Thursday, September 17, 2015
पूर्वको डायरी
यो डायरी म्यागेजिन सम्बन्धि हो । नेपालको पूर्वी जिल्लाहरु मोरङ, सिरहा, सर्लाही, सुनसरी, झापा, इलाममा गरिएका म्यागेजिनकारिताको अभ्यासबारे यसमा संस्मरणात्मक अनुभवहरु लेखिएको छ । सिमित समयमा खोजि गरिएका म्यागेजिन र ‘ल्याण्डक्रुजर कुराकानी’ का आधारमा यो छोटो लेख तयार पारिएको हो । नेपालमा २०४७ सालपछि म्यागेजिन पत्रकारिताको अभ्यास निकै बढ्दो छ । झण्डै २५०० म्यागेजिनहरु काठमाडौबाट प्रकाशित भएको अवस्थामा काठमाडौँ बाहिर पनि म्यागेजिनकारिताको अभ्यास भएको हुनसक्छ । त्यसैले नेपालको पूर्वी क्षेत्रमा प्रकाशित भएका म्यागेजिनको बारेमा जान्नको लागि यी क्षेत्रहरुमा प्रकाशित भइरहेका, बन्द भएका म्यागेजिनहरुको के कस्तो अवस्था छ भन्ने जान्न यो लेख लेखिएको हो ।
नेपालको पूर्वी जिल्लाहरुमा काठमाडौँमा जस्तै विभिन्न उद्देश्यले म्यागेजिनहरु प्रकाशित गरिएको छ । ६ देखि १४ डिसेम्बर २०१० सम्म उल्लेखित ५ जिल्लामा खोजि गरिएका र संकलन गरिएका म्यागेजिनहरुको संख्या ४३ छ । तर यो पूर्ण होइन कम्तिमा ५० भन्दा बढि प्रकारका म्यागेजिन यी क्षेत्रहरुमा निस्केका हुनसक्छन् । मुलतः जनजाती म्यागेजिन, शैक्षिक म्यागेजिन र पार्टीगत म्यागेजिनको अभ्यास यी क्षेत्रहरुमा गरिएको छ । मोरङको उर्लाबारी, झापाको अर्जुनधारा, इलाम र सुनसरी जिल्ला पत्रिका खपतका दृष्टिले उत्कृष्ट ठाउँहरु हुन् । त्यसबाहेक सर्लाही र सिरहाबाट पनि केही म्यागेजिनको अभ्यास गरिएको छ । म्यागेजिन संकलनका आधारमा भन्ने हो भने बुटवल, नारायणगढमा भन्दा पूर्वका यी क्षेत्रहरुका म्यागेजिनकारिताको अभ्यास बढि नै हो कि भन्ने मलाई लागेको छ । क्षेत्रफलका हिसावले पनि अघिल्ला दुई ठाउँ भन्दा धेरै भएकोले पनि यसो भएको हुनसक्छ । अर्कोकारण नेपालको पूर्वी भागमा औधोगिक क्षेत्रहरु प्रशस्त छन् । त्यो ठाउँमा हुने व्यापक व्यापार व्यावसायले पनि पत्रिकाको आर्थिक पक्षलाई टेवा पुराएको हुनसक्छ । पश्चिमका दुई ठाउँ भन्दा पूर्वका यी दुई ठाउँमा म्यागेजिनकारिताको अभ्यास बढि हुनुमा त्यहाँ हुर्किएको जनजाती आन्दोलन पनि हो ।
लिम्बुवान आन्दोलन र म्यागेजिन
अध्ययन ताका इलामका हरेक पसलहरुमा ‘लिम्बुवान राज्य’ लेखिएको थियो । लिम्बुवानको नाममा विभिन्न पत्रपत्रिकाहरु निस्किएका थिए । कसैले ‘लिम्बुवान’ लेखेका थिए । त्यहि लिम्बुवान नाममा म्यागेजिन दर्ता गराउन अप्ठ्यारो भएर अरुहरुले ‘लिम्बुवान आवाज’ लेखेका छन् । कसैले ‘आधुनिक लिम्बुवान’ लेखेका छन भने कसैले ‘लिम्बुवान विद्रोह’को नाममा पनि म्यागेजिन