Wednesday, November 19, 2014

काँग्रेस र कम्युनिष्टहरुका पत्रिका

मैले झापाको भद्रपुरमा एउटा पत्रिका पसलको फोटो खिचिरहेको थिए । पसलबाट फुत्त एउटी युवती निस्केर सोधीन 'किन फोटो खिच्नुभएको ? मैले भित्र कोही होला भन्ने सोँचीन । उनलाई हत्तपत्त उत्तर दिएँ । म पत्रिकाको अनुसन्धान गर्छु तपाईको पसललाई म्यागेजिनले चिटिक्क पारेको देखेर फोटो खिचेको हुँ । तपाईँ चाहनुहुन्छ भने मैले फोटोहरु सबै डिलिट गरिदिन्छु । उनले भनिन्- 'भो पर्दैन'। मेरो आकर्षण साँच्चै नै त्यो पसलमा चिरिच्याँट्ट परेका म्यागेजिन पट्टि नै थियो । रङ्गीविरङ्गी म्यागेजिनले पसललाई विवाहको मण्डपजस्तो सजाइदिएको थियो । त्यसैले आकर्षणको विन्दु बनेको थियो त्यो पसल । पत्रिका पसलमा जाँदा म्यागेजिन देखेर जाग्ने अर्को जिज्ञासा हो- यो म्यागेजिन कस्को हो कुन राजनीतिक पार्टीको हो आदि । भारतमा पनि त्यस्तो हुँदो रहेछ । एक प्रसिद्ध म्यागेजिन ुआउटलुकु का सम्पादक विनोद मेहेताले पत्रिका पन्ध्रौँ वर्ष पुगेको अवसरमा पाठकहरुकहाँ गएर उनीहरुको राय बुझेका छन् । उनलाई पाठकले सोधेका प्रश्नहरु मध्ये एउटा प्रश्न 'आउटलुकुले कुन राजनीतिक पार्टीलाई समर्थन गर्छ' भन्ने थियो । मेहेताले पत्रिकामा लेखेका छन्- आउटलुक 'लिवरल-सेन्टर-लेफ्ट पब्लिकेशनु'हो । उनका अनुसार पाठकहरु यसलाई काँग्रेस आईको पत्रिका भनेर बुझ्ने रहेछन् । अर्थात भारतीय जनता पार्टीको विरुद्ध समाचार छाप्ने उनीहरुका मान्छेका लेख नछाप्ने भन्ने बुझ्दा रहेछन् । र यसलाई 'सोनियाको चम्चागिरी' पनि भन्ने रहेछन् । हाम्रोमा पनि त्यो छ । कस्को पत्रिका कस्ले लगानी गरेको यी प्रश्न अहिलेका पाठकहरुमा निकै चल्ने गरेको छ । पञ्चायतकालमा नेपाली पत्रकारिताको एउटा मुख्य पहिचान नै पार्टीकारिता गर्ने थियो । रोजकुमार श्रेष्ठले नेपाल साँस्कृतिक संघले प्रकाशित गर्ने 'सँस्कृति' भन्ने स्मारिकामा लेख्नुभएअनुसार पंचायती समयमा 'समिक्षा' र 'नयाँ सन्देश' भन्ने पत्रिका लोकपि्रय थिए । यी पत्रिकाहरुलाई मान्छेहरुले क्रमशः रुस-समर्थक र अमेरिका-समर्थक भनेर चिन्थे । अर्थात काँग्रेस र कम्युनिष्ट । यिनीहरुमा छापिएका खवर र विचार नेपाल अधिराज्यभरि र राजनैतिक क्षेत्रमा उथलपुथल ल्याउँथे । जेहोस पाचायत कालबाट पत्रिकाहरुको पहिचान राजनीति गर्ने दलका आधारमा बन्ने गरेको हो । त्यो समयमा सरकारी प्रकाशनका बाहेकका पत्रकारहरु पार्टीको लेवल लगाएको बुझ्न सकिन्छ । यो धरातलमा २०४६ सालपछिका पत्रिकाहरु पनि खासगरी म्यागेजिनहरु र टेब्लोइड पत्रिकाहरु पनि काँग्रेस र कम्युनिष्टका पत्रिका भनेर चिनीएका छन् । अझ जनमञ्च पत्रिकाबारे गरिएकॊ अनुसन्धानको अनुभव के छ भने पत्रकारिताको व्यावसायिकता पनि पार्टीकारिताबाट हुर्किएको हो । त्यसैले यहाँ २०४६ सालपछि काँग्रेस र कम्युनिष्ट समर्थन गरिएका म्यागेजिनहरु के-के थिए भन्ने जान्न खोजिएको छ । काङ्ग्रेसी म्यागेजिन : २०४८ सालपछि सत्तामा रहेको नेपाली काँग्रेस प्रति वफादार रहने गरि तुलनात्मक रुपमा कमै म्यागेजिनहरु निस्केका छन् । काँग्रेसको संस्थापन खेमाबाट असन्तुष्टहरुले पाक्षिक स्वतन्त्रता निकाल्ने अभ्यास २०४८ को सुरुदेखि नै गरे । यसका सुरुका कार्यकारी सम्पादक सुरेश आचार्यका अनुसार यो २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबाट असन्तुष्ट कांग्रेसले निकालेको पत्रिका हो । यसको सुरुको अङ्कमा खसीलाई काटेको आवरण तस्वीर राखिएको छ त्यसको लाक्षणिक अर्थ चाहिँ गिरिजाप्रसाद कोइरालाले शिशु प्रजातन्त्रको वध गरे भन्ने थियो । कृष्णप्रसाद भट्टराईको हारपछि नेपाली काँग्रेसमा चर्किएको विवादले यस्ता म्यागेजिन प्रकाशनको आधार बने । त्यस्तै लाक्षणिक चित्र स्वतन्त्रताको वर्ष २१ अङ्क ६मा पनि छ जहाँ एउटा बच्चालाई काँडेतारको विचमा राखिएको छ । त्यसको अर्थ चाहिँ शिशु प्रजातन्त्रलाई अप्ठ्यारोमा राखिएको भन्ने हो । यो म्यागेजिनको प्रकाशन २०२८ सालमा साहित्यिक पत्रिकाको रुपमा भएको थियो । यहि पत्रिकालाई २०४८ साल कात्तिक महिनामा पाक्षिक समाचार पत्रिकाको रुपमा प्रकाशित गरिएको हो । २०२८ सालमा स्वतन्त्रता प्रकाशन गर्नुको उद्देश्य 'साहित्यको माध्यमबाट पाचायती शासनको विरोध गर्नलाई हो' पहिलो अंकको प्रकाशकीयमा भनिएको छ । सोही प्रकाशकीय अनुसार स्वतन्त्रताको जन्म हुँदा पाचायती अवस्थामा मुलुकको वातावरण यस्तो थियो कि सरकार र व्यवस्थाको जायज विरोध गर्न पनि साहित्य र अमूर्त भावनाको सहारा लिनु पर्दथ्यो । अर्को पत्रिका 'अग्निपथ साप्ताहिक' २०५४ पनि नेपाली काँग्रेस पक्षधरले निकालेको म्यागेजिन नै हो । २०५५ सालमा पुनः प्रकाशन गरेको सन्दर्भमा भनिएको छ 'प्रजातन्त्रवादी भएकाले हामीलाई कांग्रेस्या भनिन्छ भने हामी त्यसलाई गाली ठान्दैनौ र कांग्रेस्या भन्दा भन्दै कसैले कांग्रेसको कुनै गुट र लवीमा लगेर सीमित गरिदिन्छन् भने तिनको मन्द बुद्धिप्रति हामी सहानुभूति जनाउनुबाहेक केही गर्न सक्दैनौ'। कांग्रेस्या पत्रिका भएपनि कुनै खेमामा नलाग्ने यो प्रकाशकीय टिप्पणीले बताउँछ । तर यसले गणेशमान सिंहले प्रजातन्त्रका निम्ति बीपी‚ केपी र जेपीसँग हिडेको कठोर यात्रालाई अग्निपथ भनेको छ । यो गणेशमान सिंहको जन्मतिथिमा निस्केको पत्रिका हो । यसआधारमा यो गणेशमान सिंह खेमाप्रति सहानुभूति राख्ने पत्रिका हो भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । २०५५ साउन महिनामा बीपी कोइरालाको १७ औँ पुन्यतिथिको अवसरमा यसले पुनः प्रकाशन गर् यो । यसका सम्पादक/प्रकाशक श्रीआचार्य थिए । यसले मुलतः नेपाली कांग्रेसका बारेमा विषयवस्तुहरु प्रस्तुत गरेको छ । तत्कालिन सत्तापक्ष नेपाली कांग्रेसको आन्तरिक राजनीति ऐतिहासिक अभिलेखलाई क्रमशः सुरुको अङ्कदेखि प्रकाशन गरिरहेको छ । त्यसैगरि बीपी कोइरालाका विभिन्न पुस्तकको बारेमा चर्चा पनि क्रमश विभिन्न अङ्कमा गरिएको छ । बीपीको समाजवाद बीपीको चिन्तन व्यक्तित्वबारे सामग्रीहरु प्रस्तुत गरेको छ । नेपालको व्यावसायिक म्यागेजिन जनमञ्च पनि प्रकाशनका हिसावले व्यावसायिक भएपनि यसमा काम गर्ने पत्रकारहरुको हिस्सा नै पंचायतकालमा हुर्किएको 'डेमोक्र्याट' खेमाबाट आएका पत्रकारको वाहुल्य भएकाले अन्तरवस्तुमा यसले असर पारेको थियो । त्यतिबेला कम्युनिष्ट पाठकहरुले यसलाई पनि काँग्रेसको पत्रिका भनेर चिन्थे । बाँकी अंश अन्नपूर्ण पोष्टमा छापिएको छ ।

