प्राय: सरोकारवालालाई नीति कसरी बन्छ‚ कस्ले बनाउँछ थाहा हुँदैन । नेपाल सरकारले नीतिको मस्यौदा
गर्न विद्वान तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई लगाउँछ । मस्यौदा नीतिमा छलफल
गर्ने भनेर सरोकारवालालाई तारन्तार बोलाउँदा पढ्ने समय पनि हुँदैन । त्यसैले 'नीति
राम्रो छ, कार्यान्वयन
गर्नुस्'
भन्नुबाहेक सरोकारवालासँग विकल्प हुँदैन । अर्को तर्फ नीति निर्माणको तहमा
बसेका कर्मचारीहरु नै स्थीर नहुनुको समस्याले काम हुन सकेको छैन । कर्मचारीहरुमा सुरुमा
जोसले केही नयाँ काम गरुँ लागि पनि उसको तुरुन्तै सरुवा हुँदा कार्यक्रम लागू गर्न
सक्दैन । नयाँ कर्मचारीले फेरि सून्यबाट सिक्नुपर्ने वाध्यताले यो क्षेत्रमा
समस्या उत्पन्न गरेको छ । इन्टरनेट सम्बन्धी नीति
बनेपनि सरकारको प्राथमिकतामा नपर्दा कतिपय समस्याहरु थपिएका छन् । इन्टरनेट तथा
दुरसञ्चार क्षेत्रलाई अनुगमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधीकरण विगत २
वर्षसम्म नेतृत्वविहिन भयो । यस्तो अवस्थामा सरकारले मुद्दालाई फास्ट्र्याकमा लगेर
टुंगाउन सर्वोच्च अदालतलाई अनुरोध गर्न सक्थ्यो । त्यस्तै नेपालमा ब्रोडब्याण्ड नीतिको कुरा उठे पनि सरकारले यसलाई प्राथमिकतामा राखेको छैन
। नेपालमा ब्रोडब्याण्ड
मास्टर प्लान अरु देशभन्दा पहिला नै सुरु गरेपनि अझैसम्म कार्यान्वयन गर्न सकिएको
छैन । यो उदासिनताले इन्टरनेटलाई अझैपनि विलासिताको माध्यम हो भन्ने
मानसिकता सरकारमा रहेको छ । इन्टरनेटको पहुँच र विस्तारमा नीतिगत तहमा ३ ओटा
समस्या देखिएका छन् । पहिलो आइसिटीको समानान्तर विकास‚
पूर्वाधार साझेदारीको समस्या र नयाँ प्रविधिको लाइसेन्स वितरण गर्ने विषयमा सुधार
हुनु आवश्यक देखिन्छ ।
समानान्तर
विकास
आइसिटी
क्षेत्रलाई अरुसँगै समानान्तर हिसाबमा विकास गर्नुपर्छ । यदि समानान्तर विकासको
कुरा मान्ने हो भने आइसिटी नीति कार्यान्वयनको पक्ष फितलो देखिन्छ । ग्रामीण सुचना
केन्द्र (टेलिसेन्टर) योजना लागू भएपनि त्यसको कार्यान्वयन फितलो देखियो । हुलाक
मार्फत खोलिएका टेलिसेन्टरहरुले कम्प्युटर तालिम‚
टाइपिङ‚ इन्टरनेट
लगायतका सुविधा दिने उद्देश्य राखेपनि वेकामे बनेका छन् .
