Friday, September 11, 2015

'आँटिला' महेश-पुस्तक समीक्षा

८ सेप्टेम्बर २०१५

पुस्तकको नाम : म महेश
प्रकाशन मिति : २०७२ साउन
प्रकाशक : गौँथली
पृष्ठ : ३०८
मूल्य : ६५० रुपैँया

पुस्तक किनेको दिन, "दाई तपाइले 'यस्ताको' किताब नि पढ्नुहुन्छ ?" एकजना भाईले मलाइ सोधे । त्यस्तै पुस्तक निस्केपछि एक साप्ताहिक पत्रिकाले 'झुटैझुटको पुलिन्दा' टाइपको शीर्षकमा समीक्षा छाप्यो । त्यो पनि एमाले निकट पत्रिकाले । कुनैदिन बाटोमा कसैले भन्यो, "महेशले त लेख्नै सक्दैनन्, दाम दिएर, लेखाए होलान् । एकपटक म महेशको पुस्तकांश कुनै एक अनलाईनमा देखेको थिएँ । त्यसले मलाई तान्यो अद्योपान्त पढेँ । यो किताब पढ्नुका दुइ कारण थिए । लेखकको जन्मथलो र हुर्काइ जान्ने उत्सुकता । आत्मकथामा रुचि हुनाले यो उत्सुकता ममा थियो । दोस्रो समकालिन नेपाली राजनीतिक समाजबारे जान्ने लहडले किताब किने र पढेँ ।

पुस्तकको तर्क
पुस्तकले उठाएको तर्क कति सत्य कति असत्य इतिहास वा अनुसन्धानले पुष्टि गर्दै जालान्, तर यो पुस्तकले 'माओवादी ज्याती'लाई रोकेर समाजलाई 'हिंशामुक्त' गर्न सहयोग गरेको तर्क गर्छ । 'युथ फोर्स'को गठन र त्यसले माओवादी विद्रोहबाट ओर्लिएका लडाकुलाई समावेश गरेर बनाइएको 'वाइसिएल' विरुद्ध लडेर उनीहरुको प्रभावलाई न्यून गरेको दावी गर्छ । लेखकले माओवादी वा वाइसिएल विरुद्ध डटेर लड्नु आफ्नो सफलता भएको बताएका छन् । नेपाली समाजमा "माओवादी प्रतिरोधी क्षमता कम" भएको बेला 'आँट' गरेकाले उनी एमालेजस्तो संगठन चुस्त भएको पार्टीमा फड्केर नेता बन्न सफल भएका हुन् । यसको लागि पुस्तकमा उदाहरण दिइएको छ, "रामहरि प्रकरण- वर्षौँदेखि (माओवादी विद्रोह अवधिभरको) डरलाई दवाएको मुख प्रस्फुरण हुने बेला थियो" (पे.७२) । पुस्तकले पार्टी बाहिरको संघर्षको आयाम मात्रै होइन भित्रको अन्तर्संघर्षबारे पनि बताउँछ । जस्तो "गोकर्णजी (विष्ट) र अजम्बरजी (राई) जी को चाहना थियो- युवा सङ्घ र युथ फोर्सलाई पार्टी नेता केपी कमरेडविरुद्ध चलाउनुपर्छ ।" (पृ. ९०) विराटनगरमा उनको संगठन र नेताविरुद्ध नागरिक दैनिकले उठाएको मुद्दाबाट सफाइ पाएपछि त्यसलाई उनले 'लिँडेढिपी' पत्रकारिता वा सम्पादकको 'वालउत्साह' भनेका छन् । त्यसैले यो आफ्ना विरोधीलाई लेखिएको प्रत्यूत्तर पत्र जस्तो पनि देखिन्छ ।

संरचना
११ ओटा खण्डमा विभाजित किताबको लेखन नकरात्मक बानीको सकरात्मक प्रस्तुतीबाट सुरु गरिएको छ । आफु 'सानैदेखि जिद्दी, घमण्डी र आँटेको काम फत्ते गर्ने स्वभावको', 'कोही कसैसित नडराउने' भन्ने जिकिर लेखकले पुस्तकैभर गरेका छन् । जसले जीवनमा आत्मबल दिएको तर्क पहिलो खण्डमा छ । उनले खलाँसी र छिमेकी गाउँ तुर्कगालका मान्छेलाई पिटेको कथा गर्वसाथ लेखेका छन् । आफ्नो बाबुलाई आदर्श मान्ने महेशले पुस्तकैभरी बाबुका 'डायलग'लाई हिन्दी फिल्ममा झैँ सम्झन्छन् । "बुवा कसैमाथि पनि तत्काल आइ नलाग्न भन्नुहुन्थ्यो । तर कुनै कारणबिना कोही जाइलागेमा त्यसलाई जसरी हुन्छ परास्त गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो ।" (पृ. १५)

तेइस वर्षमा गाविस अध्यक्ष हुनुमा आफ्नो सामाजिक काम र सिर्जनशीलतालाई महत्व दिएका छन् । उनी लेख्छन्, "खसी काटेको ठाउँ सरसफाइ गर्न होस् या कुनै भतेरमा पुलाउ बनाउन होस् सक्रिय भएर लागेको हुन्थे । त्यही भएर गाउँमा माया पाउन थालेको थिएँ ।" (पृ. ३२) समाजमा सकरात्मक तथा सृजनात्मक काम र आँटिलो व्यक्ति भएकाले गर्दा काँग्रेसको पकड भएको ठाउँमा उनले स्थानिय चुनाव जितेको पुस्तकबाट बुझिन्छ । जीवनीको पुस्तक भएकाले होला व्यक्तित्वले गर्दा चुनाव जितेको तथ्यले पुस्तकलाई थिचेको छ । त्यसो नहुन पनि सक्छ । किनभने २०५१ सालमा एमालेको ९ महिने सरकारको लोकप्रियता, काँग्रेसको लगातार स्थानीय सत्तामा पकडले पनि परिवर्तनको लहर आएको थियो । यी पक्ष पुस्तकमा छन् तर तिनको प्रधानता छैन ।

काठमाडौँ नजिकैको गाविसबाट सानै उमेरमा अध्यक्ष भैसकेको मान्छेको राजनीतिक भविष्य राम्रो हुनसक्थ्यो । तर उनले वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जानलाई पासपोर्ट बनाए । पुस्तकको 'पाइला पाइलामा पाठ' खण्डमा निष्कृय राजनीतिक जीवन र त्राण पाउन गरिएका प्रयासबारे उल्लेख छ । २०५४ सालमा चुनाव जितेपछिको समयमा गुन्डु गाविसमा सहकारी खोल्ने र त्यसले गाडि किनेर चलाउने काम असफल भएपछि अन्य व्यक्तिगत असफलताका कथाहरुलाई पनि जोडिएको छ । सूर्यविनायकमा रेष्टुरेन्ट खोलेको चलेन । धुम्बाराहीमा खोलेको डेरी पनि चलेन । त्यसपछि डेरी बेचेर कोरिया जान पासपोर्ट बनाएको ठिटोलाई एकजना दाईले रोके । उनले आफ्नो मिठाइपसलमा काम गर्दै राजनीतिलाई निरन्तरता दिन प्रेरित गरे । यसरी फिल्ममा झैँ बाटो मोडिएको कथा पुस्तकमा देखिन्छ । यो पुस्तक महेशले आफै लेखेका हैनन् । उनले आभार व्यक्त गर्दै लेखेका छन्, "मेरो मानसपटलमा विगत कुनै चलचित्रझैँ आउन थाल्यो । लेखन सुरु गरियो । अगुवाइ शिखरजी (घिमिरे) ले गर्नुभयो ।" (पृ. ३०७) तर शिखरजीले पुस्तकलाई फिल्मी शैली दिन खोज्नुभएको छ । माथिकै उदाहरण लिने हो भने पनि पासपोर्ट विदेश जानलाई बनाइन्छ । गइँदैन भने त्यहाँ कारण हुन्छन् । पुस्तकमा त्यस्ता कारण भेटिँदैन । पात्र फिल्ममा झैँ फनक्क फर्किन्छ । त्यसैले यो फिल्मको स्क्रिप्ट जस्तो पनि लाग्छ ।

