Saturday, May 23, 2015

लुभुका बस्तीहरुमा-फोटो कथा

संभवभएसम्म छुट्टीका दिनहरुमा भूपी बस्तीहरुमा जाने योजना बनाएको छु । जेठ ९ गते क्षतिग्रस्त लुभुका बस्तीमा गएँ । लुभुसँग मेरो भावनात्मक सम्बन्ध पनि छ । १४ वर्ष अघि त्यहाँको भ्याली पब्लिक स्कूल पढाउँदा बसेको थिएँ । गाडीबाट अोर्लेपछि सरासर स्कूल तिर गएँ । स्कूलको एउटा फोटो खिचेपछि फर्किँए -भूपी बस्तिहरुमा । टेन्टभित्रै बसेर उहाँहरुका कुराहरु सुनेँ । उनीहरुले जे छ खाएर जानुस् भन्थे । लुभुमा केही कारखानाहरु पनि छन् । त्यसैले काठमाडौँ वरिपरीका जिल्लाबाट कामदारहरु आएका छन् । यहाँ कपडा कारखानाहरु छन् । भूकम्पबाट पीडित भएका कोठामा बस्ने कामदारहरु लुभुको पुरानो बस्ती पछाडिको खेतमा एकैठाउँ बसेका छन् भने लुभुका स्थानियहरु भत्केका घर वरिपरीका खुल्ला ठाउँहरुमा रहेका छन् । अन्यत्र जस्तै यहाँ पनि राहत वितरणमा एकरुपता छैन । ४/५ ओटा समुहले विभिन्न ठाउँमा छरिएका भूपी बस्तीहरुलाई सहयोग गरिरहेका छन् । जस्तै चर्च, गाविस, बुद्धिजीवी, रेडक्रस, वित्तिय सँस्था आदि । विभिन्न ठाउँमा छरिएर रहेका पीडितहरुमध्ये  भाडामा बसेका पीडितहरुको अवस्था झन दयनिय छ ।  उनीहरु रामेछाप, काभ्रे आदि ठाउँबाट आएका छन् । त्यहाँका घरहरु पनि भूकम्पले तहस नहस पारेको छ । अर्कोतर्फ राहत पनि व्यवस्थित किसिमले नबाँड्दा उनीहरुको जनजीवन अझ दयनिय छ ।

बस्तीमा पुराना फोटाहरु हेर्दै लुभुकी माँ
घरले पुरिएर बाँचेकी थिइन माँ ।
काभ्रेका यी मदन लामा लुभुको भूपी शिविरमा शौचालय बनाउने काममा नेतृत्व लिएका छन्
सौचालयको लागि इटा अोसार्दै भूपी शिविरका कामदार उनीहरुलाई दिनको ६ सय रुपैँया दिइएको छ

कोठामा बस्नेहरु धेरै भएको शिविरको लागि बनाइएका अस्थायी शौचघरहरु । यी सौचघर बनाउन धेरैको सहयोग छ । तर पालभित्रको व्यक्तिगत जीवन जीउन भने सहयोग कमै आएको छ ।
 

अस्थायी सौचघर





यी ट्रिपरले पनि घरको सहारा दिएका छन् ।
पछाडिबाट देखिएको ट्रिपर घर

वालमैत्री घरमा ब्यानर बाहेक केही देखिएन

के हुरी थेग्ला ?



देखिएका घरमा बस्न सकिएन खेतमा बसेका छौँ

आफ्नो भन्दा यी लालाबालाको चिन्ता लाग्छ । टिभी हेर्दै पालभित्रका मान्छे ।

घरमा डर लाग्छ चोक चौतारमा काम गर्दै किसान

खेत नबेचिएकाले आश्रय पाइएको छ


काम गर्दै किसान । कपडा कारखानामा काम गर्ने कामदारहरु किसानको बारीमा ज्यालादारी पनि गरिरहेका छन् ।


लुभुबाट फर्कँदै गर्दा देखिएको घर । भुइँचालो कस्तो गयो कुन्नी तल्लो तला काम नलाग्ने गरि भत्किएको छ

