माघको एउटा बिहान दौडिँदै आएकी महिला सुनकोसीको बगरमा बालुवा
खोस्रेको खाल्डोमा टुपुक्क बसिन्।त्यसरी बसेकीले उनीतर्फ सोझै हेर्न मलाई आँट आएन, शौचले अत्याएर आएकी
पो हुन् कि भनेर। कसो-कसो मलाई त्यो दृश्य अनौठो लागिरहेको थियो। तर, उनी शौचमा थिइनन्।
सलले घुप्लुक्क मुख ढाकेर सुतेकी रहिछन्। त्यहाँ उनी अशान्त देखिन्थिन्।
खाल्डोबाट
उम्केर सोझै नदीले पानीढलो बनाएको किनारामा गई लुख्रुक्क दुइटै गोडा खुम्चाएर
सुतिन्। अघिझैं सलले मन्टो लुकाइन्। एक मनले ठानेँ नदीकिनारमा माझीहरू भिटामिन डी
खान यसरी नै आउँदा होलान्।त्यो नि मलाई बेबकुफ सोचाइ लाग्यो, घामले डढेका ज्यानलाई के को 'डी' र 'सी' ? दृश्य त्यतिमात्र थिएन। दुई वा तीनजना
महिला पूर्व-दक्षिण बगिरहेको कोसीको किनारैकिनार उँधोतिर दौडिरहेका देखिन्थे।
त्यत्तिकैमा
दुईजना पुलिस हान्निएर आएको देखेँ। उनीहरूमध्ये एकजना कड्किँदै थिए, 'यी छौंडालाई कति भने पनि नहुने। यहाँबाट माथि नजाऊभन्दा नि कत्ति
नटेरेको। सिभिलमा आएर सबैलाई समातेर जाकिदिन्छु अनि थाहा हुन्छ।' अनि थाहा भयो त्यहाँ केही गडबडी रहेछ।
नजिकै
एक्लै बालुवा चालिरहेकासँग सोधेँ 'के भएको दाइ? ' उनले भने, 'यहाँ पुलिसले बालुवा चाल्ने साँध बनाइदिएको छ, साँधभन्दा माथि गएमा यसैगरी लखेट्छ।' जताततै बालुवा निकाल्ने हो भने पानीको बहाव बदलिएर पुलको बुर्जालाई
हानिदिन सक्ने भयले साँध बनाइएको रहेछ। ती मजदुर नूतन माझी थिए। उनले हाम्रो
अनुहारमा नहेरी उत्तर दिँदै थिए। मेरो साथी रूख गुरुङले, 'दाइ हामी सिभिल ड्रेसमा आएका पुलिस हैनौं है' भन्दै उनलाई ढुक्क बनाए।
अर्को
दृश्यमा एक हबल्दारले आफ्नो सिपाहीलाई 'जा त्यो चालना फालिदे नदीमा' भन्दै अह्राउँदै थिए। सिपाहीले भने, 'फालेर के गर्ने साप, भर्खरै लतार्दै ल्याउँछन्।' त्यो सुनेर हल्दार फेरि कड्किए, 'फालिदे भनेको सुनिनस्।' सिपाहीले 'हस् साप' भन्दै चालना लतार्दै नदीमा मिल्काइदिए। तर, चारओटा बेल्चा भने लतार्दै उँभो लागे। बेल्चा लैजाने, चालना फाल्ने कस्ता पुलिस हुन् !
