Friday, July 3, 2015

कलेजको शिक्षक हुँदाताका





    २०६५ साल माघ महिनाको एक दिन कीर्तिपुरको डेरामा बसेर एउटा एसएमएस लेखेँ । ‘सर आइ ह्याभ सिक्स्टी एट पर्सेन्ट इन सोसियोलोजी, प्लिज पोर्भाइड मि एन अपरचुनिटी इन योर कलेज’ । केही समय पछि, उताबाट टिङटिङ टिङटिङ गर्दै एउटा एसएमएस आयो । ‘ओके, ड्रप योर बायोडाटा’ । मन वायुपंखी भयो । जुरुक्क उठेर वायोडाटा राख्न गएँ । वायोडाटा राखेको दुई दिन पछि उताबाट फोन आयो । तपाइँ मेरो स्कूलमा पढाउन आउनुस । अलि कस्तो कस्तो लाग्यो । आफूलाई कलेजमा पढाउन रहर थियो, स्कूलमा पढाउने मनै थिएन । तर, उनले भनेका थिए, स्कूलमा पढाउँदै गर्नुस् म पछि तपाइँलाई कलेजको लागि सिफारिस गर्छु । काम न काज ढाक्नुप¥यो लाज, के गर्ने, उनको स्कूलमा लुरुलुरु गएँ । गेटमा जाँदा जाँदै पालेले म आएको रिपोर्ट पु¥याए । त्यत्तिकैमा एकजना महिला एकदमै कन्फिडेन्स हुँदै मतिर आइन । ‘मिस्टर पन्थी’ अंग्रेजीमा उनले भनिन् । ऊँ (यस) भने । मुन्टो मात्र हल्लाएँ । अर्को एक शिक्षक नाम काढ्दै भनिन्– “उहाँलाई माथि लैजानुस् ।” मानौ त्यो न्यायधिसको आदेश थियो । मेरो कन्फिडेन्सको पारो घट्यो । मलाई कक्षामा उभ्याइयो । कक्षा टेस्टमा मैले संघीयताको परिभाषा भन्नुपर्ने भयो । मेरो विचारको कुरै नगरि किताबमा जे छ खरर पढ्दै गएँ । उनै हेडमिसले परिक्षा लिँदै थिइन् । मेरो अंग्रेजी र कन्फिडेन्स दुवै खराब थिए । कक्षा सिद्धीसकेपछि, हेडमिसले आफ्नो श्रीमान प्रिन्सिपललाई कमेन्ट गरिन् । ‘राम्रो छैन’ । जस्तो चाहेको थिएँ, त्यस्तै भयो । तर श्रीमान् प्रिन्सिपलले हेडमिसको कुरालाई मानेनन् । उनले भने “तपाइँसँग कन्टेन्ट छ, मेथड छैन, त्यसैले एकहप्ता मेहनत गर्नुस, त्यसपछि हेरौला ।” एक त पढाउन मन लागेको छैन, त्यसैमा पनि एकहप्ता परिक्षण ! झोंक चल्यो । मैले डेरामा फर्केपछि प्रिन्सिपललाई एसएमएस गरेँ– “सरी सर, आइ एम नट इन्ट्रेस्टेड टु टिच इन योर स्कूल”, उताबाट उत्तर आयो– ‘ओके’ । स्कूल नपढाउने भएपछि मैले काठमाडौका विभिन्न कलेजमा बायोडाटा राख्दै गएँ । कुनै न कुनै दिन अप्ठ्यारो परेको बेला बोलाउलान्, भन्ने मेरो अनुमान थियो । किनभने प्राइभेट कलेजमा शिक्षकहरूको मोविलिटी भइरहन्छ । कहिले यता कहिले उता गरिरहन्छन् । एनआइसी कलेज, जेभिएर इन्टरनेशनल, रत्नराज्य क्याम्पस, ट्रिनीटी, ट्रिटोन, जनमैत्री क्याम्पस आदि आदि ।
    ठीक एक वर्ष पुगेपछि २०६६ माघ महिनाको कुनै एकदिन फोन आयो । “सर तपाइँले एकवर्ष अघि हाम्रो कलेजमा बायोडाटा छोड्नु भएको रहेछ । हामीलाई सोसियोलोजी पढाउने शिक्षक चाहिएको थियो । तपाइँ आउनुप¥यो । तपाइँको बायोडाटा हेरेपछि हामीलाई आवश्यक मान्छे हो भन्ने लाग्या छ” फोन गर्ने मान्छेले भने । एकै सासमा हुन्छ सर भने, किनभने कलेज पढाउने रहर थियो, हुन्न भन्ने त कुरै भएन । जे होस एक वर्ष अगाडि जुन अनुमानले वायोडाटा छोड्दै