Saturday, March 4, 2017

बगरका माझी

माघको एउटा बिहान दौडिँदै आएकी महिला सुनकोसीको बगरमा बालुवा खोस्रेको खाल्डोमा टुपुक्क बसिन्।त्यसरी बसेकीले उनीतर्फ सोझै हेर्न मलाई आँट आएन, शौचले अत्याएर आएकी पो हुन् कि भनेर। कसो-कसो मलाई त्यो दृश्य अनौठो लागिरहेको थियो। तर, उनी शौचमा थिइनन्। सलले घुप्लुक्क मुख ढाकेर सुतेकी रहिछन्। त्यहाँ उनी अशान्त देखिन्थिन्।

     खाल्डोबाट उम्केर सोझै नदीले पानीढलो बनाएको किनारामा गई लुख्रुक्क दुइटै गोडा खुम्चाएर सुतिन्। अघिझैं सलले मन्टो लुकाइन्। एक मनले ठानेँ नदीकिनारमा माझीहरू भिटामिन डी खान यसरी नै आउँदा होलान्।त्यो नि मलाई बेबकुफ सोचाइ लाग्यो, घामले डढेका ज्यानलाई के को 'डी' 'सी' ? दृश्य त्यतिमात्र थिएन। दुई वा तीनजना महिला पूर्व-दक्षिण बगिरहेको कोसीको किनारैकिनार उँधोतिर दौडिरहेका देखिन्थे।
     त्यत्तिकैमा दुईजना पुलिस हान्निएर आएको देखेँ। उनीहरूमध्ये एकजना कड्किँदै थिए, 'यी छौंडालाई कति भने पनि नहुने। यहाँबाट माथि नजाऊभन्दा नि कत्ति नटेरेको। सिभिलमा आएर सबैलाई समातेर जाकिदिन्छु अनि थाहा हुन्छ।' अनि थाहा भयो त्यहाँ केही गडबडी रहेछ।
नजिकै एक्लै बालुवा चालिरहेकासँग सोधेँ 'के भएको दाइ? ' उनले भने, 'यहाँ पुलिसले बालुवा चाल्ने साँध बनाइदिएको छ, साँधभन्दा माथि गएमा यसैगरी लखेट्छ।' जताततै बालुवा निकाल्ने हो भने पानीको बहाव बदलिएर पुलको बुर्जालाई हानिदिन सक्ने भयले साँध बनाइएको रहेछ। ती मजदुर नूतन माझी थिए। उनले हाम्रो अनुहारमा नहेरी उत्तर दिँदै थिए। मेरो साथी रूख गुरुङले, 'दाइ हामी सिभिल ड्रेसमा आएका पुलिस हैनौं है' भन्दै उनलाई ढुक्क बनाए।