जेठ ९ गतेको हावाहुन्डरी अत्यास लाग्दो देखियो लुभुको आकाश

भुकम्पले भत्काएको धुलोले ठम्म बसेका पहाडहरु ढाके

लुभुको बस्तीहरुबाट फर्कँदै थिएँ । गाडि निकै पातलो चलिरहेका थिए । चौतारोमा लगनखेल जाने गाडि कुरेर बसिरहेको बेला एक्कासी धुलैधुलो बोकेर हुन्डरी आयो । निकै अत्यास लाग्यो । चारैतिर धुलैधुलो बाहेक केही देखिँदैनथ्यो । चौतारो नजिकै सानो मन्दिर थियो त्यसभित्र बसेँ । रामराम त भनिन तर निकै अत्यास लाग्यो । धुलो रोकिएन । पाल भित्रका मान्छेहरु चिच्चाइरहेका सुनिन्थ्यो । घरमा बसेकाहरु अत्यास मानेर बसेका थिए । झन्न लगनखेल जाने गाडि आयो । भित्र कोचिएँ ।  गाडिभित्र यात्रुहरु डरले 'दाई अलि खुला ठाउँमा गाडि रोक्नुस् न' भनिरहेका थिए । भूकम्पको डर पनि थियो । ड्राइभरले मानिरहेको थिएन । धुलोको भोँरीले झ्वाप्प अगाडिको बाटो छोपेपछि बल्ल डरायो र गाडि रोकियो । वरिपरी कुहिरीमन्डल भएको थियो । नजिकै बसेका केटाहरु जोक्स गरिरहेका थिए । "२०७२ सालले त गज्जब वेलकम गर्यो यार" । अर्कोले भन्दै थियो "अब त बाग्मतिमा बाढी आउँछ होला" । पछाडिको सिटमा बसेका मान्छेले "हे आपत" भनेको सुनेँ । महिलाहरु अत्यासले चिच्चाउँदै थिए । "कोही नडराउनुस् भुकम्पको धुलो हुरीले उडाउँदा यस्तो भएको हो" भनेर एकजना पुरुष सम्झाउँदै थिए । वास्तवमा भुकम्पले अत्यासिलो बनाइरहेको जनजीवनमा हुरी हुन्डरीले झन अत्यायो । पालबासीलाई बेहाल बनायो । बाटोमा हेर्दै आउँदा पाल र मान्छेहरु देखिँदैनथे बाँसका भाटाहरुमात्र थिए । श्री स्वस्थानीकी चन्द्रावतिको जस्तो हालत बनाइदियो भुकम्प र हुन्डरीले । घर चर्किएर भत्किएर पालमा बसेकाहरुलाई हुन्डरी र पानीले विजोग बनाइदियो ।


अनेक व्यूरोक्रेसी र समन्वयकारी राज्य



नेपालमा महाभुकम्प जाँदा सरकारले सबै कुराको चाँजोपाँजो आफैँले गर्ने भन्यो । संयन्त्र कमजोर भन्दै दाताहरुले मानेनन् । दाता र उनका निगाहका व्यूरोक्रेसीले मात्र होइन अर्गानिक व्यूरोक्रेसीले पनि मानेनन् । सबै सहयोग सिडियो कार्यालयमार्फत दिने 'एकद्वार नीति'मा परिमार्जन गर्दै समन्वयको भूमिकामा रहन सरकार बाध्य भयो । विभिन्न व्यूरोक्रेसीले आआफ्नो तरिकाले सहयोग जारी राखेकाले संयोजनकारी भूमिकामा सरकार देखियो । अहिलेको नेपालमा अनेक व्यूरोक्रेसी छन् । पब्लिकबाट प्राइभेट वा एनजिओ क्षेत्रमा व्यूरोक्रेसी बढिरहेको छ । थपिँदै छन् । जसलाई यहाँ नयाँ व्यूरोक्रेसी भनिएको छ । तिनीहरुले आआफ्नो तरिकाले निश्चित परिधिमा काम गरिरहेका छन् । यसले मास सोसाइटीलाई टुक्राटुक्रा पारेर क्लस्टर सोसाइटीमा संगठित गरिरहेको छ । आपतविपतको बेलामा उनीहरुले आफ्नो क्लस्टरलाई सहयोग गर्न चाहन्छन् । यो महाभूकम्पमा पनि अनेक व्यूरोक्रेसीले सरकारसँग समन्वय गरेर र नगरिकन फ्नो भूमिका खेले ।
साँखुमा सहयोग गर्दै चितवनबाट आएका सैनिकहरु

