Friday, July 3, 2015

कलेजको शिक्षक हुँदाताका





    २०६५ साल माघ महिनाको एक दिन कीर्तिपुरको डेरामा बसेर एउटा एसएमएस लेखेँ । ‘सर आइ ह्याभ सिक्स्टी एट पर्सेन्ट इन सोसियोलोजी, प्लिज पोर्भाइड मि एन अपरचुनिटी इन योर कलेज’ । केही समय पछि, उताबाट टिङटिङ टिङटिङ गर्दै एउटा एसएमएस आयो । ‘ओके, ड्रप योर बायोडाटा’ । मन वायुपंखी भयो । जुरुक्क उठेर वायोडाटा राख्न गएँ । वायोडाटा राखेको दुई दिन पछि उताबाट फोन आयो । तपाइँ मेरो स्कूलमा पढाउन आउनुस । अलि कस्तो कस्तो लाग्यो । आफूलाई कलेजमा पढाउन रहर थियो, स्कूलमा पढाउने मनै थिएन । तर, उनले भनेका थिए, स्कूलमा पढाउँदै गर्नुस् म पछि तपाइँलाई कलेजको लागि सिफारिस गर्छु । काम न काज ढाक्नुप¥यो लाज, के गर्ने, उनको स्कूलमा लुरुलुरु गएँ । गेटमा जाँदा जाँदै पालेले म आएको रिपोर्ट पु¥याए । त्यत्तिकैमा एकजना महिला एकदमै कन्फिडेन्स हुँदै मतिर आइन । ‘मिस्टर पन्थी’ अंग्रेजीमा उनले भनिन् । ऊँ (यस) भने । मुन्टो मात्र हल्लाएँ । अर्को एक शिक्षक नाम काढ्दै भनिन्– “उहाँलाई माथि लैजानुस् ।” मानौ त्यो न्यायधिसको आदेश थियो । मेरो कन्फिडेन्सको पारो घट्यो । मलाई कक्षामा उभ्याइयो । कक्षा टेस्टमा मैले संघीयताको परिभाषा भन्नुपर्ने भयो । मेरो विचारको कुरै नगरि किताबमा जे छ खरर पढ्दै गएँ । उनै हेडमिसले परिक्षा लिँदै थिइन् । मेरो अंग्रेजी र कन्फिडेन्स दुवै खराब थिए । कक्षा सिद्धीसकेपछि, हेडमिसले आफ्नो श्रीमान प्रिन्सिपललाई कमेन्ट गरिन् । ‘राम्रो छैन’ । जस्तो चाहेको थिएँ, त्यस्तै भयो । तर श्रीमान् प्रिन्सिपलले हेडमिसको कुरालाई मानेनन् । उनले भने “तपाइँसँग कन्टेन्ट छ, मेथड छैन, त्यसैले एकहप्ता मेहनत गर्नुस, त्यसपछि हेरौला ।” एक त पढाउन मन लागेको छैन, त्यसैमा पनि एकहप्ता परिक्षण ! झोंक चल्यो । मैले डेरामा फर्केपछि प्रिन्सिपललाई एसएमएस गरेँ– “सरी सर, आइ एम नट इन्ट्रेस्टेड टु टिच इन योर स्कूल”, उताबाट उत्तर आयो– ‘ओके’ । स्कूल नपढाउने भएपछि मैले काठमाडौका विभिन्न कलेजमा बायोडाटा राख्दै गएँ । कुनै न कुनै दिन अप्ठ्यारो परेको बेला बोलाउलान्, भन्ने मेरो अनुमान थियो । किनभने प्राइभेट कलेजमा शिक्षकहरूको मोविलिटी भइरहन्छ । कहिले यता कहिले उता गरिरहन्छन् । एनआइसी कलेज, जेभिएर इन्टरनेशनल, रत्नराज्य क्याम्पस, ट्रिनीटी, ट्रिटोन, जनमैत्री क्याम्पस आदि आदि ।
    ठीक एक वर्ष पुगेपछि २०६६ माघ महिनाको कुनै एकदिन फोन आयो । “सर तपाइँले एकवर्ष अघि हाम्रो कलेजमा बायोडाटा छोड्नु भएको रहेछ । हामीलाई सोसियोलोजी पढाउने शिक्षक चाहिएको थियो । तपाइँ आउनुप¥यो । तपाइँको बायोडाटा हेरेपछि हामीलाई आवश्यक मान्छे हो भन्ने लाग्या छ” फोन गर्ने मान्छेले भने । एकै सासमा हुन्छ सर भने, किनभने कलेज पढाउने रहर थियो, हुन्न भन्ने त कुरै भएन । जे होस एक वर्ष अगाडि जुन अनुमानले वायोडाटा छोड्दै हिडेको थिएँ । सफल पनि भएँ, भन्ने लाग्यो । पछि थाहा पाएँ, पैसा समयमा नदिएको झोंकमा मेरै एकजना साथीले कलेज पढाउन छोडेको रहेछन् । पहिलो भेटमै, कोअर्डिनेटरसँग पैसाको कुरा गरेँ । उनले भने– “पैसा समयमा नदिएपनि, हामी कसैको पैसा खाएका छैनौ” । साथीलाई सोधेँ, उसले भन्यो – “त्यो त सही हो, समयमा नदिएपनि दिन त दिन्छ” । त्यही भएर म पैसाको बारेमा त्यति विधि चिन्ता लिइनँ । मुल कुरो पैसा नदिएपनि केही समय कलेज पढाउने रहर त थियो नै ।
    कलेज पढाउने रहर हुनुका केही कारणहरू छन् । पहिलो कारण त मेरो समाजका मान्छेहरू मास्टरी पेशामा लागेकाले हो । गाउँमा पुग्ने वित्तिकै भनिन्छ, ‘सक्छौ भने सरकारी(निजामती) जागिर खाउ, सक्दैनौ भने शिक्षक बन, एनजीओमा जागिर नखाऊ’ । खास कुरा के हो भने एनजिओ आइएनजिओमा जागिर खाँदा प्रोजेक्ट सिद्धिएपछि पढेको मान्छे पनि अलपत्र पर्छ । त्यसैले निजामति र शिक्षक बाहेककालाई समाजले दीर्घकालको जागिर मान्दैन । त्यसैले मैले एनजिओमा जागिर खान्छु, राम्रो कमाउँछु भन्दा पनि, आफन्तहरूले कलेजमा कहिले देखि पढाउने ? भनेर प्रश्न गरिरहन्छन् । पढाउने काममा प्रेरित गरिरहन्छन् । दोस्रो कुरा, कलेज पढाउने रहर हुनुको व्यक्तिगत कारण पनि छ । पहिलो विषयवस्तु (कन्टेन्ट) को कुरा हो । पढाउँदा आफूलाई कतिपय विषयमा अद्यावधिक भएको ठान्छु । पढाउँदा पढ्नै पर्छ, त्यसैले अद्यावधिक भइन्छ । दोस्रो कलेज पढाउँदा विहानको केही समय कलेजतिर व्यतित गरेर, दिउँसो स्वतन्त्रपूर्वक काम गर्न सकिन्छ । स्कूलमा त्यस्तो हुँदैन । यी कारणहरूले मलाई कलेजको शिक्षक बन्न आकर्षण गरेको हो । यस्तो खालको स्वतन्त्रता अरू पेशाहरूमा मैले पाउँदिन । त्यसैले मलाइ यो आकर्षणको पेशा बनेको हो । र पढाउन थाले ।
    पढाउने क्रममा सबैभन्दा आश्चर्य त मैले पढाउने कलेजको कक्षामा २÷३ जना विद्यार्थी देखेर भएको थियो । किनभने आफूले पढ्दा सरकारी कलेजमा सयौँ विद्यार्थीहरूसँग बसेर पढेको बानी थियो । मैले पढाउँने कलेजमा विए तेस्रो वर्षमा ३ जना विद्यार्थी नियमित थिए । दोस्रो वर्षमा ५ जना । किन कलेजले यति थोरै विद्यार्थीलाई पढाउन खोजेको होला । मलाई जिज्ञासा लागिरहन्थ्यो । मैले आफ्ना केही शिक्षक साथीहरूसँग कुरा गर्दा, उनीहरूले भन्थे, “खास कलेजको व्यापार प्लस टु बाट हुन्छ । प्लस टु मा विद्यार्थी आकर्षण गर्न स्नातक तह राखेको हो । प्लस टु पढेपछि कहाँ, के पढ्ने, केही विद्यार्थीको मनोविज्ञानको लागि स्नातक तह राखेको हो ।” धेरै विद्यार्थी साइन्स र कमर्स पढ्छन् । ती मध्ये केही त्यो विषय छोडेर मानविकी पढ्न चाहन्छन् । त्यस्तो विद्यार्थीलाई लक्षित गरेर प्राइभेट कलेजमा मानविकी संकाय राखेको हो । तै पनि मानविकी संकाय कहिले हटाउँछ । कहिले राख्छ । बसुन्धराको एक कलेजमा एमए समाजशास्त्र पढाउने मेरो एक साथीले भने, “कलेजले एमए तहको प्रोग्राम पनि राखेका छौ भन्नलाई मात्र, त्यहाँ समाजशास्त्रको एमए राखिएको हो । किनभने कलेजलाई विए, विविएस राम्रो चलाउन छ । मुस्किलले १५ जना विद्यार्थीले एमए पढ्छन् भने त्यहाँबाट कलेजलाई फाइदा हुने कुरै भएन ।” त्यसैले एमए तहका शिक्षकलाई पनि तलव समयमा दिँदैनन केही कलेजहरुले । लगानीकर्ताले सिधै भन्ने गर्छन, “तलव दिने क्रममा स्नातक पढाउने शिक्षक हाम्रो पहिलो प्राथमिकतामा पर्दैनन्”, यो मेरो आफ्नो अनुभव पनि हो ।
    पढाउने कुरा एक दिनको, एक च्याप्टरको पनि होइन । हरेक दिन हरेक च्याप्टर पढाउँदै जाँदा चुनौती पनि आउँछन् । आफूलाई रूचि लागेका विषय पढाउन, पाठ्यक्रममा भनिए जसरी लेखेका टेक्स्ट पढाउन जति मज्जा लाग्थ्यो । रूचि नलागेका खासगरि पाठ्यक्रमले राम्ररी निर्देशन गर्न नसकेका पाठ पढाउँदा त्यो भन्दा कैयौँ गुना खल्लो पनि हुन्थ्यो । नजानेको र नभेटिएको, पाठ्यक्रमले निर्देश गर्न नसकेको  कुरा पढाउँदा कि थोरै हुन्थ्यो । कि वाक्क लाग्ने गरि धेरै लामो हुन्थ्यो । कहिलेकाहीँ पाठ्यवस्तु पनि चाहे जस्तो नहुने, आफूले बुझेको भएपनि पढाउने मेथडले पनि सबै गोलमाल ल्याउँथ्यो । सबै राम्रा अनुभव त्यहि नराम्रो कुराले सखाप पारेको अनुभव पनि मसँग भयो ।
