Tuesday, June 9, 2015

जमिन थर्किएको सेकेन



भूकम्प आउँदा वानेश्वरको एक स्टेशनरी पसल भित्रको कोठामा थिएँ । सुरुमा त गटगट आवाजसहित झ्यालका पर्दा हल्लेको देखेँ । भूकम्प आएर उत्तिखेरै गएको भोगेको थिएँ । त्यसैले सोचेँ, 'यो आउँछ र जान्छ' । तर गएन । त्यसपछि म पुत्पुत्ति भागेँ । यु ट्युवमा देखिएका दृष्य झैँ । यतिसम्म कि खाटमुनी लुक्ने कल्पना त मेरो मनमा नै आएन ।  जब हामी बाटोमा पुग्यौँ । पसलको दराज गर्लम्म ढल्यो । बाटोमा मान्छेहरु चिच्चाएका, केटाकेटीहरु रोएका, मोटरसाइकल ढङ्रङ्ग हुँदै पल्टेका थिए । गाडिहरु रोकिँदै थिए । जमिन आफै उफ्रिरहेको थियो । वाफ्रे ! त्यति हुँदा पनि थरथराहट रोकिएको थिएन । त्यत्रो संसार उफार्दा जमिनले मलाई के छोड्थ्यो र ? उफार्दै पछार्यो ।  विजुलीका पोलहरु धामी कामे झैँ हुटहुट हुटहुट गरिरहेका थिए । त्यसैले बाटोमा उभिनुपनि जोखिम ठानेँ । बाटोको पारीपट्टी खुल्ला जमिनमा पुगेर वरिपरीका घरहरु हेरेँ । घरी झुलेको देखिन्थ्यो । घरी तलमाथि उफ्रेझैँ देखिन्थ्यो । आफू बाँचेपछि मेरो ३ वर्षे छोराको ख्याल आयो । सिमन्ताको पनि। उनीहरु घरैभित्र अड्के होलान् भन्ने कल्पनाले सतायो । एक्कासी "बाबु ! बाबु !!" भन्दै बर्बराउन थालेँ । थाकेर होला जमिन विस्तारै हुइहुइ खेलिरहेको थियो । तर हल्लिएकै थियो । मान्छेहरु जमिन नहल्योस भन्दै दश अौँलाले थिचेर सांकेतिक अपिल गरिरहेका थिए । रुनेबाहेक बोल्ने कसैको आँटै थिएन । ठूलो भूचाल रोकियो । फोटोग्राफर भएको भए फोटो खिच्ने धुन हुन्थ्यो होला । त्यसको साटो वरिपरी खबर के होला भनि ट्वीटर चलाएँ । 'बाँचियो' भनेर पोष्ट पनि गरेँ । पराकम्पहरु दोहोरिरहेका थिए । यतिबेला हिँड्नु 'डेन्जर' हुने ठानेर सिमन्तालाई फोन लगाउने कोसिस गरेँ । वरिपरीका मान्छेहरुले झैँ । कैयौँको फोन नलागेकोबेला फोन त लाग्यो । तर उठेन । मेसेज गर्ने कुरा मनमा नै आएन । मैले सकरात्मक कल्पना गरेेँ "उनीहरु भागेर बाहिर आइसके होलान् त्यसैले फोन उठेन" । पराकम्पनले हल्लाउँदा हल्लाउँदै घरतिर भागेँ । बाटो वरिपरी मान्छेहरु थुप्रिएका थिए । सबै आशाहीन मनस्थितिमा थिए । कोही परिवार खोज्न घरभित्र जाँदै थिए । घरभित्र भएका भर्याङ्गबाट लड्खडाउँदै खुला जमिनतिर आइरहेका थिए । कोही बृद्ध बाआमालाई लिएर आउँदै थिए । त्यही बेला कोही भन्दै थिए "असन खत्तम भयो होला", "धरहरा ढल्यो होला" आदि । अनेकतरहका यस्ता कुराहरु छल्दै छल्दै म घर पुगेँ । उनीहरु बाहिर बसिरहेका रहेछन् । घरभेटी दाई रेलिङ्ग समात्दै झर्दैगर्दा पनि गुटमुटिँनुभएछ । दाइले भन्दै हुनुन्थ्यो, "पहिला हुइहुइ खेलायो, पछि राइँचुइँ खेलायो उपाय लागेन र लडेँ" । मरेमरिन्छ भन्दै कपडा धुन लागेकी मेरी जहानले भाइ र छोरालाई काखमा च्यापेर स्नानरुममै बसिछन् । कसैले भन्दैथिए "ईश्वरीय कृपाले" बाँचियो । कसैले भन्दैथिए "वानेश्वर बलियो रहेछ" । जेहोस् बाँचियो ।

