Saturday, May 9, 2015

तङ्ग्रीँदैछ खोकना-फोटो कथा

खोकना रुटमा गाडि चलाउने यी ड्राइभरको  सिन्धुपाल्चोकमा घर काम नलाग्ने गरि भत्केको छ । सबै सकुसल भएकाले उनी १५ दिन हुँदा पनि आफ्नो घर गएका छैनन् । घर बनाउनुपर्ने छ । पैसाको जोहो गरेर केही दिनको लागि घर जाने प्लानमा छन् । 

 पौने घन्टा हाँकिएपछि रत्नपार्कबाट खोकना पुगिन्छ ।

खोकनामा पनि पुराना धरोहर बाँकी थिएनन् ।  


जन्मे हुर्केका घर खण्डहर हुँदाको पीडा सजिलै देखिन्थ्यो ।

सम्झनामा मात्र रह्यो सिँगारिएको कोठा पनि ।

खोकनाको छिमेकी बुङ्गमती  पनि उस्तै छ।

दाङबाट बुङ्गमतीमा होटल गर्ने यी दलित परिवारलाई नि भूकम्पले विजोग बनायो । 

धन्य आलुबारी : भुकम्पको बेला खोकनाका किसानहरु  यी  बारीहरुमा  काम गर्न गएका  थिए र जोगिए ।

जोगिएकाहरुलाई शहरबाट सहायता गर्न आएकाहरुको लस्कर।  

थाईल्याण्डका भिक्षुहरुले बाँडेको राहत लिँदै ।

भूकम्पले जर्जर गरिबीमा धकेलिदियो : पुराना लुगाफाटाहरु काम लाग्छन कि भनेर छान्दै । 

हामीले उनीहरुलाई धन्यबाद दिन्छौं । जसले हामीलाई सहयोग गरे।  कोहीले टिन दिए। 

कसैले अन्न दिए। 

कसैले खुट्टाले चलाएर पानी फिल्टर गर्ने यन्त्रहरु नि दिएर गए । 


दिनेहरुलाई धन्यवाद । जीवन चलाउन आफ्नो 'नाँलेज' पनि त प्रयोग गर्नुपर्यो ।

सरकार कहिले आउने हो, वर्खाको जोहो त गर्नैपर्यो । 


सगोलमा बस्ने हाम्रो घर धुलाम्यै भएपनि सगोलमै बस्नेगरी टहरो बनाउँदै ।

काम त गर्नैपर्यो । बारीको धनियाँ केलाउदै टेन्टभित्र एक महिला ।
तङ्ग्रिँदै छ खोकना ।
धन्यवाद ।

Wednesday, May 6, 2015

भयावह-भक्तपुर- फोटो कथा


२०७२ वैशाख १२ गते महाभुकम्पको महाविपद भोग्ने १४ जिल्ला मध्ये भक्तपुर पनि एक थियो । पुराना घरका संरचना, साँगुरो गल्ली भएको भक्तपुरमा भूकम्पको कल्पना पनि कहालीलाग्दो हुनसक्थ्यो । तर त्यस्तो भयो ।

विपद व्यवस्थापन तथा संभारको सामाजिक मूल्यांकनका स्वयंसेवकसँग २०७२ वैशाख २४ मा म पनि भक्तपुर गएको थिएँ । टाढैबाट हेर्दा पनि देखिन्थ्यो "भत्किएको भक्तपुर" । नजिकै जाँदा लाग्यो "भयावह भक्तपुर" । घर खोस्रँदै गरेका मान्छेसँग कुरा गर्न समय थिएन । सबैले सबैलाई हेरिरहन्थे, केही बोल्दैनथे । त्यसैले मसँग पनि शब्द छैनन् ।

च्याम्हसिँहबाट छिर्दा किसान बस्तीमा


घरहरुले पुरिएका गल्लीबाट हिँड्दा


केही भेटिन्छ कि ?
 
सबै ढले एक्लै घाइते भएर उभिएको छु
कता भागे होलान् ति मान्छेहरु
निशब्द
भन्नुस् त बैनी कहाँ बसौँ ? आफ्नै घरमा आउँदा डर लाग्छ ।
"यसपाली त मनै फाट्यो केल्ले सिउने केल्ले टाल्ने हो"
कस्तो विपद न खाना न पानी
खाटमुनी छिरेपनि मेरी आमा बाँच्नुभएन सँगै भएकी मलाई टुहुरी पारेर जानुभयो
धन्यवाद छिमेकी, हामीलाई पर्दा सहयोग गर्यौ
जस्को पनि आयु हुँदो रहेछ । भीमकाय प्राणीले नि जोगाउन सकेनन्
उमेर नपुगी मरिँदो रहेनछ : केहीले छोडी गए पनि पाँचतले एक्लै बाँचीरहेछु

धन्यवाद् ।

Tuesday, March 3, 2015

मंगलीको 'सम्चार'