बंगलादेशमा टेलिसेन्टरहरुबाट त्यहाँका व्यक्तिहरुले
सेवा लिइरहेका छन् । नेपालमा टेलिसेन्टर फेल हुनुको कारण सरकार गासबास कपासमा
अल्झेर हो । उदाहरणको लागि डा= बाबुराम भट्टराई
अर्थमन्त्री हुँदा स्कूलको लागि कम्प्युटर खरिद गर्ने प्रक्रिया "विलासिताको साधन"
भन्दै बन्द गराइयो ।
भारतमा पनि गरिबी छ सँगसँगै आइटी क्षेत्र अघि बढिरहेको नै छ । नेपालमा सरकारले
आफ्ना सेवाहरु इन्टरनेटमार्फत तत्कालै गाउँमा पुराउन नसकेपनि कम्तिमा सदरमुकामको
मान्छेसम्मले उपयोग गर्न पाउनुपर्ने हो । यसको सुरुवात नै भएको छैन । सबै एकैचोटी
गज्जब गर्छु भन्ने पनि संभव हुँदैन । त्यस्तै डिजीटल सिग्नेचर लागि २०६५ सालमा
प्रमाणीकरणको कार्यालय खुल्यो । अहिलेसम्म त्यसले
डिजीटल सिग्नेचर लागू गर्न सकेको छैन । अहिले बैँकिङ क्षेत्रले आउटसोर्सिङबाट
डिजीटल सिग्नेचरको काम गरिरहेको छ । अर्को समस्या भनेको
पेमेन्ट गेटवे नै छैन । नेपालमा डलरको काम गरेमा त्यसलाई कसरी पठाउने भन्ने अन्योल
छ । नीजि क्षेत्रले राष्ट्रबैँकसँग मिलेर गर्नुपर्छ । यो सबै पक्षहरु हुनसक्ने काम
भएपनि सरकारले प्राथमिकतामा राखेको देखिँदैन ।
पूर्वाधार साझेदारीको आवश्यकता
भारतसहितका अन्य मुलुकमा दूरसञ्चारमा
पूर्वाधार साझेदारीको अवधारणा अघि बढिसकेको छ । विभिन्न मुलुकले
पूर्वाधार साझेदारी गर्ने कम्पनीलाई सहुलियत दिने गरेका छन् । पूर्वाधार साझेदारीले
यस क्षेत्रमा हुने दोहोरो लगानी रोकिनुका साथै जोखिम पनि कम हुन्छ ।
घरैपिच्छे रहेका मोबाइल टावरलगायतका पूर्वधारले सहर र ग्रामीण
क्षेत्रसमेत कुरूप बनाइरहेका छन् । नेपाल दुरसंचार प्राधिकरणले कनेक्टिभीटी
सम्बन्धमा निकालेको डेटाले ९१ प्रतिशत मान्छेसँग टेलिफोन पहुँच र ३३ प्रतिशतसँग इन्टरनेट छ भनेको छ । डेटा ठिक भएपनि
त्यसको गुणस्तर के छ भन्ने कुरा यसले बताउँदैन । सेवाको गुणस्तरियता मापन गर्ने
डेटा चाहिँ नेदुप्राले बाहिर प्रकाशित गर्न सकेन । जति आइएसपी छन् त्यति ओटा
टावरहरु देखिन्छन् । कसैको पनि एकिकृत सेवा छैन । ठूला अपरेटरले एकिकृत सेवा
चाहँदैनन् । नेपाल टेलिकमले ३०/४० वर्ष मेहनत गरेर बनाएको नेटवर्क समय
र लगानीको हिसाबले उसले दिन चाहँदैन । आइएसपीलाई नेटवर्क माग्न "अधिकार"
नभएको टेलिकम कम्पनीले बताउँछ । यसरी कुनै अपरेटर आफूले मेहनत गरेर बनाएको नेटवर्क
साझेदार गर्न नचाहने हुँदा दोहोरो लगानीको अवस्था देखिएको छ । यस्तो अप्ठ्यारोमा
सरकारको समन्वय हुनसक्थ्यो । समन्वयको सन्दर्भमा शिक्षा मन्त्रालय छुट्टै
गएको छ‚ एनटिए छुट्टै गएको छ‚ विज्ञान मन्त्रालय छुट्टै गएको छ‚ संचार मन्त्रालय छुट्टै गएको छ । यसले
पनि भद्रगोलको अवस्था तथा अन्तरमन्त्रालय समन्वय नभएको देखिन्छ ।
लाइसेन्स
वितरणमा समस्या
सरकारले
नीतिगत तहमा लाईसेन्स वितरणमा सुधार गर्नुपर्छ । नेपाल दूरसंचार प्राधिकरणले १५ वर्षसम्म
आइएसपीलाई "अनुभव नभएको"‚ "असमान
समुहबीच समान तुलना गर्न नसक्ने" भन्दै नयाँ प्रविधिको लाइसेन्स दिएको छैन । प्रविधि
फेरिरहने हुँदा नयाँ प्रविधिको लाइसेन्स नदिएपछि इन्टरनेटको विस्तार गार्हो हुन्छ
