Wednesday, April 27, 2011

स्मृति ताजै छ महेन्द्रनगरको


सूदुरपश्चिममा मेची गाउँ छ । सिन्धुपाल्चोक ओखलढुंगा भोजपुर झापामा जन्मेहुर्केकाहरु छन् । 'अठभैया'का मान्छेहरु छन् । स्थानीय थारुहरु पनि छन् । त्यसैले 'नेपाल राज्य ठ्याम्म' भन्न पनि मिल्ला कि । यो ठ्याम्म भनेको डोट्याली भाषामा 'जम्मै' 'सप्पै' भन्ने बुझिने रहेछ । डोट्याली भाषामा बोल्नेहरुको माझ भाषिक एकताको परिचय रहेछ-सूदुरपश्चिम ठ्याम्म । मेरो पहिलो भेट थियो सूदूरपश्चिमसँग । जब चिलगाडी सुदूरपश्चिममा ओर्लियो एक हुल हेर्न आए । अर्को हुल लिन । हेर्न आउनेहरु थारु यवतीहरु थिए । लिन आउनेहरु एनजिओ/आइएनजीओका गाडीहरु । मत छक्क परेँ । यद्यपि छक्क पर्नुपर्ने त थिएन । तैपनि मैले सोचेको थिएँ स्थानीय धनी व्यापारीहरु प्लेन चढ्छन होला ।

धनगढीबाट अत्तरिया चोक निस्केपछि चौबाटो आयो पूर्व- बर्दिया बाँके उत्तर-डेडेलधुरा डोटी वैतडी दार्चुला जाने ठाउँ र पश्चिम- महेन्द्रनगर । बाटोमा थारु-बस्तीहरु देखिन्थे । माटोले पोतेका । लाग्यो यिनलाई माटोको धेरै माया छ । लपक्क पोतेर सानोघरलाई चिटिक्क पार्न पोख्त । माटो प्रेमीहरु । बाटोमा पन्त थरका नवजोडीहरु मेरो सिट नजिकै थिए । श्रीमती भन्दै थिइन- 'हेर्त थारुका घरहरु' । श्रीमानले भने- 'चिच्चाएर नबोल थारु भन्न हुँदैन' । श्रीमतिले फेरि उत्तर दिइन- 'थारुलाई थारु, बाहुनलाई बाहुन नभनेर के भन्ने त हेपेर पो बोल्नु भएन नि !' मलाई उनको कुरा जायज लाग्यो । महेन्द्रनगर आइपुगेपछि मलाई त्यहाँ कहाँका मान्छेहरु बस्छन् त्यहाँका स्थानिय थारुहरुले के गर्छन काठमाडौबाट काचनपुर कति नजिक तथा टाढा छ भन्ने उत्सुकता जाग्दै गयो । अर्को उत्सुकता थियो त्यसबारे यहाँ लेखेको छैन । २०४९ सालको 'जनमञ्च' म्यागेजिनमा गोपाल गुरागाइँले कंचनपुरबाट एउटा रिर्पोटिङ गरेका थिए । त्यहाँ १५ पटक बेचिएका रिसुवा चौधरीको साँच्चीकैको कथा थियो । त्यो रिर्पोटिङमा १५०० बाट बेचिन सुरु गरेका रिसुवाको मोल १५ पटक बेचिँदा २० हजार सम्म परेको थियो । लेखकका अनुसार उनलाई किन्ने मान्छे गैर थारुहरु थिए । मलाई रिसुवालाई भेट्न मन थियो अहिले उनी के गर्दै होलान् तर समय त्यस्तो थिएन । बरु मैले आफ्नो कामको सिलसिलामा अरु थारु साथीलाई भेटेँ । उनीहरुका रिक्सा चढेर गन्तब्य नपुगुञ्जेल कुरा गरेँ ।