     अर्को दृश्यमा एक हबल्दारले आफ्नो सिपाहीलाई 'जा त्यो चालना फालिदे नदीमा' भन्दै अह्राउँदै थिए। सिपाहीले भने, 'फालेर के गर्ने साप, भर्खरै लतार्दै ल्याउँछन्।' त्यो सुनेर हल्दार फेरि कड्किए, 'फालिदे भनेको सुनिनस्।' सिपाहीले 'हस् साप' भन्दै चालना लतार्दै नदीमा मिल्काइदिए। तर, चारओटा बेल्चा भने लतार्दै उँभो लागे। बेल्चा लैजाने, चालना फाल्ने कस्ता पुलिस हुन् !
     सुनकोसी बगरमा बालुवा चाल्ने माझीहरू दोलालघाट बजारको अलि माथि माझी गाउँका बासिन्दा हुन्। उनीहरूको काम गर्ने थलो कोसीको बगर नै हो। घोप्टिएर गाउँ नै झरेंझै देखिन्थ्यो सुनकोसी र इन्द्रावतीको दोभानमा। दिउँसो एक प्रकारले, निकै रमाइलो पो लाग्यो त, त्यो बगर। गाउँमा दिउँसो त बुंगुुर र खोलेसोका कुखुरामात्र हुन्छन रे।
     बालबच्चासहित बिहानै ७-८ बजेतिर ४७ घरे माझी परिवारहरू बालुवा कोतर्न कोसी किनारामा पुग्छन्। त्यसैले १२ वैशाखको भूकम्पमा बुंगुर र कुखुराहरूमात्रै मरे र घाइते भए। नदी नहुँदो हो त के गर्दा हुन् ती माझी ? जीविकाको तानाबाना अरू पनि हुनन्। तर, एकदिनको लागि भने उनीहरूको बगर मलाई उराठिलो लागेन। मलाई नलागे पनि दिनहुँ बगरमा बिताउनेलाई कस्तो लाग्दो हो अज्ञेय नै रह्यो। टक्र्याकटुक्रुक ढुंगा बजिरहेको आवाज सुन्दा रोमाञ्चित लाग्ने ट्रिपरको हर्नले बगर सुनसान चाहिँ थिएन। अर्कोतर्फ, काम गर्ने ठाउँमा पारिवारिक वातावरण देखिन्थ्यो।
     माझीहरू डुंगा तार्ने, माछा मार्ने जाति हुन भन्ने सुनेको थिएँ। यही मेसोमा मैले बालुवा चालिरहेका मानबहादुरलाई सोधेँ, तपाईं पहिला के गर्नुहुन्थ्यो ? उनले भने, 'यही नै हो, बालुवा चाल्ने'। हुन पनि जहिलेदेखि बालुवाका घर बन्न थाले, उहिलेदेखि नै यो पेसा बन्यो होला। तर, कर गरेपछि उनले आफ्ना बाको त घट्ट भएको बताए।उनले भने, 'बाजेहरूको पनि पेसै पहिलेदेखि नै घट्ट चलाउने रहेछ।' कोही-कोही डुंगा पनि चलाउने रहेछन्। सुनकोसी र इन्द्रावती दोभानको तीरमा एक माझीको आफ्नै डुंगा देखिन्थ्यो। ५० रुपैयाँ प्रतिव्यक्तिमा उनले यात्रुलाई डुंगामा घुमाउँथे। मेरा साथीहरू त्यतैतिर पनि रमाएका थिए। 
     सुनकोसी बगरमा बालुवा चाल्ने माझीहरू दोलालघाट बजारको अलि माथि माझी गाउँका बासिन्दा हुन्। उनीहरूको काम गर्ने थलो कोसीको बगर नै हो। घोप्टिएर गाउँ नै झरेझै देखिन्थ्यो सुनकोसी र इन्द्रावतीको दोभानमा। 
     मानबहादुरले भने, 'वर्षभरि एउटै कामले मात्र त पुग्दैन अरू काम पनि गर्नुपर्छ।' बालुवा चाल्न नपाउने तीन महिनामा बर्खे भेलले बगाइल्याएका मुढाहरू समाउने, चिर्ने र राख्ने काम हुन्छ रे। मानबहादुरले थपे, 'त्यो बेला खोलाले दाउरा ल्याइदिन्छ, छेउतिर फालिदिन्छ, बटुल्यो चिर्‍र्यो र राख्यो।'
     मेरो मन चल्यो, 'यार, खोलो त सुनकोसी नै रहेछ माझीहरूलाई। मौसम मौसममा काम दिने।' मलाई त्यस्तो लागे पनि जीविकाको माध्यम बदलिँदो र अस्थायी प्रकारको देखिन्थ्यो। त्यसबाहेक उनीहरूले घर बनाउने मजदुरीको काम पनि गर्थे। गाउँमा काम नपुगेरै त होला, माझी गाउँका दुईतीनजना मलेसिया र कतार पनि गएका रहेछन्।
