Tuesday, June 9, 2015

जमिन थर्किएको सेकेन



भूकम्प आउँदा वानेश्वरको एक स्टेशनरी पसल भित्रको कोठामा थिएँ । सुरुमा त गटगट आवाजसहित झ्यालका पर्दा हल्लेको देखेँ । भूकम्प आएर उत्तिखेरै गएको भोगेको थिएँ । त्यसैले सोचेँ, 'यो आउँछ र जान्छ' । तर गएन । त्यसपछि म पुत्पुत्ति भागेँ । यु ट्युवमा देखिएका दृष्य झैँ । यतिसम्म कि खाटमुनी लुक्ने कल्पना त मेरो मनमा नै आएन ।  जब हामी बाटोमा पुग्यौँ । पसलको दराज गर्लम्म ढल्यो । बाटोमा मान्छेहरु चिच्चाएका, केटाकेटीहरु रोएका, मोटरसाइकल ढङ्रङ्ग हुँदै पल्टेका थिए । गाडिहरु रोकिँदै थिए । जमिन आफै उफ्रिरहेको थियो । वाफ्रे ! त्यति हुँदा पनि थरथराहट रोकिएको थिएन । त्यत्रो संसार उफार्दा जमिनले मलाई के छोड्थ्यो र ? उफार्दै पछार्यो ।  विजुलीका पोलहरु धामी कामे झैँ हुटहुट हुटहुट गरिरहेका थिए । त्यसैले बाटोमा उभिनुपनि जोखिम ठानेँ । बाटोको पारीपट्टी खुल्ला जमिनमा पुगेर वरिपरीका घरहरु हेरेँ । घरी झुलेको देखिन्थ्यो । घरी तलमाथि उफ्रेझैँ देखिन्थ्यो । आफू बाँचेपछि मेरो ३ वर्षे छोराको ख्याल आयो । सिमन्ताको पनि। उनीहरु घरैभित्र अड्के होलान् भन्ने कल्पनाले सतायो । एक्कासी "बाबु ! बाबु !!" भन्दै बर्बराउन थालेँ । थाकेर होला जमिन विस्तारै हुइहुइ खेलिरहेको थियो । तर हल्लिएकै थियो । मान्छेहरु जमिन नहल्योस भन्दै दश अौँलाले थिचेर सांकेतिक अपिल गरिरहेका थिए । रुनेबाहेक बोल्ने कसैको आँटै थिएन । ठूलो भूचाल रोकियो । फोटोग्राफर भएको भए फोटो खिच्ने धुन हुन्थ्यो होला । त्यसको साटो वरिपरी खबर के होला भनि ट्वीटर चलाएँ । 'बाँचियो' भनेर पोष्ट पनि गरेँ । पराकम्पहरु दोहोरिरहेका थिए । यतिबेला हिँड्नु 'डेन्जर' हुने ठानेर सिमन्तालाई फोन लगाउने कोसिस गरेँ । वरिपरीका मान्छेहरुले झैँ । कैयौँको फोन नलागेकोबेला फोन त लाग्यो । तर उठेन । मेसेज गर्ने कुरा मनमा नै आएन । मैले सकरात्मक कल्पना गरेेँ "उनीहरु भागेर बाहिर आइसके होलान् त्यसैले फोन उठेन" । पराकम्पनले हल्लाउँदा हल्लाउँदै घरतिर भागेँ । बाटो वरिपरी मान्छेहरु थुप्रिएका थिए । सबै आशाहीन मनस्थितिमा थिए । कोही परिवार खोज्न घरभित्र जाँदै थिए । घरभित्र भएका भर्याङ्गबाट लड्खडाउँदै खुला जमिनतिर आइरहेका थिए । कोही बृद्ध बाआमालाई लिएर आउँदै थिए । त्यही बेला कोही भन्दै थिए "असन खत्तम भयो होला", "धरहरा ढल्यो होला" आदि । अनेकतरहका यस्ता कुराहरु छल्दै छल्दै म घर पुगेँ । उनीहरु बाहिर बसिरहेका रहेछन् । घरभेटी दाई रेलिङ्ग समात्दै झर्दैगर्दा पनि गुटमुटिँनुभएछ । दाइले भन्दै हुनुन्थ्यो, "पहिला हुइहुइ खेलायो, पछि राइँचुइँ खेलायो उपाय लागेन र लडेँ" । मरेमरिन्छ भन्दै कपडा धुन लागेकी मेरी जहानले भाइ र छोरालाई काखमा च्यापेर स्नानरुममै बसिछन् । कसैले भन्दैथिए "ईश्वरीय कृपाले" बाँचियो । कसैले भन्दैथिए "वानेश्वर बलियो रहेछ" । जेहोस् बाँचियो ।

