Friday, June 5, 2015

इन्टरनेटको विस्तारमा आइएसपी



                                                                         
नेपाल दुरसंचार प्राधीकरणबाट इन्टरनेट सेवाको लागि अनुमतिपत्र पाएका आइएसपीको संख्या ४३ भएपनि बजारमा इन्टरनेट सेवा दिने सक्रिय संस्थाहरु एक दर्जन भन्दा कम नै छन् । कानुनत: आइएसपी बन्न सजिलो हुनाले नेपाल दुरसंचार प्राधीकरणले तुरुन्त लाइसेन्स दिन्छ । तर नेटवर्क विस्तारको लागि आफै पूर्वाधार बनाउनुपर्ने र ठूला दूरसञ्चार कम्पनीहरु इन्टरनेट सेवामा केन्द्रीत हुँदै गएपछि आइएसपीहरुलाई चुनौति थपिएको हो । त्यसले गर्दा आइएसपीहरुले आफूलाई कर्पोरेट क्षेत्रमा केन्द्रित गरेका छन् र पनि आइएसपीहरुका ग्राहक नियमित थपिँदै गएका छन् । नेपाल टेलिकम र एनसेलका इन्टरनेट सेवा गाउँसम्म पुग्न थालेपछि ग्रामिण आइएसपीहरु बन्द हुँदै गएपनि शहरी आइएसपीले सेवा सुविधा थप दिएर आफ्नो ग्राहक बढाएका हुन् । नाफा र बजार उपस्थितीका लागि ठूला दूरसञ्चार कम्पनीसँग प्रतिस्पर्धामा जान नसकसेका कारण पछिल्लो समय चारओटा ग्रामिण आइएसपीले सेवा बन्द गरेका छन् । तैपनि अन्य शहरी आइएसपीहरु भने  उच्च गतिको इन्टरनेट सेवासहित तुलनात्मक रुपमा सस्तो र गुणस्तरीय सेवासहित काठमाडौँ र त्यसबाहिर सक्रिय छन्  ।
४३ आइएसपीहरुले इन्टरनेट विस्तारको लागि अनुमतिपत्र पाएपनि बजारमा नाम चलेका आइएसपीहरु थोरै छन् । नाम चलेका १० ओटा आइएसपीहरुले ९१ प्रतिशत ग्राहक होल्ड गरेका छन् । सबैभन्दा धेरै इन्टरनेट ग्राहक भएको ब्रोडलिंक २०७० असारसम्म पूर्वको काँकडभित्ता देखि पश्चिमको बुटवलसम्म पुगेको छ । त्यसै गरी वर्ल्डलिंक कम्युनिकेशनसुविसु केवल नेटले आफूहरु कम्तिमा ६० ओटा जिल्लामा वेतारे प्रविधिबाट पुग्न सक्ने दावी गर्छन् । सरकारले साझा इन्टरनेट पूर्वाधार 'कनेक्टिभिटी ब्याकबोन स्ट्रक्चर' २०७१ सम्म बनाउन नसके पनि आइएसपीहरुले आफ्नो प्रयासबाट नेटवर्क विस्तार गरेका छन् । जहाँ जहाँ फाइबरमा जानसक्छन् त्यहाँ नेपाल विद्युत प्राधिकरणको फाइबर लिजमा लिएरआफैले तान्न सक्ने ठाउँमा आफैले तानेर कतिपय अवस्थामा केवल अप्रेटरसँग केवल लिजमा लिएर र कतिपय ठाउँमा माइक्रो वेब रेडियो प्रयोग गरेर इन्टरनेट सेवा विस्तार गरेका छन् । सुविसु केबल नेटले विराटनगरविरगञ्ज र भैरहवामा आफ्नै फाइवरबाट काम गरिरहेको छ । कसैले 'हामी पैसा दिन तयार छौँ इन्टरनेट सेवा देउ' भनेमा आइएसपीहरु धेरै ठाउँमा सेवा दिन तयार भएका छन् । जहाँ विजुली छैन र कम्प्युटर पनि छैन त्यस्तो ठाउँमा स्थानिय व्यक्तिलाई सेवा दिएर नाफा कमाउने स्थिति नभएकाले आइएसपीहरु गएका छैनन् । धेरै ठाउँमा आइएसपीहरु संस्थागत प्रयोजनको लागि पुगेका छन् । जस्तै सुविसु इन्टरनेट पुराउनलाई