८ सेप्टेम्बर २०१५
पुस्तकको नाम : म महेश
प्रकाशन मिति : २०७२ साउन
प्रकाशक : गौँथली
पृष्ठ : ३०८
मूल्य : ६५० रुपैँया
पुस्तक किनेको दिन, "दाई तपाइले 'यस्ताको' किताब नि पढ्नुहुन्छ ?" एकजना भाईले मलाइ
सोधे । त्यस्तै
पुस्तक निस्केपछि एक साप्ताहिक पत्रिकाले 'झुटैझुटको पुलिन्दा' टाइपको शीर्षकमा समीक्षा
छाप्यो । त्यो पनि एमाले निकट पत्रिकाले । कुनैदिन बाटोमा कसैले भन्यो, "महेशले त लेख्नै
सक्दैनन्, दाम दिएर, लेखाए होलान् । एकपटक म महेशको पुस्तकांश कुनै एक अनलाईनमा देखेको थिएँ
। त्यसले मलाई तान्यो अद्योपान्त पढेँ । यो किताब पढ्नुका दुइ कारण थिए । लेखकको
जन्मथलो र हुर्काइ जान्ने उत्सुकता । आत्मकथामा रुचि हुनाले यो उत्सुकता ममा थियो
। दोस्रो समकालिन नेपाली राजनीतिक समाजबारे जान्ने लहडले किताब किने र पढेँ ।
पुस्तकको तर्क
पुस्तकले उठाएको
तर्क कति सत्य कति असत्य इतिहास वा अनुसन्धानले पुष्टि गर्दै जालान्, तर यो पुस्तकले 'माओवादी ज्यादती'लाई रोकेर समाजलाई 'हिंशामुक्त' गर्न सहयोग गरेको तर्क गर्छ । 'युथ फोर्स'को गठन र त्यसले माओवादी
विद्रोहबाट ओर्लिएका लडाकुलाई समावेश गरेर बनाइएको 'वाइसिएल' विरुद्ध लडेर उनीहरुको प्रभावलाई न्यून गरेको
दावी गर्छ । लेखकले माओवादी वा वाइसिएल विरुद्ध डटेर लड्नु आफ्नो सफलता भएको
बताएका छन् । नेपाली समाजमा "माओवादी प्रतिरोधी क्षमता कम" भएको बेला 'आँट' गरेकाले उनी एमालेजस्तो
संगठन चुस्त भएको पार्टीमा फड्केर नेता बन्न सफल भएका हुन् । यसको लागि पुस्तकमा
उदाहरण दिइएको छ, "रामहरि प्रकरण- वर्षौँदेखि (माओवादी विद्रोह अवधिभरको) डरलाई दवाएको मुख प्रस्फुरण हुने बेला थियो" (पे.७२) । पुस्तकले पार्टी बाहिरको
संघर्षको आयाम मात्रै होइन भित्रको अन्तर्संघर्षबारे पनि बताउँछ । जस्तो "गोकर्णजी (विष्ट) र अजम्बरजी (राई) जी को चाहना थियो- युवा सङ्घ र युथ फोर्सलाई
पार्टी नेता केपी कमरेडविरुद्ध चलाउनुपर्छ ।" (पृ. ९०) विराटनगरमा उनको संगठन र नेताविरुद्ध नागरिक दैनिकले उठाएको मुद्दाबाट
सफाइ पाएपछि त्यसलाई उनले 'लिँडेढिपी' पत्रकारिता वा सम्पादकको 'वालउत्साह' भनेका छन् । त्यसैले यो आफ्ना विरोधीलाई लेखिएको
प्रत्यूत्तर पत्र जस्तो पनि देखिन्छ ।
संरचना
११ ओटा खण्डमा
विभाजित किताबको लेखन नकरात्मक बानीको सकरात्मक प्रस्तुतीबाट सुरु गरिएको छ । आफु 'सानैदेखि जिद्दी, घमण्डी र आँटेको काम फत्ते
गर्ने स्वभावको', 'कोही कसैसित नडराउने' भन्ने जिकिर लेखकले पुस्तकैभर गरेका छन् । जसले जीवनमा
आत्मबल दिएको तर्क पहिलो खण्डमा छ । उनले खलाँसी र छिमेकी गाउँ तुर्कगालका
मान्छेलाई पिटेको कथा गर्वसाथ लेखेका छन् । आफ्नो बाबुलाई आदर्श मान्ने महेशले
पुस्तकैभरी बाबुका 'डायलग'लाई हिन्दी फिल्ममा झैँ सम्झन्छन् । "बुवा कसैमाथि पनि