दातृ निकायले सहयोगको घोषणा गरेपनि सरकारी कोषमा प्रचार गरेजति रकम जम्मा भएन । सरकारी अधिकारीले "दातृ निकायको सहयोग दिनबन्धुको सप्ताहजस्तो भयो, घोषणा गर्ने तर नदिने" भने । उदाहरणको लागि सुरुमा धेरै दातृ निकायले सहयोग दिने भनेपनि भूटान बाहेक अरुको सहयोग सरकारी कोषमा जम्मा हुन सकेन । विदेशी दातृ निकायले पनि नयाँ व्यूरोक्रेसीलाई सहयोग गरे । त्यसैले भूपीहरु भन्थे, "सरकारले मुख देखाएको छैन बरु विभिन्न संघसंस्थाहरुले सहयोग गरिराखेका छन् ।" एक कोणबाट हेर्दा सरकार दातृ निकायले सहयोग गर्ने धेरै संस्थामध्ये एउटा ठूलो संस्था जस्तो देखिएको छ ।
काठमाडौँको थापागाउँमा थापागाउँ सुधार समितिले संकलन गरेका नगद र जिन्सीको सूची
राज्यभित्रको  नयाँ व्यूरोक्रेसी उद्देश्यमुखी, सुविधामुखी र रुचिमुखी देखिने नै भयो । जहाँ रुचि छ उसले त्यहाँ काम गर्छ । जहाँ बाटो छ त्यहाँमात्र पुग्नसक्यो जहाँ मिडियाले जाउ भनेको छ त्यहाँमात्र जाने यसका सिमितता थिए । अनेकौँ पराकम्पन आइरहँदा त्यस्ता ब्यूरोक्रेसीहरुले दुरचाल गर्न सकेनन् । केहीले सबै ठाउँलाई सहयोग गर्न सक्दैनौ भन्दै रुचिको क्षेत्रमा काम गरे । यो सन्दर्भमा 'जहाँ राज्य पुग्दैन त्यहाँ एनजिओ आइएनजिओ पुग्छ'न्ने मान्यता परिमार्जन गर्नुपर्ने देखियो । त्यस्तै राज्य अभिभावक हो भन्ने अवधारणा पनि परिमार्जन गर्नुपर्ने देखियो । नयाँ व्यूरोक्रेसीहरु सरकारलाई सहयोग गर्न आएका हुन् भन्ने मान्यता पनि कमजोर देखियो । कतै राहत धेरै भयो । कतै राहत बाँड्ने संयन्त्र राम्रो भएन । मिडियामा भरपर्ने नयाँ व्यूरोक्रेसी जहाँ मिडियाले प्रचार गरेको छ मुख्यत: त्यहाँ मात्र पुगे । 

भूपीहरुको लागि राहत तथा श्रमदानको लागि सिन्धुपाल्चोक जाँदै त्रिवि समाजशास्त्र विषयका प्राध्यापकहरु (स्रोत : वीरेन्द्र शाहको फेसबुक पेजबाट)

व्यूरोक्रेसीबारे अध्ययन गर्ने पूराना समाजशास्त्री म्याक्स वेबर हुन् । उनले 'रेश्लाइजेशन'को अवधारणा बाहिर ल्याए । यसलाई बुझ्ने आआफ्नो तरिका मध्ये सजिलो तरिका 'पूरानोलाई नयाँले विस्थापित गर्ने' भन्ने हो । रेश्नलाइजेशनलाई ठिक र इरेश्नलाइजेशन बेठिक भन्दा पनि वेबरले क्षमतासँग दाँजे रेश्नलाइजेशनलाई इफिसियन्सीको साथै प्रेडिक्टेबल र क्याल्कुलेटिभ रुपमा पनि व्याख्या गरिएको छ । कुनैपनि व्यूरोक्रेसीमा यी ३ चीज हुन्छन् र त्यस्तो व्यूरोक्रेसीमा ३ चिजको मात्रा जति बढि हुन्छ त्यो ब्यूरोक्रेसी उति क्षमतावान हुन्छ । राज्यको व्यूरोक्रेसीमा यी ३ चीजको कमी वा कमजोरी देखाउँदै अथवा राज्यको व्यूरोक्रेसीलाई सघाउने भन्दै नयाँ व्यूरोक्रेसी देखिएका हुन् । व्यूरोक्रेसी विना समाज सक्षमतापूर्वक लामो समय चल्न सक्दैन । व्यूरोक्रेसी भनेको आम समाजलाई सहयोग वा नियन्त्रण गर्ने संयन्त्र हो । राज्यको व्यूरोक्रेसी पनि नियन्त्रण वा सहयोग गर्ने यन्त्र हो ।

