नेपालमा महाभुकम्प
जाँदा सरकारले सबै कुराको चाँजोपाँजो आफैँले गर्ने भन्यो । संयन्त्र कमजोर भन्दै दाताहरुले मानेनन् ।
दाता र उनका निगाहका व्यूरोक्रेसीले मात्र होइन अर्गानिक व्यूरोक्रेसीले पनि
मानेनन् । सबै सहयोग सिडियो कार्यालयमार्फत दिने 'एकद्वार नीति'मा परिमार्जन गर्दै समन्वयको भूमिकामा रहन सरकार बाध्य भयो । विभिन्न
व्यूरोक्रेसीले आआफ्नो तरिकाले सहयोग जारी राखेकाले संयोजनकारी भूमिकामा सरकार देखियो । अहिलेको नेपालमा अनेक व्यूरोक्रेसी छन् । पब्लिकबाट
प्राइभेट वा एनजिओ क्षेत्रमा व्यूरोक्रेसी बढिरहेको छ । थपिँदै छन् । जसलाई यहाँ नयाँ
व्यूरोक्रेसी भनिएको छ । तिनीहरुले आआफ्नो तरिकाले निश्चित परिधिमा काम गरिरहेका छन् । यसले मास सोसाइटीलाई टुक्राटुक्रा
पारेर क्लस्टर सोसाइटीमा संगठित गरिरहेको छ । आपतविपतको बेलामा उनीहरुले आफ्नो क्लस्टरलाई सहयोग गर्न चाहन्छन् । यो महाभूकम्पमा पनि अनेक व्यूरोक्रेसीले सरकारसँग समन्वय गरेर र नगरिकन आफ्नो भूमिका खेले ।
![]() |
साँखुमा सहयोग गर्दै चितवनबाट आएका सैनिकहरु |
दातृ निकायले सहयोगको
घोषणा गरेपनि सरकारी कोषमा प्रचार गरेजति रकम जम्मा भएन । सरकारी अधिकारीले "दातृ निकायको सहयोग दिनबन्धुको सप्ताहजस्तो भयो, घोषणा गर्ने तर नदिने" भने । उदाहरणको लागि सुरुमा धेरै दातृ निकायले सहयोग दिने भनेपनि भूटान बाहेक
अरुको सहयोग सरकारी कोषमा जम्मा हुन सकेन । विदेशी दातृ निकायले
पनि नयाँ व्यूरोक्रेसीलाई सहयोग गरे । त्यसैले भूपीहरु भन्थे, "सरकारले मुख देखाएको छैन बरु विभिन्न संघसंस्थाहरुले सहयोग गरिराखेका छन् ।" एक कोणबाट हेर्दा सरकार दातृ
निकायले सहयोग गर्ने धेरै संस्थामध्ये एउटा ठूलो संस्था जस्तो देखिएको छ ।
![]() |
काठमाडौँको थापागाउँमा थापागाउँ सुधार समितिले संकलन गरेका नगद र जिन्सीको सूची |
राज्यभित्रको नयाँ व्यूरोक्रेसी उद्देश्यमुखी, सुविधामुखी र रुचिमुखी देखिने नै भयो । जहाँ रुचि छ उसले त्यहाँ
काम गर्छ । जहाँ बाटो छ त्यहाँमात्र पुग्नसक्यो । जहाँ मिडियाले जाउ भनेको छ
त्यहाँमात्र जाने यसका सिमितता थिए । अनेकौँ पराकम्पन आइरहँदा त्यस्ता
ब्यूरोक्रेसीहरुले दुरचाल गर्न सकेनन् । केहीले सबै ठाउँलाई सहयोग गर्न सक्दैनौ
भन्दै रुचिको क्षेत्रमा काम गरे । यो सन्दर्भमा 'जहाँ राज्य पुग्दैन त्यहाँ एनजिओ आइएनजिओ पुग्छ' भन्ने मान्यता परिमार्जन
गर्नुपर्ने देखियो । त्यस्तै राज्य अभिभावक हो भन्ने अवधारणा पनि परिमार्जन
गर्नुपर्ने देखियो । नयाँ व्यूरोक्रेसीहरु सरकारलाई सहयोग गर्न आएका हुन् भन्ने
मान्यता पनि कमजोर देखियो । कतै राहत धेरै भयो । कतै राहत बाँड्ने संयन्त्र राम्रो
भएन । मिडियामा भरपर्ने नयाँ व्यूरोक्रेसी जहाँ मिडियाले प्रचार गरेको छ मुख्यत: त्यहाँ मात्र पुगे ।