डडेलधुरासम्म पुग्नु संयुक्त राष्ट्रसंघको एजेन्सी गएको कारणले हो । हिमालयन अनलाइन सर्भिसले पाटन अस्पतालको अनुरोधमा गोरखाको आँपपिपलनवलपरासीनुवाकोटको त्रिशुलीमा टेलिमेडिसिन संचालनको लागि फाइबर र वायरलेस मार्फत इन्टरनेट सेवा दिएको छ । केही आइएसपीहरुले टावर राखेका छेउछाउका विद्यालयहरुलाई निशुल्क इन्टरनेटहरु पनि वितरण गरेका छन् । कतिपय ठाउँमा पुग्नलाई बैँकहरुले बाध्य बनाएका छन् । त्यस्तो ठाउँमा बैँकको अन्तरशाखा संजालको लागि इन्ट्रानेट र इन्टरनेट दुवै सेवाहरु दिएको छ । बैँकहरु खोल्ने काम सदरमुकाम वा ग्रामीण तहसम्म पुग्दा बैँकहरुमा इन्टरनेटको पहुँच पुराउन इन्टरबैँकिङइन्ट्रा बैँकिङ 'सफ्टवेयरको कनेक्टिभिटी' बढाउन आईएसपीहरुले त्यो रिक्त स्थानमा सेवा विस्तार गरेका छन् । बैँकहरुलाई सेवा दिन आइएसपीहरु ग्रामिण क्षेत्रमा पुगेपनि त्यसको प्रत्यक्ष फाइदा त्यो ठाउँका बासिन्दाले पाउन सकेका छैनन् । यसरी आइएसपीहरुले मुलत: कर्पोरेट क्षेत्रएनजिओआइएनजिओ आदि जस्ता सँस्था मार्फत इन्टरनेट सेवा विस्तार गरिरहे पनि नेपालको ८० प्रतिशतभन्दा धेरै क्षेत्र ओगटेको ग्रामिण तह ब्रोडब्याण्डको क्षेत्रभन्दा बाहिर छन् ।  
नेपाल टेलिकम र एनसेलले जिएसएम सेवा अन्तर्गत मोबाइल इन्टरनेटको विस्तार गरेदेखि यता र २०६५ सालमा नेपाल टेलिकमले एडिएसल सुरु गरेदेखि नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो । वि.सं २०६० मा ३० हजार हाराहारीको ग्राहकबाट २०७१ सम्म आइपुग्दा ८७ लाख इन्टरनेट ग्राहक देखाइएको छ । यसको कारण मोबाइल इन्टरनेटले गर्दा हो । नेपाल टेलिकमको मोबाइल इन्टरनेटमा मात्र ९३ प्रतिशत ग्राहक छन् । २०६० कार्तिक सम्म नेदुप्राको मिस रिपोर्ट अनुसार त्यतिबेला इन्टरनेट प्रयोगकर्ता ३० हजार थिए । त्यति बेला २२ ओटा सँस्थाले इन्टरनेट तथा इमेलको लागि अनुमति पाएका थिए । २०६५ पुस सम्ममा एडिएसएल मार्फत इन्टरनेट सेवा विस्तार भैसक्दा इन्टरनेटका ग्राहक १ लाख ९ हजार थिए । जसमध्ये १४ हजार ग्राहक एडिएसएलका थिए । २०७० माघसम्ममा  इन्टरनेटको ग्राहकसंख्या ८१ लाख ४६ हजार ९१० भैसकेको थियो । यसमध्ये ९८ हजार २१३ ग्राहक आइएसपीका थिए । प्रमुख १० आइएसपीका ग्राहक ९७ हजार ४ सय ९८ छन् । आइएसपीको व्यक्तिगत आँकडा हेर्ने हो भने तेस्रो ठूलो आइएसपी सुविसु केवल नेटले २०६१ सालतिर ५ सय इन्टरनेट प्रयोगकर्ताबाट सेवा सुरु गरेको थियो भने २०६७ सम्म आउँदा ५ हजार र २०७१ सम्म आइपुग्दा १८ हजार ५ सय ग्राहक बनाएको छ । आइएसपीहरुको यो आँकडाले ठूला मोबाइल कम्पनीको प्रभुत्व हुँदा पनि आइएसपीको इन्टरनेट ग्राहकको संख्या घटेको देखिँदैन । भने यो दायरा ग्रामीण तहका व्यक्तिविभिन्न संघसंस्थास्कुलसम्म विस्तारित भएको छ । 

