Saturday, May 7, 2016

समयको सूईमा घडी

उदाउन र अस्ताउन लागेको सूर्य, डाँडामाथिका जून, तीनतारा, कुखुराको डाँको र छायाँहरु नै थिए गाउँलेहरुले समय पत्ता लगाउने घडि । “खास गरेर ठूला जहानका बुहारी र परदेश लागेका बटुवालाई रात दिन नछुट्टिँदैमा उठी काम थाल्न अथवा बाटो लाग्न हतपत पर्दा पूर्वतर्फ उदाएका तीनताराले आजकल नाडीमा बाँधेको घडिले जस्तो काम दिन्थे । कारण जति रात छिप्पिँदै गयो, ती तीनतारा उति पर पुगेको जस्तो देखिन्थे ।” ६८ वर्षको उमेरमा भीमबहादुर पाँडेले २०३८ सालमा प्रकाशन गरेको पुस्तक त्यसबखतको नेपालमा लेखेका छन् ।


विशालबजारमा रहेको घडी मर्मत केन्द्रमा राखिएको घडी । यो घडी कलकत्ताबाट ल्याइएको हो ।
  घरबाट काम गर्न निस्केका गाउँलेले रुख र पहाडको छायाँबाट दिन वितेको थाहा पाउँथे, खेतारीहरुले काम सक्थे, गोठाले गाई फर्काउँथे । घाम यति टगालो आयो र अझ उति टगालो बाँकी छ भन्ने अन्दाजैअन्दाजबाट गाउँलेको दैनिक कार्यक्रम चल्दथ्यो । उ बेला गाउँघरमा मानिसहरु “पानीघडि कै भरमा लगन गाँठो बधाउँथे, जन्म–कुन्डली बनाउँथे, छेवर ब्रतबन्ध हुन्थ्यो, साइत सार्दथे र घरको जग हाल्दथे । गाउँपिच्छे पानीघडि हुन्थे यस्तै विशेष अवस्थामा काम लिन ।” पाँडेले लेखेका छन् । तामाबाट बनाइएको प्याला आकारको घडालाई कुनै अनुभवी मानिसले बनाउँथे र यसमा सरकारद्वारा मान्यता प्राप्त छाप लगाउनु पर्दथ्यो । यसमा एक सानो प्वाल हुन्थ्यो र भाँडाभरी हालेको पानी जुन बेला निथ्रन्छ त्यसलाई एकघडि मान्ने गरिन्थ्यो ।
गाउँमा सूर्यनारायणको गति
सूर्यनारायणको गति र छायाँबाहेक तत्कालिन समयमा ज्योतिषीहरु समय र साइतका स्वरुप थिए । बाइसे चौविसे राज्य आक्रमण गर्नलाई बहादुर शाहले १८३५ सालमा आफ्नो फौजसित ज्योतिष रहनुपर्ने भएकाले कालु पाँडेका माइला छोरा नवयुवक ज्योतिषी लक्ष्मीपतिलाई लिएर हिँडेका थिए । प्रसिद्ध इतिहासकार नयराज पन्त र अरुहरुले २०६४ सालमा प्रकाशित गरेको दैवज्ञशिरोमणि लक्ष्मीपति पाँडेको धूपघडि नामक पुस्तकमा उल्लेख भएअनुसार त्यो बेला लक्ष्मीपतिले महिना, गते, बार, तिथि, घडि, पला, नक्षत्र हेर्दै हिँडेका थिए । गुल्मी, अर्घा, खाँची राज्यहरु कहिले गल्लान् भनेर विचार गरेका लक्ष्मीपतिले त्यसबाट प्राप्त कुराहरु संक्षेपमा पात्रोमा टिपेका छन् । 
लडाईँमा हिडेका यी ज्योतिषहरुले कपडा कात्ने, सिउने, धान, पात, दही, माछा, उखु, साग, चोखीमाटी ल्याउने, मंगलकर्म थाल्ने साइत हेर्थे । सामाजिक तहमा राजज्योतिषको सिको गर्दै सामाजिक ज्योतिष पनि उत्पन्न हुँदै गए । अझैपनि गाउँघरमा घर बनाउने काठ काट्न, बाँस काट्न, परदेश जानुपर्दा ज्योतिषकहाँ पुगेर साइत हेर्ने चलन छ ।
काठमाडौँका सर्वसाधरण पनि आफ्नो शुभ मुहुर्तको लागि हनुमानढोकाका ज्योतिषकहाँ पुग्थे । मखनटोलका ओजमानसिंह श्रेष्ठका अनुसार हनुमानढोका वरिपरीका मानिसहरु बच्चा जन्मिँदावित्तिकै उसको धर्को(कुण्डली) बनाउन हनुमानढोका आउँथे । बच्चाको बाबु वा घरको कोही मान्छे जन्मेपछिको चाल गन्दै हनुमानढोकासम्म पुग्थे । त्यहाँ रहेका ज्योतिषले “कति पाइला हिँडेर आयौ”  भनी सोध्थे । त्यही चालको आधारमा ज्योतिषले धर्को बनाइदिन्थे ।
यी मध्ये केही महाज्योतिषले घडिका स्वरुप पनि बनाएका थिए । सर्वसाधरणका पहुँचबाट टाढै हुने यस्ता घडिमा प्रताप मल्लको समयताका ढुंगामा कुँदिएको धूपघडि(Sun Dial)बारे माथि उल्लेखित पुस्तकमा लेखिएको छ । यो स्वयम्भूमा भेटिएको थियो । वि.सं. १८४७ जेष्ठशुक्ल पूर्णिमामा बनाएको यो धूपघडि अहिले छाउनीको संग्रहालयमा छ ।
त्रिचन्द्र कलेज घण्टाघरको छेवैमा पनि एउटा धूपघडि अझै छ । तुलसी रोप्ने मैरी आकारको यो धूपघडिलाई तत्कालिन राणा शासक श्री ३ चन्द्रशमशेरले बेलायती प्राविधिकलाई बनाउन लगाएका थिए । यो धूपघडिमा अंग्रेजीमा लेखिएको वाक्यलाई नयनराज र अरुहरुले यसरी अनुवाद गरेका छन्, “श्री ३ महाराज चन्द्रशमसेर जबराबाट वि.सं. १९६८ मा तयार गराइएको बेलायतका विज्ञान विषयका यन्त्रनिर्माता बार्करले बनाएको काठमाडौँको धूपघडि हो यो ।” यो धूपघडिको छेवैमा ठूलो घण्टाघर पनि छ । त्रिचन्द्र परिसरमा रहेको घण्टाघरको सानो कथांश यस्तो छ ।
सन् १९९०को भूइँचालोपछि निर्माण गरिएको घण्टाघर
श्री ३ वीरशमशेरले आफ्ना चार– हिटी, लाल, फोहरा र सेतो दरबारमा सजाउन बेलायतबाट ४ विशाल घडि मगाएका थिए । एक आपसमा जोडिएका यी घडि स्थापनाको लागि घण्टाघर निर्माण गरिएको तथ्य देखिएको छ । यूरोपमा पनि यस्ता धूपघडी वा घण्टाघर कलेजकै परिसरमा हुने हुनाले राणाहरुले पनि त्रिचन्द्र कलेज परिसरलाई रोजेको होलान् । तस्बिरमा नेपाल नामक फेसबुक पेजमा लेखिएअनुसार लण्डनको ‘विग वेन’ घण्टीसँग तुलना गरिएको घण्टाघरको घडिको आवाज सो समय १ सय फिट माथिसम्म सुनिन्थ्यो । पश्चिमी मुलुकमा देखिएको संरचनाबाट प्रभावित भएर वि.सं. १९५१ मा निर्माण भएको यस भवनका लागि इञ्जिनियरद्वय कुमार नरसिंह र किशोर नरसिंह राणालाई जापानमा तालिमका लागि पठाइएको थियो । घण्टाघर निर्माण पछि टुँडिखेलमा सिपाहीले तोप पड्काउनु अघि दुरविनबाट हेरेर घण्टाघरको समय अनुसार तोप पड्काइने प्रचलन पनि सुरु भयो । घण्टाघर तयार भएपछि वीरशमशेरबाट भवनको एक भागलाई वीर पुस्तकालयको रुपमा पनि विकास गरेका थिए । १९९० सालमा आएको ठूलो भूकम्पले पूर्ण रुपमा ध्वस्त भएपछि नयाँ डिजाइनमा हालको अवस्थामा घण्टाघर पुनर्निर्माण गरिएको हो । 