विद्रोहबाट ओर्लेका माओवादी लडाकुसँगको घर्षणबाट एमालेमा युवावयमा नै उनको नेतृत्व स्थापित भएको छ । त्यसैले उनले 'अनि गठन भयो युथ फोर्स',  'तरवारको धारमा', 'स्ववियु निर्वाचनमा एकछत्र', 'फलाम काट्न फलाम''तुहिएको आमहड्ताल' शीर्षकमा लडाकुसँगको जुधाईको कथा उल्लेख गरेका छन् । पुस्तकले यो समयमा उनमा 'आँट'को पुनरोदय भएको देखाउँछ । झक्कु सुवेदीलाई हपारेको कुरा पुस्तकमा यसरी लेख्छन्, "चर्को स्वर बोलेर हामी चुप लाग्छौँ भन्ने सोचेको ? महेश बस्नेत हो म, महेश बस्नेत !" (पृ. ६५) राजेश हमालको फिल्मी डायलग झैँ । यो समयमा कोटेश्वरका रामहरी श्रेष्ठलाई माओवादी लडाकुले उनीहरुको क्याम्पभित्र लगेर हत्या गरेको विषयको आन्दोलनमा नेतृत्व गरेका थिए । युद्धताका एकथरी मानिसहरुलाई माओवादी विद्रोहले उकुसमुकुस बनाएको पृष्ठभूमि थियो । व्यापारी, सवारी व्यावसायी तथा शहरीयाहरु माओवादीसँग जुध्ने शक्तिको खोजीमा थिए । उदाहरणको लागि धादिङ्गका माइक्रो व्यावसायी युथ फोर्सका जिल्ला अध्यक्ष थिए (पृ. १८९) । 
यसरी देशभरीका मुलत: शहरी इलाका र ग्रामिण इलाकामा पनि रहेको असन्तुष्टिको पुँजीलाई एमालेले आफ्नो पोल्टामा पारेको थियो । काँग्रेसले त्यो आँट गर्न सकेको थिएन । एमालेबाटै त्यो नेतृत्व महेशबाट नभएको भए पनि अरु कसैले गर्थ्यो । यो विचमा उनले अप्रत्यक्ष रुपमा प्रहरी तथा सेना र प्रत्यक्ष रुपमा विभिन्न टोले गुण्डा र आपराधिक प्रकृतिका मान्छेसँग हिमचिम बनाउन 'बाध्यता' बन्यो । किनभने राजनीतिक रुपमा त्यतिबेला 'वाइसिएललाई साइजमा' ल्याउनु थियो । उदाहरणका लागि प्रहरीको इन्काउन्टरमा मारिएका डन "चरीलाई युथ फोर्समा ल्याउनु अनि बालाजु र नयाँबाजार क्षेत्रमा वाइसीएलविरुद्ध परिचालन गर्नु एउटा स्वार्थ थियो ।" (पृ. १७७) ठाउँठाउँमा सामाजिक मान्यता उलंघन गरेकोमा "ग्लानीवोध" गरेपनि एमालेमा 'डनवाद' भित्राउनु समयको आवश्यकता भएको अस्पष्ट तर्क पुस्तकैभर छ । जस्तो "माओवादीको आतंक काँग्रेसले सहँदै आएको बेला . . . सामाजिक मान्यता उलंघन गरेको थिएँ, कहिलेकाँही ग्लानी हुन्छ ।" (पृ ८२) तर "वाइसिएल विरुद्ध त्यस्तो हिम्मत कसै न कसैले कुनै न कुनै दिन गर्नुपर्थ्यो चरीले गोली हानेर गरिदियो बस । अर्कातिर हेर्नेहो भने चरीले गर्नै नहुने काम गरेको थियो ।" (पृ १८०) यो कुराको बचाउ गर्दै एमाले पंङ्तिबाट उनीहरुलाई 'सपार्न' 'मौका दिन' प्रयोग गरेको तर्क सुनिन्थ्यो र यो पुस्तकमा पनि छन् । माओवादीको 'ज्यादती' रोकेर समाजलाई 'हिंशामुक्त' समाज निर्माण गर्न सहयोग गरेको भन्ने पुस्तकको तर्क भएपनि समाजमा माओवादीप्रतिको असन्तुष्टीलाई एमालेले आफ्नो पोल्टामा ल्याएको पनि हो ।

वाइसिएल विरुद्ध लड्न एमाले पंक्तिले समाजको नकरात्मक पृष्ठभूमीका मानिसलाई ल्याएर एकातिर उनीहरुसँग लड्न त सजिलो बनायो । तर कतिपय यस्ता प्रवृत्ति भित्राउँदा रक्षात्मक पनि बनाउँदै लग्यो । यस्तो परिस्थितिमा मिडियासँगको जुहारी एक खण्डमा परेको छ । "'महेश बस्नेतलाई किन जेल नहाल्ने ?'" शीर्षकमा नागरिक दैनिकका तत्कालिन सम्पादक नारायण वाग्लेको लेखलाई नै एउटा खण्डको शीर्षक बनाइएको छ । त्यति बेला विराटनगरका पत्रकार खिलानाथ ढकाललाई युथफोर्सले पिटेको भन्दै नागरिक दैनिक यसको विरुद्धमा थियो । बस्नेतले पुस्तकमा "यो घटना कलम चलाउँदा घटेको नभइ रक्सी खाँदा घटेको"(पृ. २५७) भनेका छन् । उनले नागरिक दैनिकको पत्रकारितालाई "लिँडेढिपी"(पृ. २८१) र सम्पादक नारायण "वाग्लेको वालउत्साह" (पृ. २८२) भनेका छन् । बस्नेत लेख्छन्, "पछि मनोज र रोहितलाई अदालतले सफाइ दियो । बरु तिनै खिलानाथलाई अदालतले दोषी गर्दै सजाय सुनायो"(पृ. १८२)

एमालेमा संगठन सीप भएका मान्छेहरुको बहुलता छ । तर महेश बस्नेत त्यस्तो चुस्त पार्टीमा फड्को मार्दै हिँड्न सकेका युवा हुन् । यस्तो कमै हुन्छ । पार्टीबाहिर उनी जति बलियो भएर देखिए । पार्टीभित्र उनलाई त्यति सजिलो थिएन । त्यसैले पुस्तकको एउटा खण्ड 'बनको बाघ, घरको स्याल' भनेर रचना गरिएको छ । यही सन्दर्भमा युथ फोर्सको कारण पार्टीलाई हानी भएको भन्दै विघटन गरियो । बस्नेतले लेख्छन्, "यस्तो भोगाइका कारण सुरुसुरुमा मेरो मन नरोएको वैठकै हुँदैनथ्यो ।" (पृ. २०६) जसमा उनले पार्टीभित्रका असहजतालाई पोखेका छन् । यस्तो अवस्थामा नेतृत्वमा रहेको कसैले बस्नेतलाई काखी नच्यापेको भए उनलाई स्थापित हुन गार्हो हुने थियो । एमाले नेता केपी ओलीले उनको संरक्षण दिइरहे । दोस्रो संविधानसभाको चुनाव र पार्टीको महाधिवेशनमा केन्द्रिय सदस्यमा हारेका उनलाई केपीले भनेका थिए "म बीचैमा छोड्दिनँ, महेश ! पीर गर्नुपर्दैन ।" (पृ. ३०३) त्यसको लगत्तै उनी उद्योग मन्त्री भए ।

