार्जिलिङमा पनि परीक्षण गरियो र सन् १८५४ मा दार्जिलिङमा यसको खेती गर्न युरोपियन चिया व्यवसायीले अनुमति पनि पाए ।
    सन् १८७० को दशकमा दार्जिलिङ र पश्चिमी असममा ३ सय चिया बगानहरू बनाइए । त्यो बेला यी ठाउँमा १० हजार मानिसलाई बसोबास गराइयो । खासगरी नेपाली, सिक्किमी, भुटानीलाई । पूर्वाञ्चलमा तैनाथ एक कमान्डर इन् चिफले मेजर जर्नेल केदारनरसिं कुँवरलाई लेखेको अप्रकाशित पत्रलाई आधार मान्दै ज्ञानमणि नेपालले लेख्छन्, ‘अंग्रेजी चियाबगानमा वि.सं. १९२१ तिर ४ हजार जति नेपाली कुल्ली काम गर्थे ।इङ्लिसका अनुसार उनीहरूले त्यहाँ मजदुरी, कुल्ली काम, काठ काट्ने, भवन बनाउने तथा नोकरको रूपमा काम गर्थे ।
     ज्ञानमणि नेपालका अनुसार कुल्ली काम गर्न नेपालीहरू भारतमा काम गर्न गएको जंगबहादुरलाई मन परेको थिएन । हुन पनि रिचार्ड इङ्लिसका अनुसार सन् १८८१ देखि १९३१ को बीचको ४० वर्षमा ३ लाख २७ हजार नेपाली मजदुर यी चिया बगानलगायत भारतका विभिन्न ठाउँमा कामको सिलसिलामा गएका थिए । त्यो समयको जनसंख्या सानो कुरा थिएन ।
     इङ्लिसले यो पनि लेखेका छन् कि नेपालका स्थानीय जिम्दार मुखियाले लगाउने कर तथा राज्यले त्यसलाई पोस्ने चलन एकातिर र अर्कोतिर अंग्रेजहरूले दिने सुविधाले गर्दा पूर्वी पहाडमा गाउँका गाउँ खाली हुँदै गएका थिए ।
     यो सन्दर्भमा जंगबहादुरले केदारनरसिं कुँवरलाई त्यस्तै (दार्जिलिङमा जस्तै पूर्वी नेपालमा पनि) चिया बगान खोल्न र ती कामदारलाई दिने रकमबारे बुझ्न लगाए । सुरुआती सफलता नपाए पनि त्यति बेला राणाहरूले भारतीय बगानमा काम गर्न जाने नेपाली कामदारलाई रोक्न पनि चिया बगानको सुरुआत गरेको बुझिन्छ ।
     तर राणाले न चिया बगानमा काम गर्न जाने नेपालीलाई रोक्न सके । न २००७ सालतिर उनीहरूले कांग्रेसी बानीभनिएको चियाको उपभोग गर्ने चलनलाई नै । अहिले नेपालमा पानी पछिको प्रमुख पेय चिया नै बनेको छ । चिया सत्कारको प्रतीक मात्र भएको छैन । जाडो भगाउने माध्यम मात्रै होइन । राणाकालमा जस्तो नभएर यो नेपालीको बानीभइसकेको छ । टोले पसलहरूमा माथि जस्तै चिनी कम, रङ कडाभन्दै अर्डरगर्ने चलन बढ्दो छ ।


यो लेख २८ फागुन २०७३ मा कान्तिपुर कोसेलीको पृष्ठ छ मा हेर्न सकिन्छ ।


Saturday, March 4, 2017

बगरका माझी

माघको एउटा बिहान दौडिँदै आएकी महिला सुनकोसीको बगरमा बालुवा खोस्रेको खाल्डोमा टुपुक्क बसिन्।त्यसरी बसेकीले उनीतर्फ सोझै हेर्न मलाई आँट आएन, शौचले अत्याएर आएकी पो हुन् कि भनेर। कसो-कसो मलाई त्यो दृश्य अनौठो लागिरहेको थियो। तर, उनी शौचमा थिइनन्। सलले घुप्लुक्क मुख ढाकेर सुतेकी रहिछन्। त्यहाँ उनी अशान्त देखिन्थिन्।