अहिले मुक्त थारु कमैयाहरु ज्यालादारी काम गर्दै छन् । रिक्सा चलाउने अफिसमा काम गर्ने रहेछन् । एफएम रेडियोमा चिया पकाउने होटेलमा खाना पुर् याउने आदि । रिक्सा चलाउनु उनीहरुको दोस्रो रोजाई हो । सकेसम्म किसानी काम गर्न नै रुचाउँछन् । खेती गर्ने समयमा उनीहरु गाउँमा फर्कन्छन् । नेपालगञ्जका एक थारु रिक्सावालले भन्थे- 'हप्तादिन रिक्सा चलाएँ भने अर्को हप्ता घर बस्छु धेरै ताकत लगाउनु पर्दा निकै कमजोर भइन्छ । त्यसैले एकहप्ता घर बसेर आराम गर्नुपर्छ । नखाई-नखाई रिक्सा तान्ने साथीहरु टिभी रोगलागेर मरे पनि' । उनले भने- 'त्यसैले पनि हप्ता दिन विराएर घर जाने गरेको छु' । समुहमा कोठा लिएर थारु युवाहरु धनगडी महेन्द्रनगर नेपालगञ्ज जस्ता सहरमा रिक्सा चलाउने रहेछन् । धनगढीमा एक थारु रिक्सावाललाई सोधेँ- 'दाई सुदूर पश्चिम दैनिकको अफिस देख्नुभएको छ उनले भने-छैन । निर्माण व्यावसायीको अफिस देख्नुभएको छ - छैन । रातो पुल नि - छ । तर नजिकैको अर्को रिक्सावालले भने- निर्माण व्यावसायीको अफिस मैले देख्या छु सूदुर पश्चिम दैनिकको अफिस पनि देख्या छु । कारणवस देख्या छु भन्ने हरिप्रसाद कोइरालाको रिक्सामा चढ्यौँ । हतारमा पुग्नु थियो । कोइराला धनगढीमा झापाबाट आएका रहेछन् । उनी भन्दै थिए झापामा हामी कालेबुङबाट आएको हौँ । मामा पहिलेदेखि धनगढीमा बस्ने भएकाले २०४६ सालतिर उनी पनि यतै आए । उनलाई थारु रिक्सावालसँग प्रतिस्पर्धा गर्न सजिलो हुने रहेछ । उनी भन्दै थिए- थारु रिक्सावालले नयाँ ठाउँको नाम नजान्दा मलाई धेरै ठाउँमा फाइदा पनि भएको छ । पहिला रिक्सा चलाएँ बीचमा स्कूलमा काम गरेँ । फेरि स्कुल छोडेर रिक्सा चलाउन थाले । कतिपय थारु रिक्सावालले ठाउँको नाम थाहा नभएर ग्राहक गुमाउने रहेछन् । धनगढीको हस्पिटललाईन थाहा नभएर कोइरालाले ५ रुप्पे भाडा लाग्ने ठाउँमा ७० रुप्पे कमाएको कथा भन्थे । मलाई यी घटनाहरुले जनमञ्चको रिसुवा चौधरी पात्र यही थिए कि जस्तो लाग्थ्यो । अझैपनि ठगिइरहेका सोझा थारुहरु ।

मलाई दोस्रो जान्न मन लागेको कुरा थियो महेन्द्रनगरमा बाहिर कहाँ कहाँबाट मान्छे बसाईसराई गरेका छन् भन्ने । यो जिज्ञासा महेन्द्रनगर पुगेपछि नै जन्मेको हो । महेन्द्रनगरमा मान्छेहरुलाई सोधेँ -तपाईको घर कहाँ हो उनीहरु मध्ये केहीले आफ्नो पुरानो घर ओखलढुंगा, झापा, भोजपुर आदि ठाउँमा बताउँथे । उनीहरुबाट जिज्ञासा थपियो । डोटी दार्चुला बैतडी भन्नेहरुबाट मलाई जिज्ञासा थपिएन । पूर्वबाट किन आए होलान ! उनीहरु भन्थे- हामीहरु तराईको तल्लो भागमा राखिएका भूपू आर्मीका परिवार हौँ । छब्बिस/सत्ताइस सालतिर पुर्नवास गराइएका परिवार हौ । हामीहरु पहाडमा मनसुन बढी हुँदा बाढीमा परेका परिवार पनि छौँ । हामीहरु भारतमा काम गर्न जाँदा विहावारी गरेर यतै बसाइसराइ गरेका हौँ । हामी पूर्वबाट राजनीति गर्न शिक्षक पेशा अंगालेका पनि छौ । भारत-पाक विभाजन पछि भारतमै बस्न रुचाउने पाकिस्तानी शिखहरुलाई कंचनपुरको तल्लो भारतीय भूभागमा पुर्नबास गराईएको रहेछ । त्यसैले त्यतैबाट बसाईसराई गरेका शिखहरु पनि छौ । त्यसैले हामी ७६ औँ जिल्लाका बासिन्दा हौँ । मैले चितवनका बासिन्दाहरुले पनि आफूलाई ७६ औँ जिल्लाका बासिन्दा भनेको सुन्थे । अहिले कंचनपुरका बासिन्दाले भनेको सुने । कंचनपुरमा हामी 'मिडिया राष्ट्रियता र राष्ट्रबाद' सम्बन्धि मार्टिन चौतारीको कार्यक्रममा गएका थियौँ । हामीसँगै जानुभएका विश्लेषक सिकेलाललाई यो बसाइँसराइँबारे सोधेँ । उहाँका अनुसार पहिला सुदूरपश्चिममा काँग्रेसको राम्रो पकड थियो । काँग्रेस कमजोर भए पंचायत बलियो हुने महेन्द्रको विश्वास थियो । त्यसैले राजा महेन्द्रले पूर्वका कम्युनिष्टहरुलाई काँग्रेसको विरुद्धमा राजनीति गर्न उक्साउन थुप्रै पूर्वेली वस्तीहरुलाई सूदुरपश्चिममा पुर्नवास गराएका हुन् भन्नुभएको थियो । तर स्थानियहरुले यसबारे आफूलाई थाहा नभएको बताए । केहीले अस्वीकार पनि गरे सीकेलालका यस्ता कुरा सुन्नलाई रुचिपूर्ण भएपनि निकै जनरलाईज हुन्छन् ।