सुनकोसी
बगरमा बालुवा चाल्ने माझीहरू दोलालघाट बजारको अलि माथि माझी गाउँका बासिन्दा हुन्।
उनीहरूको काम गर्ने थलो कोसीको बगर नै हो। घोप्टिएर गाउँ नै झरेंझै देखिन्थ्यो
सुनकोसी र इन्द्रावतीको दोभानमा। दिउँसो एक प्रकारले, निकै रमाइलो पो लाग्यो त, त्यो बगर। गाउँमा दिउँसो त बुंगुुर र खोलेसोका कुखुरामात्र हुन्छन
रे।
बालबच्चासहित
बिहानै ७-८ बजेतिर ४७ घरे माझी परिवारहरू बालुवा कोतर्न कोसी किनारामा पुग्छन्।
त्यसैले १२ वैशाखको भूकम्पमा बुंगुर र कुखुराहरूमात्रै मरे र घाइते भए। नदी नहुँदो
हो त के गर्दा हुन् ती माझी ? जीविकाको तानाबाना अरू पनि हुनन्। तर, एकदिनको लागि भने उनीहरूको बगर मलाई उराठिलो लागेन। मलाई नलागे पनि
दिनहुँ बगरमा बिताउनेलाई कस्तो लाग्दो हो अज्ञेय नै रह्यो। टक्र्याकटुक्रुक ढुंगा बजिरहेको आवाज
सुन्दा रोमाञ्चित लाग्ने ट्रिपरको हर्नले बगर सुनसान चाहिँ थिएन। अर्कोतर्फ, काम गर्ने ठाउँमा पारिवारिक वातावरण देखिन्थ्यो।
माझीहरू
डुंगा तार्ने, माछा मार्ने जाति हुन भन्ने सुनेको
थिएँ। यही मेसोमा मैले बालुवा चालिरहेका मानबहादुरलाई सोधेँ, तपाईं पहिला के गर्नुहुन्थ्यो ? उनले भने, 'यही नै हो, बालुवा चाल्ने'। हुन पनि जहिलेदेखि बालुवाका घर बन्न
थाले, उहिलेदेखि नै यो पेसा बन्यो होला। तर, कर गरेपछि उनले आफ्ना बाको त घट्ट भएको बताए।उनले भने, 'बाजेहरूको पनि पेसै पहिलेदेखि नै घट्ट चलाउने रहेछ।' कोही-कोही डुंगा पनि चलाउने रहेछन्। सुनकोसी र इन्द्रावती दोभानको
तीरमा एक माझीको आफ्नै डुंगा देखिन्थ्यो। ५० रुपैयाँ प्रतिव्यक्तिमा उनले
यात्रुलाई डुंगामा घुमाउँथे। मेरा साथीहरू त्यतैतिर पनि रमाएका थिए।
सुनकोसी
बगरमा बालुवा चाल्ने माझीहरू दोलालघाट बजारको अलि माथि माझी गाउँका बासिन्दा हुन्।
उनीहरूको काम गर्ने थलो कोसीको बगर नै हो। घोप्टिएर गाउँ नै झरेझै देखिन्थ्यो
सुनकोसी र इन्द्रावतीको दोभानमा।
मानबहादुरले
भने, 'वर्षभरि एउटै कामले मात्र त पुग्दैन
अरू काम पनि गर्नुपर्छ।' बालुवा चाल्न नपाउने तीन महिनामा
बर्खे भेलले बगाइल्याएका मुढाहरू समाउने, चिर्ने र राख्ने काम हुन्छ रे। मानबहादुरले थपे, 'त्यो बेला खोलाले दाउरा ल्याइदिन्छ, छेउतिर फालिदिन्छ, बटुल्यो चिर्र्यो र राख्यो।'
मेरो
मन चल्यो, 'यार, खोलो त सुनकोसी नै रहेछ माझीहरूलाई। मौसम मौसममा काम दिने।' मलाई त्यस्तो लागे पनि जीविकाको माध्यम बदलिँदो र अस्थायी प्रकारको
देखिन्थ्यो। त्यसबाहेक उनीहरूले घर बनाउने मजदुरीको काम पनि गर्थे। गाउँमा काम
नपुगेरै त होला, माझी गाउँका दुईतीनजना मलेसिया र कतार
पनि गएका रहेछन्।
फेरि
बगरतिरै फर्केम्। मानबहादुर आफ्नो श्रीमती र दुइओटा छोराहरूसहित थिए। उनको समूहमा
सातजनाले काम गरिरहेका थिए। बैनी, ज्वाइँ र उनको छोरी पनि थिइन्।उनका
