मिडियाको
वस्तुनिष्ठताबारे धेरै आशंका र विवादहरु छन् । कसैले वस्तुनिष्ठता हुनैसक्दैन पनि
भन्छन् । कसैले हुनसक्छ भनेपनि कति हदसम्म भन्ने कुरालाई अघि ल्याउँछन् ।
वस्तुनिष्ठतालाई यस्तो लक्ष्य पनि मानिन्छ, जुन कहिल्यै
प्राप्त गर्न सकिँदैन, तर बस्तुनिष्ठ हुने प्रयास गरिन्छ । मिडिया
सम्बन्धी जानकारहरु वस्तुनिष्ठतालाई समाचार उत्पादन गर्ने साधनको रुपमा अघि
सार्छन् । जसमा रिपोर्टरले गरेको रिपोर्टिङले उसलाई सुरक्षित राख्छ । अर्थात जसले
रिपोर्टिङ गरेर आफूलाई सुरक्षित महसुस गर्छ त्यो तुलनात्मक रुपमा वस्तुनिष्ठ हो ।
त्यसैले वस्तुनिष्ठताबारेको अध्ययन तुलनात्मक रुपमा गर्न सकिन्छ ।
अरुबेला विविध खालको, सन्तुलित
समाचार प्रस्तुत गरिरहेका पत्रिकाहरु युद्धको बेला, अनिकालको बेला,
राष्ट्रिय
विपत्तिको बेला एकै खालको समाचार प्रस्तुत गर्छन् । अघिपछि निष्पक्ष ठानिएका
मिडियाको वस्तुनिष्ठतामा चुनावको बेला पनि प्रश्न गर्न सकिन्छ । चुनावको बेला
मिडियाहरु विभिन्न विचारधाराको आधारमा विभाजित हुने संभावना हुन्छ । चुनावको बेला
राजनीतिक सूचनाहरुलाई छापा माध्यमले जनसमक्ष पुराउने र त्यसबाट ‘जनमत
निर्माण गर्नसक्ने संभावना’को अपेक्षा गरिने हुनाले राजनीतिक
पक्षधरता हुनसक्छ । यसक्रममा नेपालका ठूला दैनिक पत्रिकाहरु राजनीतिक पार्टीप्रति
लचिलो र असहिष्णु देखिने परम्परा विभिन्न चुनावहरुमा देखिएको छ ।
अमेरिकामा पनि चुनावको बेला पार्टीले
मिडियालाई पैसा तिरेर विज्ञापन गर्ने हुँदा मिडियाहरु वस्तुनिष्ठ हुँदैनन भन्ने
गरिन्छ । जस्तो जेस्पर स्ट्रोमव्याक र डनिएला भि. दिमित्रोभाले संयुक्त राज्य
अमेरिका र स्वीडेनको आमचुनावको बेला त्यहाँका प्रमुख पत्रिकाले गरेको समाचार
प्रस्तुतीको तुलनात्मक ढाँचाबारे गरिएको अध्ययन निष्कर्षले अमेरिकी मिडियाहरु
नीतिगत रुपमा समाजको पुर्नआकार दिने बहस तर्फ भन्दापनि
चुनावी राजनीतिलाई व्यक्तिको ‘हार वा जीत’ अथवा
प्रतिस्पर्धाको रुपमा लिन्छन् । यसको
विपरित स्वीडिस मिडियाहरु चुनावको बेला मुद्दा वा नीतिगत वहसमा केन्द्रित हुन्छन्
। पार्टी र उसको चुनावी क्याम्पियन भन्दा पर रहेर तुलनात्मक रुपमा ’स्वतन्त्र‘
रिपोर्टिङ
गरिरहेका हुन्छन् । यी दुई देशको अभ्यासले पत्रकारितामा वस्तुनिष्ठता वा
निष्पक्षताबारे भिन्न बहस गराउँछ । अमेरिकी अभ्यासले ‘बायस’को
सृजना गर्छ । स्वीडेनको पत्रकारिताले तुलनात्मक रुपमा वस्तुनिष्ठतालाई स्वीकृत
गर्छ । चुनावको बेला हुने यस्तो किसिमको अभ्यास मुलतः त्यहाँको राजनीतिक प्रणाली,
निर्वाचन
प्रणाली र मिडिया प्रणाली कस्तो छ भन्ने कुरामा निहित हुन्छ ।
अमेरिकाको न्यु स्कुलका किम्बर्ले एम.
