इन्टरनेटको
प्रयोगबाट केही गाउँहरुमा त्यहाँको स्वास्थ्य चौकीका मान्छेले शहरका अस्पतालका
चिकित्सकसँग अनलाइन कुरा गरेर विरामी जाँच्ने टेलिमेडिसिन‚ दक्ष
शिक्षकले एउटा कक्षामा पढाएको अन्य कक्षामा श्रव्यदृष्यका माध्यमले पढाउने
टेलिटिचिङ‚ आन्तरिक सञ्जालको मद्दतले वस्तु
खरिदविक्री गर्ने टेलिमिडिया संचालन पनि गरिएको छ । त्यस्तै विभिन्न बैँकहरु मार्फत घरमै
बसेर इन्टरनेटबाट बैँक खाता हेर्ने‚ रकम जम्मा गर्ने‚ स्कूल‚ विभिन्न
दुरसंचार कम्पनीको शुल्क तिर्ने लगायतका बैँकिङ सेवाहरु इन्टरनेटबाट गरिरहेका छन्
। उनीहरुको लागि बैँकसम्म आउनु भनेको थप समय र लगानी खर्च गर्नु पनि भएको छ ।
त्यस्तै आन्तरिक राजश्व कार्यालयबाट हुने प्यान दर्ता‚ आयकर
विवरण‚ मुल्यअभिवृद्धिकर विवरण बुझाउने र रुजु
गर्ने लगायतका सबै सेवाहरु इन्टरनेटबाट हुन्छन् । अनलाईनबाट खरिदविक्री वा कारोबार
हुने चलन नेपालमा ब्यापक बन्दै गएको छ । यसैले सेवा तथा कारोबारका हिसाबले नेपालमा
इन्टरनेटको प्रयोग बढ्दो छ । तर औषत नेपालीको आय कमजोर हुँदा उनीहरुले
आफ्नै घरमा कम्प्युटर र त्यसमा इन्टरनेट जोड्न सकिरहेका छैनन् । त्यसैमा पनि इन्टरनेटको शुल्क र
क्षमता चुनौति बनेका छन् । ग्राहकको दृष्टिकोणबाट हेर्नेहो भने अझैपनि इन्टरनेटको
शुल्क "महँगो" छ । बैँक‚ कारोबारी संस्था‚ सरकारी
वा गैर सरकारी संस्थाहरुले आफ्ना सबै सेवाहरु दिन तयार भएर बसे पनि ग्राहकहरु
त्यसको लागि तयार नहुनु भनेको इन्टरनेटको हकमा शुल्क महँगो‚ पहुँच पूर्वाधारको विकास
नहुनु हो । यहाँ इन्टरनेटको उपयोग बैँकिङ्ग क्षेत्र तथा
अनलाईन ब्यावसायमा कसरी प्रयोग गरिएको छ भन्ने उदाहरण प्रस्तुत गरिएको छ ।
बैक
विभिन्न बैँकहरुले
इन्टरनेटको प्रयोगबाट आफ्ना बैँकिङ्ग सेवाहरु दिइरहेका छन् । इन्टरनेटको त्यस्तो
प्रयोगमा इबैँकिङ‚ इरेमिट तथा इकमर्श आदि पर्छन् । नेपाल
बैँकको इबैँकिङ्ग सेवा हेर्नको लागि (भ्यु मोड)
मात्रै छ । जस्तो खातामा रकम हेर्नु । त्यस्तै नविल बैँकमार्फत इन्टरनेटको प्रयोग
गरेर ग्राहकहरुले स्कुलको शुल्क तिर्ने‚ दुरसंचारको
ल्याण्डलाइन तथा मोबाइलको शुल्क तिर्ने‚ क्रेडिड
कार्डको पैसा तिर्ने तथा अनलाइन पैसा जम्मा गर्ने काम इन्टरनेट बैँकिङ्गबाट हुन्छ
। बैँकहरुले इन्टरनेटबाट किनवेच गर्न व्यापारी र ग्राहकवीचको मध्यस्तता पनि गर्छ ।
ग्राहकले अनलाइन सपिङ्ग गरेर नेपाल बैँकले दिएको सुविधा मार्फत पिन नम्बर हानेमा
ग्राहकको खाताबाट पैसा व्यापारीको खातामा जाने सुविधा छ । अनि व्यापारीले सामान
डेलिभर गर्छ । अनलाइन व्यावसाय गर्ने मुन्चा डटकम लगायतका अन्य करिब १५ ओटा 'मर्चेन्ट'लाई नेपाल बैँकले इकमर्श सेवा दिएको छ