अन्तमा
मैले यो पुस्तकका ह्रस्वदीर्घ हेरिन । त्यस्ता गल्ती यहाँ छन् । समयलाई ध्यान दिएर पुस्तकको संरचना बनाउँदा विषय दोहोरिन सक्ने संभावनालाई सम्पादकले ध्यान दिएको देखिँदैन । ३०८ पेजको पुस्तक २५० पृष्ठमा झार्न सकिन्थ्यो । अर्कोतिर आममानिसमा उनीबारेको धारणालाई चिर्न पुस्तकले प्रयास गरेको छ । तर अष्पष्ट छ । आफ्नै पार्टीभित्रका व्यक्तिप्रति गरिएको आलोचनाले पुस्तक विवाद कायमै राखेको छ । अन्तमा के भन्न सकिन्छ भने, माओवादी विद्रोहले एक खालको नेतृत्व जन्मायो र त्यो विद्रोहबाट उब्जिएको असन्तुष्टिले अर्को नेतृत्व जन्मायो । यो पुस्तक त्यही कुराको उदाहरण हो । त्यसकारण पुस्तकै भरी चर्चा गरेजस्तो महेश बस्नेतको व्यक्तिगत आँटले मात्र उनी उद्योग मन्त्रीसम्म बन्न पुगेका हैनन् । न पुस्तक भरी चर्चा गरेजस्तो उनका बाबुले दिएका अर्तीले गर्दा उनी यहाँसम्म पुगेका हुन् । बेलाबेलामा आँट दिन बाबुका उपदेशले मद्दत गरेपनि महेश बस्नेत स्थापित गर्न ऐतिहासिक कारण महत्वपूर्ण थियो । महेश बस्नेत नहोमिएका भए पनि अर्को हरि बस्नेत पक्कै यो ठाउँमा आउँथ्यो । यस्तो खालको नेतृत्व जन्मेको कुरा पुस्तकका पात्रले नभने पनि प्रस्तुतीले भनेको छ ।
panthijee@gmail.com



Tuesday, September 8, 2015

Publications List - Arjun Panthi

Following publication list also available here


Books Authored, Co-authored and Co-edited
Humagain, Devraj, Pratyoush Onta, Shekhar Parajuli, Harsha Man Maharjan and Arjun Panthi, (eds.). 2015. Media Adhyayan (Media Journal in Nepali Language). Kathmandu : Martin Chautari. (Forth Coming)
Humagain, Devraj, Pratyoush Onta, Shekhar Parajuli, Harsha Man Maharjan and Arjun Panthi, (eds.). 2014. Media Adhyayan (Media Journal in Nepali Language). Kathmandu : Martin Chautari.
Panthi, Arjun, Pratyoush Onta and Harsha Man Maharjan, (eds). 2013. Nepali Magazineka 25 Barsha (2046-2070). Kathmandu : Martin Chautari.
Humagain, Devraj, Pratyoush Onta, Shekhar Parajuli, Harsha Man Maharjan and Arjun Panthi, (eds.). 2013. Media Adhyayan (Media Journal in Nepali Language). Kathmandu : Martin Chautari.
Humagain, Devraj, Pratyoush Onta,  Arjun Panthi, Shekhar Parajuli and  Harsha Man Maharjan (eds.). 2012. Media Adhyayan (Media Journal in Nepali Language). Kathmandu : Martin Chautari.
Humagain, Devraj, Shekhar Parajuli, Harsha Man Maharjan and Arjun Panthi. 2010. Media Talim : Nepali Abhyasko Lekhajokha (In Nepali). Kathmandu: Martin Chautari.
Panthi, Arjun. 2060. Lokunti (A poem Collection). Self : Kathmandu.

Journal Article
Panthi, Arjun and Devraj Humagain. 2071. 'Best Seller' Banaune Hod : Pustakko Bazaar Prabardhanma Midiako Upyog. Media Adhyayan 9 : 117-142.
Panthi, Arjun. 2070. Bi.Sa. 2046 Pachhika Nepali Magazine. In Nepali Magazineka 25 Barsha(Bi.Sa. 2046-2054), Arjun Panthi, Pratyoush Onta and Harsha Man Maharjan eds, pp 1-26. Kathmandu : Martin Chautari.
Panthi, Arjun. 2070. Saptahik Janamanch : Rajnitik Prabhav ra Byabasayik Patrakaritako Abhyas (Bi.Sa. 2047-2054). In Nepali Magazineka 25 Barsha(Bi.Sa. 2046-2054), Arjun Panthi, Pratyoush Onta and Harsha Man Maharjan eds, pp 27-55. Kathmandu : Martin Chautari.
Panthi, Arjun. 2070. 'Madhyamarg'Ko Badalindo Roop : Himal KhabarpatrikaKo Rajnitik Pakshyadharata. In Nepali Magazineka 25 Barsha(Bi.Sa. 2046-2054), Arjun Panthi, Pratyoush Onta and Harsha Man Maharjan eds, pp 57-84. Kathmandu : Martin Chautari.
Panthi, Arjun. 2070. 'Madhyamarg'Ko Badalindo Roop : Himal KhabarpatrikaKo Rajnitik Pakshyadharata. In Nepali Magazineka 25 Barsha(Bi.Sa. 2046-2054), Arjun Panthi, Pratyoush Onta and Harsha Man Maharjan eds, pp 57-84. Kathmandu : Martin Chautari.
Harsha Man Maharjan and Panthi, Arjun. 2070. 'Maobadi Magazine' : Bazaar ra PartySanga Jeliyeko Sambandha (Bi.Sa. 2052-2068). In Nepali Magazineka 25 Barsha(Bi.Sa. 2046-2070), Arjun Panthi, Pratyoush Onta and Harsha Man Maharjan eds, pp 121-155. Kathmandu : Martin Chautari.
Panthi, Arjun. 2067. Radioma Pustak : Nirantaratako Khojima. Media Adhyayan 5 : 221-239.
Panthi, Arjun. 2066. Media Sarvekshyan : Ek Sinhabalokan. Media Adhyayan 4 : 239-256.

News Paper Article
Panthi, Arjun, Pratyoush Onta and Harsha Man Maharjan. 2070. Nepali Magazine Ka 25 Barsha. Kantipur,
Panthi, Arjun. 2069. Bibek Gumepachhi. Annapurna Post, 31 Chaitra.
Panthi, Arjun. 2068. Dalit Rajya : Kaha Chha ? Annapurna Post, 1 Phagun.
Panthi, Arjun. 2068. Kamjor Hundaichha Jatiya Rajyako Prashna. Annapurna Post, 23 Magh.
Panthi, Arjun. 2067. Kasle Garne Rajniti. Annapurna Post, 10 Phagun.
Panthi, Arjun. 2067. Kangress Ra Kamyunistka Patrika. Annapurna Post, 1 Phagun.
Panthi, Arjun. 2067. Mahila Magazineko Prakashan Abastha. Annapurna Post, 13 Magh.
Panthi, Arjun. 2067. Samarpit Patrakarko Har. Annapurna Post, 21 Baishakh.
Panthi, Arjun. 2067. Jana-Andolan Diary. Annapurna Post, 10 Baishakh.
Panthi, Arjun. 2062. TriBi Pustakalaya Ra Upalabdha Subidha. Annapurna Post,
Panthi, Arjun. 2062. "Raja Man Pardaina, Rajtantra Chahinchha." (Field Dairy)  Himal 15 (24) : 41-44.
Panthi, Arjun. 2061. Hiku : Suruma Bhujhnai Garho, Bujhe Pachhi Chhodnai Garho.Chhalphal Weekly. 23 Phagun.(Reporting)
Panthi, Arjun. 2061. Pustakalaya Prati Pathakharuko Badhdo Aakarshan. Chhalphal Weekly. 16 Phagun.
Panthi, Arjun. 2061. Dine Hoina Man Parekalaai Gulab Ko Phul ? Chhalphal Weekly. 2 Phagun(Reporting).
Panthi, Arjun. 2061. Bahira Bata Kathmandu Aai Padhneharu. Chhalphal Weekly. 2 Phagun (Reporting).
Panthi, Arjun. 2061.Samasya Samadhanma Anusandhan.  Annapurna Post, 29 Magh.