पछिल्लो इतिहास
दोस्रो विश्वयुद्ध पछिको समयमा नेपालमा सर्वसाधरणका हातमा घडि झुण्डिन थाले । सबैभन्दा पहिले स्वीस घडि आएको देखिन्छ । स्वीस कम्पनी ‘वेस्ट इन्ड वाच’ले पहिलो विश्वयुद्धमा बेलायतीको तर्फबाट लडेका सिपाहीलाई घडि बनाइदिएको र उनीहरुले नै नेपालमा घडी बानेर आए । पछि आफ्नो व्यावसायको लागि सन् १९८० को दशकमा वेस्ट इन्ड वाचले एशियाका १८ देशमा यसको व्यापार गरेको थियो । काठमाडौँको विशालबजार नजिकै शुक्रपथमा रहेको ‘रत्न ट्रेडर’ अथवा ‘सेतो घर’मा यसको पहिलो विक्री तथा सेवा प्रदान गर्ने केन्द्र रहेको छ । जसलाई वरिपरीका स्थानीयहरु ‘ग्रेटवारका घडि विक्री गर्ने पसल’ पनि भनेर चिन्छन् ।
विशालबजार नजिकै सेतो घरमा रहेको रत्न ट्रेडर अर्थात् ग्रेटवारका घडी बेच्ने पसल
स्वीसपछि नेपाली बजारमा जापानी घडिले बजार पिटेका थिए । यी घडीहरु नेपालमा भित्राउने लाहुरेहरु नै हुन् । अमिर राईले घडिबारेको संस्मरणमा लेखेका छन्, “लाहुरेको घना बस्ती भएको शहर धरानमा त सबैको हातमा प्राय ‘सेइको फाइभ’ घडि हुने गर्थ्यो ।” विदेशबाट आफन्तजनलाई ल्याइदिने उपहारको रुपमा । यस्ता घडि लगाउने मानिसको समाजमा छुट्टै पहिचान हुन्थ्यो । जस्तै ‘घडि मास्टर’ । बच्चाहरुलाई स्कूलमा राम्रो पढेमा उनीहरुको अभिभावकले घडिको कल्पना देखाइदिन्थे । फर्स्ट भएमा अभिभावकले घडि किनिदिन्छु भन्थे । हातमा घडि भएकाले सुरुसुरुमा त छिनछिनमा घडि हेर्थे । बाटो हिंड्दा कसैले ‘कति बज्यो’ भनेर सोध्छन कि भनेर हेर्ने, घडि बाँधेकोले देब्रे हात झड्काउने, ‘सवा, साँढे, पउने’ जोडेर समय भन्ने बानी पछिसम्म थियो । 
नेपालमा पनि बाँसबारी छालजुत्ता, ट्रली बस, याक चुरोट कारखाना हुनेताका नेपालमै बनेको डोल्मा घडिको पनि उत्पादन हुन्थ्यो । संभवत विदेशबाट सामान ल्याएर नेपालमा जोडजाड गरी । त्यति बेला रेडियो नेपालले यसको विज्ञापन बजाउँथ्यो । “‘नेपालमा बनेको डोल्मा घडि, ठीक समय दिने डोल्मा घडि, बलियो भरपर्दो डोल्मा घडि’ भन्ने विज्ञापन प्रत्येक साँझ ९ बजे रेडियो नेपालमा बज्ने गथ्र्याे ।” राईले लेखेका छन् । उनकाअनुसार त्यस बेला पनि नेपालमा बनेको हुनाले यसलाई खिसी नै गरिन्थ्यो । खास गरी लाहुरेहरु भएको वस्तीमा । यो समाजमा कसैको घडिले एक्युरेट समय नदिए कि त्यसले ‘आलु घडि’ कि ‘डोल्मा घडि’ को संज्ञा पाउने गर्थ्यो । तर लाहुरेबाहेकको समाजमा भने अर्कै कल्पना थियो । त्यति बेला रेडियो नेपालले घडिको विज्ञापन बजाउँदा मानिसले त्यो डोल्मा घडि भयंकर होला भन्ने कल्पना पनि गर्थे । किनकी विज्ञापन दिँदा नै ट्वाङ्ग...ट्वाङ्ग...ट्वाङ्ग आवाज बजाउँथ्यो । शिवानीसिंह थारुले डोल्मा घडिबारे आफ्नो संस्मरण यसरी लेखेकी छन्, “ट्वाङ्ग...ट्वाङ्ग...ट्वाङ्ग... ‘डोल्मा घडि !’ अर्को विज्ञापन । त्यही जमानामा सुन्दा डोल्मा घडि कत्रो होला भन्ने लाग्थ्यो ।” 
स्वीस, जापानी, नेपालमा जोडजाड गरी बनाइएको घडिपछि चिनियाँ घडिले हरेक प्रकारका घडिको ब्यापारलाई प्रभाव पारेको र सर्वसाधरणको पहुँचमा पुराएको छ । किनभने २०४० सालको दशकदेखि नै सस्तो खालको चाइनिज घडि खासाका व्यापारीमार्फत सर्वसाधरणमाझ आउन थालेका हुन् । 

अन्तमा
नेपाली समाजमा सूर्यको गतिबाट अनुमान गरेर दैनिकी चलाउने समय अझै पनि बुढापाकामा धिपधिपे अवस्थामा छ । ल्यापटप, मोबाइल जस्ता यन्त्रले घडिको पनि काम गरेका हुनाले नाडीघडि समयको भन्दापनि गहनाको रुपमा पनि प्रयोग हुन थालेको छ । मँहगो ब्राण्डका घडिहरु गहनाकै स्वरुप हुन् । त्यस्ता घडि मर्मत गर्न नै १० देखि ५० हजार रुपैँयासम्म पर्ने घडि मर्मतज्ञको भनाइले यसको पुष्टि गर्छ ।
स्वीस घडी मर्मत केन्द्रका मर्मतज्ञ
नेपालमा सर्वसाधरणबीचमा घडि भित्राउने श्रेय लाहुरेलाई जान्छ । विश्वयुद्धमा लड्न पुगेका सिपाही देखि लिएर, सिंगापुर, मलेसिया, लेबनान, भारत पुगेका लाहुरेले विभिन्न ब्राण्डका घडिहरु भित्राएका हुन् । यसको निरन्तरता अभैm छ । लाहुरे परिवारबाहेकको परिवारमा डोल्मा घडि आएपनि वि.सं. २०४० तथा २०५० को दशकतिर भारतीय र चिनीया घडिले गाउँघरका सामान्यजनको रहर पुरा गरेको हो ।

२०७३ वैशाख १५

यो लेख २०७३ वैशाख २५ को कान्तिपुर को सनिवारिय परिशिष्टांक कोसेलीमा पनि प्रकाशित छ ।

Monday, May 2, 2016

गाउँको दुख: पानी र स्कूल


डिही, अर्घाखाँचीका ५३७ गाउँमध्ये एक हो । यसको अर्थ कसैकसैले पाखोबारी त कसैले फुलवारी भनेर चिनाउँछन् । तर सधै सुख्खाराम हुँदा यसको अर्थ फुलवारी भन्नेमा मलाई हिजोआज शंका लाग्न थालेको छ । करिव सय कुरिया घरभएको गाउँमा जनसंख्या निकै पातलो छ । आधाभन्दा धेरै घर बसाईसराईको तयारीमा भएकाले गाउँमा सून्यता बढ्दै छ । 'तराइमा जग्गा' किन्ने सपना त सबैको छ । त्यहाँ तत्काल दुइओटा समस्या देखिन्थ्यो । एउटा पानी र दोस्रो स्कूल । अझ अहिले चलिरहेको खडेरीले यसका छिमेकी गाउँमा डढेलोको प्रकोप बढिरहेको छ । यस्तो सामान्यीकरण छत्रगञ्ज गाविस, जिल्ला वा छिमेकी गुल्मी, पाल्पा, स्याङ्ग्जा र प्यूठान जिल्लाकै अन्य गाउँहरुसँग गर्न सकिन्छ ।
टाकुराबाट देखिएको डिहीको माझ भाग - २०७३ वैशाख


पानी
पानी पुस्तेनी दुखको विषय हो । तर खडेरीले महादुखमा परिणत गरेको छ । गाउँलेको अनुभवमा २०३४ सालपछि २०६१ र अहिले २०७२/२०७३ सालमा खडेरी परिरहेको छ । यो खडेरीले त्यहाँको आर्थिक गतिविधि ठप्प छ । वस्तुभाउको विक्री सुस्ताएको छ । खास गरी वाख्रापालनमा जोड भएकोले किसानले वस्तुभाउलाई पानी पुराउन नसकेर विक्री गर्न चाहिरहेका छन् । तर त्यो पनि संभव भएको छैन । गाउँमा उसै त सुख्खायामको लागि खनिएका पोखरीहरुमा खडेरी नपर्दा त पानी हुँदैनथ्यो । झन् अहिलेको खडेरीले पानी हुने कुरै भएन । डिहीमा पानीको लागि ४ ओटा कुवा र एउटा खानेपानी योजना छ । सबैभन्दा धेरै पानी जम्मा हुने कुवामा १ घण्टामा १० लिटर पानी अटाउने दुईदेखि तीन ओटासम्म गाग्री भरिन्छन् । त्यसैले तरान दिएको छ । धारा २ दिन विराएर १ घण्टा आउँथ्यो । त्यो पनि पातलिँदै गएको छ । कुवा पनि सुक्दै गएकाले टाढा पुगेर पानी बोक्ने काम नै मुख्य बनेको छ ।
गाउँको एक छेउको खोल्सामा रहेको कुवाबाट पानी उवाउँदै वालवालिकाहरु- २०७३ वैशाख
       गाउँलेहरु पानीको खोजीमा रातभर कुवालाई कुर्छन् । पानी भर्छन र घरमा फर्कन्छन् । स्थानिय समाजसेवी माधव पन्थीले भने,"विदेश गएका र छोराछोरी पढाउन शहर पसेका गाउँका मानिसहरु सबै फर्कन र गोठभरी वस्तुभाउ पाल्न यही पानीको कारणले संभव छैन । बरु यहाँका बाहिर जाने हो ।" यस वर्ष खडेरीले समस्या अलि बढि भएहोला नत्र यस्तो दुख सधैँको हो । यसले गर्दा घरभित्रको सदस्य अस्थायी बसाईँसराईँ बाध्यात्मक छ । "छोराभएर जन्मेपछि देशविदेश जानुपर्छ" भनेर बुढापाकाहरु यही दुखले गर्दा सम्झाएका होलान् । गाउँमा भएका युवाहरु शहर वा विदेश पसेका आफन्तलाई 'लौ न जागिर खोजिदेउ', 'लौ न भिसा पठाइदेउ' भनेर अनुरोध गरिरहन्छन् । त्यसैले अर्घाखाँची र गुल्मीमा लाहुर र विदेश जाने चलन पुरानो हो ।


खोलाबाट पानी बोक्दै स्थानिय वासिन्दा

       राम्रो पक्ष चाहिँ गाउँमा बजार विस्तारले गर्दा अनिकाल पसेको छैन । कमाउन बाहिरिएका युवा र गाउँमा अन्धाधुन्ध विस्तार भएका सडकमा गुड्ने गाडिलेअनिकालको समस्या टारेको छ । तर विदेश वा शहरमा आफन्त नभएका र गाउँमा नै आश्रित परिवारलाई दुखले छोडेको छैन । ऋण सहि, हरेक परिवारलाई दोकानले पालेको छ । भर्खरै मलेसियाबाट फर्केका थापाचौपारीका गोपाल पाण्डेले भने "खेतिपाती र बस्तुभाउ त गर्नलाई मात्र हो, खानलाई त दोकान छँदैछ नि ।" घरघर डुल्दा खाजा पकाउनस् न भन्यो भने, चियाबाहेक अरु केही टक्र्याउन सक्ने स्थिति छैन । दोकानबाट ल्याएका चिजविजबाट बनेका परिकार नै खानुपर्ने बाध्यता छ ।



