डिही,
अर्घाखाँचीका ५३७
गाउँमध्ये एक हो । यसको अर्थ कसैकसैले पाखोबारी त कसैले फुलवारी भनेर चिनाउँछन् ।
तर सधै सुख्खाराम हुँदा यसको अर्थ फुलवारी भन्नेमा मलाई हिजोआज शंका लाग्न थालेको
छ । करिव सय कुरिया घरभएको गाउँमा जनसंख्या निकै पातलो छ । आधाभन्दा धेरै घर
बसाईसराईको तयारीमा भएकाले गाउँमा सून्यता बढ्दै छ । '
तराइमा जग्गा'
किन्ने सपना त सबैको छ । त्यहाँ तत्काल दुइओटा समस्या देखिन्थ्यो । एउटा पानी र
दोस्रो स्कूल । अझ अहिले चलिरहेको खडेरीले यसका छिमेकी गाउँमा डढेलोको प्रकोप
बढिरहेको छ । यस्तो सामान्यीकरण छत्रगञ्ज गाविस,
जिल्ला वा
छिमेकी गुल्मी,
पाल्पा,
स्याङ्ग्जा र
प्यूठान जिल्लाकै अन्य गाउँहरुसँग गर्न सकिन्छ ।
 |
टाकुराबाट देखिएको डिहीको माझ भाग - २०७३ वैशाख |
पानी
पानी पुस्तेनी दुखको विषय हो । तर खडेरीले
महादुखमा परिणत गरेको छ । गाउँलेको अनुभवमा २०३४ सालपछि २०६१ र अहिले २०७२/
२०७३
सालमा खडेरी परिरहेको छ । यो खडेरीले त्यहाँको आर्थिक गतिविधि ठप्प छ । वस्तुभाउको
विक्री सुस्ताएको छ । खास गरी वाख्रापालनमा जोड भएकोले किसानले वस्तुभाउलाई पानी
पुराउन नसकेर विक्री गर्न चाहिरहेका छन् । तर त्यो पनि संभव भएको छैन । गाउँमा उसै
त सुख्खायामको लागि खनिएका पोखरीहरुमा खडेरी नपर्दा त पानी हुँदैनथ्यो । झन्
अहिलेको खडेरीले पानी हुने कुरै भएन । डिहीमा पानीको लागि ४ ओटा कुवा र एउटा
खानेपानी योजना छ । सबैभन्दा धेरै पानी जम्मा हुने कुवामा १ घण्टामा १० लिटर पानी
अटाउने दुईदेखि तीन ओटासम्म गाग्री भरिन्छन् । त्यसैले तरान दिएको छ । धारा २ दिन
विराएर १ घण्टा आउँथ्यो । त्यो पनि पातलिँदै गएको छ । कुवा पनि सुक्दै गएकाले टाढा
पुगेर पानी बोक्ने काम नै मुख्य बनेको छ ।
 |
गाउँको एक छेउको खोल्सामा रहेको कुवाबाट पानी उवाउँदै वालवालिकाहरु- २०७३ वैशाख |
गाउँलेहरु
पानीको खोजीमा रातभर कुवालाई कुर्छन् । पानी भर्छन र घरमा फर्कन्छन् । स्थानिय समाजसेवी
माधव पन्थीले भने,"
विदेश गएका र छोराछोरी पढाउन शहर पसेका गाउँका मानिसहरु
सबै फर्कन र गोठभरी वस्तुभाउ पाल्न यही पानीको कारणले संभव छैन । बरु यहाँका बाहिर
जाने हो ।"
यस वर्ष खडेरीले समस्या अलि बढि भएहोला नत्र
यस्तो दुख सधैँको हो । यसले गर्दा घरभित्रको सदस्य अस्थायी बसाईँसराईँ बाध्यात्मक
छ । "
छोराभएर जन्मेपछि देशविदेश जानुपर्छ"
भनेर बुढापाकाहरु यही दुखले गर्दा सम्झाएका होलान् । गाउँमा भएका युवाहरु शहर वा विदेश