Paper presentation
2015                Presenting paper on Glocal contex of Tangting village of Kaski district at Media Research Conference 2015 by Martin Chautari and Kathmandu University on 19 April.
2013                Presenting paper on changing middle path of Himal Magazine at Media Research Conference 2013 by Martin Chautari and Kathmandu University on 2 April.
2010                Presenting paper on book discussion in Radio at Media Research Conference 2010 organized by Martin Chautari on 26 March.




Monday, August 31, 2015

'विश्व-स्थानिय गाउँ' : हिमाली क्षेत्र ताङ्गतिङ्गमा इन्टरनेटले ल्याएको सामाजिक परिवर्तन

छैटौँ मिडिया अनुसन्धान सम्मेलनमा गरिएकाे पावर प्वाइन्ट प्रस्तुतिको लि‌ंक :
https://drive.google.com/file/d/0B6IkV-G3C0kac3RnYW95R2VDdjg/view?usp=sharing_eid

Friday, July 3, 2015

कलेजको शिक्षक हुँदाताका





    २०६५ साल माघ महिनाको एक दिन कीर्तिपुरको डेरामा बसेर एउटा एसएमएस लेखेँ । ‘सर आइ ह्याभ सिक्स्टी एट पर्सेन्ट इन सोसियोलोजी, प्लिज पोर्भाइड मि एन अपरचुनिटी इन योर कलेज’ । केही समय पछि, उताबाट टिङटिङ टिङटिङ गर्दै एउटा एसएमएस आयो । ‘ओके, ड्रप योर बायोडाटा’ । मन वायुपंखी भयो । जुरुक्क उठेर वायोडाटा राख्न गएँ । वायोडाटा राखेको दुई दिन पछि उताबाट फोन आयो । तपाइँ मेरो स्कूलमा पढाउन आउनुस । अलि कस्तो कस्तो लाग्यो । आफूलाई कलेजमा पढाउन रहर थियो, स्कूलमा पढाउने मनै थिएन । तर, उनले भनेका थिए, स्कूलमा पढाउँदै गर्नुस् म पछि तपाइँलाई कलेजको लागि सिफारिस गर्छु । काम न काज ढाक्नुप¥यो लाज, के गर्ने, उनको स्कूलमा लुरुलुरु गएँ । गेटमा जाँदा जाँदै पालेले म आएको रिपोर्ट पु¥याए । त्यत्तिकैमा एकजना महिला एकदमै कन्फिडेन्स हुँदै मतिर आइन । ‘मिस्टर पन्थी’ अंग्रेजीमा उनले भनिन् । ऊँ (यस) भने । मुन्टो मात्र हल्लाएँ । अर्को एक शिक्षक नाम काढ्दै भनिन्– “उहाँलाई माथि लैजानुस् ।” मानौ त्यो न्यायधिसको आदेश थियो । मेरो कन्फिडेन्सको पारो घट्यो । मलाई कक्षामा उभ्याइयो । कक्षा टेस्टमा मैले संघीयताको परिभाषा भन्नुपर्ने भयो । मेरो विचारको कुरै नगरि किताबमा जे छ खरर पढ्दै गएँ । उनै हेडमिसले परिक्षा लिँदै थिइन् । मेरो अंग्रेजी र कन्फिडेन्स दुवै खराब थिए । कक्षा सिद्धीसकेपछि, हेडमिसले आफ्नो श्रीमान प्रिन्सिपललाई कमेन्ट गरिन् । ‘राम्रो छैन’ । जस्तो चाहेको थिएँ, त्यस्तै भयो । तर श्रीमान् प्रिन्सिपलले हेडमिसको कुरालाई मानेनन् । उनले भने “तपाइँसँग कन्टेन्ट छ, मेथड छैन, त्यसैले एकहप्ता मेहनत गर्नुस, त्यसपछि हेरौला ।” एक त पढाउन मन लागेको छैन, त्यसैमा पनि एकहप्ता परिक्षण ! झोंक चल्यो । मैले डेरामा फर्केपछि प्रिन्सिपललाई एसएमएस गरेँ– “सरी सर, आइ एम नट इन्ट्रेस्टेड टु टिच इन योर स्कूल”, उताबाट उत्तर आयो– ‘ओके’ । स्कूल नपढाउने भएपछि मैले काठमाडौका विभिन्न कलेजमा बायोडाटा राख्दै गएँ । कुनै न कुनै दिन अप्ठ्यारो परेको बेला बोलाउलान्, भन्ने मेरो अनुमान थियो । किनभने प्राइभेट कलेजमा शिक्षकहरूको मोविलिटी भइरहन्छ । कहिले यता कहिले उता गरिरहन्छन् । एनआइसी कलेज, जेभिएर इन्टरनेशनल, रत्नराज्य क्याम्पस, ट्रिनीटी, ट्रिटोन, जनमैत्री क्याम्पस आदि आदि ।
    ठीक एक वर्ष पुगेपछि २०६६ माघ महिनाको कुनै एकदिन फोन आयो । “सर तपाइँले एकवर्ष अघि हाम्रो कलेजमा बायोडाटा छोड्नु भएको रहेछ । हामीलाई सोसियोलोजी पढाउने शिक्षक चाहिएको थियो । तपाइँ आउनुप¥यो । तपाइँको बायोडाटा हेरेपछि हामीलाई आवश्यक मान्छे हो भन्ने लाग्या छ” फोन गर्ने मान्छेले भने । एकै सासमा हुन्छ सर भने, किनभने कलेज पढाउने रहर थियो, हुन्न भन्ने त कुरै भएन । जे होस एक वर्ष अगाडि जुन अनुमानले वायोडाटा छोड्दै हिडेको थिएँ । सफल पनि भएँ, भन्ने लाग्यो । पछि थाहा पाएँ, पैसा समयमा नदिएको झोंकमा मेरै एकजना साथीले कलेज पढाउन छोडेको रहेछन् । पहिलो भेटमै, कोअर्डिनेटरसँग पैसाको कुरा गरेँ । उनले भने– “पैसा समयमा नदिएपनि, हामी कसैको पैसा खाएका छैनौ” । साथीलाई सोधेँ, उसले भन्यो – “त्यो त सही हो, समयमा नदिएपनि दिन त दिन्छ” । त्यही भएर म पैसाको बारेमा त्यति विधि चिन्ता लिइनँ । मुल कुरो पैसा नदिएपनि केही समय कलेज पढाउने रहर त थियो नै ।
    कलेज पढाउने रहर हुनुका केही कारणहरू छन् । पहिलो कारण त मेरो समाजका मान्छेहरू मास्टरी पेशामा लागेकाले हो । गाउँमा पुग्ने वित्तिकै भनिन्छ, ‘सक्छौ भने सरकारी(निजामती) जागिर खाउ, सक्दैनौ भने शिक्षक बन, एनजीओमा जागिर नखाऊ’ । खास कुरा के हो भने एनजिओ आइएनजिओमा जागिर खाँदा प्रोजेक्ट सिद्धिएपछि पढेको मान्छे पनि अलपत्र पर्छ । त्यसैले निजामति र शिक्षक बाहेककालाई समाजले दीर्घकालको जागिर मान्दैन । त्यसैले मैले एनजिओमा जागिर खान्छु, राम्रो कमाउँछु भन्दा पनि, आफन्तहरूले कलेजमा कहिले देखि पढाउने ? भनेर प्रश्न गरिरहन्छन् । पढाउने काममा प्रेरित गरिरहन्छन् । दोस्रो कुरा, कलेज पढाउने रहर हुनुको व्यक्तिगत कारण पनि छ । पहिलो विषयवस्तु (कन्टेन्ट) को कुरा हो । पढाउँदा आफूलाई कतिपय विषयमा अद्यावधिक भएको ठान्छु । पढाउँदा पढ्नै पर्छ, त्यसैले अद्यावधिक भइन्छ । दोस्रो कलेज पढाउँदा विहानको केही समय कलेजतिर व्यतित गरेर, दिउँसो स्वतन्त्रपूर्वक काम गर्न सकिन्छ । स्कूलमा त्यस्तो हुँदैन । यी कारणहरूले मलाई कलेजको शिक्षक बन्न आकर्षण गरेको हो । यस्तो खालको स्वतन्त्रता अरू पेशाहरूमा मैले पाउँदिन । त्यसैले मलाइ यो आकर्षणको पेशा बनेको हो । र पढाउन थाले ।
