Friday, July 3, 2015

३८ वर्षपछि तारिणीको खोजी



                                                                                                                                                                                 

मलाई जीवनी पढ्न मनपर्छ । त्यसैले सूर्यप्रसाद उपाध्यायको किताव बोकेको थिएँ । पुस्तक पसलमा तारिणीप्रसाद कोइरालाको किताव पनि आएको रहेछ । त्यो पनि किनेँ । कुन पहिला पढुँ ? कौतुहुलता थियो । तारिणीप्रसाद कोइरालाको बारेमा लेखिएको किताब नै छानेँ । किनकी उनी रेडियो नेपालका पहिलो डाइरेक्टर थिए । मैले उनको नाउँ पहिला सुनेको थिएँ । ‘रेडियो नेपालको सामाजिक इतिहास’ (२०६१) भन्ने पुस्तकमा । किताब पढ्दा पढ्दै राती अबेर भैसकेको थियो । आफ्नु मान्छेको फोन आयो । के गर्दैहुनुहुन्छ ? उनले सोधिन् ? मैले भने तारिणीप्रसाद कोइरालाको स्मृति ग्रन्थ पढ्दै छु । उनले उत्तर दिइन, को तारिणी ? मैले भने बीपीको भाई । उनले भनिन्, बीपीको भाई त गिरिजाप्रसाद पो हुन त ? मैले उनलाई फेरि सोधेँ, रेडियो नेपाल जन्माउने मान्छे को हो ? ‘ए उनी तारिणी, ती बीपीका भाई हुन् ?’ उनको आश्चर्यमिश्रित भावलाई, मैले अँ भने ।

मलाई लाग्यो धेरैलाई थाहा छैन होला, तारिणी बीपीका भाइ हुन् भन्ने । धेरैलाई थाहा छैन होला, बीपीकी आमा दिव्या पट्टि (अर्की आमापट्टिका मातृकाबाहेक) चार भाई छन् भन्ने पनि । बीपी, केशवप्रसाद (कोशु), तारिणीप्रसाद र गिरिजाप्रसादबारे । यो स्मृति ग्रन्थले तारिणीबारे बताउँछ । कोइराला परिवारबारे बताउँछ ।  बीपी कोइरालाको राजनीतिक र साहित्यिक तथा गिरिजाप्रसाद कोइरालाको राजनीतिक छविका कारणले तारिणीको जीन्दगी छायाँमा परेको घुमाउरो सन्देश यो पुस्तकले दिएको छ । मैले त्यस्तै बुझेँ । उनलाई साहित्य र रङ्गकर्मप्रति प्रेम थियो । त्यसैले उनको सौख रेडियो नेपालमा समाचार भन्ने पट्टि भयो । यस ग्रन्थका लेखकहरुको तर्क छ । उनलाई राजनीति भन्दा पत्रकारिता, साहित्य, नाटक, फिल्म, संगीत पट्टि मोह थियो । उनले धेरै कृति लेखे तर उनी छउञ्जेल ती छापिएनन् । सत्ताको केन्द्रमा रहँदा पनि उनका साख्खै भाई गिरिजाप्रसादले त्यो काम गरेनन् । उनी मरेको ३८ वर्ष पछि उनको छोराको काँधमा यो जिम्मेवारी आयो । त्यसैले प्रदिप गिरिले रोष प्रकट गर्दै लेखेका छन्, ‘शेक्सपियरका पालामा बेलायतको राजा को थियो ? कसैलाई थाहा हुने छैन । तर अंग्रेजी भाषा रहुञ्जेल शेक्सपियर रहन्छन् ।’

                                 

सुषमा कोइरालाको लेख पढ्दा मन टक्क अडियो । सुषमा, मनिषा कोइरालाकी आमा हुन् । सुजताकी आमासँग उनको नाम जुधेकोमात्र हो । उनले भनेकी छन्, बुवा राजनीति पनि गर्नुुुहुन्थ्यो, किसान पनि हुनुहुन्थ्यो, साहित्यकार पनि । कोइराला परिवारले तारिणीलाई ‘बुवा’ भनेर सम्बोधन गर्ने रहेछन् । सुषमाका अनुसार उहाँले कृषि विकास बैँक बाट ऋण लिएर कुखुरा पाल्नुभयो । तरकारी खेती पनि गर्नुहुन्थ्यो । उहाँ निकै रमाइला जोक गर्नुहुन्थ्यो । उहाँसँग सबथोक थियो पैसा थिएन ।