वेबर कार्ल मार्क्सभन्दा आधा शताब्दी पछि जन्मेका चिन्तक हुन् । त्यसैले उनले नयाँ संसार देखेका थिए । कार्ल मार्क्सका पालामा उद्योगहरु बढि थिए । त्यति बेला उद्योग पुँजीवाद थियो । ती उद्योगको वरिपरी बस्ने कामदारहरुलाई हेरेर उनले कम्युनिज्मको युटोपिया जन्माएका थिए । तर वेबरको पालासम्म आउँदा उद्योग पुँजीवाद परिवर्तन हुँदै उपभोग पुँजीवादमा परिणत हुँदै थियो । त्यसैले मार्क्स भन्दा फरक विचार प्रतिपादन गरेका छन् । उनलाई पनि कसैकसैले मार्क्सको भूत पनिन्छन् । तर त्यसो होइन । उनले मार्क्सवादलाई दुर्खिमले जस्तो अंश अंशमा आलोचना गरेका छैनन् । मार्क्सवादलाई 'यस' त भन्छन । साथसाथै 'बट' पनि थपेका हुन्छन् । उनकाअनुसार मार्क्सवादलाई सच्चाउनु आवश्यक छ । मार्क्सले जस्तै वेबरले कुनैपनि अवधारणा विश्वव्यापी हुन्छ भनेका छैनन् । त्यसैले नयाँ व्यूरोक्रेसीको अस्तित्व बुझ्न वेबरियन मोडललाई आलोचनात्मक ढंगले हेर्न सकिन्छ ।

वेवरका जतिपनि कुराकानी छन् । मार्क्सजतिको विवादित छैनन् । त्यसैले वेबरको विचारलाई टालकोट पार्सन्सले कम विवादित विचार भनेका छन् । वेबर जर्मन हुन् । उनले आफ्नो योगदान जर्मन भाषामा लेखेका छन् । त्यसलाई टालकोट पार्सन्सले अंग्रेजीमा अनुवाद गरेका हुन् । अहिले वेबर पढ्नेले पार्सन्सको अनुवाद पढ्नुपर्ने हुन्छ । त्यसैले पार्सन्स के हुन् भन्ने कुराको माने रहन्छ । जस्तो वेबरको मुख्य आइडिया जर्मन भाषामा Herrschaft हो । जसलाई पार्सन्सले अंग्रेजीमा लिडरसिप भनेर अनुवाद गरेका छन् । जुन कमान्ड गर्ने भन्ने अर्थमा थियो । यो दुर्खिमियन आइडिया थियो । तर यसको खास अर्थलाई डोमिनेसनका रुपमा लिन सकिन्छ । लिडरसिप र डोमिनेशन दुइ फरक फरक कुरा हुन् । व्यूरोक्रेसीको व्याख्या गर्दा उनले डोमिनेसनको अवधारणालाई अघि सारेका छन् । वेबरले डोमिनेशनको डल्ला फोर्दा पावरलाई परिभाषित गरेका छन् । उनका अनुसार पावरले उत्पादनका माध्यमहरुमाथि नियन्त्रण गर्छ र पावरफुल हुन्छ । यो निरन्तर परिवर्तित हुन्छ । उदाहरणको लागि जसले मान्छेहरुलाई काम लगाउन सक्छ उसले पावर संचित गरेको हुन्छ । त्यस्तो पावर एकैठाउँमा रहँदैन । यस्तो पावर संगठनहरुमा हुन्छ । मानिसहरुलाई यस्ता संगठनहरुले कुनै न कुनै तरिकाले बाँधिरहेका हुन्छन् । र तिनैकै व्यूरोक्रेसीमार्फत काम गरिरहेका हुन्छन् । 
खोकनामा राहत वितरण गर्दै थाईल्याण्डका बौद्ध भिक्षु
एक अमेरिकी समाजशास्त्री अमिताई इट्जिओले भनेजस्तै हामी संगठनमा जन्मिएका हुन्छौँ । संगठनबाटै शिक्षित हुन्छौँ । संगठनको लागि काम गर्छौँ । फुर्सदको समय पनि संगठनको लागि खर्च गर्छौँ । हामीहरु मध्ये सबैजसो संगठनमै मर्छौँ । हामीलाई मरेपछि संस्कार गर्न पनि संगठनको अनुमति चाहिन्छ । इट्जिओले राज्य, परिवार, सामाजिक सँस्थालाई आधार मानेपनि अहिलेको समाजमा अझ अरु धेरै संगठनबाट जीवनयात्रा गर्नुपर्ने देखिन्छ । यो भनेको उनीहरुका नीति नियम मानेर जीवन जीउनुपर्ने हुन्छ । हाम्रो जीवन यस्ता विभिन्न किसिमका संगठनको यात्रा र उनीहरुका नियमसँग खेलिरहेको हुन्छ । अर्थात् हामीहरुलाई विभिन्न संगठनले विभिन्न किसिमबाट नियन्त्रण र सहयोग गरिरहेका हुन्छन् ।

