Friday, April 1, 2016

जनगणना–कम्प्युटरको कथा

२०२८ सालको जनगणनालाई छिटो प्रकाशित गर्न कम्प्युटर भारतबाट भाडामा ल्याइएको थियो । यो लेख त्यही बेला -२०२८–२०३८_ को एउटा कम्प्युटरको अन्तर्कथामा केन्द्रित छ । २०११ र २०१८ सालमा लिइएको जनगणनाको नतिजा निकाल्न ५÷६ वर्ष लागेकाले त्यसले पञ्चवर्षिय योजनालाई प्रभावित पारेकोले भाडामा कम्प्युटर लिइएको थियो । २०२८ सालको जनगणनाको नतिजा कम्प्युटरको मद्दतले १ वर्ष, ८ महिना र १५ दिन भित्र निकालिएको थियो । राष्ट्रिय कम्प्युटर केन्द्रमा रहेको दोस्रो संस्करण पूरानो १४०१ सिस्टमको कम्प्युटर भारतको आइविएम कम्पनीसँग सालिन्दा १२ लाख रुपैँया भन्दा बढी भाडा तिरि लिइएको थियो ।२०३५ सालमा राष्ट्रिय कम्प्युटर केन्द्रले ३ लाखमा यो आइविएम १४०१ कम्प्युटर आफै किन्यो । यो कम्प्युटर अल्प क्षमताको हो भनि जानेपछि २०३८ सालको जनगणनामा आइसिएल नामको बेलायतबाट ल्याएको अर्को कम्प्युटरले यसलाई प्रतिस्थापन गरेको थियो । २०४६ सालमा लेखेको नेपालको व्यवहारिक कानुन तथा मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग भन्ने पुस्तकमा सुमित्रा राजभण्डारीले लेखेअनुसार २०३८ सालमा युएनएफपिए र युएनडिपीको संयुक्त सहयोगमा लगभग २ करोड ५० लाख पर्ने आईसिएल २९५०÷१० चौथो पुस्ताको कम्प्युटर नेपालमा प्रवेश गरेको थियो ।


रामशाहपथमा रहेको राष्ट्रिय कम्प्युटर केन्द्रको भवन स्रोतः नेपाल साप्ताहिक २०७१ चैत ८ । यो तस्बिर गुगलमा पनि पाइन्छ ।

कम्प्युटर भाडामा लिएपनि स्थायित्व दिने हिसाबले तत्कालीन सरकारले २०३१ सालमा कम्प्युटर सञ्चालनको लागि तथ्याङ्क विभाग अन्तर्गत विकास समिति ऐन अनुसार “यान्त्रिक सारिणीकरण केन्द्र” खोलेको थियो । किनभने यो कम्प्युटर कोठा जत्तिकै’ ठूलो थियो । २०३५ सालमा निकालेको स्मरण नामक कम्प्युटर विशेषांकमा विभिन्न लेखकले यसबारे आफ्ना स्मरण लेखेका छन् । जसमध्ये देवीप्रसाद चापागाईँ, नारायणप्रसाद नयन, भोलाप्रसाद रेग्मी, भूवनहरि शर्मा, हरिगोपाल श्रेष्ठ, अशोक कुमार श्रीवास्तव तथा रघुनाथ अधिकारी छन् । यो विशेषांकअनुसार कम्प्युटरलाई व्यवस्थापन गर्न केन्द्रिय तथ्यांक विभागको भूँइतल्लाबाट बसाईँ सरेर सिंहदरवार कम्पाउण्डमा पुगेको थियो । प्रथम चरणमा खर्च हुने गरी २०३५ सालमा ६० लाख खर्च गरेर सिंहदरवार भित्र १९ हजार वर्गफिटमा कम्प्युटर भवन सिलन्यास गरिएको थियो ।  तीर्थ बहादुर श्रेष्ठले सम्पादन गरेको नेपालमा विज्ञानको विकास पुस्तकमा राष्ट्रिय कम्प्युटर केन्द्रका तत्कालिन प्रवन्धक देवीप्रसाद चापागाईँले लेखे अनुसार यो मुख्य भवनको अतिरिक्त विद्युत आपुर्तीको लागि विद्युत भवन छुट्टै रहेको थियो । व्याट्री र जेनेरेटर सहित यो कम्प्युटरको लागि तीन तहको विद्युत प्रणाली थियो । कम्प्युटर संयन्त्रको तापक्रमको लागि दुइटा ३० टन र एउटा ४५ टन क्षमता भएको एयर कण्डिसनिङ्गले वातानुकुलनको व्यवस्था गरेको थियो । तीन तहको अग्नि सुरक्षा व्यवस्था गरिएको थियो । फोहोराबाट हालोन ग्यास छाडी आगो निभाउने, सुरक्षा गार्ड, अग्नीसूचक प्रणाली र नगरको बारुण यन्त्रसँग कम्प्युटर केन्द्रको सोझो टेलिफोन सम्बन्ध पनि थियो । त्यसै गरी चट्याङ्गबाट बचाउन लाइटेनिङ्ग रड र कम्प्युटर कक्षको पाँचै दिशामा फलामे जाली राखिएको थियो । यसको वरिपरी विरुवा रोपेर हरियाली पनि बनाइएको थियो ।

आइविएम कम्प्युटरको तस्बिर (स्रोत :गुगल- २ अप्रिल २०१६  )


देवीप्रसाद चापागाईँका अनुसार अनाधिकृत मानिस कक्षमा पस्न सक्दैनथे । परिचयपत्र ढोकाको दुलोबाट छिराएपछि जुत्ता फुकालेर भित्र जानुपर्ने हुन्थ्यो । कम्प्युटर सम्बन्धी गोष्ठी, कार्यशालाको लागि सभाकक्ष, सोहीबारेमा पुस्तक, पत्रिका र अन्य प्रकाशन गरी कम्प्युटर पुस्तकालय, कम्प्युटरको प्रयोगबारे जानकारी दिन समीक्षा कक्ष, कम्प्युटर हेर्नलाई अवलोकन कक्ष, कर्मचारीको सुविधाको लागि भोजनालय आदिको व्यवस्था थियो । कम्प्युटर संग्रहालय बनाउने लक्ष्य पनि यसको थियो । यसमा काम गर्ने सिस्टम विशेषज्ञ १२ जना, प्रोग्रामिङ्ग विशेषज्ञ १८ जना, अपरेशन विशेषज्ञ ६ जना, इञ्जिनियर ४ जना लगायत उच्च मध्यम र निम्न स्तरिय कर्मचारी रहेका थिए । ति मध्ये पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आफ्नो जागिरको सुरुवात यही कम्प्युटरको अपरेटरबाट गरेका थिए । यो केन्द्रमा बढिमा १५० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

त्यति बेला यस्तो यन्त्रले मानिसका समस्या समाधान गर्छ भन्ने आशा सम्बन्धित निकायका कर्मचारी वर्गमा हुने नै भयो, सर्वसाधरणलाई अत्तोपत्तो नभएपनि । अहिले कम्प्युटर सस्तो र तल्लो तहसम्म पुगेकाले पनि यी कथाहरु हामीलाई रमाइलो लाग्न सक्छन् । त्यो बेला कम्प्युटरले गल्ती गर्दैन, प्राणरहित मानव, चन्द्रमामा रकेट पुराउन सकेको यन्त्र, यसले थुप्रै समस्या एकैपटक एकैछिनमा समाधान गरिदिन्छ जस्तो तरिकाले गौरवीकरण गर्ने ऐतिहासिक चेत थियो । देश विदेशमा पनि विकासको रटान गर्ने समय भएकाले नयाँ प्रविधिको भव्य स्वागत भएको थियो । र यसले विकास प्रक्रियामा सहयोग गर्छ त भनिने नै भयो । कार्यालयमा कलमले काम गर्नेलाई जुम्से कलमवाजी’ भन्दै उनीहरु नै विकासको वाधा भएको सम्मको लाइनहरु त्यति बेलाका लेखनीमा पाइन्छ । यस्तो चर्चा गर्दा ‘झञ्झटबाट मुक्ति’को प्रसङ्ग छुट्ने कुरै भएन । त्यो बेला प्रविधिबारे लेख्नेले ‘जिन्दगीभर डेस्कमा गर्ने काम कम्प्युटरबाट मिनेटमै सम्पादन गर्न सक्ने क्षमता उपलब्ध हुन थाल्यो’ भन्दै मुक्तिको कथा पस्केका छन् । साथै कम्प्युटरले छिटो काम गर्ने भएकाले यसलाई राक्षसी मस्तिस्क’ भएको पनि भनिएको छ ।

प्रयोगको हिसावमा २०२८ सालको राष्ट्रिय जनगणनाबाहेक, धनकुटा हाटबजारको किनबेचको तथ्यांक प्रशोधनमा, नेपाल विद्युत प्राधिकरणको १ लाख ग्राहकको विलको काम, केन्द्रिय तथ्यांक विभागको कृषिवाली र पशुपालनसम्बन्धि राष्ट्रिय कृषि गणना, पोखरा नगर विकास सर्भेक्षणको काम, अमेरिकी दुताबासको डाइरेक्टरी बनाउने काम, नेपाल परिवार नियोजन संघको परिवार नियोजन सर्भेक्षण, विधवा सर्वेक्षण, अमेरिकी पिसकोरको मत्स्य सर्वेक्षण, आर्थिक विकास तथा प्रशासन केन्द्रको चुरोट उपभोग सर्वेक्षण, विश्व बैँकको पारिवारिक बजेट सर्वेक्षण, नेपाल दुरसंचार संस्थानको टेलिफोन डाइरेक्टरी, लोक सेवा आयोगको आवेदक तथ्यांक, निजामति किताबखानाको कर्मचारी विवरण, शिक्षा मन्त्रालयको प्रवेशिका परिक्षा, संचय कोषको संचयकोष विवरण राख्ने आदि काम राष्ट्रिय कम्प्युटर केन्द्रले १० वर्षको अवधिमा गरेको थियो ।

