२०२८ सालको जनगणनालाई छिटो प्रकाशित गर्न कम्प्युटर भारतबाट भाडामा ल्याइएको थियो । यो लेख त्यही बेला -२०२८–२०३८_ को एउटा कम्प्युटरको अन्तर्कथामा केन्द्रित छ । २०११ र २०१८ सालमा लिइएको जनगणनाको नतिजा निकाल्न ५÷६ वर्ष लागेकाले त्यसले पञ्चवर्षिय योजनालाई प्रभावित पारेकोले भाडामा कम्प्युटर लिइएको थियो । २०२८ सालको जनगणनाको नतिजा कम्प्युटरको मद्दतले १ वर्ष, ८ महिना र १५ दिन भित्र निकालिएको थियो । राष्ट्रिय कम्प्युटर केन्द्रमा रहेको दोस्रो संस्करण पूरानो १४०१ सिस्टमको कम्प्युटर भारतको आइविएम कम्पनीसँग सालिन्दा १२ लाख रुपैँया भन्दा बढी भाडा तिरि लिइएको थियो ।२०३५ सालमा राष्ट्रिय कम्प्युटर केन्द्रले ३ लाखमा यो आइविएम १४०१ कम्प्युटर आफै किन्यो । यो कम्प्युटर अल्प क्षमताको हो भनि जानेपछि २०३८ सालको जनगणनामा आइसिएल नामको बेलायतबाट ल्याएको अर्को कम्प्युटरले यसलाई प्रतिस्थापन गरेको थियो । २०४६ सालमा लेखेको नेपालको व्यवहारिक कानुन तथा मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग भन्ने पुस्तकमा सुमित्रा राजभण्डारीले लेखेअनुसार २०३८ सालमा युएनएफपिए र युएनडिपीको संयुक्त सहयोगमा लगभग २ करोड ५० लाख पर्ने आईसिएल २९५०÷१० चौथो पुस्ताको कम्प्युटर नेपालमा प्रवेश गरेको थियो ।
![]() |
रामशाहपथमा रहेको राष्ट्रिय कम्प्युटर केन्द्रको भवन स्रोतः नेपाल साप्ताहिक २०७१ चैत ८ । यो तस्बिर गुगलमा पनि पाइन्छ । |
कम्प्युटर भाडामा लिएपनि स्थायित्व दिने हिसाबले तत्कालीन सरकारले २०३१ सालमा कम्प्युटर सञ्चालनको लागि तथ्याङ्क विभाग अन्तर्गत विकास समिति ऐन अनुसार “यान्त्रिक सारिणीकरण केन्द्र” खोलेको थियो । किनभने यो कम्प्युटर ’कोठा जत्तिकै’ ठूलो थियो । २०३५ सालमा निकालेको स्मरण नामक कम्प्युटर विशेषांकमा विभिन्न लेखकले यसबारे आफ्ना स्मरण लेखेका छन् । जसमध्ये देवीप्रसाद चापागाईँ, नारायणप्रसाद नयन, भोलाप्रसाद रेग्मी, भूवनहरि शर्मा, हरिगोपाल श्रेष्ठ, अशोक कुमार श्रीवास्तव तथा रघुनाथ अधिकारी छन् । यो विशेषांकअनुसार कम्प्युटरलाई व्यवस्थापन गर्न केन्द्रिय तथ्यांक विभागको भूँइतल्लाबाट बसाईँ सरेर सिंहदरवार कम्पाउण्डमा पुगेको थियो । प्रथम चरणमा खर्च हुने गरी २०३५ सालमा ६० लाख खर्च गरेर सिंहदरवार भित्र १९ हजार वर्गफिटमा कम्प्युटर भवन सिलन्यास गरिएको थियो । तीर्थ बहादुर श्रेष्ठले सम्पादन गरेको नेपालमा विज्ञानको विकास पुस्तकमा राष्ट्रिय कम्प्युटर केन्द्रका तत्कालिन प्रवन्धक देवीप्रसाद