    पढाउने क्रममा सबैभन्दा आश्चर्य त मैले पढाउने कलेजको कक्षामा २÷३ जना विद्यार्थी देखेर भएको थियो । किनभने आफूले पढ्दा सरकारी कलेजमा सयौँ विद्यार्थीहरूसँग बसेर पढेको बानी थियो । मैले पढाउँने कलेजमा विए तेस्रो वर्षमा ३ जना विद्यार्थी नियमित थिए । दोस्रो वर्षमा ५ जना । किन कलेजले यति थोरै विद्यार्थीलाई पढाउन खोजेको होला । मलाई जिज्ञासा लागिरहन्थ्यो । मैले आफ्ना केही शिक्षक साथीहरूसँग कुरा गर्दा, उनीहरूले भन्थे, “खास कलेजको व्यापार प्लस टु बाट हुन्छ । प्लस टु मा विद्यार्थी आकर्षण गर्न स्नातक तह राखेको हो । प्लस टु पढेपछि कहाँ, के पढ्ने, केही विद्यार्थीको मनोविज्ञानको लागि स्नातक तह राखेको हो ।” धेरै विद्यार्थी साइन्स र कमर्स पढ्छन् । ती मध्ये केही त्यो विषय छोडेर मानविकी पढ्न चाहन्छन् । त्यस्तो विद्यार्थीलाई लक्षित गरेर प्राइभेट कलेजमा मानविकी संकाय राखेको हो । तै पनि मानविकी संकाय कहिले हटाउँछ । कहिले राख्छ । बसुन्धराको एक कलेजमा एमए समाजशास्त्र पढाउने मेरो एक साथीले भने, “कलेजले एमए तहको प्रोग्राम पनि राखेका छौ भन्नलाई मात्र, त्यहाँ समाजशास्त्रको एमए राखिएको हो । किनभने कलेजलाई विए, विविएस राम्रो चलाउन छ । मुस्किलले १५ जना विद्यार्थीले एमए पढ्छन् भने त्यहाँबाट कलेजलाई फाइदा हुने कुरै भएन ।” त्यसैले एमए तहका शिक्षकलाई पनि तलव समयमा दिँदैनन केही कलेजहरुले । लगानीकर्ताले सिधै भन्ने गर्छन, “तलव दिने क्रममा स्नातक पढाउने शिक्षक हाम्रो पहिलो प्राथमिकतामा पर्दैनन्”, यो मेरो आफ्नो अनुभव पनि हो ।
    पढाउने कुरा एक दिनको, एक च्याप्टरको पनि होइन । हरेक दिन हरेक च्याप्टर पढाउँदै जाँदा चुनौती पनि आउँछन् । आफूलाई रूचि लागेका विषय पढाउन, पाठ्यक्रममा भनिए जसरी लेखेका टेक्स्ट पढाउन जति मज्जा लाग्थ्यो । रूचि नलागेका खासगरि पाठ्यक्रमले राम्ररी निर्देशन गर्न नसकेका पाठ पढाउँदा त्यो भन्दा कैयौँ गुना खल्लो पनि हुन्थ्यो । नजानेको र नभेटिएको, पाठ्यक्रमले निर्देश गर्न नसकेको  कुरा पढाउँदा कि थोरै हुन्थ्यो । कि वाक्क लाग्ने गरि धेरै लामो हुन्थ्यो । कहिलेकाहीँ पाठ्यवस्तु पनि चाहे जस्तो नहुने, आफूले बुझेको भएपनि पढाउने मेथडले पनि सबै गोलमाल ल्याउँथ्यो । सबै राम्रा अनुभव त्यहि नराम्रो कुराले सखाप पारेको अनुभव पनि मसँग भयो ।
    एकदिन ‘फेमिनिस्ट थ्योरी’ पढाउनुपर्ने थियो । म सिधै पृष्ठभूमि तिर गएँ । पढाउँदै जाँदा समाजमा महिलाहरूको कमजोर स्थिति बारे पढाउन थालेँ । कसरी महिला समाजमा कमजोर स्थितिमा रहेका हुन्छन् । के कारणले यो अवस्था आउँछ भन्ने कुरा पढाउन थाले । “फेमिनिस्ट थ्योरी बुझ्न सबभन्दा पहिला महिलाहरू कसरी समाजमा कमजोर स्थानमा रहेका हुन्छन् भन्ने कुरा बुझ्नुपर्छ । महिलालाई कमजोर सामाजिक स्थितिमा राख्न, सामाजिक ऐतिहासिक पृष्ठभुमी तथा सामाजिक सँस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ । जस्तो परिवार एउटा सामाजिक सँस्था हो । जहाँ निर्णय गर्ने अधिकार पुरुषले राख्छन् । छोरी भएर लाज मान्नुपर्छ, धेरैबोल्नु हुँदैन भन्ने कुरा परिवारबाटै छोरीहरूलाई सिकाइएको हुन्छ । धार्मिक संस्थाहरूमा पनि ग्रन्थले पनि महिलालाई के गर्नुपर्छ के गर्नुहुँदैन भनेर निर्देश गरिरहेको हुन्छ । यसरी परिवार, धर्म जस्ता सामाजिक सँस्थाले महिलालाई समाजमा कमजोर बनाइराख्न मद्दत गरिरहेका हुन्छन् । आदि आदि” भने । यसरी पढाउँदै जाँदा आफूलाई राम्रो पढाइरहेको जस्तो अनुभुत हुन्थ्यो । विद्यार्थीले मलाई झण्डै ३५ मिनेट पढाएपछि सोधे, “यो फेमिनिस्ट थ्योरी भनेको के हो ? तपाइँले किन यो पढाइरहनुभएको छैन सर” ? यो कुरा सोधेपछि आफूलाई पनि सो कुराको अनुभूत भयो । विद्यार्थीहरूसँग जति चाखलाग्दा कुरा गरेपनि पाठ्यक्रमलाई हेर्दा रहेछन् । सामान्य कुरालाई पनि मैले पढाउँदा वेवास्ता गरिरहेको रहेछु, जसले शिक्षण गर्ने कुरामा नै असर गर्ने रहेछ । मैले पढाउने क्रममा पाठ्यक्रममा लेखेको फेमिनिस्ट थ्योरी भनेको के हो भन्ने कुरा नै नभनेपछि, आफू सन्तुष्ट हुनेगरी पढाउँदा पनि प्रभावकारिता नहुने रहेछ । शिक्षकले आत्मतुस्टी हुनेगरि पढाएर मात्र हुँदैन । पढाउने कुरा शिक्षकको व्यक्तिगत चलाखी पनि हो । कहाँबाट कसरी पढाउन सुरु गर्ने भन्ने कुरा ।