नेपाली धरामा भाडा तिरेर भित्रिएको यस प्रविधिलाई स्वागत र स्थायित्व दिन २०३२ सालमा ‘कम्प्युटर सेमिनार’ तथा सोही साल कम्प्युटर कार्यदल’ गठन गरी कम्प्युटर प्रयोग हुने संभावित क्षेत्रको अध्ययन र विश्लेषण गरी प्रतिवेदन तयार पारिएको थियो । यो केन्द्रले कम्प्युटरको सेवा लिने र दिने व्यक्ति तथा निकायलाई फाइदा होस् भन्ने हेतुले तालिम पनि दिन्थ्यो । २०३४ सालमा १९ जना जवानलाई डेढ महिने तालिम दिइएको थियो । त्यो बेला कम्प्युटर तालिम लिन भारत, थाइलैण्ड, अमेरिका र रुस पनि जाने चलन थियो । २०३१ पुस १५ मा कम्प्युटर केन्द्र खोलेपछि जनतालाई अत्तोपत्तो केही हुन्न कि अथवा कम्प्युटरको उपादेयता र राष्ट्रको विकासमा के भूमिका हुन्छ भन्ने उद्देश्यले केन्द्रबाट कम्प्युटर पत्रिका पनि प्रकाशन गर्न थालेको थियो ।

यस्तो अलौकिक रुपमा व्याख्या गरिरहेका बेला कम्प्युटरबारे लेख्ने केही लेखक जस्तै भूवनहरि शर्माले स्मरणमा आलोचनात्मक ढंगले लेखेका छन् । जस्तो सालिन्दा १२ लाख तिरिरहेको भाडाको रकमले अर्को नयाँ शक्तिशाली कम्प्युटर लिनको लागि प्रयाप्त हुने कुरामा केन्द्रले किन बुझ पचायो < उनको प्रश्न थियो । उनका अनुसार २०३५ सालतिर त्यस्ता कम्प्युटरलाई २० लाख रुपैँया पर्दथ्यो । उनले त्यति बेला कम्प्युटरले छिटो छरितो काम गर्ने र यसको आवश्यकता भएको बताएपनि यसबारे अतिप्रचार सोचबारे पनि आलोचना गरिएको छ । शर्मा लेख्छन्, “किन हो म भन्न सक्दिन मिल्दा नमिल्दा कच्चा तथ्यांकलाई बलजफ्ती कम्प्युटरसम्म पुराउन पाए सम्पूर्ण काम यसैबाट हुन्छ भन्ने हाम्रो धारणा छ ।” त्यति बेला जतिसुकै कार्यक्षमता भएपनि कम्प्युटर एउटा मेशिन हो, रेडियो, दुरसंचार, टेलिभिजन आदिजस्तै भनेर लेख्नसक्ने थोरैमा शर्मा थिए । “कम्प्युटरलाई सर्वथा मान्छेकै सहयोग र रेखदेख चाहिन्छ । गल्ती तथ्यांकलाई कम्प्युटरले शुद्धिकरण गरिदिन्छ भन्ने चाहिँ हाम्रो भ्रम मात्र हो” कम्प्युटर आएपछिको सन्दर्भमा उनले लेखेका छन् । त्यति बेला यो प्रविधिको आगमनले विकसित मुलुकले गरेको प्रगति देखेर हकालिएको, आफ्नो बाटोलाई पक्की गर्नुभन्दा अरुको बाटोलाई अनुशरण गर्न खोजेको देखिन्छ । 

मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग

सुमित्रा राजभण्डारीले २०४६ सालमा नेपालको व्यवहारिक कानुन तथा मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग भन्ने पुस्तक छपाएकी छन् । पुस्तकको शीर्षक अनुसार कम्प्युटरको प्रयोगको कथा  २९० पृष्ठ लामो पुस्तकमा आधा हुनुपर्ने हो तर यसमा नेपालमा कम्प्युटरको प्रवेश र मालपोत प्रशासनमा कम्प्युटरको प्रवेश ।०४२ सालमा तत्कालिन श्री ५ को सरकारले जग्गा स्रेस्तालाई  प्रभावकारी र राजस्व तथा मालपोत असुलीमा शुद्धता ल्याउन २०४३ सालमा राष्ट्रिय कम्प्युटर केन्द्रसँग सम्झौता गरेको थियो  सुरुका वर्षमा प्राविधिक कठिनाइले भनेजस्तो काम गर्न नसकेपनि २०४६ सालतिर भने त्यसको प्रभावकारिता रहेको बताइएको छ ।

काठमाडौँको मालपोतमा काम गर्नको लागि त्यति बेला सुविधायुक्त कोठा तयार पारी  मेसिनटोस एसई वीथ २० एमवि एचयु र मेसिनटोस ५१२ को २ ओटा कम्प्युटर र २ ओटा प्रिन्टर राखी दैनिक सञ्चालन गरिएको थियो । २ सय ओटा डिस्केटमा डाटाहरु संकलन गरिएको छ । जसमा काठमाडौँका १३ ओटा गाउँ पञ्चायतको डाटा राखिएको जनाइएको छ । त्यसबाहेक कर्मचारीको तलबी फाराम पे रोल दशैँ खर्च तथा उनीहरुको संचयकोष कम्प्युटरबाट तयार पारिने व्यवस्था रहेको कुरा राजभण्डारीले लेखेकी छन् ।

२०४० देखि २०४६ कार्तिकसम्म नेपालका शिक्षा राजस्व स्वास्थ्य कृषि बन रक्षा प्रहरी वैङ्किङ्ग आदि क्षेत्रमा ५० भन्दा बढी मोडलका २ हजार कम्प्युटर भित्रिएको अनुमान २०४६ सालमा सुमित्रा राजभण्डारीले आफ्नो पुस्तकमा गरेकी छन् ।


अन्तमा
जसरी २०२८ र २०३८ सालको एक दशकमा कम्प्युटरलाई देवत्वकरण गरियो । त्यो बेला त्यस्तै थियो पनि । तर अहिले पनि त्यसै गरी इन्टरनेटको पहुँच भयो भने हाम्रा समस्या तुरुन्तै समाधान हुन्छन झैँ गरी व्याख्या गरिँदैछ । मानौ इन्टरनेट आइसकेपछि हाम्रा समस्या नै हुँदैनन् । हरेक निकायमा यसले काम गर्छ । तर त्यसो नभएर यो त एउटा माध्यममात्र थियो । इन्टरनेट पनि त्यस्तै माध्यम मात्र हो । यसले हाम्रा काम व्यवस्थापन गर्न सघाएपनि समाधान गर्ने अचुक विधि थिएन र होइन ।






यो लेख २०७३ जेठ ८ गते २१ मे २०१६ सनिवार नागरिक दैनिकको ८ पृष्ठमा पनि छापिएको थियो । यसलाई नागरिकन्युज डटकममा पनि गएर पढ्न सकिन्छ ।

२५ मार्च २०१६
प्रविधि र समाज सृंखला

Thursday, February 11, 2016

मितेरी गाउँको कथा



कास्की जिल्लाको ताङतिङ पुग्दा, यसले बेलायती गाउँसँग ‘मितेरी साइनो’ गाँसेको थाहा पाएँ । गाउँ मात्र होइन त्यहाँको स्कूलले पनि मितेरी साइनो गाँसेको थियो । नेपालको दुर्गम हिमाली गाउँ ताङतिङले बेलायतको सुगम ठाउँ देवदेन र वीमविशसँग कसरी मितेरी साइनो गाँस्यो ? यो उत्सुकताले म घेरिएँ । बेलायतमा उस्तै आर्थिक सम्बन्ध भएका गाउँबीचमा ‘जुम्ला’ (ट्वीन) सम्बन्ध गाँसिन्छ । तर हाम्रो समाजमा रहेको ‘मितेरी साइनो’ अलि फरक छ । पहिला गाउँबाट टाढा गएर बास बस्दा ‘आउँदाजाँदा काम लाग्ने’ भन्दै मितेरी साइनो पनि गाँसिन्थ्यो । गाउँमै पनि सम्बन्धको दायरा बढाउन मित लाइन्छ ।

हिउँदताका ताङ्गतिङ्गको बेसीबाट देखिने हिमाली दृष्य

पर्यटकीय कास्की जिल्लामा पर्ने ताङतिङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को दक्षिणमा पर्ने हिमाली गाउँ हो । यहाँ पुग्दा “तालुमाथि ठाउँ छैन ताङतिङमाथि गाउँ छैन” भन्ने उखान सुनिन्थ्यो । हुन त उपल्लो भेगका धेरै हिमाली गाउँलाई यसै भन्ने गरिन्छ । पोखराबाट २७ किमी उत्तरपूर्वमा पर्ने ताङतिङ  अप्ठ्यारो भू संरचनामा पर्छ । यस्तो भूगोल भएपनि पहिलेदेखि नै ताङतिङको सम्बन्धका ऐतिहासिक पाटा छन् । गोर्खा सैनिक उमार्ने थलो भएकाले बाँकी विश्वसँग यसको पूरानो सम्बन्ध छ ।