। विदेशबाट इन्टरनेटमार्फत आएको पैसालाई बैँकहरुले
आफ्नो शाखा वा एजेन्ट मार्फत देशव्यापी बाँड्ने गर्छन् । त्यसको लागि नेपाल बैँकले
इन्ट्रानेट प्रयोग गरि आफ्नो शाखाबाट बाँड्छ भने नविल बैँकको बैँकिङ शाखाहरु
देशव्यापी नभएकाले एजेन्सीमार्फत बाँड्छ । नविलका २ हजार भन्दा बढी एजेन्टहरुले
इन्टरनेटमार्फत दर्ता (लगिन) गरेर वितरण गर्छन् ।
बैँकहरुले इन्टरनेट मार्फत आफ्ना सेवाहरु दिएपनि कारोबार गर्ने
ग्राहकहरु कम छन् । नेपाल बैँकमा इ बैँकिङ्ग सेवाहरु कारोबार गर्ने हिसाबमा छैनन्
। तर दिनमा करिव ६ हजार जति ग्राहकले इन्टरनेटबाट बैँकिङ्ग सेवा हेर्छन् । नविल
बैँकमा १५ हजारले उसको इन्टरनेट सेवा 'नविल
नेट' हेरेका हुन्छन् । ति मध्ये निकै कम प्रतिशतले त्यसबाट कारोबार
गर्छन् । इन्टरनेटमार्फत कारोबारीको संख्या कम
हुनुको कारण विश्वास स्थापित नहुनु हो । बैँकबाट कारोबार गर्दा ढुक्क हुन्छ
भन्नेमा ग्राहकहरुको विश्वास बढ्न सकेको छैन । त्यसैले हेर्नको लागि मात्र प्रयोग
भएको छ । साथै इन्टरनेटबाट कारोबार गर्न जान्ने व्यावसायीले मात्र बैँकको स्टेटमेन्ट
अफिसमा नै बसेर लिन्छ । इन्टरनेटको पहुँच भएका अरु ग्राहक अझै बैँक धाउने चलन छ ।
बैँकहरुले
सेवा सुविधा संचार गर्नको लागि दुइथरी नेटवर्कको प्रयोग गरेका हुन्छन् । पहिलो
इन्टरनेट र दोस्रो इन्ट्रानेट । बैँकका आन्तरिक शाखाहरुसँग जोडिनको लागि
इन्ट्रानेटको प्रयोग गरिएको हुन्छ । इन्ट्रानेटको पोर्टलमा शाखासँग सम्बन्धित
विषयहरु राखिएको हुन्छ । उदाहरणको लागि आफ्ना कर्मचारीहरुलाई एसएमएस बैँकिङ्ग कसरी
गर्ने‚ कुन सर्भिसमा समस्या आयो भने हेल्प
डेक्समा कसलाई सम्पर्क राख्ने जस्ता विषयहरु
समावेश हुन्छन् । आन्तरिक कुराकानी गर्न 'च्याट सिस्टम' आदि इन्ट्रानेटको पोर्टलमार्फत हुन्छ
। बैँकहरुलाई इन्ट्रानेट सेवा दिन विभिन्न १० ओटा आइएसपीहरुले नेदुप्राबाट अनुमति
पत्र लिएका छन् । इन्ट्रानेट दिने आइएसपीहरुले इन्टरनेट सेवा पनि दिन्छन् । कसैको
सेवा कम चलेको अवस्थामा प्रयोगको लागि अर्को प्रदायकको सेवा पनि सँगै लिएका
हुन्छन् । त्यसैले एउटा बैँकमा विभिन्न आइएसपीहरुका सेवाहरु हुन्छन् । जस्तै नेपाल
बैँकले मुख्यगरी मर्कन्टाइलको र केही शाखाहरुमा एडिएसएलको सेवा लिएको छ । नविल
बैँकले सुविसु‚ मर्कन्टाइल र वर्ल्डलिंकको सेवा
लिइरहेको छ । यी प्रदायकहरुमा पनि प्राथमिक सेवाको रुपमा तार विछाएर लगेको अप्टिकल
फाइबर र द्वितिय सेवाको रुपमा वेतारे 'वायरलेस'
सेवा दुवै लिएको हुन्छ ।
अनलाइन व्यावसाय
अनलाइन व्यावसाय
अन्तर्गत अनलाइन सपिङ वेबसाइट वा पोर्टलहरु पर्छन् । अनलाइन मनि ट्रान्सफर तथा