खुला चौरमा
मान्छेहरु अघोर आतिएका थिए । उनीहरुले चाउचाउ, विस्कुट आदि बोकेर खुला ठाउँमा आउन थाले । जब साँझ पर्न थाल्यो । खुरुरु घरमा पसेर ब्लांकेट, तकिया लिएर आउन थाले । जे छ झिकेर ल्याउन थाले । घरभित्र बस्न त कसैले आँट गरेन । मान्छे नबसे पछि त घर पनि घर जस्तो नहुँदोरहेछ । डर लाग्ने । साँच्चै डर लाग्ने । किचनमा तेल पोखिएको, पानी छचल्किएको, भाँडाकुँडा ठङ्ग्रङ्ग भएको देख्दा डरडरै भयो । अझ साँझ त एक्लै घरभित्र जानै सकिएन । लौ आज चाउचाउ खाएर बसने भइयो भन्दै भित्रबाट कपडा लिएर हामी पनि चौरतिर आयौँ ।  सबै छिमेकीहरु जम्मा भएकाले मासूम छोरा खुसीसाथ खेल्न थाल्यो । मान्छेहरु चाउचाउ किन्न खुलेका किराना पसलतिर जान थाले । मान्छे मरेका खबर र 'शहर ध्वस्त छ रे' भन्ने हल्लाले नमज्जा लागिरहेको थियो । रेडियो नेपालले लगातार खबर भनिरहेको थियो । हल्लाहरु फैलने, रोगहरु फैलने, ठूला पराकम्पन आउनसक्ने, आदि कुराहरु बरोबर फुकिरहेको थियो । पराकम्पन आउँदा चराहरु आकाशमा उड्ने, कुकुर भुक्ने गर्थे । त्यत्तिकै कुकुरहरु कराउँदा पनि मान्छेहरुमा बेचैनी देखिन्थ्यो । भुकम्प आउने दिन यस्तो डरलाग्दो कल्पना हुँदोरहेछ, घर देख्दा घरै ढल्छ कि, रुख देख्दा ढल्छ कि भन्ने डर लागिरहन्थ्यो । अझ मौसमको गडबडीले मनोदशा निकै कमजोर बनाइदिएको थियो । आकाशबाट आएको पानीले त्यो रात चौरमा बस्न सकेनौँ । बल्लबल्ल कोठाभित्रबाट ल्याएका कपडाहरु कुटुरो पारेर फेरि उतैको ओततिर जानुपर्यो । ससाना नानीहरु खुला आकाशमुनी सुतिरहेका थिए । तपतप उनीहरुको आँखामा पानी परेपछि 'हे आपत्' भन्दै मान्छेहरु घरतिर फर्के । उमेर ढल्केकाहरु मरेमरिन्छ भन्दै घरमा बसे । घरको तल्लो तलामा जाग्राम बस्ने भुकम्प आउँदा खुला ठाउँतिर दौडिहाल्ने भनेर दलिनमा कोचियौँ । त्यो बेला चाउचाउ खाएका पेट आकाश झैँ घुर्रघुर्र गुड्किरहेका थिए । पेटमा ग्यास भरिएर ढ्याउ ढ्याउ आइरहेको थियो । पराकम्पन आउँदा ३ सेकेन भित्र छोरालाई लिएर दौड्न सक्ने भएको थिएँ । सबै तन्द्रामा थिए । निद्रामा थिएनन् । पानीले बाहिर बस्न नदिने र भुकम्पले भित्र । बडो विजोग थियो हालत त्यो दिन। स्वस्थानीकी चन्द्रावतीको झैँ  । अझ घर भत्केकाहरुको र आफन्त पुरिएकाहरुको त यो कथा नै होइन ।