पोखराबाट उत्तरपूर्वको हिमाली गाउँ ताङ्गतिङ्गमा विदेशबाट आएका 'लाउरे'हरु आएको अर्कै दिन जंगल जान्छन् । रनबन डुलेको याद मेटाउन । जंगल उनीहरुको निकै प्यारो थलो । त्यसैले ८४ पुगेका बृद्धहरु पनि जंगलमा धर्मशाला बनाउँछन् । वर्खामा ओतिन । गोठबस्ने थलो, दाउरा, जडिबुटी, तरुल, यार्सागुम्बा आदि पाउने थलोसँग उनीहरुको जीवन जोडिएको छ । म पनि एकदिन मान्छेहरुसँग कुराकानी गर्न बनतिर जाने योजना बनाएँ । गाउँबाट १ घन्टा बनैबन हिँडेपछि गुरुङ्गहरुको चिहानघारी माथिको बारीमा साग टिप्दै गरेकी आइमाइ देखेँ । कल्बन्धी पाखोको मुनीपट्टी बारीमा साग टिप्दैगरेकी आइमाइलाई नजिकै गएपछि मैले चिनीहालेँ । मंगली रहिछन् । मंगलीले कल्बन्धीको पारीपट्टी रहेको सिल्दुको पाखो नजिकै पूरानो स्वाँरमा तोरीको साग टिप्दै थिइन् । उनले साग टिप्ने बारी गुरुङ्गको थियो । तोरीमात्र छरेको भए साग टिप्न पाइँदैनथ्यो । तर त्यो बारीमा जौ पनि 'मिस्कट' गरेर छरेकाले टिप्न अनुमति थियो । जब म उनी नजिकै पुगेँ । उनले भनिन्, "नचिनेको बाटो एक्लै नहिँड्नुस् बाबु ।" मैले उनलाई भने, "तरुल खोज्न आएका ठिटाहरु खोज्दै हिँडेको थिए कसैलाई भेटिन । त्यसैले यता आएको ।"
तस्बीर १ : तोरी टिप्नेबारीबाट देखिएको अन्नपूर्ण हिमालको दृष्य 

माघे संक्रातीको लागि बन तरुल खोज्न हिँडेका गाउँका ठिटाहरुलाई खोज्दै म पनि कलवन्धी पाखोतिर लागेको थिएँ । 'ओइ' भन्दै चिच्चाउँदै हिँड्नुपर्ने नत्र तरुल खाल्टोभित्र मन्टो घुसारेका केटाहरुले ढुंगा पल्टाइदिएमा 'डेन्जर' हुनसक्थ्यो । जति 'ओइ' भनेपनि केटाहरुले 'हुइ' भनेर जवाफ दिएनन् । उनीहरु अर्कै पाखोतिर गएछन् क्यारे । 

६७ वर्षकी मंगली हुलाककी हल्करा हुन् । १० जना हुलाकी मध्ये उनी एक दलित हल्करा हुन् । मैनामा १ चोटीको पालोमा चिठ्ठी विनाको 'हुलाकी थैलो' लिएर उनले गाउँबाट पोखरा झर्नुपर्छ । पोखरामा उनी प्राय: फुलमाया गुर्सेनीको घरमा बस्छिन् । मंगलीको गाउँ, ताङ्गतिङ्गबाट पोखरा २४ किलोमिटर टाढा भएपनि एकदिन उतैबास बस्नुपर्छ । अघिल्लो मैनामा उनी पोखराकी फुलमायाकहाँ बास बसेकी थिइन् । त्यति बेला फुलमाया गुर्सेनीले मंगलीलाई गाउँबाट सिन्की ल्याइदिन भनेकी थिइन ।
तस्बिर २ : बल्ल गुरुङ्गको बारीमा तोरीको साग टिप्दै गरेकी मंगली ।

फुलमायाले सिन्की ल्याइदिन भनेकै बेला मंगली छोरी भेट्न याङ्गजाकोट गइन । त्यही बेला आफैले छोरीलाई सम्चार छोडेकी थिइन् "पुसको आखिरीतिर मेरो पोखरा झर्ने हुलाकी पालो परेको छ, मलाई जसरी नि एकपाथी सिन्की खोजीदिनु ।" मंगली र उनकी याङ्गजाकोटे छोरी दुवैसँग मोबाइल थिएन । आमाले अह्राएको भरमा छोरीले सिन्की खोजेर बसिन् । याङ्गजाकोट र ताङ्गतिङ्ग ओहरदोहर गर्नेसँग आमालाई 'तोरीको साग ल्याइदिनु' भनेर सम्चार पठाइन् । यता मंगलीले पनि एक महिना अघि भनेको कुरा छोरीले विर्सिन्छेकी भनेर ३ दिन अघि याङ्गजाकोट छोरी भेट्न जान लागेकी ताङ्गतिङ्गकी भउती गुर्सेनीसँग 'रिमाइन्डर' सम्चार पठाइन् । भउती गुर्सेनीलाइ मंगलीले भनेको सम्चार यस्तो थियो । "आमा ३० गते सेवारै पोख्रा जाँदैछिन । जसरी नि आउन भन्देउ है ।" भउती गुर्सेनीका तीनटी छोरीको विहे याङ्गजाकोटमै भएकाले उनीसँग छोरी भेट्न जाँदा मंगलीले नियमित सम्चार पठाउने गर्छिन् । मोबाइल विनाका यि आमाछोरीलाई एक गाउँदेखि अर्को गाउँसम्म आउनेजाने मान्छेका 'हात' पठाएको सम्चारले काम गर्छ । मंगलीको याङ्गजाकोटे छोरीको घरमा वर्खा याम ताका मोबाइल थियो । पानीमा खसेर विग्रेकोले छोरी पनि मोबाइल विहिन भएकी छन् । त्यसैले मंगलीलाई छिमेकीको मोबाइलबाट फोन गरौँ भने पनि मिल्दैन । त्यसैले सम्चारमा भरपर्नुपर्छ । 