हामीले सहयोग दिन अथवा पाउन त्यस्ता संगठन बनाएका छौँ । युएन एजेन्सी, अक्सफाम, शिक्षक संगठन, विद्यार्थी संगठन, विवेक सिर्जनशिल, एनआरएन, दलित संगठन, आदिवासी जनजाती संगठन, समाजशास्त्रका विषयका प्राध्यापक एवं विद्यार्थीहरु आदि । अझ राजनीतिक पार्टीहरुले पनि भूकम्प पीडितलाई सहयोग गर्न भनि राहत संकलन गरेका छन् । यस्तो राहत उनीहरुले आफूले प्रभावित क्षेत्रमा खटाएका आफ्नो स्वय‌सेवकको लागि  खर्च गरेका छन् । नेकपा एमाले यसको उदाहरण हो । उसले भूकम्प पीडितलाई सहयोग गर्न राहत कोष नै खडा गरेको छ । सिडियो कार्यालयबाट सरकारसँग समन्वय गरेपनि उठाएको पैसा प्रधानमन्त्री राहत कोषमा राख्ने भनेको छैन । त्यस्तै विदेशमा बस्ने व्यक्ति तथा समुदायले पनि सिधै पीडितसम्म रकम कसरी पुग्छ भनेर विचार गरी सहयोग गरेका छन् । लण्डनमा रेष्टुरेन्ट व्यावसाय गरेर बसेका चितवनका मिलन भट्टराईले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मार्फत गोर्खाको एक गाउँलाई ५१ लाख रुपैँया सहयोग गरे । राज्यकोषमा उनले पैसा जम्मा नगर्नुलाई राज्य संयन्त्रलाई कमजोर ठानेका छन् । राहत कोषमा जम्मा पार्यो भने जनतासम्म कहिले पुग्ने हो भन्ने चिन्ताले उनले पैसा दिएनन् । बरु एउटा संयन्त्र आफै बनाए । जसमा उनले पूर्व प्रधानमन्त्रीलाई माध्यम बनाए । स्थानिय संयन्त्रमा पैसा कसरी खर्च भइरहेको छ भन्ने जान्नलाई आफ्ना बाबुलाई त्यहाँको व्यवस्थापन समितिमा राखेका छन् । यसरी स्थायी अस्थायी व्यूरोक्रेसीले पनि काम गरेको छ । यस्ता व्यूरोक्रेसीमा व्यक्तिको संलग्नता काम गर्ने वा गराउने किसिमले हुनसक्छ । नेपालका यस्ता नयाँ व्यूरोक्रेसी वा अर्गानिक व्यूरोक्रेसी आफ्नो रुचि र सम्बन्ध तथा क्षमताका आधारमा सम्बन्धित क्लस्टर सोसाइटी वा मास सोसाइटीलाई सहयोग गर्न चाहन्छन् । यसलाई आफ्नो इफिसियन्सी भएको मान्छन् । नयाँ व्यूरोक्रेसीको जगजगी अहिलेको महाविपतमा देखियो । यिनीहरुलाई समन्वय गरेर राज्य अघि बढ्नुपर्छ वा पर्ला भनेर सरकारले सोच्न समेत पाएको वा खोजेको थिएन । मास सोसाइटीलाई सहयोग गर्न चाहने स्टेट व्यूरोक्रेसी र क्लस्टर सोसाइटीलाई सहयोग गर्न चाहने नयाँ व्यूरोक्रेसीवीचको द्वन्द्वले राज्यको अवधारणालाई नयाँ ढंगले परिभाषित गर्न आवश्यक देखियो । नयाँ व्यूरोक्रेसीले राज्यलाई कम पावर होल्ड गर्न वा पावरको सेयर गर्न प्रेरित गरेको देखिन्छ । यसलाई नेपालका केही अर्गानिक व्यूरोक्रेसीले र व्यक्तिले पनि सघाए । दातृसंस्थाले जस्तै व्यक्ति वा अर्गानिक व्यूरोक्रेसीले पनि सरकारलाई समन्वयकारी भूमिकामा रहन सुझाव दिए । समाजमा आफ्नो पनि केही योगदान थियो भन्ने कुरा नयाँ मिडिया मार्फत देखाउन सबै सँस्था वा व्यक्तिले राज्यको समन्वयकारी भूमिकाको अपेक्षा गरेका थिए । यो कुरा मोडलको रुपमा रहँदा समाजमा व्यक्तिले पनि व्यक्तिगत रुपमा पनि यसै गरे । हरेक तप्का केही न केही तरिकाले देखिन्थ्यो । धेरै व्यूरोक्रेसी भएपछि एकले अर्कालाई आफ्नो अस्तित्व देखाउन यो गर्नैपर्ने बाध्यकारी जस्तै भयो । "अरुले के गर्यो भन्ने प्रश्न भन्दा तिमी आफूले के गर्यौ ?" भन्ने समाजमा व्याप्त प्रश्नले सानाठूला व्यूरोक्रेसीलाई केही न केही गर्न र आफूले गरेको कामलाई देखाउन प्रेरित गरेको देखिन्थ्यो । यस्तो सन्दर्भमा राज्य वा सरकार समन्वयकारी भूमिकामा देखिनु आवश्यक र वाध्यता थियो । राज्यले आफ्नो भूमिका पहिलोपल्ट समन्वयकारी हुने महसुस गरेको थियो । त्यसैले हुनसक्छ महाविपत्तिको बेलामा राज्य कार्यकारी र समन्वयकारी दुवै भूमिकाको विचमा रनभूल्ल परेको थियो । यहि सन्दर्भमा कोही नागरिक समाज "राज्य कहाँ छ" भनि खोज्दै हिँडे भने अर्कोथरी नागरिक समाजले "राज्य हामी हौँ" भन्दै हिँडे । नयाँ व्यूरोक्रेसी पनि राज्य थियो ।

