Saturday, October 22, 2016

जुत्ताको जुगान्तर



"नानी भने छोरा विग्रन्छ, जुत्ता लाए खुट्टा विग्रन्छ" भन्ने कहावत नेपाली गाउँघरमा थियो । परम्परागत रुपमा जुत्ता लगाउने चलनै थिएन । हिउँदतिर चिसोबाट बच्न उपल्लो भेगतिर स्थानिय कच्चा पदार्थबाट बनेको जुत्ता लगाए पनि वर्खा चाहिँ त्यता पनि नाङ्गै खुट्टा हिँडिन्थ्यो । तर विस्तारै पराल, नालुँ, कपडा, रबर, प्लास्टिक र छालाका जुत्ता चप्पल प्रयोग हुँदै आयो । अहिले वर्षेनी '६ करोड जोर' जुत्ता चप्पल बजारले माग गरेको अनुमान गरिन्छ । ६ सय बढि साना ठूला उद्योगमा हजारौँ सिपालुले काम पाएको सन्दर्भ दिँदै व्यावसायीले 'नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर हुँदैछ' भन्छन् । तर यो लेखको अन्त्यतिर त्यो पक्षमाथि प्रश्न गरिएको छ । लेखको सुरुमा नेपालमा जुत्ता प्रयोग र उत्पादनबारे खोज, संस्मरण तथा  कुराकानीलाई बटुलबाटुल गरिएको एउटा 'सर्सती वयान' छ ।
      गएको हिउँदमा हरिसिद्धितिर बरालिँदा, पिपलको बोटमुनी बसिरहेकी ९१ वर्षिया हिलठकुँ महर्जनले भनेकी थिइन "कपासको खोजीमा काठमाडौँ बाहिर जाँदा ३ जोर परालका जुत्ता लिएर जान्थ्यौँ, फर्किँदासम्म तीनै जोर फाट्थे ।" यो राणाकालको कुरा थियो । विभिन्न कामले उपत्यका बाहिर जाँदा 'उपत्यकेली'ले परालको जुत्ता लिएर जान्थे । चाहे राणासरकारको गाडि बोक्न होस् वा काठ बोक्न या उनीहरुको नुनतेल बोक्न अथवा आफ्नै कामले । उतै जुत्ता बनाउन भन्दै परालै वा तयारी जुत्ता बोकेर जान्थे ।
      उतिबेला कवाज खेल्ने सिपाहीलाई जुत्ता नलाउँदा पनि हुन्थ्यो रे । टुँडिखेलमा 'कवाज खेल्न बुटजुत्ता अनिवार्य थिएन । विशेष समारोहमा सिपाहीले बुटजुत्ता लगाउन पर्दा कति सिपाहीका हातमा जुत्ता हुन्थे, मेसो नपाएर हो वा जुत्ताले खुट्टा खाएर ।' त्यस्तो देखेरै भीमबहादुर पाँडेले त्यसबखतको नेपालमा लेखेका छन् । 'कताकति चाडपर्वमा मात्र सिपाहीले जुत्ता लगाउने हुँदा त्यस्ता बुटजुत्ता पनि बन्दुक झैँ हातहतियार राख्ने ठाउँमा राखिन्थ्यो' पनि भनेका छन् ।
                पाँडेकाअनुसार त्यस बखत मतवालीले जुत्ता लगाउँदैनथे । लगाइहाले पनि उनीहरुले तागाधारीलाई देख्नासाथ सो फुकालेर परैबाट 'जदौ बराजु' भन्दथे । खोजकर्ता दिपक अर्यालका अनुसार काँचा छालाका जुत्तालाई अशुद्ध मान्ने जात र सम्प्रदायका व्यक्तिले पनि वि.सं. २०७०–८०  तिर खेतबारीमा तिनको प्रयोग थालेका थिए । तर घरमा होइन । किनभने 'छालाका जुत्तालाई मूल घरको वरिपरि नराखी गोठ वा घरभन्दा केही पर राखिन्थ्यो ।' सहरतिर हिजोआज जुत्ता चप्पल लाएर भान्सामै पुगेपनि गाउँघरतिर त्यस्तो अझै मान्य छैन ।
