Monday, March 25, 2019

‘वार अफिस’को कथा

अर्जुन पन्थी

‘प्रथम विश्वयुद्धको वर्णन’ किताबका लेखक हेमराज शर्मा (१९३५—२०१०) चन्द्र शम्शेरका ‘श्री राजगुरु’ र विश्वास पात्र थिए । पहिलो विश्वयुद्ध (१९७१—१९७६)को तयारीमा लागेको बेला चन्द्र सरकारले सिंहदरबारमा ‘वार अफिस’ खोलेको थियो । ‘वार अफिस’मै खटिएको बेला शर्माले यो किताब तयार पारेका हुन् ।


आफ्नै जीवनकालमा घटेको पहिलो विश्वयुद्धको बयान लेखक शर्माले कसरी गरे होलान्, पढ्न उत्सुक थिएँ । किताब नपढ्दै मेरा केही अपेक्षा थिए । युद्धताका लडाका खोज्दै नेपाली गाउँगाउँ पसेका गल्लाहरुले जबर्जस्ती युवाहरु खोसेर लगेका कथा होलान् कि नहोलान् ? कतिमान्छे कहाँबाट कहाँको लडाइँमा गए होलान् ? लडाकालाई सहयोग गर्न गएका तर बर्मामै हराएका मेरा ठूलाबा जस्ता सहयोगी सर्वसाधरण अर्थात ‘पब्लिक फालवर्स’ कति हुनन् ? तिनको कथा किताबमा होला कि नहोला ? इत्यादि ।



‘वार अफिस’ खडा गर्दा काम कसरी गर्ने कुनै अनुभव थिएन । शर्माका अनुसार ‘धान चावल मुगी मास तिल इत्यादि मिसिएको एकै राशबाट १।१ वस्तु छुट्याउनालाई जस्तो मुश्कील हुन्छ’ त्यस्तै मुश्किल वारअफिसको काममा भएको थियो (पृ. १४३) । भविश्यमा यस्तै दुःख होलाकी भनेर युद्धअनुभवको रेकर्ड राख्न यो किताब लेखिएको थियो । हुनत १९११ सालमा भएको तिब्बत युद्धको अनुभव जङ्गबहादुर राणाले लेखाएका थिए । १९१४ सालको लखनौ लडाईमा जाँदाको वर्णन लेखिएको थियो । त्यस्तै पहिलो विश्वयुद्धको अनुभव पनि लेखिनुपर्छ, राष्ट्रलाई काम लाग्छ भन्ने सोचकै क्रममा यो पुस्तक आएको हो । यस बारे शर्माले लेख्छन्, ‘पछिपछिकाले काम गर्नुपर्दा त्यस विषयमा अगाडिदेखि भइरहेका कुराको अनुभव गरी काम गर्दा जत्तिको तिनीहरुलाई काम गर्न सुविस्ता होला, त्यत्तिको अरु कुनै तरहबाट हुनसक्ने छैन’ (पृ. १२) ।

युद्ध अनुभव लेखे पनि त्यति बेला पुस्तक किन प्रकाशन गरिएन, यसबारे अनुमान मात्रै गर्न सकिन्छ । यस पुस्तकका सम्पादक दिनेशराज पन्त लेख्छन्, सोचेजस्तै ‘ढङ्गले पूर्ण नभएकोले पनि यो प्रकाशनतिर नगएको हुनसक्छ ।’ (पृ. ध) लेखेका कुराहरु ‘श्रीराजगुरु’को हैसियतमा प्रकाशन गर्न अप्ठ्यारो भएर प्रकाशनतिर उत्साह नभएको हुनसक्छ । तर लेखेको सय वर्षपछि २०७५ सालमा यो प्रकाशित भयो । यो समयमा किन चासो जाग्यो, यसबारे भने सम्पादक तथा प्रकाशक मौन छन् । तर यो समयमा धेरै पुराना सामग्री प्रकाशन तथा पुनर्प्रकाशन भएका छन् । त्यहि मेलोमा यो किताब आएको हुनुपर्छ ।

किताब मुलतः दुई भागमा संरचित छ । सुरुका खण्डहरुमा विश्वयुद्ध हुनाको कारण र त्यसपछिका खण्डमा नेपाल सरकारको युद्ध तयारीका विषयहरु परेका छन् । सुरुका खण्डहरुमा विश्वयुद्धको कारण जान्न खोजिए पनि लेखक शर्माले पूर्वीय ज्ञान र महाभारत कथाका अनुभव राख्दै आफ्नो पाण्डित्य दर्शाएका छन् । पढ्न बोर लाग्दैन ।

‘भीष्म विदुर श्रीकृष्ण युधिष्ठिर आदि विचारवान् पुरुष छँदाछँदै पनी महाभारतको लडाइँ किन भयो ?’ त्यस्तै तरहले यूरोपमा अनेकौँ विद्वान, शान्तिप्रिय संस्था खडा हुँदा हुँदै लडाइँ किन भयो । त्यसैले युद्धलाई शर्माले ‘अनिवार्य सर्त’को बलवान सिद्धान्तको रुपमा व्याख्या गरेका छन् । विचारवान पुरुषले युद्ध रोक्नसक्छन् भन्ने उनको मतले ‘कुलेलम ठोकेर कहाँ भाग्यो पत्तै छैन’ (पृ.४४) ।

विश्वयुद्धको कारण, यसका लक्षण, विभिन्न सन्धि तथा एलायन्सहरुको चर्चा, त्यति बेलाका पत्रपत्रिका तथा जर्मनी विद्वानहरुले लेखेका लेख तथा पुस्तकबाट तयार पारेका छन् । अनुमान गर्न सकिन्छ, नेपालको ‘वार अफिस’मा युद्धसम्बन्धि पुस्तक र विभिन्न पत्रपत्रिका आउँथे । शर्माले तिनैलाई स्रोत बनाएर युद्धका कारण खोतलेका छन् ।

युद्धको तत्कालीन कारण अष्ट्रियाका राजकुमारको हत्या भनेपनि शर्माले, ‘त्यो एक बहाना मात्र सम्झनुपर्दछ’ भनेका छन् (पृ. ४७) । त्यही बहानाका आधारमा यूरोपेली राष्ट्रहरुले युद्धमा शक्तिको तुजुक देखाएका थिए । विश्वयुद्धको कारण राजकुमारको हत्याभन्दा गहिरो छ । लेखकको दाबा छ, विश्वयुद्धको जरा युद्ध सुरु हुनुअघिको १०० वर्ष वा ४० वर्ष जति इतिहासमा धसिएको छ । जतिबेला यूरोपेली देशहरु आफ्नो जातीको साम्राज्य वा उपनिवेश जमाउन लागि परेका थिए । उपनिवेशकालमा फ्रान्ससँग ब्रिटेनको स्पर्धा थियो । रसियाले पनि पूर्वी मुलुक डोल्दै दक्षिण एसिया पस्ला कि भन्ने डर ब्रिटिशलाई थियो । उता आफ्नो उपनिवेश नहुँदा जर्मन नाराज थियो । फ्रान्स, ब्रिटिश, स्पेनको उपनिवेश हुने आफ्नो नहुने, यस्तो मुर्मुराहटमा जर्मनी थियो । यही बेला अरु ससाना राज्य एकीकरण गरी मेहनेती जर्मनीले युद्ध अघि नै अथाहा शक्ति सञ्चय गरेका थिए । त्यसको डर स्पर्धामा रहेका फ्रान्स र ब्रिटेनलाई भयो । शक्ति स्पर्धाको कारणले सम्बन्धमा अदलीबदली भइरहेको थियो । बर्खाको मौसमजस्तो । ब्रिटेन निकै बाठो थियो । युद्धमा धेरै खर्च हुँदा त्यता तर्फ जान चाहँदैनथ्यो । तर लडाइँ टर्न सक्ने थिएन । यो वा उ कित्तामा उभिनै पर्ने हुन्थ्यो । शक्ति सम्बन्धको तराजुमा अन्तिममा मात्रै ब्रिटेनले आफूलाई सहभागी गरायो । आफ्नै ‘ट्यूटन’ जातीका जर्मन विरुद्ध आफूलाई उभ्यायो । ‘लेटिन’ जातीका फ्रान्सेली र रसियनसँग ब्रिटिश मिले । युद्ध र राजनीतिमा सम्बन्ध बदलिन्छन् भन्ने संस्कार यस युद्धले बसाल्यो । लेखकको निष्कर्ष छ, त्यसैले यो युद्ध जातीय थिएन । ‘राष्ट्रियता नै यस महायुद्धको मुख्य लक्षण हो’ (पृ. ४७) ।

यो वैश्विक लडाइँको दायरा अघि अघिका लडाइँ भन्दा फराकिलो थियो । युद्धमा एकै राज्यका लाखौँ लडका एकातिर मारिँदा, उही देशका लाखौँ भर्ती भएका थिए । योग्य पुरुष सैनिक बनेपनि बालक, वृद्ध, स्त्रीहरु सामग्री तयार गर्ने, घाइतेको सेवा गर्ने, घरघरमा खबर पुराउने काममा लागेका हुनाले धेरै मानिसहरु यस युद्धमा सहभागी थिए । शर्मा लेख्छन्, ‘सारा पृथ्वीलाई सम्बन्ध गराउने, टाढाको पदार्थ पनी नजिक गराउने रेल, तार, जहाज व्योमयानहरुको अहिलेको जस्तो विकास भइनसकेको हुनाले समस्त पृथ्वीलाई हलचल गराउने अत्यन्त भयानक १९१४ सन्मा भए जस्तो लडाई मनुष्य समाजको वीचमा आजसम्म भएको इतिहासमा पनी देखिँदैन’ (पृ. २६) । यो युद्ध वास्तवमा अहिलेको भूमण्डलीकरणको जग थियो ।

यस विश्वयुद्धमा अंग्रेजले हारे उसका उपनिवेशहरु गुम्थे । ‘दक्षिण एसिया’को उपनिवेश गुम्थ्यो । त्यसलाई जोगाउन आफ्ना उपनिवेशका ‘लडाका जाती’हरुलाई अंग्रेजले प्रयोग गर्न चाहन्थे । जसै आफ्नो अप्रत्यक्ष शासन भएको नेपालको सैन्य ताकत उनीहरुले अघिल्ला समरमा बुझिसकेका थिए, तसै नेपालीहरुलाई बृटिश सेनामा भर्ती गरिसकेका थिए । अझ विशाल युद्धको बेला प्रयोग नगर्ने कुरै थिएन । सोहीअनुसार दक्षिण एशियाका लडाका जातीहरूलाई अंग्रेजले प्रयोग गरे । यो युद्धमा नेपाली ‘लडाका जाती’को सहभागितालाई कतिपयले ‘चन्द्रशम्शेरको सनक’ भने पनि सारपक्ष त्यो होइन । रुपमा चन्द्र शम्सेरले ‘सन्केर’ रिकुटे भर्ती गरेको देखिए पनि, सन्केर इस्तिहार जारी गरे पनि त्यो टार्नै नसकिने थियो । कुनैपनि राणा प्रधानमन्त्री जनताका अघि शेरजस्तै गर्जिए पनि लैनचौरमा पुच्छर हल्लाउँथे । अर्थात् हामी विश्वशक्तिसँग अलग थिएनौँ । विश्वयुद्धसँग पनि अलग थिएनौँ । ब्रिटिश उपनिवेश अन्तर्गतको अप्रत्यक्ष शासनमा रहेकाले विश्वयुद्धमा सहभागिता हाम्रो बाध्यता थियो । हेमराज शर्मा लेख्छन्, ‘महाशक्तिहरुको संग्रामको घमासानको बखतमा क्षुद्रशक्ति भएका राष्ट्रहरुले सच्चा वा पक्का तटस्थता पालन गर्नसक्ने सामथ्र्यै रहन सक्तैन.’ (पृ. ४५)