    समाजशास्त्रका गुरु चैतन्य मिश्रलाई पढाउने क्रममा विद्यार्थीले कुनै प्रश्न सोध्यो भने त्यसको उत्तर विद्यार्थीबाटै माग्थे । “के हुनसक्छ होला ।” सोधिएको विद्यार्थीले उत्तर दिन सकेन भने अर्कोलाई सोध्थे । कसैले दिन सकेन भने सबै मध्ये कोहीलाई आग्रह गर्थे । ‘यहाँ यस्तो प्रश्न आयो यसको उत्तर के हुन सक्छ होला ।’ मेरो विचारमा मिश्रको आसय सोधिएको प्रश्नबारेमा विद्यार्थीको बुझाइलाई मुल्याँकन गर्दै त्यसको उत्तर दिने हुन्थ्यो । एकदिन मलाई पनि विद्यार्थीले प्रश्न सोध्दा मैले पनि के हुनसक्छ त्यसको उत्तर ? भनि एकजना विद्यार्थीलाई नै मिश्रकै शैलीमा प्रतिप्रश्न गरेँ । ती विद्यार्थीले मलाई ठाडो उत्तर दिइन । “जान्या भए प्रश्न सोद्थेँ र ?” मैले फेरि आग्रह गरेँ– “सोच न ।” उनी फेरि रिसाइन– “त्यसो भए शिक्षकको काम के ?” मैले उनको प्रत्युत्तरमा– “शिक्षकले विद्यार्थीलाई एकोहोरो पढाउने मात्र होइन । सोच्ने अभ्यास पनि गराउने हो भने ।” उनले फेरि जवाफ फर्काइन्– “सोँच्न सक्ने भए घरैबसेर सोच्थे, यहाँ आउनुपथ्र्यो र ?” उनी सवाल जवाफमा उत्रिन् । कक्षा गरमागरम भएकाले मैले कक्षा छाडेँ । कोअर्डिनेटरलाई विद्यार्थीले के भने मलाई थाहा भएन । तर मैले “विद्यार्थीहरुसँग विवाद भयो पढाउँदिन सर” भने । मैले पनि त्यसपछि उनीहरूलाई नपढाउने नै निर्णय गरेँ । बरु उनीहरूलाई अर्को शिक्षक खोज्न सहयोग गर्छु भने । यो म भर्खर पढाउन सुरु गर्दाको अनुभव थियो । विद्यार्थीहरुसँग राम्रो सम्बन्ध विकास गर्न नसक्दा यो समस्या आएको थियो । किनभने त्यसभन्दा अघि पनि मैले विद्यार्थीहरुले सोधेको प्रश्नमा राम्रोसँग उत्तर दिन सकेको हुन्नथेँ । कतिबेला मलाई पढाउने विषयवस्तुले अप्ठ्यारोमा पाथ्र्यो । धेरैजसो त पाठ्यक्रमले नै विद्यार्थी र शिक्षक विचमा तनाव उत्पन्न गराउँथ्यो ।
    पढाउन भर्खर सुरु गरेकाले मलाई यो घटनाले स्तब्ध पा¥यो । आफुलाई नै म राम्रो शिक्षक रहेनछु भन्ने भयो । मैले कलेजको भएको घटना त्यहाँ पढाएको पूरानो साथीलाई सुनाएँ । साथीले भन्यो । “यार, आफ्नो प्रेस्टिज घटाएर पढाउनु हुँदैन छोड्दे । ती विद्यार्थीहरु आफूलाई स्मार्ट ठान्छन् ।” म उनीहरुलाई पढाउन छोडिदिएँ । त्यहि विचमा आफूलाई आत्ममुल्यांकन गर्न थाले । के कमी भएर मैले उनीहरूको चित्त बुझाउन सकिन ? साथीहरूलाई रहस्य सोध्दा ‘गफ’ दिन सक्नुपर्छ भन्थे । यो गफ के हो ? बुझ्नै सकिएन । अव मैले आत्म मुल्याँकन गर्नै पर्ने भयो । मलाई लाग्यो, पढाउने कुरा एकदिनको प्रस्तुती जस्तो सजिलो होइन । बारम्बारको प्रस्तुतीमा एकपटक चिप्लने कुरा धेरै भेटिन्छन् । नीजि कलेजमा पढाउँदा राम्रो अंग्रेजी पनि चाहिन्छ । जस्ले विषयवस्तुमाथिको पकड हुन्छ । राम्रो कन्फिडेन्स बढ्छ । हुन त त्यो अन्य ठाउँमा लागु हुन्छ । तर नीजि कलेजमा पढ्न आउने विद्यार्थीको लेख्ने पढ्ने माध्यम अंग्रेजी र पढाउने शिक्षकको माध्यम पहिले लेखेपढेको माध्यम नेपाली हुने हुँदा, यस किसिमको भाषिक कारणले पनि तनाव उत्पन्न हुने मेरो अनुभव छ । त्यसकारण अंग्रेजी राम्रो बनाउनु पनि शिक्षकको दायित्व हो । सामाजिक विज्ञानका विषय वा इकाइहरु पढाउँदा लेखाउने कोशिस पनि ‘झुर’ मेथड हो, भन्ने मलाई लाग्छ । हामीले उनीहरुलाई लेखाउने हो कि सोँच्न र पढ्न सिकाउने । हामीकहाँ उच्च शिक्षा पढ्ने केही विद्यार्थीहरूले लेखाउन लगाउँछन् । खासगरी समाजविज्ञानका विषयहरूमा लेखाउने भन्दा पनि सोंच्ने कुरा महत्वपूर्ण हुन्छ । स्कूल शिक्षामा लेखेर घोकेर आएका विद्यार्थीहरूले त्यो दवाव दिन्छन् । कलेज पढाउने क्रममा मैले त्यो गरेँ । लेखाउँदा लेखाउँदा म फसेँ । धेरै लामो लामो लेखाएँ । ‘नेपाली जाती व्यवस्था’बारे लेखाएर सकिन्छ त ? ‘नेपाली नेसन स्टेटको इभोलुसन’को कुरा लेखाएर सकिन्छ त ? यसो ग¥यो भने यो त धेरै लामो यात्रा हुँदोरहेछ । मैले विद्यार्थीको अनुरोधमा त्यो प्रयास गरेँ । अन्ततः यस्तो कार्यकलापले समग्र पढाइ नै मोनोटोनस बन्दो रहेछ ।   
     शिक्षक विद्यार्थी टेन्सनको प्राविधिक पक्ष पनि छ । नीजि कलेजमा विद्यार्थीहरूमा शिक्षक हामीले फेर्न सकिन्छ भन्ने सोँच र क्षमता राख्छन् । उनीहरूले तिरेको महँगो फि, यसको कारण हो । खासगरी नयाँ शिक्षकलाई त त्यो समस्या छ । म पढाउने कलेजमा पनि अरु दुइजना नयाँ शिक्षकलाई विद्यार्थीहरूले लगातार कपडा फेरे झैं फेरे । मैले केही विद्यार्थीहरूलाई सोधेको थिएँ । उनीहरूले भन्थे, ‘नयाँ सरको पढाउने विधिमा समस्या हुन्छ । राम्ररी पढाउन जान्दैनन्’ आदि । तर उसलाई फेरेर ल्याउने अर्को सर पनि त नयाँ हुन्छ । त्यो कुरा विद्यार्थीलाई थाहा हुँदैन । त्यसैले लगालग शिक्षक फेर्ने कुरा परम्परा जस्तै हो नीजि स्कूल कलेजमा । राम्रो शिक्षकलाई हायर गर्न कलेजले समयमा तलव दिँदैन र त्यसैले त्यस्ता शिक्षकको लागि कलेज आकर्षणको विषय हुँदैन ।
    अहिले कलेज पढाउन थालेको २ वर्ष भएछ । यसो फर्केर हेरेँ । कलेजमा अन्तिम पटक तलव नपाएको २०६८ बैशाखमा ८ महिना पुगेछ । दश आठा अस्सी – अर्थात दुई पिरियडको पाँच हजारका दरले अस्सीहजार लिन बाँकीरहेछ ।  कोअर्डिनेटरसँग गएँ । सर अव त तलव दिनुप¥यो । उनले भने– “म पनि त तपाइँ जस्तै हुँ सर” । डेरा तिर फर्के पछि त्यहि कलेजमा पढाएर छोडेको मेरो साथीले सोध्यो– “कलेजले पैसा दियो ?” उसँग के ढाँट्ने, दिएको छैन भने । उसले सोध्यो– “कति बाँकी छ त” ? मैले भने– “८० हजार” । उ हाँस्यो र भन्यो– “छोड्दे यार, कति गर्छस् ।” 