पत्रकारिताको इतिहासमा जनमञ्च

नेपाली भाषाबाट साप्ताहिक रुपमा निस्कने न्यूज म्यागेजिन जनमञ्चको प्रकाशन २०४७ कात्तिक ८ बाट भएको हो । त्यतिबेला न्युज म्यागेजिनको लागि नेपाली पाठकहरुले भारतीय म्यागेजिन पढ्ने चलन पनि थियो । यो समयमा जनमञ्चमा लगानी गर्ने अमेरिकी नागरिक आर.डी. टटलले पञ्चायत कालमै सोल्टी होटलमा क्यासिनो खोलेका थिए । क्यासिनोको प्रचारका लागि नेपाल ट्राभलर म्यागेजिन पनि प्रकाशन हुन्थ्यो । व्यवस्था परिवर्तनपछि राजतन्त्र तुलनात्मक रुपमा कमजोर र दलहरु बलिया भएको सन्दर्भमा उनलाई दलहरुसँग नजिकको सम्बन्ध बढाउन आवश्यक थियो । कतिपय पत्रकारहरुले जनमञ्चलाई सम्बन्धको विकास गर्ने एउटा माध्यमको रुपमा पनि लिएका छन् । लगानीकर्ता टटल भएपनि यसका प्रकाशक किशोर सिलवाल थिए । सिलवाल पेसाले अमृत साइन्स क्याम्पसका प्राध्यापक र क्यासिनोका कर्मचारी पनि थिए । सम्पादकीय समूह बनाउनका लागि सिलवालले डिल्लीरमण रेग्मीसँग सल्लाह लिएका थिए । रेग्मीले गोरखापत्रमा काम गरिसकेका मुकुन्द पराजुलीलाई पत्रिकाको प्रधान सम्पादकका रुपमा राख्न सल्लाह दिए । २०४५ सालमा बालमुकुन्ददेव पाण्डेलाई सरकारले गोरखापत्रमा सम्पादक बनाएपछि निराश भएर बसेका पराजुली जनमञ्चमा आउनुअघि अंग्रेजी भाषाको न्यूज म्यागेजिन स्पटलाइटमा काम गरिरहेका थिए । उनले हरि अधिकारीको सहयोगमा सुरुको सम्पादकीय समुह बनाएका थिए ।
औपचारिक रुपमा जनमञ्चको व्यवस्थापकीय समुहको राजनीतिक सम्लग्नता नभएपनि सम्पादकीय समुह नेपाली काँग्रेससँग नजिक थियो । प्रधान सम्पादक मुकुन्द पराजुली गिरीजाप्रसाद कोइराला सरकारको पक्षमा देखिएपछि उनलाई कोइराला सरकारले २०४९ सालमा राष्ट्रिय समाचार समितिमा नियुक्त गर्यो । त्यति बेलासम्म अनुभवी पत्रकारहरु योगेश उपाध्याय, तारानाथ दाहाल, नारायण वाग्ले, जिवेन्द्र सिम्खडा, चन्द्रशेखर कार्की नयाँ दैनिक कान्तिपुरमा गए । त्यसपछि बालमुकुन्ददेव पाण्डे, देवप्रकाश त्रिपाठी, युवराज लुइँटेल लगायतका व्यक्तिहरु जनमञ्चमा आए । पत्रकार कुसुम भट्टराई अनुसार त्यतिबेला ‘कृष्णप्रसाद भट्टराईप्रति सहानुभूति देखाउने’ उपसम्पादक रेवतीरमण सुवेदी तथा पत्रकार केदार कोइराला र ‘गिरिजाप्रसाद कोइरालाको समर्थन गर्ने’ देवप्रकाश त्रिपाठीबीच बारम्बार विवाद भइरहने हुँदा बादेपालाई सल्लाहकार सम्पादकका रुपमा नियुक्त गरिएको थियो । यस्तै विवादमा असहमति हुँदा त्रिपाठीले प्रिन्टलाइनबाट आप्mनो नाम पनि झिकेका थिए । पछि त्रिपाठीलाई कोइराला नेतृत्वको सरकारले २०५० सालमा रेडियो नेपालमा पुरूषोत्तम दाहालको सट्टा घटना र विचार कार्यक्रमका लागि नियुक्ति दिएपछि कोइराला सरकारप्रति सहानुभूति राख्ने समूह जनमञ्चमा बाँकी रहेन । वि.सं. २०५० को उपचुनावमा कृष्णप्रसाद भट्टराईको उमेद्वारीलाई जनमञ्चले खुलेरै समर्थन गरेको छ । वि.सं. २०५१ को मध्यावधि चुनावपछि नेकपा (एमाले)को अल्पमतको सरकारले नेपाली काँग्रेसले नियुक्त गरेका मान्छेलाई निकाल्ने काम ग¥यो । मुकुन्द पराजुली राससबाट निकालिनेमा परे । पुनः जनमञ्चमा प्रधानसम्पादक हुन आए । त्यसपछि जनमञ्चले सरकारको विरोधमा लेख छाप्न थाल्यो । उदाहरणका लागि २०५२ सालमा एमालेले गरेको मध्यावधि निर्वाचनको घोषणालाई सर्वोच्च अदालतले अवैध घोषणा गरेको बेला जनमञ्चले आप्mनो सम्पादकीयमा ‘साम्यवादी निरंकुशता लाद्ने अल्पसंख्यक सरकारको दुस्वप्न’, ‘काकतालीबस सत्तामा पुगेको कम्युनिष्ट सरकार’ ‘कम्युनिस्ट तानाशाही’, ‘विश्वमा सर्वत्र साम्यवादको जरो उखेलिँदै छ’ र ‘साम्यवादी निरंकुशता स्थापना गर्ने दुस्वप्न’ जस्ता शब्दावलीको प्रयोग गरेको थियो । सर्वोच्च अदालतको निर्णय नमान्ने र आन्दोलन गर्ने एमालेलाई अर्को एक सम्पादकीयमा ‘सत्ता गुमेको क्रोधमा रन्थनिएको एउटा हिंस्रक जत्था’ भनिएको छ । सम्पादकीयमा प्रयोग भएका यी शब्दहरुबाट जनमञ्चको पक्षधरता देखिन्छ ।