निकालेका छन् । पूर्वी पहाडको नेपाली सिमापारी पनि ठ्याक्कै लिम्बुवान राज्यको माग जस्तै गोर्खाल्याण्डको आन्दोलन चर्किरहेको छ । दार्जिलिङका हरेक पसलहरुमा ‘गोर्खाल्याण्ड’ लेखिएको छ । त्यहाँ ‘हामी बंगालको दासत्व स्वीकार्दैनौ, स्वतन्त्र गोर्खाल्याण्ड चाहन्छौ’ जस्ता नाराहरु भित्ता–भित्तामा, घर–घरमा लेखिएको थियो । नेपालका सिमानामा पनि त्यही तरिकाले प्रचारात्मक आन्दोलन भएको देखिन्छ । पूर्वी इलाम र झापामा चल्ने हरेक गाडिहरुमा ‘लिम्बुवान राज्य’ लेखिएको छ । धेरै पसलहरुमा पनि यस्तो देखिन्छ । प्रचारात्मक र विचार प्रदान गर्ने उद्देश्यले जनजाती आन्दोलनको प्रभावमा यी म्यागेजिनहरु निस्किएका हुन् । यस्ता म्यागेजिन निकाल्नलाई लिम्बु युवाहरुले विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने, देउसी भैलो खेल्ने, चन्दा सहयोग लिएर पनि ‘लिम्बुवान’सँग सम्बन्धित म्यागेजिनहरु निकालेका छन् । यसरी जम्मा गरिएको एकलाख रुपैयाँले एउटा लिम्बुसँग सम्बन्धित म्यागेजिनको १० वटा अंक निकाल्न सहयोग पुगेको छ । यी म्यागेजिनहरु विक्री गर्ने र विक्री नभएको गाउँ गाउँमा निशुल्क वितरण गरिएको छ । वितरणका हिसावले र विचार प्रवाहका दृष्टिले सजिलो भएकाले म्यागेजिनको प्रयोगलाई जनजाती आन्दोलनमा प्रयोग गरिएको हो ।
शैक्षिक म्यागेजिनको अभ्यास
म्यागेजिनकारिताको पूर्वमा देखिएको अर्को अभ्यास चाहिँ बजारमा आधारित म्यागेजिनको प्रकाशन हो । यस्ता म्यागेजिनहरुमा विराटनगरबाट निस्कने कलेज टाइम्स, विराटनगरबाटै पूर्वाञ्चल दर्पण, विराटनगरबाटै लिभिङ वीथ आइसिटी, झापाको मनकामना टाइम्स, धरानबाट ब्लास्ट टुडे आदि हुन् । यी पत्रिकाहरुमध्ये ब्लास्ट टुडे बाहेक यो अनुसन्धानको समयसम्म पनि चलिरहेका छन् । यी पत्रिकाहरुको मुख्य आयश्रोत चाहीँ त्यहाँका स्कूल, कलेजहरु हुन् । त्यहाँबाट उठ्ने विज्ञापन बाहेक यी स्कूल र विद्यार्थीहरु यी पत्रिकाका नियमित ग्राहक बनिरहेका छन् । यी पत्रिकाहरुमा काठमाडौबाट केही कलेजहरुले मोटो रकम (तुलनात्मक रुपमा स्थानिय क्षेत्रबाट भन्दा बढि उठ्ने रकम) दिएका हुन्छन् । एसएलसीको रिजल्ट भएपछि काठमाडौका कलेजहरुले यस्ता पत्रिकाहरुलाई प्रयोग गर्छन । जस्ले स्थानीय स्कूलहरुमा ग्राहक बनाएर आफ्नो प्रभाव पारेका पत्रिकाहरुबाट विज्ञापन गर्छन् । अभिभावकहरुले विद्यार्थीहरुलाई काठमाडौको आफ्नो कलेजमा पढुन भन्ने अभिप्राय रहेको हुन्छ । यी पत्रिकाहरु शिक्षक र विद्यार्थीहरुको अगुवाईमा निस्कने गर्छ । वि.