Monday, March 25, 2019

‘वार अफिस’को कथा

अर्जुन पन्थी

‘प्रथम विश्वयुद्धको वर्णन’ किताबका लेखक हेमराज शर्मा (१९३५—२०१०) चन्द्र शम्शेरका ‘श्री राजगुरु’ र विश्वास पात्र थिए । पहिलो विश्वयुद्ध (१९७१—१९७६)को तयारीमा लागेको बेला चन्द्र सरकारले सिंहदरबारमा ‘वार अफिस’ खोलेको थियो । ‘वार अफिस’मै खटिएको बेला शर्माले यो किताब तयार पारेका हुन् ।


आफ्नै जीवनकालमा घटेको पहिलो विश्वयुद्धको बयान लेखक शर्माले कसरी गरे होलान्, पढ्न उत्सुक थिएँ । किताब नपढ्दै मेरा केही अपेक्षा थिए । युद्धताका लडाका खोज्दै नेपाली गाउँगाउँ पसेका गल्लाहरुले जबर्जस्ती युवाहरु खोसेर लगेका कथा होलान् कि नहोलान् ? कतिमान्छे कहाँबाट कहाँको लडाइँमा गए होलान् ? लडाकालाई सहयोग गर्न गएका तर बर्मामै हराएका मेरा ठूलाबा जस्ता सहयोगी सर्वसाधरण अर्थात ‘पब्लिक फालवर्स’ कति हुनन् ? तिनको कथा किताबमा होला कि नहोला ? इत्यादि ।



‘वार अफिस’ खडा गर्दा काम कसरी गर्ने कुनै अनुभव थिएन । शर्माका अनुसार ‘धान चावल मुगी मास तिल इत्यादि मिसिएको एकै राशबाट १।१ वस्तु छुट्याउनालाई जस्तो मुश्कील हुन्छ’ त्यस्तै मुश्किल वारअफिसको काममा भएको थियो (पृ. १४३) । भविश्यमा यस्तै दुःख होलाकी भनेर युद्धअनुभवको रेकर्ड राख्न यो किताब लेखिएको थियो । हुनत १९११ सालमा भएको तिब्बत युद्धको अनुभव जङ्गबहादुर राणाले लेखाएका थिए । १९१४ सालको लखनौ लडाईमा जाँदाको वर्णन लेखिएको थियो । त्यस्तै पहिलो विश्वयुद्धको अनुभव पनि लेखिनुपर्छ, राष्ट्रलाई काम लाग्छ भन्ने सोचकै क्रममा यो पुस्तक आएको हो । यस बारे शर्माले लेख्छन्, ‘पछिपछिकाले काम गर्नुपर्दा त्यस विषयमा अगाडिदेखि भइरहेका कुराको अनुभव गरी काम गर्दा जत्तिको तिनीहरुलाई काम गर्न सुविस्ता होला, त्यत्तिको अरु कुनै तरहबाट हुनसक्ने छैन’ (पृ. १२) ।

युद्ध अनुभव लेखे पनि त्यति बेला पुस्तक किन प्रकाशन गरिएन, यसबारे अनुमान मात्रै गर्न सकिन्छ । यस पुस्तकका सम्पादक दिनेशराज पन्त लेख्छन्, सोचेजस्तै ‘ढङ्गले पूर्ण नभएकोले पनि यो प्रकाशनतिर नगएको हुनसक्छ ।’ (पृ. ध) लेखेका कुराहरु ‘श्रीराजगुरु’को हैसियतमा प्रकाशन गर्न अप्ठ्यारो भएर प्रकाशनतिर उत्साह नभएको हुनसक्छ । तर लेखेको सय वर्षपछि २०७५ सालमा यो प्रकाशित भयो । यो समयमा किन चासो जाग्यो, यसबारे भने सम्पादक तथा प्रकाशक मौन छन् । तर यो समयमा धेरै पुराना सामग्री प्रकाशन तथा पुनर्प्रकाशन भएका छन् । त्यहि मेलोमा यो किताब आएको हुनुपर्छ ।

किताब मुलतः दुई भागमा संरचित छ । सुरुका खण्डहरुमा विश्वयुद्ध हुनाको कारण र त्यसपछिका खण्डमा नेपाल सरकारको युद्ध तयारीका विषयहरु परेका छन् । सुरुका खण्डहरुमा विश्वयुद्धको कारण जान्न खोजिए पनि लेखक शर्माले पूर्वीय ज्ञान र महाभारत कथाका अनुभव राख्दै आफ्नो पाण्डित्य दर्शाएका छन् । पढ्न बोर लाग्दैन ।

‘भीष्म विदुर श्रीकृष्ण युधिष्ठिर आदि विचारवान् पुरुष छँदाछँदै पनी महाभारतको लडाइँ किन भयो ?’ त्यस्तै तरहले यूरोपमा अनेकौँ विद्वान, शान्तिप्रिय संस्था खडा हुँदा हुँदै लडाइँ किन भयो । त्यसैले युद्धलाई शर्माले ‘अनिवार्य सर्त’को बलवान सिद्धान्तको रुपमा व्याख्या गरेका छन् । विचारवान पुरुषले युद्ध रोक्नसक्छन् भन्ने उनको मतले ‘कुलेलम ठोकेर कहाँ भाग्यो पत्तै छैन’ (पृ.४४) ।

विश्वयुद्धको कारण, यसका लक्षण, विभिन्न सन्धि तथा एलायन्सहरुको चर्चा, त्यति बेलाका पत्रपत्रिका तथा जर्मनी विद्वानहरुले लेखेका लेख तथा पुस्तकबाट तयार पारेका छन् । अनुमान गर्न सकिन्छ, नेपालको ‘वार अफिस’मा युद्धसम्बन्धि पुस्तक र विभिन्न पत्रपत्रिका आउँथे । शर्माले तिनैलाई स्रोत बनाएर युद्धका कारण खोतलेका छन् ।