पसेका आफन्तलाई '
लौ न जागिर खोजिदेउ', '
लौ न भिसा
पठाइदेउ'
भनेर अनुरोध गरिरहन्छन् । त्यसैले अर्घाखाँची र गुल्मीमा लाहुर र
विदेश जाने चलन पुरानो हो ।
 |
खोलाबाट पानी बोक्दै स्थानिय वासिन्दा |
राम्रो
पक्ष चाहिँ गाउँमा बजार विस्तारले गर्दा अनिकाल पसेको छैन । कमाउन बाहिरिएका युवा
र गाउँमा अन्धाधुन्ध विस्तार भएका सडकमा गुड्ने गाडिलेअनिकालको समस्या टारेको छ ।
तर विदेश वा शहरमा आफन्त नभएका र गाउँमा नै आश्रित परिवारलाई दुखले छोडेको छैन । ऋण
सहि, हरेक परिवारलाई दोकानले पालेको छ । भर्खरै मलेसियाबाट फर्केका थापाचौपारीका
गोपाल पाण्डेले भने "खेतिपाती र बस्तुभाउ त गर्नलाई मात्र हो,
खानलाई त दोकान छँदैछ नि ।" घरघर डुल्दा खाजा पकाउनस् न भन्यो भने,
चियाबाहेक अरु केही टक्र्याउन सक्ने स्थिति छैन । दोकानबाट ल्याएका चिजविजबाट
बनेका परिकार नै खानुपर्ने बाध्यता छ ।
 |
मकै छर्न ठिक्क परेका बारीहरु तर वर्षात् हुन नसकेकाले मकै छर्न सकिरहेका छैनन किसानहरु । |
सबै
भेला हुने ठाउँ,
ठाँटीमा बसेर कुरा गर्ने मानिसहरु पानीबाहेक चर्चा
नै गर्दैनन् । पानीका नियम,
योजनाहरु बनाइरहेका हुन्छन् । कुवामा
कसैले दोस्रो मानिसलाई पालो दिएमा उ अन्तिममा गएर पालो कुर्नुपर्ने जस्ता नियमबारे
छलफल गरेको सुनिन्थ्यो । पालो नकुरेर ठाउँमात्र सट्टापट्टा गर्दा झगडा हुने गरेको
छ । स्रोतको नजिक रहेको मानिसले पानी धेरै खायो भने बाँकी गाउँलेहरुमा छट्पटाहट
हुन्छ । छिमेकी दौँघा गाउँमा त लिटरको २ रुपैँयामा पानी किनेर खाएका समाचार
सुनिन्थ्यो । तर विवाह भतेरको लागि ट्यांकरमा पानी ल्याउँदा छत्रगञ्जमै पनि पानी
त्यति नै महँगो बनेको छ । छिमेकी सिर्थुम गाउँका देवराज श्रेष्ठले आफूले
व्यावसायिक रुपमा पालेका कुखुरा मर्छन् कि भनेर दैनिक ६ जना पँधेर्नीहरु तीनसय
रुपैँयाको दरले काममा लगाएका छन् ।
 |
चरालाई पनि पिउने पानी छैन । स्थानियले यसरी राखिदिन्छन उनीहरुलाई पिउने पानी |
फिनिडाको
सहयोगमा बनेका ठूलठूला पानीका घैँटा हुनेहरु '
पानी साहु'
जस्तै हुन् । यस्ता घैटा वितरण स्थानिय रुपमा यथोचित हुननसक्दा केहीघरहरु पीडित छन्
। गरिबीको कारण छिमेकी गाउँका मानिसहरुले यस्ता घैँटाहरु विक्री पनि गरे ।
व्यक्तिगत तवरबाट पनि बनाउन सक्नेले पनि कुनै '
प्रोजेक्ट'
ले
बनाइदेलाकी भनेर कुरिरहेका छन् । "
किनभने अरुहरुले '
फ्री'
मा
यस्ता घैँटा बनाएका थिए भने हामीले पैसा किन खर्च गर्ने ?
तैपनि
प्रोजेक्ट आउँछ कि ?"