ए. तेस्रो वर्षमा ऐच्छिक पत्रकारिता लिएका विद्यार्थीहरु, पत्रपत्रिकामा लेख लेख्न रुचि राख्ने युवाहरु र कलेजमा पढाइरहेका गुरु पनि यस्ता शैक्षिक म्यागेजिनकारितामा लागेका छन् । लेख लेख्न रुचि राख्ने युवा राजन लम्साल पत्रकारिताको तालिम लिएर लिभिङ वीथ आइसिटी भन्ने म्यागेजिन निकालेका हुन् । उनी आइसिटीका विद्यार्थी पनि हुन् । उनी आईसिटीमा भन्दा पहिला लेखहरु लेख्न रुचि राख्ने युवा हुन् । उनले पछि विराटनगरमा मिडिया सम्बन्धि तालिम पनि लिए । पछि कलेजका साथीहरुसँग मिलेर आइटि सम्बन्धि पत्रिका निकालेका हुन् । उनले पत्रिका निकाल्नुपूर्व नै पत्रिकाको लागि पैसा जम्मा गर्छन् । आवश्यक पैसा नउठेको समयमा पत्रिका पनि समयमा निस्कँदैन । बजारमा आएका नयाँ प्रविधि ल्याउने व्यक्तिसँग अन्तर्वार्ता गरेर आफ्नो पत्रिकामा छपाएका छन् । त्यसबाट दुइवटा फाइदा थियो । पहिलो आइटि सम्बन्धि सूचना बजारमा जाने र सके त्यही अङ्कमा नभए अर्को अङ्कमा सो पसलबाट विज्ञापन संकलन गर्ने उनको चाहना थियो । तर विज्ञापन नदिएर उनको अभियानलाई धोका भयो । उनी भन्छन् ‘रहरले मात्र हुँदो रहेनछ’ यसरी रहरले पनि म्यागेजिन निकाल्ने अभ्यास पनि विराटनगरमा देखियो ।
अर्को पत्रिका ‘पूर्वाञ्चल दर्पण’ हो । महेन्द्र मोरङ क्याम्पसमा पढाउने प्राध्यापक देवी पन्थीले यो म्यागेजिन २०६१ सालदेखि निकाल्न थालेका हुन् । उनको पत्रकारिताको अनुभव र चिनेजानेका विज्ञापनदाताहरुको सहयोगमा यो मासिक निस्केको छ । यो विराटनगरबाट प्रकाशित हुने क्षेत्रीय मासिक हो । यसले विराटनगरका शैक्षिक, औधोगिक सँस्थाहरुको विज्ञापन र पूर्वी पहाडी जिल्लामा पत्रिकाको विक्री वितरण गरेर महिनामा कम्तीमा १०,००० नाफा सहित यो पत्रिका चलाएका छन् । पूर्वी पहाडी जिल्लाको नक्सा सहित त्यहाँका समाचारहरु यसले छापेकाे छ । यो पत्रिकाले नेपालको हुलाक, कुरियर सेवाबाट यसले आफ्नो विक्री वितरणलाई बढावा दिएको छ । देवी पन्थीका अनुसार गाउँगाउँमा यसका पाठकहरु अत्याधिक छन् । त्यसबाहेक कुरियर सेवाबाटै अमेरिका, हङकङ, मलेसिया पनि २०/२० प्रति पठाउने गरिएको छ । त्यहाँ चिने जानेका मान्छेहरुले किनेर नेपाल फर्कँदा उनलाई पत्रिकाको मूल्य तिर्छन् । उनीहरुले १ अमेरिकी डलरमा विदेशमा यो पत्रिका किन्छन् । त्यतैबाट केही साथीहरुले आफ्नो जन्मदिनको शुभकामना, विहेको शुभकामना पनि छपाउँछन् । तेह्रथुम, धरान धनकुटाका मान्छेहरुले प्रायः यस्तो काममा सहयोग गर्छन् ।