रेमिट्यान्सहरु पनि पर्छन् । फेसबुक‚ शिक्षासम्बन्धी
वेबसाइट पनि इ कमर्शको अंग नै हुन् । मान्छेको
व्यस्त जीवनशैलीबाट अनलाईन व्यवसायको सोच आएको हो । नेपालमा दिनप्रतिदिन धेरै
वेबसाइटहरु खोलिएका छन् । पछि यस्ता वेबसाइटहरु कारोबारका माध्यमको रुपमा विकसित
हुँदै गएका छन् । कम्तिमा ३३ प्रतिशत जनसंख्याले इन्टरनेट प्रयोग गरेका छन् भन्ने
नेपाल दुरसंचार प्राधिकरणको तथ्यांक छ । सन् २०१३ र २०१४ को तुलना गर्ने हो भने
पछिल्लो अवधिमा इन्टरनेट प्रयोगकर्ताहरुको संख्या उल्लेख्य रुपमा बढिरहेको छ । यस
हिसाबले कुनैपनि इकमर्श कम्पनी चलायो भने चल्ने संभावना रहन्छ । इन्टरनेट प्रयोग
गर्नेको डेटा अनुसार यसो भन्न सकिन्छ । यहाँ इन्टरनेटको प्रयोग गरेर व्यावसाय गर्ने मुन्चा डट कम‚ भाटभटेनी
डट कम जस्ता अनलाईन पोर्टलहरुको उदाहरणबाट इन्टरनेटको प्रयोगलाई हेरिएको छ ।
मुन्चा
डटकम
विदेशमा
भएका नेपालीले नेपालमा रहेको आफ्नो परिवारलाई उपहार पठाओस् भन्ने उद्देश्यले २०५७
सालदेखि मुन्चाले वेबपेज मार्फत अनलाइन ब्यापार सुरु गरेको थियो । वेबपेजमा देखिने
बस्तुलाई इन्टरनेटको माध्यमबाट मगाएपछि वितरककै पसलबाट मुन्चाले घरसम्म पुराउने
गर्छ । अनलाईनबाट पैसा तिर्ने अभ्यास सून्य नै नभए पनि समान डेलिभरी पुराएपछि पैसा
लिने गरेको छ । त्यस्तै
अनलाईन व्यावसायमा मान्छेलाई अभ्यस्त गराउन विभिन्न अनलाईन पोर्टल सृजना गरेको छ ।
जसमा मुन्चा डटकम बाहेक मनि ट्रान्सफर पोर्टल‚ बजार
डटकम डटएनपी‚ गीतसंगीत तथा भिडियोहरु अनलाइनबाट
कानुनी रुपमा डाउनलोड गर्ने वेबपेज‚ अनलाइनबाट पैसा
तिर्नको लागि आइपे डटकम डटएनपी‚ नेपालका सबै
समाचारहरु एकै ठाउँ राख्ने वेबसाइट नेपाल अपक्लोज डटकम‚
गेमिङ्ग वेबसाइटमा बुस डटकम छ जुन अनलाइनबाट मनोरञ्जनात्मक खेल खेल्नलाई प्रयोग
हुन्छ । लगायत अहिलेसम्म मुन्चाका यस्ता ८ ओटा वेबसाइटहरु छन् । यसले अनलाइन व्यापारको
चक्र बनाउन मद्दत गरेको छ ।
सन्
२०१२ को मध्यसम्म मुन्चा काठमाडौँमा मात्र सिमित थियो । समान पाएपछि मात्र पैसा
दिने 'क्यास इन
डेलिभरी' प्रणाली
काठमाडौँ बाहिर लागू गरेपछि त्यहाँका ग्राहकहरु अनलाइन सपिङमा रुचि देखाएका छन् ।
त्यसपछि मुन्चाले काठमाडौँ बाहिर पनि अनलाईन व्यावसाय विस्तार गर्यो । अहिले
काठमाडौँ बाहिर मुन्चाका १५ ओटा शाखाहरु छन् । मुन्चामा ३५ प्रतिशत जति काठमाडौँ
बाहिरबाट अनलाइन अर्डर आउँछ । मुन्चामा सबै ग्राहकको लागि मुल्य एकैकिसिमको हुने
हुँदा यसको वेबसाइटमा काठमाडौँ बाहिरका व्यक्तिले पनि रुचि देखाएका छन् । २०७१
साउनसम्ममा एक दिनमा मुन्चाको वेबपेजबाट समान अर्डर गर्ने मान्छेहरु ५५ वा ६०
भन्दा बढि हुँदैनन् । तर अनलाईन पोर्टल हेर्ने चाहिँ दिनमा लगभग ७ हजार हुन्छन् ।