२०७२ जेठ २५

Friday, June 5, 2015

सेवा तथा व्यावसायमा इन्टरनेटको प्रयोग



                                                                        
इन्टरनेटको प्रयोगबाट केही गाउँहरुमा त्यहाँको स्वास्थ्य चौकीका मान्छेले शहरका अस्पतालका चिकित्सकसँग अनलाइन कुरा गरेर विरामी जाँच्ने टेलिमेडिसिनदक्ष शिक्षकले एउटा कक्षामा पढाएको अन्य कक्षामा श्रव्यदृष्यका माध्यमले पढाउने टेलिटिचिङआन्तरिक सञ्जालको मद्दतले वस्तु खरिदविक्री गर्ने टेलिमिडिया संचालन पनि गरिएको छ । त्यस्तै विभिन्न बैँकहरु मार्फत घरमै बसेर इन्टरनेटबाट बैँक खाता हेर्नेरकम जम्मा गर्नेस्कूलविभिन्न दुरसंचार कम्पनीको शुल्क तिर्ने लगायतका बैँकिङ सेवाहरु इन्टरनेटबाट गरिरहेका छन् । उनीहरुको लागि बैँकसम्म आउनु भनेको थप समय र लगानी खर्च गर्नु पनि भएको छ । त्यस्तै आन्तरिक राजश्व कार्यालयबाट हुने प्यान दर्ताआयकर विवरणमुल्यअभिवृद्धिकर विवरण बुझाउने र रुजु गर्ने लगायतका सबै सेवाहरु इन्टरनेटबाट हुन्छन् । अनलाईनबाट खरिदविक्री वा कारोबार हुने चलन नेपालमा ब्यापक बन्दै गएको छ । यसैले सेवा तथा कारोबारका हिसाबले नेपालमा इन्टरनेटको प्रयोग बढ्दो छ । तर औषत नेपालीको आय कमजोर हुँदा उनीहरुले आफ्नै घरमा कम्प्युटर र त्यसमा इन्टरनेट जोड्न सकिरहेका छैनन् । त्यसैमा पनि इन्टरनेटको शुल्क र क्षमता चुनौति बनेका छन् । ग्राहकको दृष्टिकोणबाट हेर्नेहो भने अझैपनि इन्टरनेटको शुल्क "महँगो" छ । बैँककारोबारी संस्थासरकारी वा गैर सरकारी संस्थाहरुले आफ्ना सबै सेवाहरु दिन तयार भएर बसे पनि ग्राहकहरु त्यसको लागि तयार नहुनु भनेको इन्टरनेटको हकमा शुल्क महँगोपहुँच पूर्वाधारको विकास नहुनु हो । यहाँ इन्टरनेटको उपयोग बैँकिङ्ग क्षेत्र तथा अनलाईन ब्यावसायमा कसरी प्रयोग गरिएको छ भन्ने उदाहरण प्रस्तुत गरिएको छ ।
बैक
विभिन्न बैँकहरुले इन्टरनेटको प्रयोगबाट आफ्ना बैँकिङ्ग सेवाहरु दिइरहेका छन् । इन्टरनेटको त्यस्तो प्रयोगमा इबैँकिङइरेमिट तथा इकमर्श आदि पर्छन् । नेपाल बैँकको इबैँकिङ्ग सेवा हेर्नको लागि (भ्यु मोड) मात्रै छ । जस्तो खातामा रकम हेर्नु । त्यस्तै नविल बैँकमार्फत इन्टरनेटको प्रयोग गरेर ग्राहकहरुले स्कुलको शुल्क तिर्नेदुरसंचारको ल्याण्डलाइन तथा मोबाइलको शुल्क तिर्ने क्रेडिड कार्डको पैसा तिर्ने तथा अनलाइन पैसा जम्मा गर्ने काम इन्टरनेट बैँकिङ्गबाट हुन्छ । बैँकहरुले इन्टरनेटबाट किनवेच गर्न व्यापारी र ग्राहकवीचको मध्यस्तता पनि गर्छ । ग्राहकले अनलाइन सपिङ्ग गरेर नेपाल बैँकले दिएको सुविधा मार्फत पिन नम्बर हानेमा ग्राहकको खाताबाट पैसा व्यापारीको खातामा जाने सुविधा छ । अनि व्यापारीले सामान डेलिभर गर्छ । अनलाइन व्यावसाय गर्ने मुन्चा डटकम लगायतका अन्य करिब १५ ओटा 'मर्चेन्ट'लाई नेपाल बैँकले इकमर्श सेवा दिएको छ । विदेशबाट इन्टरनेटमार्फत आएको पैसालाई बैँकहरुले आफ्नो शाखा वा एजेन्ट मार्फत देशव्यापी बाँड्ने गर्छन् । त्यसको लागि नेपाल बैँकले इन्ट्रानेट प्रयोग गरि आफ्नो शाखाबाट बाँड्छ भने नविल बैँकको बैँकिङ शाखाहरु देशव्यापी नभएकाले एजेन्सीमार्फत बाँड्छ । नविलका २ हजार भन्दा बढी एजेन्टहरुले इन्टरनेटमार्फत दर्ता (लगिन) गरेर वितरण गर्छन् ।
बैँकहरुले इन्टरनेट मार्फत आफ्ना सेवाहरु दिएपनि कारोबार गर्ने ग्राहकहरु कम छन् । नेपाल बैँकमा इ बैँकिङ्ग सेवाहरु कारोबार गर्ने हिसाबमा छैनन् । तर दिनमा करिव ६ हजार जति ग्राहकले इन्टरनेटबाट बैँकिङ्ग सेवा हेर्छन् । नविल बैँकमा १५ हजारले उसको इन्टरनेट सेवा 'नविल नेट' हेरेका हुन्छन् । ति मध्ये निकै कम प्रतिशतले त्यसबाट कारोबार गर्छन् । इन्टरनेटमार्फत कारोबारीको संख्या कम हुनुको कारण विश्वास स्थापित नहुनु हो । बैँकबाट कारोबार गर्दा ढुक्क हुन्छ भन्नेमा ग्राहकहरुको विश्वास बढ्न सकेको छैन । त्यसैले हेर्नको लागि मात्र प्रयोग भएको छ । साथै इन्टरनेटबाट कारोबार गर्न जान्ने व्यावसायीले मात्र बैँकको स्टेटमेन्ट अफिसमा नै बसेर लिन्छ । इन्टरनेटको पहुँच भएका अरु ग्राहक अझै बैँक धाउने चलन छ ।
बैँकहरुले सेवा सुविधा संचार गर्नको लागि दुइथरी नेटवर्कको प्रयोग गरेका हुन्छन् । पहिलो इन्टरनेट र दोस्रो इन्ट्रानेट । बैँकका आन्तरिक शाखाहरुसँग जोडिनको लागि इन्ट्रानेटको प्रयोग गरिएको हुन्छ । इन्ट्रानेटको पोर्टलमा शाखासँग सम्बन्धित विषयहरु राखिएको हुन्छ । उदाहरणको लागि आफ्ना कर्मचारीहरुलाई एसएमएस बैँकिङ्ग कसरी गर्ने कुन सर्भिसमा समस्या आयो भने हेल्प डेक्समा कसलाई सम्पर्क राख्ने जस्ता विषयहरु समावेश हुन्छन् । आन्तरिक कुराकानी गर्न 'च्याट सिस्टम' आदि इन्ट्रानेटको पोर्टलमार्फत हुन्छ । बैँकहरुलाई इन्ट्रानेट सेवा दिन विभिन्न १० ओटा आइएसपीहरुले नेदुप्राबाट अनुमति पत्र लिएका छन् । इन्ट्रानेट दिने आइएसपीहरुले इन्टरनेट सेवा पनि दिन्छन् । कसैको सेवा कम चलेको अवस्थामा प्रयोगको लागि अर्को प्रदायकको सेवा पनि सँगै लिएका हुन्छन् । त्यसैले एउटा बैँकमा विभिन्न आइएसपीहरुका सेवाहरु हुन्छन् । जस्तै नेपाल बैँकले मुख्यगरी मर्कन्टाइलको र केही शाखाहरुमा एडिएसएलको सेवा लिएको छ । नविल बैँकले सुविसुमर्कन्टाइल र वर्ल्डलिंकको सेवा लिइरहेको छ । यी प्रदायकहरुमा पनि प्राथमिक सेवाको रुपमा तार विछाएर लगेको अप्टिकल फाइबर र द्वितिय सेवाको रुपमा वेतारे 'वायरलेस' सेवा दुवै लिएको हुन्छ । 