तत्काल आइ नलाग्न भन्नुहुन्थ्यो । तर कुनै कारणबिना कोही जाइलागेमा त्यसलाई जसरी
हुन्छ परास्त गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो ।" (पृ. १५)
तेइस वर्षमा गाविस
अध्यक्ष हुनुमा आफ्नो सामाजिक काम र सिर्जनशीलतालाई महत्व दिएका छन् । उनी लेख्छन्, "खसी काटेको ठाउँ
सरसफाइ गर्न होस् या कुनै भतेरमा पुलाउ बनाउन होस् सक्रिय भएर लागेको हुन्थे ।
त्यही भएर गाउँमा माया पाउन थालेको थिएँ ।" (पृ. ३२) समाजमा सकारात्मक तथा सृजनात्मक काम र आँटिलो व्यक्ति भएकाले गर्दा काँग्रेसको पकड भएको ठाउँमा उनले
स्थानिय चुनाव जितेको पुस्तकबाट बुझिन्छ । जीवनीको पुस्तक भएकाले होला
व्यक्तित्वले गर्दा चुनाव जितेको तथ्यले पुस्तकलाई थिचेको छ । त्यसो नहुन पनि सक्छ
। किनभने २०५१ सालमा एमालेको ९ महिने सरकारको लोकप्रियता, काँग्रेसको लगातार स्थानीय
सत्तामा पकडले पनि परिवर्तनको लहर आएको थियो । यी पक्ष पुस्तकमा छन् तर तिनको
प्रधानता छैन ।
काठमाडौँ नजिकैको गाविसबाट सानै उमेरमा अध्यक्ष भैसकेको मान्छेको राजनीतिक भविष्य राम्रो
हुनसक्थ्यो । तर उनले वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जानलाई पासपोर्ट बनाए
। पुस्तकको 'पाइला पाइलामा पाठ' खण्डमा निष्कृय राजनीतिक जीवन र त्राण पाउन गरिएका
प्रयासबारे उल्लेख छ । २०५४ सालमा चुनाव जितेपछिको समयमा गुन्डु गाविसमा सहकारी
खोल्ने र त्यसले गाडि किनेर चलाउने काम असफल भएपछि अन्य व्यक्तिगत असफलताका कथाहरुलाई पनि जोडिएको छ ।
सूर्यविनायकमा रेष्टुरेन्ट खोलेको चलेन । धुम्बाराहीमा खोलेको डेरी पनि चलेन ।
त्यसपछि डेरी बेचेर कोरिया जान पासपोर्ट बनाएको ठिटोलाई एकजना दाईले रोके । उनले
आफ्नो मिठाइपसलमा काम गर्दै राजनीतिलाई निरन्तरता दिन प्रेरित गरे । यसरी फिल्ममा
झैँ बाटो मोडिएको कथा पुस्तकमा देखिन्छ । यो पुस्तक महेशले आफै लेखेका हैनन् । उनले
आभार व्यक्त गर्दै लेखेका छन्, "मेरो मानसपटलमा विगत कुनै चलचित्रझैँ आउन थाल्यो । लेखन
सुरु गरियो । अगुवाइ शिखरजी (घिमिरे) ले गर्नुभयो ।" (पृ. ३०७) तर शिखरजीले पुस्तकलाई फिल्मी शैली दिन खोज्नुभएको छ ।
माथिकै उदाहरण लिने हो भने पनि पासपोर्ट विदेश जानलाई बनाइन्छ । गइँदैन भने त्यहाँ कारण
हुन्छन् । पुस्तकमा त्यस्ता कारण भेटिँदैन । पात्र फिल्ममा झैँ फनक्क फर्किन्छ ।
त्यसैले यो फिल्मको स्क्रिप्ट जस्तो पनि लाग्छ ।
विद्रोहबाट ओर्लेका माओवादी लडाकुसँगको घर्षणबाट एमालेमा युवावयमा नै उनको नेतृत्व स्थापित भएको छ
। त्यसैले उनले 'अनि गठन भयो युथ फोर्स', 'तरवारको धारमा', 'स्ववियु निर्वाचनमा एकछत्र', 'फलाम काट्न फलाम' र 'तुहिएको आमहड्ताल' शीर्षकमा लडाकुसँगको जुधाईको
कथा उल्लेख गरेका छन् । पुस्तकले यो समयमा उनमा 'आँट'को पुनरोदय भएको देखाउँछ । झक्कु सुवेदीलाई हपारेको कुरा