नेपालले पनि तटस्थता पालन गर्न सकेन । अंग्रेजका साथ विश्वका विभिन्न भूगोलमा गएर नेपाली युवाहरुले लडे । अष्ट्रिया, बेल्जियममा पुगेर नेपालीहरु लडे । लडाइँ अन्यत्र भएपनि नेपाली गाउँ परिवारमा त्यसको असर परिरहेको थियो । पुस्तकको नेपालबारेका खण्डमा लेखक शर्माले त्यति बेलाको मानवीय पक्षलाई समेटेका छैनन् । त्यो जान्ने मेरो अपेक्षा बाँकी नै रह्यो । सरकारको ‘वार अफिस’मा काम गरेका हुनाले लेखकले त्यति बेला चन्द्र शम्शेरको अर्डर, लडाका कसरी कहाँबाट ल्याउने भन्ने युद्ध तयारीका नीतिगत विषयलाई पुस्तकमा समेटेका छन् ।
यी नीतिगत पक्ष हेर्दा त्यस युद्धमा नेपालले गहिरो लगानी गरेको बुझिन्छ । चन्द्र शम्शेरको दिएको ‘अर्डर’मा लेखिएको छ, ‘मित्रका उपर संकष्ट परिआएको बखतमा आफ्नो हैसियतले भेटाएसम्म मदत दिनु मित्रको धर्म हुनाले बृटिश सरकारको कामलाई चाहिन्छ भने हाम्रो नेपालको फौज हिन्दुस्थानमा पठाइदिनेछु भनी बृटिश सर्कारलाई खबर पठाएको छु. उनीहरुलाई दरकार प¥यो भने पहिला पटकमा ६००० र दोस्रा पटकमा ४००० तेस्रा पटकमा ४००० फालवर्स समेतको मयसमान फौज पठाइदिनेछु.’ (पृ. १३७) । यो त चन्द्र शम्शेरले नेपाली अधिकारीलाई दिएको आदेश थियो । अंग्रेजको चन्द्रलाई के आदेश थियो यस पुस्तकको क्षमताभित्र त्यो रहेन ।

चन्द्रको आदेशपछि जङ्गीबन्दोबस्त अड्डा ‘वारअफिस’लाई महत्वमा राखियो । यसलाई सिंहदरबारमा सारियो । ‘नेपालका अड्डाखाना सबैलाई भएका मालको लगत र कुन हालतमा छन् जाहेर गर’ भनेर अर्डर पुर्जी पठाइयो (पृ. १४१) । ‘वारअफिस’ खडा गरेपछि फाइल सिस्टम कसरी राख्ने, फाँटफाँटले के काम गर्ने, जरुरी काम कसरी छुट्टाउने, फौज जानु अघि गर्नुपर्ने विषय के हुने, हिन्दुस्तानमा फौज गएपछि के गर्ने, नेपाल र गढी गौँडामा रहेका फौज तथा मिलिसियाको विषयमा के गर्ने, काठमाडौँ बाहिरको पल्टन झिकाउँदाको बन्दोबस्त कस्तो हुने विषयमा सनद तथा पूर्जी जारी गरिएको थियो ।

पाल्पाबाट लडाइँको लागि पल्टन काठमाडौँ आउँदा ‘तिमीहरुका इलाकामा योयो ठाउँमा बास पर्छ, सो वासमा पल्टन योयो दिन आइपुग्नेछ, सो वासवासलाई चाहिने यो यति रसद पानी घाँस दाउरासमेत बजार नजीक भए बजारिया पसलेबाट र बजार पसल टाढा परी नपाउने भए पल्टन आइपुग्नासाथ हर्जा नहुने गरी गाउँगाउँका अनाज हुने साहु महाजन जजससँग हुन्छ निजहरुबाट वासवासलाई चाहिने रसद तयार गराई पल्टन फौज आइपुग्नासाथ चाहिने रसद पानी सुपथ मोल दिलाइदिनु’ भनिएको छ (पृ. १६७) । पल्टन वा रिकुटे हिँड्ने बाटो वरिपरिका बासिन्दालाई पनि सुख थिएन । आफ्नोमा दाउरा घाँस अन्न पानी जे छ सो दिएर उनीहरु युद्धको हप्कोमा परेका थिए ।

यो युद्धले खास गरी नेपाली पहाडी जनजीवनलाई बेस्सरी हल्लाएको थियो । ‘लडाका जात’का मान्छेहरु मात्र होइन, उनीहरुलाई खोज्ने र चाहिने चिजबिजको व्यवस्थापनमा सघाउने अरुहरु पनि थिए । पल्टनै पिच्छे पीपा, भरिया, डोले, कुल्लीले धुवानीको व्यवस्थापन गरेका थिए । अनकन्टार पहाडबाट बाटो बनाउँदै लडाकुको लागि चाहिने चिजबिज बोकेर वीरगञ्ज वा सीमानासम्म पुराएका थिए । कालीगढले अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए । जङ्ग कामका लागि गाउँगाउँका कामीहरुलाई चाहिने काँचो फलाम दिइएको थियो । उनीहरुले लडाकाका लागि खुकुरी बनाएका थिए (पृ. १६३) । सार्कीले जुत्ता सिलाए । पाल्पा घोरवन्डा गाउँका कुमालेहरु डोली बोक्न जान्ने हुनाले पिपामा भर्ती हुन भनियो । लक्का जवान बाहुनले भात पकाए । मेत्तरले क्याम्प वरिपरी सरसफाइ गरे । धोवीले कपडा धोए । नाउँले कपाल काटिदिए । बैद्यले बाटोघाटो वा क्याम्पमा उपचार गरे । ‘पब्लिक फालवर’ र ‘प्राइभेट फालवर’हरु बनेर सबै जातका सर्वसाधरण युद्धमा सहभागी भए । समग्रमा युद्धको गायन लडाकाले गरे । शब्द संगीत अरुहरुले पनि भरे ।

युद्धको लागि हिन्दुस्तान पठाउने सबै चिजबिज काठमाडौँले पुराउन सक्दैनथ्यो । अरुहरुको सहयोग चाहिन्थ्यो । रजौटा, गढी, गौँडा, मौजा, इलाकामा रहेका स्थानीय सामन्तहरु तत्कालीन सत्ताका भरोसा थिए । उनीहरुलाई आदेश, निर्देश गरेर नेपालभर मान्छेहरु खोज्न पठाइएको थियो । ‘ठकुरी क्षेत्री गुरुङ मगर लिम्बु राई दुरा घले राना भाट नगर्कोटी समेत यी ११ जातको भर्ना गर्नू. जैसी सन्यासी भरसक भर्ना नगर्नू. नपुग्ने भए सैकडा १० देखि बढी भर्ना नगराउनु’ भनिएको थियो (पृ.१५३) । गढी गौँडाका सामन्तलाई, ‘रवाफ देखाउँदै गाउँ नपस्नु, फकाएर ल्याउनु’ भनिएको थियो । सकभर लडाका जात खोज्नु, नभए लायकका ब्राह्मण भएनी हुन्छ, भात पकाउन भएनी काम लाग्छन् भनिएको थियो ।

काठमाडौँ आउने लडाकाहरुले आफ्नो बन्दोबस्त आफै गर्नु पथ्र्यो । ‘सदरमा आउने भएका जवानलाई १ जोर लुगा भोटो खाष्टो राडी खुकुरी जुत्तासमेत लिन लगाई पठाउनू, तयार पार्न नसक्ने जवानलाई मोरु ५। पेस्की सापटी दिई’ तयार गर्न लगाउनू भन्ने आदेश जारी गरिएको थियो (पृ. १५७) ।

लडाका जम्मा गर्ने मात्र होइन, लडाकालाई कसरी तालिम दिने ? लडाकालाई हिन्दुस्तान कसरी रमाना गर्ने ? हिन्दुस्तानका छाउनीमा रहँदा के गर्ने ? लडाकाका श्रीमति जारले लगे के गर्ने ? आफ्ना परिवारहरु मरेमा, लडाका स्वयं मरेमा कसरी खबर गर्ने ? युद्धमा घाइते लडाकाहरुको बारेमा के हुने ? लडाका तथा उनको साथमा गएका सहयोगीहरुको बाली तलब कसरी खुवाउने ? युद्ध सकिएपछि फर्केका लडाकालाई कसरी स्वागत गर्ने ? यी तमाम प्रश्नका उत्तर त्यो समयमा जारी गरिएका सनद सवालले दिएका छन् । पुस्तकमा यी विषय क्रमबद्ध गरिएको छ । नियम बनाइएका र लागु गर्न कर्मचारी खटाइएका छन् ।

यसरी पहिलो विश्वयुद्धमा प्रायः नेपाली समाज लागेको थियो । समाजमा पारेको भयावह असर र अनुभवहरुको स्मृति हामीसँग बाँकी रहेन । भीमबहादुर पाँडेले आफ्नो किताबमा अलिकति लेखेपनि अरु खासै लेखिएनन् । यो विश्वयुद्धपश्चात नेपाली समाजमा पेशाको ह्रास, युद्धबाट प्रशस्त पैसा भित्रिए पनि टिक्न नसकेको कथा, युवाहरु लडाइँमा जाँदा कृषिमा आएको भयानक ह्रास, बसाइँसराइँ, घाइतेको अवस्था, पारिवारिक फुट, जारजारी, रक्सीको समस्या इत्यादिबारे सय वर्ष पुग्दासम्म खासै अध्ययन भएनन् ।

अंग्रेजहरुका निम्ति लडेको ‘भाडाको लडाइँ’ भएकाले मेहनेत पूर्वक लडेको त्यो युद्ध ‘नेपाली गौरव’को विषय भएन । त्यो अगौरवको लडाइँको कथा कसले खोतल्ने ? २००७ सालपछि नेपाली बुद्धिजीवी वर्गमा यसको आँट आएन । पञ्चायत पनि राणा शासनको आलोचक भएकाले त्यो समयमा केही हुन सकेन । प्रजातन्त्र पुनस्र्थापनापछि समेत पहिलो विश्वयुद्धको स्मृति हाम्रो पाठ्यक्रममै परेन । त्यो युद्धको दुःखको कथा विस्मृतिमा गयो । तापनि यसका असरहरु त नेपाली समाजमा चिरकालसम्म रहेका छन् । नेपाली समाजमा परेको असरबारे यो किताबले भन्न नसके पनि सरकारको तत्कालीन नीति बुझ्न ‘वार अफिस’को यो कथाले मद्दत गर्छ ।

२९ फागुन २०७५ । १३ मार्च २०१९

यो लेख हिमाल खबरपत्रिका वर्ष २७, अङ्क ४७, पूर्णाङ्क ६३२, ३-९ चैत २०७५ मा प्रकाशित भएको थियो । यसको लिङ्क यहाँ पाइन्छ ।


Wednesday, March 13, 2019

सम्झाउनीमा शिव रेग्मी

अर्जुन पन्थी

२२ असार २०७३ को कुरा, मार्टिन चौतारीको लागि म्यागेजिन जम्मा गर्न शिव रेग्मीको कुटीमा गएको थिएँ । तल्लो तलाभरी पत्रिकै पत्रिका पुस्तकै पुस्तक थिए । जीवनभर संकलन गरेका केही पुस्तक र पत्रपत्रिका एकएक गरी अन्माउनु पर्ने थियो, जीवनको उत्तरार्धमा । एकपटक दिने भनेर ठीक्क पारेका पत्रिका पल्टाउँदै हेरिरहन्थे र भन्थे, ‘भो यो नलैजानुस्, मलाई चाहिनसक्छ ।’ कुनै फेरि ‘ह्या लैजानुस्’ भन्दै दिन्थे । दोधार थियो । भुइँचालोले दिएको दुःख र बुढेश लागेपछि सम्हाल्न नसक्दा पत्रैपत्र गरी बटुलिएका पत्रिका राखीसाध्य थिएन । किताब सम्हाल्ने उत्तराधिकारीको अभावमा पुस्तकालयलाई दिनु बेस ठानेका थिए । डेरा सर्ने जिन्दगीमा किताब संकलनको सौख पनि जीवन जस्तै क्षणिक हुने ।

त्यसपछि म शिवको घरमा नियमित गएँ । कहिले छतमै बोलाउँथे, गफ गर्थे । कहिले पुस्तकालयमा भुलाउँथे । सुगर रोगले गलाएर आँखाको तेज कम गरे पनि ‘आइग्लास’ लिएर पढ्थे । स्मरण शक्ति ज्यादै तेज थियो । सोधेको कुरा, ‘फलानो पत्रिकाको फलानो पृष्ठमा छ’ भनेर बताउन सक्थे । विना प्रमाण बोल्दैनथे । 
भेटकै शिलशिलामा मलाई उनको जीवन कहानी जान्ने रुचि लाग्यो ।
यस्तो रुचि राखेकाले रेग्मीले उनीबारे लेखिएको एउटा थेसिस पढ्न दिए । उनले भन्थे, ‘यो कसैको लागि कसैले लेखिदिएको थेसिस हो ।’ नाम चाहिँ खोलेनन् । को होलान् ति ‘सेरोगेट’ लेखक ? नाउँ थाहा नभएपनि नलेखिएको रेग्मीको जीवनी भन्दा त्यो थेसिस नै राम्रो लाग्यो । तीन चार भेटघाट र ‘भाडाको थेसिस’लाई मैले उनको सिलसिलेवार जीन्दगी बुझ्ने बाटो बनाएँ ।