     मदन पुरस्कार पुस्तकालयको स्रोत सामग्रीको आधारमा अध्येता अर्यालले तयार पारेको खोजी रिपोर्ट अनुसार ठहिँटीका मुसलमानका बाहेक अन्य पसलले छालाको जुत्ता विक्री गर्न तयार हुँदैनथे । भारतको कानपुरबाट आउने ति जुत्ताहरु मगाउन खुट्टाको नापो पठाउनुपर्थ्यो । व्यापारीहरूले ग्राहकका खुट्टा कुनै कागजमा राखेर त्यसको वरिपरि घेरा लगाई जुत्ताको अर्डर भारतका विभिन्न कारखानामा पठाउँथे । विस्तारै यो प्रचलन हराएर नम्बरी जुत्ताहरू आउन थाले । दिपकले हिमाल खबरपत्रिकामा लेखेका छन्, 'त्यो बेला काठमाडौंमा रेन्किङको कोट र ब्यारेटका जुत्ता मध्यमवर्गको सपना थियो' ।
                १९८८ सालतिर विश्वबजारमा मन्दि देखिएपछि उत्पादित बस्तुहरु उता विक्री हुन छाडे । अन्यत्र प्रसार हुनेक्रममा वि.सं. १९९० तिर ती वस्तुहरु काठमाडौँ पनि भित्रिए । भीमबहादुरका अनुसार 'त्यति बेला काठमाडौँ स्वदेशी माल पाउन छोडेर विदेशी मालको अड्डा बन्न थालेको थियो ।' २८ रुपैँया तोला सुन भएको बेलामा एक रुपैँया मोलको 'टेनिस सूज' काठमाडौँको बजारमा छ्यासछ्यास्ती पाउन थालेको थियो । आफ्नै उद्योगको नभएपनि ।
      राणा शासनको आखिरीतिर धेरै उद्योग खोलिएपनि जुत्ता उद्योग खोलेको देखिँदैन । यद्यपि, 'काठमाडौँका केही उद्योगहरुमा कपडाका जुत्ताहरु बन्थे' भन्ने पनि सुनिएको हो । यो लेखमा त्यसको पोयो भने फुकाउन सकिएन । यसबारे भन्न सकिने पक्ष भनेको, काठमाडौँ वरिपरीका मिजारहरुले छाला जुत्ताको उत्पादन गरिरहेका थिए । उनीहरुले नै काठमाडौँको लागि आपूर्ति गर्थे । वि.सं. २०००मा भएको 'प्रथम अखिल नेपाल ‌औद्योगिक प्रदर्शनी'मा पलाञ्चोके छालाका जुत्ता प्रदर्शनीमा राखिएको थियो । यसको मूल्य १ रुपैँया थियो । बनेपा, तिमाल, पलान्चोक, मण्डनजस्ता काठमाडौँ पूर्वका ठाउँगाउँका जुत्ता सिउने १२२ जना मिजारले २५ सय ८० जोर जुत्ता उत्पादन गरेको तथ्य पाँडेले दिएका छन् । यो राणाकालको अन्त्यतिरको कुरा हो । यसरी काठमाडौँले छालाका जुत्ता उत्पादन नगरेपनि आयात चाहीँ गरेको देखिन्छ ।
      काठमाडौँमा 'इलिट'हरुले लगाउने जुत्ता मध्ये पलाञ्चोके मिजारले बनाएको जुत्ता, हरिसिद्धिमा बनेको रेशादार नालुँको जुत्ता, मृगको छालाबाट बनेको दैलेखी सावरको जुत्ता प्रख्यात थिए । दमन तुलाधरले २०३९ सालमा प्रकाशित संस्मरणमा 'राणाकालमै प्रति जोर दैलेखी जुत्ताको एक मोहर पर्ने' सन्दर्भ कोट्याएका छन् । उनी लेख्छन्, "जेठा बा भन्ने गर्नुहुन्थ्यो 'नरम नरम लुगाफाटा आँगमा परेपछि केटाकेटीको बानी बिग्री हाल्छ नि' । हामीलाई उहाँले एक मोहर जाने दैलेखे जुत्ता, खाँडीको लुगा जीनको कोट हाली दिनुहुन्थ्यो" । यसले पनि काठमाडौँमा दैलेखी जुत्ता चल्तीमा रहेको बुझिन्छ । २०२९ सालमा दैलेख जिल्लामा १४ हजार ३ सय ४ टुक्रा छाला र १९ हजार २ सय जोर छालाको जुत्ता प्रतिवर्ष उत्पादन भएको देखिन्छ । दैलेख बजार र गाउँमा रहेका घरपरिवारले जुत्ता उत्पादन गरेका थिए भन्ने तथ्य २०३१ सालमा छापिएको 'मेचीदेखि महाकाली' पुस्तकमा उल्लेख छपछिसम्म नै दैलेखी सावरको जुत्ताको प्रख्यातीले यो जिल्लाको महत्त्व २०२९ सालअघि पनि रहेछ भन्ने बुझिन्छ ।