पश्चिमी मोहडामा फर्किएको ताङ्गतिङ्ग गाउँ


पहिलो महायुद्ध देखि नै ताङतिङका मानिसहरु “गोठालो देखि गुर्खाज” बने । गाउँ नै खाली हुने गरी युवालाई भर्ती गर्न भारतबाट गल्लावाल आउँथे । यो दुःखको इतिहाससँगै ताङतिङको सम्बन्धको दायरा देशविदेशमा बढ्दै गयो । वि.सं. २०००को दशकदेखि यहाँका वासिन्दाले पोखरा, बेलायत, हङकङ, काठमाडौँ आदि ठाउँमा बसाइसराइ गरे । स्थानियका अनुसार हाल पोखरामा कम्तिमा १४५, काठमाडौँमा ११ र बेलायतमा ४० परिवार घर बनाइ बसेका छन् । विदेश बसेका र त्यहाँबाट गाउँ फर्केकाको हाउभाउ देखेका गाउँलेहरुले “जीवन पूर्ण हुन एकपटक विदेश जानुपर्छ” भन्ने मान्यता बनाएका पनि छन् । ‘एकदिन विदेश नगई मर्नु हुँदैन’ भन्ने ‘विदेश सपना’ गाउँमा जवर्जस्त छ ।

ताङ्गतिङ्गसँग मितेरी साइनो गाँसेपछि वीम्विसको सडकमा टाँसिएको बोर्ड (तस्बिर टिटिए)

यसरी गाउँ छोडेका ताङतिङेले सम्बन्धित ठाउँमा सम्पर्क समाज बनाइ बसेका छन् । पोखरामा बसाई सरेका ताङतिङ पूख्र्याैली हुनेले २०४२ सालमा ‘दुधपोखरी तमु समाज’को स्थापना गरे । बेलायतमा ताङतिङबाट आएका व्यक्तिले ‘ताङतिङ समाज युके’ गठन गरेका छन् । फेसबुक जस्ता नयाँ मिडियाले यो क्रमलाई अझ तीब्र पारेको छ । यसै क्रममा बेलायतमा रहेका पूर्व गोर्खा आर्मीको संयोजनमा उनीहरु बसोबास गरिरहेका उत्तरी बेलायतमा पर्ने देबदेन, देबदेन ग्रीन र वीमविश गाउँलाई ताङतिङसँग मितेरी साइनो गाँसिदिएका छन् ।

२०६७ सालमा बेलायतको गोर्खा सैनिक बस्ने ठाउँ कार्भर ब्यारेकको हवाइमैदानमा “गोर्खा सैनिकले ब्याण्डबाजा बजाए, बेलायती गाउँ देवदेन र वीमविशका स्कुले विद्यार्थीले नाचगान गरे । ताङतिङ र यसको वरिपरीको गाउँबाट बेलायत गएका नेपालीले सोरठी नाच नाचे” म्याट कासेले ताङतिङ डट ओआरजीको वेबपेजमा लेखेका छन् । यो अवसरमा बेलायत स्थित नेपाली राजदुतको उपस्थितिमा ‘जुम्ला’ सम्बन्ध गाँसियो । बेलायती गाउँहरु र ताङतिङ बीच सम्बन्ध गाँसिएको सन्दर्भबारे यसका संस्थापक गौबहादुर तमु स्थानीय पत्रिकाको स्मारिकामा लेख्छन् : “देवदेन र वीम्बीशमा भर्खर निर्वाचित भएकी डिष्ट्रिक काउन्सिलर टिना नाइट त्यहाँ बसोबास गर्ने पूर्व गोर्खा सैनिकलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सल्लाह गर्न आएकी थिइन् । त्यही बेला मैले ताङतिङका  मानिसको कष्टकर जीवनबारे बताएँ ।” धेरै भेटघाट पछि टिनाले ‘जुम्ला’ सम्बन्ध राखेर सहयोग गर्ने प्रस्ताव गरिन् । यूरोपमा उस्तै आर्थिक हैसियत भएका गाउँहरुबीच ‘जुम्ला’ सम्बन्ध गाँसेपनि असमान आर्थिक हैसियतले गर्दा ताङतिङेहरुलाई असजिलो महसुस भएको थियो । तैपनि टिनाले ‘म गाउँले सबैलाई मनाउँछु’ भन्दै देवदेन र वीमबीश गाउँमा यो प्रस्तावको सर्भे गराइन र यो प्रस्तावलाई धेरैले मन पराए । र मित लाइयो ।
मितेरी गाउँको सहयोगमा खोलिएको शिशु स्याहारमा रहेका बालबालिका

मितेरी गाउँको सहयोगमा२०६७ सालमा ताङतिङमाशिशु स्याहार केन्द्र खोलियो । दिउँसोमा बच्चाहरुलाई केन्द्रमा छोडेर आमाबाबु काम गर्न सजिलो होस् भनेर। मितेरी साइनो गाँस्नु अघि गाउँमा आएका पर्यटकलाई राख्ने होटेलहरु थिएनन् । २०६८ सालमा ताङतिङ मितेरी संगठनका संस्थापक लक्ष्यबहादुर गुरुङसँग आएका कर्नेल क्रोम्बीलेआफ्नो स्वर्गीय श्रीमती सुजीको नाउँमा ‘पर्यटक होस्टेल’को लागि २ ओटा स्थानीय घर किनेका थिए । जसलाई ताङतिङमा ‘सुजी घर’ भनेर चिनिन्छ । ताङतिङका वृद्ध तथा गरिवलाई सहयोग गर्न कल्याणकारी कोषको स्थापना गर्ने, आफ्नो ठाउँका नागरिकलाई पर्यटकको रुपमा ताङतिङमा पठाउने, दलित विद्यार्थीको लागि स्कूल तथा कलेजको शुल्क तिरिदिने, गाउँमा रहेको लघु जलविद्युत मर्मतको लागि मितेरी गाउँले सहयोग गरेको छ । यसैक्रममा ताङतिङतर्फको संयोजक रहेका हिमालयन मिलन माविका शिक्षक प्रकाश गुरुङले स्कूल शिक्षाको सुधारविस्तारको लागि बेलायत भ्रमण गरेका थिए ।
स्थानीय उनबाट तयार पारेको कम्बल प्रशोधन गर्दै । यो पोखरा, काठमाडौँ तथा यूरोप अमेरिकामा विक्री हुन्छ

ताङतिङलाई विश्वसँग जोड्न बेलायतको ‘द पहर ट्रष्ट’को योगदान छ । पहर ट्रष्ट पूर्व बेलायती सेनाका ब्रिटिस तथा गोर्खा सेनाले मिलेर खोलेको आइएनजिओ हो । यसले नेपालका उच्च पहाडी र हिमाली क्षेत्रका विद्यालयलाई भौतिक सहयोग र बेलायतका स्कूलसँग साइनो गाँसिदिने काम गर्छ । यसलाई ताङतिङबासीले ‘गड फादर’ भन्छन् । अहिले पनि पहर ट्रस्टको अनुरोधमा प्रतेक वर्ष १५ जना भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति दिइरहेको छ । यहाँको हिमालय मिलन माविसँग बेलायत र आयरल्याण्डवीचको भूभाग ‘आयल्स  अफ म्यान’को ‘सेन्ट थोमस स्कूल आयल्स अफ’ले मितेरी साइनो गाँसेको छ । त्यसैगरीे बेलायतको मेड स्कुल अफ गलसँग पनि मितेरी साइनो गाँसेको छ । प्रधानाध्यापक प्रकाश गुरुङका अनुसार यो स्कूल अहिले सबैभन्दा ठूलो सहयोगी हात हो ।
बेलायती संस्था पहर ट्रष्टको सहयोगमा निर्माण गरिएको स्कूल भवन
‘द पहर ट्रष्ट’ले २३ हजार ३२० अमेरिकी डलरको सहयोगमा स्कूलको कंक्रिट भवन बनाइदिएपछि निम्न माध्यमिक तहबाट माध्यमिक तहमा उक्लेको थियो । स्कूलका प्रधानाध्यापक प्रकाश गुरुङले पोखराबाट प्रकाशित तमुहरुको एक स्मारिकामा लेखे अनुसार ‘आयल्स अफ म्यान’का जोन रेलीले स्कुलमा १२ हजार ९०२ अमेरिकी डलर सहयोगमा छात्रावास भवन बनाइदिए । पहर ट्रष्ट मार्फत बेलायतको मेडस्टोन ग्रामर स्कूलले विद्यालयमा पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला लगायत सहयोग गरेका छन् । हाल स्कूलको छात्रावासमा गाउँकै ढिँडोफाँडो खाइ विद्यार्थीहरुले एसएलसी दिइरहेका छन् । हरेक वर्ष यहाँका झण्डै शतप्रतिशत विद्यार्थी पास हुन्छन् । सहायक प्रधानाध्यापक दिलिप गुरुङका अनुसार कतिपय अभिभावकले पोखराको बोर्डिङ छाडेरपुख्र्यौली गाउँको स्कूलमाएसएलसीसम्म छोराछोरी पढाइरहेका छन् ।