हर्लेले सन् २०१० को मे महिनामा पहिलो संविधानसभाको म्याद थप्ने समयमा अंग्रेजी
माध्यमका दुई मिडिया रिपब्लिका र दि काठमाण्डौ पोष्टको तुलनात्मक अध्ययनको
निष्कर्षमा काठमाडौँ पोष्टले सामन्यतः नेपाली काँग्रेस र एमालेप्रति आलोचनात्मक र
त्यतिबेलाको नेकपा माओवादीप्रति सहानुभुति राखेपनि तुलनात्मक रुपमा निष्पक्ष भनेका
छन् । त्यसको विपरित रिपब्लिका माओवादीप्रति नकरात्मक धारणा राख्ने पत्रिकाको
रुपमा अर्थ्याएका छन् । उनले यसका विभिन्न कारणहरु प्रस्तुत गरेका छन् । जसमध्ये
विज्ञापन एउटा हो । जस्तो माओवादी विरोधी विषयवस्तु उत्पादन गर्ने भएकाले
रिपब्लिकाले भारतीय बहुराष्ट्रिय कम्पनीका विज्ञापन पाउँथ्यो । काठमाडौँ पोष्टले
त्यस्तो विज्ञापन नपाउने हुँदा यसको तुलनात्मक रुपमा ’निष्पक्ष‘
सम्पादकीय
लाईन देखिन्थ्यो भनेका छन् । त्यसकारण यस्ता बाहिरी तत्वहरुले गर्दा पनि मिडियाको
निष्पक्षतामाथि प्रश्न उठ्छ भन्दै हर्लेले पूर्णतः राजनीतिक रुपमा कुनैपनि पत्रिका
स्वतन्त्र हुन्छ वा वायस हुँदैन भन्ने कुरा पत्याउन गाह्रो हुन्छ भनेका छन् ।
धर्म अधिकारी र जगदिश पोखरेलले
संविधानसभाको पहिलो चुनावताका मिडियाले कतिको निष्पक्ष रुपमा पत्रकारिता गरे भन्ने
अनुगमनको रिपोर्ट अध्ययनमा समेटिएका मिडियाले नेपाली काँग्रेस, एमाले
र माओवादी पार्टी तथा त्यसका नेताले मिडियामा अरु दलको तुलनामा पहुँचमात्र होइन
वर्चश्व नै राखेको निष्कर्ष निकालेका छन् । मिडियामा यि दलको बर्चश्व रहनुमा
सत्तामा रहेको प्रभाव (इन्कम्बेसी फ्याक्टर) कारक हुनसक्छ भनेका छन् । उक्त अध्ययन
मिडियामा पाएको समय, स्थानको आधारमा निकालिएको निष्कर्ष थियो । छापा
माध्यमममा स्केलले नापेर कुन दलले कति स्थान पायो, विद्युतिय
माध्यममा समय गनेर कुन दलले कति समय पायो, प्रस्तुतीको शैली सकरात्मक थियो कि
नकरात्मक वा तटस्थ, प्रत्यक्ष भनाइ कुन नेताले वा व्यक्तिले कति
पाए ? भन्ने आधारलाई यो अनुगमन गरिएको थियो ।
वस्तुनिष्ठताको मापन गर्ने तरिका
तुलनात्मक विधि नै हो । हामीलाई थाहा छ वस्तुनिष्ठता मिडियाको लक्ष्य हो । तर
यसलाई लक्ष्यमानेर पत्रकारिता कसले गरिरहेको छ ? यो खोजी गर्न
सकिन्छ । तुलनात्मक रुपमा कुन मिडिया वस्तुनिष्ठताको नजिक छ खोजि गर्न सकिन्छ ।
जस्तो चुनावको बेला अमेरिकी मिडिया प्रणाली भन्दा स्वीडिस मिडिया प्रणाली
वस्तुनिष्ठताको नजिक देखिन्छ । रिपब्लिका भन्दा काठमाडौँ पोष्ट वस्तुनिष्ठताको
नजिक छ, भनेर अध्ययन निष्कर्षहरु निकालिएका छन् । छापा माध्यममा कसलाई कति
स्थान दिएको छ भन्ने कुरा स्केलले नापेर भन्दा पनि कस्तो दृष्टिकोण वा विचार