के जनमञ्च राजनीतिक पक्षधरता देखाउने पत्रिका नै थियो त ? माथिका विषयवस्तुको प्रस्तुति तथा त्यसको विवेचना हेर्दा त्यस्तो लाग्नसक्छ । तर त्यति मात्र होइन । जनमञ्चलाई म्यागेजिनको पूर्ण आकार दिन, सामान्य पाठकलाई पनि रूचिको पत्रिका बनाउन यसका गैरराजनीतिक विषयवस्तुको महत्वपूर्ण स्थान छ । पूर्ण म्यागेजिन बनाउन जनमञ्चमा साहित्य, रंगमञ्च, पर्यटन, पर्यावरण लगायत ४१ ओटा स्तम्भ थिए । यस्ता विषयवस्तु लेख्ने काम चाहिँ आन्तरिक जनशक्ति र बाह्य जनशक्तिबाट गरिएको थियो । त्यति बेला नाम चलेका थुप्रै लेखक तथा स्तम्भकारले जनमञ्चमा लेखेका छन् । अरु नै कामको शिलशिलामा काठमाडौँ बाहिर गएका बेला जनमञ्चको लागि बाहिरी लेखकहरुले केही रिपोर्टिङ गरेका छन् । यसले जनमञ्चको व्यावसायिकतालाई बोकेको छ । यसको अर्को प्रभावशाली पक्ष भनेको फोटोको प्रयोग थियो । जनमञ्च प्रकाशित हुँदाका फोटोग्राफर चन्द्रशेखर कार्कीका अनुसार अरु ट्याब्लोइडहरुले जनमञ्चको फोटो कटिङ गरेर छाप्थे । सुरूचि, प्रतिपक्ष, विमर्श साप्ताहिकले जनमञ्चका तस्बिरहरुलाई कटिङ गरेर प्रकाशन गर्थे । व्यावसायिकताको अर्को पाटो चाहिँ जनमञ्चले पत्रकारहरुलाई नियमित तलब दिने, आवश्यक परेको बेला पेश्की दिने गर्दथ्यो । जसले त्यतिबेलाका पत्रकारलाई आकर्षण गरेको थियो । रिपोर्टरहरुको तलब २०४७ सालको मध्यताका २२ सय देखि तीन हजार रूपैयाँ थियो । सोही समयमा सरकारी सेवामा काम गर्नेे शाखा अधिकृतको १४४० रूपैयाँ मासिक तलव थियो । यसबाट जनमञ्चले दिने पारिश्रमिक राम्रै थियो भन्न सकिन्छ । प्रकाशक किशोर सिलवालका अनुसार विज्ञापन भन्दा लगानीका भरमा पत्रिका चलेको थियो । विज्ञापनदाताले पैसाको सट्टा वस्तु प्रदान गर्थे । बियरको विज्ञापन छापेबापत कम्पनीले जनमञ्चको कार्यालयमा आधा वा एक कार्टुन बियर मात्रै ल्याइदिन्थ्यो । लगानीको भरमा मात्र टिकेको जनमञ्च २०५२ सालपछि ट््याब्लोइड साइजमा निस्कन थाल्यो । यसको संकेत पत्रिका आर्थिक रुपमा कमजोर स्थितिमा पुगेको अनुमान गर्न सकिन्छ । अनुभवी पत्रकारहरुले छोडेर कान्तिपुरमा जानु वा दैनिक पत्रिकाको आगमन पनि पत्रिका कमजोर हुनुको एउटा कारण थियो । जनमञ्चका सुरुवाती सम्वाददाता तारानाथ दाहालअनुसार लगानीकर्ताले लगानी त गरे तर लगानी बढाउन, विज्ञापन प्रवद्र्धनमा ध्यान नदिएकाले पनि पत्रिका सुरूदेखि नै स्वावलम्बी बन्ने प्रक्रियामा गएन । बरू यसले पत्रकारलाई मात्र समयमा तलब दिएर व्यावसायिकता नबढ्ने भन्ने पाठ सिकायो । जिवेन्द्र सिम्खडालाई प्रकाशक सिलवालले भनेअनुसार जम्माजम्मी दुई करोड नोक्सान सहेर पत्रिका २०५४ सालमा बन्द भएको थियो । उनले जिवेन्द्रलाई भनेका थिए रे, ‘हेर जिवेन्द्र, दुई करोडमा दुइ चारओटा कुर्सी र कम्प्युटर मात्र बाँकी छन्’ । अन्त्यमा दलगत साप्ताहिक पत्रिका निस्किरहेको समयलाई पन्छाउँदै यसले निजी क्षेत्रबाट व्यावसायिक पत्रकारिताको प्रारम्भ ग¥यो । कुनै खास दलमा आबद्ध रहेका वा मिसन पत्रकारिता गरिरहेका व्यक्तिलाई व्यावसायिक पत्रकारमा रुपान्तर गर्न भूमिका निर्वाह गर्‌यो । निस्कँदै गरेको दैनिक पत्रिकाको निम्ति एक जमात पत्रकार उत्पादन ग¥यो । निजी क्षेत्रमा काम गरिरहेका पत्रकारहरुलाई समयमा तलब दिने, बाहिरी पत्रकारलाई पनि पारिश्रमिकसहित लेख्न प्रोत्साहन गर्ने काम ग¥यो । खोजी रिपोर्टिङ, फलोअप रिपोर्टिङ, फोटोपत्रकारलाई छुट्टै तलब दिएर राख्नु आदि संकेतका आधारमा यसले व्यावसायिकताको सुरूआत गरेको हो । तर जनमञ्च दलगत गुटबाट मुक्त हुन सकेन । पार्टीगत त्यसमा पनि गुटको प्रभाव जनमञ्चमा देखिन्छ । जसले गर्दा केही सम्पादकहरुले राजनीतिक नियुक्तिका निम्ति लेखहरु लेखेर सरकारी जागिर खाने दाउमा गए । प्रकाशकीय समूहको मूल व्यवसाय नै पत्रिका प्रकाशन नहुँदा पत्रिकाको स्वावलम्बी बन्ने प्रक्रिया नै कमजोर भयो । व्यावसायिक पक्ष र अन्तर्वस्तु कमजोर हुँदै गयो । यसरी बलियो लगानीको पाटो पनि अन्ततः ट्याब्लोइड हुँदै बन्द भयो । 