गाउँको उत्तरी दिशामा रहेको छ्योर्ते

ताङतिङमा गरिने यस्ता कल्याणकारी कामको लागि बेलायतको ‘मितेरी’ गाउँमा विभिन्न किसिमका सहयोग संकलनका कार्यक्रम गरिन्छ । मितेरी गाउँका म्यानफ्रेड स्टेगरका अनुसार त्यहाँ ‘गार्डेन पार्टी’, ‘टी पार्टी’ ‘फोटो प्रतियोगिता’ आदि गरिन्छ । आयोजित यस्ता कार्यक्रममा नेपालमा उत्पादन गरिएका घरेलु वस्तु विक्री गरिन्छ । यी कार्यक्रमको प्रचारप्रसारको लागि वेबपेज पनि खोलिएको छ । वेबवेजमा दानपेटिका पनि छ । एकपटक मात्र दान गर्ने कि महिनामा नियमित सहयोग गर्ने जस्ता सुविधा रहेको छ । विशेष सहयोगको लागि बेलाबेलामा वेबपेजबाटै अपिल गरिन्छ ।


पाहुनालाई घरभित्र स्वागत गर्दै ताङ्गतिङ्गका स्थानिय

यसरी मितेरी साइनो सामाजिक र आर्थिक पूँजी बनेको छ । असमान आर्थिक हैसियत भएका सँस्थाहरुवीचमा ‘सहयोग सँस्कृति’ भित्र्याएको देखिन्छ । हिमाली गाउँहरुमा गोर्खा लाहुरे र पर्यटनको लामो इतिहास भएकाले पनि बाँकी विश्वसँगको सम्बन्ध बलियो भएको हो । र इन्टरनेट वा फेसबुक जस्ता नयाँ मिडियाले भू–ऐतिहासिक (पर्यटन र गोर्खा)सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गरेका छन् ।
१२ पुस, २०७२, शब्द ९८०

Tuesday, November 24, 2015

जेस्तापुरको 'नालुँ लकाँ'




त्यसबखतको नेपाल पुस्तकमा भीमबहादुर पाँडेले त्यसबखत काठमाडौँका प्रशासकहरु नालाको जुत्ता (नालुँ लकाँ) लगाउँथे भनेर लेखेका छन् । यी जुत्ता जेस्तापुर (हरिसिद्धिको पुरानो नाउँ), सानो गाउँ तथा लुभुतिरबाट आउने तथ्य पाँडेले पुस्तकमा लेखेका छन् । के हो यो नालाको जुत्ता ?
नालाको जुत्ताबारे जान्न काठमाडौँको दक्षिणी भेगमा जाने उत्सुकता थियो । कहाँ जाने निश्चित नभएपनि एक सनिवार विहानै माथिका तीन ठाउँमध्ये कुनै एकमा जाने भनेरै हिँडे । लुभु धेरैपटक गएको, सानो गाउँको बाटो थाहा नभएकोले सातदोबाटोबाट हरिसिद्धितिर गएँ ।

त्यहाँ पुग्दा भूकम्पले तहसनहस पारेको घरहरुलाई आआफ्नै ढंगले मर्मत गरिरहेको देखिन्थ्यो । मन्दिर नजिकैको सत्तलमा बसिरहेका ३ जना पाका मानिसहरु नजिकै पुगेर सोधेँ । "तपाईलाई नालाको जुत्ताबारे केही थाहा छ ?"दुईजनाले मेरो कुरामा चासो दिए । उनीहरुले नालाको सट्टा 'नालुँ' शब्द उच्चारण गरिरहेका थिए ।

नालुँ एककिसिमको रेशादार वनस्पति रहेछ । वीउको जोहो गरेर मानिसहरुले बारीमा लगाउने रहेछन् । हुर्कीसकेपछि यसलाई गृष्मयामतिर काटिँदोरहेछ । काँडादार नालुँलाई पानीमा वा हिलेपानीमा गाडेर पकाइँदोरहेछ । अर्घाखाँचीतिर फोस्रो, फलेतो जस्ता बोटका हाँगालाई चोयाले एकमुस्ठ बाँधी पानीमा गाडिन्छ । त्यस माथि बाँसको सिठाले च्यापी, सिठालाई ढुंगाले थिचिन्छ । १०/१२ दिनपछि यसलाई पकाएर वा कुहाएर त्यसबाट रेशा निकालिन्छ । केतुकीको पातलाई त ठटाएर रेसा निकालिन्छ । त्यसैबाट दाम्लो नाम्लो आदि बनाइन्थ्यो । मेरो विचारमा यस्तै प्रकारले नालुँलाई १०/१२ दिन हिलोमा गाडेर पकाएपछि त्यसको भित्री भागबाट बोक्रो लोक्त्याइन्छ । त्यसपछि लुगा धोएजस्तो पिटानीले पिट्दै, ढुँगामा लछार्दै पछार्दैसफा गरेर सुकाइन्छ । सुकेको नालुँको रेशालाई बटारेर मसिनो डोरी बनाइन्छ । यही डोरीबाट नालुँको जुत्ता बन्छ ।
विक्रीको लागि राखिएको सुँ लकाँ

हरिसिद्धिको उत्तर दक्षिणतिर ४ ओटा गेटहरु छन् । ती गेटहरुभित्र छालाको जुत्ता परम्परादेखि बर्जित थियो । मसँग कुरा गरिरहेका राजेन्द्र र यज्ञराम महर्जनका अनुसार यो चौगेटभित्र भगवतीको मन्दिर छ । र यहाँ लाग्ने जात्रामा हात्ती हिँडाइन्छ । हात्तीले छालाको जुत्ता लगाएको विश्वास स्थानीय मानिसमा भएकाले'भगवानले लगाउने जुत्ता हामीले लगाउनु हुँदैन' भन्ने विश्वासले यहाँ छालाको जुत्ता परम्परागत रुपमा लगाइँदैन । तर हिजोआज छालाको जुत्ता नभइ नहुने हुँदा स्थानीयले यो मान्यता पालना गर्न सकेका छैनन् ।

राजेन्द्र र यज्ञरामका अनुसार नालुँ र सुँ(पराल)को लकाँ (जुत्ता)ले सामाजिक स्तरीकरणको देखाउँथ्यो । नालुँको रसी मसिनो गरी बाट्न सकिने, बलियो हुनाले यसबाट बनेका जुत्ता राम्रा पनि हुन्थे । गाउँमा नालुँको जुत्ता अलि ठूलाबडाले मात्र लगाउँथे । त्यति बेला सर्वसाधरण खाली खुट्टा हिँड्थे वा परालको जुत्ता बनाएर लगाउँथे । अहिले त्यहाँ नालुँको जुत्ता बनाइँदैन । नालुँको खेति नै गरिँदैन । बरु गाउँभर परालको जुत्ता बनाइन्छ । 

जुत्ता बनाउनको निम्ति खेतबाट पराल ल्याउँदै

हरिसिद्धिको गाउँमा घुम्दै गर्दा घर अगाडी पराल सुकाएको यत्रतत्र भेटिन्थ्यो । एकजना बजैलाई "तपाइले कहिल्यै नालुँको जुत्ता लगाउनुभयो ?" भनि मैले सोधेँ । नेपाली भाषा बुझे पनि फर्काउन अप्ठ्यारो मान्दै उनले नालुँको जुत्ता नबनाएको र नलाएको बताइन् । उनले परालको जुत्ता बनाउने र बेच्ने घरतिर लगिन् । "उहाँलाई परालको जुत्ता चाहिएको छ रे" भन्दै अर्की बजै सामु मलाई हस्तान्तरण गरेर फर्किन् । दोस्री बजैले आफ्नो घरको उपल्लो तलामा डोराउँदै लगिन् । त्यहाँ कम्तिमा १५ जोर जुत्ता सिँढिको रेलिङ्गमा झुण्डाएको देखाइन् ।"कतिजोर लैजाने ?" भन्दै एकजोर जुत्ताको ६५ रुपैँया पर्ने बताइन् ।

त्यसपछि दक्षिणी भेगकोपिपलको रुखमुनी सुकुल ओछ्याएर गफ गरिरहेका २ जना पाका मानिस भएनिर गएँ । ३ ओटा जङ्कु(नेवारी समुदायमा ७७ वर्षको हुँदा पहिलो जङ्कु गरिन्छ, दोस्रो ८३ र तेस्रो ८८ वर्षमा गरिन्छ)गरेकी आमासँग बसेर मैले नालुँको जुत्ताबारे गफ गरेँ । ८८ वर्ष पार गरेकी हिलठकुँ महर्जनले नालुँको बोट 'नर्कट' जस्तै हुने बताइन् । मैले 'नर्कट' कस्तो हुन्छ बुझिन । "के यो मकैको डाँठ जस्तै हुन्छ ?" अगाडि बारीमा रहेका मकै देखाउँदै सोधेँ । उनले चित्त नबुझे पनि "अँ अँ" भनिन् । 
नालुँको जुत्ता यसरी बुनिन्थ्यो भनेर देखाउँदै हिलठकुँ महर्जन


नालुँ भन्दा पनि बनकेराको रेशाबाट बनाएको जुत्ता(बाकुँ लकाँ ?) पनि बलियो हुन्थ्यो । बनकेराबाट बनाउने जुत्ताको प्रक्रिया पनि नालुँ जुत्ता जस्तै हो ।नालुँ र बनकेराको रेसाबाट जुत्ता बाहेक डोरी बनाउने र यस्तो खालको डोरी बलियो हुनाले दाउरा बान्न, खेतबारीमा परालबान्नको निम्ति प्रयोग गरिन्थ्यो ।