चापागाईँले लेखे अनुसार यो मुख्य भवनको अतिरिक्त विद्युत आपुर्तीको लागि विद्युत भवन छुट्टै रहेको थियो । व्याट्री र जेनेरेटर सहित यो कम्प्युटरको लागि तीन तहको विद्युत प्रणाली थियो । कम्प्युटर संयन्त्रको तापक्रमको लागि दुइटा ३० टन र एउटा ४५ टन क्षमता भएको एयर कण्डिसनिङ्गले वातानुकुलनको व्यवस्था गरेको थियो । तीन तहको अग्नि सुरक्षा व्यवस्था गरिएको थियो । फोहोराबाट हालोन ग्यास छाडी आगो निभाउने, सुरक्षा गार्ड, अग्नीसूचक प्रणाली र नगरको बारुण यन्त्रसँग कम्प्युटर केन्द्रको सोझो टेलिफोन सम्बन्ध पनि थियो । त्यसै गरी चट्याङ्गबाट बचाउन लाइटेनिङ्ग रड र कम्प्युटर कक्षको पाँचै दिशामा फलामे जाली राखिएको थियो । यसको वरिपरी विरुवा रोपेर हरियाली पनि बनाइएको थियो ।
![]() |
आइविएम कम्प्युटरको तस्बिर (स्रोत :गुगल- २ अप्रिल २०१६ ) |
देवीप्रसाद चापागाईँका अनुसार अनाधिकृत मानिस कक्षमा पस्न सक्दैनथे । परिचयपत्र ढोकाको दुलोबाट छिराएपछि जुत्ता फुकालेर भित्र जानुपर्ने हुन्थ्यो । कम्प्युटर सम्बन्धी गोष्ठी, कार्यशालाको लागि सभाकक्ष, सोहीबारेमा पुस्तक, पत्रिका र अन्य प्रकाशन गरी कम्प्युटर पुस्तकालय, कम्प्युटरको प्रयोगबारे जानकारी दिन समीक्षा कक्ष, कम्प्युटर हेर्नलाई अवलोकन कक्ष, कर्मचारीको सुविधाको लागि भोजनालय आदिको व्यवस्था थियो । कम्प्युटर संग्रहालय बनाउने लक्ष्य पनि यसको थियो । यसमा काम गर्ने सिस्टम विशेषज्ञ १२ जना, प्रोग्रामिङ्ग विशेषज्ञ १८ जना, अपरेशन विशेषज्ञ ६ जना, इञ्जिनियर ४ जना लगायत उच्च मध्यम र निम्न स्तरिय कर्मचारी रहेका थिए । ति मध्ये पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आफ्नो जागिरको सुरुवात यही कम्प्युटरको अपरेटरबाट गरेका थिए । यो केन्द्रमा बढिमा १५० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।
त्यति बेला यस्तो यन्त्रले मानिसका समस्या समाधान गर्छ भन्ने आशा सम्बन्धित निकायका कर्मचारी वर्गमा हुने नै भयो, सर्वसाधरणलाई अत्तोपत्तो नभएपनि । अहिले कम्प्युटर सस्तो र तल्लो तहसम्म पुगेकाले पनि यी कथाहरु हामीलाई रमाइलो लाग्न सक्छन् । त्यो बेला कम्प्युटरले गल्ती गर्दैन, प्राणरहित मानव, चन्द्रमामा रकेट पुराउन सकेको यन्त्र, यसले थुप्रै समस्या एकैपटक एकैछिनमा समाधान गरिदिन्छ जस्तो तरिकाले गौरवीकरण गर्ने ऐतिहासिक चेत थियो । देश विदेशमा पनि विकासको रटान गर्ने समय भएकाले नयाँ प्रविधिको भव्य स्वागत भएको थियो । र यसले विकास प्रक्रियामा सहयोग गर्छ त भनिने