 –मार्टिन चौतारीबाट प्रकाशित नेपाली म्यागेजिनका २५ वर्ष पुस्तकमा प्रकाशित लेखको छोटो रुप हो

Saturday, October 5, 2013

डिसीप्लिन

"डिसिप्लिन" २ बजेर ३० मिनेट गएको हुँदो हो । अर्नी खाएपछिको चिया गफमा दाईले भन्नुभो‚ "यहीँ गरेको कुरालाई अनुशासित भएर लेख्न बस्ने हो भने एउटा लेख बन्छ" । लेख बन्छ कि बन्दैन मलाई थाहा छैन त्यहाँ भएको कुरो लेख्दैछु । दाई भन्दै हुनुहुन्थ्यो‚ "हाम्रा भाइबैनाहरु धेरैबेरसम्म कम्प्युटरमा लेख्न बसेको देख्छु‚ एउटै कुरो लेख्दा लेख्दा बोर पनि लाग्दो हो । तर हाम्रै वरिपरि भएका कुराकानीलाई अनुशासित रुपले लेख्ने हो भने पढ्न योग्य लेख बन्छन् ।" सबैले दाईको कुरा त ठीक हो पनि भन्यौँ । हामीले होमा हो मिलाउनुको कारण थियो हामी लेख्दैनौ त के गर्ने ? हिजोआज विभिन्न विषयमा छलफल गोष्ठी भैरहेका हुन्छन् । प्रोफेसनल गफाडिबाट पनि गफ सुनिरहेका हुन्छौँ । त्यसबाट केही कुरा टिप्ने हो भने एक एक ओटा लेख बन्न सक्छ । छलफल गोष्ठिमा गयो चिया र कुकिज डाइजेष्ट गर्यो तर कुरा डाइजेष्ट भएन । कहिलेकाहीँ मैले डायरीमा सुने देखेका कुराहरु टिप्ने कोशिस त गरेँ तर निरन्तरता दिइन । डिसिप्लिनमा नै बस्न सकिएन । दाई थप्दैहुनुहुन्थ्यो‚ "एकजना माड्सावले कसैले केही नयाँ कुरा भन्यो कि डायरीमा टिप्ने‚ उनका लेख र किताबहरुका प्राथमिक सुचनाहरु तिनै डायरी हुन् । ३ बजेतिर दाईका कुरा सुनेर तल झरेँ । लेख्न बसेँ अघिको कुरा मरे लेख्न सकिँदैन । कम्प्युटरमा झुन्डिएको साथीलाई सोधेँ‚ "यार आफ्नो वरिपरी सुने देखेका कुरा लेख्न बसेमा लेख बन्छ रे त" उस्ले भन्यो "त्यस्तो लेख्न बसे त के के लेख्ने‚ सबैकुरा लेखिसाध्य नै हुँदैन" ।