     फेरि बगरतिरै फर्केम्। मानबहादुर आफ्नो श्रीमती र दुइओटा छोराहरूसहित थिए। उनको समूहमा सातजनाले काम गरिरहेका थिए। बैनी, ज्वाइँ र उनको छोरी पनि थिइन्।उनका फुपू फुपाजू पनि थिए। उनीहरूका वरिपरि चालना (जाली), टेका (जालीलाई अड्याउने बाँस), कोरेसो (बालुवा कोट्याउने दुईटा दाँत भएको औजार), बोतल (तिर्खा लाग्दा पानी पिउनलाई), साबेल (बालुवा निकाल्ने बेल्चा), डोको (बालुवा बोक्नलाई), बोतलहरू पानी पिउनलाई यस्तै सामानहरू देखिन्थे।
     दोलालघाट वरिपरिका चार ओटामध्ये हामी उभिएको दोभान बगरमा झन्डै १२-१३ समूहले काम गरिरहेका थिए। यसबाट ४७ घरे सबै माझीहरूलाई बगरले पाल्न सक्दैन भन्ने बुझिन्थ्यो। मिलेर, क्षेत्र छुट्याएर काम गरेको देखिन्थ्यो। सबैलाई पनि होइन, सधैंलाई पनि होइनरहेछ यो काम।
     अरूहरूको नि कुरा सुन्न उँधो बगरतिर लाग्यौँ। बर्खेभेलले थुपारिदिएको बालुवालाई कोरेसोले कोतर्दै ढुंगा एकातिर बालुवा अर्कोतिर राखिरहेका मानिस भेटिन्थे। कोही ठड्याइएको चाल्नोमा बेल्चाले थुपारेको बालुवा हुत्याउँदै मसिन्याएका पनि देखिन्थे।
     के महिला, के पुरुष कामको विभाजन देखिँदैनथ्यो, मोटो दृश्यमा। महिलाले बेल्चा पनि लगाउँथे। एक ठाउँमा जम्मा पारेको बालुवा डोकामा बोकेर ट्रक आउने ठाउँसम्म पनि पुराइदिनुपर्दथ्यो।
     अर्को समूहतिर गयौं। बुद्ध श्रेष्ठ पनिसँगै थिए। कुराको सिलसिला, थुपारेको बालुवालाई कति पर्ला भन्नेबाट सुरु भयो। सुरुमा लजाए पनि पछि एउटीले भनिन्, 'एक टरकको पाँच हजार रूपपे।' तीमध्ये दिदी चाहिँको नाम सुनसरी माझी रहेछ। बाउ र दुई छोरी गरी तीनजनाले दिनमा एक ट्रक बालुवा बनाउने रहेछन्।
     मैले 'राम्रै मूल्य हुनेरहेछ त दिदी।' त्यति भनेपछि सुनसरीले तुरुन्तै जवाफ दिइन्, 'आधा त न्यारलाई दिनुपर्छ।' मैले सोधेँ 'किन दिनुपर्ने यत्रो दुःख गरेको पैसोको आधा- नेवारलाई ? ' उनले फर्काइन्, 'बगरभन्दा माथि उनीहरूको बारी छ, त्यसैले।'
     माथि बारी हुँदा बगरको बालुवाको आधा पैसा किन दिनुपर्ने ? मैले उनको कुरा बुझिनँ। अरूलाई नै सोध्छु भनेर अझै उँधो लागेँ। एउटा खाल्डोमा आधा जीउ पानीमा डुबाएर बालुवा झिकिरहेकामध्ये एकजनाले कुराकानीको क्रममा भने, 'यो बगर पहिला नेवारको बारी थियो। बाढी आएर पुरेपछि अँधियामा काम गर्नुपरेको हो।' कुरो सुन्दा अलि नमज्जा लाग्यो, काम गरिरहेका ती माझीसँग होइन आफैसँग मनोवाद चलिरह्यो, 'जाबो यो बगर पनि माझीको भएन है।'
     कुराको तृष्णा अझै मेटिएको थिएन। नजिक नजिकै समूह थिए। काम गरिरहेका माझीलाई झिँझोलाग्दो हो तर सोधिरहेँ, 'बालुवा कोट्याउँदा कोट्याउँदा के के भेटिन्छ नि ? ' काम गरिरहेका एक पुरुषले, बगरमा पल्टेको एउटा मुढा देखाउँदै भने, 'ऊ त्यस्तै मुढा पाइन्छ।' सुनसरीले पनि नजिकै एउटा ठूलो मुढा र ससाना अरू दाउरा पनि जम्मा गरेकी थिइन्।
     यी मुढाहरू पोलेर निकालिएको जस्ता थिए। 'पोलेका मुढाजस्ता देखिन्छन् नि? ' उनले, 'होइन नि ! बालुवामुनि पुरिएकोले त्यस्तो कालो भएको' भने। यो दाउराबाहेक चम्चा गिलासहरू, जस्ता पाताहरू पनि भेटिन्छन् रे। घर भत्काएर ल्याएका सामानहरू पनि पाइन्छन् रे।