    एकदिन ‘फेमिनिस्ट थ्योरी’ पढाउनुपर्ने थियो । म सिधै पृष्ठभूमि तिर गएँ । पढाउँदै जाँदा समाजमा महिलाहरूको कमजोर स्थिति बारे पढाउन थालेँ । कसरी महिला समाजमा कमजोर स्थितिमा रहेका हुन्छन् । के कारणले यो अवस्था आउँछ भन्ने कुरा पढाउन थाले । “फेमिनिस्ट थ्योरी बुझ्न सबभन्दा पहिला महिलाहरू कसरी समाजमा कमजोर स्थानमा रहेका हुन्छन् भन्ने कुरा बुझ्नुपर्छ । महिलालाई कमजोर सामाजिक स्थितिमा राख्न, सामाजिक ऐतिहासिक पृष्ठभुमी तथा सामाजिक सँस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ । जस्तो परिवार एउटा सामाजिक सँस्था हो । जहाँ निर्णय गर्ने अधिकार पुरुषले राख्छन् । छोरी भएर लाज मान्नुपर्छ, धेरैबोल्नु हुँदैन भन्ने कुरा परिवारबाटै छोरीहरूलाई सिकाइएको हुन्छ । धार्मिक संस्थाहरूमा पनि ग्रन्थले पनि महिलालाई के गर्नुपर्छ के गर्नुहुँदैन भनेर निर्देश गरिरहेको हुन्छ । यसरी परिवार, धर्म जस्ता सामाजिक सँस्थाले महिलालाई समाजमा कमजोर बनाइराख्न मद्दत गरिरहेका हुन्छन् । आदि आदि” भने । यसरी पढाउँदै जाँदा आफूलाई राम्रो पढाइरहेको जस्तो अनुभुत हुन्थ्यो । विद्यार्थीले मलाई झण्डै ३५ मिनेट पढाएपछि सोधे, “यो फेमिनिस्ट थ्योरी भनेको के हो ? तपाइँले किन यो पढाइरहनुभएको छैन सर” ? यो कुरा सोधेपछि आफूलाई पनि सो कुराको अनुभूत भयो । विद्यार्थीहरूसँग जति चाखलाग्दा कुरा गरेपनि पाठ्यक्रमलाई हेर्दा रहेछन् । सामान्य कुरालाई पनि मैले पढाउँदा वेवास्ता गरिरहेको रहेछु, जसले शिक्षण गर्ने कुरामा नै असर गर्ने रहेछ । मैले पढाउने क्रममा पाठ्यक्रममा लेखेको फेमिनिस्ट थ्योरी भनेको के हो भन्ने कुरा नै नभनेपछि, आफू सन्तुष्ट हुनेगरी पढाउँदा पनि प्रभावकारिता नहुने रहेछ । शिक्षकले आत्मतुस्टी हुनेगरि पढाएर मात्र हुँदैन । पढाउने कुरा शिक्षकको व्यक्तिगत चलाखी पनि हो । कहाँबाट कसरी पढाउन सुरु गर्ने भन्ने कुरा ।
    समाजशास्त्रका गुरु चैतन्य मिश्रलाई पढाउने क्रममा विद्यार्थीले कुनै प्रश्न सोध्यो भने त्यसको उत्तर विद्यार्थीबाटै माग्थे । “के हुनसक्छ होला ।” सोधिएको विद्यार्थीले उत्तर दिन सकेन भने अर्कोलाई सोध्थे । कसैले दिन सकेन भने सबै मध्ये कोहीलाई आग्रह गर्थे । ‘यहाँ यस्तो प्रश्न आयो यसको उत्तर के हुन सक्छ होला ।’ मेरो विचारमा मिश्रको आसय सोधिएको प्रश्नबारेमा विद्यार्थीको बुझाइलाई मुल्याँकन गर्दै त्यसको उत्तर दिने हुन्थ्यो । एकदिन मलाई पनि विद्यार्थीले प्रश्न सोध्दा मैले पनि के हुनसक्छ त्यसको उत्तर ? भनि एकजना विद्यार्थीलाई नै मिश्रकै शैलीमा प्रतिप्रश्न गरेँ । ती विद्यार्थीले मलाई ठाडो उत्तर दिइन । “जान्या भए प्रश्न सोद्थेँ र ?” मैले फेरि आग्रह गरेँ– “सोच न ।” उनी फेरि रिसाइन– “त्यसो भए शिक्षकको काम के ?” मैले उनको प्रत्युत्तरमा– “शिक्षकले विद्यार्थीलाई एकोहोरो पढाउने मात्र होइन । सोच्ने अभ्यास पनि गराउने हो भने ।” उनले फेरि जवाफ फर्काइन्– “सोँच्न सक्ने भए घरैबसेर सोच्थे, यहाँ आउनुपथ्र्यो र ?” उनी सवाल जवाफमा उत्रिन् । कक्षा गरमागरम भएकाले मैले कक्षा छाडेँ । कोअर्डिनेटरलाई विद्यार्थीले के भने मलाई थाहा भएन । तर मैले “विद्यार्थीहरुसँग विवाद भयो पढाउँदिन सर” भने । मैले पनि त्यसपछि उनीहरूलाई नपढाउने नै निर्णय गरेँ । बरु उनीहरूलाई अर्को शिक्षक खोज्न सहयोग गर्छु भने । यो म भर्खर पढाउन सुरु गर्दाको अनुभव थियो । विद्यार्थीहरुसँग राम्रो सम्बन्ध विकास गर्न नसक्दा यो समस्या आएको थियो । किनभने त्यसभन्दा अघि पनि मैले विद्यार्थीहरुले सोधेको प्रश्नमा राम्रोसँग उत्तर दिन सकेको हुन्नथेँ । कतिबेला मलाई पढाउने विषयवस्तुले अप्ठ्यारोमा पाथ्र्यो । धेरैजसो त पाठ्यक्रमले नै विद्यार्थी र शिक्षक विचमा तनाव उत्पन्न गराउँथ्यो ।
    पढाउन भर्खर सुरु गरेकाले मलाई यो घटनाले स्तब्ध पा¥यो । आफुलाई नै म राम्रो शिक्षक रहेनछु भन्ने भयो । मैले कलेजको भएको घटना त्यहाँ पढाएको पूरानो साथीलाई सुनाएँ । साथीले भन्यो । “यार, आफ्नो प्रेस्टिज घटाएर पढाउनु हुँदैन छोड्दे । ती विद्यार्थीहरु आफूलाई स्मार्ट ठान्छन् ।” म उनीहरुलाई पढाउन छोडिदिएँ । त्यहि विचमा आफूलाई आत्ममुल्यांकन गर्न थाले । के कमी भएर मैले उनीहरूको चित्त बुझाउन सकिन ? साथीहरूलाई रहस्य सोध्दा ‘गफ’ दिन सक्नुपर्छ भन्थे । यो गफ के हो ? बुझ्नै सकिएन । अव मैले आत्म मुल्याँकन गर्नै पर्ने भयो । मलाई लाग्यो, पढाउने कुरा एकदिनको प्रस्तुती जस्तो सजिलो होइन । बारम्बारको प्रस्तुतीमा एकपटक चिप्लने कुरा धेरै भेटिन्छन् । नीजि कलेजमा पढाउँदा राम्रो अंग्रेजी पनि चाहिन्छ । जस्ले विषयवस्तुमाथिको पकड हुन्छ । राम्रो कन्फिडेन्स बढ्छ । हुन त त्यो अन्य ठाउँमा लागु हुन्छ । तर नीजि कलेजमा पढ्न आउने विद्यार्थीको लेख्ने पढ्ने माध्यम अंग्रेजी र पढाउने शिक्षकको माध्यम पहिले लेखेपढेको माध्यम नेपाली हुने हुँदा, यस किसिमको भाषिक कारणले पनि तनाव उत्पन्न हुने मेरो अनुभव छ । त्यसकारण अंग्रेजी राम्रो बनाउनु पनि शिक्षकको दायित्व हो । सामाजिक विज्ञानका विषय वा इकाइहरु पढाउँदा लेखाउने कोशिस पनि ‘झुर’ मेथड हो, भन्ने मलाई लाग्छ । हामीले उनीहरुलाई लेखाउने हो कि सोँच्न र पढ्न सिकाउने । हामीकहाँ उच्च शिक्षा पढ्ने केही विद्यार्थीहरूले लेखाउन लगाउँछन् । खासगरी समाजविज्ञानका विषयहरूमा लेखाउने भन्दा पनि सोंच्ने कुरा महत्वपूर्ण हुन्छ । स्कूल शिक्षामा लेखेर घोकेर आएका विद्यार्थीहरूले त्यो दवाव दिन्छन् । कलेज पढाउने क्रममा मैले त्यो गरेँ । लेखाउँदा लेखाउँदा म फसेँ । धेरै लामो लामो लेखाएँ । ‘नेपाली जाती व्यवस्था’बारे लेखाएर सकिन्छ त ? ‘नेपाली नेसन स्टेटको इभोलुसन’को कुरा लेखाएर सकिन्छ त ? यसो ग¥यो भने यो त धेरै लामो यात्रा हुँदोरहेछ । मैले विद्यार्थीको अनुरोधमा त्यो प्रयास गरेँ । अन्ततः यस्तो कार्यकलापले समग्र पढाइ नै मोनोटोनस बन्दो रहेछ ।   
     शिक्षक विद्यार्थी टेन्सनको प्राविधिक पक्ष पनि छ । नीजि कलेजमा विद्यार्थीहरूमा शिक्षक हामीले फेर्न सकिन्छ भन्ने सोँच र क्षमता राख्छन् । उनीहरूले तिरेको महँगो फि, यसको कारण हो । खासगरी नयाँ शिक्षकलाई त त्यो समस्या छ । म पढाउने कलेजमा पनि अरु दुइजना नयाँ शिक्षकलाई विद्यार्थीहरूले लगातार कपडा फेरे झैं फेरे । मैले केही विद्यार्थीहरूलाई सोधेको थिएँ । उनीहरूले भन्थे, ‘नयाँ सरको पढाउने विधिमा समस्या हुन्छ । राम्ररी पढाउन जान्दैनन्’ आदि । तर उसलाई फेरेर ल्याउने अर्को सर पनि त नयाँ हुन्छ । त्यो कुरा विद्यार्थीलाई थाहा हुँदैन । त्यसैले लगालग शिक्षक फेर्ने कुरा परम्परा जस्तै हो नीजि स्कूल कलेजमा । राम्रो शिक्षकलाई हायर गर्न कलेजले समयमा तलव दिँदैन र त्यसैले त्यस्ता शिक्षकको लागि कलेज आकर्षणको विषय हुँदैन ।
    अहिले कलेज पढाउन थालेको २ वर्ष भएछ । यसो फर्केर हेरेँ । कलेजमा अन्तिम पटक तलव नपाएको २०६८ बैशाखमा ८ महिना पुगेछ । दश आठा अस्सी – अर्थात दुई पिरियडको पाँच हजारका दरले अस्सीहजार लिन बाँकीरहेछ ।  कोअर्डिनेटरसँग गएँ । सर अव त तलव दिनुप¥यो । उनले भने– “म पनि त तपाइँ जस्तै हुँ सर” । डेरा तिर फर्के पछि त्यहि कलेजमा पढाएर छोडेको मेरो साथीले सोध्यो– “कलेजले पैसा दियो ?” उसँग के ढाँट्ने, दिएको छैन भने । उसले सोध्यो– “कति बाँकी छ त” ? मैले भने– “८० हजार” । उ हाँस्यो र भन्यो– “छोड्दे यार, कति गर्छस् ।” 

