Thursday, February 11, 2016

मितेरी गाउँको कथा



कास्की जिल्लाको ताङतिङ पुग्दा, यसले बेलायती गाउँसँग ‘मितेरी साइनो’ गाँसेको थाहा पाएँ । गाउँ मात्र होइन त्यहाँको स्कूलले पनि मितेरी साइनो गाँसेको थियो । नेपालको दुर्गम हिमाली गाउँ ताङतिङले बेलायतको सुगम ठाउँ देवदेन र वीमविशसँग कसरी मितेरी साइनो गाँस्यो ? यो उत्सुकताले म घेरिएँ । बेलायतमा उस्तै आर्थिक सम्बन्ध भएका गाउँबीचमा ‘जुम्ला’ (ट्वीन) सम्बन्ध गाँसिन्छ । तर हाम्रो समाजमा रहेको ‘मितेरी साइनो’ अलि फरक छ । पहिला गाउँबाट टाढा गएर बास बस्दा ‘आउँदाजाँदा काम लाग्ने’ भन्दै मितेरी साइनो पनि गाँसिन्थ्यो । गाउँमै पनि सम्बन्धको दायरा बढाउन मित लाइन्छ ।

हिउँदताका ताङ्गतिङ्गको बेसीबाट देखिने हिमाली दृष्य

पर्यटकीय कास्की जिल्लामा पर्ने ताङतिङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को दक्षिणमा पर्ने हिमाली गाउँ हो । यहाँ पुग्दा “तालुमाथि ठाउँ छैन ताङतिङमाथि गाउँ छैन” भन्ने उखान सुनिन्थ्यो । हुन त उपल्लो भेगका धेरै हिमाली गाउँलाई यसै भन्ने गरिन्छ । पोखराबाट २७ किमी उत्तरपूर्वमा पर्ने ताङतिङ  अप्ठ्यारो भू संरचनामा पर्छ । यस्तो भूगोल भएपनि पहिलेदेखि नै ताङतिङको सम्बन्धका ऐतिहासिक पाटा छन् । गोर्खा सैनिक उमार्ने थलो भएकाले बाँकी विश्वसँग यसको पूरानो सम्बन्ध छ ।

पश्चिमी मोहडामा फर्किएको ताङ्गतिङ्ग गाउँ


पहिलो महायुद्ध देखि नै ताङतिङका मानिसहरु “गोठालो देखि गुर्खाज” बने । गाउँ नै खाली हुने गरी युवालाई भर्ती गर्न भारतबाट गल्लावाल आउँथे । यो दुःखको इतिहाससँगै ताङतिङको सम्बन्धको दायरा देशविदेशमा बढ्दै गयो । वि.सं. २०००को दशकदेखि यहाँका वासिन्दाले पोखरा, बेलायत, हङकङ, काठमाडौँ आदि ठाउँमा बसाइसराइ गरे । स्थानियका अनुसार हाल पोखरामा कम्तिमा १४५, काठमाडौँमा ११ र बेलायतमा ४० परिवार घर बनाइ बसेका छन् । विदेश बसेका र त्यहाँबाट गाउँ फर्केकाको हाउभाउ देखेका गाउँलेहरुले “जीवन पूर्ण हुन एकपटक विदेश जानुपर्छ” भन्ने मान्यता बनाएका पनि छन् । ‘एकदिन विदेश नगई मर्नु हुँदैन’ भन्ने ‘विदेश सपना’ गाउँमा जवर्जस्त छ ।

ताङ्गतिङ्गसँग मितेरी साइनो गाँसेपछि वीम्विसको सडकमा टाँसिएको बोर्ड (तस्बिर टिटिए)

यसरी गाउँ छोडेका ताङतिङेले सम्बन्धित ठाउँमा सम्पर्क समाज बनाइ बसेका छन् । पोखरामा बसाई सरेका ताङतिङ पूख्र्याैली हुनेले २०४२ सालमा ‘दुधपोखरी तमु समाज’को स्थापना गरे । बेलायतमा ताङतिङबाट आएका व्यक्तिले ‘ताङतिङ समाज युके’ गठन गरेका छन् । फेसबुक जस्ता नयाँ मिडियाले यो क्रमलाई अझ तीब्र पारेको छ । यसै क्रममा बेलायतमा रहेका पूर्व गोर्खा आर्मीको संयोजनमा उनीहरु बसोबास गरिरहेका उत्तरी बेलायतमा पर्ने देबदेन, देबदेन ग्रीन र वीमविश गाउँलाई ताङतिङसँग मितेरी साइनो गाँसिदिएका छन् ।