उनीहरूका पूर्खा बझाङको कुनै एक नदी किनारको फाँट रेगमबाट आएका हुन् रे । त्यस्तो फाँटलाई जिउला भनिँदोरहेछ । रेगम जिउलाबाट ज्योतिषीको काम गर्दै पूर्खाहरू नुवाकोट जिल्लाको बेलकोट आइबसे । पछि नैकाप भञ्ज्याङ हुँदै ठमेलमा आइबसेकाका थिए ।

१९९८ सालमा ठमेलमा जन्मे शिव रेग्मी ।

यो नाम धेरैसँग जुध्छ । कुनै सन्दर्भमा मैले शिव रेग्मीको नाम सुनाउँदा, ‘उनी त विते हैन र ?’ भन्थे कसैकसैले । चलचित्रका निर्देशक शिव रेग्मीलाई सम्झेर । के म वितेको मान्छेलाई भेट्न जान्थें र, कुरा पनि । यस्तो हैरानी शिव रेग्मीले नखेप्ने कुरै थिएन । नाम जुधेर हैरानै हुन्थ्यो । शंकर लामिछानेको ‘नाममा छ के ?’ शीर्षकको निवन्ध पढेपछि शिव रेग्मीलाई फन्का छुट्यो । एउटै नाम धेरैको हुँदा पाएको दुःख विसाउन ‘नाममा के छैन’ भन्ने निवन्ध समेत लेखे ।
‘नाममा के छैन’ भन्ने रेग्मीले २०१५ सालमा एसएलसी दिए । एसएलसीपछि आफुले सानैमा पढेकै बाल विकास स्कुलमा २०१९ सालसम्म पढाए । त्यही बेला ठमेलका युवाहरू मिलेर खोलेको ‘नविन विकास मण्डल’मा स्वयंसेवक भई २०१७ सालसम्म काम गरे । उमेरमा तलमाथि भएपनि उनका सखीजन त्रिरत्न मानन्धर, जनक प्याकुरेल, मोहन लालले पनि स्वयंसेवक काम गर्थे ।

नविन विकास मण्डलमा हुँदा ठमेलका युवा कृष्णभक्त श्रेष्ठ, तीर्थराज वन्त, मोहनहिमांशु थापा, वालमुकुन्ददेव पाण्डे, विष्णुप्रताप शाहसँग सँगै हिँड्दा हस्तलिखित पत्रिका पनि निकाले । जुन पत्रिका नविन विकास मण्डल, राष्ट्रिय पुस्तकालयको टेवलमा राखिन्थ्यो । पुस्तकालय पढ्न आउनेले पढ्थे । यस्तो पत्रिका बुट्टा भरेर, ड्रइङ्ग गरी, राम्रो अक्षरमा लेखेर एकै वा दुई कपि निकालिन्थ्यो । रेग्मीले भन्थे, ‘यस्तो हस्तलिखित पत्रिकाबारे आमोद भट्टराईले केही लेखेका छन् ।’

ठमेलको नेवारी संस्कृतिमा हुर्केका शिव २०२४ सालमा ज्याठाकी ज्वालादेवी बज्राचार्यसँग जोरिए । विजातिय विहे भएकाले, डरले घरै नगई बसे । उ जमानामा गरेको विजातिय विहे भएपनि सामाजिक समस्या भोग्नु परेन । तर घर छाडेर डेराको जिन्दगी चाहिँ रोज्नुप¥यो । जीवन संघर्ष गरिरहे । २०२२ सालमा तत्कालिन कानुन आयोगमा खरदार भए । डेराको जिन्दगी गुजारेका उनले २०३० सालमा टुक्रो जमिन पनि किने । २०४३ देखि २०६१ सालसम्म प्रेस इन्स्टिच्यूटमा पढाए । २०५८ सालमा उपसचिवमा जागिरे जिन्दगी विसाए ।

 विजातिय विहेपछि ठमेलको छालबाट परपर सर्दै पछिल्लो समय उनी कात्यानी पुगेका थिए ।

 शिष्ट, नम्र, भद्र र पातलो बान्कीका रेग्मीलाई शारिरीक बललाग्ने कुरामा रुचि थिएन रे । उनले भन्थे, ‘ज्यानले दिए पो कुस्ती खेल्नु । खिनौरो ज्यान पढ्न लेख्न लागेँ ।’ बलको काममा रुचि नभएपनि भेटघाट र कुराकानी उनले पिउने कफि जत्तिकै प्यारा थिए । ‘जन्मथान नै राजधानी भएपछि भेटघाट र गफै प्यारा’ उनी भन्थे । २०१७ सालतिरको कुरा हो, रेग्मीले पुस्तकालयमा स्वयंसेवक हुँदा पढ्ने धेरै मौका पाए । लेखक हुने रहर पनि थियो होला, २०२० सालमा एउटा कविता लेखे, ‘कुनै दिनको स्मृति’ । कविता मात्र होइन लेखनीका धेरै विधा चहारे । साढे ५ फुटे पातलो ज्यानका रेग्मीले कविता, कथा, निवन्ध, समालोचना लेखे ।

बीसबाइस सालतिर गद्य नलेख्नेलाई लेखक भनिँदैनथ्यो रे । फेरि विए, एमए नपढेकाले गद्य लेखे पनि नपत्याइने । गद्य लेख्न डिग्री पनि चाहिने, अघोषित नियम रहेछ । त्यसैले रातोदिन पढेर रेग्मीले एमए सकाए २०३२ सालमा । गद्य लेखक हुने रहरले ।

हुनत रेग्मीे एमए सक्नु अघि २०२७ सालबाट गद्य क्षेत्रमा लागेका थिए । त्यसपछि गोरखापत्र, गरिमा, मिर्मिरे, मधुपर्क, समकालिन साहित्य, प्रज्ञा, पारिजात, विमोचन आदिमा छपाउँदै गए । साढे २ सय जति समालोचना लेखे । पछि समालोचना लेख्नै छाडे ।

समालोचनाबारे उनको किस्सा, उनको घरको छतमा बसेर सुनेको थिएँ । रेग्मीले प्रायः मलाई घरको छतमा बोलाउँथे । टेविलमा कुइना टेकेर कुरा गर्थे । 

कुनैबेलाको प्रसंङ्ग निकाले । लेख्नेपढ्नेहरू न्यूरोडको पिपलबोटमा भेला हुन्थे । कुनै एक सज्जनले आफ्नो ठाउँबाट कतै नसरी ‘ए शिव यता आउ’ शैलीमा रेग्मीलाई बोलाए । उनमा पनि लेखकी बान्की थियो । ‘म किन आउने तिमी नै आउ’ भनेछन् । पछि ती सज्जन नजिकै आएर, ‘तिमीले लेखेको समालोचनामा यो मिलेन उ मिलेन’ भन्न थालेछन् । शिव भन्थे, ‘समालोचनामा प्रशंसा खोज्ने प्रवृति थियो । यो देखेर मलाई यो विधामा त्यति मन रमेन ।’ सबै कुरामा ठिकै हुन मन पराउने, चर्को हुन नखोज्ने रेग्मीले समालोचना छाडेर अरु विधातिर कलम चलाए । 

२०३४ सालतिर कथा पनि लेखे । २०३५ सालसम्म ३ ओटा कथा लेखेर बिट मारे । किन हो कुन्नी त्यसमा पनि मन रमेन । २०३४ सालदेखि नै निवन्ध विधामा पसे ।

उनले १५० निवन्धात्मक लेखहरू गोरखापत्र, हुलाक, नेपाल, प्रज्ञा, मधुपर्क, युवामञ्चमा फुटकर रुपमा प्रकाशित गरे । यिनै निवन्धात्मक विषयवस्तुबाट उनी खोजीमेलीतिर लागे । २०३६ सालमा हुलाक पत्रिकाको सम्पादक हुनेताका यसमा छापिने अंकित चिन्हको बारेमा सोधखोज गरी ठीक्कका लेखहरू लेखे । उनको खोजीमेलीको सुरुआत त्यसै समयतिर भएको थियो । १९९१ देखि २०२० सम्म शारदा पत्रिकाका सम्पादकीयहरू संकलन गरेर पुस्तक नै तयार पारे २०५८ सालमा । कुराकानीको क्रममा मलाई भनेका थिए ‘यो किताब एकेडेमीमा पाइन्छ, किनेर पढ्नुहोला, २० वर्ष लाएर संकलन गरेको हुँ ।’ मैले ‘हुन्छ पढौँला’ भने । किनेर सरसर्ती पढेँपनि । यही पुस्तकको २५ पृष्ठमा उनले, ‘निरन्तर रुपमा शारदाका सम्पादकीयहरू बुझेर पढ्ने र त्यहीअनुसार लेख्दैजाने हो भने विस्तारै उ पनि एउटा सफल साहित्यकार बन्नसक्छ’ भनी लेखेका छन् । अभिव्यक्ति स्वतन्त्रता नभएको राणाकालीन समयमा लेखिएका शारदाका सम्पादकीय पढ्नु जाती नै होला भन्ने लागेकाले त्यो किताब मेरो संग्रहमा परेको छ । 

खोजी र संकलनको रुचिले रेग्मीका सम्पादन, संयुक्त सम्पादन तथा लेखनमा अन्य किताबहरू पनि निस्कन सके । खोजीमेली २०७३, राजीनामा (भैरव अर्यालका विविध रचना २०७१), गोरखापत्रको इतिहास २०६७, महाकविका भूमिका २०६६, अतितका पाइला २०६३, गोरखापत्रका एकसय एक निबन्ध २०६०, शंकर लामिछानेका निवन्ध २०५९, शारदाका सम्पादकीय विचारहरू २०५८, भूपी सेरचनका कविता २०५७ आदि छन् । २०५० देखि २०५१ सालसम्म समीक्षा सोध मर्म पत्रिकाको पनि सम्पादन गरे ।

संकलनका त उनी धुरन्धार नै हुन् ।

उनी भन्थे, ‘सातै वर्षको हुँदो हुँ, घरमा बाले उदय, शारदा, प्रगति पत्रिका ल्याउनुहुन्थ्यो । तिनै पत्रिका पढ्दै हुर्केको हुँ । पढ्दा पढ्दै संकलन पनि गरें ।’ उनले जीवनमा १५ सय शीर्षकका पत्रिका संकलन गरे रे । यी पत्रिकाका अंकहरू रिठ्ठो नविराई बटुलेका थिए, छापिएजति । यी १५ सय शीर्षकमा पूरा अंक नभएका पत्रिकाको कुनै लेखो थिएन । गोविन्दराज भट्टराईले अतितको पानामा लेख्छन्, ‘फलाना पत्रिकाको फलानो अंक चाहियो भने काठमाडौँमा उनैकहाँ धाउनुपथ्र्यो ।’

२००९ सालमा छापिएको प्रगति पत्रिकाको अंक ६ दुर्लभ भएकाले त्यसलाई खोज्न थाले । २०३४ सालतिर रत्न पुस्तक भण्डारमा त्यति बेलाका सदस्य शिवराम श्रेष्ठसँग परिचय भयो । श्रेष्ठले त्यो अंकमा शंकर लामिछानेले मातृकाप्रसाद कोइरालाको अन्तर्वार्ता भएको बताएका थिए । यो अंक हात नपरुञ्जेल चञ्चल भए । मदन पुरस्कार पुस्तकालय गए, पाएनन् । ईश्वर बरालकहाँ गए, त्यहाँ पनि रहेनछ । माड्साव बासुदेव लुईँटेलले ‘भेटियो’ भनेर बोलाउँदा पनि वर्ष २ अंक १ परेछ । पछि एकेडेमीका कुलपति ईश्वर बराललाई फकाएर अन्वेषक जनकलाल शर्माकहाँबाट फोटोकपि गरि ल्याए । ‘बराल नभएको भए शर्माले पत्याउँदैनथे होला’ उनी सम्झन्थे । तर पनि बरालले फोटोकपी ल्याइदिँदा ‘कभरपेज’ फोटोकपि नगरेकाले उनको चाहना फिस्सै रह्यो । विलुप्त सामग्रीलाई जोगाएर राख्ने रेग्मीले पहिलो अंकलाई आफ्ना लेखनीमा महत्व दिएका छन् । फलानो पत्रिकाको पहिलो अंक भनेर । 

उनी भन्थे, ‘प्रकाश ए राज, शान्तदेव भट्टराई आदिको संकलनमा भएको सामग्रीको आधारमा मैले पत्रपत्रिकाको प्रारम्भिक अध्ययन गरेका हुँ ।’ ईश्वर बरालको झ्यालबाट २०२९, राममणि आदिको पुराना सम्झना २०२९, रामलाल अधिकारीको निवन्ध यात्रा सन् १९७५, गृष्मबहादुर देवकोटाको नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास २०२४ आदि पुस्तक उनको लेखनीका आधार भएको बताउँथे ।
खोजीमेली गर्ने उनको बानीबारे चासो राखिरहेको थिएँ । 