३८ वर्षपछि तारिणीको खोजी



                                                                                                                                                                                 

मलाई जीवनी पढ्न मनपर्छ । त्यसैले सूर्यप्रसाद उपाध्यायको किताव बोकेको थिएँ । पुस्तक पसलमा तारिणीप्रसाद कोइरालाको किताव पनि आएको रहेछ । त्यो पनि किनेँ । कुन पहिला पढुँ ? कौतुहुलता थियो । तारिणीप्रसाद कोइरालाको बारेमा लेखिएको किताब नै छानेँ । किनकी उनी रेडियो नेपालका पहिलो डाइरेक्टर थिए । मैले उनको नाउँ पहिला सुनेको थिएँ । ‘रेडियो नेपालको सामाजिक इतिहास’ (२०६१) भन्ने पुस्तकमा । किताब पढ्दा पढ्दै राती अबेर भैसकेको थियो । आफ्नु मान्छेको फोन आयो । के गर्दैहुनुहुन्छ ? उनले सोधिन् ? मैले भने तारिणीप्रसाद कोइरालाको स्मृति ग्रन्थ पढ्दै छु । उनले उत्तर दिइन, को तारिणी ? मैले भने बीपीको भाई । उनले भनिन्, बीपीको भाई त गिरिजाप्रसाद पो हुन त ? मैले उनलाई फेरि सोधेँ, रेडियो नेपाल जन्माउने मान्छे को हो ? ‘ए उनी तारिणी, ती बीपीका भाई हुन् ?’ उनको आश्चर्यमिश्रित भावलाई, मैले अँ भने ।