     खाल्डोबाट उम्केर सोझै नदीले पानीढलो बनाएको किनारामा गई लुख्रुक्क दुइटै गोडा खुम्चाएर सुतिन्। अघिझैं सलले मन्टो लुकाइन्। एक मनले ठानेँ नदीकिनारमा माझीहरू भिटामिन डी खान यसरी नै आउँदा होलान्।त्यो नि मलाई बेबकुफ सोचाइ लाग्यो, घामले डढेका ज्यानलाई के को 'डी' 'सी' ? दृश्य त्यतिमात्र थिएन। दुई वा तीनजना महिला पूर्व-दक्षिण बगिरहेको कोसीको किनारैकिनार उँधोतिर दौडिरहेका देखिन्थे।
     त्यत्तिकैमा दुईजना पुलिस हान्निएर आएको देखेँ। उनीहरूमध्ये एकजना कड्किँदै थिए, 'यी छौंडालाई कति भने पनि नहुने। यहाँबाट माथि नजाऊभन्दा नि कत्ति नटेरेको। सिभिलमा आएर सबैलाई समातेर जाकिदिन्छु अनि थाहा हुन्छ।' अनि थाहा भयो त्यहाँ केही गडबडी रहेछ।
नजिकै एक्लै बालुवा चालिरहेकासँग सोधेँ 'के भएको दाइ? ' उनले भने, 'यहाँ पुलिसले बालुवा चाल्ने साँध बनाइदिएको छ, साँधभन्दा माथि गएमा यसैगरी लखेट्छ।' जताततै बालुवा निकाल्ने हो भने पानीको बहाव बदलिएर पुलको बुर्जालाई हानिदिन सक्ने भयले साँध बनाइएको रहेछ। ती मजदुर नूतन माझी थिए। उनले हाम्रो अनुहारमा नहेरी उत्तर दिँदै थिए। मेरो साथी रूख गुरुङले, 'दाइ हामी सिभिल ड्रेसमा आएका पुलिस हैनौं है' भन्दै उनलाई ढुक्क बनाए।

     अर्को दृश्यमा एक हबल्दारले आफ्नो सिपाहीलाई 'जा त्यो चालना फालिदे नदीमा' भन्दै अह्राउँदै थिए। सिपाहीले भने, 'फालेर के गर्ने साप, भर्खरै लतार्दै ल्याउँछन्।' त्यो सुनेर हल्दार फेरि कड्किए, 'फालिदे भनेको सुनिनस्।' सिपाहीले 'हस् साप' भन्दै चालना लतार्दै नदीमा मिल्काइदिए। तर, चारओटा बेल्चा भने लतार्दै उँभो लागे। बेल्चा लैजाने, चालना फाल्ने कस्ता पुलिस हुन् !
     सुनकोसी बगरमा बालुवा चाल्ने माझीहरू दोलालघाट बजारको अलि माथि माझी गाउँका बासिन्दा हुन्। उनीहरूको काम गर्ने थलो कोसीको बगर नै हो। घोप्टिएर गाउँ नै झरेंझै देखिन्थ्यो सुनकोसी र इन्द्रावतीको दोभानमा। दिउँसो एक प्रकारले, निकै रमाइलो पो लाग्यो त, त्यो बगर। गाउँमा दिउँसो त बुंगुुर र खोलेसोका कुखुरामात्र हुन्छन रे।
     बालबच्चासहित बिहानै ७-८ बजेतिर ४७ घरे माझी परिवारहरू बालुवा कोतर्न कोसी किनारामा पुग्छन्। त्यसैले १२ वैशाखको भूकम्पमा बुंगुर र कुखुराहरूमात्रै मरे र घाइते भए। नदी नहुँदो हो त के गर्दा हुन् ती माझी ? जीविकाको तानाबाना अरू पनि हुनन्। तर, एकदिनको लागि भने उनीहरूको बगर मलाई उराठिलो लागेन। मलाई नलागे पनि दिनहुँ बगरमा बिताउनेलाई कस्तो लाग्दो हो अज्ञेय नै रह्यो। टक्र्याकटुक्रुक ढुंगा बजिरहेको आवाज सुन्दा रोमाञ्चित लाग्ने ट्रिपरको हर्नले बगर सुनसान चाहिँ थिएन। अर्कोतर्फ, काम गर्ने ठाउँमा पारिवारिक वातावरण देखिन्थ्यो।