एक स्थानियले भने । मानिसहरु यस्ता
घैँटालाई रातो माटो र सेतो चुनाले लिपेर चिटिक्क पारी राखेका हुन्छन् । यो खडेरीमा
पानीको सुरक्षामा यस्ता घैँटाहरुमा कुची लगाइएको छ ।
 |
वर्षामा यस्ता घैँटामा संकलन गरिएको पानीले हिउँदको दुख टार्छन् |
गाउँमा
पेट्रोल छ पानी छैन । गाडिहरु कुँदिरहेका छन् । स्थानिय स्कूल नजिकै होटल गरिबसेका
छविन्द्र सेन ठकुरीले मोटरसाइकलबाट दिनको २८ ग्यालेन पानी ल्याइ ड्रममा भर्छन् ।
मोटरसाइकल हुने युवाहरु १ घण्टाको दुरीमा रहेको खोलामा गइ नुवाइधुवाइ गर्छन् ।
फर्केर आउँदा पसिना र धुलोले शरिर जस्ताको तस्तै भएपनि कपडा धुन पाइने हुनाले
टाढाको खोलामा मोटरसाइकलको ताँती लाग्छ । विवाह भोजभतेरमा त ट्यांकरको पानीले नै काम
चलाउनुपर्छ । "
खाना मासु खेर फाले मन फाट्दैन,
तर
यो पानी खेर फालेमा चित्त दुख्छ ।"
एक स्थानियले भने ।
गाउँमा भएको एक विवाहको भतेरमा चुन्नीले बाँधेर पानी सुरक्षित राखिएको थियो ।
 |
स्थानियले बनाएका पानी घैँटा । यी घैटालाई दशैँतिहार छेक रङ्गाएर चिटिक्क पारिन्छ |
गाउँलेहरु
पानीलिन सुरुमा कुवातिर जाँदैनन् । रातमा अन्य छिमेकीहरु सुतेका छन कि छैनन् ।
चियो गरेर मात्र कुवातिर जान्छन् । केटाकेटीहरु जतिवेला पनि कुवामा पसेर पानी
नितार्छन भनेर । पानी लिएर फर्केकाहरुले "
आज यत्रो (
ठूलो)
रातो मन्टो गरेको सर्प देखेँ"
भनेर अरुलाई तर्साउँछन् । खडेरीले पानी
सुक्दैजाँदा आत्तिएका सर्पहरु बाहिर आउन थालेका छन् । अँध्यारो रातमा गीत गाउँदै
वा मोबाइलमा गीत बजाउँदै पँधेरे पँधेर्नीहरु कुवा रुँगेर बस्छन् । खोल्साहरुमा
खोस्रँदै खोस्रँदै पानी आउँछ कि भनेर ससाना कुन्टाहरु बनाइएको छ । यो वर्ष पनि
पानी नपरी सुख्खाराम हुने हो कि भन्ने भय गाउँलेहरुमा छ ।
 |
लिफ्टिङ्ग गर्न खोजिएको जिम्रीघाटको एकअौँले मुहान
|
खडेरीमा
पानी नपुगेर गाउँमा केही योजना तय गरी लिफ्टिङ्ग सिस्टमबाट पानी तान्न खोजिँदैछ ।
तर भरपर्दो स्रोतको अभावमा योजनाप्रति नै शंका गरिएको छ । स्थानिय जिम्रीघाट
खोल्साको दुई औँला मुल भएको पानी तान्न ओभरसियरले ७ लाख रुपैँया मागेका छन् ।
तैपनि स्थानिय अगुवाहरु यो काम गर्न तत्पर छन् । यो काम उपभोक्ताको सहयोग विना हुन
सक्दैन । गाविसले यस अघि नै खानेपानी योजनाको लागि गाउँमा रहेका प्रत्येक
कुरियासँग १ हजारका दरले पहिलै पैसा उठाइसकेको छ । त्यसैमा फेरि अर्को स्थानिय
योजनाबाट पानी ल्याउँछौँ भन्दा फेरि उपभोक्ताबाट पैसा उठाउनुपर्ने हुन्छ । त्यसैले
यसमा गाउँलेको मन कुँडिएको छ । तर स्थानिय योजना भएकाले नगरौँ कसरी नगरौँ गरौँ
पहिला नै पैसा उठाइएको छ । यो दोधारबीचमा पनि योजना अघि बढाउने कुरामा स्थानिय अगुवाहरु
दृढ देखिन्छन् ।
 |
जिम्रीघाटबाट पानी बोक्दै स्थानीय वासिन्दा |
गाउँबाट
डेढ घण्टाको पैदल दुरीमा रहेको अटुट ठूलो खोलामा पनि पानी खण्डित रुपमा बगिरहेको छ
। कम्तिमा ५ गाविसका मानिसहरु यसमा आश्रित छन् । खास गरी मोटरसाइकल भएका युवाहरु