रेडियो नेपालसँग तारिणीको एउटा गुण जोडिएको छ । त्यो हो उनी भित्रको साहित्यिक चेतना । गीत, रङ्गकर्म गर्न उनी रुचाउँथे । धेरैले भनेका छन् तारिणीले प्रत्यक्ष राजनीति कहिल्यै गरेनन् । काँग्रेसको सदस्य भएनन् । एकपटक त्यस्तै घटना भएछ, विराटनगरको रानी भन्ने ठाउँमा । त्यहाँ जुटमिल रहेछ । त्यहाँका मजदुरले हाट लागेको दिन आन्दोलन गरेका रहेछन् । मजदुरहरु जुटमिललाई घेर्न लागेका । कसले रोक्न सक्ने ? इन्क्लावको नारा लगाइरहेका मजदुरलाई ? उनीहरुलाई रोक्न गेटमाथि चढेर तारिणीले भनेछन्– ‘मजदुर भाइयो रुकजाओ ।’ यति भनेपछि गेट तोड्न अघि बढेका हज्जारौँ मजदुर रोकिएछन् । त्यसपछि तारिणी, कोइराला परिवार प्रति मजदुरको  विश्वास देखेर भावविह्वल भएछन् । बोल्नै सकेनन् । मान्छेहरु उनलाई बोल्न अनुरोध गरे । तर तारिणी बोल्नै सकेनन् । त्यसपछि, मान्छेहरुले उनलाई गेटबाट तल ओरालेछन् । उनले भन्थे रे, “त्यसदिन मैले बोल्न सकेको भए नेता हुन्थेँ बोल्न सकिन लेखक भएँ ।”

यो किताबको धेरै ठाउँमा भनिएको छ “उनी जोक गर्न सिपालु थिए रे ।” विश्ववन्धु थापा लगायत केही लेखकहरुले लेखेका छन्, उनी हिन्दी सिनेमाको हिरो हुन चाहन्थे । एकपटक, घरबाट उनी बनारस नगई बम्बईतिर गएका थिए । अशोककुमार दीलिपकुमार झैँ हिरो हुने चाहनाले । साथीहरुसँग, बम्बई गएर त्यतिबेलाका चर्चित व्यक्तिसँग फिल्म खेलेको कुरा गर्थे रे । आफू फिल्ममा अभिनय गरेको भनि मान्छेहरुलाई फिल्म हेराउन लैजान्थे रे । तर उनलाई फिल्मको सिनमा नदेखेपछि, ‘म खेलेको सिन नै काटिदिएछ’ भनेर रमाइलो गर्थे रे । पुस्तकमा नातीकाजीसँगको कुराकानीको आधारमा सुषमा लेख्छिन्, नातीकाजीलाई रेडियो नेपालमा ल्याउने तारिणी नै थिए । यो पुस्तकका धेरै लेखकहरु भन्छन्, “यस्ता मान्छेलाई पञ्चायतले छ वर्ष जेलहालेर पाप गर्यो ।” तर ०१७ सालका गृहमन्त्री विश्ववन्धु थापाले चाहिँ पत्रकारितामा उनको सक्रियता देखेर नै उनलाई महेन्द्रले जेलहालेको भन्छन् । उनलाई छोडिएको भए, उनी भारत जान्थे, त्यहाँ काँग्रेसले रेडियो र अखवारमा काम गर्ने ठूलो प्रचारक पाउँछ भन्ने चिन्ता थियो । किनभने उनले प्रजातन्त्र रेडियोको स्थापना गरेका थिए, ‘दियालो’, ‘कल्पना’ लगायत काँग्रेस नजिकका पत्रिकाको सम्पादन पनि गरेका थिए ।  त्यसैले उनलाई पञ्चायतले छोडेन । पक्रियो ।