यसरी ०.८५ प्रतिशत
मान्छेहरुले मात्र अनलाइन सपिङमा कारोबार गरेको देखिन्छ । त्यसकारण अनलाईन
व्यावसायका केही चुनौतिहरु छन् ।
अनलाईनमा
जुन समान देखिएको छ उही सामान पाउने ग्यारेन्टी‚ विक्री
भैसकेपछि हुने सर्भिसको ग्यारेन्टी‚ नठगिने
ग्यारेन्टी हुन्छ भन्ने अझै पनि मान्छेलाई लागेको छैन । महँगो
भएपनि मान्छेले आफै गएर वस्तु हेर्न चाहन्छ । यसरी मान्छेको ब्यवहार परिवर्तन
गर्ने चुनौति पनि अनलाईन व्यावसायमा छ । विक्री पछि पनि वस्तुको गुणात्मक
ग्यारेन्टी दिन थालेमा मान्छेले किन्न सुरु गर्छन् भन्ने विश्वास अनलाईन
व्यावसायीको छ । अहिले सबैभन्दा अप्ठ्यारो भनेको अनलाइन पेमेन्ट सिस्टम हो । यो
अप्ठ्यारोलाई 'क्यास
एन्ड डेलिभरी'ले
समाधान गरे पनि नेपालकै अनलाईन पेमेन्टहरु इसेवा‚ आइपे‚ एनआइबिएलको
प्रक्रिया लम्बेतान भएकाले पनि रुचि नदेखाउनुको एउटा कारण हुनसक्छ । बैँकमा निवेदन
दिएर अनलाइन बैँकिङ्गको सेवा लिनुपर्छ । त्यसपछि पासवर्ड दुरुस्त मिल्नुपर्ने र
निश्चित समयभित्र पासवर्ड परिवर्तन गर्नुपर्ने बाध्यता छ । त्यसैले नेपालको
पेमेन्ट प्रणाली छरितो देखिँदैन । त्यसैले अनलाईन पेमेन्टको प्रयोग पनि कम छ ।
फुडमान्डु
डटकम
अनलाईन मार्फत अर्डर लिएर खाजा तथा
खाना पुराउने काम फुडमान्डु डटकमले गर्छ । कर्पोरेट हाउसमा काम
गर्ने व्यक्तिको व्यस्त जीवनशैली तथा विदेशबाट नेपालमा आइबसेका समुदायलाई ध्यानमा
राखेर २०६७ सालदेखि इन्टरनेटको माध्यमबाट खाना अर्डर लिएर ग्राहकसम्म पुराउने सेवा
थालेको थियो । नेपाल टेलिकमको एडिएसलले २०६५ सालमा सेवा विस्तार गरेपछिको
सन्दर्भमा यसको सुरुवात भएको थियो । यसले वि.सं. २०६७ मा संस्था स्थापना गर्दा २० ओटा र २०७१
सालसम्म ७५ ओटा रेष्टुरेन्टको खाना तालिका (मेनु) आफ्नो अनलाईन पोर्टलमा राखेको छ । ग्राहकले
यसको वेबपेजमा गएर आफुलाई मन परेको रेष्टुरेन्टको मेनुबाट खाना छनोट गरी अर्डर
गर्न सक्छन् । अर्डर गरेको केही समयपछि यसले अनलाइन तथा फोन दुवैबाट निश्चित गर्छ
र बढिमा ४५ मिनेट भित्रमा सम्बन्धित ठाउँमा पुराउँछ । फुडमान्डुले गुगलबाट
नक्सांकन गरेर दुरी तय गर्छ र त्यसअनुसार सेवाशुल्क लिनेगरेको छ । १ हजार वा १५ सय
रुपैँयाको अर्डर गरेमा काठमाडौँको कुनैपनि ठाउँमा शुल्क लिँदैन । यी सबै
पक्षहरुबारे ग्राहकले अनलाइनबाट थाहा पाउँछन् ।
काठमाडौँको चक्रपथ भित्रको ठाउँलाई
फुडमान्डुले आफ्नो सेवा क्षेत्र बनाएको छ । नेपालमा आएर बसेका विदेशी समुदाय‚ विभिन्न संघसंस्था‚ हाउजिङ्ग कम्पनीमा बस्ने व्यक्तिहरु‚ नियमित ग्राहक छन् । अफिसमा काम गर्ने
व्यक्तिहरु पनि यसका सदस्य छन् । पहिला विदेशी ग्राहक धेरै थिए र २०७१ सालसम्म