धेरै आइएसपीहरुले आफ्ना समस्याको जड नीतिगत तहमै रहेको देखाउँछन् । इन्टरनेट सम्बन्धी नयाँ नयाँ प्रविधि आउँदा सरकारले ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेललाई नयाँ प्रविधिको लाईसेन्स तथा फ्रिक्वेन्सी दिएर आफूलाई रोक लगाउनु समस्या देखाउँछन् । नेदुप्राले नेपाल टेलिकम र एनसेललाई मागेजति फ्रिक्वेन्सी दिनुमा एकातिर आफूलाई "अनुभव" नभएको बताउँछ । भने अर्कोतिर वाइम्याक्स तथा एडिएसएलको फ्रिक्वेन्सी आइएसपीलाई नदिनुलाई पैसासँग तुलना गरिएको छ । जस्तो पाँच वर्षका लागि ३ लाखमा अनुमति दिने आइएसपी र २० औँ अर्ब रुपैयाँमा अनुमति दिने अपरेटरलाई सँगै राखेर "असमान समुहवीच समान" तुलना गर्न सकिँदैन भनेको छ । यसरी पैसालाई मापदण्ड बनाउँदा प्रतिस्पर्धा विग्रेको देखिन्छ ।

अर्को चुनौति पूर्वाधार साझेदारीमा छ । दूरसंचार ऐन२०५३ को दफा ३१ ले अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले विकास गरेको दूरसंचार प्रणाली अर्को अनुमति पत्र प्राप्त व्यक्तिले विकास गरेको प्रणालीसँग जोड्न र प्रयोग गर्न पाउने प्रत्याभूति सबै सेवा प्रदायकलाई दिएको भनेपनि त्यसमा दुवैको 'मञ्जुरी' नभएमा प्राधीकरणले गर्ने सहयोगबारे या त स्पष्ट छैन या कार्यान्वयन गर्न हिच्किचाउँछ । त्यस्तै पूर्वाधारमा बलियो भएका संस्थाहरु यसको साझेदारी गर्न हिच्किचाउँछन् । नेपाल टेलिकमले आफूले ३० देखि ४० वर्ष मेहनेत गरेर बनाएको नेटवर्क माग्दा सहमति दिन नसक्ने र आइएसपीहरुलाई यस्तो नेटवर्क माग्ने "अधिकार" नभएको बताउँछ । यसरी व्यवहारमा पूर्वाधार साझेदारीको अवधारणा पाइँदैन । यसले गर्दा आइएसपीहरुले बेलाबेलामा विवाद निकाल्दै आएका छन् । नेपाल दूरसंचार प्राधीकरणमा उनीहरुले यस्ता भेदभावपूर्ण व्यबहार रोकी पाउँ भन्ने उजुरीहरु पनि राखेका छन् । दुरसंचार प्राधीकरणमा विभिन्न आइएसपी तथा उनीहरुका एसोसिएसनले नेपाल टेलिकम विरुद्ध "भेदभावपूर्ण व्यबहार रोकी पाउँ" तथा "समान व्यबहार गरी पाउँ" भनी दायर भएका उजुरी उपर निर्णयमा नेपाल टेलिकमले आइएसपीहरुलाई उपलब्ध गराउँदै आएको सेवामा पहुँच दिन्न भनि इन्कार गर्न पाउने अवस्था "न्यायोचित देखिँदैन" भन्दै यस्तो विषयमा सम्झौता गर्दा "आपसी सहमति गर्न" आवश्यक देखेको छ । यसको यथोचित कार्यान्वयन हुन नसक्दा प्राधीकरणले ठूला आइएसपीहरुलाई काखी च्यापेको इन्टरनेट सेवा प्रदायकले आरोप लगाउँछन् । यसरी धेरै सेवा तथा फ्रिक्वेन्सी लिने नेपाल टेलिकम तथा एनसेलले सेवा  धेरै बेच्न पाउने हुँदा उनीहरु नै बलियो हुँदै जान्छन् । पूरानो प्रविधिको जस्तै डायलअपको ग्राहक थोरै हुने र प्रतिस्पर्धाको लागि नयाँ प्रविधि जस्तै ब्रोडब्याण्डमा पनि जानुपर्ने हुँदा आइएसपीहरुका चुनौति देखिन्छन् । आइएसपीहरुले आफूलाई एयरलाइन्स कम्पनीको उदाहरण दिँदै धावनमार्ग त सरकारले बनाउनु पर्ने अवधारणा राख्छन् इन्टरनेटको पूर्वाधारमा सरकार सम्लग्न भएमा साना आइएसपीहरु आफ्नो व्यावसाय तथा फाइदाको लागि ग्रामीण क्षेत्रसम्म जानसक्छन् । र इन्टरनेट सेवामा खास कम्पनीको प्रभुत्व कमजोर हुँदै प्रतिस्पर्धा बढ्न जान्छ । यसको लागि सरकारले ग्रामिण दुरसंचार विकास कोषको उपयोग गर्नसक्छ । कोषमा अर्बौ रुपैयाँ जम्मा भैसकेको छ । त्यो पैसा ग्रामिण क्षेत्रमा पूर्वाधार बनाउन प्रयोग गर्न सकिन्छ । जुन ठाउँमा सजिलो छ त्यहाँ अप्टिकल फाइबर र जुन ठाउँमा सजिलो छैन त्यहाँ माइक्रो वेभ अर्थात् ठूलो टावर राखेर उच्चगतिको वायरलेस पूर्वाधार बनाउन सकिन्छ । तर प्राधीकरणले पाँच विकास क्षेत्रका एक एक गाविसलाई इभिलेज कन्सेप्टमा लैजाने भन्दै कोषको प्रयोग गर्न खोजेको देखिन्छ । यो संकेतले अझैपनि सरकार इन्टरनेट विस्तारको लागि साझा पूर्वाधार विकासको लागि चासो देखाएको पाइँदैन ।

यो सबै हेर्दा सकेसम्म सरकारको तर्फबाट आइएसपीहरुलाई कम नियमन हुनुपर्छ । जति नियमन भयो उति समस्या हुन्छ । आईएसपीहरु ठूला नभएकाले उनीहरुले व्यावसायको दायरा बढाउन सकेका छैनन् । त्यसकारण यिनीहरुलाई सहयोगको आवश्यकता देखिन्छ । त्यसको पहिलो पक्ष साझा पूर्वाधार निर्माण हो । आफ्नो प्रयासले त १० प्रतिशत क्षेत्र ढाक्न नसक्ने आइएसपीहरु दुरदराजमा गएर काम गर्न सक्दैनन् । त्यसले इन्टरनेटको विस्तार तथा गुणस्तरमा प्रतिस्पर्धा ल्याउन सकिँदैन । २०५३ सालमा आएको दूरसञ्चार नीतिले सबै सेवाहरु खुला गर्नेउदारिकरण गर्नेभनेपनि लागू गर्ने कुरामा समस्या देखिन्छ । त्यसकारण नीतिगत कार्यान्वयनको पक्ष कमजोर पनि देखिएको छ । दूरसंचार प्राधिकरणसँग थोरै 'स्पेक्ट्रम' छ भने वितरण गर्दा प्रतिस्पर्धा गराउन सकिन्छ । नयाँ नयाँ प्रविधिभिओआईपी तथा आईपी टेलिभिजन सेवाहरु सबैका लागि खोल्नुपर्छ । त्यो हिसाबले इन्टरनेटको वितरण लाइसेन्स वितरण प्रणाली बलियो हुन्छप्रतिस्पर्धा हुन्छछनोट बढ्छकम्पनीहरु पनि ठूलो हुन्छ र राम्रो काम गर्नसक्छ । 
 नेपालमा इन्टरनेटको पहुँच र प्रयोग सम्बन्धी मार्टिन चौतारीले गरेको परियोजनामा आधारित ।