पुस्तकमा यसरी लेख्छन्, "चर्को स्वर बोलेर हामी चुप लाग्छौँ भन्ने सोचेको ? महेश बस्नेत हो म, महेश बस्नेत !" (पृ. ६५) राजेश हमालको फिल्मी डायलग
झैँ । यो समयमा कोटेश्वरका रामहरी श्रेष्ठलाई माओवादी लडाकुले उनीहरुको
क्याम्पभित्र लगेर हत्या गरेको विषयको आन्दोलनमा नेतृत्व गरेका थिए । युद्धताका
एकथरी मानिसहरुलाई माओवादी विद्रोहले उकुसमुकुस बनाएको पृष्ठभूमि थियो । व्यापारी, सवारी व्यावसायी तथा शहरीयाहरु माओवादीसँग जुध्ने शक्तिको खोजीमा थिए । उदाहरणको लागि धादिङ्गका माइक्रो व्यावसायी युथ
फोर्सका जिल्ला अध्यक्ष थिए (पृ. १८९) ।
यसरी देशभरीका मुलत: शहरी इलाका र ग्रामिण इलाकामा पनि रहेको
असन्तुष्टिको पुँजीलाई एमालेले आफ्नो पोल्टामा पारेको थियो । काँग्रेसले त्यो आँट
गर्न सकेको थिएन । एमालेबाटै त्यो नेतृत्व महेशबाट नभएको भए पनि अरु कसैले गर्थ्यो
। यो विचमा उनले अप्रत्यक्ष रुपमा प्रहरी तथा सेना र प्रत्यक्ष रुपमा विभिन्न
टोले गुण्डा र आपराधिक प्रकृतिका मान्छेसँग हिमचिम बनाउन 'बाध्यता' बन्यो । किनभने राजनीतिक
रुपमा त्यतिबेला 'वाइसिएललाई साइजमा' ल्याउनु थियो । उदाहरणका लागि प्रहरीको
इन्काउन्टरमा मारिएका डन "चरीलाई युथ फोर्समा ल्याउनु अनि बालाजु र नयाँबाजार
क्षेत्रमा वाइसीएलविरुद्ध परिचालन गर्नु एउटा स्वार्थ थियो ।" (पृ. १७७) ठाउँठाउँमा सामाजिक
मान्यता उलंघन गरेकोमा "ग्लानीवोध" गरेपनि एमालेमा 'डनवाद' भित्राउनु समयको आवश्यकता भएको अस्पष्ट तर्क
पुस्तकैभर छ । जस्तो "माओवादीको आतंक काँग्रेसले सहँदै आएको बेला . . . सामाजिक मान्यता
उलंघन गरेको थिएँ, कहिलेकाँही ग्लानी हुन्छ ।" (पृ ८२) तर "वाइसिएल विरुद्ध त्यस्तो हिम्मत कसै न कसैले कुनै न कुनै
दिन गर्नुपर्थ्यो चरीले गोली हानेर गरिदियो बस । अर्कातिर हेर्नेहो भने चरीले
गर्नै नहुने काम गरेको थियो ।" (पृ १८०) यो कुराको बचाउ गर्दै एमाले पंङ्तिबाट उनीहरुलाई 'सपार्न' 'मौका दिन' प्रयोग गरेको तर्क सुनिन्थ्यो
र यो पुस्तकमा पनि छन् । माओवादीको 'ज्यादती' रोकेर समाजलाई 'हिंशामुक्त' समाज निर्माण गर्न सहयोग गरेको भन्ने पुस्तकको
तर्क भएपनि समाजमा माओवादीप्रतिको असन्तुष्टीलाई एमालेले आफ्नो पोल्टामा ल्याएको
पनि हो ।
वाइसिएल विरुद्ध
लड्न एमाले पंक्तिले समाजको नकरात्मक पृष्ठभूमीका मानिसलाई ल्याएर एकातिर उनीहरुसँग
लड्न त सजिलो बनायो । तर कतिपय यस्ता प्रवृत्ति भित्राउँदा रक्षात्मक पनि बनाउँदै लग्यो
। यस्तो परिस्थितिमा मिडियासँगको जुहारी एक खण्डमा परेको छ । "'महेश बस्नेतलाई किन
जेल नहाल्ने ?'" शीर्षकमा नागरिक दैनिकका तत्कालिन सम्पादक नारायण
वाग्लेको लेखलाई नै एउटा खण्डको शीर्षक बनाइएको छ । त्यति बेला विराटनगरका पत्रकार खिलानाथ ढकाललाई युथफोर्सले पिटेको भन्दै नागरिक