     माझीहरू डुंगा तार्ने, माछा मार्ने जाति हुन भन्ने सुनेको थिएँ। यही मेसोमा मैले बालुवा चालिरहेका मानबहादुरलाई सोधेँ, तपाईं पहिला के गर्नुहुन्थ्यो ? उनले भने, 'यही नै हो, बालुवा चाल्ने'। हुन पनि जहिलेदेखि बालुवाका घर बन्न थाले, उहिलेदेखि नै यो पेसा बन्यो होला। तर, कर गरेपछि उनले आफ्ना बाको त घट्ट भएको बताए।उनले भने, 'बाजेहरूको पनि पेसै पहिलेदेखि नै घट्ट चलाउने रहेछ।' कोही-कोही डुंगा पनि चलाउने रहेछन्। सुनकोसी र इन्द्रावती दोभानको तीरमा एक माझीको आफ्नै डुंगा देखिन्थ्यो। ५० रुपैयाँ प्रतिव्यक्तिमा उनले यात्रुलाई डुंगामा घुमाउँथे। मेरा साथीहरू त्यतैतिर पनि रमाएका थिए। 
     सुनकोसी बगरमा बालुवा चाल्ने माझीहरू दोलालघाट बजारको अलि माथि माझी गाउँका बासिन्दा हुन्। उनीहरूको काम गर्ने थलो कोसीको बगर नै हो। घोप्टिएर गाउँ नै झरेझै देखिन्थ्यो सुनकोसी र इन्द्रावतीको दोभानमा। 
     मानबहादुरले भने, 'वर्षभरि एउटै कामले मात्र त पुग्दैन अरू काम पनि गर्नुपर्छ।' बालुवा चाल्न नपाउने तीन महिनामा बर्खे भेलले बगाइल्याएका मुढाहरू समाउने, चिर्ने र राख्ने काम हुन्छ रे। मानबहादुरले थपे, 'त्यो बेला खोलाले दाउरा ल्याइदिन्छ, छेउतिर फालिदिन्छ, बटुल्यो चिर्‍र्यो र राख्यो।'
     मेरो मन चल्यो, 'यार, खोलो त सुनकोसी नै रहेछ माझीहरूलाई। मौसम मौसममा काम दिने।' मलाई त्यस्तो लागे पनि जीविकाको माध्यम बदलिँदो र अस्थायी प्रकारको देखिन्थ्यो। त्यसबाहेक उनीहरूले घर बनाउने मजदुरीको काम पनि गर्थे। गाउँमा काम नपुगेरै त होला, माझी गाउँका दुईतीनजना मलेसिया र कतार पनि गएका रहेछन्।
     फेरि बगरतिरै फर्केम्। मानबहादुर आफ्नो श्रीमती र दुइओटा छोराहरूसहित थिए। उनको समूहमा सातजनाले काम गरिरहेका थिए। बैनी, ज्वाइँ र उनको छोरी पनि थिइन्।उनका फुपू फुपाजू पनि थिए। उनीहरूका वरिपरि चालना (जाली), टेका (जालीलाई अड्याउने बाँस), कोरेसो (बालुवा कोट्याउने दुईटा दाँत भएको औजार), बोतल (तिर्खा लाग्दा पानी पिउनलाई), साबेल (बालुवा निकाल्ने बेल्चा), डोको (बालुवा बोक्नलाई), बोतलहरू पानी पिउनलाई यस्तै सामानहरू देखिन्थे।
     दोलालघाट वरिपरिका चार ओटामध्ये हामी उभिएको दोभान बगरमा झन्डै १२-१३ समूहले काम गरिरहेका थिए। यसबाट ४७ घरे सबै माझीहरूलाई बगरले पाल्न सक्दैन भन्ने बुझिन्थ्यो। मिलेर, क्षेत्र छुट्याएर काम गरेको देखिन्थ्यो। सबैलाई पनि होइन, सधैंलाई पनि होइनरहेछ यो काम।