मलाई लाग्यो धेरैलाई थाहा छैन होला, तारिणी बीपीका भाइ हुन् भन्ने । धेरैलाई थाहा छैन होला, बीपीकी आमा दिव्या पट्टि (अर्की आमापट्टिका मातृकाबाहेक) चार भाई छन् भन्ने पनि । बीपी, केशवप्रसाद (कोशु), तारिणीप्रसाद र गिरिजाप्रसादबारे । यो स्मृति ग्रन्थले तारिणीबारे बताउँछ । कोइराला परिवारबारे बताउँछ ।  बीपी कोइरालाको राजनीतिक र साहित्यिक तथा गिरिजाप्रसाद कोइरालाको राजनीतिक छविका कारणले तारिणीको जीन्दगी छायाँमा परेको घुमाउरो सन्देश यो पुस्तकले दिएको छ । मैले त्यस्तै बुझेँ । उनलाई साहित्य र रङ्गकर्मप्रति प्रेम थियो । त्यसैले उनको सौख रेडियो नेपालमा समाचार भन्ने पट्टि भयो । यस ग्रन्थका लेखकहरुको तर्क छ । उनलाई राजनीति भन्दा पत्रकारिता, साहित्य, नाटक, फिल्म, संगीत पट्टि मोह थियो । उनले धेरै कृति लेखे तर उनी छउञ्जेल ती छापिएनन् । सत्ताको केन्द्रमा रहँदा पनि उनका साख्खै भाई गिरिजाप्रसादले त्यो काम गरेनन् । उनी मरेको ३८ वर्ष पछि उनको छोराको काँधमा यो जिम्मेवारी आयो । त्यसैले प्रदिप गिरिले रोष प्रकट गर्दै लेखेका छन्, ‘शेक्सपियरका पालामा बेलायतको राजा को थियो ? कसैलाई थाहा हुने छैन । तर अंग्रेजी भाषा रहुञ्जेल शेक्सपियर रहन्छन् ।’

                                 

सुषमा कोइरालाको लेख पढ्दा मन टक्क अडियो । सुषमा, मनिषा कोइरालाकी आमा हुन् । सुजताकी आमासँग उनको नाम जुधेकोमात्र हो । उनले भनेकी छन्, बुवा राजनीति पनि गर्नुुुहुन्थ्यो, किसान पनि हुनुहुन्थ्यो, साहित्यकार पनि । कोइराला परिवारले तारिणीलाई ‘बुवा’ भनेर सम्बोधन गर्ने रहेछन् । सुषमाका अनुसार उहाँले कृषि विकास बैँक बाट ऋण लिएर कुखुरा पाल्नुभयो । तरकारी खेती पनि गर्नुहुन्थ्यो । उहाँ निकै रमाइला जोक गर्नुहुन्थ्यो । उहाँसँग सबथोक थियो पैसा थिएन ।

रेडियो नेपालसँग तारिणीको एउटा गुण जोडिएको छ । त्यो हो उनी भित्रको साहित्यिक चेतना । गीत, रङ्गकर्म गर्न उनी रुचाउँथे । धेरैले भनेका छन् तारिणीले प्रत्यक्ष राजनीति कहिल्यै गरेनन् । काँग्रेसको सदस्य भएनन् । एकपटक त्यस्तै घटना भएछ, विराटनगरको रानी भन्ने ठाउँमा । त्यहाँ जुटमिल रहेछ । त्यहाँका मजदुरले हाट लागेको दिन आन्दोलन गरेका रहेछन् । मजदुरहरु जुटमिललाई घेर्न लागेका । कसले रोक्न सक्ने ? इन्क्लावको नारा लगाइरहेका मजदुरलाई ? उनीहरुलाई रोक्न गेटमाथि चढेर तारिणीले भनेछन्– ‘मजदुर भाइयो रुकजाओ ।’ यति भनेपछि गेट तोड्न अघि बढेका हज्जारौँ मजदुर रोकिएछन् । त्यसपछि तारिणी, कोइराला परिवार प्रति मजदुरको  विश्वास देखेर भावविह्वल भएछन् । बोल्नै सकेनन् । मान्छेहरु उनलाई बोल्न अनुरोध गरे । तर तारिणी बोल्नै सकेनन् । त्यसपछि, मान्छेहरुले उनलाई गेटबाट तल ओरालेछन् । उनले भन्थे रे, “त्यसदिन मैले बोल्न सकेको भए नेता हुन्थेँ बोल्न सकिन लेखक भएँ ।”

यो किताबको धेरै ठाउँमा भनिएको छ “उनी जोक गर्न सिपालु थिए रे ।” विश्ववन्धु थापा लगायत केही लेखकहरुले लेखेका छन्, उनी हिन्दी सिनेमाको हिरो हुन चाहन्थे । एकपटक, घरबाट उनी बनारस नगई बम्बईतिर गएका थिए । अशोककुमार दीलिपकुमार झैँ हिरो हुने चाहनाले । साथीहरुसँग, बम्बई गएर त्यतिबेलाका चर्चित व्यक्तिसँग फिल्म खेलेको कुरा गर्थे रे । आफू फिल्ममा अभिनय गरेको भनि मान्छेहरुलाई फिल्म हेराउन लैजान्थे रे । तर उनलाई फिल्मको सिनमा नदेखेपछि, ‘म खेलेको सिन नै काटिदिएछ’ भनेर रमाइलो गर्थे रे । पुस्तकमा नातीकाजीसँगको कुराकानीको आधारमा सुषमा लेख्छिन्, नातीकाजीलाई रेडियो नेपालमा ल्याउने तारिणी नै थिए । यो पुस्तकका धेरै लेखकहरु भन्छन्, “यस्ता मान्छेलाई पञ्चायतले छ वर्ष जेलहालेर पाप गर्यो ।” तर ०१७ सालका गृहमन्त्री विश्ववन्धु थापाले चाहिँ पत्रकारितामा उनको सक्रियता देखेर नै उनलाई महेन्द्रले जेलहालेको भन्छन् । उनलाई छोडिएको भए, उनी भारत जान्थे, त्यहाँ काँग्रेसले रेडियो र अखवारमा काम गर्ने ठूलो प्रचारक पाउँछ भन्ने चिन्ता थियो । किनभने उनले प्रजातन्त्र रेडियोको स्थापना गरेका थिए, ‘दियालो’, ‘कल्पना’ लगायत काँग्रेस नजिकका पत्रिकाको सम्पादन पनि गरेका थिए ।  त्यसैले उनलाई पञ्चायतले छोडेन । पक्रियो ।

अर्को यो पुस्तकले कोइराला परिवारबारे बुझ्न मद्दत गर्छ । मातृकाप्रसाद कोइरालालाई सबै (कोइराला परिवार)ले ठूलो बाबा भन्ने, बीपीलाई ‘बाबा’ मात्र, केशवप्रसादलाई ‘सानो बाबा’, तारिणीलाई ‘बुवा’, गिरिजाप्रसादलाई सबैले ‘सानो बुवा’ भन्ने । मानौ कोइराला परिवार विशाल घर हो । एकजनालाई सबैले एकै किसिमले सम्बोधन गर्छन् । मायाले बोलाउँछन् । कसैलाई कोशु, कसैलाई सान्दाजु, कसैलाई बुनु आदि । तर यी नाम कोइराला परिबारबाट लेखिने किताबको यत्रतत्र भेटिन्छ । त्यसैले यो परिवारबारे अभ्यस्त नहुनेलाई बुझ्न गाह्रो । राजनीति, साहित्य, रङ्गकर्म र डाक्टरी पेशाप्रति कोइराला परिवारको चासोबारे पनि जानकारी हुन्छ । तारिणी बम्बईमा अशोककुमार र दिलिपकुमार झैँ हुन नसकेपनि मनिषा कोइराला त्यो ठाउँमा पुग्न सफल भइन्, भन्ने तर्कहरु लेखहरुमा यत्रतत्र पाइन्छ । पारिवारिक सम्बन्धलाई जोड्न कोइराला परिवारमा चिठीपत्र व्यवहार निकै रमाइलो छ । जेल परेका, भारत पसेका, विराटनगर र काठमाडौँ बसेकाहरुलाई चिठीले जोडेको छ । तारिणी र रोशा तथा छोरा ज्योतिप्रसाद कोइरालासँग सम्बन्धित चिठीहरुको एउटा खण्ड छ । जुन पढ्दा लाग्छ, कोइराला परिवारलाई चिठीपत्रले यसरी जोडेको छ, मानौ पत्रव्यवहार भएन भने निकै निराशा हुन्छ होला । यी चिठीहरुमा राजनीतिका कुरा छैनन् । छैनन भनुँ भने बीपीको पत्रव्यावहारमा ती कुरा छन् । धेरैमा त परिवारको स्वास्थ्य र शिक्षाबारेका कुरा छन् । भारतका विभिन्न विद्यालय वा विश्वविद्यालयमा पढिरहेका वा काम गरिरहेका परिवारका सदस्यहरुलाई चिठी लेखिएको छ । सबले सबैजनाको स्वास्थ्यबारे ख्याल गरेका छन् । मैले कल्पना गरेँ त्यहि भएर होला कोइराला परिवारबाट डाक्टर पढ्ने पनि धेरै भएका ।