राणाकालमा उनीहरुको निम्ति नुनतेल, जिरा, मरिच लिन जाँदा वा राणा साहेवज्यूलाई काठले बनेको डोलीमा बोकेर भीमफेँदीतिर लैजान हरिसिद्धिका जवानहरु पनि जानुपर्थ्यो । त्यति बेला उनीहरुले ३ जोरसम्म परालको जुत्ता बोकेर जानुपर्थ्यो । यी तीनजोर जुत्ता भीमफेँदी गएर आउँदासम्म फाट्थे ।
जुत्ताबाहेक हरिसिद्धिमा चट्टी (चप्पल) पनि बनाइन्थ्यो । तीनतीर खोपिएका परालका चट्टी बनाइन्थ्यो । सकन्द महर्जनले हास्दै भने,"अहिले चप्पल बनाउने बजारु कम्पनीले हरिसिद्धिका चट्टीको नक्कल गरेका हुन् भन्ने गाउँघरमा कहावत छ ।"

नालुँको उत्पादन गाउँमा अहिले नभएपनि केही परिवारलाई ठमेल, पाटनतिर पर्यटन व्यावसाय गरी बसेका मानिसले नालुँको रेसा ल्याइदिएर जुत्ता बनाउन लगाउँछन् । यसबापत प्रतिजोरको ३०० रुपैँया ज्याला दिन्छन् । सकन्द महर्जनको श्रीमतीले ठमेलका एक व्यावसायीको लागि गतसाल (२०७०) यस्तो काम गरेकी थिइन् । यसरी जेस्तापुरका महिलाले बुनेका नालुँ लकाँठमेलतिर बाहेक पाटनको माफाल चोकमा पनि किन्न पाइन्छ ।

सँगैबसेर कुरा गरिरहेका ६० वर्षिय चन्द्र महर्जनले अनुमान गर्दै भने "अहिले हरिसिद्धिमा दिनको २०० जोर परालको जुत्ता(सुँ लकाँ) बुनिन्छ होला ।" यसरी तयार पारेका जुत्ता हरिसिद्धिको छिमेकी 'सानो गाउँ'का व्यापारीले खरिद गरेर काठमाडौँमा विक्री गर्छन् । "यी जुत्ताको भाउ नै छैन" सकन्दले भने । कहिले कति रुपैँयाविक्री हुन्छ कहिले कतिमा ! भूकम्प जानु अघि ५० रुपैँया जोर विक्री हुने जुत्ता पछि ६० देखि ७० रुपैँयासम्म पर्ने उनले बताए । भुकम्पले तहस नहस पारेको हरिसिद्धिमा मानिसहरु जुत्ता बनाउने फुर्सदमा नभएकाले पनि महँगो पर्न गएको हो । हरिसिद्धिको छिमेकी सानो गाउँका मानिसहरुले एकपटकमा ३ देखि ४ सय जोर जुत्ता धोक्रामा राखेर विक्रीको लागि लैजान्छन् । उनीहरुले १२० रुपैँया देखि १५० रुपैँयासम्म बजारमा बेच्ने गरेका छन् ।

पशुपति लगायतका घाटहरुमा वा सुत्केरी महिलाले वा ढलान घरमा यसको प्रयोग गर्ने भएकाले गाउँमा जत्ति जुत्ता बुनेपनि खपत हुन्छन् । खास गरी जाडो याममा । सकन्दले भने "वातको रोग भएका विरामीहरुलाई पनि राम्रो हुनेहुँदा यसको बजार राम्रो छ ।" यस्तो खालको जुत्ता बनाउने काममाप्राय: पाका मानिस लागेका छन् । एक जनाले दिनमा २ जोरसम्म परालको जुत्ता बुन्न सक्छन् ।नालुँ, बनकेरा,परालको जुत्ता बनाउने हरिसिद्धिका मानिसहरुले हिजोआज बजारमा आउने प्लास्टिकको रसीबाट पनि जुत्ता बनाउँछन् ।

जुत्ता बुन्ने काम फुर्सदको समयमा मात्र हुन्छ ।हिँडेर ३० मिनेट लाग्ने छिमेकी सानो गाउँका महिलाले आफ्नो फुर्सदमा जुत्ता बुन्दैनन् सुकुल बुन्छन् । अर्को छिमेकी गाउँ लुभुमा तान बुन्ने काम धेरै हुन्छ । यसरी यी गाउँहरुमा फुर्सदको समयमा हुने कामको विशिष्टिकरण छ । एकअर्काको सहमतिमा गाउँहरुको काम विभाजन गरेका छन् ।

नालुँ लकाँ गाउँका हुनेखानेले मात्र लाउने चलनले यो तत्कालिन राज्यका ठूलाबडासँग जोडिएको बुझ्न सकिन्छ । राणाशासनको अन्ततिर काठमाडौँ तथा पाटनका सरकारी कर्मचारीले नालुँको जुत्ताको माग गरेकाले त्यो समयमा यसको बढ्दो प्रयोग भएको बुझ्न सकिन्छ ।सर्वसाधरण त परालको जुत्ता नै प्रयोग गर्थे । अहिले परालको जुत्ताको प्रयोग पनि पशुपति लगायतका ठाउँमा र नालुको जुत्ता पर्यटकको लागि प्रयोग भइरहेको छ ।
४ नोभेम्बर २०१५
यो लेख २०७२ असोज १९ गते सनिवारको कान्तिपुर कोसेली वा http://kantipur.ekantipur.com/printedition/news/2015-12-05/20151205093412.html# मा पढ्न सकिन्छ ।