इन्टरनेट विस्तारको लागि नीतिगत सुधार



                                                           
प्राय: सरोकारवालालाई नीति कसरी बन्छकस्ले बनाउँछ थाहा हुँदैन । नेपाल सरकारले नीतिको मस्यौदा गर्न विद्वान तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई लगाउँछ । मस्यौदा नीतिमा छलफल गर्ने भनेर सरोकारवालालाई तारन्तार बोलाउँदा पढ्ने समय पनि हुँदैन । त्यसैले 'नीति राम्रो छ, कार्यान्वयन गर्नुस्' भन्नुबाहेक सरोकारवालासँग विकल्प हुँदैन । अर्को तर्फ नीति निर्माणको तहमा बसेका कर्मचारीहरु नै स्थीर नहुनुको समस्याले काम हुन सकेको छैन । कर्मचारीहरुमा सुरुमा जोसले केही नयाँ काम गरुँ लागि पनि उसको तुरुन्तै सरुवा हुँदा कार्यक्रम लागू गर्न सक्दैन । नयाँ कर्मचारीले फेरि सून्यबाट सिक्नुपर्ने वाध्यताले यो क्षेत्रमा समस्या उत्पन्न गरेको छ । इन्टरनेट सम्बन्धी नीति बनेपनि सरकारको प्राथमिकतामा नपर्दा कतिपय समस्याहरु थपिएका छन् । इन्टरनेट तथा दुरसञ्चार क्षेत्रलाई अनुगमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधीकरण विगत २ वर्षसम्म नेतृत्वविहिन भयो । यस्तो अवस्थामा सरकारले मुद्दालाई फास्ट्र्याकमा लगेर टुंगाउन सर्वोच्च अदालतलाई अनुरोध गर्न सक्थ्यो । त्यस्तै नेपालमा ब्रोडब्याण्ड नीतिको कुरा उठे पनि सरकारले यसलाई प्राथमिकतामा राखेको छैन । नेपालमा ब्रोडब्याण्ड मास्टर प्लान अरु देशभन्दा पहिला नै सुरु गरेपनि अझैसम्म कार्यान्वयन गर्न सकिएको छैन । यो उदासिनताले इन्टरनेटलाई अझैपनि विलासिताको माध्यम हो भन्ने मानसिकता सरकारमा रहेको छ । इन्टरनेटको पहुँच र विस्तारमा नीतिगत तहमा ३ ओटा समस्या देखिएका छन् । पहिलो आइसिटीको समानान्तर विकास पूर्वाधार साझेदारीको समस्या र नयाँ प्रविधिको लाइसेन्स वितरण गर्ने विषयमा सुधार हुनु आवश्यक देखिन्छ ।

समानान्तर विकास
आइसिटी क्षेत्रलाई अरुसँगै समानान्तर हिसाबमा विकास गर्नुपर्छ । यदि समानान्तर विकासको कुरा मान्ने हो भने आइसिटी नीति कार्यान्वयनको पक्ष फितलो देखिन्छ । ग्रामीण सुचना केन्द्र (टेलिसेन्टर) योजना लागू भएपनि त्यसको कार्यान्वयन फितलो देखियो । हुलाक मार्फत खोलिएका टेलिसेन्टरहरुले कम्प्युटर तालिमटाइपिङइन्टरनेट लगायतका सुविधा दिने उद्देश्य राखेपनि वेकामे बनेका छन् . बंगलादेशमा टेलिसेन्टरहरुबाट त्यहाँका व्यक्तिहरुले सेवा लिइरहेका छन् । नेपालमा टेलिसेन्टर फेल हुनुको कारण सरकार गासबास कपासमा अल्झेर हो । उदाहरणको लागि डा= बाबुराम भट्टराई अर्थमन्त्री हुँदा स्कूलको लागि कम्प्युटर खरिद गर्ने प्रक्रिया "विलासिताको साधन" भन्दै बन्द गराइयो । भारतमा पनि गरिबी छ सँगसँगै आइटी क्षेत्र अघि बढिरहेको नै छ । नेपालमा सरकारले आफ्ना सेवाहरु इन्टरनेटमार्फत तत्कालै गाउँमा पुराउन नसकेपनि कम्तिमा सदरमुकामको मान्छेसम्मले उपयोग गर्न पाउनुपर्ने हो । यसको सुरुवात नै भएको छैन । सबै एकैचोटी गज्जब गर्छु भन्ने पनि संभव हुँदैन । त्यस्तै डिजीटल सिग्नेचर लागि २०६५ सालमा प्रमाणीकरणको कार्यालय खुल्यो । अहिलेसम्म त्यसले डिजीटल सिग्नेचर लागू गर्न सकेको छैन । अहिले बैँकिङ क्षेत्रले आउटसोर्सिङबाट डिजीटल सिग्नेचरको काम गरिरहेको छ । अर्को समस्या भनेको पेमेन्ट गेटवे नै छैन । नेपालमा डलरको काम गरेमा त्यसलाई कसरी पठाउने भन्ने अन्योल छ । नीजि क्षेत्रले राष्ट्रबैँकसँग मिलेर गर्नुपर्छ । यो सबै पक्षहरु हुनसक्ने काम भएपनि सरकारले प्राथमिकतामा राखेको देखिँदैन ।