तारिणीले बीपीलाई चिठी लेखेका छन् – “सान्दाजु...मेरो रोग पनि एक थरिको भये त हुने थियो नी, अनेक थरिका छन् । एक पल्ट सारा कलपुर्जाको राम्रो जाँच पडताल नगरी भयको छैन ।” बीपीले तारिणीका छोरा ज्योतिलाई लेखेका छन्, “मेरो स्वास्थ्य ठीक छ, वजन ७ पाउण्ड बढेको छ, ऐले १३० पाउण्ड छु । यसपाली तिम्रो एउटा चिठी मात्रै आयो । सायद पढाईमा छौ । ठीक हो, पढाईमा पुरा ध्यान दिनु खूब परिश्रम गर्नु ।” एकपटक तारिणीले पटनाबाट श्रीमति रोशालाई लेख्छन् – “प्रिय रोशा रानी, मेरो ३ वटा चिठीको जवाफ पाइन । यस्तो निर्दयी नबन । मेरो अनुहार सम्झ, माया गर र चिठी लेख ।” रोशाले चिठी नलेखेकोमा चिन्ता व्यक्त गर्दै लेख्छन् – “म भने हप्ता हप्ता दिनमा लेख्दैछु । झन् त्यसैले मानौ तिमी लेख्नै छोडिदियौ । म पुरानियाँ विचारको मान्छेलाई चिठी लेखे नै माया व्यक्त हुन्छ भन्ठान्छु ।”

यो तारिणी रोशा स्मृति कोशबाट निकालिएको यो पुस्तकको कमजोरी हेर्नु मेरो उद्देश्य थिएन । ह्रस्वदीर्घ पनि हेरिन । तर तारिणीको जीवन के सकरात्मक मात्रै थियो त ? गुणगान गाउने मात्रै ? के कोइराला परिवारमा खटपटको सम्बन्ध नै थिएन त ? कोइराला परिवारका कितावमा भेट्न मुस्किल हुन्छ । अवश्य पनि यी कुरा यहाँ छैनन् । प्रदिप गिरिले भने झैँ । तारिणीका पाण्डुलिपिलाई संस्थागत रुपमा छाप्ने कोशिस कहिल्यै भएन । न गिरिजाप्रसादले गरे न अरुले नै । अध्ययन अनुसन्धान पनि भएन होला । त्यो जिम्मा उनको छोराबुहारीको काँधमा आयो । त्यसैले पनि होला कोइराला परिवारको सुमधुर सम्बन्धको मात्र यसमा चर्चा छ । तारिणीको सकरात्मक जीवनको पाटोमात्र यहाँ छ ।


२०६८– मंसीर १८
मैतिदेवी, काठमाडौँ ।

Tuesday, June 9, 2015

जमिन थर्किएको सेकेन



भूकम्प आउँदा वानेश्वरको एक स्टेशनरी पसल भित्रको कोठामा थिएँ । सुरुमा त गटगट आवाजसहित झ्यालका पर्दा हल्लेको देखेँ । भूकम्प आएर उत्तिखेरै गएको भोगेको थिएँ । त्यसैले सोचेँ, 'यो आउँछ र जान्छ' । तर गएन । त्यसपछि म पुत्पुत्ति भागेँ । यु ट्युवमा देखिएका दृष्य झैँ । यतिसम्म कि खाटमुनी लुक्ने कल्पना त मेरो मनमा नै आएन ।  जब हामी बाटोमा पुग्यौँ । पसलको दराज गर्लम्म ढल्यो । बाटोमा मान्छेहरु चिच्चाएका, केटाकेटीहरु रोएका, मोटरसाइकल ढङ्रङ्ग हुँदै पल्टेका थिए । गाडिहरु रोकिँदै थिए । जमिन आफै उफ्रिरहेको थियो । वाफ्रे ! त्यति हुँदा पनि थरथराहट रोकिएको थिएन । त्यत्रो संसार उफार्दा जमिनले मलाई के छोड्थ्यो र ? उफार्दै पछार्यो ।  विजुलीका पोलहरु धामी कामे झैँ हुटहुट हुटहुट गरिरहेका थिए । त्यसैले बाटोमा उभिनुपनि जोखिम ठानेँ । बाटोको पारीपट्टी खुल्ला जमिनमा पुगेर वरिपरीका घरहरु हेरेँ । घरी झुलेको देखिन्थ्यो । घरी तलमाथि उफ्रेझैँ देखिन्थ्यो । आफू बाँचेपछि मेरो ३ वर्षे छोराको ख्याल आयो । सिमन्ताको पनि। उनीहरु घरैभित्र अड्के होलान् भन्ने कल्पनाले सतायो । एक्कासी "बाबु ! बाबु !!" भन्दै बर्बराउन थालेँ । थाकेर होला जमिन विस्तारै हुइहुइ खेलिरहेको थियो । तर हल्लिएकै थियो । मान्छेहरु जमिन नहल्योस भन्दै दश अौँलाले थिचेर सांकेतिक अपिल गरिरहेका थिए । रुनेबाहेक बोल्ने कसैको आँटै थिएन । ठूलो भूचाल रोकियो । फोटोग्राफर भएको भए फोटो खिच्ने धुन हुन्थ्यो होला । त्यसको साटो वरिपरी खबर के होला भनि ट्वीटर चलाएँ । 'बाँचियो' भनेर पोष्ट पनि गरेँ । पराकम्पहरु दोहोरिरहेका थिए । यतिबेला हिँड्नु 'डेन्जर' हुने ठानेर सिमन्तालाई फोन लगाउने कोसिस गरेँ । वरिपरीका मान्छेहरुले झैँ । कैयौँको फोन नलागेकोबेला फोन त लाग्यो । तर उठेन । मेसेज गर्ने कुरा मनमा नै आएन । मैले सकरात्मक कल्पना गरेेँ "उनीहरु भागेर बाहिर आइसके होलान् त्यसैले फोन उठेन" । पराकम्पनले हल्लाउँदा हल्लाउँदै घरतिर भागेँ । बाटो वरिपरी मान्छेहरु थुप्रिएका थिए । सबै आशाहीन मनस्थितिमा थिए । कोही परिवार खोज्न घरभित्र जाँदै थिए । घरभित्र भएका भर्याङ्गबाट लड्खडाउँदै खुला जमिनतिर आइरहेका थिए । कोही बृद्ध बाआमालाई लिएर आउँदै थिए । त्यही बेला कोही भन्दै थिए "असन खत्तम भयो होला", "धरहरा ढल्यो होला" आदि । अनेकतरहका यस्ता कुराहरु छल्दै छल्दै म घर पुगेँ । उनीहरु बाहिर बसिरहेका रहेछन् । घरभेटी दाई रेलिङ्ग समात्दै झर्दैगर्दा पनि गुटमुटिँनुभएछ । दाइले भन्दै हुनुन्थ्यो, "पहिला हुइहुइ खेलायो, पछि राइँचुइँ खेलायो उपाय लागेन र लडेँ" । मरेमरिन्छ भन्दै कपडा धुन लागेकी मेरी जहानले भाइ र छोरालाई काखमा च्यापेर स्नानरुममै बसिछन् । कसैले भन्दैथिए "ईश्वरीय कृपाले" बाँचियो । कसैले भन्दैथिए "वानेश्वर बलियो रहेछ" । जेहोस् बाँचियो ।