     म फेरि मानबहादुरको थुप्रोतिर फर्किएँ, उनले आफ्ना २३ वर्षे ज्वाइँलाई 'ए त्यो अलिकति उता पल्टाइदेऊ न र अनि यो उकाल्देऊ' भन्दै थिएँ। ज्वाइँ ट्रकमा बालुवा लोड गर्दै थिए। नजिकै बालुवा लैजाने ड्राइभर पनि थिए। उनका अनुसार, बगरबाट पाँच हजारमा उठाएको बालुवा बनेपा पुर्‍याउँदा १० हजार पर्छ। तर, भक्तपुर लगे त्योभन्दा बढी पर्छ। मसिनो र राम्रो मेहनेत गरेर बनाएको बालुवा रहेछ भने अर्कै हो नत्र भाउ प्रायः एउटै हुन्छ। जिल्लाभित्र भए एक ठाउँमा बाहिर लगे दुई ठाउँमा कर तिर्नुपर्ने रहेछ। एक ठाउँको पाँच सय।
     जिविसले बालुवा कर उठाउने ठेक्का वर्षा सकिएपछि एक वर्षको लागि ठेकेदारलाई दिन्छ रे। मानबहादुरले भने, 'यसपटक (२०७३ सालमा) ६८ लाखको टेन्डर पर्‍यो रे।' त्यसपछि फेरि सुरु हुन्छ बालुवा चाल्ने काम।टेन्डर प्रक्रिया सकिएपछि असोज कात्तिकतिरको सिजनमा २०/२५ ओटा गाडी (ट्रिपर) हर्न बजाउँदै बालुवा लिन आउँछन् रे। तर बगरमा बालुवा सकिएर खाल्टैखाल्टा हुँदै जाँदा माघतिर भने दिनमा १०/१२ ओटामात्र ट्रिपर हुन्छन् रे। त्यतिबेला बालुवा सकिँदै जान्छ। ठाउँ सकिँदै गएपछि माझीहरूलाई अर्को वर्षा कुर्नुपर्छ। त्यसबीचमा माछा मार्ने, ज्यामी काम गर्नुपर्ने हुन्छ।
     बगरमा उभिएर हेर्दा, नदी नागबेली बगिरहेको देखिन्थ्यो। बगर र माझी गाउँहरूलाई वारि र पारि देखिन्थे। उभिएको बगरपारि अर्को गाउँका माझीहरू बालुवा चालिरहेका देखिन्थे। मलाई त लाग्यो कि यी बगर/गाउँहरू नदीले छुट्याए पनि उनीहरूलाई डुंगाले जोड्छ। त्यसैले होला नदीकिनारका ठाउँठाउँमा यस्ता डुंगाहरू सिक्रीले बाँधेर राखिएको थियो। सायद तर्नलाई र तार्नलाई।
     कोसी किनारमा माघको एक शुक्रबार हामी मार्टिन चौतारीबाट पिकनिक गएका थियौं। दोलालघाटमा त्यो दिन केही माझी बच्चाहरू स्कुल गएका थिएनन्। बच्चाहरूले काम गरिरहेका आफ्ना आमाबाबुलाई जरुवा अथवा खोलाबाट पानी ल्याइदिने र पानी खान दिने गर्थे।
     साथै ठूलाले ससाना बच्चाहरू हेर्दै बगरमा खेलिरहेका थिए। बा-आमाले आराम गरेको बेला बेल्चा चलाउन सिक्ने पनि गर्दा रहेछन्। कतिपयले त कोरेसोले बालुवा कोतर्ने पनि गरेको देखिन्थ्यो। बगरका यी जीवनसँग बस्ने रहर हुँदाहुँदै घाम पहेँलिँदै गएकाले सिरानतिर उकालियौं।
     सिरानमा पुगेपछि क्याटरिङ नजिक बिहानैदेखि केही अपरिचित मान्छेहरू जम्मा भएको मैले याद गरिरहेको थिएँ। चौर नजिकैको धारोमा एउटा केटोले क्याटरिङवालाका भाँडा धसिरहेको देखेपछि बिहानको दृश्य याद भयो।
     सायद काम खोज्न आएका मान्छे हुनन्। उनको नजिकै गएर सोधेँ। रोनिश माझी रहेछन्। १२ वर्षका रोनिश दुई कक्षामा पढ्दा रहेछन्। तर, उनी हरेक शुक्रबार स्कुल नै जाँदैनन्। शुक्रबार र शनिबार यहाँ पिकनिक गर्न मान्छे आउने र भाँडा माझ्ने काम पाइने हुनाले स्कुल नगएका उनी।
     अबेर भइसकेको थियो गाडीले 'जाउँ' भन्दै हर्न बजायो। रोनिशसँग विदा मागेर हिँडे । घाम पहेँलिँदै डाँडाबाट झर्दै थिए तर बगरको टकर्‍याकटुक्क्रुक चलिरहेकै थियो।