मकै छर्न ठिक्क परेका बारीहरु तर वर्षात् हुन नसकेकाले मकै छर्न सकिरहेका छैनन किसानहरु ।
       सबै भेला हुने ठाउँ, ठाँटीमा बसेर कुरा गर्ने मानिसहरु पानीबाहेक चर्चा नै गर्दैनन् । पानीका नियम, योजनाहरु बनाइरहेका हुन्छन् । कुवामा कसैले दोस्रो मानिसलाई पालो दिएमा उ अन्तिममा गएर पालो कुर्नुपर्ने जस्ता नियमबारे छलफल गरेको सुनिन्थ्यो । पालो नकुरेर ठाउँमात्र सट्टापट्टा गर्दा झगडा हुने गरेको छ । स्रोतको नजिक रहेको मानिसले पानी धेरै खायो भने बाँकी गाउँलेहरुमा छट्पटाहट हुन्छ । छिमेकी दौँघा गाउँमा त लिटरको २ रुपैँयामा पानी किनेर खाएका समाचार सुनिन्थ्यो । तर विवाह भतेरको लागि ट्यांकरमा पानी ल्याउँदा छत्रगञ्जमै पनि पानी त्यति नै महँगो बनेको छ । छिमेकी सिर्थुम गाउँका देवराज श्रेष्ठले आफूले व्यावसायिक रुपमा पालेका कुखुरा मर्छन् कि भनेर दैनिक ६ जना पँधेर्नीहरु तीनसय रुपैँयाको दरले काममा लगाएका छन् ।



चरालाई पनि पिउने पानी छैन । स्थानियले यसरी राखिदिन्छन उनीहरुलाई पिउने पानी


       फिनिडाको सहयोगमा बनेका ठूलठूला पानीका घैँटा हुनेहरु 'पानी साहु' जस्तै हुन् । यस्ता घैटा वितरण स्थानिय रुपमा यथोचित हुननसक्दा केहीघरहरु पीडित छन् । गरिबीको कारण छिमेकी गाउँका मानिसहरुले यस्ता घैँटाहरु विक्री पनि गरे । व्यक्तिगत तवरबाट पनि बनाउन सक्नेले पनि कुनै 'प्रोजेक्ट'ले बनाइदेलाकी भनेर कुरिरहेका छन् । "किनभने अरुहरुले 'फ्री'मा यस्ता घैँटा बनाएका थिए भने हामीले पैसा किन खर्च गर्ने ? तैपनि प्रोजेक्ट आउँछ कि ?" एक स्थानियले भने । मानिसहरु यस्ता घैँटालाई रातो माटो र सेतो चुनाले लिपेर चिटिक्क पारी राखेका हुन्छन् । यो खडेरीमा पानीको सुरक्षामा यस्ता घैँटाहरुमा कुची लगाइएको छ ।
वर्षामा यस्ता घैँटामा संकलन गरिएको पानीले हिउँदको दुख टार्छन्


       गाउँमा पेट्रोल छ पानी छैन । गाडिहरु कुँदिरहेका छन् । स्थानिय स्कूल नजिकै होटल गरिबसेका छविन्द्र सेन ठकुरीले मोटरसाइकलबाट दिनको २८ ग्यालेन पानी ल्याइ ड्रममा भर्छन् । मोटरसाइकल हुने युवाहरु १ घण्टाको दुरीमा रहेको खोलामा गइ नुवाइधुवाइ गर्छन् । फर्केर आउँदा पसिना र धुलोले शरिर जस्ताको तस्तै भएपनि कपडा धुन पाइने हुनाले टाढाको खोलामा मोटरसाइकलको ताँती लाग्छ । विवाह भोजभतेरमा त ट्यांकरको पानीले नै काम चलाउनुपर्छ । "खाना मासु खेर फाले मन फाट्दैन,तर यो पानी खेर फालेमा चित्त दुख्छ ।" एक स्थानियले भने । गाउँमा भएको एक विवाहको भतेरमा चुन्नीले बाँधेर पानी सुरक्षित राखिएको थियो ।

स्थानियले बनाएका पानी घैँटा । यी घैटालाई दशैँतिहार छेक रङ्गाएर चिटिक्क पारिन्छ

       गाउँलेहरु पानीलिन सुरुमा कुवातिर जाँदैनन् । रातमा अन्य छिमेकीहरु सुतेका छन कि छैनन् । चियो गरेर मात्र कुवातिर जान्छन् । केटाकेटीहरु जतिवेला पनि कुवामा पसेर पानी नितार्छन भनेर । पानी लिएर फर्केकाहरुले "आज यत्रो (ठूलो) रातो मन्टो गरेको सर्प देखेँ"भनेर अरुलाई तर्साउँछन् । खडेरीले पानी सुक्दैजाँदा आत्तिएका सर्पहरु बाहिर आउन थालेका छन् । अँध्यारो रातमा गीत गाउँदै वा मोबाइलमा गीत बजाउँदै पँधेरे पँधेर्नीहरु कुवा रुँगेर बस्छन् । खोल्साहरुमा खोस्रँदै खोस्रँदै पानी आउँछ कि भनेर ससाना कुन्टाहरु बनाइएको छ । यो वर्ष पनि पानी नपरी सुख्खाराम हुने हो कि भन्ने भय गाउँलेहरुमा छ ।

लिफ्टिङ्ग गर्न खोजिएको जिम्रीघाटको एकअौँले  मुहान

       खडेरीमा पानी नपुगेर गाउँमा केही योजना तय गरी लिफ्टिङ्ग सिस्टमबाट पानी तान्न खोजिँदैछ । तर भरपर्दो स्रोतको अभावमा योजनाप्रति नै शंका गरिएको छ । स्थानिय जिम्रीघाट खोल्साको दुई औँला मुल भएको पानी तान्न ओभरसियरले ७ लाख रुपैँया मागेका छन् । तैपनि स्थानिय अगुवाहरु यो काम गर्न तत्पर छन् । यो काम उपभोक्ताको सहयोग विना हुन सक्दैन । गाविसले यस अघि नै खानेपानी योजनाको लागि गाउँमा रहेका प्रत्येक कुरियासँग १ हजारका दरले पहिलै पैसा उठाइसकेको छ । त्यसैमा फेरि अर्को स्थानिय योजनाबाट पानी ल्याउँछौँ भन्दा फेरि उपभोक्ताबाट पैसा उठाउनुपर्ने हुन्छ । त्यसैले यसमा गाउँलेको मन कुँडिएको छ । तर स्थानिय योजना भएकाले नगरौँ कसरी नगरौँ गरौँ पहिला नै पैसा उठाइएको छ । यो दोधारबीचमा पनि योजना अघि बढाउने कुरामा स्थानिय अगुवाहरु दृढ देखिन्छन् ।

जिम्रीघाटबाट पानी बोक्दै स्थानीय वासिन्दा


       गाउँबाट डेढ घण्टाको पैदल दुरीमा रहेको अटुट ठूलो खोलामा पनि पानी खण्डित रुपमा बगिरहेको छ । कम्तिमा ५ गाविसका मानिसहरु यसमा आश्रित छन् । खास गरी मोटरसाइकल भएका युवाहरु कपडा धुने र नुहाउने गरेपनि फर्किँदा पसिना र धुलोले उस्तै भएर आउँछन् । अरु दुखले पनि घेरिएका छन् गाउँलेहरु । यो स्कूलको दुखको कुरा हो ।

छत्रगञ्ज गाविसका ३ ओटा विद्यालय गाभिएको स्कूल

स्कूल
डिही गाउँमा बोर्डिङ्ग र सरकारी स्कूलको शिक्षालाई "दुईथरी शिक्षा" भनिन्छ । यस्तो 'दुइथरी शिक्षा'बसाईँसराईँको अर्को मुख्य कारण बनेको छ । पहिला एसएलसीसम्म पढेपछि विद्यार्थीहरु बसाईसराई गर्थे । स्थानिय शिक्षक प्रकाश शाहले भने,"अहिले दुइथरी शिक्षा बसाइसराइको कारण बनेको छ ।" सरकारी विद्यालयमा अभिभावकले २ कारणले पढाउन चाहँदैनन् । पहिलो शिक्षा गुणस्तरीय नहुनाले । दोस्रो सामाजिक प्रतिष्ठाको कारणले । यदि आफ्नो छोराछोरीलाई सरकारी प्राथमिक विद्यालयमा पढायो भने छिमेकीहरु आफूलाई तन्नम् भन्लान कि भन्ने डरले नसक्नेले पनि रिन खोजेर भएपनि गाउँबाहिर कमाउन गएर भएपनि बोर्डिङ्गमा पढाउन बाध्य छन् । युवाहरु विदेशमा जस्तोसुकै काम गरेर भएपनि नयाँ पीँढीलाई बोर्डिङ्ग पढाउन चाहन्छन् । त्यसैले बुढा हुँदै गरेका बाबुआमाको भन्दा नयाँ सन्तानको शिक्षादिक्षाको चिन्ता अरेबियन देशमा पुगेका युवाहरुको छ । त्यसैले उनीहरु आफ्नो परिवारलाई खण्डित गरेर भएपनि तराईतिर अस्थायी बसोबास गरेका छन् । स्थानिय एक युवाले भने, "आफूले पढ्न पाइएन, यी लालाबालालाई त शिक्षा दिनुपर्यो त्यसैले यिनीहरुलाई बुटवल राखेर आफू विदेश जान्छु या उतै पेशो गरेर बस्छु ।"


२०३८ सालमा गाउँको सुन्दर ठाउँमा खुलेको यो विद्यालय विद्यार्थी संख्या कम हुँँदा बन्द हुन पुगेको थियो ।