      जुत्ता उत्पादन र प्रयोगबारे नेपाली गाउँघरतिर कस्तो अभ्यास थियो भन्ने लेख्य प्रमाणको अभाव छ । पाका मान्छेबाट सुनिएका जनश्रुतिमा नै भरपर्नुपर्छ । गाउँघरतिर जुत्ताको उस्तो चलन नहुँदा, स्थानिय वस्तुभाउबाट उत्पादित तयारी छालालाई बोकेर अर्घाखाँचीका मिजारहरु नुन साट्न जाने ढाक्रे लहरमा मिसिन्थे, भन्ने कुरा स्थानिय पाका मानिसले बताएका थिए । विभिन्न पहाडि गाउँका मानिसहरु बटुलिएर जाने 'बटौली' बजारमा काँचो छालाले नुन साटिदिने व्यापारी भेटिँदैनथे । घ्यूले नुन साट्ने भेटिए पनि । त्यस्तो बेला आफ्ना 'बराजु'लाई बटौली छाडेर कानपुरका मिजारकहाँ पुग्नुपर्थ्यो । "भारतको लठ्ठावारतिर छाला लगेर त्यसले नुन बोकेर ल्याउँथ्यौँ" अर्घाखाँची ठूलापोखराका ७३ वर्षिय नमबहादुर मिजारले भने । त्यो लठ्ठावार कता पर्छ नभनेपनि कपिलवस्तुको कृष्णनगर हुँदै जाने कुरा बताएका थिए । नमबहादुरले भनिरहेको समय ठ्याक्कै थाहा हुन नसकेपनि संभवत: २०० साल वरिपरी वा त्यस अघिको कुरा हुनुपर्छ । बटौलीबाट सन्धिखर्क र तम्घास जाने मोटरबाटो नबन्दै । नेपालको अन्य भागमा पनि जुत्ता प्रयोगका आआफ्नै कथा होलान् ।
      डोल्पा जिल्लाको उत्तरी भेगतिरको कथा अर्कै छ । त्यहाँ ल्हाम(लामो आकारको) जुत्ता लगाइन्थ्यो । मेरा साथीका बाबु फुल्चिङ गाउँका ६२ वर्षिय काले चलाउनेका अनुसार त्यस्ता ल्हाम लगाएका मान्छेहरु हिउँदताका २२ सय मिटर उचाईको तल्लो भेग, फुल्चिङतिर व्यापारको लागि झर्थे । चलाउनेकाअनुसार यो पचास वर्ष अघि, लगभग २०२०/२०२२ सालतिरको कुरा हो । भोटबाट फुल्चिङतिर झरेका उनीहरुले उपल्लो भेगमा स्थानियले नै 'ल्हाम' जुत्ता बनाउने कुरा सुनाउँथे । त्यसको तलुवा चौँरी वा गाई गोरुको छालाबाट बन्थ्यो । यस्तो जुत्ताले हिउँमा टेक्दा पनि पैतालामा चिसो छिर्दैनथ्यो । 'पूरो'(माथिल्लो भाग) चाहिँ नीको डोरी बाटेर बनाइएको र न्यानोको लागि घुँडामुनिसम्म लगाउन मिल्ने गरी बनाइन्थ्यो । तर फुल्चिङतिर भने 'दोचा'को प्रयोग हुन्थ्यो । 'दोचा' पनि 'ल्हाम' जस्तै छालाकै तलुवा र 'बत्तो'(धागो)बाट बनाइन्थ्यो र 'पुरो' बनाउन अल्लोको 'फेरुवा'(डोरी) प्रयोग गरिन्थ्यो । यसलाई स्थानिय मिजारहरुले नै बनाउँथे । चलाउनेका अनुसार हिँउदताका 'ल्हाम''दोचा' प्रयोग गरेपनि वर्षातिर भने त्यति प्रयोग हुँदैनथ्यो । नाङ्गै खुट्टा हिँडिन्थ्यो ।