पस्केर प्रस्तुती गरेको छ भन्ने आधारमा पनि यसको निष्पक्षताको मापन गर्न सकिन्छ ।
उदाहरणको लागि वि.सं. २०७०को
संविधानसभाको चुनावताका सबैभन्दा चर्चा पाएको दुई अभियान अन्तर्गत एमाओवादीको ‘मेची
महाकाली’ र अर्को विभिन्न दलहरुको ‘घरदैलो’ अभियान हो ।
यसमध्ये मेची महाकाली बहसको विषय बनेको थियो । मेची महाकाली अभियानको क्रममा
एनेकपा माओवादी अध्यक्षले ७० वटा सभालाई सम्बोधन गरेका थिए । यो यात्राबारे केही
पत्रिकाले सबैभन्दा बढि समाचार दिए (उदाहरणको लागि नयाँ पत्रिका) । यस्ता पत्रिकाले अघिल्लो पेज,
सम्पादकीय
पेज र दृष्टिकोण स्तम्भमा यसलाई स्थान दिएका थिए । अन्य पत्रिका (उदाहरणको लागि नागरिक दैनिक)ले यो अभियानलाई अघिल्लो पृष्ठ र
सम्पादकीयमा स्थान दिएका छैनन् । बढि समाचार दिने पत्रिकाले अभियानका अभियन्ता
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र चुनावी शभालाई मुख्य ध्यान दिएको थियो । यसले
मुलतः एनेकपा माओवादीको प्रचारमुखी अभियानलाई सघाएको देखिन्छ । यो अभियानलाई
सकरात्मक ढंगले प्रस्तुत गर्दै ‘चुनावी माहौल बनाएको’ एमाओवादी
अध्यक्ष प्रचण्डलाई ‘गतिशिल’ र ‘विशिष्ट’
नेताको
रुपमा स्थापित गरेको भनि आफ्नो विचार राखेको छ । यसले अरु 'अगतिशिल' र 'अविशिष्ट' नेताहरु हुन भन्ने प्रशस्त संकेत
दिन्छ । चुनावको बेला मैले रुचिपूर्वक यो अभियानबारेको कभरेजको अवलोकन गरेको
हुनाले यसको टिप्पणी गरिएको हो । त्यस्तै अरु विषयहरुमा पनि पत्रिकाहरुले आ–आफ्नो
पक्षधरता देखाएका हुनसक्छन् ।
वि.सं. २०७० को चुनावताका विभिन्न
पत्रिकाहरुमा गरिएको व्यक्तिगत अवलोकनको आधारमा भन्न सकिने कुरा मिडियाको एकरुपता
(कमननेस) बारे हो । एकरुपता भनेको ‘अपोजिट द इडिटोरियल’लाई
निषेध गर्ने कुरा हो । तुलनात्मक रुपमा केही पत्रिकामा यो एकरुपता कम छ । उनीहरुले
विपरित विचारलाई पनि स्थान दिएका छन्, कम मात्रामा भएपनि । तर धेरै मिडियाहरु
एकरुपता मै अभ्यास गर्न रुचाउँछन् ।
चुनावताका देखिएको यो अभ्यासबाट नेपाली मिडियाको मिडिया प्रणालीबारे केही
भन्न सकिन्छ । नेपाली मिडिया प्रणालीमा तुलनात्मक रुपमा आन्तरिक बहुलवाद (एउटै
मिडिया हाउस भित्र विभिन्न विचारलाई स्थान दिने) अभ्यास कमजोर छ । त्यसको विपरित
बाह्य बहुलवाद (भिन्न भिन्न विचार भएको मिडिया हाउसको विकास गर्ने) चलन देखिन्छ ।
यसबाट प्रभुत्वशाली नेपाली मिडियाहरु वस्तुनिष्ठतातिर कति उन्मुख छन वा छैनन भन्ने
प्रश्न अझै तेर्सिएको छ ।
२७ डिसेम्बर
२०१३ (संविधानसभाको दोस्रो चुनावको सन्दर्भमा लेखिएको)
No comments:
Post a Comment