Tuesday, May 19, 2015

मार्क्स भर्सेज दुर्खिम







महाभुकम्प गएको केही दिन पछि नागरिक समाजको एक समुहले 'खोइ सरकार ?' अथवा 'सरकार कहाँ छ ?' भन्दै धर्ना बसे । त्यसको लगत्तै नागरिक समाजको अर्को समुहले 'सरकार हामी हौँ, जसले भुकम्प पीडितलाई सहायता गर्यो उही सरकार हो' भने । समाजमा यस्तो परस्पर विरोधी विचारहरु किन हुन्छन्  ? महाविपद्को बेलामात्र होइन । अरु बेला पनि यस्ता परस्पर विरोधी विचारहरु देखिन्छन् । समाजको यस्तो चरित्रलाई कसरी बुझ्ने ? १९ शौँ शताब्दीका दुइ चिन्तक कार्ल मार्क्स र इमाइल दुर्खिमको कोणबाट समाजमा मुलरुपमा रहेका दुइ धारणाहरुलाई चियाउन सकिन्छ । मार्क्स र दुर्खिमका विचारहरु १५० वर्षभन्दा अघिको सन्दर्भमा लेखिएका हुन् । त्यति बेलाको सन्दर्भ र उनीहरुका विचारहरुलाई मसिनोसँग केलाउन सजिलो छैन । त्यसैले यी मेरा निजी विचारहरु हुन् ।

           
तस्बिर कार्ल मार्क्स र इमाइल दुर्खिम (स्रोत : विकीपिडिया)

कार्ल मार्क्स (१८१८-१८८१)ले समाजमा परस्पर विरोधी अवधारणाहरु व्याप्त रहने मान्यता राख्छन् । उनको विचारमा समाजको यस्तो द्वन्द्वात्मक चरित्रले समाजलाई परिवर्तनतिर लैजान्छ । इमाइल दुर्खिम (१८५८-१९१७)ले मार्क्सको विपरित समाजका सँस्थाहरुलाई सहयोगात्मक तबरले हेर्छन् । द्वन्द्व उनको विचारमा समाजको रोग हो । मार्क्सको विपरित दुर्खिमको विचारअनुसार समाजमा द्वन्द्व सधै रहन्न । दुर्खिमले समाजलाई मान्छेको शरीरसँग तुलना गर्छन् । शरीर जसरी कहिलेकाहीँ अस्वस्थ हुन्छ र पुनः प्राकृतिक अवस्थामा फर्कन्छ त्यसै गरी द्वन्द्व समाजमा अस्थायी रुपमा रहन्छ । बरु 'के गर्न हुने र के गर्न नहुने' भन्ने नैतिक मान्यता सधै रहन्छ । मार्क्सले धर्म र राज्यलाई शोषणका रुप हुन भनि व्याख्या गर्दा दुर्खिमले धर्मलाई 'समाजको पर्व' वा समाजलाई एकतामा बाँध्ने सुत्र वा सामुहिक जीवनको लागि व्यक्तिले गर्ने पुजाको रुपमा लिएका छन् । यसरी दुर्खिमको योगदानले मार्क्सलाई तर्साउने काम गरेको छ । दिमागले फोक्सोको कामलाई शोषण नगरे जस्तै समाजको एक अंगले अर्कोलाई शोषण गरेको हुँदैन बरु सहयोग गरेको हुन्छ भन्ने विचारधारा दुर्खिमियन मोडलमा छ । दुर्खिमले समाजमा 'डिभीजन अफ लेबर'को अवधारणा ल्याएका छन् । यस्तो 'डिभीजन अफ लेबर'ले समाजको एकतामा मद्दत गर्छ । दुर्खिमको 'डिभीजन अफ लेबर' र यो शीर्षकमा लेखिएका पुस्तकहरुलाई 'एन्टी कम्युनिष्ट मेनिफेस्टो' पनि भनिन्छ । समाजमा परस्पर सहयोग, एकात्मक भावनाको व्याख्या दुर्खिमको अध्ययनमा देखिन्छ । दुर्खिमको विचार २० औँ शताब्दीमा किन प्रभुत्वशाली विचार रह्यो त ? अहिलेका शक्तिशाली मुलुकले यो विचारलाई किन अवलम्बन गरे त ? यो सबैको लागि विचारणिय छ । दुर्खिमियन तर्कले राज्यलाई चुनौति दिँदैन । यथास्थितिलाई मन पराउँछ ।

समाजलाई बुझ्न यी मध्ये एउटा विचार वा यी दुवै विचार प्रयाप्त भने होइनन् । यसका विषयवस्तु हाम्रो समय र सन्दर्भका होइनन् । त्यसो भन्दैमा यी अवधारणा काम नलाग्ने भन्ने हुँदैन । हाम्रो जस्तो विपरित ध्रुवमा बाँडिएको समाजलाई बुझ्न मार्क्स र दुर्खिमका अवधारणा आवश्यक छन् । नेपाली समाजमा पनि अहिले दुर्खिमियन र मार्क्सियन विचार प्रभुत्वशाली देखिएका छन् ।

No comments:

Post a Comment