      नेपालको उपल्लो भेगतिर पर्वतारोहणको चलन आइसकेपछि जुत्ता प्रयोगमा फरकपन देखिँदै गयो ।   २००७ सालपछि पर्वतारोहणमा संलग्न भरिया, शेर्पा, गाइडहरुले विशेष प्रकारको आयातित जुत्ता पनि प्रयोग गर्न थाले । खास किसिमको जुत्ता किन्न नसक्ने भरियाहरुले हिमाल चढ्ने त के पदयात्राको लागि पनि अनुमति पाउँदैनथे । बीचैबाट फर्कनु पर्दथ्यो । यस्तो सन्दर्भमा हिमाल चढ्ने चाहना मात्र होइन पदयात्रा पनि जुत्ताले गर्दा अपुरै रहन्थ्यो । सन् १९६०/७० को दशकतिर पर्वतारोहण गर्दाको अनुभव संगालेर २०५९ सालमा छापिएको 'हिमश्रृंखलाको यात्रा' पुस्तकमा पर्वतारोहीले यसबारे केही संस्मरण पनि लेखेका छन् । जसमा उनीहरुले 'कुनै बेला 'कोप्लस' जुत्ता किन्ने सपना देखेको' कुरा पनि लेखिएको छ । 'कोप्लस' भएमा आफ्ना छोराछोरीलाई पर्वततिर लैजान वा चढाउन सकिन्थ्यो भन्ने कल्पना राखेका थिए । यस्ता जुत्ता हिउँमा टेक्दा नचिप्लनको लागि ६ ओटा काँडा भएको ख्राम्पुम लगाइन्थ्यो । अहिलेको पर्वत चढ्ने यस्ता जुत्तामा ख्राम्पुम ८ देखि १२ सम्म हुन्छन् ।
      यसरी पर्वतारोहण तथा पदयात्रासँगै भित्रिएका, परम्परागत सीपको आधारमा तयार पारिएका र भारतीय बजारहुँदै आएका जुत्ताको निरन्तरता छँदै २०२२ सालदेखि संस्थागत रुपमा नेपालमा जुत्ताको उत्पादन हुन थाल्यो । चिनीयाँ सहयोगमा बाँसबारी छाला जुत्ता कारखाना (बाछाजुका), अहिलेको गंगालाल हृदय रोग केन्द्र भएको ठाउँमा खोलिएको थियो । तर त्यति बेला उत्पादन भएका जुत्ता र जनसंख्याबिच ठूलो अन्तर नै देखिन्छ । यो आधारमा खाली खुट्टा हिड्ने मानिसको लामो ग्राफको अनुमान गर्न सकिन्छ ।
      २०१८ सालको जनगणना अनुसार नेपालको जनसंख्या ९४ लाख १२ हजार थियो । आर्थिक वर्ष २०२३/२४ सालमा बाछाजुकाले २० हजार ९५ जोर जुत्ता उत्पादन गर्थ्यो । अझ २०४१/४२ सालसम्म पनि यसले ५३ हजार १९८ जोर जुत्ता उत्पादन गरेको थियो । भनेपछि यति बेला धेरै मानिसहरु कि त जुत्ता नै लगाउँदैनथे । या त स्थानिय उत्पादनमा वा भारतीय बजारबाट आएका जुत्तामा भरपर्थे । जुत्ताभन्दा सूर्ती धेरै खपत हुने समय थियो त्यो । जस्तो आ.. २०२९/३० सालमा जुत्ता उपभोगको वार्षिक भार १.७३ प्रतिशत थियो । जवकी सूर्तीको भार २.६६ प्रतिशत थियो । यस्तो समयमा सर्वसाधरण त प्राय: खाली खुट्टामै हिँड्थे भनिन्छ । जुत्ता त समाजका ठालुको गहना जस्तो थियो ।
        बुद्धिनारायण श्रेष्ठले लेखेअनुसार सन् १९९२ मा नीजिकरण गरिएपछि बाछाजुकाको मेसिन भारतलाई बेचियो । यसको मेसिनले अझैपनि (२०७१ सम्म) गोरखपुरमा जुत्ताको उत्पादन गरिरहेको थियो । यो कारखाना आएपछि नेपालमा सुरुमा २० हजार जोर जुत्ता प्रति वर्ष उत्पादन गरिएको थियो । यसको नीजिकरण हुनुअघि २०४८/४९ सालमा नेपालमा १५ लाख जोर जुत्ता उत्पादन हुन्थ्यो । त्यस पछिका केही वर्ष नेपाली बजारमा विदेशी जुत्ताहरुको विक्री बढेको थियो ।