![]() |
भूपीहरुको लागि राहत तथा श्रमदानको लागि सिन्धुपाल्चोक जाँदै त्रिवि समाजशास्त्र विषयका प्राध्यापकहरु (स्रोत : वीरेन्द्र शाहको फेसबुक पेजबाट) |
व्यूरोक्रेसीबारे
अध्ययन गर्ने पूराना समाजशास्त्री म्याक्स वेबर हुन् । उनले 'रेश्नलाइजेशन'को अवधारणा बाहिर ल्याए । यसलाई बुझ्ने आआफ्नो तरिका मध्ये सजिलो तरिका 'पूरानोलाई नयाँले विस्थापित गर्ने' भन्ने हो । रेश्नलाइजेशनलाई ठिक र इरेश्नलाइजेशन बेठिक भन्दा पनि वेबरले क्षमतासँग दाँजे । रेश्नलाइजेशनलाई इफिसियन्सीको साथै प्रेडिक्टेबल र
क्याल्कुलेटिभ रुपमा पनि व्याख्या गरिएको छ । कुनैपनि व्यूरोक्रेसीमा यी ३ चीज
हुन्छन् र त्यस्तो व्यूरोक्रेसीमा ३ चिजको मात्रा जति बढि हुन्छ त्यो ब्यूरोक्रेसी उति क्षमतावान हुन्छ ।
राज्यको व्यूरोक्रेसीमा यी ३ चीजको कमी वा कमजोरी देखाउँदै अथवा राज्यको
व्यूरोक्रेसीलाई सघाउने भन्दै नयाँ व्यूरोक्रेसी देखिएका हुन् । व्यूरोक्रेसी विना समाज सक्षमतापूर्वक लामो समय चल्न
सक्दैन । व्यूरोक्रेसी भनेको आम समाजलाई सहयोग वा नियन्त्रण गर्ने संयन्त्र हो । राज्यको व्यूरोक्रेसी पनि नियन्त्रण वा सहयोग गर्ने यन्त्र हो ।
वेबर कार्ल मार्क्सभन्दा आधा शताब्दी पछि जन्मेका चिन्तक हुन् ।
त्यसैले उनले नयाँ संसार देखेका थिए । कार्ल मार्क्सका पालामा उद्योगहरु बढि थिए । त्यति बेला उद्योग पुँजीवाद
थियो । ती उद्योगको वरिपरी बस्ने कामदारहरुलाई हेरेर उनले
कम्युनिज्मको युटोपिया जन्माएका थिए । तर वेबरको पालासम्म आउँदा उद्योग पुँजीवाद
परिवर्तन हुँदै उपभोग पुँजीवादमा परिणत हुँदै थियो । त्यसैले मार्क्स भन्दा फरक विचार प्रतिपादन गरेका छन् । उनलाई पनि कसैकसैले मार्क्सको भूत पनि भन्छन् । तर त्यसो होइन । उनले मार्क्सवादलाई दुर्खिमले जस्तो अंश अंशमा आलोचना गरेका छैनन् । मार्क्सवादलाई 'यस' त भन्छन । साथसाथै 'बट' पनि थपेका हुन्छन् । उनकाअनुसार मार्क्सवादलाई सच्चाउनु आवश्यक छ । मार्क्सले जस्तै वेबरले कुनैपनि अवधारणा विश्वव्यापी हुन्छ भनेका छैनन् । त्यसैले नयाँ व्यूरोक्रेसीको
अस्तित्व बुझ्न वेबरियन मोडललाई आलोचनात्मक ढंगले हेर्न सकिन्छ ।
वेवरका जतिपनि
कुराकानी छन् । मार्क्सजतिको विवादित छैनन् ।
त्यसैले वेबरको विचारलाई टालकोट पार्सन्सले कम विवादित विचार भनेका छन् । वेबर जर्मन हुन् । उनले आफ्नो योगदान जर्मन भाषामा लेखेका छन् । त्यसलाई टालकोट पार्सन्सले अंग्रेजीमा
अनुवाद गरेका हुन् । अहिले वेबर पढ्नेले पार्सन्सको अनुवाद पढ्नुपर्ने हुन्छ ।
त्यसैले पार्सन्स के हुन् भन्ने कुराको माने रहन्छ । जस्तो वेबरको मुख्य आइडिया
जर्मन भाषामा Herrschaft हो । जसलाई पार्सन्सले अंग्रेजीमा लिडरसिप भनेर अनुवाद गरेका छन् । जुन