युद्धको तत्कालीन कारण अष्ट्रियाका राजकुमारको हत्या भनेपनि शर्माले, ‘त्यो एक बहाना मात्र सम्झनुपर्दछ’ भनेका छन् (पृ. ४७) । त्यही बहानाका आधारमा यूरोपेली राष्ट्रहरुले युद्धमा शक्तिको तुजुक देखाएका थिए । विश्वयुद्धको कारण राजकुमारको हत्याभन्दा गहिरो छ । लेखकको दाबा छ, विश्वयुद्धको जरा युद्ध सुरु हुनुअघिको १०० वर्ष वा ४० वर्ष जति इतिहासमा धसिएको छ । जतिबेला यूरोपेली देशहरु आफ्नो जातीको साम्राज्य वा उपनिवेश जमाउन लागि परेका थिए । उपनिवेशकालमा फ्रान्ससँग ब्रिटेनको स्पर्धा थियो । रसियाले पनि पूर्वी मुलुक डोल्दै दक्षिण एसिया पस्ला कि भन्ने डर ब्रिटिशलाई थियो । उता आफ्नो उपनिवेश नहुँदा जर्मन नाराज थियो । फ्रान्स, ब्रिटिश, स्पेनको उपनिवेश हुने आफ्नो नहुने, यस्तो मुर्मुराहटमा जर्मनी थियो । यही बेला अरु ससाना राज्य एकीकरण गरी मेहनेती जर्मनीले युद्ध अघि नै अथाहा शक्ति सञ्चय गरेका थिए । त्यसको डर स्पर्धामा रहेका फ्रान्स र ब्रिटेनलाई भयो । शक्ति स्पर्धाको कारणले सम्बन्धमा अदलीबदली भइरहेको थियो । बर्खाको मौसमजस्तो । ब्रिटेन निकै बाठो थियो । युद्धमा धेरै खर्च हुँदा त्यता तर्फ जान चाहँदैनथ्यो । तर लडाइँ टर्न सक्ने थिएन । यो वा उ कित्तामा उभिनै पर्ने हुन्थ्यो । शक्ति सम्बन्धको तराजुमा अन्तिममा मात्रै ब्रिटेनले आफूलाई सहभागी गरायो । आफ्नै ‘ट्यूटन’ जातीका जर्मन विरुद्ध आफूलाई उभ्यायो । ‘लेटिन’ जातीका फ्रान्सेली र रसियनसँग ब्रिटिश मिले । युद्ध र राजनीतिमा सम्बन्ध बदलिन्छन् भन्ने संस्कार यस युद्धले बसाल्यो । लेखकको निष्कर्ष छ, त्यसैले यो युद्ध जातीय थिएन । ‘राष्ट्रियता नै यस महायुद्धको मुख्य लक्षण हो’ (पृ. ४७) ।

यो वैश्विक लडाइँको दायरा अघि अघिका लडाइँ भन्दा फराकिलो थियो । युद्धमा एकै राज्यका लाखौँ लडका एकातिर मारिँदा, उही देशका लाखौँ भर्ती भएका थिए । योग्य पुरुष सैनिक बनेपनि बालक, वृद्ध, स्त्रीहरु सामग्री तयार गर्ने, घाइतेको सेवा गर्ने, घरघरमा खबर पुराउने काममा लागेका हुनाले धेरै मानिसहरु यस युद्धमा सहभागी थिए । शर्मा लेख्छन्, ‘सारा पृथ्वीलाई सम्बन्ध गराउने, टाढाको पदार्थ पनी नजिक गराउने रेल, तार, जहाज व्योमयानहरुको अहिलेको जस्तो विकास भइनसकेको हुनाले समस्त पृथ्वीलाई हलचल गराउने अत्यन्त भयानक १९१४ सन्मा भए जस्तो लडाई मनुष्य समाजको वीचमा आजसम्म भएको इतिहासमा पनी देखिँदैन’ (पृ. २६) । यो युद्ध वास्तवमा अहिलेको भूमण्डलीकरणको जग थियो ।

यस विश्वयुद्धमा अंग्रेजले हारे उसका उपनिवेशहरु गुम्थे । ‘दक्षिण एसिया’को उपनिवेश गुम्थ्यो । त्यसलाई जोगाउन आफ्ना उपनिवेशका ‘लडाका जाती’हरुलाई अंग्रेजले प्रयोग गर्न चाहन्थे । जसै आफ्नो अप्रत्यक्ष शासन भएको नेपालको सैन्य ताकत उनीहरुले अघिल्ला समरमा बुझिसकेका थिए, तसै नेपालीहरुलाई बृटिश सेनामा भर्ती गरिसकेका थिए । अझ विशाल युद्धको बेला प्रयोग नगर्ने कुरै थिएन । सोहीअनुसार दक्षिण एशियाका लडाका जातीहरूलाई अंग्रेजले प्रयोग गरे । यो युद्धमा नेपाली ‘लडाका जाती’को सहभागितालाई कतिपयले ‘चन्द्रशम्शेरको सनक’ भने पनि सारपक्ष त्यो होइन । रुपमा चन्द्र शम्सेरले ‘सन्केर’ रिकुटे भर्ती गरेको देखिए पनि, सन्केर इस्तिहार जारी गरे पनि त्यो टार्नै नसकिने थियो । कुनैपनि राणा प्रधानमन्त्री जनताका अघि शेरजस्तै गर्जिए पनि लैनचौरमा पुच्छर हल्लाउँथे । अर्थात् हामी विश्वशक्तिसँग अलग थिएनौँ । विश्वयुद्धसँग पनि अलग थिएनौँ । ब्रिटिश उपनिवेश अन्तर्गतको अप्रत्यक्ष शासनमा रहेकाले विश्वयुद्धमा सहभागिता हाम्रो बाध्यता थियो । हेमराज शर्मा लेख्छन्, ‘महाशक्तिहरुको संग्रामको घमासानको बखतमा क्षुद्रशक्ति भएका राष्ट्रहरुले सच्चा वा पक्का तटस्थता पालन गर्नसक्ने सामथ्र्यै रहन सक्तैन.’ (पृ. ४५)