अर्को यो पुस्तकले कोइराला परिवारबारे बुझ्न मद्दत गर्छ । मातृकाप्रसाद कोइरालालाई सबै (कोइराला परिवार)ले ठूलो बाबा भन्ने, बीपीलाई ‘बाबा’ मात्र, केशवप्रसादलाई ‘सानो बाबा’, तारिणीलाई ‘बुवा’, गिरिजाप्रसादलाई सबैले ‘सानो बुवा’ भन्ने । मानौ कोइराला परिवार विशाल घर हो । एकजनालाई सबैले एकै किसिमले सम्बोधन गर्छन् । मायाले बोलाउँछन् । कसैलाई कोशु, कसैलाई सान्दाजु, कसैलाई बुनु आदि । तर यी नाम कोइराला परिबारबाट लेखिने किताबको यत्रतत्र भेटिन्छ । त्यसैले यो परिवारबारे अभ्यस्त नहुनेलाई बुझ्न गाह्रो । राजनीति, साहित्य, रङ्गकर्म र डाक्टरी पेशाप्रति कोइराला परिवारको चासोबारे पनि जानकारी हुन्छ । तारिणी बम्बईमा अशोककुमार र दिलिपकुमार झैँ हुन नसकेपनि मनिषा कोइराला त्यो ठाउँमा पुग्न सफल भइन्, भन्ने तर्कहरु लेखहरुमा यत्रतत्र पाइन्छ । पारिवारिक सम्बन्धलाई जोड्न कोइराला परिवारमा चिठीपत्र व्यवहार निकै रमाइलो छ । जेल परेका, भारत पसेका, विराटनगर र काठमाडौँ बसेकाहरुलाई चिठीले जोडेको छ । तारिणी र रोशा तथा छोरा ज्योतिप्रसाद कोइरालासँग सम्बन्धित चिठीहरुको एउटा खण्ड छ । जुन पढ्दा लाग्छ, कोइराला परिवारलाई चिठीपत्रले यसरी जोडेको छ, मानौ पत्रव्यवहार भएन भने निकै निराशा हुन्छ होला । यी चिठीहरुमा राजनीतिका कुरा छैनन् । छैनन भनुँ भने बीपीको पत्रव्यावहारमा ती कुरा छन् । धेरैमा त परिवारको स्वास्थ्य र शिक्षाबारेका कुरा छन् । भारतका विभिन्न विद्यालय वा विश्वविद्यालयमा पढिरहेका वा काम गरिरहेका परिवारका सदस्यहरुलाई चिठी लेखिएको छ । सबले सबैजनाको स्वास्थ्यबारे ख्याल गरेका छन् । मैले कल्पना गरेँ त्यहि भएर होला कोइराला परिवारबाट डाक्टर पढ्ने पनि धेरै भएका ।

तारिणीले बीपीलाई चिठी लेखेका छन् – “सान्दाजु...मेरो रोग पनि एक थरिको भये त हुने थियो नी, अनेक थरिका छन् । एक पल्ट सारा कलपुर्जाको राम्रो जाँच पडताल नगरी भयको छैन ।” बीपीले तारिणीका छोरा ज्योतिलाई लेखेका छन्, “मेरो स्वास्थ्य ठीक छ, वजन ७ पाउण्ड बढेको छ, ऐले १३० पाउण्ड छु । यसपाली तिम्रो एउटा चिठी मात्रै आयो । सायद पढाईमा छौ । ठीक हो, पढाईमा पुरा ध्यान दिनु खूब परिश्रम गर्नु ।” एकपटक तारिणीले पटनाबाट श्रीमति रोशालाई लेख्छन् – “प्रिय रोशा रानी, मेरो ३ वटा चिठीको जवाफ पाइन । यस्तो निर्दयी नबन । मेरो अनुहार सम्झ, माया गर र चिठी लेख ।” रोशाले चिठी नलेखेकोमा चिन्ता व्यक्त गर्दै लेख्छन् – “म भने हप्ता हप्ता दिनमा लेख्दैछु । झन् त्यसैले मानौ तिमी लेख्नै छोडिदियौ । म पुरानियाँ विचारको मान्छेलाई चिठी लेखे नै माया व्यक्त हुन्छ भन्ठान्छु ।”

यो तारिणी रोशा स्मृति कोशबाट निकालिएको यो पुस्तकको कमजोरी हेर्नु मेरो उद्देश्य थिएन । ह्रस्वदीर्घ पनि हेरिन । तर तारिणीको जीवन के सकरात्मक मात्रै थियो त ? गुणगान गाउने मात्रै ? के कोइराला परिवारमा खटपटको सम्बन्ध नै थिएन त ? कोइराला परिवारका कितावमा भेट्न मुस्किल हुन्छ । अवश्य पनि यी कुरा यहाँ छैनन् । प्रदिप गिरिले भने झैँ । तारिणीका पाण्डुलिपिलाई संस्थागत रुपमा छाप्ने कोशिस कहिल्यै भएन । न गिरिजाप्रसादले गरे न अरुले नै । अध्ययन अनुसन्धान पनि भएन होला । त्यो जिम्मा उनको छोराबुहारीको काँधमा आयो । त्यसैले पनि होला कोइराला परिवारको सुमधुर सम्बन्धको मात्र यसमा चर्चा छ । तारिणीको सकरात्मक जीवनको पाटोमात्र यहाँ छ ।


२०६८– मंसीर १८
मैतिदेवी, काठमाडौँ ।

No comments:

Post a Comment