दैनिक यसको विरुद्धमा थियो । बस्नेतले पुस्तकमा "यो घटना कलम चलाउँदा घटेको नभइ रक्सी खाँदा
घटेको"(पृ. २५७) भनेका छन् । उनले नागरिक दैनिकको पत्रकारितालाई "लिँडेढिपी"(पृ. २८१) र सम्पादक नारायण "वाग्लेको वालउत्साह" (पृ. २८२) भनेका छन् । बस्नेत लेख्छन्, "पछि मनोज र रोहितलाई
अदालतले सफाइ दियो । बरु तिनै खिलानाथलाई अदालतले दोषी गर्दै सजाय सुनायो" । (पृ. १८२)
एमालेमा संगठन सीप
भएका मान्छेहरुको बहुलता छ । तर महेश बस्नेत त्यस्तो चुस्त पार्टीमा फड्को मार्दै
हिँड्न सकेका युवा हुन् । यस्तो कमै हुन्छ । पार्टीबाहिर उनी जति बलियो भएर देखिए
। पार्टीभित्र उनलाई त्यति सजिलो थिएन । त्यसैले पुस्तकको एउटा खण्ड 'बनको बाघ, घरको स्याल' भनेर रचना गरिएको छ । यही
सन्दर्भमा युथ फोर्सको कारण पार्टीलाई हानी भएको भन्दै विघटन गरियो । बस्नेतले
लेख्छन्, "यस्तो भोगाइका कारण
सुरुसुरुमा मेरो मन नरोएको वैठकै हुँदैनथ्यो ।" (पृ. २०६) जसमा उनले पार्टीभित्रका असहजतालाई पोखेका छन् । यस्तो
अवस्थामा नेतृत्वमा रहेको कसैले बस्नेतलाई काखी नच्यापेको भए उनलाई स्थापित हुन
गार्हो हुने थियो । एमाले नेता केपी ओलीले उनको संरक्षण दिइरहे । दोस्रो संविधानसभाको
चुनाव र पार्टीको महाधिवेशनमा केन्द्रिय सदस्यमा हारेका उनलाई केपीले भनेका थिए "म बीचैमा छोड्दिनँ, महेश ! पीर गर्नुपर्दैन ।" (पृ. ३०३) त्यसको लगत्तै उनी उद्योग
मन्त्री भए ।
अन्तमा
मैले यो पुस्तकका
ह्रस्वदीर्घ हेरिन । त्यस्ता गल्ती यहाँ छन् । समयलाई ध्यान दिएर पुस्तकको संरचना
बनाउँदा विषय दोहोरिन सक्ने संभावनालाई सम्पादकले ध्यान दिएको देखिँदैन । ३०८ पेजको पुस्तक २५० पृष्ठमा झार्न सकिन्थ्यो । अर्कोतिर आममानिसमा उनीबारेको
धारणालाई चिर्न पुस्तकले प्रयास गरेको छ । तर अष्पष्ट छ । आफ्नै पार्टीभित्रका
व्यक्तिप्रति गरिएको आलोचनाले पुस्तक विवाद कायमै राखेको छ । अन्तमा के भन्न
सकिन्छ भने, माओवादी विद्रोहले एक खालको नेतृत्व जन्मायो र त्यो विद्रोहबाट उब्जिएको
असन्तुष्टिले अर्को नेतृत्व जन्मायो । यो पुस्तक त्यही कुराको उदाहरण हो ।
त्यसकारण पुस्तकै भरी चर्चा गरेजस्तो महेश बस्नेतको व्यक्तिगत आँटले मात्र
उनी उद्योग मन्त्रीसम्म बन्न पुगेका हैनन् । न पुस्तक भरी चर्चा गरेजस्तो उनका
बाबुले दिएका अर्तीले गर्दा उनी यहाँसम्म पुगेका हुन् । बेलाबेलामा आँट दिन बाबुका
उपदेशले मद्दत गरेपनि महेश बस्नेत स्थापित गर्न ऐतिहासिक कारण महत्वपूर्ण थियो । महेश
बस्नेत नहोमिएका भए पनि अर्को हरि बस्नेत पक्कै यो ठाउँमा आउँथ्यो । यस्तो
खालको नेतृत्व जन्मेको कुरा पुस्तकका पात्रले नभने पनि प्रस्तुतीले भनेको छ ।
panthijee@gmail.com
No comments:
Post a Comment