खुला चौरमा
मान्छेहरु अघोर आतिएका थिए । उनीहरुले चाउचाउ, विस्कुट आदि बोकेर खुला ठाउँमा आउन थाले । जब साँझ पर्न थाल्यो । खुरुरु घरमा पसेर ब्लांकेट, तकिया लिएर आउन थाले । जे छ झिकेर ल्याउन थाले । घरभित्र बस्न त कसैले आँट गरेन । मान्छे नबसे पछि त घर पनि घर जस्तो नहुँदोरहेछ । डर लाग्ने । साँच्चै डर लाग्ने । किचनमा तेल पोखिएको, पानी छचल्किएको, भाँडाकुँडा ठङ्ग्रङ्ग भएको देख्दा डरडरै भयो । अझ साँझ त एक्लै घरभित्र जानै सकिएन । लौ आज चाउचाउ खाएर बसने भइयो भन्दै भित्रबाट कपडा लिएर हामी पनि चौरतिर आयौँ ।  सबै छिमेकीहरु जम्मा भएकाले मासूम छोरा खुसीसाथ खेल्न थाल्यो । मान्छेहरु चाउचाउ किन्न खुलेका किराना पसलतिर जान थाले । मान्छे मरेका खबर र 'शहर ध्वस्त छ रे' भन्ने हल्लाले नमज्जा लागिरहेको थियो । रेडियो नेपालले लगातार खबर भनिरहेको थियो । हल्लाहरु फैलने, रोगहरु फैलने, ठूला पराकम्पन आउनसक्ने, आदि कुराहरु बरोबर फुकिरहेको थियो । पराकम्पन आउँदा चराहरु आकाशमा उड्ने, कुकुर भुक्ने गर्थे । त्यत्तिकै कुकुरहरु कराउँदा पनि मान्छेहरुमा बेचैनी देखिन्थ्यो । भुकम्प आउने दिन यस्तो डरलाग्दो कल्पना हुँदोरहेछ, घर देख्दा घरै ढल्छ कि, रुख देख्दा ढल्छ कि भन्ने डर लागिरहन्थ्यो । अझ मौसमको गडबडीले मनोदशा निकै कमजोर बनाइदिएको थियो । आकाशबाट आएको पानीले त्यो रात चौरमा बस्न सकेनौँ । बल्लबल्ल कोठाभित्रबाट ल्याएका कपडाहरु कुटुरो पारेर फेरि उतैको ओततिर जानुपर्यो । ससाना नानीहरु खुला आकाशमुनी सुतिरहेका थिए । तपतप उनीहरुको आँखामा पानी परेपछि 'हे आपत्' भन्दै मान्छेहरु घरतिर फर्के । उमेर ढल्केकाहरु मरेमरिन्छ भन्दै घरमा बसे । घरको तल्लो तलामा जाग्राम बस्ने भुकम्प आउँदा खुला ठाउँतिर दौडिहाल्ने भनेर दलिनमा कोचियौँ । त्यो बेला चाउचाउ खाएका पेट आकाश झैँ घुर्रघुर्र गुड्किरहेका थिए । पेटमा ग्यास भरिएर ढ्याउ ढ्याउ आइरहेको थियो । पराकम्पन आउँदा ३ सेकेन भित्र छोरालाई लिएर दौड्न सक्ने भएको थिएँ । सबै तन्द्रामा थिए । निद्रामा थिएनन् । पानीले बाहिर बस्न नदिने र भुकम्पले भित्र । बडो विजोग थियो हालत त्यो दिन। स्वस्थानीकी चन्द्रावतीको झैँ  । अझ घर भत्केकाहरुको र आफन्त पुरिएकाहरुको त यो कथा नै होइन ।