     अरूहरूको नि कुरा सुन्न उँधो बगरतिर लाग्यौँ। बर्खेभेलले थुपारिदिएको बालुवालाई कोरेसोले कोतर्दै ढुंगा एकातिर बालुवा अर्कोतिर राखिरहेका मानिस भेटिन्थे। कोही ठड्याइएको चाल्नोमा बेल्चाले थुपारेको बालुवा हुत्याउँदै मसिन्याएका पनि देखिन्थे।
     के महिला, के पुरुष कामको विभाजन देखिँदैनथ्यो, मोटो दृश्यमा। महिलाले बेल्चा पनि लगाउँथे। एक ठाउँमा जम्मा पारेको बालुवा डोकामा बोकेर ट्रक आउने ठाउँसम्म पनि पुराइदिनुपर्दथ्यो।
     अर्को समूहतिर गयौं। बुद्ध श्रेष्ठ पनिसँगै थिए। कुराको सिलसिला, थुपारेको बालुवालाई कति पर्ला भन्नेबाट सुरु भयो। सुरुमा लजाए पनि पछि एउटीले भनिन्, 'एक टरकको पाँच हजार रूपपे।' तीमध्ये दिदी चाहिँको नाम सुनसरी माझी रहेछ। बाउ र दुई छोरी गरी तीनजनाले दिनमा एक ट्रक बालुवा बनाउने रहेछन्।
     मैले 'राम्रै मूल्य हुनेरहेछ त दिदी।' त्यति भनेपछि सुनसरीले तुरुन्तै जवाफ दिइन्, 'आधा त न्यारलाई दिनुपर्छ।' मैले सोधेँ 'किन दिनुपर्ने यत्रो दुःख गरेको पैसोको आधा- नेवारलाई ? ' उनले फर्काइन्, 'बगरभन्दा माथि उनीहरूको बारी छ, त्यसैले।'
     माथि बारी हुँदा बगरको बालुवाको आधा पैसा किन दिनुपर्ने ? मैले उनको कुरा बुझिनँ। अरूलाई नै सोध्छु भनेर अझै उँधो लागेँ। एउटा खाल्डोमा आधा जीउ पानीमा डुबाएर बालुवा झिकिरहेकामध्ये एकजनाले कुराकानीको क्रममा भने, 'यो बगर पहिला नेवारको बारी थियो। बाढी आएर पुरेपछि अँधियामा काम गर्नुपरेको हो।' कुरो सुन्दा अलि नमज्जा लाग्यो, काम गरिरहेका ती माझीसँग होइन आफैसँग मनोवाद चलिरह्यो, 'जाबो यो बगर पनि माझीको भएन है।'
     कुराको तृष्णा अझै मेटिएको थिएन। नजिक नजिकै समूह थिए। काम गरिरहेका माझीलाई झिँझोलाग्दो हो तर सोधिरहेँ, 'बालुवा कोट्याउँदा कोट्याउँदा के के भेटिन्छ नि ? ' काम गरिरहेका एक पुरुषले, बगरमा पल्टेको एउटा मुढा देखाउँदै भने, 'ऊ त्यस्तै मुढा पाइन्छ।' सुनसरीले पनि नजिकै एउटा ठूलो मुढा र ससाना अरू दाउरा पनि जम्मा गरेकी थिइन्।
     यी मुढाहरू पोलेर निकालिएको जस्ता थिए। 'पोलेका मुढाजस्ता देखिन्छन् नि? ' उनले, 'होइन नि ! बालुवामुनि पुरिएकोले त्यस्तो कालो भएको' भने। यो दाउराबाहेक चम्चा गिलासहरू, जस्ता पाताहरू पनि भेटिन्छन् रे। घर भत्काएर ल्याएका सामानहरू पनि पाइन्छन् रे।
     म फेरि मानबहादुरको थुप्रोतिर फर्किएँ, उनले आफ्ना २३ वर्षे ज्वाइँलाई 'ए त्यो अलिकति उता पल्टाइदेऊ न र अनि यो उकाल्देऊ' भन्दै थिएँ। ज्वाइँ ट्रकमा बालुवा लोड गर्दै थिए। नजिकै बालुवा लैजाने ड्राइभर पनि थिए। उनका अनुसार, बगरबाट पाँच हजारमा उठाएको बालुवा बनेपा पुर्‍याउँदा १० हजार पर्छ। तर, भक्तपुर लगे त्योभन्दा बढी पर्छ। मसिनो र राम्रो मेहनेत गरेर बनाएको बालुवा रहेछ भने अर्कै हो नत्र भाउ प्रायः एउटै हुन्छ। जिल्लाभित्र भए एक ठाउँमा बाहिर लगे दुई ठाउँमा कर तिर्नुपर्ने रहेछ। एक ठाउँको पाँच सय।