२०६७ सालमा बेलायतको गोर्खा सैनिक बस्ने ठाउँ कार्भर ब्यारेकको हवाइमैदानमा “गोर्खा सैनिकले ब्याण्डबाजा बजाए, बेलायती गाउँ देवदेन र वीमविशका स्कुले विद्यार्थीले नाचगान गरे । ताङतिङ र यसको वरिपरीको गाउँबाट बेलायत गएका नेपालीले सोरठी नाच नाचे” म्याट कासेले ताङतिङ डट ओआरजीको वेबपेजमा लेखेका छन् । यो अवसरमा बेलायत स्थित नेपाली राजदुतको उपस्थितिमा ‘जुम्ला’ सम्बन्ध गाँसियो । बेलायती गाउँहरु र ताङतिङ बीच सम्बन्ध गाँसिएको सन्दर्भबारे यसका संस्थापक गौबहादुर तमु स्थानीय पत्रिकाको स्मारिकामा लेख्छन् : “देवदेन र वीम्बीशमा भर्खर निर्वाचित भएकी डिष्ट्रिक काउन्सिलर टिना नाइट त्यहाँ बसोबास गर्ने पूर्व गोर्खा सैनिकलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सल्लाह गर्न आएकी थिइन् । त्यही बेला मैले ताङतिङका  मानिसको कष्टकर जीवनबारे बताएँ ।” धेरै भेटघाट पछि टिनाले ‘जुम्ला’ सम्बन्ध राखेर सहयोग गर्ने प्रस्ताव गरिन् । यूरोपमा उस्तै आर्थिक हैसियत भएका गाउँहरुबीच ‘जुम्ला’ सम्बन्ध गाँसेपनि असमान आर्थिक हैसियतले गर्दा ताङतिङेहरुलाई असजिलो महसुस भएको थियो । तैपनि टिनाले ‘म गाउँले सबैलाई मनाउँछु’ भन्दै देवदेन र वीमबीश गाउँमा यो प्रस्तावको सर्भे गराइन र यो प्रस्तावलाई धेरैले मन पराए । र मित लाइयो ।
मितेरी गाउँको सहयोगमा खोलिएको शिशु स्याहारमा रहेका बालबालिका

मितेरी गाउँको सहयोगमा२०६७ सालमा ताङतिङमाशिशु स्याहार केन्द्र खोलियो । दिउँसोमा बच्चाहरुलाई केन्द्रमा छोडेर आमाबाबु काम गर्न सजिलो होस् भनेर। मितेरी साइनो गाँस्नु अघि गाउँमा आएका पर्यटकलाई राख्ने होटेलहरु थिएनन् । २०६८ सालमा ताङतिङ मितेरी संगठनका संस्थापक लक्ष्यबहादुर गुरुङसँग आएका कर्नेल क्रोम्बीलेआफ्नो स्वर्गीय श्रीमती सुजीको नाउँमा ‘पर्यटक होस्टेल’को लागि २ ओटा स्थानीय घर किनेका थिए । जसलाई ताङतिङमा ‘सुजी घर’ भनेर चिनिन्छ । ताङतिङका वृद्ध तथा गरिवलाई सहयोग गर्न कल्याणकारी कोषको स्थापना गर्ने, आफ्नो ठाउँका नागरिकलाई पर्यटकको रुपमा ताङतिङमा पठाउने, दलित विद्यार्थीको लागि स्कूल तथा कलेजको शुल्क तिरिदिने, गाउँमा रहेको लघु जलविद्युत मर्मतको लागि मितेरी गाउँले सहयोग गरेको छ । यसैक्रममा ताङतिङतर्फको संयोजक रहेका हिमालयन मिलन माविका शिक्षक प्रकाश गुरुङले स्कूल शिक्षाको सुधारविस्तारको लागि बेलायत भ्रमण गरेका थिए ।
स्थानीय उनबाट तयार पारेको कम्बल प्रशोधन गर्दै । यो पोखरा, काठमाडौँ तथा यूरोप अमेरिकामा विक्री हुन्छ