यो रिपोर्टिङ्ग लेख २६ फागुन २०७३, बिहीबारमाअन्नपूर्ण पोस्ट्को 'फुर्सद'मा प्रकाशित थियो ।

Sunday, January 29, 2017

बिजुली आएपछि गाँवै अँध्यारो

टुकीको उज्यालोमा मध्यरातको एक बजेदेखि नै च्युरा कुट्ने हाते औजार लुसीले उगल (ओखल) मा ट्वाङट्वाङ गरी च्युरा कुट्दा आउने आवाज अब भक्तपुर बोडेटिगनीबासीका सम्झनामा मात्र छन् । टिगनी बजीब्रान्ड बनेको त्यो च्युरा ठिमीबाट असन र बाङ्गेमुढाका साहुकहाँ व्यापार हुने प्रिय वस्तु थिए ।
        काठमाडौं खाल्डो मात्र होइन, तिब्बत र भोटसम्म यसको व्यापार हुन्थ्यो । २०३० सालमा बिजुलीबत्ती आएपछि भने गाउँभरि सुनिने त्यो ट्वाङट्वाङआवाज बिस्तारै हराउँदै गयो । हाते श्रम गरेर जीविका चलाउने यो स्रोत हराउँदा भोकमरी जस्तै अनुभव भएको थियो टिगनीबासीलाई । यहाँ मैले त्यही च्युराको कथा विस्तारमा लेखेको छु । जुन अचेल भृकुटीमण्डपमा हुने घरेलुप्रदर्शनीमा पनि आक्कलझुक्कल देखिन्छ (हेर्नुहोस् तस्विर) ।

तस्बिर : कान्तिपुर
        गएको बर्खामा टिगनी बस्तीतिर पुग्दा भूकम्पले चर्काएर पनि टालेको पुरानो घरबाहिर एक जना आमै तान बुनिरहेकी थिइन् । त्यसै गरी ठिमी सहरको एक साहुले दिएको अमिलोगुलियोखानेकुरालाई बाटामा राखेर वरिपरिबाट महिला तथा केटाकेटी गोलो पारेर मिठाई बनाइरहेका थिए । उनीहरूले साहुको लागि ज्यालामा त्यो काम गरिरहेका थिए । कोही एउटा सटरभित्र बसेर साग र धनियाँका पत्ताहरूलाई परालको त्यान्द्रोले बाँधिरहेका थिए ।

        सामूहिक रूपमा तरकारी खेती गरेका उनीहरूले सहरमा बेच्न त्यस्तो गरेका थिए । सामान्यतया यस्तै दृष्य देखिन्थ्यो टिगनीमा । अर्थात् चार दशकअघिसम्म ब्रान्डेड च्युरा बेच्ने टिगनीबासीको जीविकाको माध्यम बदलिएको देखिन्थ्यो । उनीहरू भन्थे, ‘उगल र लुसीलाई त धेरैले बन्चराले चिरेर आगो तापिसके ।