३८ वर्षपछि तारिणीको खोजी



                                                                                                                                                                                 

मलाई जीवनी पढ्न मनपर्छ । त्यसैले सूर्यप्रसाद उपाध्यायको किताव बोकेको थिएँ । पुस्तक पसलमा तारिणीप्रसाद कोइरालाको किताव पनि आएको रहेछ । त्यो पनि किनेँ । कुन पहिला पढुँ ? कौतुहुलता थियो । तारिणीप्रसाद कोइरालाको बारेमा लेखिएको किताब नै छानेँ । किनकी उनी रेडियो नेपालका पहिलो डाइरेक्टर थिए । मैले उनको नाउँ पहिला सुनेको थिएँ । ‘रेडियो नेपालको सामाजिक इतिहास’ (२०६१) भन्ने पुस्तकमा । किताब पढ्दा पढ्दै राती अबेर भैसकेको थियो । आफ्नु मान्छेको फोन आयो । के गर्दैहुनुहुन्छ ? उनले सोधिन् ? मैले भने तारिणीप्रसाद कोइरालाको स्मृति ग्रन्थ पढ्दै छु । उनले उत्तर दिइन, को तारिणी ? मैले भने बीपीको भाई । उनले भनिन्, बीपीको भाई त गिरिजाप्रसाद पो हुन त ? मैले उनलाई फेरि सोधेँ, रेडियो नेपाल जन्माउने मान्छे को हो ? ‘ए उनी तारिणी, ती बीपीका भाई हुन् ?’ उनको आश्चर्यमिश्रित भावलाई, मैले अँ भने ।

मलाई लाग्यो धेरैलाई थाहा छैन होला, तारिणी बीपीका भाइ हुन् भन्ने । धेरैलाई थाहा छैन होला, बीपीकी आमा दिव्या पट्टि (अर्की आमापट्टिका मातृकाबाहेक) चार भाई छन् भन्ने पनि । बीपी, केशवप्रसाद (कोशु), तारिणीप्रसाद र गिरिजाप्रसादबारे । यो स्मृति ग्रन्थले तारिणीबारे बताउँछ । कोइराला परिवारबारे बताउँछ ।  बीपी कोइरालाको राजनीतिक र साहित्यिक तथा गिरिजाप्रसाद कोइरालाको राजनीतिक छविका कारणले तारिणीको जीन्दगी छायाँमा परेको घुमाउरो सन्देश यो पुस्तकले दिएको छ । मैले त्यस्तै बुझेँ । उनलाई साहित्य र रङ्गकर्मप्रति प्रेम थियो । त्यसैले उनको सौख रेडियो नेपालमा समाचार भन्ने पट्टि भयो । यस ग्रन्थका लेखकहरुको तर्क छ । उनलाई राजनीति भन्दा पत्रकारिता, साहित्य, नाटक, फिल्म, संगीत पट्टि मोह थियो । उनले धेरै कृति लेखे तर उनी छउञ्जेल ती छापिएनन् । सत्ताको केन्द्रमा रहँदा पनि उनका साख्खै भाई गिरिजाप्रसादले त्यो काम गरेनन् । उनी मरेको ३८ वर्ष पछि उनको छोराको काँधमा यो जिम्मेवारी आयो । त्यसैले प्रदिप गिरिले रोष प्रकट गर्दै लेखेका छन्, ‘शेक्सपियरका पालामा बेलायतको राजा को थियो ? कसैलाई थाहा हुने छैन । तर अंग्रेजी भाषा रहुञ्जेल शेक्सपियर रहन्छन् ।’

                                 

सुषमा कोइरालाको लेख पढ्दा मन टक्क अडियो । सुषमा, मनिषा कोइरालाकी आमा हुन् । सुजताकी आमासँग उनको नाम जुधेकोमात्र हो । उनले भनेकी छन्, बुवा राजनीति पनि गर्नुुुहुन्थ्यो, किसान पनि हुनुहुन्थ्यो, साहित्यकार पनि । कोइराला परिवारले तारिणीलाई ‘बुवा’ भनेर सम्बोधन गर्ने रहेछन् । सुषमाका अनुसार उहाँले कृषि विकास बैँक बाट ऋण लिएर कुखुरा पाल्नुभयो । तरकारी खेती पनि गर्नुहुन्थ्यो । उहाँ निकै रमाइला जोक गर्नुहुन्थ्यो । उहाँसँग सबथोक थियो पैसा थिएन ।

रेडियो नेपालसँग तारिणीको एउटा गुण जोडिएको छ । त्यो हो उनी भित्रको साहित्यिक चेतना । गीत, रङ्गकर्म गर्न उनी रुचाउँथे । धेरैले भनेका छन् तारिणीले प्रत्यक्ष राजनीति कहिल्यै गरेनन् । काँग्रेसको सदस्य भएनन् । एकपटक त्यस्तै घटना भएछ, विराटनगरको रानी भन्ने ठाउँमा । त्यहाँ जुटमिल रहेछ । त्यहाँका मजदुरले हाट लागेको दिन आन्दोलन गरेका रहेछन् । मजदुरहरु जुटमिललाई घेर्न लागेका । कसले रोक्न सक्ने ? इन्क्लावको नारा लगाइरहेका मजदुरलाई ? उनीहरुलाई रोक्न गेटमाथि चढेर तारिणीले भनेछन्– ‘मजदुर भाइयो रुकजाओ ।’ यति भनेपछि गेट तोड्न अघि बढेका हज्जारौँ मजदुर रोकिएछन् । त्यसपछि तारिणी, कोइराला परिवार प्रति मजदुरको  विश्वास देखेर भावविह्वल भएछन् । बोल्नै सकेनन् । मान्छेहरु उनलाई बोल्न अनुरोध गरे । तर तारिणी बोल्नै सकेनन् । त्यसपछि, मान्छेहरुले उनलाई गेटबाट तल ओरालेछन् । उनले भन्थे रे, “त्यसदिन मैले बोल्न सकेको भए नेता हुन्थेँ बोल्न सकिन लेखक भएँ ।”