हिडेको थिएँ । सफल पनि भएँ, भन्ने लाग्यो । पछि थाहा पाएँ, पैसा समयमा नदिएको झोंकमा मेरै एकजना साथीले कलेज पढाउन छोडेको रहेछन् । पहिलो भेटमै, कोअर्डिनेटरसँग पैसाको कुरा गरेँ । उनले भने– “पैसा समयमा नदिएपनि, हामी कसैको पैसा खाएका छैनौ” । साथीलाई सोधेँ, उसले भन्यो – “त्यो त सही हो, समयमा नदिएपनि दिन त दिन्छ” । त्यही भएर म पैसाको बारेमा त्यति विधि चिन्ता लिइनँ । मुल कुरो पैसा नदिएपनि केही समय कलेज पढाउने रहर त थियो नै ।
    कलेज पढाउने रहर हुनुका केही कारणहरू छन् । पहिलो कारण त मेरो समाजका मान्छेहरू मास्टरी पेशामा लागेकाले हो । गाउँमा पुग्ने वित्तिकै भनिन्छ, ‘सक्छौ भने सरकारी(निजामती) जागिर खाउ, सक्दैनौ भने शिक्षक बन, एनजीओमा जागिर नखाऊ’ । खास कुरा के हो भने एनजिओ आइएनजिओमा जागिर खाँदा प्रोजेक्ट सिद्धिएपछि पढेको मान्छे पनि अलपत्र पर्छ । त्यसैले निजामति र शिक्षक बाहेककालाई समाजले दीर्घकालको जागिर मान्दैन । त्यसैले मैले एनजिओमा जागिर खान्छु, राम्रो कमाउँछु भन्दा पनि, आफन्तहरूले कलेजमा कहिले देखि पढाउने ? भनेर प्रश्न गरिरहन्छन् । पढाउने काममा प्रेरित गरिरहन्छन् । दोस्रो कुरा, कलेज पढाउने रहर हुनुको व्यक्तिगत कारण पनि छ । पहिलो विषयवस्तु (कन्टेन्ट) को कुरा हो । पढाउँदा आफूलाई कतिपय विषयमा अद्यावधिक भएको ठान्छु । पढाउँदा पढ्नै पर्छ, त्यसैले अद्यावधिक भइन्छ । दोस्रो कलेज पढाउँदा विहानको केही समय कलेजतिर व्यतित गरेर, दिउँसो स्वतन्त्रपूर्वक काम गर्न सकिन्छ । स्कूलमा त्यस्तो हुँदैन । यी कारणहरूले मलाई कलेजको शिक्षक बन्न आकर्षण गरेको हो । यस्तो खालको स्वतन्त्रता अरू पेशाहरूमा मैले पाउँदिन । त्यसैले मलाइ यो आकर्षणको पेशा बनेको हो । र पढाउन थाले ।
    पढाउने क्रममा सबैभन्दा आश्चर्य त मैले पढाउने कलेजको कक्षामा २÷३ जना विद्यार्थी देखेर भएको थियो । किनभने आफूले पढ्दा सरकारी कलेजमा सयौँ विद्यार्थीहरूसँग बसेर पढेको बानी थियो । मैले पढाउँने कलेजमा विए तेस्रो वर्षमा ३ जना विद्यार्थी नियमित थिए । दोस्रो वर्षमा ५ जना । किन कलेजले यति थोरै विद्यार्थीलाई पढाउन खोजेको होला । मलाई जिज्ञासा लागिरहन्थ्यो । मैले आफ्ना केही शिक्षक साथीहरूसँग कुरा गर्दा, उनीहरूले भन्थे, “खास कलेजको व्यापार प्लस टु बाट हुन्छ । प्लस टु मा विद्यार्थी आकर्षण गर्न स्नातक तह राखेको हो । प्लस टु पढेपछि कहाँ, के पढ्ने, केही विद्यार्थीको मनोविज्ञानको लागि स्नातक तह राखेको हो ।” धेरै विद्यार्थी साइन्स र कमर्स पढ्छन् । ती मध्ये केही त्यो विषय छोडेर मानविकी पढ्न चाहन्छन् । त्यस्तो विद्यार्थीलाई लक्षित गरेर प्राइभेट कलेजमा मानविकी संकाय राखेको हो । तै पनि मानविकी संकाय कहिले हटाउँछ । कहिले राख्छ । बसुन्धराको एक कलेजमा एमए समाजशास्त्र पढाउने मेरो एक साथीले भने, “कलेजले एमए तहको प्रोग्राम पनि राखेका