२०७२ जेठ २५

Friday, June 5, 2015

सेवा तथा व्यावसायमा इन्टरनेटको प्रयोग



                                                                        
इन्टरनेटको प्रयोगबाट केही गाउँहरुमा त्यहाँको स्वास्थ्य चौकीका मान्छेले शहरका अस्पतालका चिकित्सकसँग अनलाइन कुरा गरेर विरामी जाँच्ने टेलिमेडिसिनदक्ष शिक्षकले एउटा कक्षामा पढाएको अन्य कक्षामा श्रव्यदृष्यका माध्यमले पढाउने टेलिटिचिङआन्तरिक सञ्जालको मद्दतले वस्तु खरिदविक्री गर्ने टेलिमिडिया संचालन पनि गरिएको छ । त्यस्तै विभिन्न बैँकहरु मार्फत घरमै बसेर इन्टरनेटबाट बैँक खाता हेर्नेरकम जम्मा गर्नेस्कूलविभिन्न दुरसंचार कम्पनीको शुल्क तिर्ने लगायतका बैँकिङ सेवाहरु इन्टरनेटबाट गरिरहेका छन् । उनीहरुको लागि बैँकसम्म आउनु भनेको थप समय र लगानी खर्च गर्नु पनि भएको छ । त्यस्तै आन्तरिक राजश्व कार्यालयबाट हुने प्यान दर्ताआयकर विवरणमुल्यअभिवृद्धिकर विवरण बुझाउने र रुजु गर्ने लगायतका सबै सेवाहरु इन्टरनेटबाट हुन्छन् । अनलाईनबाट खरिदविक्री वा कारोबार हुने चलन नेपालमा ब्यापक बन्दै गएको छ । यसैले सेवा तथा कारोबारका हिसाबले नेपालमा इन्टरनेटको प्रयोग बढ्दो छ । तर औषत नेपालीको आय कमजोर हुँदा उनीहरुले आफ्नै घरमा कम्प्युटर र त्यसमा इन्टरनेट जोड्न सकिरहेका छैनन् । त्यसैमा पनि इन्टरनेटको शुल्क र क्षमता चुनौति बनेका छन् । ग्राहकको दृष्टिकोणबाट हेर्नेहो भने अझैपनि इन्टरनेटको शुल्क "महँगो" छ । बैँककारोबारी संस्थासरकारी वा गैर सरकारी संस्थाहरुले आफ्ना सबै सेवाहरु दिन तयार भएर बसे पनि ग्राहकहरु त्यसको लागि तयार नहुनु भनेको इन्टरनेटको हकमा शुल्क महँगोपहुँच पूर्वाधारको विकास नहुनु हो । यहाँ इन्टरनेटको उपयोग बैँकिङ्ग क्षेत्र तथा अनलाईन ब्यावसायमा कसरी प्रयोग गरिएको छ भन्ने उदाहरण प्रस्तुत गरिएको छ ।
बैक
विभिन्न बैँकहरुले इन्टरनेटको प्रयोगबाट आफ्ना बैँकिङ्ग सेवाहरु दिइरहेका छन् । इन्टरनेटको त्यस्तो प्रयोगमा इबैँकिङइरेमिट तथा इकमर्श आदि पर्छन् । नेपाल बैँकको इबैँकिङ्ग सेवा हेर्नको लागि (भ्यु मोड) मात्रै छ । जस्तो खातामा रकम हेर्नु । त्यस्तै नविल बैँकमार्फत इन्टरनेटको प्रयोग गरेर ग्राहकहरुले स्कुलको शुल्क तिर्नेदुरसंचारको ल्याण्डलाइन तथा मोबाइलको शुल्क तिर्ने क्रेडिड कार्डको पैसा तिर्ने तथा अनलाइन पैसा जम्मा गर्ने काम इन्टरनेट बैँकिङ्गबाट हुन्छ । बैँकहरुले इन्टरनेटबाट किनवेच गर्न व्यापारी र ग्राहकवीचको मध्यस्तता पनि गर्छ । ग्राहकले अनलाइन सपिङ्ग गरेर नेपाल बैँकले दिएको सुविधा मार्फत पिन नम्बर हानेमा ग्राहकको खाताबाट पैसा व्यापारीको खातामा जाने सुविधा छ । अनि व्यापारीले सामान डेलिभर गर्छ । अनलाइन व्यावसाय गर्ने मुन्चा डटकम लगायतका अन्य करिब १५ ओटा 'मर्चेन्ट'लाई नेपाल बैँकले इकमर्श सेवा दिएको छ । विदेशबाट इन्टरनेटमार्फत आएको पैसालाई बैँकहरुले आफ्नो शाखा वा एजेन्ट मार्फत देशव्यापी बाँड्ने गर्छन् । त्यसको लागि नेपाल बैँकले इन्ट्रानेट प्रयोग गरि आफ्नो शाखाबाट बाँड्छ भने नविल बैँकको बैँकिङ शाखाहरु देशव्यापी नभएकाले एजेन्सीमार्फत बाँड्छ । नविलका २ हजार भन्दा बढी एजेन्टहरुले इन्टरनेटमार्फत दर्ता (लगिन) गरेर वितरण गर्छन् ।
बैँकहरुले इन्टरनेट मार्फत आफ्ना सेवाहरु दिएपनि कारोबार गर्ने ग्राहकहरु कम छन् । नेपाल बैँकमा इ बैँकिङ्ग सेवाहरु कारोबार गर्ने हिसाबमा छैनन् । तर दिनमा करिव ६ हजार जति ग्राहकले इन्टरनेटबाट बैँकिङ्ग सेवा हेर्छन् । नविल बैँकमा १५ हजारले उसको इन्टरनेट सेवा 'नविल नेट' हेरेका हुन्छन् । ति मध्ये निकै कम प्रतिशतले त्यसबाट कारोबार गर्छन् । इन्टरनेटमार्फत कारोबारीको संख्या कम हुनुको कारण विश्वास स्थापित नहुनु हो । बैँकबाट कारोबार गर्दा ढुक्क हुन्छ भन्नेमा ग्राहकहरुको विश्वास बढ्न सकेको छैन । त्यसैले हेर्नको लागि मात्र प्रयोग भएको छ । साथै इन्टरनेटबाट कारोबार गर्न जान्ने व्यावसायीले मात्र बैँकको स्टेटमेन्ट अफिसमा नै बसेर लिन्छ । इन्टरनेटको पहुँच भएका अरु ग्राहक अझै बैँक धाउने चलन छ ।
बैँकहरुले सेवा सुविधा संचार गर्नको लागि दुइथरी नेटवर्कको प्रयोग गरेका हुन्छन् । पहिलो इन्टरनेट र दोस्रो इन्ट्रानेट । बैँकका आन्तरिक शाखाहरुसँग जोडिनको लागि इन्ट्रानेटको प्रयोग गरिएको हुन्छ । इन्ट्रानेटको पोर्टलमा शाखासँग सम्बन्धित विषयहरु राखिएको हुन्छ । उदाहरणको लागि आफ्ना कर्मचारीहरुलाई एसएमएस बैँकिङ्ग कसरी गर्ने कुन सर्भिसमा समस्या आयो भने हेल्प डेक्समा कसलाई सम्पर्क राख्ने जस्ता विषयहरु समावेश हुन्छन् । आन्तरिक कुराकानी गर्न 'च्याट सिस्टम' आदि इन्ट्रानेटको पोर्टलमार्फत हुन्छ । बैँकहरुलाई इन्ट्रानेट सेवा दिन विभिन्न १० ओटा आइएसपीहरुले नेदुप्राबाट अनुमति पत्र लिएका छन् । इन्ट्रानेट दिने आइएसपीहरुले इन्टरनेट सेवा पनि दिन्छन् । कसैको सेवा कम चलेको अवस्थामा प्रयोगको लागि अर्को प्रदायकको सेवा पनि सँगै लिएका हुन्छन् । त्यसैले एउटा बैँकमा विभिन्न आइएसपीहरुका सेवाहरु हुन्छन् । जस्तै नेपाल बैँकले मुख्यगरी मर्कन्टाइलको र केही शाखाहरुमा एडिएसएलको सेवा लिएको छ । नविल बैँकले सुविसुमर्कन्टाइल र वर्ल्डलिंकको सेवा लिइरहेको छ । यी प्रदायकहरुमा पनि प्राथमिक सेवाको रुपमा तार विछाएर लगेको अप्टिकल फाइबर र द्वितिय सेवाको रुपमा वेतारे 'वायरलेस' सेवा दुवै लिएको हुन्छ । 
अनलाइन व्यावसाय
अनलाइन व्यावसाय अन्तर्गत अनलाइन सपिङ वेबसाइट वा पोर्टलहरु पर्छन् । अनलाइन मनि ट्रान्सफर तथा रेमिट्यान्सहरु पनि पर्छन् । फेसबुकशिक्षासम्बन्धी वेबसाइट पनि इ कमर्शको अंग नै हुन् । मान्छेको व्यस्त जीवनशैलीबाट अनलाईन व्यवसायको सोच आएको हो । नेपालमा दिनप्रतिदिन धेरै वेबसाइटहरु खोलिएका छन् । पछि यस्ता वेबसाइटहरु कारोबारका माध्यमको रुपमा विकसित हुँदै गएका छन् । कम्तिमा ३३ प्रतिशत जनसंख्याले इन्टरनेट प्रयोग गरेका छन् भन्ने नेपाल दुरसंचार प्राधिकरणको तथ्यांक छ । सन् २०१३ र २०१४ को तुलना गर्ने हो भने पछिल्लो अवधिमा इन्टरनेट प्रयोगकर्ताहरुको संख्या उल्लेख्य रुपमा बढिरहेको छ । यस हिसाबले कुनैपनि इकमर्श कम्पनी चलायो भने चल्ने संभावना रहन्छ । इन्टरनेट प्रयोग गर्नेको डेटा अनुसार यसो भन्न सकिन्छ । यहाँ इन्टरनेटको प्रयोग गरेर व्यावसाय गर्ने मुन्चा डट कमभाटभटेनी डट कम जस्ता अनलाईन पोर्टलहरुको उदाहरणबाट इन्टरनेटको प्रयोगलाई हेरिएको छ ।
मुन्चा डटकम
विदेशमा भएका नेपालीले नेपालमा रहेको आफ्नो परिवारलाई उपहार पठाओस् भन्ने उद्देश्यले २०५७ सालदेखि मुन्चाले वेबपेज मार्फत अनलाइन ब्यापार सुरु गरेको थियो । वेबपेजमा देखिने बस्तुलाई इन्टरनेटको माध्यमबाट मगाएपछि वितरककै पसलबाट मुन्चाले घरसम्म पुराउने गर्छ । अनलाईनबाट पैसा तिर्ने अभ्यास सून्य नै नभए पनि समान डेलिभरी पुराएपछि पैसा लिने गरेको छ । त्यस्तै अनलाईन व्यावसायमा मान्छेलाई अभ्यस्त गराउन विभिन्न अनलाईन पोर्टल सृजना गरेको छ । जसमा मुन्चा डटकम बाहेक मनि ट्रान्सफर पोर्टलबजार डटकम डटएनपीगीतसंगीत तथा भिडियोहरु अनलाइनबाट कानुनी रुपमा डाउनलोड गर्ने वेबपेजअनलाइनबाट पैसा तिर्नको लागि आइपे डटकम डटएनपी नेपालका सबै समाचारहरु एकै ठाउँ राख्ने वेबसाइट नेपाल अपक्लोज डटकम गेमिङ्ग वेबसाइटमा बुस डटकम छ जुन अनलाइनबाट मनोरञ्जनात्मक खेल खेल्नलाई प्रयोग हुन्छ । लगायत अहिलेसम्म मुन्चाका यस्ता ८ ओटा वेबसाइटहरु छन् । यसले अनलाइन व्यापारको चक्र बनाउन मद्दत गरेको छ ।
सन् २०१२ को मध्यसम्म मुन्चा काठमाडौँमा मात्र सिमित थियो । समान पाएपछि मात्र पैसा दिने 'क्यास इन डेलिभरी' प्रणाली काठमाडौँ बाहिर लागू गरेपछि त्यहाँका ग्राहकहरु अनलाइन सपिङमा रुचि देखाएका छन् । त्यसपछि मुन्चाले काठमाडौँ बाहिर पनि अनलाईन व्यावसाय विस्तार गर्यो । अहिले काठमाडौँ बाहिर मुन्चाका १५ ओटा शाखाहरु छन् । मुन्चामा ३५ प्रतिशत जति काठमाडौँ बाहिरबाट अनलाइन अर्डर आउँछ । मुन्चामा सबै ग्राहकको लागि मुल्य एकैकिसिमको हुने हुँदा यसको वेबसाइटमा काठमाडौँ बाहिरका व्यक्तिले पनि रुचि देखाएका छन् । २०७१ साउनसम्ममा एक दिनमा मुन्चाको वेबपेजबाट समान अर्डर गर्ने मान्छेहरु ५५ वा ६० भन्दा बढि हुँदैनन् । तर अनलाईन पोर्टल हेर्ने चाहिँ दिनमा लगभग ७ हजार हुन्छन् । यसरी ०.८५ प्रतिशत मान्छेहरुले मात्र अनलाइन सपिङमा कारोबार गरेको देखिन्छ । त्यसकारण अनलाईन व्यावसायका केही चुनौतिहरु छन् ।
अनलाईनमा जुन समान देखिएको छ उही सामान पाउने ग्यारेन्टीविक्री भैसकेपछि हुने सर्भिसको ग्यारेन्टीनठगिने ग्यारेन्टी हुन्छ भन्ने अझै पनि मान्छेलाई लागेको छैन । महँगो भएपनि मान्छेले आफै गएर वस्तु हेर्न चाहन्छ । यसरी मान्छेको ब्यवहार परिवर्तन गर्ने चुनौति पनि अनलाईन व्यावसायमा छ । विक्री पछि पनि वस्तुको गुणात्मक ग्यारेन्टी दिन थालेमा मान्छेले किन्न सुरु गर्छन् भन्ने विश्वास अनलाईन व्यावसायीको छ । अहिले सबैभन्दा अप्ठ्यारो भनेको अनलाइन पेमेन्ट सिस्टम हो । यो अप्ठ्यारोलाई 'क्यास एन्ड डेलिभरी'ले समाधान गरे पनि नेपालकै अनलाईन पेमेन्टहरु इसेवाआइपेएनआइबिएलको प्रक्रिया लम्बेतान भएकाले पनि रुचि नदेखाउनुको एउटा कारण हुनसक्छ । बैँकमा निवेदन दिएर अनलाइन बैँकिङ्गको सेवा लिनुपर्छ । त्यसपछि पासवर्ड दुरुस्त मिल्नुपर्ने र निश्चित समयभित्र पासवर्ड परिवर्तन गर्नुपर्ने बाध्यता छ । त्यसैले नेपालको पेमेन्ट प्रणाली छरितो देखिँदैन । त्यसैले अनलाईन पेमेन्टको प्रयोग पनि कम छ ।
फुडमान्डु डटकम
अनलाईन मार्फत अर्डर लिएर खाजा तथा खाना पुराउने काम फुडमान्डु डटकमले गर्छ । कर्पोरेट हाउसमा काम गर्ने व्यक्तिको व्यस्त जीवनशैली तथा विदेशबाट नेपालमा आइबसेका समुदायलाई ध्यानमा राखेर २०६७ सालदेखि इन्टरनेटको माध्यमबाट खाना अर्डर लिएर ग्राहकसम्म पुराउने सेवा थालेको थियो । नेपाल टेलिकमको एडिएसलले २०६५ सालमा सेवा विस्तार गरेपछिको सन्दर्भमा यसको सुरुवात भएको थियो । यसले वि.सं. २०६७ मा संस्था स्थापना गर्दा २० ओटा र २०७१ सालसम्म ७५ ओटा रेष्टुरेन्टको खाना तालिका (मेनु) आफ्नो अनलाईन पोर्टलमा राखेको छ । ग्राहकले यसको वेबपेजमा गएर आफुलाई मन परेको रेष्टुरेन्टको मेनुबाट खाना छनोट गरी अर्डर गर्न सक्छन् । अर्डर गरेको केही समयपछि यसले अनलाइन तथा फोन दुवैबाट निश्चित गर्छ र बढिमा ४५ मिनेट भित्रमा सम्बन्धित ठाउँमा पुराउँछ । फुडमान्डुले गुगलबाट नक्सांकन गरेर दुरी तय गर्छ र त्यसअनुसार सेवाशुल्क लिनेगरेको छ । १ हजार वा १५ सय रुपैँयाको अर्डर गरेमा काठमाडौँको कुनैपनि ठाउँमा शुल्क लिँदैन । यी सबै पक्षहरुबारे ग्राहकले अनलाइनबाट थाहा पाउँछन् ।  

