मैले झापाको भद्रपुरमा एउटा पत्रिका पसलको फोटो खिचिरहेको थिए । पसलबाट फुत्त एउटी युवती निस्केर सोधीन 'किन फोटो खिच्नुभएको ? मैले भित्र कोही होला भन्ने सोँचीन । उनलाई हत्तपत्त उत्तर दिएँ । म पत्रिकाको अनुसन्धान गर्छु तपाईको पसललाई म्यागेजिनले चिटिक्क पारेको देखेर फोटो खिचेको हुँ । तपाईँ चाहनुहुन्छ भने मैले फोटोहरु सबै डिलिट गरिदिन्छु । उनले भनिन्- 'भो पर्दैन'। मेरो आकर्षण साँच्चै नै त्यो पसलमा चिरिच्याँट्ट परेका म्यागेजिन पट्टि नै थियो । रङ्गीविरङ्गी म्यागेजिनले पसललाई विवाहको मण्डपजस्तो सजाइदिएको थियो । त्यसैले आकर्षणको विन्दु बनेको थियो त्यो पसल । पत्रिका पसलमा जाँदा म्यागेजिन देखेर जाग्ने अर्को जिज्ञासा हो- यो म्यागेजिन कस्को हो कुन राजनीतिक पार्टीको हो आदि । भारतमा पनि त्यस्तो हुँदो रहेछ । एक प्रसिद्ध म्यागेजिन ुआउटलुकु का सम्पादक विनोद मेहेताले पत्रिका पन्ध्रौँ वर्ष पुगेको अवसरमा पाठकहरुकहाँ गएर उनीहरुको राय बुझेका छन् । उनलाई पाठकले सोधेका प्रश्नहरु मध्ये एउटा प्रश्न 'आउटलुकुले कुन राजनीतिक पार्टीलाई समर्थन गर्छ' भन्ने थियो । मेहेताले पत्रिकामा लेखेका छन्- आउटलुक 'लिवरल-सेन्टर-लेफ्ट पब्लिकेशनु'हो । उनका अनुसार पाठकहरु यसलाई काँग्रेस आईको पत्रिका भनेर बुझ्ने रहेछन् । अर्थात भारतीय जनता पार्टीको विरुद्ध समाचार छाप्ने उनीहरुका मान्छेका लेख नछाप्ने भन्ने बुझ्दा रहेछन् । र यसलाई 'सोनियाको चम्चागिरी' पनि भन्ने रहेछन् । हाम्रोमा पनि त्यो छ । कस्को पत्रिका कस्ले लगानी गरेको यी प्रश्न अहिलेका पाठकहरुमा निकै चल्ने गरेको छ ।
पञ्चायतकालमा नेपाली पत्रकारिताको एउटा मुख्य पहिचान नै पार्टीकारिता गर्ने थियो । रोजकुमार श्रेष्ठले नेपाल साँस्कृतिक संघले प्रकाशित गर्ने 'सँस्कृति' भन्ने स्मारिकामा लेख्नुभएअनुसार पंचायती समयमा 'समिक्षा' र 'नयाँ सन्देश' भन्ने पत्रिका लोकपि्रय थिए । यी पत्रिकाहरुलाई मान्छेहरुले क्रमशः रुस-समर्थक र अमेरिका-समर्थक भनेर चिन्थे । अर्थात काँग्रेस र कम्युनिष्ट । यिनीहरुमा छापिएका खवर र विचार नेपाल अधिराज्यभरि र राजनैतिक क्षेत्रमा उथलपुथल ल्याउँथे । जेहोस पाचायत कालबाट पत्रिकाहरुको पहिचान राजनीति गर्ने दलका आधारमा बन्ने गरेको हो । त्यो समयमा सरकारी प्रकाशनका बाहेकका पत्रकारहरु पार्टीको लेवल लगाएको बुझ्न सकिन्छ । यो धरातलमा २०४६ सालपछिका पत्रिकाहरु पनि खासगरी म्यागेजिनहरु र टेब्लोइड पत्रिकाहरु पनि काँग्रेस र कम्युनिष्टका पत्रिका भनेर चिनीएका छन् । अझ जनमञ्च पत्रिकाबारे गरिएकॊ अनुसन्धानको अनुभव के छ भने पत्रकारिताको व्यावसायिकता पनि पार्टीकारिताबाट हुर्किएको हो । त्यसैले यहाँ २०४६ सालपछि काँग्रेस र कम्युनिष्ट समर्थन गरिएका म्यागेजिनहरु के-के थिए भन्ने जान्न खोजिएको छ ।