महेन्द्रनगर नै पुगेर थपिएको मेरो दोस्रो जिज्ञासा चाहिँ दिल्ली र काठमाडौँ कति टाढा कति नजिक भन्ने हो । कंचनपुरमा त्यहाँको शुक्लाफाँटा दैनिकमा एउटा विज्ञापन थियो । लेखिएको थियो - अब दिल्ली र काठमाडौँ जान पर्दैन सुदूरपश्चिमकै एक मात्र पहिलो डिजिटल क्यामेरा मर्मत केन्द्र खुलेको सबैमा जानकारी गराउँछौँ । भुगोलको सामान्य ज्ञानको ख्याल नराख्दा म छक्क परेँ । काठमाडौँ भन्दा दिल्ली नजिक रे ! अरुलाई सोधेँ- सबैले सहजै उत्तर दिए- हो । कहाँ ७ घण्टाको दिल्ली कहाँको १८ घण्टाको काठमाडौँ ! मेरो सोँचले ग्वाङ खायो । काठमाडौ बसेर कंचनपुरलाई आफ्नो कल्पनाको राष्ट्रियता-इम्याजिन कम्युनिटी भित्र पार्दा कंचनपुरबाट काठमाडौ नै नजिक झैँ लाग्थ्यो । होइन रहेछ । भूगोल र आत्मियताले काठमाडौ नजिक होला तर आर्थिक कोणले त दिल्ली नै नजिक रहेछ । सारदा ब्यारेज घुम्न जाँदा बाटोमा बस चढेका एकजना भन्दै थिए- हामी सीमापारी हस्पीटलमा उपचार गरेर फर्कँदै छौँ । कोही भन्थे दिल्लीबाट आएको । एकहुल मान्छे गड्डा चौकीबाट महेन्द्रनगर आउँदै थिए । उनीहरुको हाउभाउ र कुराकानी सुन्दा मानौ विहान उनीहरु इण्डिया गएका थिए बेलुका महेन्द्रनगर फर्कँदै छन् । सारदा व्यारेज नजिकैको गड्डा चौकीमा पोका पन्तुरा बोकेर नेपाल छिर्दै गरेको लर्को देख्दा लाग्थ्यो दिल्ली निकै नजिक छ । छलफल कार्यक्रममा एकजनाले भने- यहाँको जनजीविका हेर्न बैशाख र साउनमा महेन्द्रनगर आउनुपर्छ । नेपाल फर्कँदै गरेका नेपालीहरुको लामो लर्को देख्न सकिन्छ । मनमनै त मेरो मनमा पनि लाग्या थियो- हाम्रो पहाडमा पनि त्यस्तै हालत छ सँगैपढेका ७० जना साथीमध्ये मुस्किलले २० जना नेपालमा छौँ ।
२०६७ फागुन


No comments:

Post a Comment