Thursday, September 17, 2015

पश्चिमको डायरी

यो डायरी म्यागेजिन सम्बन्धि हो । नेपालको पश्चिमी जिल्लाहरु बाँके, वर्दिया कैलाली र कञ्चनपुरमा गरिएका म्यागेजिनकारिताको अभ्यासबारे यसमा संस्मरणात्मक अनुभवहरु लेखिएको छ । सिमित समयमा खोजि गरिएका म्यागेजिन र ‘ल्याण्डक्रुजर कुराकानी’ का आधारमा यो छोटो लेख तयार पारिएको हो । नेपालमा २०४७ सालपछि म्यागेजिन पत्रकारिताको अभ्यास निकै बढ्दो छ । झण्डै २५०० म्यागेजिनहरु काठमाडौबाट प्रकाशित भएको अवस्थामा काठमाडौँ बाहिर पनि म्यागेजिनकारिताको अभ्यास भएको हुनसक्छ । त्यसैले नेपालको पश्चिमी क्षेत्रमा प्रकाशित भएका म्यागेजिनको बारेमा यी क्षेत्रहरुमा प्रकाशित भइरहेका, बन्द भएका म्यागेजिनहरुको के कस्तो अवस्था छ भन्ने जान्न यो लेख लेखिएको हो । नेपालको पश्चिमी जिल्लाहरुमा काठमाडौँमा जस्तै विभिन्न उद्देश्यले म्यागेजिनहरु प्रकाशित गरिएको छ । २२ फेव्रुअरी देखि २८ फेबु्रअरी २०१० सम्म उल्लेखित ४ जिल्लामा खोजि गरिएका र संकलन गरिएका म्यागेजिनहरुको संख्या १६ छ र यस अवधिमा खोजी गरिएका जर्नलको संख्या ६ वटा छ । तर यो पूर्ण होइन । मुलतः भाषिक म्यागेजिन, शैक्षिक म्यागेजिन र पर्यटनलाई ध्यानमा राखेर निकालिएका म्यागेजिनको अभ्यास यी क्षेत्रहरुमा गरिएको छ । पश्चिम क्षेत्रमा जर्नल निकाल्ने परम्परा पूर्वी नेपालको तुलनामा कमजोर छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका आंगिक क्याम्पसहरुमा जर्नल निकाल्ने गरिन्छ । सामुदायिक क्याम्पसहरुमा भने जर्नल निकाल्ने परम्पराको सुरुवात नै भइसकेको छैन । नीजि स्तरमा खोलिएका क्याम्पसहरुले फाट्टफुट्ट जर्नल निकालेका छन् । सूदुर पश्चिममा दुईवटा आंगिक क्याम्पस छन् । एउटा डोटी र अर्को डडेलधुरामा । कञ्चनपुरमा रहेको सिद्धनाथ बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस हो । सुदूर पश्चिमको मैदानी क्षेत्रमा आंगिक क्याम्पस छैन । नेपालगंजको आंगिक क्याम्पसमा भने दुईवटा जर्नल निकालिएको छ । एउटा विद्यार्थीको तर्फबाट द भ्वाइस अफ इसा र शिक्षकको तर्फबाट भ्वाइस । दुवै आर्थिक जर्नल हुन् । द भ्वाइस अफ इसामा लेखिएका विषयवस्तुहरु विद्यार्थीहरुले लेखेका छैनन् । धेरैजसो शिक्षकहरुले नै लेखेका छन् । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्राध्यापक चक्र बमका अनुसार सरकारी पूर्ण स्वामित्वमा रहेका क्याम्पसहरुमा वढुवा र पिएचडीको लागि शिक्षकहरुले यस्तो किसिमको प्रयास गरेको पाइन्छ । आन्तरिक वढुवा भनेको रिडरबाट प्रोफेसरमा बढुवा हुनु हो । म्यागेजिन सुदूर पश्चिमको कञ्चनपुर र कैलालीमा म्यागेजिनको अभ्यास त्यति धेरै भएको पाइएन । जति नेपालको पूर्वमा पाइयो । पूर्वमा झण्डै ५० वटा म्यागेजिन निकालेको अनुमान गर्न सकिन्थ्यो भने मध्य पश्चिम र सुदूर पश्चिममा २५ वटा म्यागेजिनको अनुमान गर्न सकिन्छ । सुदूर पश्चिममा डोटेली भाषा साहित्यको संरक्षण अभियानमा लागेका केही म्यागेजिनहरु विगत १५ वर्ष देखि निरन्तर चलिरहेका छन् । गुगुल्डी त्यसको उदाहरण हो । यसले डोटेली भाषामा गीत, गजल, कथा कविता अन्तर्वार्ता, लेख आदि विषयहरुमा कलम चलाएको छ । यसका सम्पादक विरेन्द्र बहादुर चन्दले आफू शिक्षक पेशाबाट निवृत्त भएपछि डोटेली भाषा साहित्यको संरक्षणको निम्ति यो पत्रिका चलाएका हुन् । यो पत्रिकामा मुलतः उनको आफ्नै लगानी रहेको छ । त्यसबाहेक चिनारी भन्ने म्यागेजिन पनि डोटेली भाषा साहित्यमा नै कलम चलाउने म्यागेजिन हो । सुदूर पश्चिमको जनसंख्याको वनोटलाई हेर्दा त्यहाँ पूर्वी नेपालबाट बसाइँसराइँ गरेका नेपालीको जनसँख्या पनि उल्लेखनिय छ । नेपालगञ्जबाट निस्केको म्यागेजिन मध्य नेपाल दर्पण, अनुशिलन मुख्य हुन् । अनुशिलन म्यागेजिन झण्डै १२ महिना मात्र निस्क्यो । एनपिआईको तालिम लिएका जनक नेपाल, रामजी शर्मा, निवेदन वैद्य आदिको सक्रियतामा यो पत्रिका निस्केको थियो । खास गरि तालिमलाई प्रयोग गर्ने हिसावबाट यो पत्रिका निस्केको हो । त्यस्तै बर्दियाबाट निस्कने बर्दिया मञ्च पनि काठमाडौमा पत्रकारिता पढिरहेका व्यक्तिहरुले निकालेका थिए ।

No comments:

Post a Comment