नेपालले पनि तटस्थता पालन गर्न सकेन । अंग्रेजका साथ विश्वका विभिन्न भूगोलमा गएर नेपाली युवाहरुले लडे । अष्ट्रिया, बेल्जियममा पुगेर नेपालीहरु लडे । लडाइँ अन्यत्र भएपनि नेपाली गाउँ परिवारमा त्यसको असर परिरहेको थियो । पुस्तकको नेपालबारेका खण्डमा लेखक शर्माले त्यति बेलाको मानवीय पक्षलाई समेटेका छैनन् । त्यो जान्ने मेरो अपेक्षा बाँकी नै रह्यो । सरकारको ‘वार अफिस’मा काम गरेका हुनाले लेखकले त्यति बेला चन्द्र शम्शेरको अर्डर, लडाका कसरी कहाँबाट ल्याउने भन्ने युद्ध तयारीका नीतिगत विषयलाई पुस्तकमा समेटेका छन् ।
यी नीतिगत पक्ष हेर्दा त्यस युद्धमा नेपालले गहिरो लगानी गरेको बुझिन्छ । चन्द्र शम्शेरको दिएको ‘अर्डर’मा लेखिएको छ, ‘मित्रका उपर संकष्ट परिआएको बखतमा आफ्नो हैसियतले भेटाएसम्म मदत दिनु मित्रको धर्म हुनाले बृटिश सरकारको कामलाई चाहिन्छ भने हाम्रो नेपालको फौज हिन्दुस्थानमा पठाइदिनेछु भनी बृटिश सर्कारलाई खबर पठाएको छु. उनीहरुलाई दरकार प¥यो भने पहिला पटकमा ६००० र दोस्रा पटकमा ४००० तेस्रा पटकमा ४००० फालवर्स समेतको मयसमान फौज पठाइदिनेछु.’ (पृ. १३७) । यो त चन्द्र शम्शेरले नेपाली अधिकारीलाई दिएको आदेश थियो । अंग्रेजको चन्द्रलाई के आदेश थियो यस पुस्तकको क्षमताभित्र त्यो रहेन ।

चन्द्रको आदेशपछि जङ्गीबन्दोबस्त अड्डा ‘वारअफिस’लाई महत्वमा राखियो । यसलाई सिंहदरबारमा सारियो । ‘नेपालका अड्डाखाना सबैलाई भएका मालको लगत र कुन हालतमा छन् जाहेर गर’ भनेर अर्डर पुर्जी पठाइयो (पृ. १४१) । ‘वारअफिस’ खडा गरेपछि फाइल सिस्टम कसरी राख्ने, फाँटफाँटले के काम गर्ने, जरुरी काम कसरी छुट्टाउने, फौज जानु अघि गर्नुपर्ने विषय के हुने, हिन्दुस्तानमा फौज गएपछि के गर्ने, नेपाल र गढी गौँडामा रहेका फौज तथा मिलिसियाको विषयमा के गर्ने, काठमाडौँ बाहिरको पल्टन झिकाउँदाको बन्दोबस्त कस्तो हुने विषयमा सनद तथा पूर्जी जारी गरिएको थियो ।

पाल्पाबाट लडाइँको लागि पल्टन काठमाडौँ आउँदा ‘तिमीहरुका इलाकामा योयो ठाउँमा बास पर्छ, सो वासमा पल्टन योयो दिन आइपुग्नेछ, सो वासवासलाई चाहिने यो यति रसद पानी घाँस दाउरासमेत बजार नजीक भए बजारिया पसलेबाट र बजार पसल टाढा परी नपाउने भए पल्टन आइपुग्नासाथ हर्जा नहुने गरी गाउँगाउँका अनाज हुने साहु महाजन जजससँग हुन्छ निजहरुबाट वासवासलाई चाहिने रसद तयार गराई पल्टन फौज आइपुग्नासाथ चाहिने रसद पानी सुपथ मोल दिलाइदिनु’ भनिएको छ (पृ. १६७) । पल्टन वा रिकुटे हिँड्ने बाटो वरिपरिका बासिन्दालाई पनि सुख थिएन । आफ्नोमा दाउरा घाँस अन्न पानी जे छ सो दिएर उनीहरु युद्धको हप्कोमा परेका थिए ।

यो युद्धले खास गरी नेपाली पहाडी जनजीवनलाई बेस्सरी हल्लाएको थियो । ‘लडाका जात’का मान्छेहरु मात्र होइन, उनीहरुलाई खोज्ने र चाहिने चिजबिजको व्यवस्थापनमा सघाउने अरुहरु पनि थिए । पल्टनै पिच्छे पीपा, भरिया, डोले, कुल्लीले धुवानीको व्यवस्थापन गरेका थिए । अनकन्टार पहाडबाट बाटो बनाउँदै लडाकुको लागि चाहिने चिजबिज बोकेर वीरगञ्ज वा सीमानासम्म पुराएका थिए । कालीगढले अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए । जङ्ग कामका लागि गाउँगाउँका कामीहरुलाई चाहिने काँचो फलाम दिइएको थियो । उनीहरुले लडाकाका लागि खुकुरी बनाएका थिए (पृ. १६३) । सार्कीले जुत्ता सिलाए । पाल्पा घोरवन्डा गाउँका कुमालेहरु डोली बोक्न जान्ने हुनाले पिपामा भर्ती हुन भनियो । लक्का जवान बाहुनले भात पकाए । मेत्तरले क्याम्प वरिपरी सरसफाइ गरे । धोवीले कपडा धोए । नाउँले कपाल काटिदिए । बैद्यले बाटोघाटो वा क्याम्पमा उपचार गरे । ‘पब्लिक फालवर’ र ‘प्राइभेट फालवर’हरु बनेर सबै जातका सर्वसाधरण युद्धमा सहभागी भए । समग्रमा युद्धको गायन लडाकाले गरे । शब्द संगीत अरुहरुले पनि भरे ।