गाउँमा बोर्डिङ्ग स्कूल त छन् । तरनाफाका लागि खोलिएका यस्ता स्कूल जनसंख्या भएको ठाउँलाई हेर्छन् । गाउँ पातलिँदै गएकाले ती बोर्डिङ्ग आफैपनि संकटमा छन् । डिही यसै त बसाइसराइले पातलो जनसंख्या भएको र पुछारको गाउँ भएकाले यहाँ बोर्डिङ्ग स्कूल छैन । करिब १ घण्टाको दुरीमा बोर्डिङ्ग स्कूल छ । ससाना बच्चाहरु टाढा पुग्न सक्दैनन् । अझ नर्सरी पढाउने बच्चाको लागि त झनै समस्या छ । घण्टाको दुरीमा रहेको बोर्डिङ्गमा बच्चालाई बोकेर लानल्याउनकै समस्या छ । सरकारी स्कूलमा पढाउँदा प्रतिष्ठामा आँच आउँने भयो । त्यसैले यो भौगोलिक अनुकुलता नहुँदा गाउँका कसैले मामाघर बच्चालाई राखेर पढाएका छन् । कसैले कोही आफन्तकोमा । तर यस्तो झन्झट गर्नुभन्दा बरु तराई झर्नु नै उत्तम विकल्प देखिएको छ ।

तीन स्कूल गाभिँदा एकदेखि पाँच कक्षासम्मका विद्यार्थी । स्कूल गाभिँदा शिक्षक मात्र गाभिने तर विद्यार्थी नगाभिने समस्या छ ।
       सरकारी स्कूलमा शिक्षकहरुलाई विद्यार्थी संख्याको पिरलो छ । डिहीको गाउँमा २०३८ सालमा एउटा प्राथमिक विद्यालय खुलेको थियो । २०४८ सालमा यसले ५ कक्षामा करिव ३५ जना विद्यार्थी उत्पादन गरी गाविसको माझमा रहेको माध्यमिक विद्यालयमा विद्यार्थी पठाउँथ्यो । २०७१ सालमा ५ ओटा कक्षामा जम्माजम्मी ३५ विद्यार्थी पनि नपुगेर यो विद्यालय छिमेकी विद्यालयसँग गाभियो । यसरी गाभिनेमा छत्रगञ्ज गाविसका ३ ओटा वडाका ३ विद्यालय थिए । तर पनि विद्यार्थी संख्या अझै ३५ कै हाराहारीमा छ । यसरी विद्यालय गाभिँदा विद्यार्थीको लागि भौगोलिक दुरी बढ्न जाँदा अर्कै स्कूलमा जानेहुन कि, बसाईसराई गर्नेहुन कि भनेर स्कूलले निशुल्क झोला, कापी वितरण गरेर कायम गर्न प्रयास गरिरहेका हुन्छन् ।
सुन्दर तर सुख्खा देखिन्छ जमिन

       गाउँमा पुगेको बेला एक विद्यालयले अर्को विद्यालयका विद्यार्थीलाई आफ्नो स्कूलमा आकर्षित गर्न स्वेटर, छात्रवृत्तिको आश्वासन दिएका थिए । त्यसपछि गाभिएको विद्यालयका विद्यार्थीलाई पनि कायम गर्न प्रति विद्यार्थी बराबर १ दर्जन कापी बाँड्ने योजना गरियो र बाँडियो पनि । यसरी भएका विद्यार्थी तानातान गर्ने प्रतिस्पर्धा विद्यालयमा चलिरहेको छ ।


श्री सरस्वति प्राविमा कापी वितरणपछि खिचाइएको सामुहिक तस्बिर ।

       गाउँमा विद्यार्थी कम हुनुको कारण बोर्डिङ्ग स्कूल मात्र होइनन् । एक स्थानिय शिक्षकले भने,"प्रजनन दर निकै कम छ । एक दम्पतिले १ जनाबाहेक बच्चा जन्माउँदैनन् । उक्त बच्चालाई जसोतसो गरेर भएपनि गाउँकै बोर्डिङ्ग नभए शहरमा रहेका आफन्त वा आफै बसाई सराई गरेर भएपनि बोर्डिङ्ग पढाउने सपना देखिरहेका छन् ।"
स्कूलमा विद्यार्थी कसरी बढाउने भन्ने विषयमा व्यवस्थापन समितिमा छलफल गर्दै
                गाउँघरमा "ज्वाईँ रोड" धेरै बनेका छन् । दशैँमा एक दिन मोटरसाइकल लिएर आउने छोरीज्वाईँलाई वा छोराबुहारीलाई अलिकति पनि हिँड्न नपरोस् भनेर बनाइएका शाखा बाटाहरु । खडेरीमा यी शाखा बाटाहरुमा एक गमबुट धुलो छ । चैत वैशाखको हावाहुरीले र त्यहाँ चल्ने मोटरसाइकल तथा अन्य सवारीले छेउछाउका घर, घाँसे रुखहरु चिन्न नसकिने भएका छन् । मोटरसाइकल चढ्नेले गर्मीयाममा पनि रेनकोट लगाएर मोटरसाइकल चलाउँछन् । घरबाट चिटिक्क परेर पढ्न गएका छोराछोरी धुलोले चिन्न नसकिने भएर फर्कन्छन् । यसैलेधुलो र मैलो कपडा खडेरी टाढाको बोर्डिङ्ग गाउँमा वोरिङ्ग भइरहेको छ ।

अन्तमा

स्कूल र पानीको असुविधा भएको गाउँमा को बस्छ ? शहरी सपना देख्नुपरेन ? गुल्मी अर्घाखाँची यस्ता जिल्ला हुन् जसलाई काठमाडौँमा 'व्यूरोक्रेसीमा पकड' भएका सम्पन्न जिल्ला भनिन्छ । तर २०६८ सालको जनसंख्याको रिपोर्ट अनुसार सबैभन्दा धेरै विदेश जाने जनसंख्या भएको जिल्लामा यिनीहरु परेका छन् । काठमाडौँ तथा अन्य शहरहरुमा 'लुम्बिनी तन्दुरी' भनेर ब्राण्ड बनेको उदाहरण यहि वैदेशिक रोजगारी हो । पञ्जाव काम गर्न गएका युवाको सीपलाई प्रयोग गरेर तन्दुरी रोटी बनाउन यो क्षेत्रका बासिन्दाले सकेका हुन् । कम वर्षाहुने ठाउँमा यि जिल्लाहरु पर्छन् । स्थानियहरुले यसलाई "सुख्खाग्रस्त जिल्ला" घोषणा गरी राज्यले सहयोग गर्नुपर्ने बताउँछन् । उत्पादन कमजोर भएको हुनाले यहाँका मानिसहरु धेरै बसाईसराई वा वैदेशिक रोजगारी वा सरकारी निकाय ताकेका छन् ।बसाईँसराईँको डरलाग्दो अवस्था यि ठाउँमा देखिन्छ ।
२/३ मे २०१६
२०७३ वैशाख २०/२१
३०चैत-११ वैशाखसम्म डिहीबाट फर्केपछि

Friday, April 1, 2016

जनगणना–कम्प्युटरको कथा

२०२८ सालको जनगणनालाई छिटो प्रकाशित गर्न कम्प्युटर भारतबाट भाडामा ल्याइएको थियो । यो लेख त्यही बेला -२०२८–२०३८_ को एउटा कम्प्युटरको अन्तर्कथामा केन्द्रित छ । २०११ र २०१८ सालमा लिइएको जनगणनाको नतिजा निकाल्न ५÷६ वर्ष लागेकाले त्यसले पञ्चवर्षिय योजनालाई प्रभावित पारेकोले भाडामा कम्प्युटर लिइएको थियो । २०२८ सालको जनगणनाको नतिजा कम्प्युटरको मद्दतले १ वर्ष, ८ महिना र १५ दिन भित्र निकालिएको थियो । राष्ट्रिय कम्प्युटर केन्द्रमा रहेको दोस्रो संस्करण पूरानो १४०१ सिस्टमको कम्प्युटर भारतको आइविएम कम्पनीसँग सालिन्दा १२ लाख रुपैँया भन्दा बढी भाडा तिरि लिइएको थियो ।२०३५ सालमा राष्ट्रिय कम्प्युटर केन्द्रले ३ लाखमा यो आइविएम १४०१ कम्प्युटर आफै किन्यो । यो कम्प्युटर अल्प क्षमताको हो भनि जानेपछि २०३८ सालको जनगणनामा आइसिएल नामको बेलायतबाट ल्याएको अर्को कम्प्युटरले यसलाई प्रतिस्थापन गरेको थियो । २०४६ सालमा लेखेको नेपालको व्यवहारिक कानुन तथा मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग भन्ने पुस्तकमा सुमित्रा राजभण्डारीले लेखेअनुसार २०३८ सालमा युएनएफपिए र युएनडिपीको संयुक्त सहयोगमा लगभग २ करोड ५० लाख पर्ने आईसिएल २९५०÷१० चौथो पुस्ताको कम्प्युटर नेपालमा प्रवेश गरेको थियो ।


रामशाहपथमा रहेको राष्ट्रिय कम्प्युटर केन्द्रको भवन स्रोतः नेपाल साप्ताहिक २०७१ चैत ८ । यो तस्बिर गुगलमा पनि पाइन्छ ।