मान्छेले बोकेका सम्चारमा भरपर्ने मंगलीले मोबाइलमा फोन नै नगरेकी भने होइनन् । कहिलेकाँही आफ्नो घर माथिकी छिमेकी गुर्सेनीसँग मोबाइल मागेर फोन गर्छिन् । आफूले नाम भन्न नआउने भन्दै मंगलीले भनिन् "उनको नाम त के हो कुन्नी,  हाम्ले बबिताको आमा भन्छम् । बबिताको आमासँग फोन मागेर कहिलेकाही छोरीलाई दुखविमार भएको छ कि छैन भनेर छोरीको छिम्कीलाई फोन गर्छु ।" उनले यसरी फोन गर्दा 'एकपाली'मा बबिताको आमालाई ५० रुप्पेको रिचार्ज गरिदिनुपर्छ । नातीनातिनाले चिर्कटोमा लेखेर दिएको फोन नम्बर मंगलीले जतनले राखेकी छिन् । आफूलाइ 'दुखेको बेला' छोरीलाई फोन गर्छिन । छिमेकीको 'साहेताले'

मंगली हुलाकी हल्करा भएकाले वृद्धभत्ता पाउन्नीन् । गाउँका ठालुहरुले दुइतिरबाट तलब थाप्न पाइन्न भनेर उनले भत्ता नपाएकी हुन् । तर गाउँमा दुइतिर काम गरेर रुप्पे थाप्ने कतिछन् कति । आफूमात्र बञ्चित भएकी मंगलीले आँशु पुछ्दै भनिन्, "एक्ली दमिनी भनेर हेपेका हुन् ।" अन्तिम आँशु पुछ्दै मंगलीले भनिन्, "तर विष्टबराजुसँग निहुँ खोज्नु हुँदैन" । 

पोखराबाट फर्किँदा कहिलेकाँही फुलमायाले मंगलीलाई लत्ताकपडा पनि दिन्छिन् । उनी पोखरामा फुलमायाको टिभी कोठामा सुत्छिन् । गाउँमा गुरुङ्गको घरभित्र पस्न नपाएपनि पोखरामा भने त्यस्तो शुद्ध अछुत भएर बस्नुपर्दैन । फुलमायाको घरमा मात्र होइन अरुको घरमा पनि । हुन त पोखरामा मंगलीका आफन्ती पनि छन् । ती आफन्तीहरु पाहुना धेरै आए भनेर कचकचाउने भएकाले आफ्नी विष्टेनीकहाँ नै बस्न रुचाउँछिन् मंगली । कहिलेकाहीँ मंगली फुलमायाबाहेक अरु विष्टकहाँ पनि बस्छिन् । गाउँबाट कसैले नासो पठाएमा त्यही नासो पठाएका विष्टबराजुकहाँ बस्छिन् । गाउँका गुर्सेनीहरुले पोखरामा बस्ने आफन्तीलाई साग, मुला, भट्ट, बनको न्यूरो जस्ता नासो बरोबर पठाउँछन् । मंगली सधै एउटै मान्छेकहाँ बस्दिनन्, कहिलेकाहीँ मितेनी बुहारीको घरमा बस्छिन् । उनकी मितेनी छाचोककी 'कमेनी' हुन् । उनका छोराबुहारी पोखराको मालेपाटनमा घर बनाइ बसेका छन् । २७ वर्ष पहिले उनले मित लाएकी थिइन् । ताङ्गतिङ्गबाट पोखरा जाँदा बाटोमा बास बस्नुपर्थ्यो । मंगलीले भनिन्, "बुढा छँदाको कुरा हो । अँध्यारो भएपछि छाचोकको कमेनीकहाँ बास बस्यौँ । मितेनी पनि म जत्रै डल्ली थिइन् । उत्रै होचाहोचा भएकाले उनको बुढा र मेरो बुढाले मित लाउन भने ।" उनीहरुले पैसा ओहरदोहर गराएर मित लगाएका हुन् । कति रुपैँयामा मित लाउनुभएको भनि सोध्दा उनले फुक्का हाँसो छोड्दै भनिन्, "पाँच रुप्पेले, हे हे हे" । पोखराबाट आउँदा कहिलेकाही तिनै मितेनीकहाँ पनि बास बस्छिन्, मंगली ।
तस्बिर ३ : छोरीलाई तोरीको साग, छोरीसँग सिन्की लिएर पोखरा बासबस्ने योजनामा मंगली