पूर्वाधार साझेदारीको आवश्यकता
भारतसहितका अन्य मुलुकमा दूरसञ्चारमा पूर्वाधार साझेदारीको अवधारणा अघि बढिसकेको छ । विभिन्न मुलुकले पूर्वाधार साझेदारी गर्ने कम्पनीलाई सहुलियत दिने गरेका छन् । पूर्वाधार साझेदारीले यस क्षेत्रमा हुने दोहोरो लगानी रोकिनुका साथै जोखिम पनि कम हुन्छ । घरैपिच्छे रहेका मोबाइल टावरलगायतका पूर्वधारले सहर र ग्रामीण क्षेत्रसमेत कुरूप बनाइरहेका छन् । नेपाल दुरसंचार प्राधिकरणले कनेक्टिभीटी सम्बन्धमा निकालेको डेटाले ९१ प्रतिशत मान्छेसँग टेलिफोन पहुँच  र ३३ प्रतिशतसँग इन्टरनेट छ भनेको छ । डेटा ठिक भएपनि त्यसको गुणस्तर के छ भन्ने कुरा यसले बताउँदैन । सेवाको गुणस्तरियता मापन गर्ने डेटा चाहिँ नेदुप्राले बाहिर प्रकाशित गर्न सकेन । जति आइएसपी छन् त्यति ओटा टावरहरु देखिन्छन् । कसैको पनि एकिकृत सेवा छैन । ठूला अपरेटरले एकिकृत सेवा चाहँदैनन् । नेपाल टेलिकमले ३०/४० वर्ष मेहनत गरेर बनाएको नेटवर्क समय र लगानीको हिसाबले उसले दिन चाहँदैन । आइएसपीलाई नेटवर्क माग्न "अधिकार" नभएको टेलिकम कम्पनीले बताउँछ । यसरी कुनै अपरेटर आफूले मेहनत गरेर बनाएको नेटवर्क साझेदार गर्न नचाहने हुँदा दोहोरो लगानीको अवस्था देखिएको छ । यस्तो अप्ठ्यारोमा सरकारको समन्वय हुनसक्थ्यो ।  समन्वयको सन्दर्भमा शिक्षा मन्त्रालय छुट्टै गएको छएनटिए छुट्टै गएको छविज्ञान मन्त्रालय छुट्टै गएको छसंचार मन्त्रालय छुट्टै गएको छ । यसले पनि भद्रगोलको अवस्था तथा अन्तरमन्त्रालय समन्वय नभएको देखिन्छ ।  

लाइसेन्स वितरणमा समस्या
सरकारले नीतिगत तहमा लाईसेन्स वितरणमा सुधार गर्नुपर्छ । नेपाल दूरसंचार प्राधिकरणले १५ वर्षसम्म आइएसपीलाई "अनुभव नभएको""असमान समुहबीच समान तुलना गर्न नसक्ने" भन्दै नयाँ प्रविधिको लाइसेन्स दिएको छैन । प्रविधि फेरिरहने हुँदा नयाँ प्रविधिको लाइसेन्स नदिएपछि इन्टरनेटको विस्तार गार्हो हुन्छ । सबै खालका इन्टरनेट सेवाको लाइसेन्स सबै सेवा प्रदायकहरुलाई खुला हुनुपर्छ । नीति डायलअपको बेला बने पनि समयसमयमा नीति परिमार्जित गर्दै नयाँ अवस्थामा सबै आइएसपीहरुलाई नयाँ लाईसेन्स दिनुपर्छ । जसले गर्दा ठूला टेलिफोन कम्पनीलाई मात्र संरक्षण गरेको हुँदैन । सरकार आफैँ घरघरमा इन्टरनेट पुराउनको लागि ब्रोडब्याण्डको पूर्वाधार निर्माणमा सम्लग्न हुनुपर्छ । सरकारले धेरै वर्षदेखि गर्ने भनेको 'कनेक्टिभिटी ब्याकबोन स्ट्रक्चर' बनाउन सकेको छैन । यस्तो गरेमा धेरै आइएसपीहरुले लिज लिएर दुर्गम क्षेत्रमा जान सक्थे । प्रतिस्पर्धाले गर्दा सेवाको मूल्य पनि घटेर जान्थ्यो । तर त्यो सम्भव बनेको छैन । पूरानो प्रविधिको न्यारोब्याण्डबाट केही पनि नहुने  ब्रोडब्याण्डमा पनि जान पर्ने हुँदा आईएसपीहरुलाई आधारभूत पूर्वाधार तथा नयाँ लाईसेन्सको आवश्यकता देखिएको हो । सरकारले यसमा समन्वय गर्नुपर्ने देखिन्छ । ग्रामिण दुरसंचार विकास कोषको उद्देश्य इन्टरनेट नपुगेको ठाउँमा काम गर्नु हो । यसबाट प्राइभेट आईएसपीलाई प्रोत्साहन दिएमा इन्टरनेट नपुगेको ठाउँमा इन्टरनेट पुराउन सकिन्छ । अहिले एनटिसी र एनसेलको बजारमा एकाधिकार छ । उनीहरुको सेवा तुलनात्मक रुपमा महँगो पनि छ । यस्तो अबस्थामा सरकारले 'विग प्लेयर्स' (एनटि र एनसेल)को लागिमात्र नीति नियम बनाउने जस्तो देखिन्छ । नेदुप्राले बेलाबेलामा फ्रिक्वेन्सी अबरोध (रेस्ट्रिक्सन) गरेर अप्ठ्यारो पारिदिन्छ । दिन खोजेको ठाउँमा सर्भिस दिन आइएसपीले सकेका छैनन् ।