Thursday, October 1, 2015

घर नं. ११९, चोखाछेँ गल्ली



चोखाछेँ गल्ली खोज्न कष्ट थिएन । इन्द्रचोकबाट पश्चिम फर्केर आँखा चिम्म पारे पनि पुगिँदो रहेछ । गल्ली साँगुरो थियो । अँध्यारो पनि । सनिबार र नाकावन्दी भएकाले होला अरुदिन झैँ भिडभाड थिएन । चुरोट तानिरहेका दाईले मेरो गन्तव्य देखाइदिँदै भने, "ऊ परै जानुस् त्यहाँ छ छाता भण्डार ।" सटरमाथि पुक्क उठेका ठाउँतिर लेखेका अक्षर पढ्दै हिँडे कतै देखिएन । अलि परपुगेपछि सुन टुकटुक पारेका युवाले अघि आएकै बाटोतिर औँला तेर्साउँदै भने "ऊ त्यही हो ।" उहीँनिर पुगेपछि ढोका ढ्याम्म लगाएको देखेँ । तर बाहिरपट्टी फोन नम्बर लेखेको थियो । मोबाइलमा 'बेलेन्स' सकिएकोले फेरि इन्द्रचोकमै फर्कनुपर्यो । रिचार्ज पछि फोन गरेँ । त्यो त साडीको फल्स राख्ने मान्छेको पो नम्मर पो रहेछ । भएन ! अब घण्टी बजाउँदै छिर्नुपर्यो भन्दै गएँ । ढोका लगाएका घरहरुमा विस्तारै हेरेँ कतै घन्टी थिएन । एउटा घरको ढोका खुल्लै थियो । ढोकामा '११९ क' का मुनी 'चोखाछेँ गल्ली' लेखिएको थियो । १८० डिग्री घुम्दा पनि घण्टी कतै देखिएन । निहुँरिँदै पुरानो घर कटेपछि भित्र नयाँ बान्कीको घर देखियो । खाली कम्पाउण्ड पनि थियो । सोध्नलाई यताउती मान्छे खोजेँ अहँ कोही चुँ सम्म बोलेको आवाज सुनिएन । जताततै चाबी झुन्डाइएको थियो । घन्टी पनि थिएन । गेट छङ्ग्रङ्ग बजाएँ । "तल को ?" नेपथ्यबाट आवाज आयो । के भन्ने एकैचोटी आफु आउनाको कारण बताउन नसकिने भएकाले "यसो तल आउनोस् न ।" विनयशिल आवाजले भने । चौथो तलाबाट इनारको पानी हेरे झैँ एक ढल्कँदो उमेरका मान्छेले मलाई हेरे र "के हो बाबु ?" भन्दै सोधे । इनारको पानीले बोले झैँ तलबाट माथि फर्कँदै भने "म विद्यार्थी हुँ छाताको बारेमा लेख्न चाहन्छु, मलाई कसैले यो गल्लीमा जानू, त्यहाँ छाता बनाउने पूराना मान्छे भेटिन्छन् भनेकाले आएको हुँ ।" उनी केही बोलेनन् । तल झर्न थाले । हात बाँधेर म उनको प्रतिक्षा गर्न थालेँ । यता उती हेरेँ । त्यहाँ बेतका घुम्री परेका प्रशस्त लौराहरु थिए । त्यस्ता लौरा टेकेर साहु तथा पण्डित बुढाहरु हाम्रो गाउँघरमा हिँडेको मलाई पनि थाहा छ । पक्कै पनि ठीक घरमा आएछु भन्ने लाग्यो । मनमा तर्कनाहरु खेलिरहेका थिए । उनी आउँदैनन् कि भन्ने शंका लागिरहेको थियो तैपनि धेरैबेर कुराएपछि तल झरे । मैले आफ्नो परिचय दिँदा पनि उति तत्तु दिएनन् । उतै अँधेरो गल्लीतिर मलाई डोराए । कोठा पनि एकदमै अँधेरो थियो । दक्षिणतिरको झ्यालबाट एकोहोरो लाइट आएकोले लेख्न मिल्थ्यो । विचमा मैले सोधेँ "सरको नाम के होला ?" त्रिभुवन विश्वविद्यालयले सम्मान गरेका प्रमाणपत्र घरबाहिरबाटै सिँढीपिच्छे देखिन्थे, त्यसैले मैले सर भनेर सोधेँ । नत्र बाजे भन्थे होला । नाम सोधेपछि उनले भने "विद्यामान शाक्य ।" घर्राबाट आफू र उद्योगको बारेमा लेखेका दुइटा चिर्कटा तेर्साउँदै भने, "मेरो बारेमा यहाँ लेखिएको छ ।" ति चिज मैले फुर्सदमा पढुँला भन्दै छेउ लगाएँ । बरु, उनीसित कुराको पोयो खोल्ने कोशिस गरेँ । ठाउँ एकदमै सुनसान थियो । काठमाडौँमा खोलिएको पहिलो छाता उद्योग विद्यामानका बाजे आशामानले वि.सं. १९९३ (सन् १९३६) सालमा अर्थात् राणाकालको आखिरी दशकतिर सुरु गरेका रहेछन् । कलकत्ताबाट छाताका सरसामान ल्याएर चोखाछेँ गल्लीमा त्यसको जडान गर्ने गरी । अंग्रेजी बान्कीमा कुरा गर्दै विद्यामानले भने "कलकत्ताबाट समान ल्याएर यहाँ एसेम्बल गर्थ्यौँ ।" उनका बाजे आशामान राणाकालमा ३२ कोठे साहु महाजन रहेछन् । उनले भने, "मेरा बाजेले नयाँ कामको सुरुवात गर्ने भनेर सुनको पेशा छोडेर छाता व्यावसायमा लाग्नुभएको हो ।" फेरि सोधेँ "किन छाता नै अरु व्यावसाय पनि त गर्न सकिन्थ्यो ?" मेरो खुल्दुलीको विद्यामानले बुझ्दो जवाफ दिन सकेनन् । उनले आफूसँग भएका अन्य सूचनाहरु भने मलाई दिँदै गए । सुरुमा अर्थात् १९९३ सालमा एउटा छाताको ७५ पैसा पर्थ्यो । त्यति बेला सुनको भाउ २८ रुपैँया तोला थियो । एउटा छाता किनेवापत एउटा पेन्सिल 'फ्रि'मा दिने 'स्किम' पनि उनका बाजेले चलाएको कुरा आशामानले बताए । वि.सं. १९९० र २००० को दशकमा २० जना कालीगढलाई काम भ्याइनभ्याइ हुन्थ्यो भन्दै उनले भने "त्यति बेला १ हजार दर्जन छाता नेपालभरका डिपोहरुमा सप्लाइ हुन्थ्यो ।" त्यो भनेको १२ हजार प्रति छाता हो । मैले कर गरेपछि उनले भने, "त्यस्तो छाताहरु नेपालभर रहेका करिब ५० डिपोहरुमा जान्थ्यो होला ।" जस्तो त्रिशुली डिपो, पाल्पा डिपो आदि । ति डिपोका महाजनले काठमाडौँको असन इन्द्रचोकमा समान खरिद गर्न आउँदा छाता पनि लिएर जान्थे । नेपालको पहाडी जिल्लाहरुमा यसको खपत निकै थियो । उनले भने "लौराको पनि काम गर्ने भएकाले यसको महत्व पहाडी इलाकामा एकदमै थियो ।" वि.सं. १९९० तिर छाताको विकल्पमा मान्छेहरुले के ओढ्दाहुन् । मेरो मनमा कुरो खेलिरहेको थियो । ठिक्क ठिक्क बोल्ने विद्यामानले मलाई प्रश्न सोध्ने ठाउँ पनि दिइरहेका थिए । उनले भने "त्यति बेला पातहरुलाई बाँसको चोयाले बाँधेर टाउकोमा झुन्डाउने 'घुम' ओडिन्थ्यो ।" त्यस्तोलाई अर्घाखाँचीतिर 'सेँव' पनि भनिन्छ । भर्लाका ठूल्ठूला पातलाई चोयाले उनेर अर्घाखाँचीतिर सेवँ बनाइन्थ्यो । त्यस्ता सेवँहरु अझै पनि प्रयोगमा छन् । पोखराबाट उत्तरपूर्वी दिशामा पर्ने ताङ्गतिङ्गमा यस्ता सेवँ ओडेका मान्छेहरु २०७१ सालमा मैले देखेको थिएँ । घुमको कुरा सकिएपछि शाक्यले पानीपर्दा ओढ्ने पानीकागजको पनि कुरा गरे । उनले भने, "पानीकागजको चलन छाता पछि नै आएको हो ।" विद्यामानका अनुसार उति बेला छातामा हुने कटनको कपडामाथि प्लास्टिक बेरेर पनि मान्छेहरुले ओढ्ने गर्थे । कटनको कपडाबाट पानी सिमसिम चुहिने भएकाले छातालाई पनि प्लास्टिक ओढाएर हिँडिन्थ्यो । विवाह, गाइजात्रा, देउता डुलाउँदा र राजा-राणाहरुको लागि 'झल्लरी छाता' पनि चाहिने हुनाले त्यसको उत्पादन पनि विद्यामानको छाता भण्डारले गरेको हुन्थ्यो । वि.सं. २००० को दशकतिर बनाइने झल्लरी छातामा प्रयोग गरिने करङ (रिब) पनि काठको हुन्थ्यो । नेपाली कालीगढले नै नरम काठबाट यस्ता रिबहरु बनाउन सक्थे । अहिले यी झल्लरी छाताको माग भएपनि कालीगढको अभावले यसको उत्पादन हुन छोडेको छ । पहिला राजा-राणा र बाहुन क्षेत्रीहरुबाट यस्ता झल्लरी छाताको माग हुने गरेको शाक्यले बताउँछन् । भीमबहादुर पाँडेले त्यस बखतको नेपालमा लेख्छन्, राणा सरकारबाट "नवनियुक्त वडाहाकिमहरु काठमाडौँमा जतिसुकै लुते, गएगुज्रेका भएपनि जिल्लामा उत्रिनासाथ उनीहरुले वडा हाकीमको रौस, रवाफ र शान देखाउन सुरु गर्थे. . . अड्डा भित्र-बाहिर गर्दा वडा हाकिमलाई झल्लरी छाता ओढाइन्थे । काठमाडौँमा प्रधानमन्त्रीले ओढे सरह ।" यसरी राजा–राणाहरुबाट सिकेर रजौटा वा वडाहाकिमहरुले पनि यस्ता छाताको प्रयोग गरेको देखिन्छ । यी छाताहरु सम्मानको प्रतिक भएकाले सर्वसाधरणमा पनि आफ्ना देउता डुलाउनलाई, विहेमा वेहुलालाई ओढाउनलाई पनि प्रयोग गरिन्थ्यो । तर बेहुलीलाई भने डोली वा कार्पेटमा राखेर भित्र्याइन्थ्यो । छाता भण्डारले उत्पादन गर्ने झल्लरी छाताको पछिल्लो पटकको मूल्य ४ हजार देखि ६ हजारसम्म थियो । माग यथावत भएपनि विद्यामानलाई १४ हजार दिन्छु बनाइदिनुस् भन्दा पनि कालीगढको अभावले बनाउन सकेनन् । वि.सं. २००० देखि नै नेपालमा जोडजाड गरी बनाइएका छाताहरुको बजारलाई २०३९ साल देखि व्यापक रुपमा खासा कोदारी हुँदै अन्य वस्तुसँग आएका चाइनिज छाताको बजारले कमजोर बनाएको छ । विद्यामानका अनुसार चाइनाबाट फोल्डिङ्ग छाता आएपछि घर-बनुवा छाताको बजार सकियो । वि.सं. १९९० र २०००को दशकतिर १२ हजार प्रति विक्री हुने छाता चाइनिज छाताको बजार आएपछि ४ सय प्रति मात्र माग हुनथाल्यो । उनी भन्छन् "वि.सं. २०७० को दशकमा आउँदा अर्डर बाहेक २० ओटा छाता वार्षिक रुपमा विक्री हुन्छन् ।" त्यो पनि मनसुन यामतिर बजेट सिद्धाउनलाई सरकारी कार्यालयहरुमा यसको खपत हुन्छ । जापानतिर लैजानलाई कसैकसैले 'बेम्बु अम्रेला' भन्दै माग गर्छन् । तर विद्यामान भन्छन्, "मेरा कालीगढ अहिले मरिसके उनीहरुका श्रीमतीहरुले मात्र घरमा लगेर अर्डर बमोजिम बनाइरहेका छन् । वौद्धका एकजना कालिगढ मरेपछि त सकिए झैँ भएको छ ।" शंकरदेव क्याम्पसका पूर्व क्याम्पस प्रमुख विद्यामान नरम स्वभावमै मैले सोधेका कुराको उत्तर दिइरहेका थिए । ७५ वर्षमा टेकिरहेका उनी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायबाट अवकाश खाँदै गरेका प्राध्यापक पनि हुन् । नयाँ घरको सिँढिमा उनलाई त्रिभुवन विश्वविद्यालयले सेवामा योगदान गरेवापत दिएका तस्विरहरु छिँडी पिच्छे नै छन् । तर उनलाई ति सम्मान भन्दा पनि सिँडिमुनी घुसारिएका घुम्रीपरेका वेतका लौराको माया देखिन्थ्यो । २०७२ सालको महाभूकम्पले थिलथिलो पारेको पुरानो घर र अँध्यारो कोठामा राखिएका सरसमानहरु प्रति उनको अगाध माया गाँसिएको मैले 'फिलिङ्ग' गरेँ । उनले भने "मेरा बाजे आशामानले सुरु गरेको व्यावसायमा मेरा बुवा जीवनभर आश्रित हुनुभयो । म चाहि अर्ध आश्रित भएँ ।" कलेजमा पढाएपछि फर्केर छाता भण्डारमै काम गर्ने विद्यामानले रिटायर्ड भएपछि पनि यहिँ दिन विताइरहेका छन् । कुराको विट मार्दै उनले भने, "मेरा छोराले वैँकमा काम गर्छन् । कालिगढ पनि मरे । भूकम्पले पूरानो घर पनि थिलथिलो पार्यो । म पनि ७५ वर्षको भएँ । घर-बनुवा छाता पनि मसँगै जानेभयो ।"