कम्प्युटर भाडामा लिएपनि स्थायित्व दिने हिसाबले तत्कालीन सरकारले २०३१ सालमा कम्प्युटर सञ्चालनको लागि तथ्याङ्क विभाग अन्तर्गत विकास समिति ऐन अनुसार “यान्त्रिक सारिणीकरण केन्द्र” खोलेको थियो । किनभने यो कम्प्युटर कोठा जत्तिकै’ ठूलो थियो । २०३५ सालमा निकालेको स्मरण नामक कम्प्युटर विशेषांकमा विभिन्न लेखकले यसबारे आफ्ना स्मरण लेखेका छन् । जसमध्ये देवीप्रसाद चापागाईँ, नारायणप्रसाद नयन, भोलाप्रसाद रेग्मी, भूवनहरि शर्मा, हरिगोपाल श्रेष्ठ, अशोक कुमार श्रीवास्तव तथा रघुनाथ अधिकारी छन् । यो विशेषांकअनुसार कम्प्युटरलाई व्यवस्थापन गर्न केन्द्रिय तथ्यांक विभागको भूँइतल्लाबाट बसाईँ सरेर सिंहदरवार कम्पाउण्डमा पुगेको थियो । प्रथम चरणमा खर्च हुने गरी २०३५ सालमा ६० लाख खर्च गरेर सिंहदरवार भित्र १९ हजार वर्गफिटमा कम्प्युटर भवन सिलन्यास गरिएको थियो ।  तीर्थ बहादुर श्रेष्ठले सम्पादन गरेको नेपालमा विज्ञानको विकास पुस्तकमा राष्ट्रिय कम्प्युटर केन्द्रका तत्कालिन प्रवन्धक देवीप्रसाद चापागाईँले लेखे अनुसार यो मुख्य भवनको अतिरिक्त विद्युत आपुर्तीको लागि विद्युत भवन छुट्टै रहेको थियो । व्याट्री र जेनेरेटर सहित यो कम्प्युटरको लागि तीन तहको विद्युत प्रणाली थियो । कम्प्युटर संयन्त्रको तापक्रमको लागि दुइटा ३० टन र एउटा ४५ टन क्षमता भएको एयर कण्डिसनिङ्गले वातानुकुलनको व्यवस्था गरेको थियो । तीन तहको अग्नि सुरक्षा व्यवस्था गरिएको थियो । फोहोराबाट हालोन ग्यास छाडी आगो निभाउने, सुरक्षा गार्ड, अग्नीसूचक प्रणाली र नगरको बारुण यन्त्रसँग कम्प्युटर केन्द्रको सोझो टेलिफोन सम्बन्ध पनि थियो । त्यसै गरी चट्याङ्गबाट बचाउन लाइटेनिङ्ग रड र कम्प्युटर कक्षको पाँचै दिशामा फलामे जाली राखिएको थियो । यसको वरिपरी विरुवा रोपेर हरियाली पनि बनाइएको थियो ।

आइविएम कम्प्युटरको तस्बिर (स्रोत :गुगल- २ अप्रिल २०१६  )


देवीप्रसाद चापागाईँका अनुसार अनाधिकृत मानिस कक्षमा पस्न सक्दैनथे । परिचयपत्र ढोकाको दुलोबाट छिराएपछि जुत्ता फुकालेर भित्र जानुपर्ने हुन्थ्यो । कम्प्युटर सम्बन्धी गोष्ठी, कार्यशालाको लागि सभाकक्ष, सोहीबारेमा पुस्तक, पत्रिका र अन्य प्रकाशन गरी कम्प्युटर पुस्तकालय, कम्प्युटरको प्रयोगबारे जानकारी दिन समीक्षा कक्ष, कम्प्युटर हेर्नलाई अवलोकन कक्ष, कर्मचारीको सुविधाको लागि भोजनालय आदिको व्यवस्था थियो । कम्प्युटर संग्रहालय बनाउने लक्ष्य पनि यसको थियो । यसमा काम गर्ने सिस्टम विशेषज्ञ १२ जना, प्रोग्रामिङ्ग विशेषज्ञ १८ जना, अपरेशन विशेषज्ञ ६ जना, इञ्जिनियर ४ जना लगायत उच्च मध्यम र निम्न स्तरिय कर्मचारी रहेका थिए । ति मध्ये पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आफ्नो जागिरको सुरुवात यही कम्प्युटरको अपरेटरबाट गरेका थिए । यो केन्द्रमा बढिमा १५० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

त्यति बेला यस्तो यन्त्रले मानिसका समस्या समाधान गर्छ भन्ने आशा सम्बन्धित निकायका कर्मचारी वर्गमा हुने नै भयो, सर्वसाधरणलाई अत्तोपत्तो नभएपनि । अहिले कम्प्युटर सस्तो र तल्लो तहसम्म पुगेकाले पनि यी कथाहरु हामीलाई रमाइलो लाग्न सक्छन् । त्यो बेला कम्प्युटरले गल्ती गर्दैन, प्राणरहित मानव, चन्द्रमामा रकेट पुराउन सकेको यन्त्र, यसले थुप्रै समस्या एकैपटक एकैछिनमा समाधान गरिदिन्छ जस्तो तरिकाले गौरवीकरण गर्ने ऐतिहासिक चेत थियो । देश विदेशमा पनि विकासको रटान गर्ने समय भएकाले नयाँ प्रविधिको भव्य स्वागत भएको थियो । र यसले विकास प्रक्रियामा सहयोग गर्छ त भनिने नै भयो । कार्यालयमा कलमले काम गर्नेलाई जुम्से कलमवाजी’ भन्दै उनीहरु नै विकासको वाधा भएको सम्मको लाइनहरु त्यति बेलाका लेखनीमा पाइन्छ । यस्तो चर्चा गर्दा ‘झञ्झटबाट मुक्ति’को प्रसङ्ग छुट्ने कुरै भएन । त्यो बेला प्रविधिबारे लेख्नेले ‘जिन्दगीभर डेस्कमा गर्ने काम कम्प्युटरबाट मिनेटमै सम्पादन गर्न सक्ने क्षमता उपलब्ध हुन थाल्यो’ भन्दै मुक्तिको कथा पस्केका छन् । साथै कम्प्युटरले छिटो काम गर्ने भएकाले यसलाई राक्षसी मस्तिस्क’ भएको पनि भनिएको छ ।

प्रयोगको हिसावमा २०२८ सालको राष्ट्रिय जनगणनाबाहेक, धनकुटा हाटबजारको किनबेचको तथ्यांक प्रशोधनमा, नेपाल विद्युत प्राधिकरणको १ लाख ग्राहकको विलको काम, केन्द्रिय तथ्यांक विभागको कृषिवाली र पशुपालनसम्बन्धि राष्ट्रिय कृषि गणना, पोखरा नगर विकास सर्भेक्षणको काम, अमेरिकी दुताबासको डाइरेक्टरी बनाउने काम, नेपाल परिवार नियोजन संघको परिवार नियोजन सर्भेक्षण, विधवा सर्वेक्षण, अमेरिकी पिसकोरको मत्स्य सर्वेक्षण, आर्थिक विकास तथा प्रशासन केन्द्रको चुरोट उपभोग सर्वेक्षण, विश्व बैँकको पारिवारिक बजेट सर्वेक्षण, नेपाल दुरसंचार संस्थानको टेलिफोन डाइरेक्टरी, लोक सेवा आयोगको आवेदक तथ्यांक, निजामति किताबखानाको कर्मचारी विवरण, शिक्षा मन्त्रालयको प्रवेशिका परिक्षा, संचय कोषको संचयकोष विवरण राख्ने आदि काम राष्ट्रिय कम्प्युटर केन्द्रले १० वर्षको अवधिमा गरेको थियो ।

नेपाली धरामा भाडा तिरेर भित्रिएको यस प्रविधिलाई स्वागत र स्थायित्व दिन २०३२ सालमा ‘कम्प्युटर सेमिनार’ तथा सोही साल कम्प्युटर कार्यदल’ गठन गरी कम्प्युटर प्रयोग हुने संभावित क्षेत्रको अध्ययन र विश्लेषण गरी प्रतिवेदन तयार पारिएको थियो । यो केन्द्रले कम्प्युटरको सेवा लिने र दिने व्यक्ति तथा निकायलाई फाइदा होस् भन्ने हेतुले तालिम पनि दिन्थ्यो । २०३४ सालमा १९ जना जवानलाई डेढ महिने तालिम दिइएको थियो । त्यो बेला कम्प्युटर तालिम लिन भारत, थाइलैण्ड, अमेरिका र रुस पनि जाने चलन थियो । २०३१ पुस १५ मा कम्प्युटर केन्द्र खोलेपछि जनतालाई अत्तोपत्तो केही हुन्न कि अथवा कम्प्युटरको उपादेयता र राष्ट्रको विकासमा के भूमिका हुन्छ भन्ने उद्देश्यले केन्द्रबाट कम्प्युटर पत्रिका पनि प्रकाशन गर्न थालेको थियो ।

यस्तो अलौकिक रुपमा व्याख्या गरिरहेका बेला कम्प्युटरबारे लेख्ने केही लेखक जस्तै भूवनहरि शर्माले स्मरणमा आलोचनात्मक ढंगले लेखेका छन् । जस्तो सालिन्दा १२ लाख तिरिरहेको भाडाको रकमले अर्को नयाँ शक्तिशाली कम्प्युटर लिनको लागि प्रयाप्त हुने कुरामा केन्द्रले किन बुझ पचायो < उनको प्रश्न थियो । उनका अनुसार २०३५ सालतिर त्यस्ता कम्प्युटरलाई २० लाख रुपैँया पर्दथ्यो । उनले त्यति बेला कम्प्युटरले छिटो छरितो काम गर्ने र यसको आवश्यकता भएको बताएपनि यसबारे अतिप्रचार सोचबारे पनि आलोचना गरिएको छ । शर्मा लेख्छन्, “किन हो म भन्न सक्दिन मिल्दा नमिल्दा कच्चा तथ्यांकलाई बलजफ्ती कम्प्युटरसम्म पुराउन पाए सम्पूर्ण काम यसैबाट हुन्छ भन्ने हाम्रो धारणा छ ।” त्यति बेला जतिसुकै कार्यक्षमता भएपनि कम्प्युटर एउटा मेशिन हो, रेडियो, दुरसंचार, टेलिभिजन आदिजस्तै भनेर लेख्नसक्ने थोरैमा शर्मा थिए । “कम्प्युटरलाई सर्वथा मान्छेकै सहयोग र रेखदेख चाहिन्छ । गल्ती तथ्यांकलाई कम्प्युटरले शुद्धिकरण गरिदिन्छ भन्ने चाहिँ हाम्रो भ्रम मात्र हो” कम्प्युटर आएपछिको सन्दर्भमा उनले लेखेका छन् । त्यति बेला यो प्रविधिको आगमनले विकसित मुलुकले गरेको प्रगति देखेर हकालिएको, आफ्नो बाटोलाई पक्की गर्नुभन्दा अरुको बाटोलाई अनुशरण गर्न खोजेको देखिन्छ । 

मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग

सुमित्रा राजभण्डारीले २०४६ सालमा नेपालको व्यवहारिक कानुन तथा मालपोत प्रशासनमा कम्प्युटरको प्रयोग भन्ने पुस्तक छपाएकी छन् । पुस्तकको शीर्षक अनुसार कम्प्युटरको प्रयोगको कथा  २९० पृष्ठ लामो पुस्तकमा आधा हुनुपर्ने हो तर यसमा नेपालमा कम्प्युटरको प्रवेश र मालपोत प्रशासनमा कम्प्युटरको प्रवेश ।०४२ सालमा तत्कालिन श्री ५ को सरकारले जग्गा स्रेस्तालाई  प्रभावकारी र राजस्व तथा मालपोत असुलीमा शुद्धता ल्याउन २०४३ सालमा राष्ट्रिय कम्प्युटर केन्द्रसँग सम्झौता गरेको थियो  सुरुका वर्षमा प्राविधिक कठिनाइले भनेजस्तो काम गर्न नसकेपनि २०४६ सालतिर भने त्यसको प्रभावकारिता रहेको बताइएको छ ।

काठमाडौँको मालपोतमा काम गर्नको लागि त्यति बेला सुविधायुक्त कोठा तयार पारी  मेसिनटोस एसई वीथ २० एमवि एचयु र मेसिनटोस ५१२ को २ ओटा कम्प्युटर र २ ओटा प्रिन्टर राखी दैनिक सञ्चालन गरिएको थियो । २ सय ओटा डिस्केटमा डाटाहरु संकलन गरिएको छ । जसमा काठमाडौँका १३ ओटा गाउँ पञ्चायतको डाटा राखिएको जनाइएको छ । त्यसबाहेक कर्मचारीको तलबी फाराम पे रोल दशैँ खर्च तथा उनीहरुको संचयकोष कम्प्युटरबाट तयार पारिने व्यवस्था रहेको कुरा राजभण्डारीले लेखेकी छन् ।

२०४० देखि २०४६ कार्तिकसम्म नेपालका शिक्षा राजस्व स्वास्थ्य कृषि बन रक्षा प्रहरी वैङ्किङ्ग आदि क्षेत्रमा ५० भन्दा बढी मोडलका २ हजार कम्प्युटर भित्रिएको अनुमान २०४६ सालमा सुमित्रा राजभण्डारीले आफ्नो पुस्तकमा गरेकी छन् ।


अन्तमा
जसरी २०२८ र २०३८ सालको एक दशकमा कम्प्युटरलाई देवत्वकरण गरियो । त्यो बेला त्यस्तै थियो पनि । तर अहिले पनि त्यसै गरी इन्टरनेटको पहुँच भयो भने हाम्रा समस्या तुरुन्तै समाधान हुन्छन झैँ गरी व्याख्या गरिँदैछ । मानौ इन्टरनेट आइसकेपछि हाम्रा समस्या नै हुँदैनन् । हरेक निकायमा यसले काम गर्छ । तर त्यसो नभएर यो त एउटा माध्यममात्र थियो । इन्टरनेट पनि त्यस्तै माध्यम मात्र हो । यसले हाम्रा काम व्यवस्थापन गर्न सघाएपनि समाधान गर्ने अचुक विधि थिएन र होइन ।






यो लेख २०७३ जेठ ८ गते २१ मे २०१६ सनिवार नागरिक दैनिकको ८ पृष्ठमा पनि छापिएको थियो । यसलाई नागरिकन्युज डटकममा पनि गएर पढ्न सकिन्छ ।

२५ मार्च २०१६
प्रविधि र समाज सृंखला

Thursday, February 11, 2016

मितेरी गाउँको कथा



कास्की जिल्लाको ताङतिङ पुग्दा, यसले बेलायती गाउँसँग ‘मितेरी साइनो’ गाँसेको थाहा पाएँ । गाउँ मात्र होइन त्यहाँको स्कूलले पनि मितेरी साइनो गाँसेको थियो । नेपालको दुर्गम हिमाली गाउँ ताङतिङले बेलायतको सुगम ठाउँ देवदेन र वीमविशसँग कसरी मितेरी साइनो गाँस्यो ? यो उत्सुकताले म घेरिएँ । बेलायतमा उस्तै आर्थिक सम्बन्ध भएका गाउँबीचमा ‘जुम्ला’ (ट्वीन) सम्बन्ध गाँसिन्छ । तर हाम्रो समाजमा रहेको ‘मितेरी साइनो’ अलि फरक छ । पहिला गाउँबाट टाढा गएर बास बस्दा ‘आउँदाजाँदा काम लाग्ने’ भन्दै मितेरी साइनो पनि गाँसिन्थ्यो । गाउँमै पनि सम्बन्धको दायरा बढाउन मित लाइन्छ ।

हिउँदताका ताङ्गतिङ्गको बेसीबाट देखिने हिमाली दृष्य

पर्यटकीय कास्की जिल्लामा पर्ने ताङतिङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को दक्षिणमा पर्ने हिमाली गाउँ हो । यहाँ पुग्दा “तालुमाथि ठाउँ छैन ताङतिङमाथि गाउँ छैन” भन्ने उखान सुनिन्थ्यो । हुन त उपल्लो भेगका धेरै हिमाली गाउँलाई यसै भन्ने गरिन्छ । पोखराबाट २७ किमी उत्तरपूर्वमा पर्ने ताङतिङ  अप्ठ्यारो भू संरचनामा पर्छ । यस्तो भूगोल भएपनि पहिलेदेखि नै ताङतिङको सम्बन्धका ऐतिहासिक पाटा छन् । गोर्खा सैनिक उमार्ने थलो भएकाले बाँकी विश्वसँग यसको पूरानो सम्बन्ध छ ।

पश्चिमी मोहडामा फर्किएको ताङ्गतिङ्ग गाउँ


पहिलो महायुद्ध देखि नै ताङतिङका मानिसहरु “गोठालो देखि गुर्खाज” बने । गाउँ नै खाली हुने गरी युवालाई भर्ती गर्न भारतबाट गल्लावाल आउँथे । यो दुःखको इतिहाससँगै ताङतिङको सम्बन्धको दायरा देशविदेशमा बढ्दै गयो । वि.सं. २०००को दशकदेखि यहाँका वासिन्दाले पोखरा, बेलायत, हङकङ, काठमाडौँ आदि ठाउँमा बसाइसराइ गरे । स्थानियका अनुसार हाल पोखरामा कम्तिमा १४५, काठमाडौँमा ११ र बेलायतमा ४० परिवार घर बनाइ बसेका छन् । विदेश बसेका र त्यहाँबाट गाउँ फर्केकाको हाउभाउ देखेका गाउँलेहरुले “जीवन पूर्ण हुन एकपटक विदेश जानुपर्छ” भन्ने मान्यता बनाएका पनि छन् । ‘एकदिन विदेश नगई मर्नु हुँदैन’ भन्ने ‘विदेश सपना’ गाउँमा जवर्जस्त छ ।

ताङ्गतिङ्गसँग मितेरी साइनो गाँसेपछि वीम्विसको सडकमा टाँसिएको बोर्ड (तस्बिर टिटिए)

यसरी गाउँ छोडेका ताङतिङेले सम्बन्धित ठाउँमा सम्पर्क समाज बनाइ बसेका छन् । पोखरामा बसाई सरेका ताङतिङ पूख्र्याैली हुनेले २०४२ सालमा ‘दुधपोखरी तमु समाज’को स्थापना गरे । बेलायतमा ताङतिङबाट आएका व्यक्तिले ‘ताङतिङ समाज युके’ गठन गरेका छन् । फेसबुक जस्ता नयाँ मिडियाले यो क्रमलाई अझ तीब्र पारेको छ । यसै क्रममा बेलायतमा रहेका पूर्व गोर्खा आर्मीको संयोजनमा उनीहरु बसोबास गरिरहेका उत्तरी बेलायतमा पर्ने देबदेन, देबदेन ग्रीन र वीमविश गाउँलाई ताङतिङसँग मितेरी साइनो गाँसिदिएका छन् ।

२०६७ सालमा बेलायतको गोर्खा सैनिक बस्ने ठाउँ कार्भर ब्यारेकको हवाइमैदानमा “गोर्खा सैनिकले ब्याण्डबाजा बजाए, बेलायती गाउँ देवदेन र वीमविशका स्कुले विद्यार्थीले नाचगान गरे । ताङतिङ र यसको वरिपरीको गाउँबाट बेलायत गएका नेपालीले सोरठी नाच नाचे” म्याट कासेले ताङतिङ डट ओआरजीको वेबपेजमा लेखेका छन् । यो अवसरमा बेलायत स्थित नेपाली राजदुतको उपस्थितिमा ‘जुम्ला’ सम्बन्ध गाँसियो । बेलायती गाउँहरु र ताङतिङ बीच सम्बन्ध गाँसिएको सन्दर्भबारे यसका संस्थापक गौबहादुर तमु स्थानीय पत्रिकाको स्मारिकामा लेख्छन् : “देवदेन र वीम्बीशमा भर्खर निर्वाचित भएकी डिष्ट्रिक काउन्सिलर टिना नाइट त्यहाँ बसोबास गर्ने पूर्व गोर्खा सैनिकलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सल्लाह गर्न आएकी थिइन् । त्यही बेला मैले ताङतिङका  मानिसको कष्टकर जीवनबारे बताएँ ।” धेरै भेटघाट पछि टिनाले ‘जुम्ला’ सम्बन्ध राखेर सहयोग गर्ने प्रस्ताव गरिन् । यूरोपमा उस्तै आर्थिक हैसियत भएका गाउँहरुबीच ‘जुम्ला’ सम्बन्ध गाँसेपनि असमान आर्थिक हैसियतले गर्दा ताङतिङेहरुलाई असजिलो महसुस भएको थियो । तैपनि टिनाले ‘म गाउँले सबैलाई मनाउँछु’ भन्दै देवदेन र वीमबीश गाउँमा यो प्रस्तावको सर्भे गराइन र यो प्रस्तावलाई धेरैले मन पराए । र मित लाइयो ।
मितेरी गाउँको सहयोगमा खोलिएको शिशु स्याहारमा रहेका बालबालिका