छौ भन्नलाई मात्र, त्यहाँ समाजशास्त्रको एमए राखिएको हो । किनभने कलेजलाई विए, विविएस राम्रो चलाउन छ । मुस्किलले १५ जना विद्यार्थीले एमए पढ्छन् भने त्यहाँबाट कलेजलाई फाइदा हुने कुरै भएन ।” त्यसैले एमए तहका शिक्षकलाई पनि तलव समयमा दिँदैनन केही कलेजहरुले । लगानीकर्ताले सिधै भन्ने गर्छन, “तलव दिने क्रममा स्नातक पढाउने शिक्षक हाम्रो पहिलो प्राथमिकतामा पर्दैनन्”, यो मेरो आफ्नो अनुभव पनि हो ।
    पढाउने कुरा एक दिनको, एक च्याप्टरको पनि होइन । हरेक दिन हरेक च्याप्टर पढाउँदै जाँदा चुनौती पनि आउँछन् । आफूलाई रूचि लागेका विषय पढाउन, पाठ्यक्रममा भनिए जसरी लेखेका टेक्स्ट पढाउन जति मज्जा लाग्थ्यो । रूचि नलागेका खासगरि पाठ्यक्रमले राम्ररी निर्देशन गर्न नसकेका पाठ पढाउँदा त्यो भन्दा कैयौँ गुना खल्लो पनि हुन्थ्यो । नजानेको र नभेटिएको, पाठ्यक्रमले निर्देश गर्न नसकेको  कुरा पढाउँदा कि थोरै हुन्थ्यो । कि वाक्क लाग्ने गरि धेरै लामो हुन्थ्यो । कहिलेकाहीँ पाठ्यवस्तु पनि चाहे जस्तो नहुने, आफूले बुझेको भएपनि पढाउने मेथडले पनि सबै गोलमाल ल्याउँथ्यो । सबै राम्रा अनुभव त्यहि नराम्रो कुराले सखाप पारेको अनुभव पनि मसँग भयो ।
    एकदिन ‘फेमिनिस्ट थ्योरी’ पढाउनुपर्ने थियो । म सिधै पृष्ठभूमि तिर गएँ । पढाउँदै जाँदा समाजमा महिलाहरूको कमजोर स्थिति बारे पढाउन थालेँ । कसरी महिला समाजमा कमजोर स्थितिमा रहेका हुन्छन् । के कारणले यो अवस्था आउँछ भन्ने कुरा पढाउन थाले । “फेमिनिस्ट थ्योरी बुझ्न सबभन्दा पहिला महिलाहरू कसरी समाजमा कमजोर स्थानमा रहेका हुन्छन् भन्ने कुरा बुझ्नुपर्छ । महिलालाई कमजोर सामाजिक स्थितिमा राख्न, सामाजिक ऐतिहासिक पृष्ठभुमी तथा सामाजिक सँस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ । जस्तो परिवार एउटा सामाजिक सँस्था हो । जहाँ निर्णय गर्ने अधिकार पुरुषले राख्छन् । छोरी भएर लाज मान्नुपर्छ, धेरैबोल्नु हुँदैन भन्ने कुरा परिवारबाटै छोरीहरूलाई सिकाइएको हुन्छ । धार्मिक संस्थाहरूमा पनि ग्रन्थले पनि महिलालाई के गर्नुपर्छ के गर्नुहुँदैन भनेर निर्देश गरिरहेको हुन्छ । यसरी परिवार, धर्म जस्ता सामाजिक सँस्थाले महिलालाई समाजमा कमजोर बनाइराख्न मद्दत गरिरहेका हुन्छन् । आदि आदि” भने । यसरी पढाउँदै जाँदा आफूलाई राम्रो पढाइरहेको जस्तो अनुभुत हुन्थ्यो । विद्यार्थीले मलाई झण्डै ३५ मिनेट पढाएपछि सोधे, “यो फेमिनिस्ट थ्योरी भनेको के हो ? तपाइँले किन यो पढाइरहनुभएको छैन सर” ? यो कुरा सोधेपछि आफूलाई पनि सो कुराको अनुभूत भयो । विद्यार्थीहरूसँग जति चाखलाग्दा कुरा गरेपनि पाठ्यक्रमलाई हेर्दा रहेछन् । सामान्य कुरालाई पनि मैले पढाउँदा वेवास्ता गरिरहेको रहेछु, जसले शिक्षण गर्ने कुरामा नै असर गर्ने रहेछ । मैले पढाउने क्रममा पाठ्यक्रममा लेखेको फेमिनिस्ट थ्योरी भनेको के हो भन्ने कुरा नै नभनेपछि, आफू सन्तुष्ट हुनेगरी पढाउँदा पनि प्रभावकारिता नहुने रहेछ । शिक्षकले आत्मतुस्टी हुनेगरि पढाएर मात्र हुँदैन । पढाउने कुरा शिक्षकको व्यक्तिगत चलाखी पनि हो । कहाँबाट कसरी पढाउन सुरु गर्ने भन्ने कुरा ।