 २०७२ असोज ९

यो लेख २०७२ असोज २३ गते सनिवारको कान्तिपुर कोसेली वा http://kantipur.ekantipur.com/printedition/news/2015-10-10/20151010094602.html मा पनि पढ्न सकिन्छ :

Thursday, September 17, 2015

डा. के.आई. सिंहको चीन प्रवास : नेपाल र चीनबीच औपचारिक सम्बन्धको सुरुवात-पुस्तक समीक्षा

पुस्तक : डा. के.आई. सिँहको चीन प्रवास (वि.सं. २००८–२०१२), लेखक : डा. भवेश्वर पंगेनी प्रकाशक : एड्रोइट पब्लिसर्स, न्यू दिल्ली । प्रकाशित मिति : २००६ ।
डा. भवेश्वर पंगेनीद्वारा लेखिएको डा. के.आई. सिँहको चीन प्रवास (वि.सं. २००८–२०१२) पुस्तकले भन्न खोजेको मुल कुरा डा. के. आई. सिंह राष्ट्रबादी व्यक्ति थिए भन्ने हो । यसका केही तर्कहरु छन् । पहिलो उनले २००७ सालमा भएको ‘दिल्ली सम्झौता’ को विरोध गरेका थिए । यो सम्झौता नेपालमा नै हुनुपथ्र्यो । जसकारणले डा. सिँहले नेपालमा प्रजातन्त्र आएपछि पनि शसस्त्र विद्रोहलाई कायम राखेका थिए । दोस्रो, स्वतन्त्र भारतले आफ्नो छिमेकी मुलुक नेपालमा सेना परिचालन गरेर उसको स्वतन्त्र अस्तित्वमाथि धावा बोलेकोमा उनको असहमति थियो । २००७ सालको प्रजातन्त्र आएपछि पनि उनले भैरहवा मोर्चाबाट शसस्त्र विद्रोह गरिरहँदा १००० को संख्यामा भारतीय फौज आएर उनलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको थियो । यो कुराबाट उनी भारतको विरोध गरेका थिए । २००८ सालमा उनलाई बन्दी बनाएर राखिएको सिँहदरबार नै कब्जा गरेर फेरि तत्कालिन नेपाली राजनीतिमा सनसनी मच्चाएका थिए । त्यतिबेला भारतीय राजदुतले नेपालमा भारतीय सेना भित्र्याउनुपर्छ भनेर पुनः राजासमक्ष अनुरोध गरेका थिए । त्यसैले उनी नेपालमा फेरि भारतीय सेना भित्रिने डरले ‘बरु’ आफै प्रवासी हुने सोँचले उनी उत्तरतिर लागेका थिए । यो पुस्तक पढेपछि मलाई लागेको कुरा अलि भिन्नै छ । डा. सिंहको यो ‘राष्ट्रवादी’ क्रियाकलापलाई महेन्द्रीय राष्ट्रवादको जग भनेको छु । किनभने यही कारणले नेपालले अन्तर्राष्ट्रिय रुपमा नेपाल र चीनबीच सम्बन्ध स्थापना गर्न मद्दत ग¥यो । चीनबाट फर्केपछि डा. सिँहलाई प्रधानमन्त्री बनाएर राजा महेन्द्रले चीनसँगको सम्बन्धलाई प्रगाढ बनाएका थिए । जुन कालान्तरमा पञ्चायत स्थापना गर्दा काम लाग्यो । भारतीय विरोध हुँदाहुँदै पनि उत्तरी छिमेकीसँगको ‘सुटुक्क’को सम्बन्धबाट राजालाई निर्वाचित सरकार विघटन गर्न हिम्मत बढेको थियो । मैले यो पुस्तकलाई तीन मुख्य रुपले हेरेको छु । पहिलो असफल विद्रोह र चीन प्रवास, दोस्रो भारत र अमेरिकी चासो । र, तेस्रोे नेपालमा उनको लोकप्रियता र फिर्ती प्रक्रिया । असफल विद्रोह र चीन प्रवास किन के.आई. सिंहले दिल्ली संझौताको विरोध गरे ? यो प्रश्नको उत्तर यो पुस्तकमा स्पष्ट छैन । तर दिल्ली सम्झौतालाई अस्वीकार गरेकोमा नेपालमा प्रजातन्त्र आएपछि पनि भारतीय सैनिकको संलग्नतामा गिरफ्तार गरी उनलाई सिंहदरवार भित्र कैद गरिएको थियो । उनी भारतीय सैनिक नेपालमा आएकोमा एकदमै रुष्ट थिए । उनको विचारमा स्वतन्त्र भारतले त्यस्तो कदम उठाउनु राष्ट्रवादी नेपालीको लागि लाजमर्दो विषय थियो । त्यसैले उनलाई भैरहवामा पक्रेपछि उनको इच्छा ‘भारतको भूमि टेक्दिन भन्ने थियो । त्यसैले उनको इच्छा मुताविक पाल्पा, पोखरा हुँदै काठमाडौँ ल्याइएको थियो । हेपाहा प्रवृत्तिले सिँह भारतविरोधी बनेका थिए । त्यसैले उनलाई काठमाडौँमा मान्छेहरु राष्ट्रवादी भन्थे । गणेशमान बीपी, टङ्कप्रसाद आदिले पनि उनलाई यस्तो संज्ञा दिएका छन् । उनी सिंहदरवारमा कैद हुँदा सिँहदरवार नै कब्जा गरे । एक दिन सम्म । तर भारतीय फौज फेरि आउने वा नेपाली फौजसँग भिडन्त हुने भयले उनी त्यहाँबाट भागेर रसुवा हुँदै चीन प्रवासतीर लागेका हुन् । यति नै सहयोगी भन्ने नभएपनि ३० देखि ५० जनासम्मको फौजलाई लिएर उनी काठमाडौँबाट हिँडे । उनले विशाल हिमालय पर्वत देखाउँदै आफ्ना जवानहरुलाई भने ‘हामी ऊ ती हिमालहरुलाई नागेर जानुपर्छ, हिउँको बाटो हुँदै । तिमीहरुमध्ये कोही जान आँट गर्दैनौ भने यहीँ बस् । जानेहरु नेपाल आमालाई सम्झेर हिँड ।’ फौजमा २० वर्षका केदारमान श्रेष्ठ देखि ६० वर्ष पार गरेका खड्गबहादुर गुरुङहरु थिए । भुटेका मकै खाँदै तिब्बती गाउँ छिचोल्दै, हिउँले खाएको ज्यान लिएर लखतरान पर्दै उनीहरु हप्तौँ हिडेर तिब्बतको ल्हसा पुग्छन् । बाटोमा उनीहरुलाई लिन चिनीया सेनाहरु आउँछन् । खुब सम्मानपूर्वक आफ्नो निगरानीमा हप्ता महिना दिन विभिन्न ठाउँहरुमा बसाल्दै ल्हासा हुँदै पेकिङ पु¥याउँछन् । बाटोमा चिनीया सैनिकहरुले उनीहरुको उपचार गर्ने चिनीयाँ भाषा पढाउने, कम्युनिष्ट पार्टीका पुस्तकहरु पढ्न दिने गर्छन । डा. सिँहले चिनीयाँहरुले दिएको सुविधा र सम्मानले आफ्ना जवानहरुमा यतै बस्ने मोह जाग्ने हो कि भनेर उनीहरुलाई बेलाबेलामा नेपालको सम्झना दिलाउने गीत गाउन लगाउने, फर्कनको लागि शारीरिक अभ्यास गराउने काम गरिरहन्थे । पुस्तकमा चीन गएका डा. सिँहका एकजना सहयात्री केदारमान श्रेष्ठलाई उद्धृत गर्दै लेखकले लेख्छन् ः ‘चिनीया सरकारले उनीहरुको सेवामा युवतीहरु खटाउँथ्यो ।’ पेन्टी र ब्रा लगाएका चीनियाँ केटीहरु उनीहरुको विस्तारासम्म जाँदाका अनुभवहरु पनि यो पुस्तकमा उल्लेख गरिएको छ । पछि ती केटीहरुलाई डा. सिँह र साथीहरुको सल्लाहमा फिर्ता बोलाइयो । महिनौँ पछि उनीहरुमध्ये केही चीनको राजधानी पेकिङ् पुगे । त्यहाँ अध्यक्ष माओ र अन्य पदाधिकारीहरुलाई भेटे । त्यहाँ उनीहरुलाई चीनियाँ सेनाको निगरानीमा नजिकैका गाउँहरुमा जान दिइन्थ्यो । सुरुमा त उनीहरुलाई आफू चीनको पुरानो आदिवासी भएको परिचय दिनु भनेर चीनियाँ सरकारले अ¥हाएको थियो । लेखकले के.