युद्धको लागि हिन्दुस्तान पठाउने सबै चिजबिज काठमाडौँले पुराउन सक्दैनथ्यो । अरुहरुको सहयोग चाहिन्थ्यो । रजौटा, गढी, गौँडा, मौजा, इलाकामा रहेका स्थानीय सामन्तहरु तत्कालीन सत्ताका भरोसा थिए । उनीहरुलाई आदेश, निर्देश गरेर नेपालभर मान्छेहरु खोज्न पठाइएको थियो । ‘ठकुरी क्षेत्री गुरुङ मगर लिम्बु राई दुरा घले राना भाट नगर्कोटी समेत यी ११ जातको भर्ना गर्नू. जैसी सन्यासी भरसक भर्ना नगर्नू. नपुग्ने भए सैकडा १० देखि बढी भर्ना नगराउनु’ भनिएको थियो (पृ.१५३) । गढी गौँडाका सामन्तलाई, ‘रवाफ देखाउँदै गाउँ नपस्नु, फकाएर ल्याउनु’ भनिएको थियो । सकभर लडाका जात खोज्नु, नभए लायकका ब्राह्मण भएनी हुन्छ, भात पकाउन भएनी काम लाग्छन् भनिएको थियो ।

काठमाडौँ आउने लडाकाहरुले आफ्नो बन्दोबस्त आफै गर्नु पथ्र्यो । ‘सदरमा आउने भएका जवानलाई १ जोर लुगा भोटो खाष्टो राडी खुकुरी जुत्तासमेत लिन लगाई पठाउनू, तयार पार्न नसक्ने जवानलाई मोरु ५। पेस्की सापटी दिई’ तयार गर्न लगाउनू भन्ने आदेश जारी गरिएको थियो (पृ. १५७) ।

लडाका जम्मा गर्ने मात्र होइन, लडाकालाई कसरी तालिम दिने ? लडाकालाई हिन्दुस्तान कसरी रमाना गर्ने ? हिन्दुस्तानका छाउनीमा रहँदा के गर्ने ? लडाकाका श्रीमति जारले लगे के गर्ने ? आफ्ना परिवारहरु मरेमा, लडाका स्वयं मरेमा कसरी खबर गर्ने ? युद्धमा घाइते लडाकाहरुको बारेमा के हुने ? लडाका तथा उनको साथमा गएका सहयोगीहरुको बाली तलब कसरी खुवाउने ? युद्ध सकिएपछि फर्केका लडाकालाई कसरी स्वागत गर्ने ? यी तमाम प्रश्नका उत्तर त्यो समयमा जारी गरिएका सनद सवालले दिएका छन् । पुस्तकमा यी विषय क्रमबद्ध गरिएको छ । नियम बनाइएका र लागु गर्न कर्मचारी खटाइएका छन् ।

यसरी पहिलो विश्वयुद्धमा प्रायः नेपाली समाज लागेको थियो । समाजमा पारेको भयावह असर र अनुभवहरुको स्मृति हामीसँग बाँकी रहेन । भीमबहादुर पाँडेले आफ्नो किताबमा अलिकति लेखेपनि अरु खासै लेखिएनन् । यो विश्वयुद्धपश्चात नेपाली समाजमा पेशाको ह्रास, युद्धबाट प्रशस्त पैसा भित्रिए पनि टिक्न नसकेको कथा, युवाहरु लडाइँमा जाँदा कृषिमा आएको भयानक ह्रास, बसाइँसराइँ, घाइतेको अवस्था, पारिवारिक फुट, जारजारी, रक्सीको समस्या इत्यादिबारे सय वर्ष पुग्दासम्म खासै अध्ययन भएनन् ।

अंग्रेजहरुका निम्ति लडेको ‘भाडाको लडाइँ’ भएकाले मेहनेत पूर्वक लडेको त्यो युद्ध ‘नेपाली गौरव’को विषय भएन । त्यो अगौरवको लडाइँको कथा कसले खोतल्ने ? २००७ सालपछि नेपाली बुद्धिजीवी वर्गमा यसको आँट आएन । पञ्चायत पनि राणा शासनको आलोचक भएकाले त्यो समयमा केही हुन सकेन । प्रजातन्त्र पुनस्र्थापनापछि समेत पहिलो विश्वयुद्धको स्मृति हाम्रो पाठ्यक्रममै परेन । त्यो युद्धको दुःखको कथा विस्मृतिमा गयो । तापनि यसका असरहरु त नेपाली समाजमा चिरकालसम्म रहेका छन् । नेपाली समाजमा परेको असरबारे यो किताबले भन्न नसके पनि सरकारको तत्कालीन नीति बुझ्न ‘वार अफिस’को यो कथाले मद्दत गर्छ ।

२९ फागुन २०७५ । १३ मार्च २०१९

यो लेख हिमाल खबरपत्रिका वर्ष २७, अङ्क ४७, पूर्णाङ्क ६३२, ३-९ चैत २०७५ मा प्रकाशित भएको थियो । यसको लिङ्क यहाँ पाइन्छ ।


