धु्रवे हात्तिलाई पनि ‘मार्नैपर्छ’ भन्ने र ‘मार्नुहुँदैन’ भन्ने विवादमा मार्नुपर्छ भन्ने स्थानीय पीडितहरुको भनाइको वाबजुत ध्रुवे बाँच्यो । तर मानववस्तीमा सहाराविहिन भएर हिँस्रक बनेको चितुवा ‘चित्रे’ चैत २८ मा मारियो । गोठाटारवासीले मारिदिए । आशा गरौँ नयाँ वर्षमा यस्तो नहोस् । संविधान शभाको चुनाव भएको ५ वर्षको दिनमा पनि यस्तो घटनाक्रम दोहोरिएको थियो । सहिष्णुताको हाम्रो सँस्कृतिमा यसले प्रहार गरिरहेको छ । मुलुकमा जो पनि जहाँ जाने हकलाई चित्रेको हत्याले सोचमग्न बनाएको छ । एकजना व्लगर राजु दाहालले आफुले प्रत्यक्ष देखेको घटनालाई ट्वीट गरेपछि मैले त्यो घटनाको फेहरिस्त थाहा पाएँ । दाहालका अनुसार घोडेजात्राको दिन गोठाटार गाविस १ नं. वडाको झाडीमा लुकेको चितुवालाई सयौँ मान्छेहरुको लाठी र ढुंगासहितको भिडले यता–उता चित्रेलाई खोजिरहेको थियो । मान्छेहरु प्रहरी प्रशासनले गोली चलाएनन भनेर प्रहरी प्रति आक्रोस जनाइरहेका थिए । घाँसपात गर्ने महिलाहरुका अनुसार त्यो चितुवाको बच्चाहरु पनि थिए रे । दाहाल दुःखी हुँदै लेख्छन्, “त्यो आमाले उनीहरुलाई कुनै सुरक्षित ठाउँमा लुकाएर म नआई कतै नजानु है भनेर छोडेर आएकी थिई होला । भोक र डरले लखतरान भएका बच्चाहरु खानेकुरा लिएर आमा आउने आशामा बाटो कुरेर बसेका होलान् ।” केही तथाकथित आँटिला मान्छेहरु बाँसको झ्याङभित्र लुकेको चितुवालाई चिर्पटले घोँचेर र ढुंगाले हानेर बाहिर निकाल्न बाध्य बनाए । डरले आत्तिएको चित्रेले हुँकार गर्दै अर्को ठाउँमा गएर लुक्यो । केहीलाई आक्रमण पनि ग¥यो । कसैको नियन्त्रण नभएको मानव सागरले पटक–पटक ढुंगा र लाठी प्रहार गरिरहेको दृष्य व्लगर राजुले डिलडिलबाट हेरिरहेका थिए । दाहालका अनुसार एकजना इन्सपेक्टरले रुखमा चढेर ५ राउण्ड गोली बर्साए । तर लागेन र कराएन पनि । त्यतिगर्दा नभएपछि लाठो र मुंग्रो लिएर मान्छेहरु बाँसको झाडिमा पसे । आत्तिएको चित्रेलाई दुश्मनहरुले क्रुर हुँदै टाउकोमा हिर्काए । भैगो नमार छोडिदेऊ भन्दा पनि कसैले सुनेन । दाहाल लेख्छन् “कान्लामाथि बसेर हेरिरहेको थिएँ– मानौँ आप्mनो बच्चालाई भनिरहेको होस कि– मलाई माफ गर, तिमीहरुको लागि खाना लिएर आउन सकिन” । डिलडिलमा बसेका मान्छेहरुले ठूलो उत्सव मनाए रे । तथाकथित विवेकी र बुद्धिमान मान्छेले घिसार्दै गाउँ घुमाउन लगे । बुद्धको देशको मान्छे हुँ भनेर विदेशीसँग परिचय दिँदै च्याट गर्ने हाम्रो चरित्रसँग हाम्रो थप अर्को पहिचान थपिएको छ । यस्ता घटनाहरु हामीसँग थुप्रै छन् । त्यसैले यो घटना नभएर घटनाक्रम हुनपुग्यो ।