    समाजशास्त्रका गुरु चैतन्य मिश्रलाई पढाउने क्रममा विद्यार्थीले कुनै प्रश्न सोध्यो भने त्यसको उत्तर विद्यार्थीबाटै माग्थे । “के हुनसक्छ होला ।” सोधिएको विद्यार्थीले उत्तर दिन सकेन भने अर्कोलाई सोध्थे । कसैले दिन सकेन भने सबै मध्ये कोहीलाई आग्रह गर्थे । ‘यहाँ यस्तो प्रश्न आयो यसको उत्तर के हुन सक्छ होला ।’ मेरो विचारमा मिश्रको आसय सोधिएको प्रश्नबारेमा विद्यार्थीको बुझाइलाई मुल्याँकन गर्दै त्यसको उत्तर दिने हुन्थ्यो । एकदिन मलाई पनि विद्यार्थीले प्रश्न सोध्दा मैले पनि के हुनसक्छ त्यसको उत्तर ? भनि एकजना विद्यार्थीलाई नै मिश्रकै शैलीमा प्रतिप्रश्न गरेँ । ती विद्यार्थीले मलाई ठाडो उत्तर दिइन । “जान्या भए प्रश्न सोद्थेँ र ?” मैले फेरि आग्रह गरेँ– “सोच न ।” उनी फेरि रिसाइन– “त्यसो भए शिक्षकको काम के ?” मैले उनको प्रत्युत्तरमा– “शिक्षकले विद्यार्थीलाई एकोहोरो पढाउने मात्र होइन । सोच्ने अभ्यास पनि गराउने हो भने ।” उनले फेरि जवाफ फर्काइन्– “सोँच्न सक्ने भए घरैबसेर सोच्थे, यहाँ आउनुपथ्र्यो र ?” उनी सवाल जवाफमा उत्रिन् । कक्षा गरमागरम भएकाले मैले कक्षा छाडेँ । कोअर्डिनेटरलाई विद्यार्थीले के भने मलाई थाहा भएन । तर मैले “विद्यार्थीहरुसँग विवाद भयो पढाउँदिन सर” भने । मैले पनि त्यसपछि उनीहरूलाई नपढाउने नै निर्णय गरेँ । बरु उनीहरूलाई अर्को शिक्षक खोज्न सहयोग गर्छु भने । यो म भर्खर पढाउन सुरु गर्दाको अनुभव थियो । विद्यार्थीहरुसँग राम्रो सम्बन्ध विकास गर्न नसक्दा यो समस्या आएको थियो । किनभने त्यसभन्दा अघि पनि मैले विद्यार्थीहरुले सोधेको प्रश्नमा राम्रोसँग उत्तर दिन सकेको हुन्नथेँ । कतिबेला मलाई पढाउने विषयवस्तुले अप्ठ्यारोमा पाथ्र्यो । धेरैजसो त पाठ्यक्रमले नै विद्यार्थी र शिक्षक विचमा तनाव उत्पन्न गराउँथ्यो ।
    पढाउन भर्खर सुरु गरेकाले मलाई यो घटनाले स्तब्ध पा¥यो । आफुलाई नै म राम्रो शिक्षक रहेनछु भन्ने भयो । मैले कलेजको भएको घटना त्यहाँ पढाएको पूरानो साथीलाई सुनाएँ । साथीले भन्यो । “यार, आफ्नो प्रेस्टिज घटाएर पढाउनु हुँदैन छोड्दे । ती विद्यार्थीहरु आफूलाई स्मार्ट ठान्छन् ।” म उनीहरुलाई पढाउन छोडिदिएँ । त्यहि विचमा आफूलाई आत्ममुल्यांकन गर्न थाले । के कमी भएर मैले उनीहरूको चित्त बुझाउन सकिन ? साथीहरूलाई रहस्य सोध्दा ‘गफ’ दिन सक्नुपर्छ भन्थे । यो गफ के हो ? बुझ्नै सकिएन । अव मैले आत्म मुल्याँकन गर्नै पर्ने भयो । मलाई लाग्यो, पढाउने कुरा एकदिनको प्रस्तुती जस्तो सजिलो होइन । बारम्बारको प्रस्तुतीमा एकपटक चिप्लने कुरा धेरै भेटिन्छन् । नीजि कलेजमा पढाउँदा राम्रो