काठमाडौँको चक्रपथ भित्रको ठाउँलाई फुडमान्डुले आफ्नो सेवा क्षेत्र बनाएको छ । नेपालमा आएर बसेका विदेशी समुदायविभिन्न संघसंस्थाहाउजिङ्ग कम्पनीमा बस्ने व्यक्तिहरुनियमित ग्राहक छन् । अफिसमा काम गर्ने व्यक्तिहरु पनि यसका सदस्य छन् । पहिला विदेशी ग्राहक धेरै थिए र २०७१ सालसम्म आइपुग्दा नेपालीहरु बढेका छन् । एकदिनमा फुडमान्डुलाई १ सय ओटा अर्डर आउँछन् । त्यसमध्ये ६० ओटा अनलाइनबाट आउँछ । ४०ओटा फोनबाट । अहिले ७५ प्रतिशत घरबाट अर्डर हुन्छ । बाँकी कर्पोरेट क्षेत्रबाट । वि.सं. २०६७ मा ५ जना२०६८ मा २० जना२०६९ मा ३५ जना२०७० मा  ६० जनाले र २०७१ साउन सम्म १ सय जनाले एकदिनमा फुडमान्डुबाट खाजा खाना अर्डर गर्छन् । यसले अनलाईन व्यावसायको बढ्दो ढाँचा देखाउँछ ।

फुडमान्डुको केही चुनौतिहरु पनि छन् । मुन्चाको जस्तै यसले पनि अनलाइन पेमेन्ट प्रणालीमा जोड दिएको छैन । यो पनि 'क्यास इन डेलिभरी'मा नै चलेको छ । पेमेन्ट सिस्टमले ३ देखि ३.७५ प्रतिसतसम्म सर्भिस चार्ज लिने र कुनै अवस्थामा रद्द गर्न पर्यो र ग्राहकले अर्को अर्डर गरेमा पेमेन्ट सिस्टमले २ पटक सर्भिस चार्ज काट्छ । अर्डर रद्द नहुने अवस्थामा अनलाईन पेमेन्ट राख्न मिल्छ । तर सानो सानो प्रतिशत लिएर काम गर्ने र सेवा दिने क्षेत्र सानो हुँदा  अनलाईन पेमेन्ट प्रणालीमा फुडमान्डु जस्ता संस्था जान नसकेका हुन् । त्यस्तै लोडसेडिङपेट्रोलको अभाव बाहेक आइएसपीहरुले राम्रोसँग इन्टरनेट सेवा दिन नसक्दा फुडमान्डुले २ ओटा इन्टरनेट प्रदायकसँग सेवा लिनु परेको छ । फुडमान्डुले सुविसु र एनसेलको सेवा लिइरहेको छ ।

यसरी नेपालमा इन्टरनेटको विस्तार र प्रयोगको ढाँचा बनेका छन् । वेब पोर्टल हेर्नेको संख्या र इन्टरनेटबाट सेवा सुविधा प्रयोग गर्नेको संख्यामा ठूलो ग्याप देखिन्छ । यसले अझैपनि इन्टरनेट मनोरञ्जनको माध्यमको रुपमा लिएको मान्न सकिन्छ । मान्छेको आवश्यकता के छ भन्ने पक्षले पनि इन्टरनेटको प्रयोगमा वृद्धि ल्याउँछ । जस्तो  म्याग्दी जिल्लाको नाङ्गी गाउँबारेको एक अध्ययनमा त्यहाँ इन्टरनेटको प्रयोग "जनसेवा"को लागि थालिएको सन्दर्भमा 'मागमुखी' जस्तो देखिँदा सफल हुने र 'आपुर्तीमुखी' जस्तो देखिँदा चुनौति थपिएको अनुभव छ । त्यहाँ इन्टरनेटको प्रयोग गरेर स्वास्थोपचार गर्ने योजना 'मागमुखी' भएकाले प्रभावकारी भयो । तर त्यसको तुलनामा गाउँका मान्छेहरुले इन्ट्रानेट मार्फत आर्थिक कारोबार गर्न खोलिएको टेलिमिडियामा अभ्यस्त हुन समय लागेकाले व्यावसायिक प्रयोजनको लागि इन्टरनेटको उचित प्रयोग हुन सकेन । गाउँलेले इ-कमर्शको आधारभूत ज्ञान नै बुझ्न बाँकी हुनाले यसले सफलता पाएन । यसरी इन्टरनेट प्रयोगका आधारभूत पक्षहरुबारे ज्ञान नहुँदा इन्टरनेट प्रयोगमा समस्या देखिएको छ । त्यसकारण यस्ता केही पक्षमा नीतिगत तह र सरोकारवालावीच समन्वयको आवश्यकता देखिन्छ ।
 नेपालमा इन्टरनेटको पहुँच र प्रयोग सम्बन्धी मार्टिन चौतारीले गरेको परियोजनामा आधारित ।