पोखराबाट फर्किँदा मंगलीले आफूलाई चाहिने मासु, नुन, खुर्सानी, मर/मसला, साबन, तेल, आदि डोकामा बोकेर आउँछिन् । उनले भनिन्, "चुरोट पनि छुटाउन्न । त्यो त मेरो सास नै हो ।" चिसोले होला ताङ्गतिङ्गमा खुबै चुरोटको खपत हुन्छ । दैलामुनी मंगलीको अलिकति बारी त छ । बार्न नसकेकाले छिमेकीका कुखुराले हैरान पार्छन् । बारीले खान पुग्दैन । बिष्टबराजुकहाँ काम खोज्न जानुपर्छ । बुढेसकाल लागेपछि उनीहरुले पनि बोलाउन छोडे । कहिलेकाहीँ गोडमेल गर्न त बोलाउँछन् । त्यतिले पुग्दैन । हल्कराको काम गरेर आएको पैसाले गुजारा चलेको छ । उनी भन्छिन्, "भारी बोक्न नि सक्दिन, जडिबुटी खोज्न नि टाढा जानुपर्नेहुँदा सक्दिन । निगालो काट्न उतै बास बस्नुपरेकाले जान सक्दिन । दाउराबाहेक नजिकको जंगलले पनि केही दिन नसकेकाले बन पनि बिरानो भयो ।"
तस्बिर ४ : कल्बन्धि पाखोबाट घाँस काटेर फर्कँदै गरेका साथीलाई हेर्दै मंगली

एक घन्टा बढीको कुराकानी पछि मंगलीले कलबन्धी पाखातिर गएका केटीहरुलाई देखाउँदै "उ दुइटी आए ।" आफू जाने जनाउ दिँदै भनिन् । त्यसपछि मैले उनलाई छोडेर एक्लै गाउँतिर फर्केँ । फर्किँदा मादिनदी एकोहोरो सुसाइरहेको सुनिन्थ्यो । मादिशीरे गाउँहरुमा ।