पूर्वी १६ जिल्लाका विभिन्न गाउँमा साहित्यमा रुचि राख्ने व्यक्ति, विद्यार्थीहरु पूर्वाञ्चल दर्पणका सम्वाददाता हुन् । उनीहरुले रचना पठाउँछन । यदी त्यहाँबाट विज्ञापन उठाएर पठाएमा ५० प्रतिशत शुल्क उनीहरुले नै पाउँछन् । त्यो बाहेक पारिश्रमिक भने पत्रिकाले दिँदैन । पूर्वी पहाडी जिल्लामा पुग्ने भएकाले विदेशमा बस्ने वा काठमाडौमा बस्ने केही लेखकहरुले आफूले लेखेका कृतिहरु छपाउने र पत्रिकालाई आफूसक्दो सहयोग गर्ने गर्छन् । यसबाहेक यो पत्रिकालाई आउने नियमित आम्दानीमा प्रेस काउन्सीलबाट सन् २०१० तिर आउने ७००० प्रति महिना मुख्य थियाे । बाह्रै महिना विज्ञापन दिने केही औधोगिक सँस्थाहरु छन् । जस्तो घैला छाप तेलले वर्षको १२,०००, स्वस्तीक तेलले वर्षको १२,०००, गाडिको पाटपुर्जाबनाउने निखिल यन्त्रशालाले वर्षको १२,००० रुपियाँ दिन्छन् । विराटनगरको ‘यूरोप कलेज’ले मासिक २५०० दिन्छ । यसबापत पूर्वाञ्चल दर्पणले त्यसविद्यालयका गतिविधिहरु छाप्ने, विद्यार्थीहरुका कथा कविताहरु छाप्ने गर्छ । यसबाहेक आम्दानीको आवधिक स्रोत भनेको दशैँ तिहार नै हुन् । यो अवधिमा आउने शुभकामना पत्रहरुबाट पनि पत्रिकालाई राम्रो आम्दानी हुन्छ । बेलाबेलामा व्यक्तिको परिचय पनि छापिन्छ । यसबाट पनि पत्रिकालाई आम्दानी हुने गरेको छ । प्रकाशक स्वयं अभिभावक संघ नेपालको क्षेत्रिय अध्यक्ष भएको नाताले त्यस हैसियतले विद्यालयहरु ग्राहक बन्ने गरेका छन् । यो पत्रिका नाफामा भएकाले यसले हरेक महिनाको पहिलो दिन नै पत्रिका छाप्छ । प्रेसलाई ७,००० मात्र तिर्नुपर्छ ।
पूर्वाञ्चल दर्पणमा साहित्यिक सामग्री छापिन्छ । समाजमा घटिरहेका केही अनौठा विषयवस्तुहरु यसमा छापिन्छ । जस्तै १६ औँ विवाह गर्ने पुरुष । पुराना नहुने समाचारहरुलाई यसको प्राथमिकतामा राखिन्छ । यी विषयहरु राष्ट्रिय पत्रिकाबाट लिइन्छ । गाउँघरमा आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सोधेर प्रमाणित भएपछि यो विषयलाई आफ्नो ढंगले लेखिन्छ । पूर्वाञ्चल क्षेत्रबाट रिर्पोटिङ गरिरहेका राष्ट्रिय पत्रपत्रिकाहरुको सम्वाददाताले पठाएको विषयवस्तुलाई पत्रिकामा राखिन्छ । जस्ले गर्दा पत्रिकालाई थप आर्थिक व्ययभार पर्दैन । साहित्यका कविता, गजल, हाइकु, नियात्रा, संस्मरण, बाहेक अंग्रेजीमा गजल छाप्ने भएकाले यो साहित्यिक विशेष पत्रिका पनि हो । सिडिओ, जिसिअ, इञ्जिनियर जस्ता व्यक्तिहरु अंग्रेजी गजलका पाठक हुन् । विषयवस्तु चाहिँ विज्ञापन र सहयोगबाट प्रभावित छन् । स्कूलले विज्ञापन दिन्छ । उसका रचनाहरु यसले छाप्छ । एसएलसीको फाराम भर्ने, रिजल्ट छाप्ने आदि काम पनि गर्छ ।
टिनएज टाइम्स पनि लिभिङ वीथ आइसिटी जसरी नै झापाको युवाहरुले निकालेको पत्रिका हो । १० रुपैँया यो पत्रिका मोल राखिएको छ । यो टिम पनि स्कूल कलेजको विज्ञापनमा आश्रित छ ।