मितेरी गाउँको सहयोगमा२०६७ सालमा ताङतिङमाशिशु स्याहार केन्द्र खोलियो । दिउँसोमा बच्चाहरुलाई केन्द्रमा छोडेर आमाबाबु काम गर्न सजिलो होस् भनेर। मितेरी साइनो गाँस्नु अघि गाउँमा आएका पर्यटकलाई राख्ने होटेलहरु थिएनन् । २०६८ सालमा ताङतिङ मितेरी संगठनका संस्थापक लक्ष्यबहादुर गुरुङसँग आएका कर्नेल क्रोम्बीलेआफ्नो स्वर्गीय श्रीमती सुजीको नाउँमा ‘पर्यटक होस्टेल’को लागि २ ओटा स्थानीय घर किनेका थिए । जसलाई ताङतिङमा ‘सुजी घर’ भनेर चिनिन्छ । ताङतिङका वृद्ध तथा गरिवलाई सहयोग गर्न कल्याणकारी कोषको स्थापना गर्ने, आफ्नो ठाउँका नागरिकलाई पर्यटकको रुपमा ताङतिङमा पठाउने, दलित विद्यार्थीको लागि स्कूल तथा कलेजको शुल्क तिरिदिने, गाउँमा रहेको लघु जलविद्युत मर्मतको लागि मितेरी गाउँले सहयोग गरेको छ । यसैक्रममा ताङतिङतर्फको संयोजक रहेका हिमालयन मिलन माविका शिक्षक प्रकाश गुरुङले स्कूल शिक्षाको सुधारविस्तारको लागि बेलायत भ्रमण गरेका थिए ।
स्थानीय उनबाट तयार पारेको कम्बल प्रशोधन गर्दै । यो पोखरा, काठमाडौँ तथा यूरोप अमेरिकामा विक्री हुन्छ

ताङतिङलाई विश्वसँग जोड्न बेलायतको ‘द पहर ट्रष्ट’को योगदान छ । पहर ट्रष्ट पूर्व बेलायती सेनाका ब्रिटिस तथा गोर्खा सेनाले मिलेर खोलेको आइएनजिओ हो । यसले नेपालका उच्च पहाडी र हिमाली क्षेत्रका विद्यालयलाई भौतिक सहयोग र बेलायतका स्कूलसँग साइनो गाँसिदिने काम गर्छ । यसलाई ताङतिङबासीले ‘गड फादर’ भन्छन् । अहिले पनि पहर ट्रस्टको अनुरोधमा प्रतेक वर्ष १५ जना भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति दिइरहेको छ । यहाँको हिमालय मिलन माविसँग बेलायत र आयरल्याण्डवीचको भूभाग ‘आयल्स  अफ म्यान’को ‘सेन्ट थोमस स्कूल आयल्स अफ’ले मितेरी साइनो गाँसेको छ । त्यसैगरीे बेलायतको मेड स्कुल अफ गलसँग पनि मितेरी साइनो गाँसेको छ । प्रधानाध्यापक प्रकाश गुरुङका अनुसार यो स्कूल अहिले सबैभन्दा ठूलो सहयोगी हात हो ।
बेलायती संस्था पहर ट्रष्टको सहयोगमा निर्माण गरिएको स्कूल भवन
‘द पहर ट्रष्ट’ले २३ हजार ३२० अमेरिकी डलरको सहयोगमा स्कूलको कंक्रिट भवन बनाइदिएपछि निम्न माध्यमिक तहबाट माध्यमिक तहमा उक्लेको थियो । स्कूलका प्रधानाध्यापक प्रकाश गुरुङले पोखराबाट प्रकाशित तमुहरुको एक स्मारिकामा लेखे अनुसार ‘आयल्स अफ म्यान’का जोन रेलीले स्कुलमा १२ हजार ९०२ अमेरिकी डलर सहयोगमा छात्रावास भवन बनाइदिए । पहर ट्रष्ट मार्फत बेलायतको मेडस्टोन ग्रामर स्कूलले विद्यालयमा पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला लगायत सहयोग गरेका छन् । हाल स्कूलको छात्रावासमा गाउँकै ढिँडोफाँडो खाइ विद्यार्थीहरुले एसएलसी दिइरहेका छन् । हरेक वर्ष यहाँका झण्डै शतप्रतिशत विद्यार्थी पास हुन्छन् । सहायक प्रधानाध्यापक दिलिप गुरुङका अनुसार कतिपय अभिभावकले पोखराको बोर्डिङ छाडेरपुख्र्यौली गाउँको स्कूलमाएसएलसीसम्म छोराछोरी पढाइरहेका छन् ।

गाउँको उत्तरी दिशामा रहेको छ्योर्ते

ताङतिङमा गरिने यस्ता कल्याणकारी कामको लागि बेलायतको ‘मितेरी’ गाउँमा विभिन्न किसिमका सहयोग संकलनका कार्यक्रम गरिन्छ । मितेरी गाउँका म्यानफ्रेड स्टेगरका अनुसार त्यहाँ ‘गार्डेन पार्टी’, ‘टी पार्टी’ ‘फोटो प्रतियोगिता’ आदि गरिन्छ । आयोजित यस्ता कार्यक्रममा नेपालमा उत्पादन गरिएका घरेलु वस्तु विक्री गरिन्छ । यी कार्यक्रमको प्रचारप्रसारको लागि वेबपेज पनि खोलिएको छ । वेबवेजमा दानपेटिका पनि छ । एकपटक मात्र दान गर्ने कि महिनामा नियमित सहयोग गर्ने जस्ता सुविधा रहेको छ । विशेष सहयोगको लागि बेलाबेलामा वेबपेजबाटै अपिल गरिन्छ ।


पाहुनालाई घरभित्र स्वागत गर्दै ताङ्गतिङ्गका स्थानिय

यसरी मितेरी साइनो सामाजिक र आर्थिक पूँजी बनेको छ । असमान आर्थिक हैसियत भएका सँस्थाहरुवीचमा ‘सहयोग सँस्कृति’ भित्र्याएको देखिन्छ । हिमाली गाउँहरुमा गोर्खा लाहुरे र पर्यटनको लामो इतिहास भएकाले पनि बाँकी विश्वसँगको सम्बन्ध बलियो भएको हो । र इन्टरनेट वा फेसबुक जस्ता नयाँ मिडियाले भू–ऐतिहासिक (पर्यटन र गोर्खा)सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गरेका छन् ।
१२ पुस, २०७२, शब्द ९८०

Tuesday, November 24, 2015

जेस्तापुरको 'नालुँ लकाँ'




त्यसबखतको नेपाल पुस्तकमा भीमबहादुर पाँडेले त्यसबखत काठमाडौँका प्रशासकहरु नालाको जुत्ता (नालुँ लकाँ) लगाउँथे भनेर लेखेका छन् । यी जुत्ता जेस्तापुर (हरिसिद्धिको पुरानो नाउँ), सानो गाउँ तथा लुभुतिरबाट आउने तथ्य पाँडेले पुस्तकमा लेखेका छन् । के हो यो नालाको जुत्ता ?
नालाको जुत्ताबारे जान्न काठमाडौँको दक्षिणी भेगमा जाने उत्सुकता थियो । कहाँ जाने निश्चित नभएपनि एक सनिवार विहानै माथिका तीन ठाउँमध्ये कुनै एकमा जाने भनेरै हिँडे । लुभु धेरैपटक गएको, सानो गाउँको बाटो थाहा नभएकोले सातदोबाटोबाट हरिसिद्धितिर गएँ ।

त्यहाँ पुग्दा भूकम्पले तहसनहस पारेको घरहरुलाई आआफ्नै ढंगले मर्मत गरिरहेको देखिन्थ्यो । मन्दिर नजिकैको सत्तलमा बसिरहेका ३ जना पाका मानिसहरु नजिकै पुगेर सोधेँ । "तपाईलाई नालाको जुत्ताबारे केही थाहा छ ?"दुईजनाले मेरो कुरामा चासो दिए । उनीहरुले नालाको सट्टा 'नालुँ' शब्द उच्चारण गरिरहेका थिए ।

नालुँ एककिसिमको रेशादार वनस्पति रहेछ । वीउको जोहो गरेर मानिसहरुले बारीमा लगाउने रहेछन् । हुर्कीसकेपछि यसलाई गृष्मयामतिर काटिँदोरहेछ । काँडादार नालुँलाई पानीमा वा हिलेपानीमा गाडेर पकाइँदोरहेछ । अर्घाखाँचीतिर फोस्रो, फलेतो जस्ता बोटका हाँगालाई चोयाले एकमुस्ठ बाँधी पानीमा गाडिन्छ । त्यस माथि बाँसको सिठाले च्यापी, सिठालाई ढुंगाले थिचिन्छ । १०/१२ दिनपछि यसलाई पकाएर वा कुहाएर त्यसबाट रेशा निकालिन्छ । केतुकीको पातलाई त ठटाएर रेसा निकालिन्छ । त्यसैबाट दाम्लो नाम्लो आदि बनाइन्थ्यो । मेरो विचारमा यस्तै प्रकारले नालुँलाई १०/१२ दिन हिलोमा गाडेर पकाएपछि त्यसको भित्री भागबाट बोक्रो लोक्त्याइन्छ । त्यसपछि लुगा धोएजस्तो पिटानीले पिट्दै, ढुँगामा लछार्दै पछार्दैसफा गरेर सुकाइन्छ । सुकेको नालुँको रेशालाई बटारेर मसिनो डोरी बनाइन्छ । यही डोरीबाट नालुँको जुत्ता बन्छ ।
विक्रीको लागि राखिएको सुँ लकाँ