अंग्रेजी पनि चाहिन्छ । जस्ले विषयवस्तुमाथिको पकड हुन्छ । राम्रो कन्फिडेन्स बढ्छ । हुन त त्यो अन्य ठाउँमा लागु हुन्छ । तर नीजि कलेजमा पढ्न आउने विद्यार्थीको लेख्ने पढ्ने माध्यम अंग्रेजी र पढाउने शिक्षकको माध्यम पहिले लेखेपढेको माध्यम नेपाली हुने हुँदा, यस किसिमको भाषिक कारणले पनि तनाव उत्पन्न हुने मेरो अनुभव छ । त्यसकारण अंग्रेजी राम्रो बनाउनु पनि शिक्षकको दायित्व हो । सामाजिक विज्ञानका विषय वा इकाइहरु पढाउँदा लेखाउने कोशिस पनि ‘झुर’ मेथड हो, भन्ने मलाई लाग्छ । हामीले उनीहरुलाई लेखाउने हो कि सोँच्न र पढ्न सिकाउने । हामीकहाँ उच्च शिक्षा पढ्ने केही विद्यार्थीहरूले लेखाउन लगाउँछन् । खासगरी समाजविज्ञानका विषयहरूमा लेखाउने भन्दा पनि सोंच्ने कुरा महत्वपूर्ण हुन्छ । स्कूल शिक्षामा लेखेर घोकेर आएका विद्यार्थीहरूले त्यो दवाव दिन्छन् । कलेज पढाउने क्रममा मैले त्यो गरेँ । लेखाउँदा लेखाउँदा म फसेँ । धेरै लामो लामो लेखाएँ । ‘नेपाली जाती व्यवस्था’बारे लेखाएर सकिन्छ त ? ‘नेपाली नेसन स्टेटको इभोलुसन’को कुरा लेखाएर सकिन्छ त ? यसो ग¥यो भने यो त धेरै लामो यात्रा हुँदोरहेछ । मैले विद्यार्थीको अनुरोधमा त्यो प्रयास गरेँ । अन्ततः यस्तो कार्यकलापले समग्र पढाइ नै मोनोटोनस बन्दो रहेछ ।   
     शिक्षक विद्यार्थी टेन्सनको प्राविधिक पक्ष पनि छ । नीजि कलेजमा विद्यार्थीहरूमा शिक्षक हामीले फेर्न सकिन्छ भन्ने सोँच र क्षमता राख्छन् । उनीहरूले तिरेको महँगो फि, यसको कारण हो । खासगरी नयाँ शिक्षकलाई त त्यो समस्या छ । म पढाउने कलेजमा पनि अरु दुइजना नयाँ शिक्षकलाई विद्यार्थीहरूले लगातार कपडा फेरे झैं फेरे । मैले केही विद्यार्थीहरूलाई सोधेको थिएँ । उनीहरूले भन्थे, ‘नयाँ सरको पढाउने विधिमा समस्या हुन्छ । राम्ररी पढाउन जान्दैनन्’ आदि । तर उसलाई फेरेर ल्याउने अर्को सर पनि त नयाँ हुन्छ । त्यो कुरा विद्यार्थीलाई थाहा हुँदैन । त्यसैले लगालग शिक्षक फेर्ने कुरा परम्परा जस्तै हो नीजि स्कूल कलेजमा । राम्रो शिक्षकलाई हायर गर्न कलेजले समयमा तलव दिँदैन र त्यसैले त्यस्ता शिक्षकको लागि कलेज आकर्षणको विषय हुँदैन ।
    अहिले कलेज पढाउन थालेको २ वर्ष भएछ । यसो फर्केर हेरेँ । कलेजमा अन्तिम पटक तलव नपाएको २०६८ बैशाखमा ८ महिना पुगेछ । दश आठा अस्सी – अर्थात दुई पिरियडको पाँच हजारका दरले अस्सीहजार लिन बाँकीरहेछ ।  कोअर्डिनेटरसँग गएँ । सर अव त तलव दिनुप¥यो । उनले भने– “म पनि त तपाइँ जस्तै हुँ सर” । डेरा तिर फर्के पछि त्यहि कलेजमा पढाएर छोडेको मेरो साथीले सोध्यो– “कलेजले पैसा दियो ?” उसँग के ढाँट्ने, दिएको छैन भने । उसले सोध्यो– “कति बाँकी छ त” ? मैले भने– “८० हजार” । उ हाँस्यो र भन्यो– “छोड्दे यार, कति गर्छस् ।” 