उनी भन्थे, ‘२०३१÷३२ सालतिर मैले पाएसम्मका सबै पत्रिका पढ्न थालें । घरैमा केही किताब थिए, ति पनि पढें ।’ यसले खोजी विधातिर जान प्रेरित भयो । कमलमणि दीक्षितले लेखेका यस्तो पनि, २०१६ र कालो अक्षर, २०१७ पढेपछि उनलाई कति खोज्न सकेको, कस्तो राम्रो लेखेको भन्ने लाग्थ्यो । उति बेलै । यी किताब पनि उनको खोजी र लेखनीका प्रेरणा थिए ।

मोतिराम भट्टको खोजबारे उनले यस्तो कथा सुनाएका थिए ।

ठमेलको बाल विकास स्कूलमा एक सज्जनलाई उनले पढाएका थिए । ती जलकृष्ण श्रेष्ठ थिए । पछि पुरातत्वमा काम गर्न गए । जलकृष्णले २०४०÷४२ सालमा गोरखापत्रमा एक विज्ञापन निकाले । संस्कृति सम्बन्धि पुराना पत्रिका पुस्तक संकलनको लागि । जलकृष्णले रेग्मीलाई ‘माड्साव’ भन्थे । पढाएको हुनाले । रेग्मी माडसावले गोरखापत्रमा छापिएको विज्ञापन देखेपछि शिष्यलाई, ‘काम नलाग्ने साहित्यको किताब तथा पत्रपत्रिका आयो भने मलाइ दिनु’ भनेका थिए । 

हृदयचन्द्र सिंह प्रधानको सम्बन्धी पर्ने डा. भवानीभक्त सिंहकहाँबाट जलकृष्णले बटुलेका सामग्री रेग्मीले उनको घर क्षेत्रपाटीमा गएर ल्याए । त्यहाँ उनले मोतिरामको डायरी फेला पारे । 

यही स्रोतको आधारमा उनले मोतिराम भट्टसम्बन्धी अझ खोजीविन र लेखनी गरे । मोतिरामबारे लेखिएका रचना माथि टिप्पणी गर्नसक्ने पकड राखे । १९९१ सालमा नेपाली साहित्य सम्मेलन पत्रिकामा धरणीधर कोइरालाले मोतिराम भट्टले इलाहवादबाट ‘इन्ट्रेन्स’ (आइए सरह) पास गरेको लेखेका थिए । अध्ययनको क्रममा शिव रेग्मीले मोतिरामले आइए पास नभएको थाहा पाए । यसबारे कमलमणिलाई सोध्न लगाए, मानेनन् । प्रकाश ए राजले ‘थाहा भएन’ भने । त्रिरत्न मानन्धरले इलाहवाद विश्वविद्यालय खुलेको मिति बताइदिए । उनले आपूmसँग भएको डायरीको आधारमा निष्कर्ष निकाले, ‘मोतिरामले इलाहवादबाट मिलिटरी तालिम लिएका मात्र रहेछन् ।’ मोतिराम भट्टको जीवनी मृगेन्द्र शमशेरको हुकुम बमोजिम सुनेको आधारमा नरेन्द्रराज पाण्डेले लेखेका थिए । मोतिरामबारे त रेग्मीले उनकै डायरी पढेकै आधारमा विभिन्न लेख लेख्न पाएका थिए । 

एउटा पुरानो कागजातको महत्व कति हुँदो रहेछ र त्यसले मै हुँ भन्नेलाई समेत थैथै पार्न सकिने उनले यति बेला बुझे ।

‘पुराना पुस्तक तथा पत्रपत्रिकाको संकलन भएमा त्यो लेखकको बलियो आधार हुने’ रेग्मी बताउँथे । कसैले गल्ती गरेको ठाउँमा सामग्री बनाउन सकिन्छ । उनले यस्ता धेरै पक्षहरू भेटाए । तरपनि चोरी र नाम उल्लेख नगरिदिने समस्याबाट भने आजित थिए । जस्तो सिद्धिचरणको पहिलो कविता ‘भुइँचालो’को प्रसङ्ग । त्रिभुवन विश्वविद्यालय नेपाली विभागका मास्टरहरूले केही नयाँ भेटे आपूmले भेटाएको भनि हतारिएर लेख्थे । तर त्यो उनीहरूले नभइ उनका विद्यार्थीले भेटाएका हुन्थे । शोधगर्न आउने विद्यार्थीलाई शिव रेग्मीले भेटाएर नयाँ नयाँ विषयवस्तु दिन्थे । यसरी दिएका चिज विद्यार्थीका शोध निर्देशकले आपूmले भेटाएको भन्थे । त्यो चाहिँ चित्तबुझ्ने कुरै भएन । शिव रेग्मीको सल्लाहमा सिद्धिचरणको ‘भुईँचालो’ कविता त्यसैगरी एक विद्यार्थीलाई दिए, एक मास्टरले आफूले भेटाएको लेखिदिए । उनी भन्थे, ‘पछि गोरखापत्रले समेत त्यो कविता छाप्दा कहाँबाट कसरी आयो भन्ने नखुलाई नै छाप्यो ।’

संकलनको कथा यत्तिकैमा सकिएको थिएन । 

उनले विभिन्न व्यक्तिबाट आप्mनो संकलन बलियो पारेका थिए । तीमध्ये अच्युतरमण अधिकारी पत्रिका संकलनका धुरन्धर थिए । रेग्मी भन्थे, ‘मेरो भन्दा ठूलो संकलन थियो उनको । उनले यति धेरै पत्रिका नदिएको भए म त्यति धनी हुने थिइन । पछि उनी घरै बेचेर अष्ट्रेलियातिर लागे ।’ त्यसपछि अधिकारीको संकलन तितरवितर भयो । ईश्वर बराल उदार थिए र विश्वास पनि गर्थे । बरालले रेग्मीलाई ‘फोटोकपि गर्नुस् ल्याउनुस्’ भनेर थुप्रै पत्रिका कपि गर्न दिएका थिए । बराल सम्पादक रहेका धरती, इन्द्रेणी आदि पत्रिका उनको संकलनबाट अध्ययनको लागि प्रयोग गरे । शारदाको सम्पादकीय बटुल्न उनले धेरै सहयोग पनि गरे । रेग्मीले भनेका थिए, ‘डेरामा बसेर पत्रिका संकलन गर्ने एक नामुद साहित्यकारकी पत्नीले हैरान भएर संकलित सबै पत्रिका मलाई बेचिदिएकी थिइन् ।’

यसरी २०१५ सालदेखि संकलनमा लागेका रेग्मी मैले भेट्दा बाहिरफेर उति घुम्न सक्दैनथे । ज्वालादेवीको शेषपछि उनको सहारा पत्रिका र पुस्तक प्रति नै थियो । सुन्य जीवन विताउँदा, कहिलेकाहीँ उनले फोन गरेर भेट्न बोलाउँथे । ८ फागुन उनकाे निधन भएछ । बेला बेलामा जाने कात्यानीको त्यो बाटो नि थुनिए झै‌ँ भयो ।

९ फागुन, २०७५




Tuesday, April 25, 2017

रक्सीको राज्य

हिजोआज सराव पिएर सवारी गरेमा मादक पदार्थ सेवन (मापसे) को कसुरमा प्रहरीले समात्न सक्छ। तर पनि कतैकतै मद्यशालेहरूले चुनौती दिने नियम बनाएका छन्, ५ हजारसम्मको मापसे गर्नेलाई आफ्नो गाडीमा घरैसम्म पुराइदिने व्यवस्था। यस्ता मद्यशाला या जमघटमा नयाँ पन्थेलाई पिलाउन खुब बल गरिन्छ। उनीहरूले फिरीमा खाइदिए पुग्छ, सुरुमा। यत्र, तत्र, सर्वत्र अपार छ, मद्यको बेपार। त्यही रक्सीको राजबारे यस लेखमा चर्चा गर्न खोजिएको हो। आधुनिक नेपालमा व्यावसायिक हिसाबले रक्सी पार्ने र सार्वजनिक रूपमा घुट्काउने चलन कहिले भएहोला भन्ने चासोले यो लेखमा एउटा पोयो बाट्न खोजिएको छ।

भीमबहादुर पाँडेका अनुसार तुर्की, इराकी तथा जर्मनसँग लड्न पहिलोपटक युरोप पुगेका नेपाली ठिटाहरूले त्यहाँको रहनसहन देखेका थिए। उनीहरूले चिया खाने, चुरोट पिउने, तास खेल्ने, रक्सी खाने र पैसालाई हत्केलाको मयलझैँ ठान्ने आदत सिकेका थिए। उनीहरू गाउँघरमा फर्केपछि तास खेल्ने बानी समाजमा छिट्टै चल्यो। थोरैले जित्ने र धेरैले हार्ने यो खेलले जित्तल र हरल दुवैलाई भट्टीमा बसेर रक्सी खान पनि सिकायो। उनका अनुसार जुवाडी बाहुन–क्षत्रीले पनि जुवा जितेको सुरमा मद्यभट्टीमा पसेर जाँड खान सुरु गरे। त्यही बेलादेखि नेपाली गाउँघरमा रक्सी सार्वजनिक पेय भएको हुनुपर्छ।

पाँडेको तर्क छ, जुवाले जाँड खान त सिकायो, यसको प्रकोप जारीमा बिस्तारै पर्न थाल्यो। स्वास्नी पिट्ने बानी मौलाउँदा विपत् खप्न नसकेर महिलाले घर पनि छाडे। अन्य समस्या थपिए र अड्डाखाना पनि त्यसपछि बढ्न थालेका हुन्। जुवा, जाँड र जारीले निखारिएका एकथरी गाउँलेहरूलाई उनले ‘जाली’ भनेका छन् (पृ. १०३)। यसरी दुई लाख नेपाली युवाहरूले भाग लिएको पहिलो विश्वयुद्धपछि नेपाली समाज उस्तै रहेन। सांस्कृतिक लेपमा समाज कसिकसाउ देखिए पनि भित्रभित्रै उध्रिएको थियो। प्रचार गरिएजस्तो समाज बन्द थिएन।

विश्वयुद्धपछि लाहुरबाट फर्केका किशोरलाई लक्षित गरेर तराईका नाकाहरूमा मद्यभट्टीहरू खोलिएका थिए। दोस्रो विश्वयुद्धताका सन् १९४३ मा भर्ती भएका कास्की लुम्लेका ललितबहादुर गुरुङले लेखक झलक सुवेदीलाई ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’ पुस्तकमा भनेका छन्, ‘बाटामा थकाली र मगरका भट्टीहरू हुन्थे, खान र बास बस्नका लागि। यस्ता भट्टीहरू लाहुरेको सिकार गर्न बसेका जस्ता लाग्थे।’ (पृ. १०२) अझ ब्रिटिस भारतबाट फर्केका यी लाहुरेहरूले पतिया लिनलाई एक साता जति त तराईमा बस्नुपथ्र्यो।

मुलुकबाहिर गएपछि बिटुलो भएको भनी चोख्याउन पतिया लिनुपर्ने चलन थियो। पतियाको नाममा बाहुनहरू लगाएर पैसा लिइन्थ्यो। पूर्वलाहुरेहरूले सुवेदीसँगको कुराकानीमा भनेका छन्, एक सातासम्म बस्दा लाहुरेहरूको कमाइको पोको पनि भट्टीवालका थैलामा पथ्र्यो (पृ. १४८)। यी भट्टीहरूमा पसेका कतिपय त बेखर्ची भएर फर्कन्थे, बिचरा। नभए तुम्मडी भएर पहाडतिर उकालो लाग्थे। कसैले रिक्सा चलाएर बस्थे। भूपी शेरचनको ‘भैरहवा’ कविताले पनि लाहुरे, भट्टी र रक्सीको झल्को दिन्छ :

लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली? ‘अच्छा यार’
र देखिन्छ केवल
साँझमा
रिक्सा, साइकल, भट्टी र सडकमा
लाहुरेहरू र कान्छीहरूको मांसाहारी प्यार
उफ्† यो पट्याइलाग्दो ठाउँ