Friday, October 4, 2013

विवेक गुमेपछि


धु्रवे हात्तिलाई पनि ‘मार्नैपर्छ’ भन्ने र ‘मार्नुहुँदैन’ भन्ने विवादमा मार्नुपर्छ भन्ने स्थानीय पीडितहरुको भनाइको वाबजुत ध्रुवे बाँच्यो । तर मानववस्तीमा सहाराविहिन भएर हिँस्रक बनेको चितुवा ‘चित्रे’ चैत २८ मा मारियो । गोठाटारवासीले मारिदिए । आशा गरौँ नयाँ वर्षमा यस्तो नहोस् । संविधान शभाको चुनाव भएको ५ वर्षको दिनमा पनि यस्तो घटनाक्रम दोहोरिएको थियो । सहिष्णुताको हाम्रो सँस्कृतिमा यसले प्रहार गरिरहेको छ । मुलुकमा जो पनि जहाँ जाने हकलाई चित्रेको हत्याले  सोचमग्न बनाएको छ । एकजना व्लगर राजु दाहालले आफुले प्रत्यक्ष देखेको घटनालाई ट्वीट गरेपछि मैले त्यो घटनाको फेहरिस्त थाहा पाएँ । दाहालका अनुसार घोडेजात्राको दिन गोठाटार गाविस १ नं. वडाको झाडीमा लुकेको चितुवालाई सयौँ मान्छेहरुको लाठी र ढुंगासहितको भिडले यता–उता चित्रेलाई खोजिरहेको थियो । मान्छेहरु प्रहरी प्रशासनले गोली चलाएनन भनेर प्रहरी प्रति आक्रोस जनाइरहेका थिए । घाँसपात गर्ने महिलाहरुका अनुसार त्यो चितुवाको बच्चाहरु पनि थिए रे । दाहाल दुःखी हुँदै लेख्छन्, “त्यो आमाले उनीहरुलाई कुनै सुरक्षित ठाउँमा लुकाएर म नआई कतै नजानु है भनेर छोडेर आएकी थिई होला । भोक र डरले लखतरान भएका बच्चाहरु खानेकुरा लिएर आमा आउने आशामा बाटो कुरेर बसेका होलान् ।” केही तथाकथित आँटिला मान्छेहरु बाँसको झ्याङभित्र लुकेको चितुवालाई चिर्पटले घोँचेर र ढुंगाले हानेर बाहिर निकाल्न बाध्य बनाए । डरले आत्तिएको चित्रेले हुँकार गर्दै अर्को ठाउँमा गएर लुक्यो । केहीलाई आक्रमण पनि ग¥यो । कसैको नियन्त्रण नभएको मानव सागरले पटक–पटक ढुंगा र लाठी प्रहार गरिरहेको दृष्य व्लगर राजुले डिलडिलबाट हेरिरहेका थिए । दाहालका अनुसार एकजना इन्सपेक्टरले रुखमा चढेर ५ राउण्ड गोली बर्साए । तर लागेन र कराएन पनि । त्यतिगर्दा नभएपछि लाठो र मुंग्रो लिएर मान्छेहरु बाँसको झाडिमा पसे । आत्तिएको चित्रेलाई दुश्मनहरुले क्रुर हुँदै टाउकोमा हिर्काए । भैगो नमार छोडिदेऊ भन्दा पनि कसैले सुनेन । दाहाल लेख्छन् “कान्लामाथि बसेर हेरिरहेको थिएँ– मानौँ आप्mनो बच्चालाई भनिरहेको होस कि– मलाई माफ गर, तिमीहरुको लागि खाना लिएर आउन सकिन” । डिलडिलमा बसेका मान्छेहरुले ठूलो उत्सव मनाए रे । तथाकथित  विवेकी र बुद्धिमान मान्छेले घिसार्दै गाउँ घुमाउन लगे । बुद्धको देशको मान्छे हुँ भनेर विदेशीसँग परिचय दिँदै च्याट गर्ने हाम्रो चरित्रसँग हाम्रो थप अर्को पहिचान थपिएको छ । यस्ता घटनाहरु हामीसँग थुप्रै छन् । त्यसैले यो घटना नभएर घटनाक्रम हुनपुग्यो ।
जनआन्दोलन सकिएपछि वि.सं. २०४७ वैशाख १० मा त्रिपुरेश्वर र टेकुमा सयौँको संख्याले पुलिसहरुलाई ‘मण्डले’ को नाउमा कुटी–कुटी मारेका थिए । युवाले ६ जवानलाई लछार्दै पछार्दै टेकुको फुटपाथ र सडकमा ढालेका थिए । सयौँको संख्याले लात हान्दै । लठ्ठीले हिर्काउँदै । छाताको टुप्पाले घोँच्दै । टोल सुरक्षाको लागि भनि गठन गरिएको संकास्पद भीडले कुटपीट गर्दा त्रिपुरेश्वरको पचलीनिर ५ जना र टेकुमा १ जनाको हत्या गरिएको थियो । अर्कोदिन विहान मारेर फालिएको अवस्थामा प्रहरीको लासहरु फेला परेका थिए । गोरखापत्रकाअनुसार दुईवटा लास र ६ जना घाइतेहरुलाई उत्तेजित भिडले ठेलामा राखी नगरपरिक्रमा गराइरहेको अवस्थामा प्रहरीले सिंहदरवार अगाडिबाट पक्रेको थियो । त्योबेला असुरक्षाको कारणले स्कूलहरु बन्द भए । पसल पनि खुलेनन् ।
वि.सं. २०६३ चैत ७ मा गौरमा २८ जना माओवादी कार्यकर्तालाई मधेशी जनाधिकार फोरमका कार्यकर्ताले भाटा, रड, चिर्पट, इत्यादिले हानेर घोची–घोची मारेका थिए । मधेशको इतिहासमा यो पनि एउटा कलंकित घटना थियो । फोरमका समर्थकले रातो, पहेँलो र हरियो रंगका डण्डा बोकेका र उनीहरुले त्यस्तो डण्डा नभएकाहरुलाई आक्रमण गरेका थिए । गाउँगाउँमा माओवादीलाई खोजीखोजी मार्न थालियो । फोरम कार्यकर्ताहरुले बाँसको फट्टाले हानेर मारिएको थियो ।
वि.सं. २०६४ भदौ ३० मा कपिलवस्तुमा प्रभावशाली स्थानिय नेता मोइद खाँको हत्या भएपछि एक्कासी आक्रोस फैलियो १५ जनालाई मारियो । ३०० भन्दा बढि घर घडेरी जले । त्यो प्रतिशोध थियो । अर्कोतर्फबाट फेरि हल्लाहरु फैलिए । सयौँको हत्या, सयौँ लासहरु अलपत्र, स्तन काटिएको, ज्युँदै खाल्डोमा गाडिएको आदि । त्यो पनि प्रतिहिंसा जन्माउने चरित्र थियो ।
कुनै घटना हुने वित्तिकै तुरुन्त भौतिक प्रतिक्रिया दिने, टायर बालिहाल्ने, जुलुस निकाल्ने, हात उठाउने, मुठ्ठी बजाउने र मारिपनि हाल्ने दृष्टान्त हो चितुवा मार्ने काम । गोठाटारमा चित्रेलाई चिर्पटले टाउकोमा कुटी–कुटी मारियो । पर्यावरण पत्रकारिता गर्नेहरुले यसलाई ‘क्रुरता’ को संज्ञा भनि रिपोर्टिङ गरे । अर्का थरी पत्रकारले चितुवा हिंस्रक बनेपछि मार्नुपरेको ‘बाध्यता’ को रिपोर्टिङ गरियो । कसैले रिपोर्टिङ गर्न आवश्यक नै देखेनन् । सरकारी पक्षले पनि बाध्यता नै भने । नेपाली समाजभित्र भएको हिँस्रक चरित्र हो । संक्रमणकालिन अवस्थामा लम्बिँदै जाँदा यस्ता क्रुर उदाहरण देखिरहनुपरेको छ । यस्ता कैयौँ उदाहरणका चाङ पनि प्रस्तुत गर्न सकिन्छ । यस्ता घटना नेपालको संक्रमणकालले गर्दा घटेका थिए । समाज एक चरणबाट अर्को चरणमा जाँदा त्यहाँ कानुन नियम कमजोर भएका हुन्छन् । व्यक्तिले राज्यबाट केही अपेक्षा गर्न नसक्दा आत्महत्याको बाटो रोज्छ । समाज क्रुर र निर्मम बन्दै जान्छन् ।

अन्नपूर्ण पोष्टमा छापिएको मिति छापिएको मिति २०६९ चैत ३१

पुस्तक समीक्षा : सुवेदी, नवराज । २०६९ । इतिहासको एक कालखण्ड । काठमाडौँ : जगदम्बा प्रकाशन ।