ताङतिङलाई विश्वसँग जोड्न बेलायतको ‘द पहर ट्रष्ट’को योगदान छ । पहर ट्रष्ट पूर्व बेलायती सेनाका ब्रिटिस तथा गोर्खा सेनाले मिलेर खोलेको आइएनजिओ हो । यसले नेपालका उच्च पहाडी र हिमाली क्षेत्रका विद्यालयलाई भौतिक सहयोग र बेलायतका स्कूलसँग साइनो गाँसिदिने काम गर्छ । यसलाई ताङतिङबासीले ‘गड फादर’ भन्छन् । अहिले पनि पहर ट्रस्टको अनुरोधमा प्रतेक वर्ष १५ जना भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति दिइरहेको छ । यहाँको हिमालय मिलन माविसँग बेलायत र आयरल्याण्डवीचको भूभाग ‘आयल्स  अफ म्यान’को ‘सेन्ट थोमस स्कूल आयल्स अफ’ले मितेरी साइनो गाँसेको छ । त्यसैगरीे बेलायतको मेड स्कुल अफ गलसँग पनि मितेरी साइनो गाँसेको छ । प्रधानाध्यापक प्रकाश गुरुङका अनुसार यो स्कूल अहिले सबैभन्दा ठूलो सहयोगी हात हो ।
बेलायती संस्था पहर ट्रष्टको सहयोगमा निर्माण गरिएको स्कूल भवन
‘द पहर ट्रष्ट’ले २३ हजार ३२० अमेरिकी डलरको सहयोगमा स्कूलको कंक्रिट भवन बनाइदिएपछि निम्न माध्यमिक तहबाट माध्यमिक तहमा उक्लेको थियो । स्कूलका प्रधानाध्यापक प्रकाश गुरुङले पोखराबाट प्रकाशित तमुहरुको एक स्मारिकामा लेखे अनुसार ‘आयल्स अफ म्यान’का जोन रेलीले स्कुलमा १२ हजार ९०२ अमेरिकी डलर सहयोगमा छात्रावास भवन बनाइदिए । पहर ट्रष्ट मार्फत बेलायतको मेडस्टोन ग्रामर स्कूलले विद्यालयमा पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला लगायत सहयोग गरेका छन् । हाल स्कूलको छात्रावासमा गाउँकै ढिँडोफाँडो खाइ विद्यार्थीहरुले एसएलसी दिइरहेका छन् । हरेक वर्ष यहाँका झण्डै शतप्रतिशत विद्यार्थी पास हुन्छन् । सहायक प्रधानाध्यापक दिलिप गुरुङका अनुसार कतिपय अभिभावकले पोखराको बोर्डिङ छाडेरपुख्र्यौली गाउँको स्कूलमाएसएलसीसम्म छोराछोरी पढाइरहेका छन् ।

गाउँको उत्तरी दिशामा रहेको छ्योर्ते

ताङतिङमा गरिने यस्ता कल्याणकारी कामको लागि बेलायतको ‘मितेरी’ गाउँमा विभिन्न किसिमका सहयोग संकलनका कार्यक्रम गरिन्छ । मितेरी गाउँका म्यानफ्रेड स्टेगरका अनुसार त्यहाँ ‘गार्डेन पार्टी’, ‘टी पार्टी’ ‘फोटो प्रतियोगिता’ आदि गरिन्छ । आयोजित यस्ता कार्यक्रममा नेपालमा उत्पादन गरिएका घरेलु वस्तु विक्री गरिन्छ । यी कार्यक्रमको प्रचारप्रसारको लागि वेबपेज पनि खोलिएको छ । वेबवेजमा दानपेटिका पनि छ । एकपटक मात्र दान गर्ने कि महिनामा नियमित सहयोग गर्ने जस्ता सुविधा रहेको छ । विशेष सहयोगको लागि बेलाबेलामा वेबपेजबाटै अपिल गरिन्छ ।


पाहुनालाई घरभित्र स्वागत गर्दै ताङ्गतिङ्गका स्थानिय

यसरी मितेरी साइनो सामाजिक र आर्थिक पूँजी बनेको छ । असमान आर्थिक हैसियत भएका सँस्थाहरुवीचमा ‘सहयोग सँस्कृति’ भित्र्याएको देखिन्छ । हिमाली गाउँहरुमा गोर्खा लाहुरे र पर्यटनको लामो इतिहास भएकाले पनि बाँकी विश्वसँगको सम्बन्ध बलियो भएको हो । र इन्टरनेट वा फेसबुक जस्ता नयाँ मिडियाले भू–ऐतिहासिक (पर्यटन र गोर्खा)सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गरेका छन् ।
१२ पुस, २०७२, शब्द ९८०

No comments:

Post a Comment