यो पट्याइलाग्दो ठाउँ बन्नुमा ब्रिटिसकालीन भारतका सुगरमिलको कथा पनि जोडिन्छ। अंग्रेजको शासनकालमा उत्तरी भारतका गोरखपुरदेखि कलकत्तासम्मका ठाउँहरूमा प्रशस्त सुगरमिल खोलिएको थियो। त्यसबाट चिनीबाहेक वाइप्रोडक्टको रूपमा भेली पनि बन्थ्यो। उत्पादित भेली रक्सी बनाउने कच्चा पदार्थको रूपमा नेपालमा भित्रिएको थियो। मेरा माइला मामाले भनेअनुसार खस्यौलीका नेवारहरूले सुनौलीदेखि खस्यौलीसम्म गोरुगाडामा सामान ओसार्थे। त्यस्तो सामानमा ज्वानो, तमाखु, भेली, साबुन, कपडा आदि पाइन्थ्यो खस्यौली बजारमा।

सन् १९३९/४० तिर उखु उत्पादन गरिने भारतभरको जम्माजम्मी थलोमध्ये ५० प्रतिशतभन्दा धेरै जमिन उत्तरप्रदेशको थियो भनी सन् १९८४ मा लेखक सहिद अमिनले आफ्नो पुस्तक ‘सुगरकेन एन्ड सुगर इन गोरखपुर’ मा लेखेका छन्। यस्तो भेली जोगवनी, भैरहवा, गौरीफन्टा, पक्लिहवा, कोइलाबासलगायतका भन्सार वा छोटी भन्सारबाट भित्रिएर तराई मात्र हैन नेपालका पहाडमा पुगेको छ, जसबाट बनाइएको रक्सीलाई पहाडमा ‘भेलीको झोल’ पनि भनिन्थ्यो। यस्तो झोल बनाउने कारखाना नेपालमा पनि खोलिँदै थियो।

मोरङ सुगर मिल्स २००३ सालमै खुलेको थियो। यो ब्रिटिस भारतको थोत्रे मिसिन थियो। अहिले पनि काठमाडौँमा काम गरेर थोत्रा बनाइएका कम्प्युटर गाउँघरतिर सप्लाई गरिएजस्तै भारत पाकिस्तान विभाजन हुनुअघि पाकिस्तानतिर पर्ने नारायणगन्ज भन्ने ठाउँमा बेकामे भएर बसेको मिसिनलाई विराटनगरमा ल्याएर जडान गरिएको थियो। कलकत्ते सेठले १५ लाख मूलधनमा खोलेको भनिएको यो कारखानाले त्यति बेला भारतबाटै उखु ल्याएर चिनी र रक्सी उत्पादन गथ्र्याे। त्यसका नेपाली प्रतिनिधि जुद्धबहादुर श्रेष्ठले ‘बितेका ४ वर्षतिर फर्केर हेर्दा’ भन्ने पुस्तकमा यसबारे लेखेका छन्। तराईमा यस्ता सुगर मिल थपिने उपक्रम चलिरह्यो।

त्यत्तिकै बेकामे पल्टेका पुराना कलकारखानाहरूलाई यसका कारखानेदारले नेपाली पाटनर खोजेर तराईमा विभिन्न उद्योग स्थापनाको प्रयास गर्न थाले। यसै उपक्रममा रक्सी उत्पादनको एउटा कथा जोडिन्छ। यो कथा बोरिस लिसानेभिचसँग जोडिएको छ। ब्रिटिसकालीन भारतको कलकत्तामा रहँदा यी रुसी नागरिकले नेपालका पनि केही सम्भ्रान्तहरू वा भविष्यका सत्ताधारीलाई साथी बनाएका थिए। तीमध्ये सी क्लासका कलकत्ते राणाहरू पनि थिए। उदाहरणको रूपमा महावीरशमशेर पनि हुन्। यिनीसँग मिलेर पश्चिम बंगालको कुच विहारमा मद्यशाला खोलेका थिए। तर सन् १९४७ मा भारत पाकिस्तान विभाजन भएपछि कुच विहारमा अलपत्र परेको सामान नेपालमा ल्याएर रक्सी उत्पादन गर्ने सरसल्लाह महावीरशमशेरसँग गरे।

काठमाडौँ तथा तराईमा पनि रक्सी पिउने बानी रहेको र रक्सीमा प्रतिबन्ध नभएकाले राणादेखि सर्वसाधारणमा पनि सामाजिक रूपमा नै रक्सी स्वीकार्य रहेको देखाई महावीरलाई बोरिसले फकाएका थिए। भारतबाट पनि प्रशस्त उखुहरू ल्याउन सक्ने सम्भावना भएकाले सुरुमा विराटनगरमा यस्तो उद्योग खोलेमा फाइदा हुने र त्यसबाट आउने करले सरकारलाई सहयोग हुने बताएका थिए। उनीहरूले सम्भवत: तराईका भट्टीपसलले देखाएको सम्भावनालाई पनि ख्याल गरेका थिए। २००७ सालपछिको तत्कालीन मन्त्रिमण्डलमा महावीर उद्योग मन्त्री पनि भए। त्यसपछि त बोरिसलाई गज्जब भयो। कुच विहारबाट सामान आइनसकेको हुँदा विराटनगरमा उद्योग सेटअप भएको थिएन। त्यति बेलासम्म हतार भएकाले भारतबाट महिनाको ५ हजार ग्यालेन रक्सी बोकी ल्याएर तराई र काठमाडौँमा पनि बेच्न थाले।

यसबाट महावीर र बोरिसले ४५० ससाना पसललाई ग्राहक बनाए। तर त्यति बेला विभिन्न फलफूलको स्वाद आउने रक्सीलाई गैँडा, बाघ, चितुवा नामका कागजले सिसीमा बेरेर आकर्षक र सस्तो मूल्यमा यिनले रक्सी बेचे।
तराई क्षेत्रमा खोलिएका मद्यभट्टीहरूमा बोरिसले रक्सी सप्लाई गर्थे। बोरिसको व्यापारलाई करिब १२ सय मद्यशालेहरूले विरोध गरेका थिए। नगरुन् पनि किन? विभिन्न स्वादको रक्सीले, भेलीको रक्सी बिक्री भएको थिएन। उता बोरिसलाई सरकारले पनि १ लाख ७५ हजार रुपैयाँ पनि करस्वरूप मागेको थियो। त्यो झोँकमा उनले पैसा दिएनन्। सरकारले पनि बाँकी राखेन। बोरिस पनि सरकारले मागेको पैसा नतिरी डिल्लीबजार सदरखोरमा बसे। सन् १९५४ मै बोरिस–महावीरले आफ्नो मद्यशाला नै बन्द गर्नुपर्‍यो। यसले भट्टीवाललाई फाइदा नै भयो। यो कथा मैले मिसेल पिसेलले लेखेको ‘टाइगर फर ब्रेकफास्ट’ भन्ने पुस्तकबाट लिएको हुँ। बोरिसको लामो कथा ‘सिन्हास’ जर्नलमा मार्क लिक्टीले पनि लेखेका छन्।

राणाकालमा भारतमा उत्पादित वस्तुहरू नेपालका पहाडी इलाकामा जताततै पुग्थे। भेलीको पहाड यात्रा पनि यससँग जोडिन्छ। टोनी हागनले नुन बोक्ने यात्रामा सन् १९५० को मध्यतिर २० देखि ३० लाख मानिस संलग्न हुन्थे भनेका छन्। पहाडबाट झरेका खचाखच मान्छेले आफूलाई चाहिने सरसामानहरू घ्यूसँग साटेर लैजान्थे। सन् १९६६ मा धनगढी बजारबाट कम्तीमा १ लाख केजी घ्यू भारत निकासी हुने तथ्य हर्क गुरुङले ‘मैले देखेको नेपाल’ पुस्तकमा उल्लेख गरेका छन्।

सन् १९६५–६६को एक वर्षमा बैतडीको झुलाघाटबाट सबैभन्दा धेरै ३ लाख ३३ हजार ६४८ केजी घ्यू भारत निर्यात भएको थियो। बुटवल पनि त्योभन्दा कम थिएन। घ्यू नै पैसाजस्तो थियो। पहाडमा घ्यू उत्पादन नगर्नेहरूले राडीपाखी, अन्न, छाला आदि लिएर तराई झर्थे। यसैले बाजेका पालादेखि नै अन्य विदेशी वस्तुको स्वाद नेपाली समाजले चाखेको थियो। त्यसपछि त नेपालमै पनि सुगर मिल स्थापित भएका र तिनीहरूले बाइप्रोडक्टको रूपमा भेली वा रक्सी बनाउन थालेका थिए।

नेपालमा २०२३ सालदेखि खोलिएको महेन्द्र सुगर मिल्सले चिनी त उत्पादन गर्ने नै भयो। यसले उच्च कोटिको मदिरा पनि उत्पादन सुरु गर्न थाल्यो। त्यति बेला यसले ८ हजार सिसी रक्सी प्रतिदिनमा उत्पादन गथ्र्याे। यसले उत्पादन गरेको रक्सीमध्ये २०३६ सालतिर ‘थ्री लायन्स ह्वीस्की’ पपुलर थियो भनेर किशोर नेपालले आफ्नो संस्मरणात्मक पुस्तक ‘मेरो समय’ मा लेखेका छन्। उनका अनुसार त्यति बेला काठमाडौँको आभिजात्य समाजमा फ्रेन्च वाइन र ब्रान्डीका पारखी थिए।

२०२८ सालसम्म मुलुकमा ३ ओटा चिनी कारखाना थिए। भैरहवा, वीरगन्ज र मोरङ। सँगसँगै रक्सी उत्पादन गर्ने डिस्टिलरी उद्योग पनि खोलिए। जस्तो काठमाडौँ डिस्टिलरी, दी नेपाल डिस्टिलरी, जावलाखेल डिस्टिलरी, भीम डिस्टिलरी–धरान आदि। यी कम्पनीले भट्टी खारेज गराई डिस्टिलरी खुलाउने गरी सरकारसँग इजाजत माग्ने गरेको देखिन्छ। यसबाट पनि डिस्टिलरी उद्योगलाई त्यो बेला भट्टी चुनौती बनेको देखिन्छ। त्यसैले भट्टी–राज्य पनि धेरै समय चलिरहे। डिस्टिलरीले उत्पादन गरेका रक्सीका पाउँच गोजीमा राखेर मानिसले गाउँघरतिर तन्काउँदै पनि हिँडे। कुनै जमानामा तमाखुका अम्मलीझैँ पहाडमा पनि मानिसहरू रक्सीका अम्मली बने।

रक्सी उपभोगसँग अन्य पक्षहरू पनि जोडिएका हुन्छन्। नयाँ शिक्षा लागू भएपछि २०२८ सालमा राष्ट्रिय विकास सेवा (राविसे) उच्च शिक्षाको एउटा पाटोको रूपमा लिइयो। त्यति बेला विद्यार्थीलाई आफ्नो देशको वास्तविक स्थिति बुझ्न पठाइयो। सुरुमा राविसे विद्यार्थीलाई शिक्षकको अभाव पूर्ति गर्न पठाइएको थियो। त्यो बेला कतिपय शिक्षकले रक्सी पिउने बानी पनि सिकेर आए। सरकारको तर्फबाट गाउँघरमा खटाइएका साना तथा मझौला कर्मचारीले पनि गाउँघरबाट फर्किँदा रक्सी खान सिकेर फर्कन्थे। पञ्चायतकालमा अनुगमन गर्न गएका कर्मचारीलाई रक्सी र कुखुराको मासुले स्वागत गरिन्थ्यो। उनीहरू ठाउँ–ठाउँमा स्वाद चाखेर डुल्थे। मेरो विचारमा ब्रिटिसहरूले स्थापना गरेका सुगरमिलबाट उत्पादित भेली र रक्सीले नेपाली पहाडलाई उहिले नै एउटा आदत उपहार दिएर गएको थियो।

सन् १९९० पछि नेपालमा धेरै संस्थाहरू जन्मे। बाटोघाटोहरू बने। पर्यटन फस्टायो। राणाकालीन भट्टीहरू होटलमा रूपान्तरित भए वा बाटोघाटो पुगेका ठाउँहरूमा भट्टी बिस्तारिए। चलायमानता बढ्दै जाँदा उपभोग्य बानी पनि कमजोर भएन। बरु वर्गीय खाडलअनुसार खानेबानी पनि वितरित भयो। त्यसैले रक्सी सस्ता र महँगा हुन थाले। अहिले दरबारमार्गमा खुब महँगा रक्सीहरू पनि बिक्री हुन्छन्। ५ देखि १० हजारसम्मका रक्सीहरू मझौला नेपालीको रोजाइमा परे पनि लाखे रक्सीहरू पनि नेपालमा धेरै बिक्री हुन्छन्। कान्तिपुर दैनिकको एक रिपोर्टिङमा विष्णु पोखरेलले २०७३ साउनदेखि माघसम्मको आयातको आधारमा नेपालमा हरेक दिन ७२ लाख ३५ हजार रुपैयाँको मदिरा भित्रिने गरेको उल्लेख गरेका छन्। यसमा अनौपचारिक कारोबारको गणना छैन।