नै भयो । कार्यालयमा कलमले काम गर्नेलाई ’जुम्से कलमवाजी’ भन्दै उनीहरु नै विकासको वाधा भएको सम्मको लाइनहरु त्यति बेलाका लेखनीमा पाइन्छ । यस्तो चर्चा गर्दा ’‘झञ्झटबाट मुक्ति’को प्रसङ्ग छुट्ने कुरै भएन । त्यो बेला प्रविधिबारे लेख्नेले ‘जिन्दगीभर डेस्कमा गर्ने काम कम्प्युटरबाट मिनेटमै सम्पादन गर्न सक्ने क्षमता उपलब्ध हुन थाल्यो’ भन्दै मुक्तिको कथा पस्केका छन् । साथै कम्प्युटरले छिटो काम गर्ने भएकाले यसलाई ’राक्षसी मस्तिस्क’ भएको पनि भनिएको छ ।
प्रयोगको हिसावमा २०२८ सालको राष्ट्रिय जनगणनाबाहेक, धनकुटा हाटबजारको किनबेचको तथ्यांक प्रशोधनमा, नेपाल विद्युत प्राधिकरणको १ लाख ग्राहकको विलको काम, केन्द्रिय तथ्यांक विभागको कृषिवाली र पशुपालनसम्बन्धि राष्ट्रिय कृषि गणना, पोखरा नगर विकास सर्भेक्षणको काम, अमेरिकी दुताबासको डाइरेक्टरी बनाउने काम, नेपाल परिवार नियोजन संघको परिवार नियोजन सर्भेक्षण, विधवा सर्वेक्षण, अमेरिकी पिसकोरको मत्स्य सर्वेक्षण, आर्थिक विकास तथा प्रशासन केन्द्रको चुरोट उपभोग सर्वेक्षण, विश्व बैँकको पारिवारिक बजेट सर्वेक्षण, नेपाल दुरसंचार संस्थानको टेलिफोन डाइरेक्टरी, लोक सेवा आयोगको आवेदक तथ्यांक, निजामति किताबखानाको कर्मचारी विवरण, शिक्षा मन्त्रालयको प्रवेशिका परिक्षा, संचय कोषको संचयकोष विवरण राख्ने आदि काम राष्ट्रिय कम्प्युटर केन्द्रले १० वर्षको अवधिमा गरेको थियो ।
नेपाली धरामा भाडा तिरेर भित्रिएको यस प्रविधिलाई स्वागत र स्थायित्व दिन २०३२ सालमा ’‘कम्प्युटर सेमिनार’ तथा सोही साल ’कम्प्युटर कार्यदल’ गठन गरी कम्प्युटर प्रयोग हुने संभावित क्षेत्रको अध्ययन र विश्लेषण गरी प्रतिवेदन तयार पारिएको थियो । यो केन्द्रले कम्प्युटरको सेवा लिने र दिने व्यक्ति तथा निकायलाई फाइदा होस् भन्ने हेतुले तालिम पनि दिन्थ्यो । २०३४ सालमा १९ जना जवानलाई डेढ महिने तालिम दिइएको थियो । त्यो बेला कम्प्युटर तालिम लिन भारत, थाइलैण्ड, अमेरिका र रुस पनि जाने चलन थियो । २०३१ पुस १५ मा कम्प्युटर केन्द्र खोलेपछि जनतालाई अत्तोपत्तो केही हुन्न कि अथवा कम्प्युटरको उपादेयता र राष्ट्रको विकासमा के भूमिका हुन्छ भन्ने उद्देश्यले केन्द्रबाट कम्प्युटर पत्रिका पनि प्रकाशन गर्न थालेको थियो ।