Wednesday, November 19, 2014

काँग्रेस र कम्युनिष्टहरुका पत्रिका

मैले झापाको भद्रपुरमा एउटा पत्रिका पसलको फोटो खिचिरहेको थिए । पसलबाट फुत्त एउटी युवती निस्केर सोधीन 'किन फोटो खिच्नुभएको ? मैले भित्र कोही होला भन्ने सोँचीन । उनलाई हत्तपत्त उत्तर दिएँ । म पत्रिकाको अनुसन्धान गर्छु तपाईको पसललाई म्यागेजिनले चिटिक्क पारेको देखेर फोटो खिचेको हुँ । तपाईँ चाहनुहुन्छ भने मैले फोटोहरु सबै डिलिट गरिदिन्छु । उनले भनिन्- 'भो पर्दैन'। मेरो आकर्षण साँच्चै नै त्यो पसलमा चिरिच्याँट्ट परेका म्यागेजिन पट्टि नै थियो । रङ्गीविरङ्गी म्यागेजिनले पसललाई विवाहको मण्डपजस्तो सजाइदिएको थियो । त्यसैले आकर्षणको विन्दु बनेको थियो त्यो पसल । पत्रिका पसलमा जाँदा म्यागेजिन देखेर जाग्ने अर्को जिज्ञासा हो- यो म्यागेजिन कस्को हो कुन राजनीतिक पार्टीको हो आदि । भारतमा पनि त्यस्तो हुँदो रहेछ । एक प्रसिद्ध म्यागेजिन ुआउटलुकु का सम्पादक विनोद मेहेताले पत्रिका पन्ध्रौँ वर्ष पुगेको अवसरमा पाठकहरुकहाँ गएर उनीहरुको राय बुझेका छन् । उनलाई पाठकले सोधेका प्रश्नहरु मध्ये एउटा प्रश्न 'आउटलुकुले कुन राजनीतिक पार्टीलाई समर्थन गर्छ' भन्ने थियो । मेहेताले पत्रिकामा लेखेका छन्- आउटलुक 'लिवरल-सेन्टर-लेफ्ट पब्लिकेशनु'हो । उनका अनुसार पाठकहरु यसलाई काँग्रेस आईको पत्रिका भनेर बुझ्ने रहेछन् । अर्थात भारतीय जनता पार्टीको विरुद्ध समाचार छाप्ने उनीहरुका मान्छेका लेख नछाप्ने भन्ने बुझ्दा रहेछन् । र यसलाई 'सोनियाको चम्चागिरी' पनि भन्ने रहेछन् । हाम्रोमा पनि त्यो छ । कस्को पत्रिका कस्ले लगानी गरेको यी प्रश्न अहिलेका पाठकहरुमा निकै चल्ने गरेको छ । पञ्चायतकालमा नेपाली पत्रकारिताको एउटा मुख्य पहिचान नै पार्टीकारिता गर्ने थियो । रोजकुमार श्रेष्ठले नेपाल साँस्कृतिक संघले प्रकाशित गर्ने 'सँस्कृति' भन्ने स्मारिकामा लेख्नुभएअनुसार पंचायती समयमा 'समिक्षा' र 'नयाँ सन्देश' भन्ने पत्रिका लोकपि्रय थिए । यी पत्रिकाहरुलाई मान्छेहरुले क्रमशः रुस-समर्थक र अमेरिका-समर्थक भनेर चिन्थे । अर्थात काँग्रेस र कम्युनिष्ट । यिनीहरुमा छापिएका खवर र विचार नेपाल अधिराज्यभरि र राजनैतिक क्षेत्रमा उथलपुथल ल्याउँथे । जेहोस पाचायत कालबाट पत्रिकाहरुको पहिचान राजनीति गर्ने दलका आधारमा बन्ने गरेको हो । त्यो समयमा सरकारी प्रकाशनका बाहेकका पत्रकारहरु पार्टीको लेवल लगाएको बुझ्न सकिन्छ । यो धरातलमा २०४६ सालपछिका पत्रिकाहरु पनि खासगरी म्यागेजिनहरु र टेब्लोइड पत्रिकाहरु पनि काँग्रेस र कम्युनिष्टका पत्रिका भनेर चिनीएका छन् । अझ जनमञ्च पत्रिकाबारे गरिएकॊ अनुसन्धानको अनुभव के छ भने पत्रकारिताको व्यावसायिकता पनि पार्टीकारिताबाट हुर्किएको हो । त्यसैले यहाँ २०४६ सालपछि काँग्रेस र कम्युनिष्ट समर्थन गरिएका म्यागेजिनहरु के-के थिए भन्ने जान्न खोजिएको छ । काङ्ग्रेसी म्यागेजिन : २०४८ सालपछि सत्तामा रहेको नेपाली काँग्रेस प्रति वफादार रहने गरि तुलनात्मक रुपमा कमै म्यागेजिनहरु निस्केका छन् । काँग्रेसको संस्थापन खेमाबाट असन्तुष्टहरुले पाक्षिक स्वतन्त्रता निकाल्ने अभ्यास २०४८ को सुरुदेखि