Saturday, September 12, 2015

छाता-सुरक्षित र गतिशिल यात्रा

पानी परिरहेको थियो । मलाई छाताबारे अवलोकन गर्नु थियो । २०७१ भदाै २५ गते थापाथली देखि न्यूरोड र वानेश्वर पैदल हिँड्दै गएँ । मसँग क्यामरा त थिएन मोबाइलको फोटा खिच्ने क्षमता कमजोर भैरहेको थियो । तैपनि केही फोटोहरु खिच्दै हिँडिरहेँ । त्यति बेला छाता भनेको के हो मैले परिचय बनाउँदै गएँ । के घर छाता हो ?  के गाडि छाता हो ? के विसौनी छाता हो ?  के रुखको छहारी छाता हो ? के हो त छाता ? मनमा विभिन्न तर्कनाहरु खेलिरहे । बाँकी फोटोग्राफ र क्याप्सनमा :

महिलाहरुसँग छाता किन हुन्छ ? मेरो सामान्य विचारमा उनीहरुसँग बच्चा पनि साथमै हुन्छन् । 

छाता पैदल यात्रुहरुले प्रयोग गर्ने चिज हो । किनकी गाडी आफै छाता हो ।

छाता मध्यमवर्गीय चाहना पनि हो  ।

छाता व्यावसाय गर्नेको लागि रिसेप्सन पनि हो ।

 र व्यापारिक कम्पनीको लागि विज्ञापन पनि हो ।

परिवारमा त्यहि आमाले छाता बोकेर हिँडेकी हुन्छिन् । बाबु वा पुरुष चाहिँ  नबोकी हुन्छन् ।

त्यसकारण उनले विना छाता हिँड्ने रिस्क पनि लिएको हुन्छन् ।

बाटोमा ससाना खुद्रा पसल थापेर बस्नेको लागि छाता आवश्यकता भएको छ । यहाँ छातालाई जोगाउन पानीकागज प्रयोग गरिएको छ । त्यसकारण निम्न मध्यमवर्गको लागि अप्रत्यक्ष रुपमा जीविकाको स्रोत बनेको छ छाता ।

पानी परेको बेला मान्छे गन्तव्यतिर जान हतारिन्छन् । त्यसैले व्यापार मन्द छ ।

 मुलत: (मैले यहाँ मुलत: शब्द प्रयोग गरेको छु) छाता हुनेहरु गतिशिल छन् । नहुनेहरु स्थिर छन् ।

 

गाडि पनि गतिशिल छाता हो ।


रुखको छहारी, छाता र पानीकागज : यी अपाङ्गता भएका व्यावसायीले प्लास्टिक भित्रबाट समान झिकेर बेच्दैछन् । मोबाइलमा कुरा गर्न चाहेको जस्तो देखिने महिला रुखमुनीको छहारीमा उभिएकी हुन् । ग्राहकजस्ता देखिने व्यक्तिले प्लास्टिक भित्र समान त जोगाएका छन् । तर आफू जोगिने जरुरत ठानेका छैनन् ।

महिलाहरुसँग छाता हुन्छ । पुरुषहरु रिस्क लिएर हिँडेको देखिन्छ ।

त्रिपाल पनि छाता हो । छाताको अर्थ जोगाउनु पनि हुन्छ । महाभूकम्प-२०७२ मा पनि मानिसको पहिलो रोजाइ त्रिपाल थियो । व्यापक रुपमा सोच्ने हो भने घर स्थिर जस्तो देखिए पनि गतिशिल छाता नै हो ।

छाता मध्यमवर्गीय चाहना हो । विभिन्न रुपरंगका छाताहरु बजारमा छन् । 

घरनहुनेहरु, छाता नहुनेहरु, यसरी नै कुक्रुक्क परेर हिँडिरहनुपर्छ ।

छाताले  हाम्रो विजनेशलाई जोगाउँदैन । धेरै पानी परे घरतिर ओतिने हो, अलि विदो भए लामो लामो पाइलामा बाटोको छेउ लागेर कुँद्ने हो ।

काठमाडौँजस्तो साँगुरोबाटो भएको ठाउँमा छाताहरु ठोकिन्छन् । त्यसैले मान्छेहरु कतै छाता अग्लो बनाउँदै हिँड्नुपर्छ ।  

किन केटाहरु छाता बोक्दैनन् ?

के छाता स्वतन्त्रता होइन ? 


छाता नबोक्ने पुरुषहरुको लागि हो कि त्यो छाता ?

छाता रुमाल पनि हो । टाउको छोपिएपछि ज्वरो आउँदैन, भन्ने सामाजिक मान्यता पनि छ ।


पानी विदो भएपछि साँगुरो काठमाडौँमा छाता के ओढ्नु ।

काम गर्दा छाता होइन रेनकोट चाहिन्छ । गाउँघरमा मेलापात जाँदा, रोपाई गर्दा महिलाहरुले पानीकागज प्रयोग गर्छन् । त्यसकारण छाता सुन्दरताको प्रयोग पनि हो ।

अन्त्यमा
मेरो निष्कर्ष केही छैन । मलाई तीन ओटा पक्ष भन्नुछ । पहिलो मलाई छाता भन्ने शव्दले दुइओटा पर्यावाचीको काम गरेजस्तो लाग्यो । १. जोगाउनु, २. गतिशिलता   र लै‌गिक कोणबाट छाताको परिभाषा। माथि मानिसहरु आफू, आफ्नो परिवार, आफ्नो सरसमान, आफ्नो झोला जोगाउन छाता रेनकोट प्लास्टिक प्रयोग गरेको देखिन्छ । त्यसैले जोगाउन र जोगिन प्रयोग भएका सबै चिजबिजहरु छाता हुन् । चाहे त्यो छाता संघ वा संगठन होस् ।

दोस्रो निर्गति भएको चिज केहि पनि हुँदैन । सबै गतिशिल हुन्छन् । स्थिर देखिएका चिज पनि गतिशिल नै हुन्छन् । हाम्रो चक्षुले त्यसलाई नदेखेको हुनसक्छ । तर हाम्रो आँखाले देख्ने छाता, रेनकोट, प्लास्टिकले गतिशिलताको निम्ति प्रयोग भएको देखाउँछ । पानी परेको विहान पत्रिका बाँड्नेले पनि रेनकोट ओढेर र प्लास्टिक ओढाएर आफु र आफ्ना पत्रिका जोगाउँदै हिँडेको हुन्छ । नहिँडे उसको काम हुँदैन ।

तेस्रो लैँगिक कोणबाट पनि छातालाई परिभाषित गर्नुपर्ने हुन्छ । महिलाहरु आफ्ना परिवारको सुरक्षाको निम्ति बढि चिन्ता लिएको देख्न सकिन्छ । उनीहरु बच्चा लिएर हिँड्दा छाता लिएर हिँड्छन् । अर्कोतर्फ समाज र बजारले महिलालाई सुन्दरतासँग जोडेको हुनाले छाताले त्यो सुन्दरतालाई जोगाउन पनि काम गरेको देखिन्छ । त्यसैले लैङ्गिकताको हिसाबमा पनि छाताको परिचय दिनुपर्छ । किनभने मेरो माथिल्लो अवलोकनमा छाता नबोक्नेहरुमा महिलाको तुलनामा पुरुषहरु धेरै थिए ।

No comments:

Post a Comment