अनलाइन व्यावसाय
अनलाइन व्यावसाय अन्तर्गत अनलाइन सपिङ वेबसाइट वा पोर्टलहरु पर्छन् । अनलाइन मनि ट्रान्सफर तथा रेमिट्यान्सहरु पनि पर्छन् । फेसबुकशिक्षासम्बन्धी वेबसाइट पनि इ कमर्शको अंग नै हुन् । मान्छेको व्यस्त जीवनशैलीबाट अनलाईन व्यवसायको सोच आएको हो । नेपालमा दिनप्रतिदिन धेरै वेबसाइटहरु खोलिएका छन् । पछि यस्ता वेबसाइटहरु कारोबारका माध्यमको रुपमा विकसित हुँदै गएका छन् । कम्तिमा ३३ प्रतिशत जनसंख्याले इन्टरनेट प्रयोग गरेका छन् भन्ने नेपाल दुरसंचार प्राधिकरणको तथ्यांक छ । सन् २०१३ र २०१४ को तुलना गर्ने हो भने पछिल्लो अवधिमा इन्टरनेट प्रयोगकर्ताहरुको संख्या उल्लेख्य रुपमा बढिरहेको छ । यस हिसाबले कुनैपनि इकमर्श कम्पनी चलायो भने चल्ने संभावना रहन्छ । इन्टरनेट प्रयोग गर्नेको डेटा अनुसार यसो भन्न सकिन्छ । यहाँ इन्टरनेटको प्रयोग गरेर व्यावसाय गर्ने मुन्चा डट कमभाटभटेनी डट कम जस्ता अनलाईन पोर्टलहरुको उदाहरणबाट इन्टरनेटको प्रयोगलाई हेरिएको छ ।
मुन्चा डटकम
विदेशमा भएका नेपालीले नेपालमा रहेको आफ्नो परिवारलाई उपहार पठाओस् भन्ने उद्देश्यले २०५७ सालदेखि मुन्चाले वेबपेज मार्फत अनलाइन ब्यापार सुरु गरेको थियो । वेबपेजमा देखिने बस्तुलाई इन्टरनेटको माध्यमबाट मगाएपछि वितरककै पसलबाट मुन्चाले घरसम्म पुराउने गर्छ । अनलाईनबाट पैसा तिर्ने अभ्यास सून्य नै नभए पनि समान डेलिभरी पुराएपछि पैसा लिने गरेको छ । त्यस्तै अनलाईन व्यावसायमा मान्छेलाई अभ्यस्त गराउन विभिन्न अनलाईन पोर्टल सृजना गरेको छ । जसमा मुन्चा डटकम बाहेक मनि ट्रान्सफर पोर्टलबजार डटकम डटएनपीगीतसंगीत तथा भिडियोहरु अनलाइनबाट कानुनी रुपमा डाउनलोड गर्ने वेबपेजअनलाइनबाट पैसा तिर्नको लागि आइपे डटकम डटएनपी नेपालका सबै समाचारहरु एकै ठाउँ राख्ने वेबसाइट नेपाल अपक्लोज डटकम गेमिङ्ग वेबसाइटमा बुस डटकम छ जुन अनलाइनबाट मनोरञ्जनात्मक खेल खेल्नलाई प्रयोग हुन्छ । लगायत अहिलेसम्म मुन्चाका यस्ता ८ ओटा वेबसाइटहरु छन् । यसले अनलाइन व्यापारको चक्र बनाउन मद्दत गरेको छ ।
सन् २०१२ को मध्यसम्म मुन्चा काठमाडौँमा मात्र सिमित थियो । समान पाएपछि मात्र पैसा दिने 'क्यास इन डेलिभरी' प्रणाली काठमाडौँ बाहिर लागू गरेपछि त्यहाँका ग्राहकहरु अनलाइन सपिङमा रुचि देखाएका छन् । त्यसपछि मुन्चाले काठमाडौँ बाहिर पनि अनलाईन व्यावसाय विस्तार गर्यो । अहिले काठमाडौँ बाहिर मुन्चाका १५ ओटा शाखाहरु छन् । मुन्चामा ३५ प्रतिशत जति काठमाडौँ बाहिरबाट अनलाइन अर्डर आउँछ । मुन्चामा सबै ग्राहकको लागि मुल्य एकैकिसिमको हुने हुँदा यसको वेबसाइटमा काठमाडौँ बाहिरका व्यक्तिले पनि रुचि देखाएका छन् । २०७१ साउनसम्ममा एक दिनमा मुन्चाको वेबपेजबाट समान अर्डर गर्ने मान्छेहरु ५५ वा ६० भन्दा बढि हुँदैनन् । तर अनलाईन पोर्टल हेर्ने चाहिँ दिनमा लगभग ७ हजार हुन्छन् । यसरी ०.८५ प्रतिशत मान्छेहरुले मात्र अनलाइन सपिङमा कारोबार गरेको देखिन्छ । त्यसकारण अनलाईन व्यावसायका केही चुनौतिहरु छन् ।
अनलाईनमा जुन समान देखिएको छ उही सामान पाउने ग्यारेन्टीविक्री भैसकेपछि हुने सर्भिसको ग्यारेन्टीनठगिने ग्यारेन्टी हुन्छ भन्ने अझै पनि मान्छेलाई लागेको छैन । महँगो भएपनि मान्छेले आफै गएर वस्तु हेर्न चाहन्छ । यसरी मान्छेको ब्यवहार परिवर्तन गर्ने चुनौति पनि अनलाईन व्यावसायमा छ । विक्री पछि पनि वस्तुको गुणात्मक ग्यारेन्टी दिन थालेमा मान्छेले किन्न सुरु गर्छन् भन्ने विश्वास अनलाईन व्यावसायीको छ । अहिले सबैभन्दा अप्ठ्यारो भनेको अनलाइन पेमेन्ट सिस्टम हो । यो अप्ठ्यारोलाई 'क्यास एन्ड डेलिभरी'ले समाधान गरे पनि नेपालकै अनलाईन पेमेन्टहरु इसेवाआइपेएनआइबिएलको प्रक्रिया लम्बेतान भएकाले पनि रुचि नदेखाउनुको एउटा कारण हुनसक्छ । बैँकमा निवेदन दिएर अनलाइन बैँकिङ्गको सेवा लिनुपर्छ । त्यसपछि पासवर्ड दुरुस्त मिल्नुपर्ने र निश्चित समयभित्र पासवर्ड परिवर्तन गर्नुपर्ने बाध्यता छ । त्यसैले नेपालको पेमेन्ट प्रणाली छरितो देखिँदैन । त्यसैले अनलाईन पेमेन्टको प्रयोग पनि कम छ ।
फुडमान्डु डटकम
अनलाईन मार्फत अर्डर लिएर खाजा तथा खाना पुराउने काम फुडमान्डु डटकमले गर्छ । कर्पोरेट हाउसमा काम गर्ने व्यक्तिको व्यस्त जीवनशैली तथा विदेशबाट नेपालमा आइबसेका समुदायलाई ध्यानमा राखेर २०६७ सालदेखि इन्टरनेटको माध्यमबाट खाना अर्डर लिएर ग्राहकसम्म पुराउने सेवा थालेको थियो । नेपाल टेलिकमको एडिएसलले २०६५ सालमा सेवा विस्तार गरेपछिको सन्दर्भमा यसको सुरुवात भएको थियो । यसले वि.सं. २०६७ मा संस्था स्थापना गर्दा २० ओटा र २०७१ सालसम्म ७५ ओटा रेष्टुरेन्टको खाना तालिका (मेनु) आफ्नो अनलाईन पोर्टलमा राखेको छ । ग्राहकले यसको वेबपेजमा गएर आफुलाई मन परेको रेष्टुरेन्टको मेनुबाट खाना छनोट गरी अर्डर गर्न सक्छन् । अर्डर गरेको केही समयपछि यसले अनलाइन तथा फोन दुवैबाट निश्चित गर्छ र बढिमा ४५ मिनेट भित्रमा सम्बन्धित ठाउँमा पुराउँछ । फुडमान्डुले गुगलबाट नक्सांकन गरेर दुरी तय गर्छ र त्यसअनुसार सेवाशुल्क लिनेगरेको छ । १ हजार वा १५ सय रुपैँयाको अर्डर गरेमा काठमाडौँको कुनैपनि ठाउँमा शुल्क लिँदैन । यी सबै पक्षहरुबारे ग्राहकले अनलाइनबाट थाहा पाउँछन् ।  