काङ्ग्रेसी म्यागेजिन : २०४८ सालपछि सत्तामा रहेको नेपाली काँग्रेस प्रति वफादार रहने गरि तुलनात्मक रुपमा कमै म्यागेजिनहरु निस्केका छन् । काँग्रेसको संस्थापन खेमाबाट असन्तुष्टहरुले पाक्षिक स्वतन्त्रता निकाल्ने अभ्यास २०४८ को सुरुदेखि नै गरे । यसका सुरुका कार्यकारी सम्पादक सुरेश आचार्यका अनुसार यो २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबाट असन्तुष्ट कांग्रेसले निकालेको पत्रिका हो । यसको सुरुको अङ्कमा खसीलाई काटेको आवरण तस्वीर राखिएको छ त्यसको लाक्षणिक अर्थ चाहिँ गिरिजाप्रसाद कोइरालाले शिशु प्रजातन्त्रको वध गरे भन्ने थियो । कृष्णप्रसाद भट्टराईको हारपछि नेपाली काँग्रेसमा चर्किएको विवादले यस्ता म्यागेजिन प्रकाशनको आधार बने । त्यस्तै लाक्षणिक चित्र स्वतन्त्रताको वर्ष २१ अङ्क ६मा पनि छ जहाँ एउटा बच्चालाई काँडेतारको विचमा राखिएको छ । त्यसको अर्थ चाहिँ शिशु प्रजातन्त्रलाई अप्ठ्यारोमा राखिएको भन्ने हो । यो म्यागेजिनको प्रकाशन २०२८ सालमा साहित्यिक पत्रिकाको रुपमा भएको थियो । यहि पत्रिकालाई २०४८ साल कात्तिक महिनामा पाक्षिक समाचार पत्रिकाको रुपमा प्रकाशित गरिएको हो । २०२८ सालमा स्वतन्त्रता प्रकाशन गर्नुको उद्देश्य 'साहित्यको माध्यमबाट पाचायती शासनको विरोध गर्नलाई हो' पहिलो अंकको प्रकाशकीयमा भनिएको छ । सोही प्रकाशकीय अनुसार स्वतन्त्रताको जन्म हुँदा पाचायती अवस्थामा मुलुकको वातावरण यस्तो थियो कि सरकार र व्यवस्थाको जायज विरोध गर्न पनि साहित्य र अमूर्त भावनाको सहारा लिनु पर्दथ्यो । अर्को पत्रिका 'अग्निपथ साप्ताहिक' २०५४ पनि नेपाली काँग्रेस पक्षधरले निकालेको म्यागेजिन नै हो । २०५५ सालमा पुनः प्रकाशन गरेको सन्दर्भमा भनिएको छ 'प्रजातन्त्रवादी भएकाले हामीलाई कांग्रेस्या भनिन्छ भने हामी त्यसलाई गाली ठान्दैनौ र कांग्रेस्या भन्दा भन्दै कसैले कांग्रेसको कुनै गुट र लवीमा लगेर सीमित गरिदिन्छन् भने तिनको मन्द बुद्धिप्रति हामी सहानुभूति जनाउनुबाहेक केही गर्न सक्दैनौ'। कांग्रेस्या पत्रिका भएपनि कुनै खेमामा नलाग्ने यो प्रकाशकीय टिप्पणीले बताउँछ । तर यसले गणेशमान सिंहले प्रजातन्त्रका निम्ति बीपी‚ केपी र जेपीसँग हिडेको कठोर यात्रालाई अग्निपथ भनेको छ । यो गणेशमान सिंहको जन्मतिथिमा निस्केको पत्रिका हो । यसआधारमा यो गणेशमान सिंह खेमाप्रति सहानुभूति राख्ने पत्रिका हो भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । २०५५ साउन महिनामा बीपी कोइरालाको १७ औँ पुन्यतिथिको अवसरमा यसले पुनः प्रकाशन गर् यो । यसका सम्पादक/प्रकाशक श्रीआचार्य थिए । यसले मुलतः नेपाली कांग्रेसका बारेमा विषयवस्तुहरु प्रस्तुत गरेको छ । तत्कालिन सत्तापक्ष नेपाली कांग्रेसको आन्तरिक राजनीति ऐतिहासिक अभिलेखलाई क्रमशः सुरुको अङ्कदेखि प्रकाशन गरिरहेको छ । त्यसैगरि बीपी कोइरालाका विभिन्न पुस्तकको बारेमा चर्चा पनि क्रमश विभिन्न अङ्कमा गरिएको छ । बीपीको समाजवाद बीपीको चिन्तन व्यक्तित्वबारे सामग्रीहरु प्रस्तुत गरेको छ । नेपालको व्यावसायिक म्यागेजिन जनमञ्च पनि प्रकाशनका हिसावले व्यावसायिक भएपनि यसमा काम गर्ने पत्रकारहरुको हिस्सा नै पंचायतकालमा हुर्किएको 'डेमोक्र्याट' खेमाबाट आएका पत्रकारको वाहुल्य भएकाले अन्तरवस्तुमा यसले असर पारेको थियो । त्यतिबेला कम्युनिष्ट पाठकहरुले यसलाई पनि काँग्रेसको पत्रिका भनेर चिन्थे ।
बाँकी अंश अन्नपूर्ण पोष्टमा छापिएको छ ।
No comments:
Post a Comment