३८ वर्षपछि तारिणीको खोजी



                                                                                                                                                                                 

मलाई जीवनी पढ्न मनपर्छ । त्यसैले सूर्यप्रसाद उपाध्यायको किताव बोकेको थिएँ । पुस्तक पसलमा तारिणीप्रसाद कोइरालाको किताव पनि आएको रहेछ । त्यो पनि किनेँ । कुन पहिला पढुँ ? कौतुहुलता थियो । तारिणीप्रसाद कोइरालाको बारेमा लेखिएको किताब नै छानेँ । किनकी उनी रेडियो नेपालका पहिलो डाइरेक्टर थिए । मैले उनको नाउँ पहिला सुनेको थिएँ । ‘रेडियो नेपालको सामाजिक इतिहास’ (२०६१) भन्ने पुस्तकमा । किताब पढ्दा पढ्दै राती अबेर भैसकेको थियो । आफ्नु मान्छेको फोन आयो । के गर्दैहुनुहुन्छ ? उनले सोधिन् ? मैले भने तारिणीप्रसाद कोइरालाको स्मृति ग्रन्थ पढ्दै छु । उनले उत्तर दिइन, को तारिणी ? मैले भने बीपीको भाई । उनले भनिन्, बीपीको भाई त गिरिजाप्रसाद पो हुन त ? मैले उनलाई फेरि सोधेँ, रेडियो नेपाल जन्माउने मान्छे को हो ? ‘ए उनी तारिणी, ती बीपीका भाई हुन् ?’ उनको आश्चर्यमिश्रित भावलाई, मैले अँ भने ।

मलाई लाग्यो धेरैलाई थाहा छैन होला, तारिणी बीपीका भाइ हुन् भन्ने । धेरैलाई थाहा छैन होला, बीपीकी आमा दिव्या पट्टि (अर्की आमापट्टिका मातृकाबाहेक) चार भाई छन् भन्ने पनि । बीपी, केशवप्रसाद (कोशु), तारिणीप्रसाद र गिरिजाप्रसादबारे । यो स्मृति ग्रन्थले तारिणीबारे बताउँछ । कोइराला परिवारबारे बताउँछ ।  बीपी कोइरालाको राजनीतिक र साहित्यिक तथा गिरिजाप्रसाद कोइरालाको राजनीतिक छविका कारणले तारिणीको जीन्दगी छायाँमा परेको घुमाउरो सन्देश यो पुस्तकले दिएको छ । मैले त्यस्तै बुझेँ । उनलाई साहित्य र रङ्गकर्मप्रति प्रेम थियो । त्यसैले उनको सौख रेडियो नेपालमा समाचार भन्ने पट्टि भयो । यस ग्रन्थका लेखकहरुको तर्क छ । उनलाई राजनीति भन्दा पत्रकारिता, साहित्य, नाटक, फिल्म, संगीत पट्टि मोह थियो । उनले धेरै कृति लेखे तर उनी छउञ्जेल ती छापिएनन् । सत्ताको केन्द्रमा रहँदा पनि उनका साख्खै भाई गिरिजाप्रसादले त्यो काम गरेनन् । उनी मरेको ३८ वर्ष पछि उनको छोराको काँधमा यो जिम्मेवारी आयो । त्यसैले प्रदिप गिरिले रोष प्रकट गर्दै लेखेका छन्, ‘शेक्सपियरका पालामा बेलायतको राजा को थियो ? कसैलाई थाहा हुने छैन । तर अंग्रेजी भाषा रहुञ्जेल शेक्सपियर रहन्छन् ।’

                                 

सुषमा कोइरालाको लेख पढ्दा मन टक्क अडियो । सुषमा, मनिषा कोइरालाकी आमा हुन् । सुजताकी आमासँग उनको नाम जुधेकोमात्र हो । उनले भनेकी छन्, बुवा राजनीति पनि गर्नुुुहुन्थ्यो, किसान पनि हुनुहुन्थ्यो, साहित्यकार पनि । कोइराला परिवारले तारिणीलाई ‘बुवा’ भनेर सम्बोधन गर्ने रहेछन् । सुषमाका अनुसार उहाँले कृषि विकास बैँक बाट ऋण लिएर कुखुरा पाल्नुभयो । तरकारी खेती पनि गर्नुहुन्थ्यो । उहाँ निकै रमाइला जोक गर्नुहुन्थ्यो । उहाँसँग सबथोक थियो पैसा थिएन ।