खुला चौरमा
मान्छेहरु अघोर आतिएका थिए । उनीहरुले चाउचाउ, विस्कुट आदि बोकेर खुला ठाउँमा आउन थाले । जब साँझ पर्न थाल्यो । खुरुरु घरमा पसेर ब्लांकेट, तकिया लिएर आउन थाले । जे छ झिकेर ल्याउन थाले । घरभित्र बस्न त कसैले आँट गरेन । मान्छे नबसे पछि त घर पनि घर जस्तो नहुँदोरहेछ । डर लाग्ने । साँच्चै डर लाग्ने । किचनमा तेल पोखिएको, पानी छचल्किएको, भाँडाकुँडा ठङ्ग्रङ्ग भएको देख्दा डरडरै भयो । अझ साँझ त एक्लै घरभित्र जानै सकिएन । लौ आज चाउचाउ खाएर बसने भइयो भन्दै भित्रबाट कपडा लिएर हामी पनि चौरतिर आयौँ ।  सबै छिमेकीहरु जम्मा भएकाले मासूम छोरा खुसीसाथ खेल्न थाल्यो । मान्छेहरु चाउचाउ किन्न खुलेका किराना पसलतिर जान थाले । मान्छे मरेका खबर र 'शहर ध्वस्त छ रे' भन्ने हल्लाले नमज्जा लागिरहेको थियो । रेडियो नेपालले लगातार खबर भनिरहेको थियो । हल्लाहरु फैलने, रोगहरु फैलने, ठूला पराकम्पन आउनसक्ने, आदि कुराहरु बरोबर फुकिरहेको थियो । पराकम्पन आउँदा चराहरु आकाशमा उड्ने, कुकुर भुक्ने गर्थे । त्यत्तिकै कुकुरहरु कराउँदा पनि मान्छेहरुमा बेचैनी देखिन्थ्यो । भुकम्प आउने दिन यस्तो डरलाग्दो कल्पना हुँदोरहेछ, घर देख्दा घरै ढल्छ कि, रुख देख्दा ढल्छ कि भन्ने डर लागिरहन्थ्यो । अझ मौसमको गडबडीले मनोदशा निकै कमजोर बनाइदिएको थियो । आकाशबाट आएको पानीले त्यो रात चौरमा बस्न सकेनौँ । बल्लबल्ल कोठाभित्रबाट ल्याएका कपडाहरु कुटुरो पारेर फेरि उतैको ओततिर जानुपर्यो । ससाना नानीहरु खुला आकाशमुनी सुतिरहेका थिए । तपतप उनीहरुको आँखामा पानी परेपछि 'हे आपत्' भन्दै मान्छेहरु घरतिर फर्के । उमेर ढल्केकाहरु मरेमरिन्छ भन्दै घरमा बसे । घरको तल्लो तलामा जाग्राम बस्ने भुकम्प आउँदा खुला ठाउँतिर दौडिहाल्ने भनेर दलिनमा कोचियौँ । त्यो बेला चाउचाउ खाएका पेट आकाश झैँ घुर्रघुर्र गुड्किरहेका थिए । पेटमा ग्यास भरिएर ढ्याउ ढ्याउ आइरहेको थियो । पराकम्पन आउँदा ३ सेकेन भित्र छोरालाई लिएर दौड्न सक्ने भएको थिएँ । सबै तन्द्रामा थिए । निद्रामा थिएनन् । पानीले बाहिर बस्न नदिने र भुकम्पले भित्र । बडो विजोग थियो हालत त्यो दिन। स्वस्थानीकी चन्द्रावतीको झैँ  । अझ घर भत्केकाहरुको र आफन्त पुरिएकाहरुको त यो कथा नै होइन ।

२०७२ जेठ २५

No comments:

Post a Comment