भीमबहादुर पाँडेको त्यसबखतको नेपाल, डा. हर्षबहादुर थापामगरको महेन्द्रको जीवनी, गृष्मबहादुर देवकोटाको नेपालको राजनीतिक दर्पण पुस्तक पढेका व्यक्तिको लागि यो पुस्तक तात्वीक रुपमा नयाँ छैन । २५ वर्षको उमेर नपुग्दै पञ्चायतमा पसेका युवा नवराज सुवेदी पञ्चायतका गृहमन्त्रीसम्म पुगे । ७० वर्षको उमेर घर्केपछि उनले इतिहासको एक कालखण्ड पुस्तक लेखेका छन् । पुस्तकलाई ४ खण्डमा विभक्त गरिएको छ । १३६ पेजको पुस्तकलाई उनले ३ वटा राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र)को कार्यकाललाई बयान गरी ३ खण्ड र आप्mनो नीजि जीवनलाई समेटेर अन्तिम खण्ड तयार पारेका छन् । १३ पेजको श्यामस्वेत फोटोग्राफ समेटिएको यो पुस्तकको पृष्ठभूमीमा डा. तारानाथ शर्माले यो पुस्तकलाई ’पञ्चायतकालको विश्वसनीय विश्लेषण‘ भनि चर्चा गरेका छन् । डा. शर्मा नाताले लेखक सुवेदीका जेठसासुको छोरीज्वाईं पर्छन् । पुस्तकमा देखिएका शुद्धाशुद्धिलाई ख्याल गर्ने हो भने जगदम्बा प्रकाशनले हतारमा छापिएको पुस्तक जस्तो देखिन्छ ।
 पुस्तकमा तत्कालिन राजा महेन्द्रलाई दुरदर्शी नेता भन्न खोजिएको छ । तत्कालिन राजा वीरेन्द्रलाई सोझा, आफुले निर्णय गर्न नसक्ने हुँदा रानी र अन्य राजपरिवारको पेलुवामा परेर पञ्चायत व्यवस्था राम्रोसँग चलाउन नसकेको उल्लेख गरिएको छ । वि.सं. २००७–२०१७ को प्रजातन्त्रकाल र वि.सं. २०२८–२०४६ को वीरेन्द्रकाल भन्दा महेन्द्रकाल (२०१७–२०२७) को अवधि विकासका दृष्टिले दुरगामी र महत्वपूर्ण थियो, पुस्तकमा भन्न खोजिएको छ । पूर्वपश्चिम राजमार्ग, उत्तरदक्षिण जोड्ने मार्गहरु, चिनी, चुरोट, जुत्ता कारखानाहरु, मुलुकी ऐन तथा भूमिसुधार कार्यक्रम, प्रज्ञाप्रतिष्ठान आदिको स्थापनालाई विकासको दृष्टिले दुरगामी भन्न खोजिएको छ । पुस्तकको पहिलो खण्डमा तत्कालिन राजा महेन्द्रलाई दिलदार, जनताको लागि काम गर्न सक्ने राष्ट्रवादी राजाको रुपमा चित्रण गरिएको छ । महेन्द्रले, आप्mनो पञ्चायतको कार्यकालमा वीपीजस्तो योग्य र दुनियाँलाई देखाउन लायकको प्रधानमन्त्री अर्को हुन नसकेको र आप्mनो जीवनमा हुन नसक्ने भनि बताएको कुरालाई उल्लेख गरिएको छ (पे. १८) । महेन्द्र निकै चलाख र कहाँ के भैराखेको छ, भनी थाहा पाउने राजा थिए भनि जान्न त्यतिबेला एउटा उखान चलेको थियो, ”कुन व्यक्तिको घराँ के तरकारी पाक्यो राजा महेन्द्रलाई थाहा हुन्थ्यो रे“ (पे. २२) । लेखकले राजा महेन्द्रलाई कान नभएको र चुक्ली लाएको भरमा कसैको कुरा नपत्याउने राजा भनेर चिनाउन चाहन्छन् । खासमा लेखकलाई पञ्चायतले धेरै दियो उनी राष्ट्रिय पञ्चायतको सदस्य हुँदै गृहमन्त्रीसम्म पुग्दा आप्mनो जीवन सफल भएको ठान्दछन् । त्यसकारण महेन्द्रलाई उनी औधी मनपराएको बुभ्mन त्यति गाह्रो छैन । त्यसैले उनले लेखेका छन्, श्री ५ महेन्द्रबाट मैले सब पाएँ– मान, सम्मान, धन आदि ।
पुस्तकको दोस्रो खण्डमा पञ्चायतको दोस्रो कार्यकालको अथवा वीरेन्द्रको कार्यकालको चर्चा गर्न खोजिएको छ । उनले पुस्तकको पहिलो भागमा तत्कालिन राजा वीरेन्द्रलाई, महेन्द्रले, साह्रै सोझो छ, अरु भाइहरु साह्रै चलाख छन् राजकाज कसरी चलाउला भनेर साह्रै चिन्ता गर्थे (पे. १९) भनेर लेखेका छन् । र लेखकले वीरेन्द्रको समयमा रानीको बढी सक्रियता र दरबारका सचीवहरुको दवदबाले वीरेन्द्रको समयमा राजतन्त्र कमजोर हुँदै गएको कुरा उल्लेख गरेका छन् । उनले दरबारका सचीवहरुकहाँ चाकडीवाजहरुको भीड लाग्ने गरेको कुरा उल्लेख गरेका छन् (पे. ३६) । यही सन्दर्भलाई संकेत गर्दै लेखक सुवेदीले सूर्यबहादुर थापाको, देशमा द्वैध शासन छ, सिंहदरवारमा एक, अर्को नारायणहिटीमा, भनि लेख्दा जेलमा थुनिनुपरेको कुरा उल्लेख गरेका छन् (पे. ३८) । तत्कालिन राजा वीरेन्द्रलाई आप्mनो स्वविवेकले कुनैकुरा निर्णय गर्न नसक्ने राजा भन्ने कुरा उल्लेख गरेका छन् । जीवनमा आप्mनो स्वविवेकले गरेको निर्णय वि.सं. २०३६ मा जनमतसंग्रह गर्ने निर्णय थियो । सो निर्णय लिँदा रानीलाई पनि थाहा नदिएको कुरा उल्लेख गरेका छन् ।
तत्कालिन राजा महेन्द्रपछि उनले पुस्तकमा बारम्बार प्रशंसा गरेका पात्र सूबथा हुन् । सूबथाको मन्त्रीमण्डलमा रहेका सुवेदीले उनले जनमतसंग्रहमा पञ्चायतलाई जिताउन सूबथाले गरेको प्रयासलाई चर्चा गरेका छन् । उनले लेखेका छन्, सुबथाले पञ्चायतलाई जिताउन हेलिकोप्टर उडेपछि सुत्नुहुन्थ्यो र ओर्लेपछि उठ्नुहुन्थ्यो (पे. ४६) । चोथमल जटिया भन्ने २ नम्बरी व्यापारीले सर्पको छालाको व्यापार गर्ने, नेपालमा आपूmलाई नेपाली नागरिकता दिने र कटन मिल काठमाडौँमा खोल्न अनुमति दिने सर्तमा उनले सूबथाले मागेको साढे ३ करोड भन्दा बढि पैसा दिएको र त्यसैले पञ्चायतलाई जित्न सहयोग पुगेको कुरा उल्लेख गरेका छन् । निर्दलिय पञ्चायतलाई सूबथाले जिताइसकेपछि दरबारका मान्छेहरुको पैसा कमाउने चाहना ह्वात्त बढेको तर सूबथाले कसैलाई नटेर्ने हुँदा उनैलाई हटाउन दरबारका मान्छे लागेपछि सूबथाको सरकारको पतन भयो र पञ्चायतको नै अधोगति सुरु भयो भन्ने कुरा उल्लेख गरेका छन् । तत्कालिन राजा वीरेन्द्रलाई असल र सोझो राजाको संज्ञा दिँदै उनको सोझोपनको फाइदा तत्कालिन बडामहारानी ऐश्वर्य, दरबारका सचिबहरु चिरनशम्शेर र ताराबहादुर थापाले आप्mनो स्वार्थको लागि प्रयोग गरे भन्ने कुरा उल्लेख गरेका छन् (पे. ७०) ।
पुस्तक पञ्चायतमा भएका अभ्यास बारे बुभ्mनलाई अत्यन्त उपयोगी छ । लेखकले पुस्तकमा आप्mनो तर्पmबाट भएको कमजोरी कहीँ देखाउन खोजेका छैनन् । जसरी विनोद चौधरीले आप्mनो आत्मकथामा आपूmलाई हिरो बनाउन खोजेका छन् । ठ्याक्कै त्यसरी त होइन तर त्यही प्रवृत्तिमा लेखकले आप्mना काम कारबाहीको चर्चा गरेका छन् । उनले आप्mनो विरुद्ध बोल्ने भारतीय राजदुत भीमबहादुर पाँडे, पञ्चायतको सुरुवातमा पश्चिम क्षेत्र हेर्ने मन्त्री खड्गबहादुर सिंह आदिलाई सधै नकरात्मक ढंगले र चन्द्रनिगाहपुरमा आपूmलाई जग्गा किन्न पेश्की रकम मिलाईदिन सहयोग गर्ने तत्कालिन अर्थमन्त्री सूबथा (पे. ६) लाई पुस्तकभरी प्रशंसैप्रशंसा गर्ने, युवक संगठनमा २ पटक पराजित हुँदा त्यो निर्वाचनलाई धाँधली देख्ने (पे. ३) अर्थमा उनले पुस्तक एकतर्फी रुपमा लेखेका छन् । आत्मआलोचनासहित लेखेका छैनन् भन्ने प्रशस्त ठाउँ छ । तत्कालिन राजा महेन्द्र र उनको प्रारम्भिक कालको बारेमा डा. बहादुर मगरले पनि यस्तै कुरा गरेका छन् । पाठकहरुले मगरको सो किताब पढेका भए सुवेदीको यो पुस्तक त्यति रुचिकर नलाग्न पनि सक्छ । यो पुस्तकको सुन्दरतालाई भत्काउने काम डा. तारानाथ शर्माको भूमिका जस्तो नोटले गरेको छ । उनको लेखले न पुस्तकको आलोचना गरेको छ, न प्रशंशा नै । उनले राजतन्त्र अवसानपछिको आक्रोशलाई भूमिकामा प्रस्तुत गरेका छन् । जुन पुस्तकको लागि छेउ न टुप्पोको लेख बनेको छ । सुवेदीले नाम चलेका लेखक ज्वाईंको मनितो राखेपनि लेखकीय हिसाबले पुस्तकको मान राख्न उनको लेखले सघाएको छैन ।