जनआन्दोलन सकिएपछि वि.सं. २०४७ वैशाख १० मा त्रिपुरेश्वर र टेकुमा सयौँको संख्याले पुलिसहरुलाई ‘मण्डले’ को नाउमा कुटी–कुटी मारेका थिए । युवाले ६ जवानलाई लछार्दै पछार्दै टेकुको फुटपाथ र सडकमा ढालेका थिए । सयौँको संख्याले लात हान्दै । लठ्ठीले हिर्काउँदै । छाताको टुप्पाले घोँच्दै । टोल सुरक्षाको लागि भनि गठन गरिएको संकास्पद भीडले कुटपीट गर्दा त्रिपुरेश्वरको पचलीनिर ५ जना र टेकुमा १ जनाको हत्या गरिएको थियो । अर्कोदिन विहान मारेर फालिएको अवस्थामा प्रहरीको लासहरु फेला परेका थिए । गोरखापत्रकाअनुसार दुईवटा लास र ६ जना घाइतेहरुलाई उत्तेजित भिडले ठेलामा राखी नगरपरिक्रमा गराइरहेको अवस्थामा प्रहरीले सिंहदरवार अगाडिबाट पक्रेको थियो । त्योबेला असुरक्षाको कारणले स्कूलहरु बन्द भए । पसल पनि खुलेनन् ।
वि.सं. २०६३ चैत ७ मा गौरमा २८ जना माओवादी कार्यकर्तालाई मधेशी जनाधिकार फोरमका कार्यकर्ताले भाटा, रड, चिर्पट, इत्यादिले हानेर घोची–घोची मारेका थिए । मधेशको इतिहासमा यो पनि एउटा कलंकित घटना थियो । फोरमका समर्थकले रातो, पहेँलो र हरियो रंगका डण्डा बोकेका र उनीहरुले त्यस्तो डण्डा नभएकाहरुलाई आक्रमण गरेका थिए । गाउँगाउँमा माओवादीलाई खोजीखोजी मार्न थालियो । फोरम कार्यकर्ताहरुले बाँसको फट्टाले हानेर मारिएको थियो ।
वि.सं. २०६४ भदौ ३० मा कपिलवस्तुमा प्रभावशाली स्थानिय नेता मोइद खाँको हत्या भएपछि एक्कासी आक्रोस फैलियो १५ जनालाई मारियो । ३०० भन्दा बढि घर घडेरी जले । त्यो प्रतिशोध थियो । अर्कोतर्फबाट फेरि हल्लाहरु फैलिए । सयौँको हत्या, सयौँ लासहरु अलपत्र, स्तन काटिएको, ज्युँदै खाल्डोमा गाडिएको आदि । त्यो पनि प्रतिहिंसा जन्माउने चरित्र थियो ।
कुनै घटना हुने वित्तिकै तुरुन्त भौतिक प्रतिक्रिया दिने, टायर बालिहाल्ने, जुलुस निकाल्ने, हात उठाउने, मुठ्ठी बजाउने र मारिपनि हाल्ने दृष्टान्त हो चितुवा मार्ने काम । गोठाटारमा चित्रेलाई चिर्पटले टाउकोमा कुटी–कुटी मारियो । पर्यावरण पत्रकारिता गर्नेहरुले यसलाई ‘क्रुरता’ को संज्ञा भनि रिपोर्टिङ गरे । अर्का थरी पत्रकारले चितुवा हिंस्रक बनेपछि मार्नुपरेको ‘बाध्यता’ को रिपोर्टिङ गरियो । कसैले रिपोर्टिङ गर्न आवश्यक नै देखेनन् । सरकारी पक्षले पनि बाध्यता नै भने । नेपाली समाजभित्र भएको हिँस्रक चरित्र हो । संक्रमणकालिन अवस्थामा लम्बिँदै जाँदा यस्ता क्रुर उदाहरण देखिरहनुपरेको छ । यस्ता कैयौँ उदाहरणका चाङ पनि प्रस्तुत गर्न सकिन्छ । यस्ता घटना नेपालको संक्रमणकालले गर्दा घटेका थिए । समाज एक चरणबाट अर्को चरणमा जाँदा त्यहाँ कानुन नियम कमजोर भएका हुन्छन् । व्यक्तिले राज्यबाट केही अपेक्षा गर्न नसक्दा आत्महत्याको बाटो रोज्छ । समाज क्रुर र निर्मम बन्दै जान्छन् ।
अन्नपूर्ण पोष्टमा छापिएको मिति छापिएको मिति २०६९ चैत ३१
No comments:
Post a Comment