नै गरे । यसका सुरुका कार्यकारी सम्पादक सुरेश आचार्यका अनुसार यो २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबाट असन्तुष्ट कांग्रेसले निकालेको पत्रिका हो । यसको सुरुको अङ्कमा खसीलाई काटेको आवरण तस्वीर राखिएको छ त्यसको लाक्षणिक अर्थ चाहिँ गिरिजाप्रसाद कोइरालाले शिशु प्रजातन्त्रको वध गरे भन्ने थियो । कृष्णप्रसाद भट्टराईको हारपछि नेपाली काँग्रेसमा चर्किएको विवादले यस्ता म्यागेजिन प्रकाशनको आधार बने । त्यस्तै लाक्षणिक चित्र स्वतन्त्रताको वर्ष २१ अङ्क ६मा पनि छ जहाँ एउटा बच्चालाई काँडेतारको विचमा राखिएको छ । त्यसको अर्थ चाहिँ शिशु प्रजातन्त्रलाई अप्ठ्यारोमा राखिएको भन्ने हो । यो म्यागेजिनको प्रकाशन २०२८ सालमा साहित्यिक पत्रिकाको रुपमा भएको थियो । यहि पत्रिकालाई २०४८ साल कात्तिक महिनामा पाक्षिक समाचार पत्रिकाको रुपमा प्रकाशित गरिएको हो । २०२८ सालमा स्वतन्त्रता प्रकाशन गर्नुको उद्देश्य 'साहित्यको माध्यमबाट पाचायती शासनको विरोध गर्नलाई हो' पहिलो अंकको प्रकाशकीयमा भनिएको छ । सोही प्रकाशकीय अनुसार स्वतन्त्रताको जन्म हुँदा पाचायती अवस्थामा मुलुकको वातावरण यस्तो थियो कि सरकार र व्यवस्थाको जायज विरोध गर्न पनि साहित्य र अमूर्त भावनाको सहारा लिनु पर्दथ्यो । अर्को पत्रिका 'अग्निपथ साप्ताहिक' २०५४ पनि नेपाली काँग्रेस पक्षधरले निकालेको म्यागेजिन नै हो । २०५५ सालमा पुनः प्रकाशन गरेको सन्दर्भमा भनिएको छ 'प्रजातन्त्रवादी भएकाले हामीलाई कांग्रेस्या भनिन्छ भने हामी त्यसलाई गाली ठान्दैनौ र कांग्रेस्या भन्दा भन्दै कसैले कांग्रेसको कुनै गुट र लवीमा लगेर सीमित गरिदिन्छन् भने तिनको मन्द बुद्धिप्रति हामी सहानुभूति जनाउनुबाहेक केही गर्न सक्दैनौ'। कांग्रेस्या पत्रिका भएपनि कुनै खेमामा नलाग्ने यो प्रकाशकीय टिप्पणीले बताउँछ । तर यसले गणेशमान सिंहले प्रजातन्त्रका निम्ति बीपी‚ केपी र जेपीसँग हिडेको कठोर यात्रालाई अग्निपथ भनेको छ । यो गणेशमान सिंहको जन्मतिथिमा निस्केको पत्रिका हो । यसआधारमा यो गणेशमान सिंह खेमाप्रति सहानुभूति राख्ने पत्रिका हो भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । २०५५ साउन महिनामा बीपी कोइरालाको १७ औँ पुन्यतिथिको अवसरमा यसले पुनः प्रकाशन गर् यो । यसका सम्पादक/प्रकाशक श्रीआचार्य थिए । यसले मुलतः नेपाली कांग्रेसका बारेमा विषयवस्तुहरु प्रस्तुत गरेको छ । तत्कालिन सत्तापक्ष नेपाली कांग्रेसको आन्तरिक राजनीति ऐतिहासिक अभिलेखलाई क्रमशः सुरुको अङ्कदेखि प्रकाशन गरिरहेको छ । त्यसैगरि बीपी कोइरालाका विभिन्न पुस्तकको बारेमा चर्चा पनि क्रमश विभिन्न अङ्कमा गरिएको छ । बीपीको समाजवाद बीपीको चिन्तन व्यक्तित्वबारे सामग्रीहरु प्रस्तुत गरेको छ । नेपालको व्यावसायिक म्यागेजिन जनमञ्च पनि प्रकाशनका हिसावले व्यावसायिक भएपनि यसमा काम गर्ने पत्रकारहरुको हिस्सा नै पंचायतकालमा हुर्किएको 'डेमोक्र्याट' खेमाबाट आएका पत्रकारको वाहुल्य भएकाले अन्तरवस्तुमा यसले असर पारेको थियो । त्यतिबेला कम्युनिष्ट पाठकहरुले यसलाई पनि काँग्रेसको पत्रिका भनेर चिन्थे । बाँकी अंश अन्नपूर्ण पोष्टमा छापिएको छ ।