यस्तो अलौकिक रुपमा व्याख्या गरिरहेका बेला कम्प्युटरबारे लेख्ने केही लेखक जस्तै भूवनहरि शर्माले स्मरणमा आलोचनात्मक ढंगले लेखेका छन् । जस्तो सालिन्दा १२ लाख तिरिरहेको भाडाको रकमले अर्को नयाँ शक्तिशाली कम्प्युटर लिनको लागि प्रयाप्त हुने कुरामा केन्द्रले किन बुझ पचायो < उनको प्रश्न थियो । उनका अनुसार २०३५ सालतिर त्यस्ता कम्प्युटरलाई २० लाख रुपैँया पर्दथ्यो । उनले त्यति बेला कम्प्युटरले छिटो छरितो काम गर्ने र यसको आवश्यकता भएको बताएपनि यसबारे अतिप्रचार सोचबारे पनि आलोचना गरिएको छ । शर्मा लेख्छन्, “किन हो म भन्न सक्दिन मिल्दा नमिल्दा कच्चा तथ्यांकलाई बलजफ्ती कम्प्युटरसम्म पुराउन पाए सम्पूर्ण काम यसैबाट हुन्छ भन्ने हाम्रो धारणा छ ।” त्यति बेला जतिसुकै कार्यक्षमता भएपनि कम्प्युटर एउटा मेशिन हो, रेडियो, दुरसंचार, टेलिभिजन आदिजस्तै भनेर लेख्नसक्ने थोरैमा शर्मा थिए । “कम्प्युटरलाई सर्वथा मान्छेकै सहयोग र रेखदेख चाहिन्छ । गल्ती तथ्यांकलाई कम्प्युटरले शुद्धिकरण गरिदिन्छ भन्ने चाहिँ हाम्रो भ्रम मात्र हो” कम्प्युटर आएपछिको सन्दर्भमा उनले लेखेका छन् । त्यति बेला यो प्रविधिको आगमनले विकसित मुलुकले गरेको प्रगति देखेर हकालिएको, आफ्नो बाटोलाई पक्की गर्नुभन्दा अरुको बाटोलाई अनुशरण गर्न खोजेको देखिन्छ ।
मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग
सुमित्रा राजभण्डारीले २०४६ सालमा नेपालको व्यवहारिक कानुन तथा मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग भन्ने पुस्तक छपाएकी छन् । पुस्तकको शीर्षक अनुसार कम्प्युटरको प्रयोगको कथा २९० पृष्ठ लामो पुस्तकमा आधा हुनुपर्ने हो तर यसमा नेपालमा कम्प्युटरको प्रवेश र मालपोत प्रशासनमा कम्प्युटरको प्रवेश ।०४२ सालमा तत्कालिन श्री ५ को सरकारले जग्गा स्रेस्तालाई प्रभावकारी र राजस्व तथा मालपोत असुलीमा शुद्धता ल्याउन २०४३ सालमा राष्ट्रिय कम्प्युटर केन्द्रसँग सम्झौता गरेको थियो सुरुका वर्षमा प्राविधिक कठिनाइले भनेजस्तो काम गर्न नसकेपनि २०४६ सालतिर भने त्यसको प्रभावकारिता रहेको बताइएको छ ।
काठमाडौँको मालपोतमा काम गर्नको लागि त्यति बेला सुविधायुक्त कोठा तयार पारी मेसिनटोस एसई वीथ २० एमवि एचयु र मेसिनटोस ५१२ को २ ओटा कम्प्युटर र २ ओटा प्रिन्टर राखी दैनिक सञ्चालन गरिएको थियो । २ सय ओटा डिस्केटमा डाटाहरु संकलन गरिएको छ । जसमा काठमाडौँका १३ ओटा गाउँ पञ्चायतको डाटा राखिएको जनाइएको छ । त्यसबाहेक कर्मचारीको तलबी फाराम पे रोल दशैँ खर्च तथा उनीहरुको संचयकोष कम्प्युटरबाट तयार पारिने व्यवस्था रहेको कुरा राजभण्डारीले लेखेकी छन् ।