हरिसिद्धिको उत्तर दक्षिणतिर ४ ओटा गेटहरु छन् । ती गेटहरुभित्र छालाको जुत्ता परम्परादेखि बर्जित थियो । मसँग कुरा गरिरहेका राजेन्द्र र यज्ञराम महर्जनका अनुसार यो चौगेटभित्र भगवतीको मन्दिर छ । र यहाँ लाग्ने जात्रामा हात्ती हिँडाइन्छ । हात्तीले छालाको जुत्ता लगाएको विश्वास स्थानीय मानिसमा भएकाले'भगवानले लगाउने जुत्ता हामीले लगाउनु हुँदैन' भन्ने विश्वासले यहाँ छालाको जुत्ता परम्परागत रुपमा लगाइँदैन । तर हिजोआज छालाको जुत्ता नभइ नहुने हुँदा स्थानीयले यो मान्यता पालना गर्न सकेका छैनन् ।

राजेन्द्र र यज्ञरामका अनुसार नालुँ र सुँ(पराल)को लकाँ (जुत्ता)ले सामाजिक स्तरीकरणको देखाउँथ्यो । नालुँको रसी मसिनो गरी बाट्न सकिने, बलियो हुनाले यसबाट बनेका जुत्ता राम्रा पनि हुन्थे । गाउँमा नालुँको जुत्ता अलि ठूलाबडाले मात्र लगाउँथे । त्यति बेला सर्वसाधरण खाली खुट्टा हिँड्थे वा परालको जुत्ता बनाएर लगाउँथे । अहिले त्यहाँ नालुँको जुत्ता बनाइँदैन । नालुँको खेति नै गरिँदैन । बरु गाउँभर परालको जुत्ता बनाइन्छ । 

जुत्ता बनाउनको निम्ति खेतबाट पराल ल्याउँदै

हरिसिद्धिको गाउँमा घुम्दै गर्दा घर अगाडी पराल सुकाएको यत्रतत्र भेटिन्थ्यो । एकजना बजैलाई "तपाइले कहिल्यै नालुँको जुत्ता लगाउनुभयो ?" भनि मैले सोधेँ । नेपाली भाषा बुझे पनि फर्काउन अप्ठ्यारो मान्दै उनले नालुँको जुत्ता नबनाएको र नलाएको बताइन् । उनले परालको जुत्ता बनाउने र बेच्ने घरतिर लगिन् । "उहाँलाई परालको जुत्ता चाहिएको छ रे" भन्दै अर्की बजै सामु मलाई हस्तान्तरण गरेर फर्किन् । दोस्री बजैले आफ्नो घरको उपल्लो तलामा डोराउँदै लगिन् । त्यहाँ कम्तिमा १५ जोर जुत्ता सिँढिको रेलिङ्गमा झुण्डाएको देखाइन् ।"कतिजोर लैजाने ?" भन्दै एकजोर जुत्ताको ६५ रुपैँया पर्ने बताइन् ।

त्यसपछि दक्षिणी भेगकोपिपलको रुखमुनी सुकुल ओछ्याएर गफ गरिरहेका २ जना पाका मानिस भएनिर गएँ । ३ ओटा जङ्कु(नेवारी समुदायमा ७७ वर्षको हुँदा पहिलो जङ्कु गरिन्छ, दोस्रो ८३ र तेस्रो ८८ वर्षमा गरिन्छ)गरेकी आमासँग बसेर मैले नालुँको जुत्ताबारे गफ गरेँ । ८८ वर्ष पार गरेकी हिलठकुँ महर्जनले नालुँको बोट 'नर्कट' जस्तै हुने बताइन् । मैले 'नर्कट' कस्तो हुन्छ बुझिन । "के यो मकैको डाँठ जस्तै हुन्छ ?" अगाडि बारीमा रहेका मकै देखाउँदै सोधेँ । उनले चित्त नबुझे पनि "अँ अँ" भनिन् । 
नालुँको जुत्ता यसरी बुनिन्थ्यो भनेर देखाउँदै हिलठकुँ महर्जन


नालुँ भन्दा पनि बनकेराको रेशाबाट बनाएको जुत्ता(बाकुँ लकाँ ?) पनि बलियो हुन्थ्यो । बनकेराबाट बनाउने जुत्ताको प्रक्रिया पनि नालुँ जुत्ता जस्तै हो ।नालुँ र बनकेराको रेसाबाट जुत्ता बाहेक डोरी बनाउने र यस्तो खालको डोरी बलियो हुनाले दाउरा बान्न, खेतबारीमा परालबान्नको निम्ति प्रयोग गरिन्थ्यो ।

राणाकालमा उनीहरुको निम्ति नुनतेल, जिरा, मरिच लिन जाँदा वा राणा साहेवज्यूलाई काठले बनेको डोलीमा बोकेर भीमफेँदीतिर लैजान हरिसिद्धिका जवानहरु पनि जानुपर्थ्यो । त्यति बेला उनीहरुले ३ जोरसम्म परालको जुत्ता बोकेर जानुपर्थ्यो । यी तीनजोर जुत्ता भीमफेँदी गएर आउँदासम्म फाट्थे ।
जुत्ताबाहेक हरिसिद्धिमा चट्टी (चप्पल) पनि बनाइन्थ्यो । तीनतीर खोपिएका परालका चट्टी बनाइन्थ्यो । सकन्द महर्जनले हास्दै भने,"अहिले चप्पल बनाउने बजारु कम्पनीले हरिसिद्धिका चट्टीको नक्कल गरेका हुन् भन्ने गाउँघरमा कहावत छ ।"

नालुँको उत्पादन गाउँमा अहिले नभएपनि केही परिवारलाई ठमेल, पाटनतिर पर्यटन व्यावसाय गरी बसेका मानिसले नालुँको रेसा ल्याइदिएर जुत्ता बनाउन लगाउँछन् । यसबापत प्रतिजोरको ३०० रुपैँया ज्याला दिन्छन् । सकन्द महर्जनको श्रीमतीले ठमेलका एक व्यावसायीको लागि गतसाल (२०७०) यस्तो काम गरेकी थिइन् । यसरी जेस्तापुरका महिलाले बुनेका नालुँ लकाँठमेलतिर बाहेक पाटनको माफाल चोकमा पनि किन्न पाइन्छ ।

सँगैबसेर कुरा गरिरहेका ६० वर्षिय चन्द्र महर्जनले अनुमान गर्दै भने "अहिले हरिसिद्धिमा दिनको २०० जोर परालको जुत्ता(सुँ लकाँ) बुनिन्छ होला ।" यसरी तयार पारेका जुत्ता हरिसिद्धिको छिमेकी 'सानो गाउँ'का व्यापारीले खरिद गरेर काठमाडौँमा विक्री गर्छन् । "यी जुत्ताको भाउ नै छैन" सकन्दले भने । कहिले कति रुपैँयाविक्री हुन्छ कहिले कतिमा ! भूकम्प जानु अघि ५० रुपैँया जोर विक्री हुने जुत्ता पछि ६० देखि ७० रुपैँयासम्म पर्ने उनले बताए । भुकम्पले तहस नहस पारेको हरिसिद्धिमा मानिसहरु जुत्ता बनाउने फुर्सदमा नभएकाले पनि महँगो पर्न गएको हो । हरिसिद्धिको छिमेकी सानो गाउँका मानिसहरुले एकपटकमा ३ देखि ४ सय जोर जुत्ता धोक्रामा राखेर विक्रीको लागि लैजान्छन् । उनीहरुले १२० रुपैँया देखि १५० रुपैँयासम्म बजारमा बेच्ने गरेका छन् ।

पशुपति लगायतका घाटहरुमा वा सुत्केरी महिलाले वा ढलान घरमा यसको प्रयोग गर्ने भएकाले गाउँमा जत्ति जुत्ता बुनेपनि खपत हुन्छन् । खास गरी जाडो याममा । सकन्दले भने "वातको रोग भएका विरामीहरुलाई पनि राम्रो हुनेहुँदा यसको बजार राम्रो छ ।" यस्तो खालको जुत्ता बनाउने काममाप्राय: पाका मानिस लागेका छन् । एक जनाले दिनमा २ जोरसम्म परालको जुत्ता बुन्न सक्छन् ।नालुँ, बनकेरा,परालको जुत्ता बनाउने हरिसिद्धिका मानिसहरुले हिजोआज बजारमा आउने प्लास्टिकको रसीबाट पनि जुत्ता बनाउँछन् ।

जुत्ता बुन्ने काम फुर्सदको समयमा मात्र हुन्छ ।हिँडेर ३० मिनेट लाग्ने छिमेकी सानो गाउँका महिलाले आफ्नो फुर्सदमा जुत्ता बुन्दैनन् सुकुल बुन्छन् । अर्को छिमेकी गाउँ लुभुमा तान बुन्ने काम धेरै हुन्छ । यसरी यी गाउँहरुमा फुर्सदको समयमा हुने कामको विशिष्टिकरण छ । एकअर्काको सहमतिमा गाउँहरुको काम विभाजन गरेका छन् ।

नालुँ लकाँ गाउँका हुनेखानेले मात्र लाउने चलनले यो तत्कालिन राज्यका ठूलाबडासँग जोडिएको बुझ्न सकिन्छ । राणाशासनको अन्ततिर काठमाडौँ तथा पाटनका सरकारी कर्मचारीले नालुँको जुत्ताको माग गरेकाले त्यो समयमा यसको बढ्दो प्रयोग भएको बुझ्न सकिन्छ ।सर्वसाधरण त परालको जुत्ता नै प्रयोग गर्थे । अहिले परालको जुत्ताको प्रयोग पनि पशुपति लगायतका ठाउँमा र नालुको जुत्ता पर्यटकको लागि प्रयोग भइरहेको छ ।
४ नोभेम्बर २०१५
यो लेख २०७२ असोज १९ गते सनिवारको कान्तिपुर कोसेली वा http://kantipur.ekantipur.com/printedition/news/2015-12-05/20151205093412.html# मा पढ्न सकिन्छ ।