Tuesday, May 19, 2015

मार्क्स भर्सेज दुर्खिम







महाभुकम्प गएको केही दिन पछि नागरिक समाजको एक समुहले 'खोइ सरकार ?' अथवा 'सरकार कहाँ छ ?' भन्दै धर्ना बसे । त्यसको लगत्तै नागरिक समाजको अर्को समुहले 'सरकार हामी हौँ, जसले भुकम्प पीडितलाई सहायता गर्यो उही सरकार हो' भने । समाजमा यस्तो परस्पर विरोधी विचारहरु किन हुन्छन्  ? महाविपद्को बेलामात्र होइन । अरु बेला पनि यस्ता परस्पर विरोधी विचारहरु देखिन्छन् । समाजको यस्तो चरित्रलाई कसरी बुझ्ने ? १९ शौँ शताब्दीका दुइ चिन्तक कार्ल मार्क्स र इमाइल दुर्खिमको कोणबाट समाजमा मुलरुपमा रहेका दुइ धारणाहरुलाई चियाउन सकिन्छ । मार्क्स र दुर्खिमका विचारहरु १५० वर्षभन्दा अघिको सन्दर्भमा लेखिएका हुन् । त्यति बेलाको सन्दर्भ र उनीहरुका विचारहरुलाई मसिनोसँग केलाउन सजिलो छैन । त्यसैले यी मेरा निजी विचारहरु हुन् ।