Thursday, October 3, 2013

सामुहिक हिंशाबारेको सन्दर्भसूची


२०४७ वैशाख १० मा काठमाडौँमा भएको हिंसाबारेको समाचार र विश्लेषण
गोरखापत्र । २०४७ । कर्फ्यु आदेश जारी । ११ वैशाख, पृ. १/७ ।
गोरखापत्र । २०४७ । कर्फ्यु आदेश जारी । १२ वैशाख, पृ. १ ।
गोरखापत्र । २०४७ । श्री ५ बाट जनधनको क्षतिप्रति दुःख व्यक्त । १२ वैशाख, पृ. १ ।
गोरखापत्र । २०४७ । सोमबार भएको हिंसात्मक घटनाबारे जानकारी । १२ वैशाख, पृ. १ ।
गोरखापत्र । २०४७ । आजको दायित्व (सम्पादकीय) । १२ वैशाख, पृ. ४ ।
गोरखापत्र । २०४७ । कर्फ्यु आदेश जारी । १३ वैशाख, पृ. १ ।
गोरखापत्र । २०४७ । समयको माग (सम्पादकीय) । १३ वैशाख, पृ. ४ ।
गोरखापत्र । २०४७ । १८ जना घाइते प्रहरी अस्पतालमा । १४ वैशाख, पृ. १/८ ।
गोरखापत्र । २०४७ । कर्फ्यु आदेश जारी । १४ वैशाख, पृ. १ ।
दीक्षित, कनक । २०५७ । त्यो हृदयविदारक क्षण । हिमाल ?? : ?? ।
वादेपा । २०४७ । चिन्तनको चौतारी । १४ वैशाख, पृ. ४ ।
 Chitrakar, Gopal. 1992. People Power (Photo Collection including 10 Baishakh 2047, unpleasant incident). Kathmandu : Sita Chitrakar.

Shah, Rishikesh.  1992. Towards the Movement for the Restoration of Democracy and Human Rights. In, Politics in 1980-1991, pp. 178- 227.




२०५४ जेठमा नेपालगञ्जमा भएको हिन्दू मुश्लिम दंगाबारे
गाउँले, शिव । २०५४ । नेपालगञ्ज : धार्मिक कचिङ्गलको विस्फोटक थलो । हिमाल ७(२) : ८–१६ ।

२०५७ पुसमा भएको हृतिक रोशन काण्डबारे
प्रेमर्षी, धिरेन्द्र । २०५७ । राष्ट्रवादको मुखुण्डोमा अराजकता । हिमाल १६–२९ माघ : २२–२३ ।
दीक्षित, कनक । २०५७ । बर्बर नेतागिरी । हिमाल १०(२०) : ५९ ।
हिमाल । २०५७ । आधारहीन आक्रोशको अराजकता (सम्पादकीय) । १०(१९) : २६–२८ ।
२०६१ भदौमा भएको इराक हत्याकाण्ड र नेपालमा मुश्लिम समुदाय उत्पन्न भयको स्थितिबारे
अधिकारी, सरद । २०६१ । निरिह सुरक्षा व्यवस्था । समय भदौ : २८ ।
गौतम, राजाराम र तिलक पाठक । २०६१ । अराजकताको आगो । नेपाल ५(६) : २२–२७ ।
घिमिरे, युवराज । २०६१ । अतिवादको खेलमैदान । समय भदौ  : २२–२७ ।
नेपाल, किरण र ध्रुव सिम्खडा । २०६१ । १६ भदौको राष्ट्रिय क्षति : फेरि पनि दोषि दण्डित नहुने संकेत । हिमाल १४(११) : १८–२३ ।
पौडेल, मधुसूदन र शरद अधिकारी । २०६१ । अभागी छोराहरु । समय १(२१) : २४–३३ ।
शर्मा, पीताम्बर । २०६१ । भाद्र १६ लाई खोतलेर हेर्दा । मूल्यांकन १२३ : ११–१२ ।
श्रेष्ठ, मुक्ता । २०६१ । भाद्र १६ सरकारविनाको वीभत्स ६ घण्टा । मूल्यांकन १२३ : ६–१०÷४२ ।
शाह, सौभाग्य । २०६१ । राज्य, राजनीति मिडिया र समाज : को कहाँ चुक्यौँ ? हिमाल १४(११) : २४–२७ ।
समय । २०६१ । राष्ट्रिय शोक लज्जामा नबदलौँ (सम्पादकीय) । १(२१) : ५ ।
हिमाल । २०६१ । ती शहीद हुन् (सम्पादकीय) । १४(११) : ६ ।