। सबै खालका इन्टरनेट सेवाको
लाइसेन्स सबै सेवा प्रदायकहरुलाई खुला हुनुपर्छ । नीति डायलअपको बेला बने पनि
समयसमयमा नीति परिमार्जित गर्दै नयाँ अवस्थामा सबै आइएसपीहरुलाई नयाँ लाईसेन्स
दिनुपर्छ । जसले गर्दा ठूला टेलिफोन कम्पनीलाई मात्र संरक्षण गरेको हुँदैन । सरकार
आफैँ घरघरमा इन्टरनेट पुराउनको लागि ब्रोडब्याण्डको पूर्वाधार निर्माणमा सम्लग्न
हुनुपर्छ । सरकारले
धेरै वर्षदेखि गर्ने भनेको 'कनेक्टिभिटी ब्याकबोन स्ट्रक्चर' बनाउन सकेको छैन । यस्तो गरेमा धेरै
आइएसपीहरुले लिज लिएर दुर्गम क्षेत्रमा जान सक्थे । प्रतिस्पर्धाले गर्दा सेवाको
मूल्य पनि घटेर जान्थ्यो । तर त्यो सम्भव बनेको छैन । पूरानो
प्रविधिको न्यारोब्याण्डबाट केही पनि नहुने‚
ब्रोडब्याण्डमा
पनि जान पर्ने हुँदा आईएसपीहरुलाई आधारभूत पूर्वाधार तथा नयाँ लाईसेन्सको आवश्यकता
देखिएको हो । सरकारले यसमा समन्वय
गर्नुपर्ने देखिन्छ । ग्रामिण दुरसंचार विकास कोषको उद्देश्य इन्टरनेट नपुगेको
ठाउँमा काम गर्नु हो । यसबाट प्राइभेट आईएसपीलाई प्रोत्साहन दिएमा इन्टरनेट
नपुगेको ठाउँमा इन्टरनेट पुराउन सकिन्छ । अहिले
एनटिसी र एनसेलको बजारमा एकाधिकार छ । उनीहरुको सेवा तुलनात्मक रुपमा महँगो पनि छ
। यस्तो अबस्थामा सरकारले 'विग प्लेयर्स' (एनटि
र एनसेल)को लागिमात्र नीति नियम बनाउने जस्तो देखिन्छ ।
नेदुप्राले बेलाबेलामा फ्रिक्वेन्सी अबरोध (रेस्ट्रिक्सन) गरेर अप्ठ्यारो पारिदिन्छ । दिन खोजेको ठाउँमा
सर्भिस दिन आइएसपीले सकेका छैनन् ।
अन्त्यमा
इन्टरनेटको पूर्वाधार निर्माण र त्यसको
साझेदारीको अवधारणाले नेपालको धेरै ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड पुराउने एउटा
उपाय हुनसक्छ । जसमा इन्टरनेट विस्तारको लागि विभिन्न आइएसपीहरुले भाडामा
पूर्वाधार लिएर लगानी विस्तार गर्न सक्छन् । उनीहरु अहिले बैँक‚ वित्तिय क्षेत्र तथा विभिन्न
संघसंस्थाको अनुरोधमा बाहिर गएपनि प्रायजसो अबस्थामा काठमाडौँमै खुम्चिएका छन् । यदि
पूर्वाधार साझेदारीको अवधारणा ल्याउने हो भने घरधुरी तहमा विभिन्न आइएसपीहरु पुग्न
सक्छन् र प्रतिस्पर्धा बढ्दा इन्टरनेटको विस्तार तथा गुणस्तर बढ्नसक्छ ।
काठमाडौँ बाहिर पनि घरधुरी तहसम्म
इन्टरनेट सेवा प्रदायकहरुलाई सेवा पुराउनको लागि सरकारले अनुमतिपत्रमा
प्रतिस्पर्धा गरी सबै खालका सेवा
प्रदायकहरुलाई नयाँ प्रविधिका इन्टरनेट सेवाहरु खुला गरिनुपर्छ । जसले गर्दा सेवा
प्रदायकहरु अझ विस्तारित ढंगले अघि बढ्न सक्छन् । एकै खालको र पूरानो प्रविधिको
इन्टरनेट सेवा दिनुपर्ने वाध्यताले सेवा प्रदायकहरु खुम्चिएर रहेका छन् । लाइसेन्स
वितरण गर्दा उसले गर्नसक्ने लगानी नेटवर्कको सुविधा आदिलाई ख्याल गर्नुपर्छ ।
दुरदराजमा इन्टरनेट सेवा पुराउन योगदान गर्न सक्छ भन्ने आधारमा लाइसेन्स दिनुपर्छ
। उनीहरुलाइ प्रोत्साहनको लागि सरकारले पूर्वाधार विकास पनि गर्नसक्छ ।
नेपालमा इन्टरनेटको पहुँच र प्रयोग सम्बन्धी मार्टिन चौतारीले गरेको परियोजनामा आधारित ।
No comments:
Post a Comment