गएको फागुन पहिलो साता मन्त्रीस्तरीय बैठकले ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ पारित गरेको छ। जसमा २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने उल्लेख छ। नीतिले सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरेको छ। बिहान ५ देखि साँझ ७ बजेसम्म फुटकर मदिरा खरिद–बिक्री गर्न नपाइनेलगायतका व्यवस्था यसमा छन्। तर यो नीति के–कसरी लागु हुन्छ, त्यो हेर्न भने बाँकी छ। अहिलेसम्म पनि रक्सी व्यापार निस्फिक्री चलेकै छ।

भारतबाट खरिद गरी ल्याएको कोदोबाट काठमाडौँ वरिपरिका केही गाउँहरूले रक्सी उत्पादन गरी काठमाडौँलाई पनि बिक्री गर्छन्। अहिले पनि तरकारीजस्तै केही काठ क्षेत्रबाट रक्सी ग्यालेनमा भित्रिन्छ। भेली, कोदो र कनिकाजस्ता कच्चापदार्थबाट रक्सी बनाई साताको ८० लिटरसम्म एक परिवारले रक्सी पारेर उपत्यकामा बिक्री गर्छन्। तर यस्ता साना उत्पादकलाई कानुनी अनुमति छैन। ठूला डिस्टिलरीबाट मोटो कर असुल्न पाएकाले पनि साना अवैध भएका हुन्। त्यसैले यस्तो बनुवा रक्सीको गणना छैन।
यसरी, नेपालमा पानी जसरी रक्सीको पैसा पनि उँधो बगेको छ। लाग्छ, रक्सी–राज्यको यस्तै कथा अन्य वस्तु–राज्यमा पनि देखिन्छ।

यो लेख कान्तिपुर कोसेलीमा ९ वैशाख, २०७४ मा प्रकाशित भएको थियो ।

Monday, March 13, 2017

चिया चर्चा

कीर्तिपुरमा सँगै पढेका साथीसँग थापाथलीमा भेट्ने कुरा मात्र होइन चौतारीमा भेटियो पनि । सामान्य सन्चोबिसन्चोपछि बसेर कुरा गरौँ न त भन्ने भयो, तर कहाँ ? कुरा मिल्यो, नजिकैको चियापसलमा । पसलैपसलको सहरमा चिया नपाउने कुरै थिएन । एउटा पसलभित्र पसेर, ‘तीन कप चिया है, चिनी कम रङ कडाभन्दै अर्डर गर्यौँ । चिसो मौसम थियो, कुर्सीमा बिस्तारै पिठ्युँ टेकाउँदै, गफ सुरु भयो । कुरा त्यो बसाइमा गरेको गफको हैन, चियाको बारेमा हो । चिया बनाउने यस्तो टोले पसल कति होलान् ? चाय गफाडी कति होलान् ? अनुमान गर्न सजिलो छैन । राणाकालमा हुन्थ्यो भने यसरी चिया खानेलाई कांग्रेसी बानीभएको बात लाग्थ्यो । लुकेर खानुपर्‍थ्यो । यसप्रकार यो लेख नेपालमा चियाको चलनको बारेमा लेखिएको हो ।

चिया चर्चाको लागि तस्बिर परिणाम
    नेपाली सेनाबाट पेन्सन पकाएका लप्टनले २००७ सालअघि डिल्लीबजारको उकालोमा सामान्य चियापसल खोलेका थिए । अरविन्द रिमालले यसबारे डिल्लीबजारको लप्टनको होटलनामक संस्मरण पुस्तक नै लेखेका छन् । उनका अनुसार त्यस बखत (राणाकालमा) घरबाहिर चिया खानुलाई नागरिकको स्वतन्त्र विचार तथा व्यवहार ठानिन्थ्यो । त्यसैले खुलेआम खानु हुँदैनथ्यो । सातसाल अघि बीपी कोइरालाले गुप्त रूपमा भेष बदलेर धरहराको माहिला साहुको पसलमा चिया खान जान्थे । पद्मशमशेरको पालामा घरघरमा अलिअलि आँट गरेर चिया खाने चलन सार्वजनिक ठाउँमा पनि हुन थालेको थियो ।
     सात सालपछि त मध्यमवर्गीय परिवारमा चिया खाने चलन व्यापक भइसकेको थियो । रिमालका अनुसार लप्टनको होटलमा ५ पैसाको आधा कप चिया पाइन्थ्यो । २००४ सालको जयन्तु संस्कृतम् र त्यसलगत्तै भएको विद्यार्थी आन्दोलनका व्यक्तिहरू लप्टनको होटलका ग्राहक थिए । त्यहाँ पाँडे, गुरुपुरेत, थापाकाजी, राणा शाह, दीक्षित लोहनी आदि सम्भ्रान्त र मध्यमवर्गीय व्यक्ति तथा साहुमहाजन आउँथे । त्यस्तै भेला हुने, गफ गर्ने र चिया पिउने अर्को ठाउँ नयाँ सडक पनि थियो । नयाँ सडकको कथा पनि रिमालले झैं कसैले लेखे जाती हुन्थ्यो । यसरी जम्मा हुने क्रममा डिल्लीबजारलाई चीन समर्थित र नयाँ सडकलाई भारत समर्थित क्षेत्र पनि भनिन्थ्यो भनेर रिमालको पुस्तकमा भूमिका लेख्ने क्रममा श्यामदास वैष्णवले पनि लेखेका छन् ।