काठमाडौँको चक्रपथ भित्रको ठाउँलाई फुडमान्डुले आफ्नो सेवा क्षेत्र बनाएको छ । नेपालमा आएर बसेका विदेशी समुदायविभिन्न संघसंस्थाहाउजिङ्ग कम्पनीमा बस्ने व्यक्तिहरुनियमित ग्राहक छन् । अफिसमा काम गर्ने व्यक्तिहरु पनि यसका सदस्य छन् । पहिला विदेशी ग्राहक धेरै थिए र २०७१ सालसम्म आइपुग्दा नेपालीहरु बढेका छन् । एकदिनमा फुडमान्डुलाई १ सय ओटा अर्डर आउँछन् । त्यसमध्ये ६० ओटा अनलाइनबाट आउँछ । ४०ओटा फोनबाट । अहिले ७५ प्रतिशत घरबाट अर्डर हुन्छ । बाँकी कर्पोरेट क्षेत्रबाट । वि.सं. २०६७ मा ५ जना२०६८ मा २० जना२०६९ मा ३५ जना२०७० मा  ६० जनाले र २०७१ साउन सम्म १ सय जनाले एकदिनमा फुडमान्डुबाट खाजा खाना अर्डर गर्छन् । यसले अनलाईन व्यावसायको बढ्दो ढाँचा देखाउँछ ।

फुडमान्डुको केही चुनौतिहरु पनि छन् । मुन्चाको जस्तै यसले पनि अनलाइन पेमेन्ट प्रणालीमा जोड दिएको छैन । यो पनि 'क्यास इन डेलिभरी'मा नै चलेको छ । पेमेन्ट सिस्टमले ३ देखि ३.७५ प्रतिसतसम्म सर्भिस चार्ज लिने र कुनै अवस्थामा रद्द गर्न पर्यो र ग्राहकले अर्को अर्डर गरेमा पेमेन्ट सिस्टमले २ पटक सर्भिस चार्ज काट्छ । अर्डर रद्द नहुने अवस्थामा अनलाईन पेमेन्ट राख्न मिल्छ । तर सानो सानो प्रतिशत लिएर काम गर्ने र सेवा दिने क्षेत्र सानो हुँदा  अनलाईन पेमेन्ट प्रणालीमा फुडमान्डु जस्ता संस्था जान नसकेका हुन् । त्यस्तै लोडसेडिङपेट्रोलको अभाव बाहेक आइएसपीहरुले राम्रोसँग इन्टरनेट सेवा दिन नसक्दा फुडमान्डुले २ ओटा इन्टरनेट प्रदायकसँग सेवा लिनु परेको छ । फुडमान्डुले सुविसु र एनसेलको सेवा लिइरहेको छ ।