अन्त्यमा
इन्टरनेटको पूर्वाधार निर्माण र त्यसको साझेदारीको अवधारणाले नेपालको धेरै ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड पुराउने एउटा उपाय हुनसक्छ । जसमा इन्टरनेट विस्तारको लागि विभिन्न आइएसपीहरुले भाडामा पूर्वाधार लिएर लगानी विस्तार गर्न सक्छन् । उनीहरु अहिले बैँकवित्तिय क्षेत्र तथा विभिन्न संघसंस्थाको अनुरोधमा बाहिर गएपनि प्रायजसो अबस्थामा काठमाडौँमै खुम्चिएका छन् । यदि पूर्वाधार साझेदारीको अवधारणा ल्याउने हो भने घरधुरी तहमा विभिन्न आइएसपीहरु पुग्न सक्छन् र प्रतिस्पर्धा बढ्दा इन्टरनेटको विस्तार तथा गुणस्तर बढ्नसक्छ ।

काठमाडौँ बाहिर पनि घरधुरी तहसम्म इन्टरनेट सेवा प्रदायकहरुलाई सेवा पुराउनको लागि सरकारले अनुमतिपत्रमा प्रतिस्पर्धा गरी सबै खालका  सेवा प्रदायकहरुलाई नयाँ प्रविधिका इन्टरनेट सेवाहरु खुला गरिनुपर्छ । जसले गर्दा सेवा प्रदायकहरु अझ विस्तारित ढंगले अघि बढ्न सक्छन् । एकै खालको र पूरानो प्रविधिको इन्टरनेट सेवा दिनुपर्ने वाध्यताले सेवा प्रदायकहरु खुम्चिएर रहेका छन् । लाइसेन्स वितरण गर्दा उसले गर्नसक्ने लगानी नेटवर्कको सुविधा आदिलाई ख्याल गर्नुपर्छ । दुरदराजमा इन्टरनेट सेवा पुराउन योगदान गर्न सक्छ भन्ने आधारमा लाइसेन्स दिनुपर्छ । उनीहरुलाइ प्रोत्साहनको लागि सरकारले पूर्वाधार विकास पनि गर्नसक्छ ।

 नेपालमा इन्टरनेटको पहुँच र प्रयोग सम्बन्धी मार्टिन चौतारीले गरेको परियोजनामा आधारित ।