कपडा धुने र नुहाउने गरेपनि फर्किँदा पसिना र धुलोले उस्तै भएर आउँछन् । अरु दुखले
पनि घेरिएका छन् गाउँलेहरु । यो स्कूलको दुखको कुरा हो ।
 |
छत्रगञ्ज गाविसका ३ ओटा विद्यालय गाभिएको स्कूल |
स्कूल
डिही गाउँमा बोर्डिङ्ग र सरकारी स्कूलको
शिक्षालाई "
दुईथरी शिक्षा"
भनिन्छ ।
यस्तो '
दुइथरी शिक्षा'
बसाईँसराईँको अर्को मुख्य कारण बनेको छ ।
पहिला एसएलसीसम्म पढेपछि विद्यार्थीहरु बसाईसराई गर्थे । स्थानिय शिक्षक प्रकाश
शाहले भने,"
अहिले दुइथरी शिक्षा बसाइसराइको कारण बनेको छ ।"
सरकारी विद्यालयमा अभिभावकले २ कारणले पढाउन चाहँदैनन् । पहिलो शिक्षा गुणस्तरीय
नहुनाले । दोस्रो सामाजिक प्रतिष्ठाको कारणले । यदि आफ्नो छोराछोरीलाई सरकारी
प्राथमिक विद्यालयमा पढायो भने छिमेकीहरु आफूलाई तन्नम् भन्लान कि भन्ने डरले
नसक्नेले पनि रिन खोजेर भएपनि गाउँबाहिर कमाउन गएर भएपनि बोर्डिङ्गमा पढाउन बाध्य
छन् । युवाहरु विदेशमा जस्तोसुकै काम गरेर भएपनि नयाँ पीँढीलाई बोर्डिङ्ग पढाउन
चाहन्छन् । त्यसैले बुढा हुँदै गरेका बाबुआमाको भन्दा नयाँ सन्तानको शिक्षादिक्षाको
चिन्ता अरेबियन देशमा पुगेका युवाहरुको छ । त्यसैले उनीहरु आफ्नो परिवारलाई खण्डित
गरेर भएपनि तराईतिर अस्थायी बसोबास गरेका छन् । स्थानिय एक युवाले भने,
"
आफूले पढ्न पाइएन,
यी लालाबालालाई त शिक्षा दिनुपर्यो
त्यसैले यिनीहरुलाई बुटवल राखेर आफू विदेश जान्छु या उतै पेशो गरेर बस्छु ।"
 |
२०३८ सालमा गाउँको सुन्दर ठाउँमा खुलेको यो विद्यालय विद्यार्थी संख्या कम हुँँदा बन्द हुन पुगेको थियो । |
गाउँमा बोर्डिङ्ग स्कूल त छन् । तरनाफाका लागि
खोलिएका यस्ता स्कूल जनसंख्या भएको ठाउँलाई हेर्छन् । गाउँ पातलिँदै गएकाले ती
बोर्डिङ्ग आफैपनि संकटमा छन् । डिही यसै त बसाइसराइले पातलो जनसंख्या भएको र
पुछारको गाउँ भएकाले यहाँ बोर्डिङ्ग स्कूल छैन । करिब १ घण्टाको दुरीमा बोर्डिङ्ग
स्कूल छ । ससाना बच्चाहरु टाढा पुग्न सक्दैनन् । अझ नर्सरी पढाउने बच्चाको लागि त
झनै समस्या छ । घण्टाको दुरीमा रहेको बोर्डिङ्गमा बच्चालाई बोकेर लानल्याउनकै
समस्या छ । सरकारी स्कूलमा पढाउँदा प्रतिष्ठामा आँच आउँने भयो । त्यसैले यो
भौगोलिक अनुकुलता नहुँदा गाउँका कसैले मामाघर बच्चालाई राखेर पढाएका छन् । कसैले
कोही आफन्तकोमा । तर यस्तो झन्झट गर्नुभन्दा बरु तराई झर्नु नै उत्तम विकल्प
देखिएको छ ।
 |
तीन स्कूल गाभिँदा एकदेखि पाँच कक्षासम्मका विद्यार्थी । स्कूल गाभिँदा शिक्षक मात्र गाभिने तर विद्यार्थी नगाभिने समस्या छ । |
सरकारी
स्कूलमा शिक्षकहरुलाई विद्यार्थी संख्याको पिरलो छ । डिहीको गाउँमा २०३८ सालमा
एउटा प्राथमिक विद्यालय खुलेको थियो । २०४८ सालमा यसले ५ कक्षामा करिव ३५ जना
विद्यार्थी उत्पादन गरी गाविसको माझमा रहेको माध्यमिक विद्यालयमा विद्यार्थी
पठाउँथ्यो । २०७१ सालमा ५ ओटा कक्षामा जम्माजम्मी ३५ विद्यार्थी पनि नपुगेर यो
विद्यालय छिमेकी विद्यालयसँग गाभियो । यसरी गाभिनेमा छत्रगञ्ज गाविसका ३ ओटा वडाका