Wednesday, March 13, 2019

सम्झाउनीमा शिव रेग्मी

अर्जुन पन्थी

२२ असार २०७३ को कुरा, मार्टिन चौतारीको लागि म्यागेजिन जम्मा गर्न शिव रेग्मीको कुटीमा गएको थिएँ । तल्लो तलाभरी पत्रिकै पत्रिका पुस्तकै पुस्तक थिए । जीवनभर संकलन गरेका केही पुस्तक र पत्रपत्रिका एकएक गरी अन्माउनु पर्ने थियो, जीवनको उत्तरार्धमा । एकपटक दिने भनेर ठीक्क पारेका पत्रिका पल्टाउँदै हेरिरहन्थे र भन्थे, ‘भो यो नलैजानुस्, मलाई चाहिनसक्छ ।’ कुनै फेरि ‘ह्या लैजानुस्’ भन्दै दिन्थे । दोधार थियो । भुइँचालोले दिएको दुःख र बुढेश लागेपछि सम्हाल्न नसक्दा पत्रैपत्र गरी बटुलिएका पत्रिका राखीसाध्य थिएन । किताब सम्हाल्ने उत्तराधिकारीको अभावमा पुस्तकालयलाई दिनु बेस ठानेका थिए । डेरा सर्ने जिन्दगीमा किताब संकलनको सौख पनि जीवन जस्तै क्षणिक हुने ।

त्यसपछि म शिवको घरमा नियमित गएँ । कहिले छतमै बोलाउँथे, गफ गर्थे । कहिले पुस्तकालयमा भुलाउँथे । सुगर रोगले गलाएर आँखाको तेज कम गरे पनि ‘आइग्लास’ लिएर पढ्थे । स्मरण शक्ति ज्यादै तेज थियो । सोधेको कुरा, ‘फलानो पत्रिकाको फलानो पृष्ठमा छ’ भनेर बताउन सक्थे । विना प्रमाण बोल्दैनथे । 
भेटकै शिलशिलामा मलाई उनको जीवन कहानी जान्ने रुचि लाग्यो ।
यस्तो रुचि राखेकाले रेग्मीले उनीबारे लेखिएको एउटा थेसिस पढ्न दिए । उनले भन्थे, ‘यो कसैको लागि कसैले लेखिदिएको थेसिस हो ।’ नाम चाहिँ खोलेनन् । को होलान् ति ‘सेरोगेट’ लेखक ? नाउँ थाहा नभएपनि नलेखिएको रेग्मीको जीवनी भन्दा त्यो थेसिस नै राम्रो लाग्यो । तीन चार भेटघाट र ‘भाडाको थेसिस’लाई मैले उनको सिलसिलेवार जीन्दगी बुझ्ने बाटो बनाएँ ।

उनीहरूका पूर्खा बझाङको कुनै एक नदी किनारको फाँट रेगमबाट आएका हुन् रे । त्यस्तो फाँटलाई जिउला भनिँदोरहेछ । रेगम जिउलाबाट ज्योतिषीको काम गर्दै पूर्खाहरू नुवाकोट जिल्लाको बेलकोट आइबसे । पछि नैकाप भञ्ज्याङ हुँदै ठमेलमा आइबसेकाका थिए ।

१९९८ सालमा ठमेलमा जन्मे शिव रेग्मी ।

यो नाम धेरैसँग जुध्छ । कुनै सन्दर्भमा मैले शिव रेग्मीको नाम सुनाउँदा, ‘उनी त विते हैन र ?’ भन्थे कसैकसैले । चलचित्रका निर्देशक शिव रेग्मीलाई सम्झेर । के म वितेको मान्छेलाई भेट्न जान्थें र, कुरा पनि । यस्तो हैरानी शिव रेग्मीले नखेप्ने कुरै थिएन । नाम जुधेर हैरानै हुन्थ्यो । शंकर लामिछानेको ‘नाममा छ के ?’ शीर्षकको निवन्ध पढेपछि शिव रेग्मीलाई फन्का छुट्यो । एउटै नाम धेरैको हुँदा पाएको दुःख विसाउन ‘नाममा के छैन’ भन्ने निवन्ध समेत लेखे ।
‘नाममा के छैन’ भन्ने रेग्मीले २०१५ सालमा एसएलसी दिए । एसएलसीपछि आफुले सानैमा पढेकै बाल विकास स्कुलमा २०१९ सालसम्म पढाए । त्यही बेला ठमेलका युवाहरू मिलेर खोलेको ‘नविन विकास मण्डल’मा स्वयंसेवक भई २०१७ सालसम्म काम गरे । उमेरमा तलमाथि भएपनि उनका सखीजन त्रिरत्न मानन्धर, जनक प्याकुरेल, मोहन लालले पनि स्वयंसेवक काम गर्थे ।

नविन विकास मण्डलमा हुँदा ठमेलका युवा कृष्णभक्त श्रेष्ठ, तीर्थराज वन्त, मोहनहिमांशु थापा, वालमुकुन्ददेव पाण्डे, विष्णुप्रताप शाहसँग सँगै हिँड्दा हस्तलिखित पत्रिका पनि निकाले । जुन पत्रिका नविन विकास मण्डल, राष्ट्रिय पुस्तकालयको टेवलमा राखिन्थ्यो । पुस्तकालय पढ्न आउनेले पढ्थे । यस्तो पत्रिका बुट्टा भरेर, ड्रइङ्ग गरी, राम्रो अक्षरमा लेखेर एकै वा दुई कपि निकालिन्थ्यो । रेग्मीले भन्थे, ‘यस्तो हस्तलिखित पत्रिकाबारे आमोद भट्टराईले केही लेखेका छन् ।’