यसरी नेपालमा इन्टरनेटको विस्तार र प्रयोगको ढाँचा बनेका छन् । वेब पोर्टल हेर्नेको संख्या र इन्टरनेटबाट सेवा सुविधा प्रयोग गर्नेको संख्यामा ठूलो ग्याप देखिन्छ । यसले अझैपनि इन्टरनेट मनोरञ्जनको माध्यमको रुपमा लिएको मान्न सकिन्छ । मान्छेको आवश्यकता के छ भन्ने पक्षले पनि इन्टरनेटको प्रयोगमा वृद्धि ल्याउँछ । जस्तो  म्याग्दी जिल्लाको नाङ्गी गाउँबारेको एक अध्ययनमा त्यहाँ इन्टरनेटको प्रयोग "जनसेवा"को लागि थालिएको सन्दर्भमा 'मागमुखी' जस्तो देखिँदा सफल हुने र 'आपुर्तीमुखी' जस्तो देखिँदा चुनौति थपिएको अनुभव छ । त्यहाँ इन्टरनेटको प्रयोग गरेर स्वास्थोपचार गर्ने योजना 'मागमुखी' भएकाले प्रभावकारी भयो । तर त्यसको तुलनामा गाउँका मान्छेहरुले इन्ट्रानेट मार्फत आर्थिक कारोबार गर्न खोलिएको टेलिमिडियामा अभ्यस्त हुन समय लागेकाले व्यावसायिक प्रयोजनको लागि इन्टरनेटको उचित प्रयोग हुन सकेन । गाउँलेले इ-कमर्शको आधारभूत ज्ञान नै बुझ्न बाँकी हुनाले यसले सफलता पाएन । यसरी इन्टरनेट प्रयोगका आधारभूत पक्षहरुबारे ज्ञान नहुँदा इन्टरनेट प्रयोगमा समस्या देखिएको छ । त्यसकारण यस्ता केही पक्षमा नीतिगत तह र सरोकारवालावीच समन्वयको आवश्यकता देखिन्छ ।
 नेपालमा इन्टरनेटको पहुँच र प्रयोग सम्बन्धी मार्टिन चौतारीले गरेको परियोजनामा आधारित ।

इन्टरनेटको विस्तारमा टेलिकम कम्पनी



                                                                          

नेपालमा ६ ओटा दुरसंचार सेवा प्रदायक कम्पनी छन् । जसमध्ये दुरसंचार सेवा बजारमा नेपाल टेलिकम र एनसेलको बजार प्रभुत्व देखिन्छ । यी दुवै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु पनि हुन् । नेपाल दुरसंचार प्राधिकरणले उल्लेखित कम्पनीलाई फ्रिक्वेन्सी विना "अनुभव" बितरण गर्दा इन्टरनेट सेवा प्रदायकहरुले आफूले सेवा विस्तार गर्न सक्ने फ्रिक्वेन्सी समेत पाइराखेका छैनन् । यो गैर "अनुभव"ले आइएसपीको भन्दा इन्टरनेट सेवा प्रदान गर्ने सन्दर्भमा टेलिकम कम्पनीको प्रभावकारिता बढ्दो देखिन्छ । यहाँ बजारमा प्रभुत्व देखाउने २ टेलिकम कम्पनी नेपाल टेलिकम र एनसेलले इन्टरनेट विस्तारमा खेलेको भूमिकालाई चर्चा गरिएको छ ।