Monday, June 1, 2015

वस्तुनिष्ठता, चुनाव र नेपाली मिडिया


मिडियाको वस्तुनिष्ठताबारे धेरै आशंका र विवादहरु छन् । कसैले वस्तुनिष्ठता हुनैसक्दैन पनि भन्छन् । कसैले हुनसक्छ भनेपनि कति हदसम्म भन्ने कुरालाई अघि ल्याउँछन् । वस्तुनिष्ठतालाई यस्तो लक्ष्य पनि मानिन्छ, जुन कहिल्यै प्राप्त गर्न सकिँदैन, तर बस्तुनिष्ठ हुने प्रयास गरिन्छ । मिडिया सम्बन्धी जानकारहरु वस्तुनिष्ठतालाई समाचार उत्पादन गर्ने साधनको रुपमा अघि सार्छन् । जसमा रिपोर्टरले गरेको रिपोर्टिङले उसलाई सुरक्षित राख्छ । अर्थात जसले रिपोर्टिङ गरेर आफूलाई सुरक्षित महसुस गर्छ त्यो तुलनात्मक रुपमा वस्तुनिष्ठ हो । त्यसैले वस्तुनिष्ठताबारेको अध्ययन तुलनात्मक रुपमा गर्न सकिन्छ ।
                अरुबेला विविध खालको, सन्तुलित समाचार प्रस्तुत गरिरहेका पत्रिकाहरु युद्धको बेला, अनिकालको बेला, राष्ट्रिय विपत्तिको बेला एकै खालको समाचार प्रस्तुत गर्छन् । अघिपछि निष्पक्ष ठानिएका मिडियाको वस्तुनिष्ठतामा चुनावको बेला पनि प्रश्न गर्न सकिन्छ । चुनावको बेला मिडियाहरु विभिन्न विचारधाराको आधारमा विभाजित हुने संभावना हुन्छ । चुनावको बेला राजनीतिक सूचनाहरुलाई छापा माध्यमले जनसमक्ष पुराउने र त्यसबाट जनमत निर्माण गर्नसक्ने संभावनाको अपेक्षा गरिने हुनाले राजनीतिक पक्षधरता हुनसक्छ । यसक्रममा नेपालका ठूला दैनिक पत्रिकाहरु राजनीतिक पार्टीप्रति लचिलो र असहिष्णु देखिने परम्परा विभिन्न चुनावहरुमा देखिएको छ ।
                अमेरिकामा पनि चुनावको बेला पार्टीले मिडियालाई पैसा तिरेर विज्ञापन गर्ने हुँदा मिडियाहरु वस्तुनिष्ठ हुँदैनन भन्ने गरिन्छ । जस्तो जेस्पर स्ट्रोमव्याक र डनिएला भि. दिमित्रोभाले संयुक्त राज्य अमेरिका र स्वीडेनको आमचुनावको बेला त्यहाँका प्रमुख पत्रिकाले गरेको समाचार प्रस्तुतीको तुलनात्मक ढाँचाबारे गरिएको अध्ययन निष्कर्षले अमेरिकी मिडियाहरु नीतिगत रुपमा समाजको पुर्नआकार दिने बहस तर्फ भन्दापनि चुनावी राजनीतिलाई व्यक्तिको हार वा जीतअथवा प्रतिस्पर्धाको रुपमा लिन्छन्  । यसको विपरित स्वीडिस मिडियाहरु चुनावको बेला मुद्दा वा नीतिगत वहसमा केन्द्रित हुन्छन् । पार्टी र उसको चुनावी क्याम्पियन भन्दा पर रहेर तुलनात्मक रुपमा स्वतन्त्ररिपोर्टिङ गरिरहेका हुन्छन् । यी दुई देशको अभ्यासले पत्रकारितामा वस्तुनिष्ठता वा निष्पक्षताबारे भिन्न बहस गराउँछ । अमेरिकी अभ्यासले बायसको सृजना गर्छ । स्वीडेनको पत्रकारिताले तुलनात्मक रुपमा वस्तुनिष्ठतालाई स्वीकृत गर्छ । चुनावको बेला हुने यस्तो किसिमको अभ्यास मुलतः त्यहाँको राजनीतिक प्रणाली, निर्वाचन प्रणाली र मिडिया प्रणाली कस्तो छ भन्ने कुरामा निहित हुन्छ ।
                अमेरिकाको न्यु स्कुलका किम्बर्ले एम. हर्लेले सन् २०१० को मे महिनामा पहिलो संविधानसभाको म्याद थप्ने समयमा अंग्रेजी माध्यमका दुई मिडिया रिपब्लिका र दि काठमाण्डौ पोष्टको तुलनात्मक अध्ययनको निष्कर्षमा काठमाडौँ पोष्टले सामन्यतः नेपाली काँग्रेस र एमालेप्रति आलोचनात्मक र त्यतिबेलाको नेकपा माओवादीप्रति सहानुभुति राखेपनि तुलनात्मक रुपमा निष्पक्ष भनेका छन् । त्यसको विपरित रिपब्लिका माओवादीप्रति नकरात्मक धारणा राख्ने पत्रिकाको रुपमा अर्थ्याएका छन् । उनले यसका विभिन्न कारणहरु प्रस्तुत गरेका छन् । जसमध्ये विज्ञापन एउटा हो । जस्तो माओवादी विरोधी विषयवस्तु उत्पादन गर्ने भएकाले रिपब्लिकाले भारतीय बहुराष्ट्रिय कम्पनीका विज्ञापन पाउँथ्यो । काठमाडौँ पोष्टले त्यस्तो विज्ञापन नपाउने हुँदा यसको तुलनात्मक रुपमा निष्पक्षसम्पादकीय लाईन देखिन्थ्यो भनेका छन् । त्यसकारण यस्ता बाहिरी तत्वहरुले गर्दा पनि मिडियाको निष्पक्षतामाथि प्रश्न उठ्छ भन्दै हर्लेले पूर्णतः राजनीतिक रुपमा कुनैपनि पत्रिका स्वतन्त्र हुन्छ वा वायस हुँदैन भन्ने कुरा पत्याउन गाह्रो हुन्छ भनेका छन् ।