कमान्ड गर्ने भन्ने अर्थमा थियो । यो दुर्खिमियन आइडिया थियो । तर यसको खास अर्थलाई डोमिनेसनका रुपमा लिन सकिन्छ । लिडरसिप र डोमिनेशन दुइ फरक फरक कुरा हुन् । व्यूरोक्रेसीको व्याख्या गर्दा उनले डोमिनेसनको अवधारणालाई अघि सारेका छन् । वेबरले डोमिनेशनको डल्ला फोर्दा पावरलाई परिभाषित गरेका छन् । उनका अनुसार पावरले उत्पादनका माध्यमहरुमाथि नियन्त्रण गर्छ र पावरफुल हुन्छ । यो निरन्तर परिवर्तित हुन्छ । उदाहरणको लागि जसले मान्छेहरुलाई काम लगाउन सक्छ उसले पावर संचित गरेको हुन्छ । त्यस्तो पावर एकैठाउँमा रहँदैन । यस्तो पावर संगठनहरुमा हुन्छ । मानिसहरुलाई यस्ता संगठनहरुले कुनै न कुनै
तरिकाले बाँधिरहेका हुन्छन् । र तिनैकै व्यूरोक्रेसीमार्फत काम गरिरहेका हुन्छन् ।
![]() |
खोकनामा राहत वितरण गर्दै थाईल्याण्डका बौद्ध भिक्षु |
एक अमेरिकी
समाजशास्त्री अमिताई इट्जिओले भनेजस्तै हामी संगठनमा जन्मिएका हुन्छौँ । संगठनबाटै
शिक्षित हुन्छौँ । संगठनको लागि काम गर्छौँ । फुर्सदको समय पनि संगठनको लागि खर्च
गर्छौँ । हामीहरु मध्ये सबैजसो संगठनमै मर्छौँ । हामीलाई मरेपछि संस्कार गर्न पनि
संगठनको अनुमति चाहिन्छ । इट्जिओले राज्य, परिवार, सामाजिक सँस्थालाई आधार मानेपनि अहिलेको समाजमा अझ अरु धेरै संगठनबाट
जीवनयात्रा गर्नुपर्ने देखिन्छ । यो भनेको उनीहरुका नीति नियम मानेर जीवन
जीउनुपर्ने हुन्छ । हाम्रो जीवन यस्ता विभिन्न किसिमका संगठनको यात्रा र उनीहरुका
नियमसँग खेलिरहेको हुन्छ । अर्थात् हामीहरुलाई विभिन्न संगठनले विभिन्न किसिमबाट
नियन्त्रण र सहयोग गरिरहेका हुन्छन् ।
हामीले सहयोग दिन अथवा
पाउन त्यस्ता संगठन बनाएका छौँ । युएन एजेन्सी, अक्सफाम, शिक्षक संगठन, विद्यार्थी संगठन, विवेक सिर्जनशिल, एनआरएन, दलित संगठन, आदिवासी जनजाती संगठन, समाजशास्त्रका विषयका प्राध्यापक एवं विद्यार्थीहरु आदि । अझ राजनीतिक पार्टीहरुले पनि भूकम्प पीडितलाई सहयोग गर्न भनि राहत संकलन गरेका छन् । यस्तो राहत उनीहरुले आफूले प्रभावित क्षेत्रमा खटाएका आफ्नो स्वयसेवकको लागि खर्च गरेका छन् । नेकपा एमाले यसको उदाहरण हो । उसले भूकम्प पीडितलाई सहयोग गर्न राहत कोष नै खडा गरेको छ । सिडियो कार्यालयबाट सरकारसँग समन्वय गरेपनि उठाएको पैसा प्रधानमन्त्री राहत कोषमा राख्ने भनेको छैन । त्यस्तै विदेशमा बस्ने व्यक्ति तथा समुदायले पनि सिधै पीडितसम्म रकम कसरी पुग्छ भनेर विचार गरी सहयोग गरेका छन् । लण्डनमा रेष्टुरेन्ट व्यावसाय गरेर बसेका चितवनका मिलन भट्टराईले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मार्फत गोर्खाको एक गाउँलाई ५१ लाख रुपैँया सहयोग गरे । राज्यकोषमा