        खरानी भइसकेको त्यो प्रविधिको विगतबारे मलाई रुचि थियो । कसैले बताइदेला कि भनेर गाउँभरि डुलें । किरानापसल थापेर बसेका राम राजबहाक मलाई टिगनी बजीबारे आफ्नो अनुभव सुनाउन तयार भए । उबेला घरमा धेरै परिवार हुनेकहाँ उगल र लुसी चल्थे । अलि थोरै परिवार हुनेले काठमाडौंको बाङ्गेमुढाबाट चना केराउ ल्याएर भुट्थे ।दुई सिफ्टमा काम गर्न धेरै मान्छे चाहिने भएकाले ठूलो परिवार वा समूहले मात्र बजी बनाउन सक्थ्यो । राति १ बजेदेखि बिहान ९ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म हुन्थ्यो यो काम ।
        राजबहाकका अनुसार बजी बनाउन उगल, पला (उगलको पनि भित्र राख्ने नफुट्ने काठ), लुसी (धान थिच्ने औजार), कुसाकुटी (काठको पन्यू), धान भुट्ने हाँडी, चलाउने सिन्का (भुटना), माटाको उसिन्ने भाँडा (कासी) वा तामा अथवा सिलावरको भाँडा (फोसी), चाल्ना (सलिंचा), नाङ्लो (हासा), डाली (उसिना धानको पानी छान्न) आदि सामान चाहिन्थ्यो । मेरा उत्तरदाताले ठिमीबासीलाई ठूलो देशका मान्छे भनिरहेका थिए ।
        यसबाट टिगनीका राजबहाकसमुदाय सीमान्तीकृत नेवारहरू हुन् भन्नेबारे मैले भेउ पाइसकेको थिएँ । किनभने बोडेको ठूलो फाँट गाउँको नाकैमुनि भएर पनि उनीहरूको थिएन । त्यो फाँट सबै बोडेली-ठिमीले नेवारहरूको थियो । यो सीमान्तकृत पक्ष अनुसन्धेय नै छ । मेरो उद्देश्य बजीबारे एकसरो जान्नुभएकाले सीमान्तकृत पक्षबारे म घोत्लिनुपरेन ।
                ‘फोसीमा उसिनेको धानलाई पानी चुहिनेगरी डालोमा खन्याएपछि तात्तातै क्रमश: एकएक माना उगलमा खन्याउँदै कुटिन्थ्यो,’ राजबाहकले त्यही आवाज दोहोर्‍याए, ‘ट्वाङट्वाङ’ ‘ट्वाङट्वाङ। त्यसरी कुटेको धानबाट ३/४ किसिमका च्युरा निस्कन्थे । राजबहाकसँग कुराकानी गरिरहँदा अर्का एक जना पनि मेरा उत्तरदाता बन्न आइपुगे ।
        राजबहाकहरू राजाका भान्सामा काम गर्ने भएकाले पकवानमा पोख्त भएको उनले सुनाए । तर अहिलेका युवाहरूलाई यो पक्ष त्यति मन पर्दैन रे । यही त्यान्द्रो समातेर अरूहरूले हेप्छन् कि भनेर । यी दोस्रा उत्तरदाताको नाउँ सानुकाजी थियो । उनले ३/४ किसिमको च्युराबारे थपे, ‘कुटेर राम्रो निस्किएको च्युरा पुँ बजी। टुक्रिएर निस्केको चोक बजी’, भुसैसँग मिसिएर निस्किएको माँ बजीर डल्लाडल्ला भएर निस्किएको प्याँ बजी
        यीमध्ये पुँ बजीलाई नोचा (खर्पनजस्तै नोल’) मा राखेर सहरतिर बेच्न लगिन्थ्यो । टिगनीबाट सिनामंगलपुरानो बानेश्वरडिल्लीबजारबागबजारबाट पैदल हुँदै असनका साहुको पसलमा बेचिन्थ्यो । चनाकेराउ भुट्नेले त घरघर डुलेर पनि बेच्थे । त्यति मात्र कहाँ हो र ! टिगनीको बजी लिएर राजबहाकका पुर्खाहरू ल्हासा र तिब्बतसम्म पनि पुगेका रहेछन् ।
        बाह्रबिसे माइती भएकी मिमाया राजबहाकले आफ्नो बिहेको रहस्य पनि खोलिन् । व्यापार गर्ने सिलसिलामा उनको श्रीमान् टिगनीबाट बाह्रबिसे गएको मौकामा देखादेख भएको रहेछ । धेरै पछिसम्म पनि त्यो रुटमा टिगनीबाट मानिसहरू व्यापार गर्न जाने रहेछन् । त्यस्तो सम्बन्ध भएका मानिसहरू अरू पनि छन् टिगनीमाउनले भनेकी थिइन् ।
        उति बेला असनतिर बजी बेच्न हूलका हूल युवाहरू खर्पन बोकेर निस्कन्थे । राम राजबहाकले भने, ‘हामी नोल र ढोकर (बजी झुन्ड्याउने बोरा) बोकेर बिहान खाना खाई १० बजेदेखि डेढ दुई घण्टा एकोहोरो हिँड्थ्यौं । कम्तीमा १५ बढीमा ३० युवक असन बजारका लागि लहरै निस्कन्थ्यौं ।गाउँमा चाहिँ बिहानको ९ देखि १२ बजेसम्म आराम लिएका मान्छेहरू दिउँसोको १ बजेदेखि ६ बजेसम्म फेरि कुटनीमा लाग्थे । दसैं र बिस्केट जात्राका ६/७ दिनबाहेक वर्षैभरि टिगनीले ट्वाङट्वाङ आवाज दिइरहन्थ्यो ।