आईं सिँहले अध्यक्ष माओसँग के कुरा गरे भन्ने स्रोत फेला पार्न सकेका छैनन् । उनका क्रियाकलापबारे पनि धेरै जानकारी छैन । उनीसँग गएका एकजना केदारमान श्रेष्ठको अनुभवलाई मुख्य रुपमा प्रस्तुत गरेको छ । भारत र अमेरिकी चासो उनी प्रवासमा गएपछि भारतमा उनीबारे भारतीय अखवारमा खुबै चर्चा हुने गथ्र्यो (पेज १३६) । अमेरिकामा पनि न्युजवीक, न्यूयोर्क टाइम्सले उनको प्रवासको बारेमा पनि समाचार छापेको छ । उनको साढे तीन वर्षको प्रवासको समयमा भारतीय अखवारले विभिन्न शंका गरेको भेटिन्छ । कतिबेला उनी चीन नै गएका छैनन्, त्यहाँको गृहमन्त्रालयले झुटो बोलेको हो भनिएको छ (पेज १५६) । नेपालको उत्तरी क्षेत्रमा केही घटनाहरु हुँदा भारतीय अखवारहरुले शंकाको भरमा तीब्बतमा बसी नेपालमा खल्बली गरेको समाचार छाप्थे । जुन कुरा होइन भनी सरकारले पनि स्पष्ट गरेको थियो । यसरी भारतीय र अमेरिकी अखवारमा उनको बारेमा चर्चा भएको कुरा यो पुस्तकमा पढ्न सकिन्छ । नेपालमा उनको लोकप्रियता र फिर्ती प्रक्रिया यसबारेमा लामो गन्थन यो पुस्तकमा छ । मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा यो घटना घटेको थियो । भारतको विरोध गरेर चीन प्रवास गएकोमा त्यतिबेलाको काँग्रेस सरकारले यसलाई कम्युनिष्टहरुको उक्साहटमा यो कार्य गरेको भनी उनीहरुलाई पनि प्रतिवन्ध लगाएको थियो । सिँहदरवार काण्डमा कस्को हात थियो ? भन्ने कुरामा अन्योलजस्तो देखिएको छ । बीपीले उक्साएको हो पनि भनिएको छ । मातृका र बीपीको झगडा भैरहेको बेलामा घटेको घटना भएकाले, त्यहाँ शंका गरिएको हो । तर पँगेनीको विचारमा यो दुवैले गर्दा होइन । डा. सिंहलाई सबै मान्छेले एउटा राष्ट्रवादी व्यक्ति मानेका थिए । भर्खर प्रजातन्त्र आएको सन्दर्भमा खोलिएका विभिन्न संगठनले उनको फिर्तीको लागि कोशिस गरेका छन् । विभिन्न ठाउँबाट काठमाडौँ आएर टुँडिखेलमा दिन विताउनेहरुले पनि उनको नाउँमा संगठन खोलेर विज्ञप्ती, पर्चा निकाल्ने काम गरेका छन् ( पेज २०४) । निर्दोष व्यक्तिलाई थुनेको, थुनुवामध्ये एक जना विद्यार्थी मरेपछि यसले सरकारलाई झन कमजोर पारेको थियो । यसलाई त ‘राष्ट्रवादी’ व्यक्तिलाई नेपाली काँग्रेसले लत्याएको प्रसङ्गसँग जोडिएको छ (पेज १९६) । कम्युनिष्ट पार्टीलाई पनि यसकै बहानामा प्रतिवन्ध लगाएपछि उनीहरुको आन्दोलन पनि डा. सिँह फिर्तीसँग जोडिएको छ । काठमाडौको वुद्धिजीविको विचार पनि सिँह राष्ट्रवादी व्यक्ति हुन र उनलाई सरकारले सम्मानपूर्वक फिर्ता बोलाउनुपर्छ भन्ने नै हो । यो पुस्तकमा सिंहको फिर्तीलाई नरुचाईको बारेमा विस्तारमा कुराहरु छैनन् । खासगरी बीपी त्यसपक्षमा थिए भन्ने प्रसङ्ग भएपनि त्यसबारे विस्तारमा चर्चा छैन । त्यतिबेला नेपाली काँग्रेस सत्तामा भएपनि राजा महेन्द्र नै बलिया थिए । त्यसैले राजासँग नै फिर्ता बोलाउनुपर्छ, उनी राष्ट्रवादी व्यक्ति हुन भन्ने कुरा बुझाउने कोशिस भएको बुझिन्छ । यसै सन्दर्भमा राजाले पनि एउटा टोलीलाई भेट दिएका छन् । जसमा खड्गबहादुर गुरुङकी श्रीमती शशीकला गुरुङ पनि थिइन । उनले २००७ सालको आन्दोलनमा आफ्ना श्रीमानसँगै भारतबाट हतियार भित्र्याउने काम गरेकी थिइन । यी प्रयासका र सरकारका बीचमा भएका छलफलको कारणले डा. के आई सिँहको टोली २०१२ साल भदौमा नेपाल फर्कन्छ । उनलाई काठमाडौमा भव्य स्वागत गरिएको थियो । राजा त्रिभुवन भारत प्रवास पछि नेपाल फर्किदा वा सगरमाथा आरोही तेञ्जिङ्ग शेर्पालाई स्वागत गरिँदाको समयसँग तुलना गरिएको छ । त्यतिबेला मान्छेहरुले नारा लगाएका थिए– राणाको छातीमा गोली हान्ने को ? डा. के. आई. सिँह । दुश्मनको अगाडि शीर नझुकाउने को ? डा. के. आई. सिंह आदि नाराहरु लगाएका थिए । उनलाई स्वागत गर्ने समितिका अध्यक्ष महाकवी लक्ष्मीप्रसाद देवकोटा थिए । त्यसैगरी कवि हृदयचन्द्र सिँह प्रधान पनि थिए । पुस्तकका केही कमजोरी पुस्तक पढ्दा डा. सिंहको ‘भारतको विरोध’ लाई नेपालको राष्ट्रबादी चरित्रसँग हेरिएको हो कि, भन्ने लाग्छ । के. आई. सिँहले भैरहवा मोर्चाबाट राणा विरोधी क्रान्तिमा भाग लिँदा भारतबाटै हतियार लिएर लडेका थिए । उनको पृष्ठभूमी भारतबाटै सुरु भएको थियो । त्यसकारण उनले के कारणले दिल्ली सम्झौताको विरोध गरेका थिए ? यो जानकारी पाउन सकिँदैन । यो पुस्तकमा बीपी र उनी मार्काका कुराहरुलाई स्पष्ट राखिएको छैन । डा. सिँहका दाइना खड्गबहादुर गुरुङकी श्रीमती शशिकला गुरुङले बीपीलाई चीनबाट सिँह फर्काउ आन्दोलनमा सहयोग नगरेको भनी १२ वर्ष ढुंग्रामा राखेको कुकुरको पुच्छर बाँङ्गाको बाँङ्गै भनेर बीपीलाई व्यङ्ग्य गरेकी छिन् । बीपीहरुले किन सहयोग गरेनन् ? विस्तारमा छैन । के. आई. सिंहसँगै चीन गएका केदारमान श्रेष्ठसँगको कुराकानीलाई चीन जाँदाखेरीको वर्णन अन्तर्गत खुब प्रयोग गरिएको छ । चीनबाट फर्किँदाको उनको अनुभवलाई स्थान दिइएको छैन । दोहोरिएका कुराहरु र उनलाई नेपालमा फर्काउन गरिएका कोशिसहरुको बारेमा पढ्न बोरिङ लाग्ने किसिमले चर्चा गरिएको छ । यद्यपि, यो पुस्तक एउटा जाँगरले लेखिएको हो । ढिलै भएपनि केही पात्रहरुसँग कुरा गर्न पाएकाले लेखकले किताबलाई महत्वपूर्ण बनाउन सकेका छन् । अर्को कुरा लेखकले विभिन्न पक्षलाई विभिन्न कोणबाट पुष्टि गर्न खोज्नु प्रसंसनिय पक्ष छ । संभवभएसम्मका उपायहरु यो किताबमा प्रयोग गरिएको छ । मैले पोखराको के.आई. सिंह पुलबारे मात्र सुनेको थिएँ । तर इतिहासका महत्वपूर्ण यी पात्रकोबारेमा जान्न पाएको थिइन । अन्त्यमा डा. के. आई. सिँहको चीन प्रवास नेपाल र चीनबीचको सम्बन्ध बढाउने एउटा बाटो भएको थियो । २०१२ सालमा नेपालले चीनसँग दौत्य सम्बन्ध स्थापना पनि गरेको थियो । यसले केही प्रश्नहरु पनि खडा गरेको छ । के महेन्द्रलाई यसले दीर्घकालिन फाइदा पुगेको थियो ? किनभने भारतले नचाहँदा नचाहँदै पनि उनले २०१७ सालमा पञ्चायतको स्थापना गर्न सके । के गोप्य रुपमा चिनीया पञ्चायत प्रति चिनीया सहयोग जुटाउने जग यही थियो ? यही सोँचले चतुर राजा महेन्द्रले डा. सिँहलाई प्रधानमन्त्री पनि बनाए ।

२७ मंसीर २०६८,
 १३ डिसेम्बर, २०११
 मैतिदेवी, काठमाडौँ, राती ११ बजे ।