आइपुग्दा नेपालीहरु बढेका छन् । एकदिनमा फुडमान्डुलाई १ सय ओटा अर्डर आउँछन् ।
त्यसमध्ये ६० ओटा अनलाइनबाट आउँछ । ४०ओटा फोनबाट । अहिले ७५ प्रतिशत घरबाट अर्डर
हुन्छ । बाँकी कर्पोरेट क्षेत्रबाट । वि.सं. २०६७ मा ५ जना‚ २०६८ मा २० जना‚ २०६९ मा ३५ जना‚ २०७० मा ६० जनाले र २०७१ साउन सम्म १ सय जनाले एकदिनमा
फुडमान्डुबाट खाजा खाना अर्डर गर्छन् । यसले अनलाईन व्यावसायको बढ्दो ढाँचा
देखाउँछ ।
फुडमान्डुको केही चुनौतिहरु पनि छन् ।
मुन्चाको जस्तै यसले पनि अनलाइन पेमेन्ट प्रणालीमा जोड दिएको छैन । यो पनि 'क्यास इन डेलिभरी'मा नै चलेको छ । पेमेन्ट सिस्टमले ३ देखि ३.७५ प्रतिसतसम्म सर्भिस चार्ज लिने र कुनै
अवस्थामा रद्द गर्न पर्यो र ग्राहकले अर्को अर्डर गरेमा पेमेन्ट सिस्टमले २ पटक
सर्भिस चार्ज काट्छ । अर्डर रद्द नहुने अवस्थामा अनलाईन पेमेन्ट राख्न मिल्छ । तर
सानो सानो प्रतिशत लिएर काम गर्ने र सेवा दिने क्षेत्र सानो हुँदा अनलाईन पेमेन्ट प्रणालीमा फुडमान्डु जस्ता
संस्था जान नसकेका हुन् । त्यस्तै लोडसेडिङ‚ पेट्रोलको अभाव बाहेक आइएसपीहरुले
राम्रोसँग इन्टरनेट सेवा दिन नसक्दा फुडमान्डुले २ ओटा इन्टरनेट प्रदायकसँग सेवा
लिनु परेको छ । फुडमान्डुले सुविसु र एनसेलको सेवा लिइरहेको छ ।
यसरी
नेपालमा इन्टरनेटको विस्तार र प्रयोगको ढाँचा बनेका छन् । वेब पोर्टल हेर्नेको संख्या र
इन्टरनेटबाट सेवा सुविधा प्रयोग गर्नेको संख्यामा ठूलो ग्याप देखिन्छ । यसले
अझैपनि इन्टरनेट मनोरञ्जनको माध्यमको रुपमा लिएको मान्न सकिन्छ । मान्छेको
आवश्यकता के छ भन्ने पक्षले पनि इन्टरनेटको प्रयोगमा वृद्धि ल्याउँछ । जस्तो म्याग्दी जिल्लाको नाङ्गी गाउँबारेको एक
अध्ययनमा त्यहाँ इन्टरनेटको प्रयोग "जनसेवा"को लागि थालिएको सन्दर्भमा 'मागमुखी' जस्तो देखिँदा सफल हुने र 'आपुर्तीमुखी'
जस्तो देखिँदा चुनौति थपिएको अनुभव छ । त्यहाँ इन्टरनेटको प्रयोग गरेर
स्वास्थोपचार गर्ने योजना 'मागमुखी' भएकाले प्रभावकारी भयो । तर त्यसको
तुलनामा गाउँका मान्छेहरुले इन्ट्रानेट मार्फत आर्थिक कारोबार गर्न खोलिएको
टेलिमिडियामा अभ्यस्त हुन समय लागेकाले व्यावसायिक प्रयोजनको लागि इन्टरनेटको उचित
प्रयोग हुन सकेन । गाउँलेले इ-कमर्शको
आधारभूत ज्ञान नै बुझ्न बाँकी हुनाले यसले सफलता पाएन । यसरी इन्टरनेट प्रयोगका
आधारभूत पक्षहरुबारे ज्ञान नहुँदा इन्टरनेट प्रयोगमा समस्या देखिएको छ । त्यसकारण
यस्ता केही पक्षमा नीतिगत तह र सरोकारवालावीच समन्वयको आवश्यकता देखिन्छ ।
नेपालमा इन्टरनेटको पहुँच र प्रयोग सम्बन्धी मार्टिन चौतारीले गरेको परियोजनामा आधारित ।