     नेपाली सेनामा काम गरेका बानेश्वरका ९० वर्षीय रत्नध्वज थापाले २००७ साल वरिपरि खुलेको न्युरोडको एउटा पसलको कथा मलाई सुनाएका थिए । यस होटलको उपल्लो तलामा चिया बनाइन्थ्यो । त्यहाँबाट गिलास छिर्ने प्वाल पनि थियो । तल चिया खान आउनेले प्वालतिर मुख सोझ्याउँदै माग्थे । माथिबाट चिया दिइन्थ्यो । उनका अनुसार इन्द्रचोकमा त दूधैदूधको लतरी चियाबनाइन्थ्यो । यहाँ को आउँथे भन्ने कुरा अनुत्तरित छ । तर रिमालले नयाँ सडकको पीपलबोट (अखवारी थलो) र डिल्लीबजार (विवेचनात्मक) पनि भनेका छन् । तर पीपलबोटेहरूले के सोच्दा हुन् जान्न बाँकी नै छ ।
     उल्लिखित वयानबाट कम्तीमा सार्वजनिक ठाउँमा चिया खानु भनेको स्वतन्त्रताको उपभोग गर्ने अर्थ पनि लाग्ने बुझियो । यसको अर्थ के चिया प्रगतिशीलपेय हो ? भन्ने प्रश्न मेरो मनमा उठेको थियो । राणाकाल र त्यसअघिका शासक र भारदारी खलकमा यसको प्रयोगको अभ्यासबारे ज्ञानमणि नेपालको एउटा सामग्री छ । जसले भोट जाने व्यापारीले चियाको चलन ल्याएको बताउँछ ।
     २०४४ सालमा निस्केको मुहूर्तभन्ने पत्रिका संकलनका सोखिन शिव रेग्मीकहाँबाट पढ्न पाएको थिएँ । सो पत्रिकामा चिया खाने चलनशीर्षकमा ज्ञानमणि नेपालले एउटा लेख लेखेका रहेछन् । उनका अनुसार पहिला (?) कुनै पनि नयाँ चलन, नयाँ खाद्यपदार्थ आउँदा धार्मिक दृष्टिले त्यस्ताको खेदो गरिन्थ्यो । भनाइको अर्थ चियामा कुनै कानुनी बन्देज नभए पनि भावनात्मक रूपमा बन्देजजस्तै थियो । तर बसाइसराइ, युद्ध, भ्रमण, रोजगारीका सिलसिलामा नयाँनयाँ पेय पदार्थबारे ज्ञान लिने र त्यसको प्रयोग चलन सुरु भएको देखिन्छ ।
     ज्ञानमणिको स्रोत अनुसार वि.सं. १०९९ सम्म भारतमा पनि चियाको चलन थिएन । नेपाल हुँदै तिब्बत गएका भारतका विक्रमशिला महाविहारका आचार्य दीपंकर श्रीविज्ञानले आफ्ना ३५ जना अनुयायीसँग भोटमा जाँदा स्वागतमा चिया टक्राउँदा उनी कन्फ्युजभएका र खाएपछि प्रशंसा गरिएको कुरा अलका चट्टोपाध्यायको अतिशा एन्ड तिबेटपुस्तकबाट उद्धृत गरेका छन् । पछिपछि भोट जाँदा नेपाली प्रतिनिधिमण्डलका सदस्यलाई पनि सत्कारमा चिया खुवाउन थालियो । यस अर्थमा चिया सत्कारको प्रतीक मान्न सकिन्छ ।
     ज्ञानमणिले भाषा वंशावलीलाई उद्धृत गर्दै लेखेअनुसार तिब्बतसँग ब्यापार सम्बन्ध राख्ने काजी भीम मल्लले चियाको चलन ल्याएका हुन् । मल्लकालका अन्य व्यापारीहरूलाई यसको पहिचान सर्वसाधारणसम्म पुर्‍याउने श्रेय जान्छ । त्यति बेला कचहरी बस्दा मुखियाका घरमा तमाखु र चिया पकाउने व्यवस्था हुने कुरा नेपालले उल्लेख गरेका छन् । एकीकरणपछि भोटका अलावा चीनसम्म जाने चलन पनि भयो । वि.सं. १८४९ देखि ५/५ वर्षमा नेपालबाट काजी सरदारको नेतृत्वमा प्रतिनिधिमण्डल चीन वादशाहकहाँ दर्शन गर्न जाने क्रम चल्यो । फर्केर आउँदा चीनबाट दिएको सौगातको सामानमा चिया पनि अनिवार्य रूपले पर्थ्यो । चियाको साथै चिया पकाउने चाँदीको कित्ली, कचौरा, चिया घोल्ने डोब्बो पनि आउने गर्थे भनेर नेपालले लेखेका छन् ।
     वि.सं. १८८४ मा चौतारिया पुस्कर शाहको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपालबाट चीनको कुतीतर्फ गएको थियो । फर्केपछि त्यति बेलाका महाराजाधिराजलाई चौतारियाले लेखेको कुरालाई ज्ञानमणिले यसरी उल्लेख गरेका छन्, ‘यहाँ (त्यहाँ) चिया खुवाउने चलन रहेछ । आइपुग्नासाथ चिया पकाइ बाटैमा पर्खेर बस्दा रहेछन् । अघिअघि आउने काजीहरूले चिया खाने गर्दा रहेछन् । तर मैले खाइनँ ।ठाउँठाउँमा पाल टाँगी चिया खुवाउने चलन भए पनि पुष्कर शाहले चिया नखानुमा आफ्नो धर्म नछाडेकोअर्थमा उनले बयान गरेका छन् । विदेश जाने मानिसहरू नियममै नरहने र खान नहुने चीज पनि खाने हुँदा भोट वा मुग्लान जाने जोसुकैले सिमानामा पतिया गर्ने वा गोदान गरी चोख्याउने वा प्रायश्चित्त गर्नुपर्थ्यो ।
     यसप्रकार ज्ञानमणि नेपालले ऊ बेला चिया खाने चलन भारदारी खलकसम्म र व्यापारीमार्फत् सर्वसाधरणकहाँ पुगेको भनेर लेखे पनि साधारण परिवारकहाँ वा गाउँघरमा चिया खाने अभ्यास कस्तो थियो भनेका छैनन् । काठमाडौँबाहेकका अन्य चिसो ठाउँहरूमा चियाजस्तै तातो जिनिसको प्रयोग गरिन्थ्यो होला । यसबारे नेपालको लेख अनुत्तरित छ ।
     नेपाली पारिवारिक वृत्तमा चिया पिउने चलन कस्तो थियो भन्नेबारे जान्न सजिलो छैन । तर पनि केही फुटकर सामग्री भने नभएका होइनन् । जनकलाल शर्माले आफ्नो पुस्तक कौतुकमय डोल्पो’ (२०३१) मा जुम्ला हुँदै डोल्पो जाँदा जुम्लाको डिल्लीकोटको एक घरमा बास बस्दा खाएको भोटे चियाको बयान गरेका छन् । उनले चिया खाँदा सुरुको सन्दर्भ कोटयाउँदै लेखेका छन्, ‘एकै छिनपछि तिब्बती चिया आयो । चिया खाने क्रम पनि तिब्बती ढंगबाट बनेका चाँदीका फुरु थिए । फुरु भनेको चिया खाने भाँडो हो, गिलासजस्तै । शर्माले लेखेका छन्, ‘तिब्बती चिया खाने परम्पराअनुसार फुरुको चिया घटाघट एकैचोटि खानु हुँदैन । बिस्तारै स्वाद लिईलिई खानुपर्छ ।’ (पृ. २५)
     शर्माका अनुसार आधा कप चिया बाँकी भएपछि चुप लागेर धैर्यसाथ बस्नुपर्छ । आधा कप चियामाथि पुन: चिया थपिँदै जान्छ । जहिलेसम्म कपको चिया पूरै समाप्त हुँदैन तबसम्म फुरुमा चिया थपिँदै जान्छ । कसैले अज्ञानवश अथवा जानेर नै फुरुको अन्तिम घुँट लियो भने ऊ तृप्त भएको मानिन्छ र चिया थपिँदैन । चिया खाइसकेपछि स्थानीय मानिसहरू फुरुको भित्री भाग चाट्छन् । घ्यू फुरुको भित्री भागमा जमेर बस्ने हुँदा त्यसलाई निकाल्ने क्रममा चाटिएको हो ।
     चिया बनाउने तरिका र यसमा प्रयोग हुने वस्तुबारे पनि शर्माले बयान गरेका छन् । जस्तो चिया बनाउँदा पहिले चियाको पत्ति एउटा भाँडामा हालेर खुबसित पकाइन्छ र त्यसको पानी एउटा काठको थिरीमा हालिन्छ । पुस्तक पढ्दा काठको थिरी कस्तो हुन्छ मैले जानिनँ । मेरो कल्पनामा त्यो मही राख्ने ठेकीजस्तै तर सानो आकारमा हो कि झैँ लाग्थ्यो । त्यसमा चौंरीको नौनी घ्यू र नुन हालेर एउटा फिर्के (सायद मदानीजस्तै सानो औजार होला) ले तलमाथि गरेर खुब घोलेर मथिन्छ ।
     यसरी घोलेपछि नौनी त्यसैमा मिलेर जान्छ । लेखकका अनुसार चिया ठीक भयो कि भएन भनेर स्वास्नीमानिसहरू चाख्ने पनि गर्छन् । ठीक भएपछि एउटा ठूलो कित्लीमा हालेर आगाको छेउमा राखिन्छ र बाँडिन्छ ।
     कहिलेकाहीँ चिया नसेलाओस् भनेर फुरुको ढक्कन पनि लगाइएको हुन्छ । फुरु भने प्राय: काठको र धेरैजसोमा बाहिरबाट, कसैकसैमा भित्रबाट पनि चाँदीले मोहरेको हुन्छ । पुस्तक पढ्दै जाँदा मलाई अचम्म लागेको पक्ष भने, यसरी स्थानीय स्वाद दिने चियाको पत्ति भने कालिम्पोङबाट नै पैठारी गरिएको हुन्थ्यो ।
     यसप्रकार पुस्तकमा चियाको कुरा अंग्रेजले स्थापित गरेको चियाबगानसँग ठोकियो । कालिम्पोङबाट आएको चियापत्ती राख्नुअघि कस्तो पत्तीको प्रयोग गरिन्थ्यो भन्ने कुरा जान्न सकिँदैन । किनभने अंग्रेजहरूले चिया खाने चलन चाइनिजहरूबाट सिकेका हुन् भन्ने बुझाइ छ । त्यसैले डिल्लीकोटमा पनि चीन, तिब्बत हुँदै कुनै पत्ति आउँथ्यो कि ? अथवा पत्ति नै नराखी चिया खाइन्थ्यो, शर्माको बयान यसबारेमा अनुत्तरित छ ।
     अंग्रेजसँगको युद्धपछि नेपालले केही भूभाग गुमाउनुपर्यो  । त्यसमा सिक्किम, दार्जिलिङलगायतका ठाउँ थिए । चिया बगान खोलेर अंग्रेजहरूले नेपालीलाई पनि कामदारको रूपमा ती क्षेत्रमा आकर्षण गर्न थाले । सन् १९८५ मा लेखिएको हिमालयन स्टेट फर्मेसनलेखमा रिचार्ड इंगलिसले यसबारे विस्तारमा लेखेका छन् । सन् १८२० को दशकमा ब्रिटिस कोलोनियलअधिकारीले चीनबाट ल्याएको चियाको बीउलाई कलकत्ताको बोटानिकल गार्डेनमा परीक्षण गरेपछि त्यसलाई सोही समयमा नै कुमाउमा रोपिएको थियो । त्यसको केही दशकपछि दार्जिलिङमा पनि परीक्षण गरियो र सन् १८५४ मा दार्जिलिङमा यसको खेती गर्न युरोपियन चिया व्यवसायीले अनुमति पनि पाए ।
    सन् १८७० को दशकमा दार्जिलिङ र पश्चिमी असममा ३ सय चिया बगानहरू बनाइए । त्यो बेला यी ठाउँमा १० हजार मानिसलाई बसोबास गराइयो । खासगरी नेपाली, सिक्किमी, भुटानीलाई । पूर्वाञ्चलमा तैनाथ एक कमान्डर इन् चिफले मेजर जर्नेल केदारनरसिं कुँवरलाई लेखेको अप्रकाशित पत्रलाई आधार मान्दै ज्ञानमणि नेपालले लेख्छन्, ‘अंग्रेजी चियाबगानमा वि.सं. १९२१ तिर ४ हजार जति नेपाली कुल्ली काम गर्थे ।इङ्लिसका अनुसार उनीहरूले त्यहाँ मजदुरी, कुल्ली काम, काठ काट्ने, भवन बनाउने तथा नोकरको रूपमा काम गर्थे ।
     ज्ञानमणि नेपालका अनुसार कुल्ली काम गर्न नेपालीहरू भारतमा काम गर्न गएको जंगबहादुरलाई मन परेको थिएन । हुन पनि रिचार्ड इङ्लिसका अनुसार सन् १८८१ देखि १९३१ को बीचको ४० वर्षमा ३ लाख २७ हजार नेपाली मजदुर यी चिया बगानलगायत भारतका विभिन्न ठाउँमा कामको सिलसिलामा गएका थिए । त्यो समयको जनसंख्या सानो कुरा थिएन ।
     इङ्लिसले यो पनि लेखेका छन् कि नेपालका स्थानीय जिम्दार मुखियाले लगाउने कर तथा राज्यले त्यसलाई पोस्ने चलन एकातिर र अर्कोतिर अंग्रेजहरूले दिने सुविधाले गर्दा पूर्वी पहाडमा गाउँका गाउँ खाली हुँदै गएका थिए ।
     यो सन्दर्भमा जंगबहादुरले केदारनरसिं कुँवरलाई त्यस्तै (दार्जिलिङमा जस्तै पूर्वी नेपालमा पनि) चिया बगान खोल्न र ती कामदारलाई दिने रकमबारे बुझ्न लगाए । सुरुआती सफलता नपाए पनि त्यति बेला राणाहरूले भारतीय बगानमा काम गर्न जाने नेपाली कामदारलाई रोक्न पनि चिया बगानको सुरुआत गरेको बुझिन्छ ।
     तर राणाले न चिया बगानमा काम गर्न जाने नेपालीलाई रोक्न सके । न २००७ सालतिर उनीहरूले कांग्रेसी बानीभनिएको चियाको उपभोग गर्ने चलनलाई नै । अहिले नेपालमा पानी पछिको प्रमुख पेय चिया नै बनेको छ । चिया सत्कारको प्रतीक मात्र भएको छैन । जाडो भगाउने माध्यम मात्रै होइन । राणाकालमा जस्तो नभएर यो नेपालीको बानीभइसकेको छ । टोले पसलहरूमा माथि जस्तै चिनी कम, रङ कडाभन्दै अर्डरगर्ने चलन बढ्दो छ ।


यो लेख २८ फागुन २०७३ मा कान्तिपुर कोसेलीको पृष्ठ छ मा हेर्न सकिन्छ ।


Saturday, March 4, 2017

बगरका माझी

माघको एउटा बिहान दौडिँदै आएकी महिला सुनकोसीको बगरमा बालुवा खोस्रेको खाल्डोमा टुपुक्क बसिन्।त्यसरी बसेकीले उनीतर्फ सोझै हेर्न मलाई आँट आएन, शौचले अत्याएर आएकी पो हुन् कि भनेर। कसो-कसो मलाई त्यो दृश्य अनौठो लागिरहेको थियो। तर, उनी शौचमा थिइनन्। सलले घुप्लुक्क मुख ढाकेर सुतेकी रहिछन्। त्यहाँ उनी अशान्त देखिन्थिन्।

     खाल्डोबाट उम्केर सोझै नदीले पानीढलो बनाएको किनारामा गई लुख्रुक्क दुइटै गोडा खुम्चाएर सुतिन्। अघिझैं सलले मन्टो लुकाइन्। एक मनले ठानेँ नदीकिनारमा माझीहरू भिटामिन डी खान यसरी नै आउँदा होलान्।त्यो नि मलाई बेबकुफ सोचाइ लाग्यो, घामले डढेका ज्यानलाई के को 'डी' 'सी' ? दृश्य त्यतिमात्र थिएन। दुई वा तीनजना महिला पूर्व-दक्षिण बगिरहेको कोसीको किनारैकिनार उँधोतिर दौडिरहेका देखिन्थे।
     त्यत्तिकैमा दुईजना पुलिस हान्निएर आएको देखेँ। उनीहरूमध्ये एकजना कड्किँदै थिए, 'यी छौंडालाई कति भने पनि नहुने। यहाँबाट माथि नजाऊभन्दा नि कत्ति नटेरेको। सिभिलमा आएर सबैलाई समातेर जाकिदिन्छु अनि थाहा हुन्छ।' अनि थाहा भयो त्यहाँ केही गडबडी रहेछ।
नजिकै एक्लै बालुवा चालिरहेकासँग सोधेँ 'के भएको दाइ? ' उनले भने, 'यहाँ पुलिसले बालुवा चाल्ने साँध बनाइदिएको छ, साँधभन्दा माथि गएमा यसैगरी लखेट्छ।' जताततै बालुवा निकाल्ने हो भने पानीको बहाव बदलिएर पुलको बुर्जालाई हानिदिन सक्ने भयले साँध बनाइएको रहेछ। ती मजदुर नूतन माझी थिए। उनले हाम्रो अनुहारमा नहेरी उत्तर दिँदै थिए। मेरो साथी रूख गुरुङले, 'दाइ हामी सिभिल ड्रेसमा आएका पुलिस हैनौं है' भन्दै उनलाई ढुक्क बनाए।