फुपू फुपाजू पनि थिए। उनीहरूका वरिपरि चालना (जाली), टेका (जालीलाई अड्याउने बाँस), कोरेसो (बालुवा कोट्याउने दुईटा दाँत भएको औजार), बोतल (तिर्खा लाग्दा पानी पिउनलाई), साबेल (बालुवा निकाल्ने बेल्चा), डोको (बालुवा बोक्नलाई), बोतलहरू पानी पिउनलाई यस्तै सामानहरू देखिन्थे।
दोलालघाट
वरिपरिका चार ओटामध्ये हामी उभिएको दोभान बगरमा झन्डै १२-१३ समूहले काम गरिरहेका
थिए। यसबाट ४७ घरे सबै माझीहरूलाई बगरले पाल्न सक्दैन भन्ने बुझिन्थ्यो। मिलेर, क्षेत्र छुट्याएर काम गरेको देखिन्थ्यो। सबैलाई पनि होइन, सधैंलाई पनि होइनरहेछ यो काम।
अरूहरूको
नि कुरा सुन्न उँधो बगरतिर लाग्यौँ। बर्खेभेलले थुपारिदिएको बालुवालाई कोरेसोले
कोतर्दै ढुंगा एकातिर बालुवा अर्कोतिर राखिरहेका मानिस भेटिन्थे। कोही ठड्याइएको
चाल्नोमा बेल्चाले थुपारेको बालुवा हुत्याउँदै मसिन्याएका पनि देखिन्थे।
के
महिला, के पुरुष कामको विभाजन देखिँदैनथ्यो, मोटो दृश्यमा। महिलाले बेल्चा पनि लगाउँथे। एक ठाउँमा जम्मा पारेको
बालुवा डोकामा बोकेर ट्रक आउने ठाउँसम्म पनि पुराइदिनुपर्दथ्यो।
अर्को
समूहतिर गयौं। बुद्ध श्रेष्ठ पनिसँगै थिए। कुराको सिलसिला, थुपारेको बालुवालाई कति पर्ला भन्नेबाट सुरु भयो। सुरुमा लजाए पनि
पछि एउटीले भनिन्, 'एक टरकको पाँच हजार रूपपे।' तीमध्ये दिदी चाहिँको नाम सुनसरी माझी रहेछ। बाउ र दुई छोरी गरी
तीनजनाले दिनमा एक ट्रक बालुवा बनाउने रहेछन्।
मैले
'राम्रै मूल्य हुनेरहेछ त दिदी।' त्यति भनेपछि सुनसरीले तुरुन्तै जवाफ दिइन्, 'आधा त न्यारलाई दिनुपर्छ।' मैले सोधेँ 'किन दिनुपर्ने यत्रो दुःख गरेको
पैसोको आधा- नेवारलाई ? ' उनले फर्काइन्, 'बगरभन्दा माथि उनीहरूको बारी छ, त्यसैले।'
माथि
बारी हुँदा बगरको बालुवाको आधा पैसा किन दिनुपर्ने ? मैले उनको कुरा बुझिनँ। अरूलाई नै सोध्छु भनेर अझै उँधो लागेँ।
एउटा खाल्डोमा आधा जीउ पानीमा डुबाएर बालुवा झिकिरहेकामध्ये एकजनाले कुराकानीको
क्रममा भने, 'यो बगर पहिला नेवारको बारी थियो। बाढी
आएर पुरेपछि अँधियामा काम गर्नुपरेको हो।' कुरो सुन्दा अलि नमज्जा लाग्यो, काम गरिरहेका ती माझीसँग होइन आफैसँग मनोवाद चलिरह्यो, 'जाबो यो बगर पनि माझीको भएन है।'
कुराको
तृष्णा अझै मेटिएको थिएन। नजिक नजिकै समूह थिए। काम गरिरहेका माझीलाई झिँझोलाग्दो
हो तर सोधिरहेँ, 'बालुवा कोट्याउँदा कोट्याउँदा के के
भेटिन्छ नि ? ' काम गरिरहेका एक पुरुषले, बगरमा पल्टेको एउटा मुढा देखाउँदै भने, 'ऊ त्यस्तै मुढा पाइन्छ।' सुनसरीले पनि नजिकै एउटा ठूलो मुढा र ससाना अरू दाउरा पनि जम्मा
गरेकी थिइन्।
यी
मुढाहरू पोलेर निकालिएको जस्ता थिए। 'पोलेका मुढाजस्ता देखिन्छन् नि? ' उनले, 'होइन नि ! बालुवामुनि पुरिएकोले
त्यस्तो कालो भएको' भने। यो दाउराबाहेक चम्चा गिलासहरू, जस्ता पाताहरू पनि भेटिन्छन् रे। घर भत्काएर ल्याएका सामानहरू पनि
पाइन्छन् रे।
म
फेरि मानबहादुरको थुप्रोतिर फर्किएँ, उनले आफ्ना २३ वर्षे ज्वाइँलाई 'ए त्यो अलिकति उता पल्टाइदेऊ न र अनि यो उकाल्देऊ' भन्दै थिएँ। ज्वाइँ ट्रकमा बालुवा लोड गर्दै थिए। नजिकै बालुवा