३ विद्यालय थिए । तर पनि विद्यार्थी संख्या अझै ३५ कै हाराहारीमा छ । यसरी
विद्यालय गाभिँदा विद्यार्थीको लागि भौगोलिक दुरी बढ्न जाँदा अर्कै स्कूलमा
जानेहुन कि,
बसाईसराई गर्नेहुन कि भनेर स्कूलले निशुल्क झोला,
कापी वितरण गरेर कायम गर्न प्रयास गरिरहेका हुन्छन् ।
 |
सुन्दर तर सुख्खा देखिन्छ जमिन |
गाउँमा
पुगेको बेला एक विद्यालयले अर्को विद्यालयका विद्यार्थीलाई आफ्नो स्कूलमा आकर्षित
गर्न स्वेटर,
छात्रवृत्तिको आश्वासन दिएका थिए । त्यसपछि
गाभिएको विद्यालयका विद्यार्थीलाई पनि कायम गर्न प्रति विद्यार्थी बराबर १ दर्जन
कापी बाँड्ने योजना गरियो र बाँडियो पनि । यसरी भएका विद्यार्थी तानातान गर्ने
प्रतिस्पर्धा विद्यालयमा चलिरहेको छ ।
 |
श्री सरस्वति प्राविमा कापी वितरणपछि खिचाइएको सामुहिक तस्बिर । |
गाउँमा
विद्यार्थी कम हुनुको कारण बोर्डिङ्ग स्कूल मात्र होइनन् । एक स्थानिय शिक्षकले
भने,"
प्रजनन दर निकै कम छ । एक दम्पतिले १ जनाबाहेक बच्चा जन्माउँदैनन् ।
उक्त बच्चालाई जसोतसो गरेर भएपनि गाउँकै बोर्डिङ्ग नभए शहरमा रहेका आफन्त वा आफै
बसाई सराई गरेर भएपनि बोर्डिङ्ग पढाउने सपना देखिरहेका छन् ।"
 |
स्कूलमा विद्यार्थी कसरी बढाउने भन्ने विषयमा व्यवस्थापन समितिमा छलफल गर्दै |
गाउँघरमा
"ज्वाईँ रोड" धेरै बनेका छन् । दशैँमा एक दिन
मोटरसाइकल लिएर आउने छोरीज्वाईँलाई वा छोराबुहारीलाई अलिकति पनि हिँड्न नपरोस्
भनेर बनाइएका शाखा बाटाहरु । खडेरीमा यी शाखा बाटाहरुमा एक गमबुट धुलो छ । चैत
वैशाखको हावाहुरीले र त्यहाँ चल्ने मोटरसाइकल तथा अन्य सवारीले छेउछाउका घर,
घाँसे रुखहरु चिन्न नसकिने भएका छन् । मोटरसाइकल चढ्नेले गर्मीयाममा पनि रेनकोट
लगाएर मोटरसाइकल चलाउँछन् । घरबाट चिटिक्क परेर पढ्न गएका छोराछोरी धुलोले चिन्न
नसकिने भएर फर्कन्छन् । यसैलेधुलो र मैलो कपडा खडेरी टाढाको बोर्डिङ्ग गाउँमा
वोरिङ्ग भइरहेको छ ।
अन्तमा
स्कूल र पानीको असुविधा भएको गाउँमा को बस्छ ?
शहरी सपना देख्नुपरेन ? गुल्मी अर्घाखाँची यस्ता जिल्ला हुन् जसलाई
काठमाडौँमा 'व्यूरोक्रेसीमा पकड' भएका
सम्पन्न जिल्ला भनिन्छ । तर २०६८ सालको जनसंख्याको रिपोर्ट अनुसार सबैभन्दा धेरै
विदेश जाने जनसंख्या भएको जिल्लामा यिनीहरु परेका छन् । काठमाडौँ तथा अन्य
शहरहरुमा 'लुम्बिनी तन्दुरी' भनेर ब्राण्ड बनेको उदाहरण यहि वैदेशिक
रोजगारी हो । पञ्जाव काम गर्न गएका युवाको सीपलाई प्रयोग गरेर तन्दुरी रोटी बनाउन
यो क्षेत्रका बासिन्दाले सकेका हुन् । कम वर्षाहुने ठाउँमा यि जिल्लाहरु पर्छन् ।
स्थानियहरुले यसलाई "सुख्खाग्रस्त जिल्ला"
घोषणा गरी राज्यले सहयोग गर्नुपर्ने बताउँछन् । उत्पादन कमजोर भएको हुनाले यहाँका
मानिसहरु धेरै बसाईसराई वा वैदेशिक रोजगारी वा सरकारी निकाय ताकेका छन् ।बसाईँसराईँको
डरलाग्दो अवस्था यि ठाउँमा देखिन्छ ।
२/३ मे २०१६
२०७३ वैशाख २०/२१
३०चैत-११ वैशाखसम्म डिहीबाट फर्केपछि
No comments:
Post a Comment