रेडियो नेपालसँग तारिणीको एउटा गुण जोडिएको छ । त्यो हो उनी भित्रको साहित्यिक चेतना । गीत, रङ्गकर्म गर्न उनी रुचाउँथे । धेरैले भनेका छन् तारिणीले प्रत्यक्ष राजनीति कहिल्यै गरेनन् । काँग्रेसको सदस्य भएनन् । एकपटक त्यस्तै घटना भएछ, विराटनगरको रानी भन्ने ठाउँमा । त्यहाँ जुटमिल रहेछ । त्यहाँका मजदुरले हाट लागेको दिन आन्दोलन गरेका रहेछन् । मजदुरहरु जुटमिललाई घेर्न लागेका । कसले रोक्न सक्ने ? इन्क्लावको नारा लगाइरहेका मजदुरलाई ? उनीहरुलाई रोक्न गेटमाथि चढेर तारिणीले भनेछन्– ‘मजदुर भाइयो रुकजाओ ।’ यति भनेपछि गेट तोड्न अघि बढेका हज्जारौँ मजदुर रोकिएछन् । त्यसपछि तारिणी, कोइराला परिवार प्रति मजदुरको  विश्वास देखेर भावविह्वल भएछन् । बोल्नै सकेनन् । मान्छेहरु उनलाई बोल्न अनुरोध गरे । तर तारिणी बोल्नै सकेनन् । त्यसपछि, मान्छेहरुले उनलाई गेटबाट तल ओरालेछन् । उनले भन्थे रे, “त्यसदिन मैले बोल्न सकेको भए नेता हुन्थेँ बोल्न सकिन लेखक भएँ ।”

यो किताबको धेरै ठाउँमा भनिएको छ “उनी जोक गर्न सिपालु थिए रे ।” विश्ववन्धु थापा लगायत केही लेखकहरुले लेखेका छन्, उनी हिन्दी सिनेमाको हिरो हुन चाहन्थे । एकपटक, घरबाट उनी बनारस नगई बम्बईतिर गएका थिए । अशोककुमार दीलिपकुमार झैँ हिरो हुने चाहनाले । साथीहरुसँग, बम्बई गएर त्यतिबेलाका चर्चित व्यक्तिसँग फिल्म खेलेको कुरा गर्थे रे । आफू फिल्ममा अभिनय गरेको भनि मान्छेहरुलाई फिल्म हेराउन लैजान्थे रे । तर उनलाई फिल्मको सिनमा नदेखेपछि, ‘म खेलेको सिन नै काटिदिएछ’ भनेर रमाइलो गर्थे रे । पुस्तकमा नातीकाजीसँगको कुराकानीको आधारमा सुषमा लेख्छिन्, नातीकाजीलाई रेडियो नेपालमा ल्याउने तारिणी नै थिए । यो पुस्तकका धेरै लेखकहरु भन्छन्, “यस्ता मान्छेलाई पञ्चायतले छ वर्ष जेलहालेर पाप गर्यो ।” तर ०१७ सालका गृहमन्त्री विश्ववन्धु थापाले चाहिँ पत्रकारितामा उनको सक्रियता देखेर नै उनलाई महेन्द्रले जेलहालेको भन्छन् । उनलाई छोडिएको भए, उनी भारत जान्थे, त्यहाँ काँग्रेसले रेडियो र अखवारमा काम गर्ने ठूलो प्रचारक पाउँछ भन्ने चिन्ता थियो । किनभने उनले प्रजातन्त्र रेडियोको स्थापना गरेका थिए, ‘दियालो’, ‘कल्पना’ लगायत काँग्रेस नजिकका पत्रिकाको सम्पादन पनि गरेका थिए ।  त्यसैले उनलाई पञ्चायतले छोडेन । पक्रियो ।

अर्को यो पुस्तकले कोइराला परिवारबारे बुझ्न मद्दत गर्छ । मातृकाप्रसाद कोइरालालाई सबै (कोइराला परिवार)ले ठूलो बाबा भन्ने, बीपीलाई ‘बाबा’ मात्र, केशवप्रसादलाई ‘सानो बाबा’, तारिणीलाई ‘बुवा’, गिरिजाप्रसादलाई सबैले ‘सानो बुवा’ भन्ने । मानौ कोइराला परिवार विशाल घर हो । एकजनालाई सबैले एकै किसिमले सम्बोधन गर्छन् । मायाले बोलाउँछन् । कसैलाई कोशु, कसैलाई सान्दाजु, कसैलाई बुनु आदि । तर यी नाम कोइराला परिबारबाट लेखिने किताबको यत्रतत्र भेटिन्छ । त्यसैले