लैजाने ड्राइभर पनि थिए। उनका अनुसार, बगरबाट पाँच हजारमा उठाएको बालुवा बनेपा पुर्याउँदा १० हजार पर्छ। तर, भक्तपुर लगे त्योभन्दा बढी पर्छ।
मसिनो र राम्रो मेहनेत गरेर बनाएको बालुवा रहेछ भने अर्कै हो नत्र भाउ प्रायः एउटै
हुन्छ। जिल्लाभित्र भए एक ठाउँमा बाहिर लगे दुई ठाउँमा कर तिर्नुपर्ने रहेछ। एक
ठाउँको पाँच सय।
जिविसले
बालुवा कर उठाउने ठेक्का वर्षा सकिएपछि एक वर्षको लागि ठेकेदारलाई दिन्छ रे।
मानबहादुरले भने, 'यसपटक (२०७३ सालमा) ६८ लाखको टेन्डर
पर्यो रे।' त्यसपछि फेरि सुरु हुन्छ बालुवा
चाल्ने काम।टेन्डर प्रक्रिया सकिएपछि असोज कात्तिकतिरको सिजनमा २०/२५ ओटा गाडी (ट्रिपर)
हर्न बजाउँदै बालुवा लिन आउँछन् रे। तर बगरमा बालुवा सकिएर खाल्टैखाल्टा हुँदै
जाँदा माघतिर भने दिनमा १०/१२ ओटामात्र ट्रिपर हुन्छन् रे। त्यतिबेला बालुवा
सकिँदै जान्छ। ठाउँ सकिँदै गएपछि माझीहरूलाई अर्को वर्षा कुर्नुपर्छ। त्यसबीचमा
माछा मार्ने, ज्यामी काम गर्नुपर्ने हुन्छ।
बगरमा
उभिएर हेर्दा, नदी नागबेली बगिरहेको देखिन्थ्यो। बगर
र माझी गाउँहरूलाई वारि र पारि देखिन्थे। उभिएको बगरपारि अर्को गाउँका माझीहरू
बालुवा चालिरहेका देखिन्थे। मलाई त लाग्यो कि यी बगर/गाउँहरू नदीले छुट्याए पनि
उनीहरूलाई डुंगाले जोड्छ। त्यसैले होला नदीकिनारका ठाउँठाउँमा यस्ता डुंगाहरू
सिक्रीले बाँधेर राखिएको थियो। सायद तर्नलाई र तार्नलाई।
कोसी
किनारमा माघको एक शुक्रबार हामी मार्टिन चौतारीबाट पिकनिक गएका थियौं। दोलालघाटमा
त्यो दिन केही माझी बच्चाहरू स्कुल गएका थिएनन्। बच्चाहरूले काम गरिरहेका आफ्ना
आमाबाबुलाई जरुवा अथवा खोलाबाट पानी ल्याइदिने र पानी खान दिने गर्थे।
साथै
ठूलाले ससाना बच्चाहरू हेर्दै बगरमा खेलिरहेका थिए। बा-आमाले आराम गरेको बेला
बेल्चा चलाउन सिक्ने पनि गर्दा रहेछन्। कतिपयले त कोरेसोले बालुवा कोतर्ने पनि
गरेको देखिन्थ्यो। बगरका यी जीवनसँग बस्ने रहर हुँदाहुँदै घाम पहेँलिँदै गएकाले
सिरानतिर उकालियौं।
सिरानमा
पुगेपछि क्याटरिङ नजिक बिहानैदेखि केही अपरिचित मान्छेहरू जम्मा भएको मैले याद
गरिरहेको थिएँ। चौर नजिकैको धारोमा एउटा केटोले क्याटरिङवालाका भाँडा धसिरहेको
देखेपछि बिहानको दृश्य याद भयो।
सायद
काम खोज्न आएका मान्छे हुनन्। उनको नजिकै गएर सोधेँ। रोनिश माझी रहेछन्। १२ वर्षका
रोनिश दुई कक्षामा पढ्दा रहेछन्। तर, उनी हरेक शुक्रबार स्कुल नै जाँदैनन्। शुक्रबार र शनिबार यहाँ
पिकनिक गर्न मान्छे आउने र भाँडा माझ्ने काम पाइने हुनाले स्कुल नगएका उनी।
अबेर भइसकेको थियो
गाडीले 'जाउँ' भन्दै हर्न बजायो। रोनिशसँग विदा मागेर हिँडे । घाम पहेँलिँदै
डाँडाबाट झर्दै थिए तर बगरको टकर्याकटुक्क्रुक चलिरहेकै थियो।
यो रिपोर्टिङ्ग लेख २६ फागुन २०७३, बिहीबारमाअन्नपूर्ण पोस्ट्को 'फुर्सद'मा प्रकाशित थियो ।
No comments:
Post a Comment