     अर्को दृश्यमा एक हबल्दारले आफ्नो सिपाहीलाई 'जा त्यो चालना फालिदे नदीमा' भन्दै अह्राउँदै थिए। सिपाहीले भने, 'फालेर के गर्ने साप, भर्खरै लतार्दै ल्याउँछन्।' त्यो सुनेर हल्दार फेरि कड्किए, 'फालिदे भनेको सुनिनस्।' सिपाहीले 'हस् साप' भन्दै चालना लतार्दै नदीमा मिल्काइदिए। तर, चारओटा बेल्चा भने लतार्दै उँभो लागे। बेल्चा लैजाने, चालना फाल्ने कस्ता पुलिस हुन् !
     सुनकोसी बगरमा बालुवा चाल्ने माझीहरू दोलालघाट बजारको अलि माथि माझी गाउँका बासिन्दा हुन्। उनीहरूको काम गर्ने थलो कोसीको बगर नै हो। घोप्टिएर गाउँ नै झरेंझै देखिन्थ्यो सुनकोसी र इन्द्रावतीको दोभानमा। दिउँसो एक प्रकारले, निकै रमाइलो पो लाग्यो त, त्यो बगर। गाउँमा दिउँसो त बुंगुुर र खोलेसोका कुखुरामात्र हुन्छन रे।
     बालबच्चासहित बिहानै ७-८ बजेतिर ४७ घरे माझी परिवारहरू बालुवा कोतर्न कोसी किनारामा पुग्छन्। त्यसैले १२ वैशाखको भूकम्पमा बुंगुर र कुखुराहरूमात्रै मरे र घाइते भए। नदी नहुँदो हो त के गर्दा हुन् ती माझी ? जीविकाको तानाबाना अरू पनि हुनन्। तर, एकदिनको लागि भने उनीहरूको बगर मलाई उराठिलो लागेन। मलाई नलागे पनि दिनहुँ बगरमा बिताउनेलाई कस्तो लाग्दो हो अज्ञेय नै रह्यो। टक्र्याकटुक्रुक ढुंगा बजिरहेको आवाज सुन्दा रोमाञ्चित लाग्ने ट्रिपरको हर्नले बगर सुनसान चाहिँ थिएन। अर्कोतर्फ, काम गर्ने ठाउँमा पारिवारिक वातावरण देखिन्थ्यो।
     माझीहरू डुंगा तार्ने, माछा मार्ने जाति हुन भन्ने सुनेको थिएँ। यही मेसोमा मैले बालुवा चालिरहेका मानबहादुरलाई सोधेँ, तपाईं पहिला के गर्नुहुन्थ्यो ? उनले भने, 'यही नै हो, बालुवा चाल्ने'। हुन पनि जहिलेदेखि बालुवाका घर बन्न थाले, उहिलेदेखि नै यो पेसा बन्यो होला। तर, कर गरेपछि उनले आफ्ना बाको त घट्ट भएको बताए।उनले भने, 'बाजेहरूको पनि पेसै पहिलेदेखि नै घट्ट चलाउने रहेछ।' कोही-कोही डुंगा पनि चलाउने रहेछन्। सुनकोसी र इन्द्रावती दोभानको तीरमा एक माझीको आफ्नै डुंगा देखिन्थ्यो। ५० रुपैयाँ प्रतिव्यक्तिमा उनले यात्रुलाई डुंगामा घुमाउँथे। मेरा साथीहरू त्यतैतिर पनि रमाएका थिए। 
     सुनकोसी बगरमा बालुवा चाल्ने माझीहरू दोलालघाट बजारको अलि माथि माझी गाउँका बासिन्दा हुन्। उनीहरूको काम गर्ने थलो कोसीको बगर नै हो। घोप्टिएर गाउँ नै झरेझै देखिन्थ्यो सुनकोसी र इन्द्रावतीको दोभानमा। 
     मानबहादुरले भने, 'वर्षभरि एउटै कामले मात्र त पुग्दैन अरू काम पनि गर्नुपर्छ।' बालुवा चाल्न नपाउने तीन महिनामा बर्खे भेलले बगाइल्याएका मुढाहरू समाउने, चिर्ने र राख्ने काम हुन्छ रे। मानबहादुरले थपे, 'त्यो बेला खोलाले दाउरा ल्याइदिन्छ, छेउतिर फालिदिन्छ, बटुल्यो चिर्‍र्यो र राख्यो।'
     मेरो मन चल्यो, 'यार, खोलो त सुनकोसी नै रहेछ माझीहरूलाई। मौसम मौसममा काम दिने।' मलाई त्यस्तो लागे पनि जीविकाको माध्यम बदलिँदो र अस्थायी प्रकारको देखिन्थ्यो। त्यसबाहेक उनीहरूले घर बनाउने मजदुरीको काम पनि गर्थे। गाउँमा काम नपुगेरै त होला, माझी गाउँका दुईतीनजना मलेसिया र कतार पनि गएका रहेछन्।
     फेरि बगरतिरै फर्केम्। मानबहादुर आफ्नो श्रीमती र दुइओटा छोराहरूसहित थिए। उनको समूहमा सातजनाले काम गरिरहेका थिए। बैनी, ज्वाइँ र उनको छोरी पनि थिइन्।उनका फुपू फुपाजू पनि थिए। उनीहरूका वरिपरि चालना (जाली), टेका (जालीलाई अड्याउने बाँस), कोरेसो (बालुवा कोट्याउने दुईटा दाँत भएको औजार), बोतल (तिर्खा लाग्दा पानी पिउनलाई), साबेल (बालुवा निकाल्ने बेल्चा), डोको (बालुवा बोक्नलाई), बोतलहरू पानी पिउनलाई यस्तै सामानहरू देखिन्थे।
     दोलालघाट वरिपरिका चार ओटामध्ये हामी उभिएको दोभान बगरमा झन्डै १२-१३ समूहले काम गरिरहेका थिए। यसबाट ४७ घरे सबै माझीहरूलाई बगरले पाल्न सक्दैन भन्ने बुझिन्थ्यो। मिलेर, क्षेत्र छुट्याएर काम गरेको देखिन्थ्यो। सबैलाई पनि होइन, सधैंलाई पनि होइनरहेछ यो काम।
     अरूहरूको नि कुरा सुन्न उँधो बगरतिर लाग्यौँ। बर्खेभेलले थुपारिदिएको बालुवालाई कोरेसोले कोतर्दै ढुंगा एकातिर बालुवा अर्कोतिर राखिरहेका मानिस भेटिन्थे। कोही ठड्याइएको चाल्नोमा बेल्चाले थुपारेको बालुवा हुत्याउँदै मसिन्याएका पनि देखिन्थे।
     के महिला, के पुरुष कामको विभाजन देखिँदैनथ्यो, मोटो दृश्यमा। महिलाले बेल्चा पनि लगाउँथे। एक ठाउँमा जम्मा पारेको बालुवा डोकामा बोकेर ट्रक आउने ठाउँसम्म पनि पुराइदिनुपर्दथ्यो।
     अर्को समूहतिर गयौं। बुद्ध श्रेष्ठ पनिसँगै थिए। कुराको सिलसिला, थुपारेको बालुवालाई कति पर्ला भन्नेबाट सुरु भयो। सुरुमा लजाए पनि पछि एउटीले भनिन्, 'एक टरकको पाँच हजार रूपपे।' तीमध्ये दिदी चाहिँको नाम सुनसरी माझी रहेछ। बाउ र दुई छोरी गरी तीनजनाले दिनमा एक ट्रक बालुवा बनाउने रहेछन्।
     मैले 'राम्रै मूल्य हुनेरहेछ त दिदी।' त्यति भनेपछि सुनसरीले तुरुन्तै जवाफ दिइन्, 'आधा त न्यारलाई दिनुपर्छ।' मैले सोधेँ 'किन दिनुपर्ने यत्रो दुःख गरेको पैसोको आधा- नेवारलाई ? ' उनले फर्काइन्, 'बगरभन्दा माथि उनीहरूको बारी छ, त्यसैले।'
     माथि बारी हुँदा बगरको बालुवाको आधा पैसा किन दिनुपर्ने ? मैले उनको कुरा बुझिनँ। अरूलाई नै सोध्छु भनेर अझै उँधो लागेँ। एउटा खाल्डोमा आधा जीउ पानीमा डुबाएर बालुवा झिकिरहेकामध्ये एकजनाले कुराकानीको क्रममा भने, 'यो बगर पहिला नेवारको बारी थियो। बाढी आएर पुरेपछि अँधियामा काम गर्नुपरेको हो।' कुरो सुन्दा अलि नमज्जा लाग्यो, काम गरिरहेका ती माझीसँग होइन आफैसँग मनोवाद चलिरह्यो, 'जाबो यो बगर पनि माझीको भएन है।'
     कुराको तृष्णा अझै मेटिएको थिएन। नजिक नजिकै समूह थिए। काम गरिरहेका माझीलाई झिँझोलाग्दो हो तर सोधिरहेँ, 'बालुवा कोट्याउँदा कोट्याउँदा के के भेटिन्छ नि ? ' काम गरिरहेका एक पुरुषले, बगरमा पल्टेको एउटा मुढा देखाउँदै भने, 'ऊ त्यस्तै मुढा पाइन्छ।' सुनसरीले पनि नजिकै एउटा ठूलो मुढा र ससाना अरू दाउरा पनि जम्मा गरेकी थिइन्।
     यी मुढाहरू पोलेर निकालिएको जस्ता थिए। 'पोलेका मुढाजस्ता देखिन्छन् नि? ' उनले, 'होइन नि ! बालुवामुनि पुरिएकोले त्यस्तो कालो भएको' भने। यो दाउराबाहेक चम्चा गिलासहरू, जस्ता पाताहरू पनि भेटिन्छन् रे। घर भत्काएर ल्याएका सामानहरू पनि पाइन्छन् रे।
     म फेरि मानबहादुरको थुप्रोतिर फर्किएँ, उनले आफ्ना २३ वर्षे ज्वाइँलाई 'ए त्यो अलिकति उता पल्टाइदेऊ न र अनि यो उकाल्देऊ' भन्दै थिएँ। ज्वाइँ ट्रकमा बालुवा लोड गर्दै थिए। नजिकै बालुवा लैजाने ड्राइभर पनि थिए। उनका अनुसार, बगरबाट पाँच हजारमा उठाएको बालुवा बनेपा पुर्‍याउँदा १० हजार पर्छ। तर, भक्तपुर लगे त्योभन्दा बढी पर्छ। मसिनो र राम्रो मेहनेत गरेर बनाएको बालुवा रहेछ भने अर्कै हो नत्र भाउ प्रायः एउटै हुन्छ। जिल्लाभित्र भए एक ठाउँमा बाहिर लगे दुई ठाउँमा कर तिर्नुपर्ने रहेछ। एक ठाउँको पाँच सय।
     जिविसले बालुवा कर उठाउने ठेक्का वर्षा सकिएपछि एक वर्षको लागि ठेकेदारलाई दिन्छ रे। मानबहादुरले भने, 'यसपटक (२०७३ सालमा) ६८ लाखको टेन्डर पर्‍यो रे।' त्यसपछि फेरि सुरु हुन्छ बालुवा चाल्ने काम।टेन्डर प्रक्रिया सकिएपछि असोज कात्तिकतिरको सिजनमा २०/२५ ओटा गाडी (ट्रिपर) हर्न बजाउँदै बालुवा लिन आउँछन् रे। तर बगरमा बालुवा सकिएर खाल्टैखाल्टा हुँदै जाँदा माघतिर भने दिनमा १०/१२ ओटामात्र ट्रिपर हुन्छन् रे। त्यतिबेला बालुवा सकिँदै जान्छ। ठाउँ सकिँदै गएपछि माझीहरूलाई अर्को वर्षा कुर्नुपर्छ। त्यसबीचमा माछा मार्ने, ज्यामी काम गर्नुपर्ने हुन्छ।
     बगरमा उभिएर हेर्दा, नदी नागबेली बगिरहेको देखिन्थ्यो। बगर र माझी गाउँहरूलाई वारि र पारि देखिन्थे। उभिएको बगरपारि अर्को गाउँका माझीहरू बालुवा चालिरहेका देखिन्थे। मलाई त लाग्यो कि यी बगर/गाउँहरू नदीले छुट्याए पनि उनीहरूलाई डुंगाले जोड्छ। त्यसैले होला नदीकिनारका ठाउँठाउँमा यस्ता डुंगाहरू सिक्रीले बाँधेर राखिएको थियो। सायद तर्नलाई र तार्नलाई।
     कोसी किनारमा माघको एक शुक्रबार हामी मार्टिन चौतारीबाट पिकनिक गएका थियौं। दोलालघाटमा त्यो दिन केही माझी बच्चाहरू स्कुल गएका थिएनन्। बच्चाहरूले काम गरिरहेका आफ्ना आमाबाबुलाई जरुवा अथवा खोलाबाट पानी ल्याइदिने र पानी खान दिने गर्थे।
     साथै ठूलाले ससाना बच्चाहरू हेर्दै बगरमा खेलिरहेका थिए। बा-आमाले आराम गरेको बेला बेल्चा चलाउन सिक्ने पनि गर्दा रहेछन्। कतिपयले त कोरेसोले बालुवा कोतर्ने पनि गरेको देखिन्थ्यो। बगरका यी जीवनसँग बस्ने रहर हुँदाहुँदै घाम पहेँलिँदै गएकाले सिरानतिर उकालियौं।
     सिरानमा पुगेपछि क्याटरिङ नजिक बिहानैदेखि केही अपरिचित मान्छेहरू जम्मा भएको मैले याद गरिरहेको थिएँ। चौर नजिकैको धारोमा एउटा केटोले क्याटरिङवालाका भाँडा धसिरहेको देखेपछि बिहानको दृश्य याद भयो।
     सायद काम खोज्न आएका मान्छे हुनन्। उनको नजिकै गएर सोधेँ। रोनिश माझी रहेछन्। १२ वर्षका रोनिश दुई कक्षामा पढ्दा रहेछन्। तर, उनी हरेक शुक्रबार स्कुल नै जाँदैनन्। शुक्रबार र शनिबार यहाँ पिकनिक गर्न मान्छे आउने र भाँडा माझ्ने काम पाइने हुनाले स्कुल नगएका उनी।
     अबेर भइसकेको थियो गाडीले 'जाउँ' भन्दै हर्न बजायो। रोनिशसँग विदा मागेर हिँडे । घाम पहेँलिँदै डाँडाबाट झर्दै थिए तर बगरको टकर्‍याकटुक्क्रुक चलिरहेकै थियो।

यो रिपोर्टिङ्ग लेख २६ फागुन २०७३, बिहीबारमाअन्नपूर्ण पोस्ट्को 'फुर्सद'मा प्रकाशित थियो ।