                धर्म अधिकारी र जगदिश पोखरेलले संविधानसभाको पहिलो चुनावताका मिडियाले कतिको निष्पक्ष रुपमा पत्रकारिता गरे भन्ने अनुगमनको रिपोर्ट अध्ययनमा समेटिएका मिडियाले नेपाली काँग्रेस, एमाले र माओवादी पार्टी तथा त्यसका नेताले मिडियामा अरु दलको तुलनामा पहुँचमात्र होइन वर्चश्व नै राखेको निष्कर्ष निकालेका छन् । मिडियामा यि दलको बर्चश्व रहनुमा सत्तामा रहेको प्रभाव (इन्कम्बेसी फ्याक्टर) कारक हुनसक्छ भनेका छन् । उक्त अध्ययन मिडियामा पाएको समय, स्थानको आधारमा निकालिएको निष्कर्ष थियो । छापा माध्यमममा स्केलले नापेर कुन दलले कति स्थान पायो, विद्युतिय माध्यममा समय गनेर कुन दलले कति समय पायो, प्रस्तुतीको शैली सकरात्मक थियो कि नकरात्मक वा तटस्थ, प्रत्यक्ष भनाइ कुन नेताले वा व्यक्तिले कति पाए ? भन्ने आधारलाई यो अनुगमन गरिएको थियो ।
                वस्तुनिष्ठताको मापन गर्ने तरिका तुलनात्मक विधि नै हो । हामीलाई थाहा छ वस्तुनिष्ठता मिडियाको लक्ष्य हो । तर यसलाई लक्ष्यमानेर पत्रकारिता कसले गरिरहेको छ ? यो खोजी गर्न सकिन्छ । तुलनात्मक रुपमा कुन मिडिया वस्तुनिष्ठताको नजिक छ खोजि गर्न सकिन्छ । जस्तो चुनावको बेला अमेरिकी मिडिया प्रणाली भन्दा स्वीडिस मिडिया प्रणाली वस्तुनिष्ठताको नजिक देखिन्छ । रिपब्लिका भन्दा काठमाडौँ पोष्ट वस्तुनिष्ठताको नजिक छ, भनेर अध्ययन निष्कर्षहरु निकालिएका छन् । छापा माध्यममा कसलाई कति स्थान दिएको छ भन्ने कुरा स्केलले नापेर भन्दा पनि कस्तो दृष्टिकोण वा विचार पस्केर प्रस्तुती गरेको छ भन्ने आधारमा पनि यसको निष्पक्षताको मापन गर्न सकिन्छ ।
                उदाहरणको लागि वि.सं. २०७०को संविधानसभाको चुनावताका सबैभन्दा चर्चा पाएको दुई अभियान अन्तर्गत एमाओवादीको मेची महाकालीर अर्को विभिन्न दलहरुको घरदैलोअभियान हो । यसमध्ये मेची महाकाली बहसको विषय बनेको थियो । मेची महाकाली अभियानको क्रममा एनेकपा माओवादी अध्यक्षले ७० वटा सभालाई सम्बोधन गरेका थिए । यो यात्राबारे केही पत्रिकाले  सबैभन्दा बढि समाचार दिए (उदाहरणको लागि नयाँ पत्रिका) । यस्ता पत्रिकाले अघिल्लो पेज, सम्पादकीय पेज र दृष्टिकोण स्तम्भमा यसलाई स्थान दिएका थिए । अन्य पत्रिका (उदाहरणको लागि नागरिक दैनिक)ले यो अभियानलाई अघिल्लो पृष्ठ र सम्पादकीयमा स्थान दिएका छैनन् । बढि समाचार दिने पत्रिकाले अभियानका अभियन्ता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र चुनावी शभालाई मुख्य ध्यान दिएको थियो । यसले मुलतः एनेकपा माओवादीको प्रचारमुखी अभियानलाई सघाएको देखिन्छ । यो अभियानलाई सकरात्मक ढंगले प्रस्तुत गर्दै चुनावी माहौल बनाएकोएमाओवादी अध्यक्ष प्रचण्डलाई गतिशिलविशिष्टनेताको रुपमा स्थापित गरेको भनि आफ्नो विचार राखेको छ । यसले अरु 'अगतिशिल''अविशिष्ट' नेताहरु हुन भन्ने प्रशस्त संकेत दिन्छ । चुनावको बेला मैले रुचिपूर्वक यो अभियानबारेको कभरेजको अवलोकन गरेको हुनाले यसको टिप्पणी गरिएको हो । त्यस्तै अरु विषयहरुमा पनि पत्रिकाहरुले आआफ्नो पक्षधरता देखाएका हुनसक्छन् ।
                वि.सं. २०७० को चुनावताका विभिन्न पत्रिकाहरुमा गरिएको व्यक्तिगत अवलोकनको आधारमा भन्न सकिने कुरा मिडियाको एकरुपता (कमननेस) बारे हो । एकरुपता भनेको अपोजिट द इडिटोरियललाई निषेध गर्ने कुरा हो । तुलनात्मक रुपमा केही पत्रिकामा यो एकरुपता कम छ । उनीहरुले विपरित विचारलाई पनि स्थान दिएका छन्, कम मात्रामा भएपनि । तर धेरै मिडियाहरु एकरुपता मै अभ्यास गर्न रुचाउँछन् ।  चुनावताका देखिएको यो अभ्यासबाट नेपाली मिडियाको मिडिया प्रणालीबारे केही भन्न सकिन्छ । नेपाली मिडिया प्रणालीमा तुलनात्मक रुपमा आन्तरिक बहुलवाद (एउटै मिडिया हाउस भित्र विभिन्न विचारलाई स्थान दिने) अभ्यास कमजोर छ । त्यसको विपरित बाह्य बहुलवाद (भिन्न भिन्न विचार भएको मिडिया हाउसको विकास गर्ने) चलन देखिन्छ । यसबाट प्रभुत्वशाली नेपाली मिडियाहरु वस्तुनिष्ठतातिर कति उन्मुख छन वा छैनन भन्ने प्रश्न अझै तेर्सिएको छ ।

                                             २७ डिसेम्बर २०१३ (संविधानसभाको दोस्रो चुनावको सन्दर्भमा लेखिएको)