ठमेलको नेवारी संस्कृतिमा हुर्केका शिव २०२४ सालमा ज्याठाकी ज्वालादेवी बज्राचार्यसँग जोरिए । विजातिय विहे भएकाले, डरले घरै नगई बसे । उ जमानामा गरेको विजातिय विहे भएपनि सामाजिक समस्या भोग्नु परेन । तर घर छाडेर डेराको जिन्दगी चाहिँ रोज्नुप¥यो । जीवन संघर्ष गरिरहे । २०२२ सालमा तत्कालिन कानुन आयोगमा खरदार भए । डेराको जिन्दगी गुजारेका उनले २०३० सालमा टुक्रो जमिन पनि किने । २०४३ देखि २०६१ सालसम्म प्रेस इन्स्टिच्यूटमा पढाए । २०५८ सालमा उपसचिवमा जागिरे जिन्दगी विसाए ।

 विजातिय विहेपछि ठमेलको छालबाट परपर सर्दै पछिल्लो समय उनी कात्यानी पुगेका थिए ।

 शिष्ट, नम्र, भद्र र पातलो बान्कीका रेग्मीलाई शारिरीक बललाग्ने कुरामा रुचि थिएन रे । उनले भन्थे, ‘ज्यानले दिए पो कुस्ती खेल्नु । खिनौरो ज्यान पढ्न लेख्न लागेँ ।’ बलको काममा रुचि नभएपनि भेटघाट र कुराकानी उनले पिउने कफि जत्तिकै प्यारा थिए । ‘जन्मथान नै राजधानी भएपछि भेटघाट र गफै प्यारा’ उनी भन्थे । २०१७ सालतिरको कुरा हो, रेग्मीले पुस्तकालयमा स्वयंसेवक हुँदा पढ्ने धेरै मौका पाए । लेखक हुने रहर पनि थियो होला, २०२० सालमा एउटा कविता लेखे, ‘कुनै दिनको स्मृति’ । कविता मात्र होइन लेखनीका धेरै विधा चहारे । साढे ५ फुटे पातलो ज्यानका रेग्मीले कविता, कथा, निवन्ध, समालोचना लेखे ।

बीसबाइस सालतिर गद्य नलेख्नेलाई लेखक भनिँदैनथ्यो रे । फेरि विए, एमए नपढेकाले गद्य लेखे पनि नपत्याइने । गद्य लेख्न डिग्री पनि चाहिने, अघोषित नियम रहेछ । त्यसैले रातोदिन पढेर रेग्मीले एमए सकाए २०३२ सालमा । गद्य लेखक हुने रहरले ।

हुनत रेग्मीे एमए सक्नु अघि २०२७ सालबाट गद्य क्षेत्रमा लागेका थिए । त्यसपछि गोरखापत्र, गरिमा, मिर्मिरे, मधुपर्क, समकालिन साहित्य, प्रज्ञा, पारिजात, विमोचन आदिमा छपाउँदै गए । साढे २ सय जति समालोचना लेखे । पछि समालोचना लेख्नै छाडे ।

समालोचनाबारे उनको किस्सा, उनको घरको छतमा बसेर सुनेको थिएँ । रेग्मीले प्रायः मलाई घरको छतमा बोलाउँथे । टेविलमा कुइना टेकेर कुरा गर्थे । 

कुनैबेलाको प्रसंङ्ग निकाले । लेख्नेपढ्नेहरू न्यूरोडको पिपलबोटमा भेला हुन्थे । कुनै एक सज्जनले आफ्नो ठाउँबाट कतै नसरी ‘ए शिव यता आउ’ शैलीमा रेग्मीलाई बोलाए । उनमा पनि लेखकी बान्की थियो । ‘म किन आउने तिमी नै आउ’ भनेछन् । पछि ती सज्जन नजिकै आएर, ‘तिमीले लेखेको समालोचनामा यो मिलेन उ मिलेन’ भन्न थालेछन् । शिव भन्थे, ‘समालोचनामा प्रशंसा खोज्ने प्रवृति थियो । यो देखेर मलाई यो विधामा त्यति मन रमेन ।’ सबै कुरामा ठिकै हुन मन पराउने, चर्को हुन नखोज्ने रेग्मीले समालोचना छाडेर अरु विधातिर कलम चलाए । 

२०३४ सालतिर कथा पनि लेखे । २०३५ सालसम्म ३ ओटा कथा लेखेर बिट मारे । किन हो कुन्नी त्यसमा पनि मन रमेन । २०३४ सालदेखि नै निवन्ध विधामा पसे ।

उनले १५० निवन्धात्मक लेखहरू गोरखापत्र, हुलाक, नेपाल, प्रज्ञा, मधुपर्क, युवामञ्चमा फुटकर रुपमा प्रकाशित गरे । यिनै निवन्धात्मक विषयवस्तुबाट उनी खोजीमेलीतिर लागे । २०३६ सालमा हुलाक पत्रिकाको सम्पादक हुनेताका यसमा छापिने अंकित चिन्हको बारेमा सोधखोज गरी ठीक्कका लेखहरू लेखे । उनको खोजीमेलीको सुरुआत त्यसै समयतिर भएको थियो । १९९१ देखि २०२० सम्म शारदा पत्रिकाका सम्पादकीयहरू संकलन गरेर पुस्तक नै तयार पारे २०५८ सालमा । कुराकानीको क्रममा मलाई भनेका थिए ‘यो किताब एकेडेमीमा पाइन्छ, किनेर पढ्नुहोला, २० वर्ष लाएर संकलन गरेको हुँ ।’ मैले ‘हुन्छ पढौँला’ भने । किनेर सरसर्ती पढेँपनि । यही पुस्तकको २५ पृष्ठमा उनले, ‘निरन्तर रुपमा शारदाका सम्पादकीयहरू बुझेर पढ्ने र त्यहीअनुसार लेख्दैजाने हो भने विस्तारै उ पनि एउटा सफल साहित्यकार बन्नसक्छ’ भनी लेखेका छन् । अभिव्यक्ति स्वतन्त्रता नभएको राणाकालीन समयमा लेखिएका शारदाका सम्पादकीय पढ्नु जाती नै होला भन्ने लागेकाले त्यो किताब मेरो संग्रहमा परेको छ । 