यो परिवारबारे अभ्यस्त नहुनेलाई बुझ्न गाह्रो । राजनीति, साहित्य, रङ्गकर्म र डाक्टरी पेशाप्रति कोइराला परिवारको चासोबारे पनि जानकारी हुन्छ । तारिणी बम्बईमा अशोककुमार र दिलिपकुमार झैँ हुन नसकेपनि मनिषा कोइराला त्यो ठाउँमा पुग्न सफल भइन्, भन्ने तर्कहरु लेखहरुमा यत्रतत्र पाइन्छ । पारिवारिक सम्बन्धलाई जोड्न कोइराला परिवारमा चिठीपत्र व्यवहार निकै रमाइलो छ । जेल परेका, भारत पसेका, विराटनगर र काठमाडौँ बसेकाहरुलाई चिठीले जोडेको छ । तारिणी र रोशा तथा छोरा ज्योतिप्रसाद कोइरालासँग सम्बन्धित चिठीहरुको एउटा खण्ड छ । जुन पढ्दा लाग्छ, कोइराला परिवारलाई चिठीपत्रले यसरी जोडेको छ, मानौ पत्रव्यवहार भएन भने निकै निराशा हुन्छ होला । यी चिठीहरुमा राजनीतिका कुरा छैनन् । छैनन भनुँ भने बीपीको पत्रव्यावहारमा ती कुरा छन् । धेरैमा त परिवारको स्वास्थ्य र शिक्षाबारेका कुरा छन् । भारतका विभिन्न विद्यालय वा विश्वविद्यालयमा पढिरहेका वा काम गरिरहेका परिवारका सदस्यहरुलाई चिठी लेखिएको छ । सबले सबैजनाको स्वास्थ्यबारे ख्याल गरेका छन् । मैले कल्पना गरेँ त्यहि भएर होला कोइराला परिवारबाट डाक्टर पढ्ने पनि धेरै भएका ।

तारिणीले बीपीलाई चिठी लेखेका छन् – “सान्दाजु...मेरो रोग पनि एक थरिको भये त हुने थियो नी, अनेक थरिका छन् । एक पल्ट सारा कलपुर्जाको राम्रो जाँच पडताल नगरी भयको छैन ।” बीपीले तारिणीका छोरा ज्योतिलाई लेखेका छन्, “मेरो स्वास्थ्य ठीक छ, वजन ७ पाउण्ड बढेको छ, ऐले १३० पाउण्ड छु । यसपाली तिम्रो एउटा चिठी मात्रै आयो । सायद पढाईमा छौ । ठीक हो, पढाईमा पुरा ध्यान दिनु खूब परिश्रम गर्नु ।” एकपटक तारिणीले पटनाबाट श्रीमति रोशालाई लेख्छन् – “प्रिय रोशा रानी, मेरो ३ वटा चिठीको जवाफ पाइन । यस्तो निर्दयी नबन । मेरो अनुहार सम्झ, माया गर र चिठी लेख ।” रोशाले चिठी नलेखेकोमा चिन्ता व्यक्त गर्दै लेख्छन् – “म भने हप्ता हप्ता दिनमा लेख्दैछु । झन् त्यसैले मानौ तिमी लेख्नै छोडिदियौ । म पुरानियाँ विचारको मान्छेलाई चिठी लेखे नै माया व्यक्त हुन्छ भन्ठान्छु ।”

यो तारिणी रोशा स्मृति कोशबाट निकालिएको यो पुस्तकको कमजोरी हेर्नु मेरो उद्देश्य थिएन । ह्रस्वदीर्घ पनि हेरिन । तर तारिणीको जीवन के सकरात्मक मात्रै थियो त ? गुणगान गाउने मात्रै ? के कोइराला परिवारमा खटपटको सम्बन्ध नै थिएन त ? कोइराला परिवारका कितावमा भेट्न मुस्किल हुन्छ । अवश्य पनि यी कुरा यहाँ छैनन् । प्रदिप गिरिले भने झैँ । तारिणीका पाण्डुलिपिलाई संस्थागत रुपमा छाप्ने कोशिस कहिल्यै भएन । न गिरिजाप्रसादले गरे न अरुले नै । अध्ययन अनुसन्धान पनि भएन होला । त्यो जिम्मा उनको छोराबुहारीको काँधमा आयो । त्यसैले पनि होला कोइराला परिवारको सुमधुर सम्बन्धको मात्र यसमा चर्चा छ । तारिणीको सकरात्मक जीवनको पाटोमात्र यहाँ छ ।


२०६८– मंसीर १८
मैतिदेवी, काठमाडौँ ।