पत्रकारिताको इतिहासमा जनमञ्च

नेपाली भाषाबाट साप्ताहिक रुपमा निस्कने न्यूज म्यागेजिन जनमञ्चको प्रकाशन २०४७ कात्तिक ८ बाट भएको हो । त्यतिबेला न्युज म्यागेजिनको लागि नेपाली पाठकहरुले भारतीय म्यागेजिन पढ्ने चलन पनि थियो । यो समयमा जनमञ्चमा लगानी गर्ने अमेरिकी नागरिक आर.डी. टटलले पञ्चायत कालमै सोल्टी होटलमा क्यासिनो खोलेका थिए । क्यासिनोको प्रचारका लागि नेपाल ट्राभलर म्यागेजिन पनि प्रकाशन हुन्थ्यो । व्यवस्था परिवर्तनपछि राजतन्त्र तुलनात्मक रुपमा कमजोर र दलहरु बलिया भएको सन्दर्भमा उनलाई दलहरुसँग नजिकको सम्बन्ध बढाउन आवश्यक थियो । कतिपय पत्रकारहरुले जनमञ्चलाई सम्बन्धको विकास गर्ने एउटा माध्यमको रुपमा पनि लिएका छन् । लगानीकर्ता टटल भएपनि यसका प्रकाशक किशोर सिलवाल थिए । सिलवाल पेसाले अमृत साइन्स क्याम्पसका प्राध्यापक र क्यासिनोका कर्मचारी पनि थिए । सम्पादकीय समूह बनाउनका लागि सिलवालले डिल्लीरमण रेग्मीसँग सल्लाह लिएका थिए । रेग्मीले गोरखापत्रमा काम गरिसकेका मुकुन्द पराजुलीलाई पत्रिकाको प्रधान सम्पादकका रुपमा राख्न सल्लाह दिए । २०४५ सालमा बालमुकुन्ददेव पाण्डेलाई सरकारले गोरखापत्रमा सम्पादक बनाएपछि निराश भएर बसेका पराजुली जनमञ्चमा आउनुअघि अंग्रेजी भाषाको न्यूज म्यागेजिन स्पटलाइटमा काम गरिरहेका थिए । उनले हरि अधिकारीको सहयोगमा सुरुको सम्पादकीय समुह बनाएका थिए ।
औपचारिक रुपमा जनमञ्चको व्यवस्थापकीय समुहको राजनीतिक सम्लग्नता नभएपनि सम्पादकीय समुह नेपाली काँग्रेससँग नजिक थियो । प्रधान सम्पादक मुकुन्द पराजुली गिरीजाप्रसाद कोइराला सरकारको पक्षमा देखिएपछि उनलाई कोइराला सरकारले २०४९ सालमा राष्ट्रिय समाचार समितिमा नियुक्त गर्यो । त्यति बेलासम्म अनुभवी पत्रकारहरु योगेश उपाध्याय, तारानाथ दाहाल, नारायण वाग्ले, जिवेन्द्र सिम्खडा, चन्द्रशेखर कार्की नयाँ दैनिक कान्तिपुरमा गए । त्यसपछि बालमुकुन्ददेव पाण्डे, देवप्रकाश त्रिपाठी, युवराज लुइँटेल लगायतका व्यक्तिहरु जनमञ्चमा आए । पत्रकार कुसुम भट्टराई अनुसार त्यतिबेला ‘कृष्णप्रसाद भट्टराईप्रति सहानुभूति देखाउने’ उपसम्पादक रेवतीरमण सुवेदी तथा पत्रकार केदार कोइराला र ‘गिरिजाप्रसाद कोइरालाको समर्थन गर्ने’ देवप्रकाश त्रिपाठीबीच बारम्बार विवाद भइरहने हुँदा बादेपालाई सल्लाहकार सम्पादकका रुपमा नियुक्त गरिएको थियो । यस्तै विवादमा असहमति हुँदा त्रिपाठीले प्रिन्टलाइनबाट आप्mनो नाम पनि झिकेका थिए । पछि त्रिपाठीलाई कोइराला नेतृत्वको सरकारले २०५० सालमा रेडियो नेपालमा पुरूषोत्तम दाहालको सट्टा घटना र विचार कार्यक्रमका लागि नियुक्ति दिएपछि कोइराला सरकारप्रति सहानुभूति राख्ने समूह जनमञ्चमा बाँकी रहेन । वि.सं. २०५० को उपचुनावमा कृष्णप्रसाद भट्टराईको उमेद्वारीलाई जनमञ्चले खुलेरै समर्थन गरेको छ । वि.सं. २०५१ को मध्यावधि चुनावपछि नेकपा (एमाले)को अल्पमतको सरकारले नेपाली काँग्रेसले नियुक्त गरेका मान्छेलाई निकाल्ने काम ग¥यो । मुकुन्द पराजुली राससबाट निकालिनेमा परे । पुनः जनमञ्चमा प्रधानसम्पादक हुन आए । त्यसपछि जनमञ्चले सरकारको विरोधमा लेख छाप्न थाल्यो । उदाहरणका लागि २०५२ सालमा एमालेले गरेको मध्यावधि निर्वाचनको घोषणालाई सर्वोच्च अदालतले अवैध घोषणा गरेको बेला जनमञ्चले आप्mनो सम्पादकीयमा ‘साम्यवादी निरंकुशता लाद्ने अल्पसंख्यक सरकारको दुस्वप्न’, ‘काकतालीबस सत्तामा पुगेको कम्युनिष्ट सरकार’ ‘कम्युनिस्ट तानाशाही’, ‘विश्वमा सर्वत्र साम्यवादको जरो उखेलिँदै छ’ र ‘साम्यवादी निरंकुशता स्थापना गर्ने दुस्वप्न’ जस्ता शब्दावलीको प्रयोग गरेको थियो । सर्वोच्च अदालतको निर्णय नमान्ने र आन्दोलन गर्ने एमालेलाई अर्को एक सम्पादकीयमा ‘सत्ता गुमेको क्रोधमा रन्थनिएको एउटा हिंस्रक जत्था’ भनिएको छ । सम्पादकीयमा प्रयोग भएका यी शब्दहरुबाट जनमञ्चको पक्षधरता देखिन्छ ।