      हाल नेपालमा जुत्ता उत्पादन र यसको कच्चा पदार्थबारे दुइथरी विचारहरु सुन्न पाइन्छ । पहिलो प्रवर्धनात्मक ढंगको छ । जसले जुत्तामा नेपाल आत्म निर्भर छ भन्न खोजेको छ भने दोस्रो चाहिँले यो आत्मनिर्भर छैन भन्ने तर्क दिएको छ । आत्मनिर्भर छ भन्ने तर्कका प्रमाणअनुसार २०७१ सालसम्म नेपालमा ८ सयजति छालाजुत्ता उद्योग मध्ये ८० प्रतिशत काठमाडौँमा रहेका छन् । र करिब २ लाख ७५ हजार जनशक्ति जुत्ता उत्पादनमा सक्रिय छन् । २०७१ सम्ममा नेपालमा वार्षिक ५ करोड जोर जुत्ता विक्रीको अनुमान गरिन्छ । जसमध्ये ३ करोड जोर जुत्ता नेपालमै उत्पादन गरिन्छ भने २ करोड जोर जुत्ता विदेशबाट आयात गरिन्छ । यसको मतलब जनसंख्याको झण्डै दोब्बर अर्थात् १ जनाले वर्षमा डेढजोर जुत्ता किनेको देखिन्छ । तर यस्तो विचार राख्नेहरु केही पक्षमा मौन छन् ।
      जस्तो छाला जुत्ता उद्योगमा मध्यम व्यावसायिक घरानाको लगानी रहेकोले नयाँ नयाँ प्रविधिमा लगानी हुन सकेको छैन । यो जुत्ताचप्पलको आयातलाई रोक्न नसक्ने पक्ष एउटा हो । दोस्रो, एउटा मेसिनले एक खालको जुत्ता मात्र सिलाउन सक्छ । नेपालमा त्यस्तो थरीथरीका जुत्ता सिउने मेसिनमा लगानीको अवस्था कमजोर छ । फेसनेवल बजारको लागि यो पक्ष चुनौति बनेको छ । त्यसैले अझै पनि स्वयंनिर्भरता छैन । तेस्रो, नेपालमा छालाको उपयोग नहुँदा केही वर्ष यता छाला निर्यात गरिएको छ । २०७१/२०७२ सालमा २८ करोडको छाला निर्यात भएकोमा त्यसको अघिल्लो आर्थिक वर्षमा १६ करोडको छाला निर्यात भएको थियो ।
      अर्को बलियो प्रमाण अनुसार एउटा जुत्ता बनाउँदा ३७ वस्तुको प्रयोग हुने र ४७ प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ । ३७ वस्तुमध्ये नेपालमा २/३ वस्तुबाहेक अरु उत्पादन हुँदैन । सबै आयात गर्नुपर्छ । ४७ प्रक्रिया पार गर्न पनि नेपालमा दक्ष जनशक्ति छैन । विदेशबाट बोलाउनुपर्छ । जुत्ता उत्पादनको लागि गाई/ गोरुको छाला राम्रो मानिन्छ । जुन नेपालमा छैन । नेपालमा खाली भैँसी र वाख्राको छाला मात्र उत्पादन गरिन्छ । नेपालमा छाला निर्यातको ८० प्रतिशत काँचो छाला निर्यात हुन्छ । त्यही छाला प्रशोधन पछि महँगो मूल्यमा किनेर ल्याउनुपर्छ ।
      माथिल्ला दुइथरी विचारहरुबाट के नेपाल जुत्ता उत्पादनको लागि आत्मनिर्भर छ त, भन्ने प्रश्न जन्माउँछ । बरु कच्चा पदार्थ आयात गरेर नेपालमै जोडजाड गरी उत्पादन गरिने भएकाले यसलाई आत्मनिर्भर उद्योगको रुपमा परिभाषित गर्न खोजिएको हो कि ! यो प्रश्नलाई थाती राखेर, प्रयोगको पक्षलाई मात्र हेर्ने हो भने जुत्ताको व्यापकता भइसकेको छ । अहिले १० ओटा शहरी क्षेत्रमा गरिएको एक सर्वेक्षणले एक वर्षमा एक व्यक्तिले २.७ जोर जुत्ता र २ जोर चप्पलको खपत गर्ने देखाएको छ । गाउँघरमा पनि फेसनेवल जुत्ताको पसल नै देखिन थालेका छन् । यस्तो अनुभव वा तथ्यांकले जुत्ताबारे समाजको चित्र उल्टाएको छ । 'जुत्ता लाए खुट्टा विग्रन्थ्यो र ?' भन्ने प्रश्न अतिततिरै फर्काइदिएको छ ।

१५ साउन २०७३/३० जुलाई २०१६
थापागाउँ, वानेश्वर
यो लेख २०७३ भदौ १९ गते सनिबार अन्नपूर्ण पोष्टको फुर्सदमा पनि छापिएको थियो

No comments:

Post a Comment