उनले पैसा जम्मा नगर्नुलाई राज्य संयन्त्रलाई कमजोर ठानेका छन् । राहत कोषमा जम्मा पार्यो भने जनतासम्म कहिले पुग्ने हो भन्ने चिन्ताले उनले पैसा दिएनन् । बरु एउटा संयन्त्र आफै बनाए । जसमा उनले पूर्व प्रधानमन्त्रीलाई माध्यम बनाए । स्थानिय संयन्त्रमा पैसा कसरी खर्च भइरहेको छ भन्ने जान्नलाई आफ्ना बाबुलाई त्यहाँको व्यवस्थापन समितिमा राखेका छन् । यसरी स्थायी अस्थायी व्यूरोक्रेसीले पनि काम गरेको छ । यस्ता व्यूरोक्रेसीमा व्यक्तिको
संलग्नता काम गर्ने वा गराउने किसिमले हुनसक्छ । नेपालका यस्ता नयाँ व्यूरोक्रेसी
वा अर्गानिक व्यूरोक्रेसी आफ्नो रुचि र सम्बन्ध तथा क्षमताका आधारमा सम्बन्धित क्लस्टर
सोसाइटी वा मास सोसाइटीलाई सहयोग गर्न चाहन्छन् । यसलाई आफ्नो इफिसियन्सी भएको मान्छन् । नयाँ
व्यूरोक्रेसीको जगजगी अहिलेको महाविपतमा देखियो । यिनीहरुलाई समन्वय गरेर राज्य
अघि बढ्नुपर्छ वा पर्ला भनेर सरकारले सोच्न समेत पाएको वा खोजेको थिएन । मास
सोसाइटीलाई सहयोग गर्न चाहने स्टेट व्यूरोक्रेसी र क्लस्टर सोसाइटीलाई सहयोग गर्न
चाहने नयाँ व्यूरोक्रेसीवीचको द्वन्द्वले राज्यको अवधारणालाई नयाँ ढंगले परिभाषित
गर्न आवश्यक देखियो । नयाँ व्यूरोक्रेसीले राज्यलाई कम पावर होल्ड गर्न वा पावरको
सेयर गर्न प्रेरित गरेको देखिन्छ । यसलाई नेपालका केही अर्गानिक व्यूरोक्रेसीले र
व्यक्तिले पनि सघाए । दातृसंस्थाले जस्तै व्यक्ति वा अर्गानिक व्यूरोक्रेसीले पनि
सरकारलाई समन्वयकारी भूमिकामा रहन सुझाव दिए । समाजमा आफ्नो पनि केही योगदान थियो
भन्ने कुरा नयाँ मिडिया मार्फत देखाउन सबै सँस्था वा व्यक्तिले राज्यको समन्वयकारी
भूमिकाको अपेक्षा गरेका थिए । यो कुरा मोडलको रुपमा रहँदा समाजमा व्यक्तिले पनि
व्यक्तिगत रुपमा पनि यसै गरे । हरेक तप्का केही न केही तरिकाले देखिन्थ्यो । धेरै
व्यूरोक्रेसी भएपछि एकले अर्कालाई आफ्नो अस्तित्व देखाउन यो गर्नैपर्ने बाध्यकारी
जस्तै भयो । "अरुले के गर्यो भन्ने प्रश्न भन्दा तिमी आफूले के गर्यौ ?" भन्ने समाजमा व्याप्त प्रश्नले सानाठूला
व्यूरोक्रेसीलाई केही न केही गर्न र आफूले गरेको कामलाई देखाउन प्रेरित गरेको
देखिन्थ्यो । यस्तो सन्दर्भमा राज्य वा सरकार समन्वयकारी भूमिकामा देखिनु आवश्यक र
वाध्यता थियो । राज्यले आफ्नो भूमिका पहिलोपल्ट समन्वयकारी हुने महसुस गरेको थियो
। त्यसैले हुनसक्छ महाविपत्तिको बेलामा राज्य कार्यकारी र समन्वयकारी दुवै भूमिकाको
विचमा रनभूल्ल परेको थियो । यहि सन्दर्भमा कोही नागरिक समाज "राज्य कहाँ छ" भनि खोज्दै हिँडे भने अर्कोथरी नागरिक समाजले "राज्य हामी हौँ" भन्दै हिँडे । नयाँ
व्यूरोक्रेसी पनि राज्य थियो ।
No comments:
Post a Comment