२०६१ मंसिरमा पर्साको विरुवागुठिमा माओवादी विरुद्ध प्रतिकार र यससम्बन्धी हिंसाबारे
ढुंगेल, माधव । २०६१ । ‘गृहयुद्ध’ भोगेको गाउँको दुर्दशा । नेपाल २(७) : ३४–३५ ।

२०६१ पुसमा दैलेखको दुल्लुमा माओवादी विरुद्ध गरिएको प्रतिकारबारे
अधिकारी, सरोजराज । २०६१ । दुल्लु विद्रोहको नायिका । नेपाल ४ पुस : २१ ।
नेपाल, किशोर । २०६१ । जनविद्रोहको ज्वालामा दैलेखमा माओवादी । हिमाल १४(१६) : ५८–६३ ।
लाल, सीके । २०६१ । स्वतस्फूर्तः स्वतः सेलाउँछ पनि । हिमाल १४(१६) : ६४–६५ ।

२०६२ वैशाखमा नवलपरासीमा स्थानीयले माओवादी विरुद्ध गरेको प्रतिकारबारे
ज्ञवाली, दिपक । २०६२ । बर्गदाहवा नरसंहार । समय वैशाख १५ : २५–२९ ।

२०६३ मा भएको गौर हत्याकाण्डबारे
चन्द्रकिशोर । २०६३ । अधिकारका नाममा अपराध । हिमाल १६(२४) : ४०–४१ ।
तिम्सिना, यशोदा । २०६३ । पाशविकताको पराकाष्ठा । नेपाल ७(२४) : २१–२३ ।
दाहाल, ऋषिकेश र शिव पुरी । २०६३ । नृशंस नरसंहार । नेपाल ७(३३) : २४– २७ ।
दाहाल, पुरुषोत्तम । २०६३ । घृणाको वीजारोपण । हिमाल १६(२४) : ४२–४३ ।
पाठक, तिलक । २०६३ । संकतमा शान्ति प्रक्रिया । नेपाल (३३) : २८–३० ।
हिमाल । २०६३ । बदला अनुचित । १६(२४) : ४ ।

२०६४ मा भएको कपिलवस्तु घटनाबारे
आचार्य, माधव । २०६४ । सीमापारिबाट भएको सुनियोजित घटना । नेपाल ८(१०) : ३३ ।
ढुंगेल, माधव । २०६४ । कपिलवस्तु नरसंहार कसरी भयो ? कसले गरायो ? नेपाल ८(९) : २२–२६ ।
ढुंगेल, माधव । २०६४ । सबै थोक लुटियो । नेपाल ८(१०) : २७–३२ ।
दीक्षित, कनक । २०६४ । कपिलवस्तुको संवेदनशील सन्देश । हिमाल १७(१२) : २०–२१ ।
पुन मगर, जेवी । २०६४ । शक्ति उन्माद । हिमाल १७(१२) : १६–१९ ।
पौडेल, विजय । २०६४ । काठमाडौँलाई कपिलवस्तु किन दुख्दैन ? नेपाल ८(१०) : ३२ ।
ज्ञवाली, दिपक । २०६४ । भयावह कपिलवस्तु । समय चैत्र ४ : २०–२१ ।

विभिन्न दलित हिंसाबारे गरिएका मिडिया कभरेज र प्रतिवेदन

किसान, यामबहादुर २०५७ । कडा आर्थिक नाकाबन्दीसँग लडिरहेका छन् सप्तरीका चमारहरु । जन उत्थान ६(१४) : २७–२९ ।
जनउत्थान । २०६५ । कल्ली कुमारीको बयान । चैत ।
नेपाली, बाबुराम । २०६० । कास्कीमा एमालेको अगुवाईमा दलितमाथि ज्याजती । समता सन्देश ७ : १३–१५ ।
परियार, अमृत । २०५७ । लाहानमा चमार जातिलाई नाकावन्दी ः मानवअधिकार उलंघनको विकराल रुप । जन उत्थान ६(१३) : १७–२१ ।
बराली, रणेन्द्र । २०५७ । चमार बहिष्कार विरुद्धको संघर्ष र यसले सिकाएको पाठ । समानता ७(१) : ३४–३७ ।
मिजार, धनबहादुर । २०६६ । बालिकाको सामूहिक बलात्कारपछि निर्मम हत्या । लुकेको आवाज ५(२) ११–१२ ।
राष्ट्रिय दलित आयोग । २०६८ । दैलेख जिल्लाको तोली गा.वि.स. वडा नं. २ धनीगाउँका सन्तबहादुर दमाई र राजकुमार शाही विचको अन्तरजातिय विवाहको विषयलाई लिएर केटाका बाबु सेते दमाईको हत्या गरिएको घटना सम्बन्धी स्थलगत अध्ययन प्रतिवेदन । नेपाल सरकार राष्ट्रिय दलित आयोगको वेभ पेज
http://www.ndc.gov.np/uploads/Final%20Fact_Fanding%20of%20Dailekh%20Case.pdf  २५ सेप्टेम्बर २०१३ मा डाउनलोड गरिएको ।
राष्ट्रिय दलित आयोग । २०७० । बेलबारी घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन । राष्ट्रिय दलित आयोगको वेभ पेज http://www.ndc.gov.np/uploads/belwari%20incident%201.pdf मा बाट २५ सेप्टेम्बर २०१३ मा डाउनलोड गरिएको ।



महिला हिंसाबारे
Sujata Poudel.  NEPAL : Witchcraft as a Superstition and a form of violence against women in Nepal. Available at www.humanrights.asia/opinions/columns/ AHRC-ETC-056-2011.
विविध तथा हिंसाबारे गरिएका अनुसन्धानपत्र
Bhattachan, Krishna Bahadur. Emerging Decentralized Politics of Collective Violence in Nepal. Available at www.nefin.org.np/hppics/85885_Emerging Decentralized Politics of Collective Violence in Nepal by Dr. Bhattachan.doc, download in 25 September 2013.

तयारी मिति : २५-२६ सेप्टेम्बर २०१३