खोजी र संकलनको रुचिले रेग्मीका सम्पादन, संयुक्त सम्पादन तथा लेखनमा अन्य किताबहरू पनि निस्कन सके । खोजीमेली २०७३, राजीनामा (भैरव अर्यालका विविध रचना २०७१), गोरखापत्रको इतिहास २०६७, महाकविका भूमिका २०६६, अतितका पाइला २०६३, गोरखापत्रका एकसय एक निबन्ध २०६०, शंकर लामिछानेका निवन्ध २०५९, शारदाका सम्पादकीय विचारहरू २०५८, भूपी सेरचनका कविता २०५७ आदि छन् । २०५० देखि २०५१ सालसम्म समीक्षा सोध मर्म पत्रिकाको पनि सम्पादन गरे ।

संकलनका त उनी धुरन्धार नै हुन् ।

उनी भन्थे, ‘सातै वर्षको हुँदो हुँ, घरमा बाले उदय, शारदा, प्रगति पत्रिका ल्याउनुहुन्थ्यो । तिनै पत्रिका पढ्दै हुर्केको हुँ । पढ्दा पढ्दै संकलन पनि गरें ।’ उनले जीवनमा १५ सय शीर्षकका पत्रिका संकलन गरे रे । यी पत्रिकाका अंकहरू रिठ्ठो नविराई बटुलेका थिए, छापिएजति । यी १५ सय शीर्षकमा पूरा अंक नभएका पत्रिकाको कुनै लेखो थिएन । गोविन्दराज भट्टराईले अतितको पानामा लेख्छन्, ‘फलाना पत्रिकाको फलानो अंक चाहियो भने काठमाडौँमा उनैकहाँ धाउनुपथ्र्यो ।’

२००९ सालमा छापिएको प्रगति पत्रिकाको अंक ६ दुर्लभ भएकाले त्यसलाई खोज्न थाले । २०३४ सालतिर रत्न पुस्तक भण्डारमा त्यति बेलाका सदस्य शिवराम श्रेष्ठसँग परिचय भयो । श्रेष्ठले त्यो अंकमा शंकर लामिछानेले मातृकाप्रसाद कोइरालाको अन्तर्वार्ता भएको बताएका थिए । यो अंक हात नपरुञ्जेल चञ्चल भए । मदन पुरस्कार पुस्तकालय गए, पाएनन् । ईश्वर बरालकहाँ गए, त्यहाँ पनि रहेनछ । माड्साव बासुदेव लुईँटेलले ‘भेटियो’ भनेर बोलाउँदा पनि वर्ष २ अंक १ परेछ । पछि एकेडेमीका कुलपति ईश्वर बराललाई फकाएर अन्वेषक जनकलाल शर्माकहाँबाट फोटोकपि गरि ल्याए । ‘बराल नभएको भए शर्माले पत्याउँदैनथे होला’ उनी सम्झन्थे । तर पनि बरालले फोटोकपी ल्याइदिँदा ‘कभरपेज’ फोटोकपि नगरेकाले उनको चाहना फिस्सै रह्यो । विलुप्त सामग्रीलाई जोगाएर राख्ने रेग्मीले पहिलो अंकलाई आफ्ना लेखनीमा महत्व दिएका छन् । फलानो पत्रिकाको पहिलो अंक भनेर । 

उनी भन्थे, ‘प्रकाश ए राज, शान्तदेव भट्टराई आदिको संकलनमा भएको सामग्रीको आधारमा मैले पत्रपत्रिकाको प्रारम्भिक अध्ययन गरेका हुँ ।’ ईश्वर बरालको झ्यालबाट २०२९, राममणि आदिको पुराना सम्झना २०२९, रामलाल अधिकारीको निवन्ध यात्रा सन् १९७५, गृष्मबहादुर देवकोटाको नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास २०२४ आदि पुस्तक उनको लेखनीका आधार भएको बताउँथे ।
खोजीमेली गर्ने उनको बानीबारे चासो राखिरहेको थिएँ । 

उनी भन्थे, ‘२०३१÷३२ सालतिर मैले पाएसम्मका सबै पत्रिका पढ्न थालें । घरैमा केही किताब थिए, ति पनि पढें ।’ यसले खोजी विधातिर जान प्रेरित भयो । कमलमणि दीक्षितले लेखेका यस्तो पनि, २०१६ र कालो अक्षर, २०१७ पढेपछि उनलाई कति खोज्न सकेको, कस्तो राम्रो लेखेको भन्ने लाग्थ्यो । उति बेलै । यी किताब पनि उनको खोजी र लेखनीका प्रेरणा थिए ।

मोतिराम भट्टको खोजबारे उनले यस्तो कथा सुनाएका थिए ।

ठमेलको बाल विकास स्कूलमा एक सज्जनलाई उनले पढाएका थिए । ती जलकृष्ण श्रेष्ठ थिए । पछि पुरातत्वमा काम गर्न गए । जलकृष्णले २०४०÷४२ सालमा गोरखापत्रमा एक विज्ञापन निकाले । संस्कृति सम्बन्धि पुराना पत्रिका पुस्तक संकलनको लागि । जलकृष्णले रेग्मीलाई ‘माड्साव’ भन्थे । पढाएको हुनाले । रेग्मी माडसावले गोरखापत्रमा छापिएको विज्ञापन देखेपछि शिष्यलाई, ‘काम नलाग्ने साहित्यको किताब तथा पत्रपत्रिका आयो भने मलाइ दिनु’ भनेका थिए । 