     जिविसले बालुवा कर उठाउने ठेक्का वर्षा सकिएपछि एक वर्षको लागि ठेकेदारलाई दिन्छ रे। मानबहादुरले भने, 'यसपटक (२०७३ सालमा) ६८ लाखको टेन्डर पर्‍यो रे।' त्यसपछि फेरि सुरु हुन्छ बालुवा चाल्ने काम।टेन्डर प्रक्रिया सकिएपछि असोज कात्तिकतिरको सिजनमा २०/२५ ओटा गाडी (ट्रिपर) हर्न बजाउँदै बालुवा लिन आउँछन् रे। तर बगरमा बालुवा सकिएर खाल्टैखाल्टा हुँदै जाँदा माघतिर भने दिनमा १०/१२ ओटामात्र ट्रिपर हुन्छन् रे। त्यतिबेला बालुवा सकिँदै जान्छ। ठाउँ सकिँदै गएपछि माझीहरूलाई अर्को वर्षा कुर्नुपर्छ। त्यसबीचमा माछा मार्ने, ज्यामी काम गर्नुपर्ने हुन्छ।
     बगरमा उभिएर हेर्दा, नदी नागबेली बगिरहेको देखिन्थ्यो। बगर र माझी गाउँहरूलाई वारि र पारि देखिन्थे। उभिएको बगरपारि अर्को गाउँका माझीहरू बालुवा चालिरहेका देखिन्थे। मलाई त लाग्यो कि यी बगर/गाउँहरू नदीले छुट्याए पनि उनीहरूलाई डुंगाले जोड्छ। त्यसैले होला नदीकिनारका ठाउँठाउँमा यस्ता डुंगाहरू सिक्रीले बाँधेर राखिएको थियो। सायद तर्नलाई र तार्नलाई।
     कोसी किनारमा माघको एक शुक्रबार हामी मार्टिन चौतारीबाट पिकनिक गएका थियौं। दोलालघाटमा त्यो दिन केही माझी बच्चाहरू स्कुल गएका थिएनन्। बच्चाहरूले काम गरिरहेका आफ्ना आमाबाबुलाई जरुवा अथवा खोलाबाट पानी ल्याइदिने र पानी खान दिने गर्थे।
     साथै ठूलाले ससाना बच्चाहरू हेर्दै बगरमा खेलिरहेका थिए। बा-आमाले आराम गरेको बेला बेल्चा चलाउन सिक्ने पनि गर्दा रहेछन्। कतिपयले त कोरेसोले बालुवा कोतर्ने पनि गरेको देखिन्थ्यो। बगरका यी जीवनसँग बस्ने रहर हुँदाहुँदै घाम पहेँलिँदै गएकाले सिरानतिर उकालियौं।
     सिरानमा पुगेपछि क्याटरिङ नजिक बिहानैदेखि केही अपरिचित मान्छेहरू जम्मा भएको मैले याद गरिरहेको थिएँ। चौर नजिकैको धारोमा एउटा केटोले क्याटरिङवालाका भाँडा धसिरहेको देखेपछि बिहानको दृश्य याद भयो।
     सायद काम खोज्न आएका मान्छे हुनन्। उनको नजिकै गएर सोधेँ। रोनिश माझी रहेछन्। १२ वर्षका रोनिश दुई कक्षामा पढ्दा रहेछन्। तर, उनी हरेक शुक्रबार स्कुल नै जाँदैनन्। शुक्रबार र शनिबार यहाँ पिकनिक गर्न मान्छे आउने र भाँडा माझ्ने काम पाइने हुनाले स्कुल नगएका उनी।
     अबेर भइसकेको थियो गाडीले 'जाउँ' भन्दै हर्न बजायो। रोनिशसँग विदा मागेर हिँडे । घाम पहेँलिँदै डाँडाबाट झर्दै थिए तर बगरको टकर्‍याकटुक्क्रुक चलिरहेकै थियो।

यो रिपोर्टिङ्ग लेख २६ फागुन २०७३, बिहीबारमाअन्नपूर्ण पोस्ट्को 'फुर्सद'मा प्रकाशित थियो ।