के जनमञ्च राजनीतिक पक्षधरता देखाउने पत्रिका नै थियो त ? माथिका विषयवस्तुको प्रस्तुति तथा त्यसको विवेचना हेर्दा त्यस्तो लाग्नसक्छ । तर त्यति मात्र होइन । जनमञ्चलाई म्यागेजिनको पूर्ण आकार दिन, सामान्य पाठकलाई पनि रूचिको पत्रिका बनाउन यसका गैरराजनीतिक विषयवस्तुको महत्वपूर्ण स्थान छ । पूर्ण म्यागेजिन बनाउन जनमञ्चमा साहित्य, रंगमञ्च, पर्यटन, पर्यावरण लगायत ४१ ओटा स्तम्भ थिए । यस्ता विषयवस्तु लेख्ने काम चाहिँ आन्तरिक जनशक्ति र बाह्य जनशक्तिबाट गरिएको थियो । त्यति बेला नाम चलेका थुप्रै लेखक तथा स्तम्भकारले जनमञ्चमा लेखेका छन् । अरु नै कामको शिलशिलामा काठमाडौँ बाहिर गएका बेला जनमञ्चको लागि बाहिरी लेखकहरुले केही रिपोर्टिङ गरेका छन् । यसले जनमञ्चको व्यावसायिकतालाई बोकेको छ । यसको अर्को प्रभावशाली पक्ष भनेको फोटोको प्रयोग थियो । जनमञ्च प्रकाशित हुँदाका फोटोग्राफर चन्द्रशेखर कार्कीका अनुसार अरु ट्याब्लोइडहरुले जनमञ्चको फोटो कटिङ गरेर छाप्थे । सुरूचि, प्रतिपक्ष, विमर्श साप्ताहिकले जनमञ्चका तस्बिरहरुलाई कटिङ गरेर प्रकाशन गर्थे । व्यावसायिकताको अर्को पाटो चाहिँ जनमञ्चले पत्रकारहरुलाई नियमित तलब दिने, आवश्यक परेको बेला पेश्की दिने गर्दथ्यो । जसले त्यतिबेलाका पत्रकारलाई आकर्षण गरेको थियो । रिपोर्टरहरुको तलब २०४७ सालको मध्यताका २२ सय देखि तीन हजार रूपैयाँ थियो । सोही समयमा सरकारी सेवामा काम गर्नेे शाखा अधिकृतको १४४० रूपैयाँ मासिक तलव थियो । यसबाट जनमञ्चले दिने पारिश्रमिक राम्रै थियो भन्न सकिन्छ । प्रकाशक किशोर सिलवालका अनुसार विज्ञापन भन्दा लगानीका भरमा पत्रिका चलेको थियो । विज्ञापनदाताले पैसाको सट्टा वस्तु प्रदान गर्थे । बियरको विज्ञापन छापेबापत कम्पनीले जनमञ्चको कार्यालयमा आधा वा एक कार्टुन बियर मात्रै ल्याइदिन्थ्यो । लगानीको भरमा मात्र टिकेको जनमञ्च २०५२ सालपछि ट््याब्लोइड साइजमा निस्कन थाल्यो । यसको संकेत पत्रिका आर्थिक रुपमा कमजोर स्थितिमा पुगेको अनुमान गर्न सकिन्छ । अनुभवी पत्रकारहरुले छोडेर कान्तिपुरमा जानु वा दैनिक पत्रिकाको आगमन पनि पत्रिका कमजोर हुनुको एउटा कारण थियो । जनमञ्चका सुरुवाती सम्वाददाता तारानाथ दाहालअनुसार लगानीकर्ताले लगानी त गरे तर लगानी बढाउन, विज्ञापन प्रवद्र्धनमा ध्यान नदिएकाले पनि पत्रिका सुरूदेखि नै स्वावलम्बी बन्ने प्रक्रियामा गएन । बरू यसले पत्रकारलाई मात्र समयमा तलब दिएर व्यावसायिकता नबढ्ने भन्ने पाठ सिकायो । जिवेन्द्र सिम्खडालाई प्रकाशक सिलवालले भनेअनुसार जम्माजम्मी दुई करोड नोक्सान सहेर पत्रिका २०५४ सालमा बन्द भएको थियो । उनले जिवेन्द्रलाई भनेका थिए रे, ‘हेर जिवेन्द्र, दुई करोडमा दुइ चारओटा कुर्सी र कम्प्युटर मात्र बाँकी छन्’ । अन्त्यमा दलगत साप्ताहिक पत्रिका निस्किरहेको समयलाई पन्छाउँदै यसले निजी क्षेत्रबाट व्यावसायिक पत्रकारिताको प्रारम्भ ग¥यो । कुनै खास दलमा आबद्ध रहेका वा मिसन पत्रकारिता गरिरहेका व्यक्तिलाई व्यावसायिक पत्रकारमा रुपान्तर गर्न भूमिका निर्वाह गर्‌यो । निस्कँदै गरेको दैनिक पत्रिकाको निम्ति एक जमात पत्रकार उत्पादन ग¥यो । निजी क्षेत्रमा काम गरिरहेका पत्रकारहरुलाई समयमा तलब दिने, बाहिरी पत्रकारलाई पनि पारिश्रमिकसहित लेख्न प्रोत्साहन गर्ने काम ग¥यो । खोजी रिपोर्टिङ, फलोअप रिपोर्टिङ, फोटोपत्रकारलाई छुट्टै तलब दिएर राख्नु आदि संकेतका आधारमा यसले व्यावसायिकताको सुरूआत गरेको हो । तर जनमञ्च दलगत गुटबाट मुक्त हुन सकेन । पार्टीगत त्यसमा पनि गुटको प्रभाव जनमञ्चमा देखिन्छ । जसले गर्दा केही सम्पादकहरुले राजनीतिक नियुक्तिका निम्ति लेखहरु लेखेर सरकारी जागिर खाने दाउमा गए । प्रकाशकीय समूहको मूल व्यवसाय नै पत्रिका प्रकाशन नहुँदा पत्रिकाको स्वावलम्बी बन्ने प्रक्रिया नै कमजोर भयो । व्यावसायिक पक्ष र अन्तर्वस्तु कमजोर हुँदै गयो । यसरी बलियो लगानीको पाटो पनि अन्ततः ट्याब्लोइड हुँदै बन्द भयो । 

 –मार्टिन चौतारीबाट प्रकाशित नेपाली म्यागेजिनका २५ वर्ष पुस्तकमा प्रकाशित लेखको छोटो रुप हो