नेपाल टेलिकम
नेपाल टेलिकमले २०५७ सालदेखि डाटा इन्टरनेट सेवा अन्तर्गत डायलअपबाट इन्टरनेट सेवा दिन सुरु गरेको हो । यसले डायलअपजिपीआरएसएडिएसएल हुँदै हाल जिएसएम मोवाइल प्रविधिबाट तेस्रो पुस्ता -थ्रीजी_को सेवा तथा आइपी सिडिएमए प्रविधिबाट इभिडिओ सेवा र चौथो पुस्ताफोरजीको वाइम्याक्स प्रविधि मार्फत कम्पनीले वायरलेस ब्रोडव्याण्ड इन्टरनेट सेवाको विस्तार गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधीकरणको डाटा अनुसार नेपाल टेलिकमले ५० प्रतिशत जति बजार हिस्सा ओगटेको छ । तर यो बजार हिस्सा धेरै हुनुमा धेरै प्रकारका सेवा वेच्न पाएर पनि हो । उसले डायल अपएडिएसएलजिपिआरएसइडिजिइडब्ल्युसिडिएमएसिडिएमए वनएक्सइभिडिओवाइम्याक्स गरी नौ ओटा सेवाहरु बेचिरहेको छ । नेदुप्राको मिस रिपोर्ट अनुसार यसका कम्तिमा ४७ लाख इन्टरनेट प्रयोगकर्ता छन् । यो इन्टरनेट प्रयोगकर्ताको रुपमा पहिलो स्थानमा छ । जबकी एउटा मात्र सेवा बेचिरहेको एनसेलका ३९ लाख इन्टरनेट प्रयोगकर्ता देखिन्छन् ।
नेपाल टेलिकमले २०६५ वैशाख देखि काठमाडौँबाट सुरु गरेको तामाको तारमा आधारित एडिएसएल इन्टरनेट सेवा देशका ७५ ओटा जिल्लाहरुमा उपलब्ध गराएको छ । यसको ७० प्रतिशत व्याण्डवीथ प्रयोग एडिएसएलमा नै छ । यो सेवा व्यक्तिगत तथा संस्थागत भनेर दुइ तरिकाले वितरण गरिएको छ । ल्याण्डलाइन सेवा मार्फत इन्टरनेट दिन सक्दा यसको प्रयोग बढ्दो छ । त्यस्तै नेपाल टेलिकमले थ्रिजी सेवालाई मुख्य जोड दिएर देशभर विस्तार गर्न थालेको छ । लुम्बिनीपोखराचितवनहेटौँडा र धवलागिरी अञ्चलका सबै जिल्ला मुस्ताङगोर्खा लगायतका क्षेत्रमा थ्रीजी सेवा विस्तार गरेको छ । त्यसैगरी देशका सबै गाविस तथा नगरपालिकाहरुमा न्यूनतम २५६ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गर्ने लक्ष अनुरुप २ लाख लाइन क्षमताको प्रविधिमा आधारित उपकरण वाइम्याक्स २०६९ कार्तिक देखि संचालनमा ल्याइएको छ । यसका पनि करिब ९ हजार ग्राहक रहेका छन् । यो उच्च गतिको इन्टरनेट सेवा ७० जिल्लामा पुगेको छ । बैँकिङ्ग तथा वित्तिय क्षेत्रविश्वविद्यालयकुटनीतिक नियोग तथा प्राविधिक क्षेत्रमा काम गर्ने संस्थाहरुलाई उपयोगी देखिने वाइम्याक्समा विभिन्न क्षमताका तीनथरी उपकरणले १५ किलोमिटर टाढासम्म रहेर इन्टरनेट चलाउन सकिन्छ । यो सेवा ७० जिल्लाका उपभोक्ताहरुलाई वितरण गरिएको छ । त्यसबाहेक नेपाल टेलिकमले सिडिएमए वायरलेस इन्टरनेट र मोवाइल प्रविधिमा आधारित जिएसएम सेवा आफूले प्रयोग गरिरहेको मोबाइल सेटमा चलाउन सकिन्छ । यसरी नेपाल टेलिकमले विभिन्न ग्राहकलाई ध्यानमा राखेर आफ्ना सेवाहरु देशभर विस्तार गरेपनि केही आइएसपीको भन्दा यसको मूल्य महँगो पनि छ । जस्तो क्लासिक टेकले कम्तिमा पनि ५१२ केविपिएस क्षमताको ब्याण्डवीथ एकहजार रुपैँयामा बेच्छ । भने एनटिसीले एडिएसएल अन्तर्गतको १९८ केविपिएस क्षमताको ब्याण्डवीथलाई ९ सय रुपैँयामा लिन्छ । भने ३८४ केविपिएस गति क्षमताको व्याण्डवीथलाई १५ सय रुपैँया लिन्छ । इन्टरनेटको क्षेत्रमा प्रतिस्पर्धाको कारणले तुलनात्मक रुपमा सानो खेलाडि भएपनि क्लासिक टेकले मुल्य र गुणस्तर दुवै हेरेको देखिन्छ । नेपाल टेलिकम पूर्वाधार र प्राविधिक क्षमताका हिसाबले उच्च हुँदाहुँदै पनि यो उदाहरणले पनि ठूला सेवा प्रदायकले सानाले भन्दा मूल्य महँगो लिएको देखिन्छ । पूर्वाधार साझेदारीको अवधारणामा जान नरुचाउने कारणले आइएसपीले भन्दा महँगो मूल्यको इन्टरनेट सेवा ठूला टेलिकम प्रदायकले लिइरहेका छन् ।
पूर्वाधार र प्रविधिका हिसाबले नेपाल टेलिकम अन्यभन्दा अगाडि छ । टेलिकमले २०७१ सम्म ५८ जिल्लामा इन्टरनेटको लागि फाइबर सञ्जाल विस्तार गरिसकेको छ । पूर्वको विर्तामोड देखि पश्चिम महेन्द्रनगरसम्म महेन्द्र राजमार्गका २५ ठाउँमा अप्टिकल फाइवर विस्तार गरेको छ । त्यसबाट काठमाडौँ र पोखरा लगायतका ४० ठाउँबाट फाइबर कनेक्सन दिन सकिन्छ । टेलिकमले विद्युत् प्राधिकरणसँगको सहकार्यमा हिमाली र पहाडी क्षेत्रमा पनि अप्टिकल फाइबर विस्तार गर्न लागेको छ । सुनसरीको दुहबीदेखि इटहरीसम्म वैकल्पिक व्यवस्थाका लागि प्लस कम्युनिकेसन प्रालिको फाइबर भाडामा लिएको छ । अन्य ठाउँमा पनि यसले फाइवर विस्तारको लागि निजी क्षेत्रसँग सहकार्य गरेको छ । नेपाल टेलिकमले आर्थिक वर्ष ०७१/७२ भित्र देशका सबै जिल्लामा अप्टिकल फाइबरको सञ्जाल विस्तार गर्ने भएको छ । मोबाइल, टेलिफोन तथा डेटा सेवाको गुणस्तर सुधार गर्नका लागि कम्पनीले सबै जिल्ला सदरमुकाममा अप्टिकल फाइबरको नेटवर्क विस्तार गर्न लागेको हो । नेपाल टेलिकमले जिल्ला सदरमुकाम र यसको आसपास तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । पूर्वको मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा ३३ ओटा विटिएस टावर, मध्यपश्चिमाञ्चल विकास क्षेत्रका बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, रोल्पा, सल्यान, प्युठान र जुम्ला जिल्लामा ३७ वटा विटिएस टावर र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका सम्पूर्ण ९ वटै जिल्लामा ३७ वटा टावर मार्फत थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । पूर्वाधार विकासका हिसाबले नेपाल टेलिकम अन्यभन्दा अब्बल भएपनि यसले आफूले धेरै बर्ष लगाएर बनाएको पूर्वाधार भन्दै अन्य नयाँ आइएसपीहरुसँग साझेदारी गर्न मानिरहेको छैन् । यसले प्रतिस्पर्धालाई कमजोर गराउने र एकाधिकार बढाउने देखिन्छ ।