हृदयचन्द्र सिंह प्रधानको सम्बन्धी पर्ने डा. भवानीभक्त सिंहकहाँबाट जलकृष्णले बटुलेका सामग्री रेग्मीले उनको घर क्षेत्रपाटीमा गएर ल्याए । त्यहाँ उनले मोतिरामको डायरी फेला पारे । 

यही स्रोतको आधारमा उनले मोतिराम भट्टसम्बन्धी अझ खोजीविन र लेखनी गरे । मोतिरामबारे लेखिएका रचना माथि टिप्पणी गर्नसक्ने पकड राखे । १९९१ सालमा नेपाली साहित्य सम्मेलन पत्रिकामा धरणीधर कोइरालाले मोतिराम भट्टले इलाहवादबाट ‘इन्ट्रेन्स’ (आइए सरह) पास गरेको लेखेका थिए । अध्ययनको क्रममा शिव रेग्मीले मोतिरामले आइए पास नभएको थाहा पाए । यसबारे कमलमणिलाई सोध्न लगाए, मानेनन् । प्रकाश ए राजले ‘थाहा भएन’ भने । त्रिरत्न मानन्धरले इलाहवाद विश्वविद्यालय खुलेको मिति बताइदिए । उनले आपूmसँग भएको डायरीको आधारमा निष्कर्ष निकाले, ‘मोतिरामले इलाहवादबाट मिलिटरी तालिम लिएका मात्र रहेछन् ।’ मोतिराम भट्टको जीवनी मृगेन्द्र शमशेरको हुकुम बमोजिम सुनेको आधारमा नरेन्द्रराज पाण्डेले लेखेका थिए । मोतिरामबारे त रेग्मीले उनकै डायरी पढेकै आधारमा विभिन्न लेख लेख्न पाएका थिए । 

एउटा पुरानो कागजातको महत्व कति हुँदो रहेछ र त्यसले मै हुँ भन्नेलाई समेत थैथै पार्न सकिने उनले यति बेला बुझे ।

‘पुराना पुस्तक तथा पत्रपत्रिकाको संकलन भएमा त्यो लेखकको बलियो आधार हुने’ रेग्मी बताउँथे । कसैले गल्ती गरेको ठाउँमा सामग्री बनाउन सकिन्छ । उनले यस्ता धेरै पक्षहरू भेटाए । तरपनि चोरी र नाम उल्लेख नगरिदिने समस्याबाट भने आजित थिए । जस्तो सिद्धिचरणको पहिलो कविता ‘भुइँचालो’को प्रसङ्ग । त्रिभुवन विश्वविद्यालय नेपाली विभागका मास्टरहरूले केही नयाँ भेटे आपूmले भेटाएको भनि हतारिएर लेख्थे । तर त्यो उनीहरूले नभइ उनका विद्यार्थीले भेटाएका हुन्थे । शोधगर्न आउने विद्यार्थीलाई शिव रेग्मीले भेटाएर नयाँ नयाँ विषयवस्तु दिन्थे । यसरी दिएका चिज विद्यार्थीका शोध निर्देशकले आपूmले भेटाएको भन्थे । त्यो चाहिँ चित्तबुझ्ने कुरै भएन । शिव रेग्मीको सल्लाहमा सिद्धिचरणको ‘भुईँचालो’ कविता त्यसैगरी एक विद्यार्थीलाई दिए, एक मास्टरले आफूले भेटाएको लेखिदिए । उनी भन्थे, ‘पछि गोरखापत्रले समेत त्यो कविता छाप्दा कहाँबाट कसरी आयो भन्ने नखुलाई नै छाप्यो ।’

संकलनको कथा यत्तिकैमा सकिएको थिएन । 

उनले विभिन्न व्यक्तिबाट आप्mनो संकलन बलियो पारेका थिए । तीमध्ये अच्युतरमण अधिकारी पत्रिका संकलनका धुरन्धर थिए । रेग्मी भन्थे, ‘मेरो भन्दा ठूलो संकलन थियो उनको । उनले यति धेरै पत्रिका नदिएको भए म त्यति धनी हुने थिइन । पछि उनी घरै बेचेर अष्ट्रेलियातिर लागे ।’ त्यसपछि अधिकारीको संकलन तितरवितर भयो । ईश्वर बराल उदार थिए र विश्वास पनि गर्थे । बरालले रेग्मीलाई ‘फोटोकपि गर्नुस् ल्याउनुस्’ भनेर थुप्रै पत्रिका कपि गर्न दिएका थिए । बराल सम्पादक रहेका धरती, इन्द्रेणी आदि पत्रिका उनको संकलनबाट अध्ययनको लागि प्रयोग गरे । शारदाको सम्पादकीय बटुल्न उनले धेरै सहयोग पनि गरे । रेग्मीले भनेका थिए, ‘डेरामा बसेर पत्रिका संकलन गर्ने एक नामुद साहित्यकारकी पत्नीले हैरान भएर संकलित सबै पत्रिका मलाई बेचिदिएकी थिइन् ।’

यसरी २०१५ सालदेखि संकलनमा लागेका रेग्मी मैले भेट्दा बाहिरफेर उति घुम्न सक्दैनथे । ज्वालादेवीको शेषपछि उनको सहारा पत्रिका र पुस्तक प्रति नै थियो । सुन्य जीवन विताउँदा, कहिलेकाहीँ उनले फोन गरेर भेट्न बोलाउँथे । ८ फागुन उनकाे निधन भएछ । बेला बेलामा जाने कात्यानीको त्यो बाटो नि थुनिए झै‌ँ भयो ।

९ फागुन, २०७५