           
तस्बिर कार्ल मार्क्स र इमाइल दुर्खिम (स्रोत : विकीपिडिया)

कार्ल मार्क्स (१८१८-१८८१)ले समाजमा परस्पर विरोधी अवधारणाहरु व्याप्त रहने मान्यता राख्छन् । उनको विचारमा समाजको यस्तो द्वन्द्वात्मक चरित्रले समाजलाई परिवर्तनतिर लैजान्छ । इमाइल दुर्खिम (१८५८-१९१७)ले मार्क्सको विपरित समाजका सँस्थाहरुलाई सहयोगात्मक तबरले हेर्छन् । द्वन्द्व उनको विचारमा समाजको रोग हो । मार्क्सको विपरित दुर्खिमको विचारअनुसार समाजमा द्वन्द्व सधै रहन्न । दुर्खिमले समाजलाई मान्छेको शरीरसँग तुलना गर्छन् । शरीर जसरी कहिलेकाहीँ अस्वस्थ हुन्छ र पुनः प्राकृतिक अवस्थामा फर्कन्छ त्यसै गरी द्वन्द्व समाजमा अस्थायी रुपमा रहन्छ । बरु 'के गर्न हुने र के गर्न नहुने' भन्ने नैतिक मान्यता सधै रहन्छ । मार्क्सले धर्म र राज्यलाई शोषणका रुप हुन भनि व्याख्या गर्दा दुर्खिमले धर्मलाई 'समाजको पर्व' वा समाजलाई एकतामा बाँध्ने सुत्र वा सामुहिक जीवनको लागि व्यक्तिले गर्ने पुजाको रुपमा लिएका छन् । यसरी दुर्खिमको योगदानले मार्क्सलाई तर्साउने काम गरेको छ । दिमागले फोक्सोको कामलाई शोषण नगरे जस्तै समाजको एक अंगले अर्कोलाई शोषण गरेको हुँदैन बरु सहयोग गरेको हुन्छ भन्ने विचारधारा दुर्खिमियन मोडलमा छ । दुर्खिमले समाजमा 'डिभीजन अफ लेबर'को अवधारणा ल्याएका छन् । यस्तो 'डिभीजन अफ लेबर'ले समाजको एकतामा मद्दत गर्छ । दुर्खिमको 'डिभीजन अफ लेबर' र यो शीर्षकमा लेखिएका पुस्तकहरुलाई 'एन्टी कम्युनिष्ट मेनिफेस्टो' पनि भनिन्छ । समाजमा परस्पर सहयोग, एकात्मक भावनाको व्याख्या दुर्खिमको अध्ययनमा देखिन्छ । दुर्खिमको विचार २० औँ शताब्दीमा किन प्रभुत्वशाली विचार रह्यो त ? अहिलेका शक्तिशाली मुलुकले यो विचारलाई किन अवलम्बन गरे त ? यो सबैको लागि विचारणिय छ । दुर्खिमियन तर्कले राज्यलाई चुनौति दिँदैन । यथास्थितिलाई मन पराउँछ ।

समाजलाई बुझ्न यी मध्ये एउटा विचार वा यी दुवै विचार प्रयाप्त भने होइनन् । यसका विषयवस्तु हाम्रो समय र सन्दर्भका होइनन् । त्यसो भन्दैमा यी अवधारणा काम नलाग्ने भन्ने हुँदैन । हाम्रो जस्तो विपरित ध्रुवमा बाँडिएको समाजलाई बुझ्न मार्क्स र दुर्खिमका अवधारणा आवश्यक छन् । नेपाली समाजमा पनि अहिले दुर्खिमियन र मार्क्सियन विचार प्रभुत्वशाली देखिएका छन् ।