        चिउरा बेचेरै २०३० सालको दशकमा असनबाट साढे १४ पाथीको १ सय २८ रुपैयाँ जति रकम लिएर फर्कन्थे टिगनीबासी । राजबहाकले भने, ‘असनबाट लिएको सबै पैसा मैले बुवालाई दिन्थे । त्यो पैसाले उनीहरू ठिमीमा धान किन्न निस्कन्थे । त्यहाँ ताइचिन धान वा चिनी धान वा घैया धान खोज्न दिनभर लाग्थ्यो, उबेलाका ३२ घरे टिगनीबासीलाई । यसरी ठिमिलेकहाँबाट धान किनेर त्यसलाई चिउरा बनाई बेच्थे । अनि त्यो पैसाले फेरि ठिमिलेकहाँ नै किन्न जानुपर्ने चक्र घुमिरहेको थियो ।

                ‘२०३०/३२ सालले ती दिन खोसेर लग्यो । त्यो समयमा गाउँमा बिजुली आएपछि गाउँ नै अँध्यारो भयो,’ राजबहाकले सुनाए, ‘टुकी निभेपछि एक्कासि भोकमरी सुरु भएझैं भयो ।बिजुलीले गर्दा बोडेदेखि ठिमीसम्म नै लस्करै राइस मिलहरू खुले । जुन मिल एरियालाई अहिले मिल रोडभनिन्छ । त्यसपछि क्रमश: उगल र लुसीलाई मान्छेहरूले दाउरा बनाए ।
        टिगनीमा टिँको अर्थ नेवारी भाषामा निगालो हो । निगालोबारे त मैले प्रश्न नै उठाइनँ । तर अहिले टिगनीमा न निगालो देखिन्छ न टिगनी बजी नै । २०३० सालको दशकपछि गाउँको परम्परागत जीविकोपार्जनको अवस्था तितरबितर भयो । कोही गलैंचामा कामदार बने । कोही चनाकेराउ नै भुटिरहे । अझै पनि चनाकेराउ भुटेर सहर निकासी गर्ने परिवार मैले भेट्टाएँ । कोही तरकारी खेती गर्न थाले । कोही तरकारीका खुद्रा व्यापारी, कोही प्लम्बर बने । कोही हाउस वायरिङतिर लागे । कोही ज्यालादारी काममा लागे । अहिले करिब ५० देखि सय जना विदेश आउनेजाने पनि गर्छन् । विकल्पका पेसाहरू बलियो बनिसकेका छैनन् । बजी उत्पादनको ज्ञान धरापमा परेपछि बिजुलीबत्तीले पनि उज्यालो दिएको छैन टिगनीलाई ।


यो लेख  कान्तिपुर कोसेलीमा माघ १६, २०७३मा प्रकाशित भएको थियो