एनसेल
एनसेल नीजि क्षेत्रको जिएसएम मोबाइल अप्रेटर कम्पनी हो । यसले २०६२ सालमा निजीतर्फको मोबाइल सेवा प्रदायकका रुपमा जीएसएममा आधारित मोबाइल सेवा सञ्चालन गरेको थियो । एनसेलले २७ ओटा जिल्लाको ३४ ठाउँमा आफ्ना एनसेल सेन्टर खोलेको छ । हालसम्म नेपालका १६ ओटा शहरहरुमा थ्रीजी सेवा संचालन गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दोस्रो सबैभन्दा धेरै इन्टरनेट ग्राहक भएको टेलिकम कम्पनी भएको छ । यसका ३९ लाख जति इन्टरनेट ग्राहक छन् । 
एनसेलबाट मोबाइल तथा कम्प्युटरमा इन्टरनेट चलाउन विभिन्न सेवा सुविधाको प्रदान गरेको छ । डाटा सेवा प्रदायक कम्पनी खास गरी नेपाल टेलिकमसँग प्रतिस्पर्धा बढ्दै जान थालेपछि एनसेल गुणस्तर र क्षमता वृद्धिमा केन्द्रित भएको छ । इन्टरनेटको गति बढाएपछि ग्राहकको संख्या बढ्नसक्ने भन्दै यस्ता योजनाहरु ल्याएको छ । ग्राहकहरुले महँगो सेवा भनेपनि विभिन्न योजना र उच्च गतिमा इन्टरनेट चल्ने हुनाले यसको प्रयोग बढ्दो छ । यसले कम्प्युटरमा इन्टरनेट सेटअप गर्नको लागि एनसेल डेटाकार्ड प्रयोग गर्ने देखि लिएर मोबाइल डिभाइसमा विभिन्न क्षमता अनुसारका विभिन्न प्रोटोकलहरू (वाप, जीपीआरएस्, एज) मार्फत इन्टरनेटमा जोडिन सक्ने योजनाहरु ल्याएको छ । यसबाट इन्टरनेट चलाउन, इमेल चेक गर्न तथा ह्यान्डसेटलाई पर्सनल कम्प्युटरसँग जोडेर वायरलेस इन्टरनेटका लागि मोडेमका रूपमा चलाउन सकिने सुविधाहरु छन् । एनसेलका सबै सिमकार्डहरूमा पहिले नै मोबाइल इन्टरनेट सुचारु गरिसकिएको हुन्छ । एनसेलले मोबाइलट्याब्लेटल्यापटप जस्ता उपकरणमा छिटो इन्टरनेट सेवा दिन ग्राहकका लागि इन्टरनेटका विभिन्न योजनाहरु ल्याएको छ । त्यसको लागि एनसेल सुपरनेटफेसबुक प्याकट्वीटर जीरोनिशुल्क विकीपिडियाअन्लिमिटेड इन्टरनेट दिएको छ । निशुल्क विकीपिडिया भनिएपनि विकीमा रहेका बाह्य लिंकहरु हेर्दा भने चलिआएको इन्टरनेट शुल्क लिनेगरेको छ ।
यसरी नेपालमा एनसेलनेपाल टेलिकमको कारणले मुलत: मोबाइल इन्टरनेटको प्रयोगमा वृद्धि भएको छ । यसले इन्टरनेट प्रयोगको सुरुवाती चरणमा मद्दत गरेको छ । नेपाल टेलिकम र एनसेलले नेपालको दुर्गम गाउँहरुमा लाखौँ ग्राहक बनाउँदा आइएसपीहरुलाई पनि त्यसको फाइदा हुन्छ । उनीहरुले तुलनात्मक रुपले तीब्रगुणस्तरीय र सस्तो सेवा लिएर ती ठाउँमा प्रतिस्पर्धा गर्न सक्छन् । काठमाडौँमा नेपाल टेलिकमले भन्दा आइएसपीले सस्तो मुल्यमा इन्टरनेट सेवा दिनसक्नु यसको उदाहरण हो । नेपाल टेलिकम र एनसेलको इन्टरनेट सेवा हुँदाहुँदै पनि आइएसपीहरुको ग्राहक संख्या बढ्दै जानुले पनि त्यो देखाउँछ । उच्च गतिको इन्टरनेट तथा विभिन्न योजनाले गर्दा इन्टरनेटको विस्तारसँगै यसको प्रयोगमा पनि विविधता देखिएको छ । इन्टरनेटलाई मात्र मनोरञ्जनको माध्यमको रुपमा लिइएको छैन । विस्तारै इन्टरनेटको प्रयोगबाट कारोबार गर्ने तथा आफ्ना सेवाहरुबारे जानकारी दिने चलन बढिरहेको छ ।

 नेपालमा इन्टरनेटको पहुँच र प्रयोग सम्बन्धी मार्टिन चौतारीले गरेको परियोजनामा आधारित ।