यो किताबको धेरै ठाउँमा भनिएको छ “उनी जोक गर्न सिपालु थिए रे ।” विश्ववन्धु थापा लगायत केही लेखकहरुले लेखेका छन्, उनी हिन्दी सिनेमाको हिरो हुन चाहन्थे । एकपटक, घरबाट उनी बनारस नगई बम्बईतिर गएका थिए । अशोककुमार दीलिपकुमार झैँ हिरो हुने चाहनाले । साथीहरुसँग, बम्बई गएर त्यतिबेलाका चर्चित व्यक्तिसँग फिल्म खेलेको कुरा गर्थे रे । आफू फिल्ममा अभिनय गरेको भनि मान्छेहरुलाई फिल्म हेराउन लैजान्थे रे । तर उनलाई फिल्मको सिनमा नदेखेपछि, ‘म खेलेको सिन नै काटिदिएछ’ भनेर रमाइलो गर्थे रे । पुस्तकमा नातीकाजीसँगको कुराकानीको आधारमा सुषमा लेख्छिन्, नातीकाजीलाई रेडियो नेपालमा ल्याउने तारिणी नै थिए । यो पुस्तकका धेरै लेखकहरु भन्छन्, “यस्ता मान्छेलाई पञ्चायतले छ वर्ष जेलहालेर पाप गर्यो ।” तर ०१७ सालका गृहमन्त्री विश्ववन्धु थापाले चाहिँ पत्रकारितामा उनको सक्रियता देखेर नै उनलाई महेन्द्रले जेलहालेको भन्छन् । उनलाई छोडिएको भए, उनी भारत जान्थे, त्यहाँ काँग्रेसले रेडियो र अखवारमा काम गर्ने ठूलो प्रचारक पाउँछ भन्ने चिन्ता थियो । किनभने उनले प्रजातन्त्र रेडियोको स्थापना गरेका थिए, ‘दियालो’, ‘कल्पना’ लगायत काँग्रेस नजिकका पत्रिकाको सम्पादन पनि गरेका थिए ।  त्यसैले उनलाई पञ्चायतले छोडेन । पक्रियो ।

अर्को यो पुस्तकले कोइराला परिवारबारे बुझ्न मद्दत गर्छ । मातृकाप्रसाद कोइरालालाई सबै (कोइराला परिवार)ले ठूलो बाबा भन्ने, बीपीलाई ‘बाबा’ मात्र, केशवप्रसादलाई ‘सानो बाबा’, तारिणीलाई ‘बुवा’, गिरिजाप्रसादलाई सबैले ‘सानो बुवा’ भन्ने । मानौ कोइराला परिवार विशाल घर हो । एकजनालाई सबैले एकै किसिमले सम्बोधन गर्छन् । मायाले बोलाउँछन् । कसैलाई कोशु, कसैलाई सान्दाजु, कसैलाई बुनु आदि । तर यी नाम कोइराला परिबारबाट लेखिने किताबको यत्रतत्र भेटिन्छ । त्यसैले यो परिवारबारे अभ्यस्त नहुनेलाई बुझ्न गाह्रो । राजनीति, साहित्य, रङ्गकर्म र डाक्टरी पेशाप्रति कोइराला परिवारको चासोबारे पनि जानकारी हुन्छ । तारिणी बम्बईमा अशोककुमार र दिलिपकुमार झैँ हुन नसकेपनि मनिषा कोइराला त्यो ठाउँमा पुग्न सफल भइन्, भन्ने तर्कहरु लेखहरुमा यत्रतत्र पाइन्छ । पारिवारिक सम्बन्धलाई जोड्न कोइराला परिवारमा चिठीपत्र व्यवहार निकै रमाइलो छ । जेल परेका, भारत पसेका, विराटनगर र काठमाडौँ बसेकाहरुलाई चिठीले जोडेको छ । तारिणी र रोशा तथा छोरा ज्योतिप्रसाद कोइरालासँग सम्बन्धित चिठीहरुको एउटा खण्ड छ । जुन पढ्दा लाग्छ, कोइराला परिवारलाई चिठीपत्रले यसरी जोडेको छ, मानौ पत्रव्यवहार भएन भने निकै निराशा हुन्छ होला । यी चिठीहरुमा राजनीतिका कुरा छैनन् । छैनन भनुँ भने बीपीको पत्रव्यावहारमा ती कुरा छन् । धेरैमा त परिवारको स्वास्थ्य र शिक्षाबारेका कुरा छन् । भारतका विभिन्न विद्यालय वा विश्वविद्यालयमा पढिरहेका वा काम गरिरहेका परिवारका सदस्यहरुलाई चिठी लेखिएको छ । सबले सबैजनाको स्वास्थ्यबारे ख्याल गरेका छन् । मैले कल्पना गरेँ त्यहि भएर होला कोइराला परिवारबाट डाक्टर पढ्ने पनि धेरै भएका ।

तारिणीले बीपीलाई चिठी लेखेका छन् – “सान्दाजु...मेरो रोग पनि एक थरिको भये त हुने थियो नी, अनेक थरिका छन् । एक पल्ट सारा कलपुर्जाको राम्रो जाँच पडताल नगरी भयको छैन ।” बीपीले तारिणीका छोरा ज्योतिलाई लेखेका छन्, “मेरो स्वास्थ्य ठीक छ, वजन ७ पाउण्ड बढेको छ, ऐले १३० पाउण्ड छु । यसपाली तिम्रो एउटा चिठी मात्रै आयो । सायद पढाईमा छौ । ठीक हो, पढाईमा पुरा ध्यान दिनु खूब परिश्रम गर्नु ।” एकपटक तारिणीले पटनाबाट श्रीमति रोशालाई लेख्छन् – “प्रिय रोशा रानी, मेरो ३ वटा चिठीको जवाफ पाइन । यस्तो निर्दयी नबन । मेरो अनुहार सम्झ, माया गर र चिठी लेख ।” रोशाले चिठी नलेखेकोमा चिन्ता व्यक्त गर्दै लेख्छन् – “म भने हप्ता हप्ता दिनमा लेख्दैछु । झन् त्यसैले मानौ तिमी लेख्नै छोडिदियौ । म पुरानियाँ विचारको मान्छेलाई चिठी लेखे नै माया व्यक्त हुन्छ भन्ठान्छु ।”

यो तारिणी रोशा स्मृति कोशबाट निकालिएको यो पुस्तकको कमजोरी हेर्नु मेरो उद्देश्य थिएन । ह्रस्वदीर्घ पनि हेरिन । तर तारिणीको जीवन के सकरात्मक मात्रै थियो त ? गुणगान गाउने मात्रै ? के कोइराला परिवारमा खटपटको सम्बन्ध नै थिएन त ? कोइराला परिवारका कितावमा भेट्न मुस्किल हुन्छ । अवश्य पनि यी कुरा यहाँ छैनन् । प्रदिप गिरिले भने झैँ । तारिणीका पाण्डुलिपिलाई संस्थागत रुपमा छाप्ने कोशिस कहिल्यै भएन । न गिरिजाप्रसादले गरे न अरुले नै । अध्ययन अनुसन्धान पनि भएन होला । त्यो जिम्मा उनको छोराबुहारीको काँधमा आयो । त्यसैले पनि होला कोइराला परिवारको सुमधुर सम्बन्धको मात्र यसमा चर्चा छ । तारिणीको सकरात्मक जीवनको पाटोमात्र यहाँ छ ।


२०६८– मंसीर १८
मैतिदेवी, काठमाडौँ ।