२०४० देखि २०४६ कार्तिकसम्म नेपालका शिक्षा राजस्व स्वास्थ्य कृषि बन रक्षा प्रहरी वैङ्किङ्ग आदि क्षेत्रमा ५० भन्दा बढी मोडलका २ हजार कम्प्युटर भित्रिएको अनुमान २०४६ सालमा सुमित्रा राजभण्डारीले आफ्नो पुस्तकमा गरेकी छन् ।
मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग
सुमित्रा राजभण्डारीले २०४६ सालमा नेपालको व्यवहारिक कानुन तथा मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग भन्ने पुस्तक छपाएकी छन् । पुस्तकको शीर्षक अनुसार कम्प्युटरको प्रयोगको कथा २९० पृष्ठ लामो पुस्तकमा आधा हुनुपर्ने हो तर यसमा नेपालमा कम्प्युटरको प्रवेश र मालपोत प्रशासनमा कम्प्युटरको प्रवेश ।०४२ सालमा तत्कालिन श्री ५ को सरकारले जग्गा स्रेस्तालाई प्रभावकारी र राजस्व तथा मालपोत असुलीमा शुद्धता ल्याउन २०४३ सालमा राष्ट्रिय कम्प्युटर केन्द्रसँग सम्झौता गरेको थियो सुरुका वर्षमा प्राविधिक कठिनाइले भनेजस्तो काम गर्न नसकेपनि २०४६ सालतिर भने त्यसको प्रभावकारिता रहेको बताइएको छ ।
काठमाडौँको मालपोतमा काम गर्नको लागि त्यति बेला सुविधायुक्त कोठा तयार पारी मेसिनटोस एसई वीथ २० एमवि एचयु र मेसिनटोस ५१२ को २ ओटा कम्प्युटर र २ ओटा प्रिन्टर राखी दैनिक सञ्चालन गरिएको थियो । २ सय ओटा डिस्केटमा डाटाहरु संकलन गरिएको छ । जसमा काठमाडौँका १३ ओटा गाउँ पञ्चायतको डाटा राखिएको जनाइएको छ । त्यसबाहेक कर्मचारीको तलबी फाराम पे रोल दशैँ खर्च तथा उनीहरुको संचयकोष कम्प्युटरबाट तयार पारिने व्यवस्था रहेको कुरा राजभण्डारीले लेखेकी छन् ।
२०४० देखि २०४६ कार्तिकसम्म नेपालका शिक्षा राजस्व स्वास्थ्य कृषि बन रक्षा प्रहरी वैङ्किङ्ग आदि क्षेत्रमा ५० भन्दा बढी मोडलका २ हजार कम्प्युटर भित्रिएको अनुमान २०४६ सालमा सुमित्रा राजभण्डारीले आफ्नो पुस्तकमा गरेकी छन् ।
अन्तमा
जसरी २०२८ र २०३८ सालको एक दशकमा कम्प्युटरलाई देवत्वकरण गरियो । त्यो बेला त्यस्तै थियो पनि । तर अहिले पनि त्यसै गरी इन्टरनेटको पहुँच भयो भने हाम्रा समस्या तुरुन्तै समाधान हुन्छन झैँ गरी व्याख्या गरिँदैछ । मानौ इन्टरनेट आइसकेपछि हाम्रा समस्या नै हुँदैनन् । हरेक निकायमा यसले काम गर्छ । तर त्यसो नभएर यो त एउटा माध्यममात्र थियो । इन्टरनेट पनि त्यस्तै माध्यम मात्र हो । यसले हाम्रा काम व्यवस्थापन गर्न सघाएपनि समाधान गर्ने अचुक विधि थिएन र होइन ।
यो लेख २०७३ जेठ ८ गते २१ मे २०१६ सनिवार नागरिक दैनिकको ८ पृष्ठमा पनि छापिएको थियो । यसलाई नागरिकन्युज डटकममा पनि गएर पढ्न सकिन्छ ।
२५ मार्च २०१६
प्रविधि र समाज सृंखला
No comments:
Post a Comment