राजनैतिक म्यागेजिन, महिला म्यागेजिन
मुलतः मोरङ र झापाबाट पार्टी निकट पत्रिकाहरु अहिले निरन्तर प्रकाशित छन् । झापाली आवाज विर्तामोडबाट नेकपा एमाले झापा जिल्लाको मुखपत्रको रुपमा निस्केको छ । माओवादीले झापाबाटै सुखानी आवाज र विराटनगरबाट नेपाली र मैथिली भाषामा संयुक्त रुपमा समाजवादी आवाज नामको राष्ट्रिय पाक्षिकबाट शुरु गरेर मासिक निकालेका थिए । पछि यो बन्द भएको थियो ।
धरानबाट प्रतिमा विवस राईले महिलाहरुको म्यागेजिन ‘विमेन्स एरा’ निकालेकी थिइन । यो अध्ययनको अवधिमा प्रकाशक स्वयं नै काठमाडौमा बस्न थालेकाले यसले निरन्तरता पाउन सकेन ।
इलाममा हवाईपत्रिका देखि म्यागेजिनसम्म
इलाम सुन्दर छ । त्यहाँ हरेक पत्रकारमा साहित्यको रस भेटिन्छ जस्तो । एक पत्रकारले भन्थे, एक जमानामा २०५७–०६१ सालसम्म यहाँ प्रशस्त हवाई पत्रिका निस्कन्थे । ती हवाई पत्रिका म्यागेजिन भन्दा सानो र ब्रोसर भन्दा ठूलो साइजमा निस्कन्थे । २०५७ सालबाट पहिलो हवाइपत्रिका सामना निस्केको थियो । यस्ता हवाई पत्रिकामा रुवाई, तांका, गजल, छापिन्थे । गाउँघरका साहित्यकार, स्कूलका विद्यार्थीहरुमा यी हवाई पत्रिकाहरु निकै लोकप्रिय थिए । इलामबजारमा काठमाडौका पत्रिकाहरु आएपनि गाउँगाउँमा पत्रिकाहरु पुग्दैनथे । साहित्यका अनुरागी इलामेलीहरुलाई त्यो समयमा तिनै हवाइपत्रिकाले पठनिय खुराक दिन्थे । ती हवाईपत्रिकाहरुमा मात्र रुवाई, गजल, तांका छापिँदैनथे । बरु गाउँ घरमा हुने साहित्यिक समारोहको रिर्पोटिङ पनि छापिन्थ्यो । हुलाकले सहरमा छापिने यी हवाई पत्रिकालाई गाउँ–गाउँमा पुराउन थाल्यो । इलाममा जव एफएम रेडियोहरु आए । यसको तरंग गाउँ गाउँमा पुग्यो । तव इलामका हवाई पत्रिकाहरु हराउन थाले । खासकारण चाहिँ हवाईपत्रिकामा लेखिने खुराक चाहिँ एफएमले नै प्रसारण गर्ने भएकाले ती हवाई पत्रिकाहरु हराउन थालेका हुन् । विभिन्न राजनीतिक उद्देश्यले छापिएका क्षेत्रिय म्यागेजिन इलाममा पुग्ने भएपनि त्यहाँको आफ्नो मौलिक पत्रिका हवाई पत्रिका नै हो । अहिले इलाममा क्याम्पस पढ्ने युवाहरुले करुणक्रन्दन भन्ने साहित्यिक तथा समाचारमूलक मासिक पत्रिकालाई निरन्तरता दिएका छन् । २०६७ सालमा यो म्यागेजिनको निरन्तरता मंगेस खालिङ र सुमन लावतीले दिएका छन् । यो १० वर्ष पुरानो हवाई पत्रिका हो । २०५७ सालमा मंगेस खालिङ र सुमन लावतीले गाउँको स्कूलमा पढ्दा निकै लोकप्रिय हवाइपत्रिका थियो । उनीहरु गाउँबाट क्याम्पस पढ्न इलाम बजार आउँदा उनीहरुलाई बन्द भएको करुणक्रन्दनलाई निरन्तरता दिने अटोठ गरे । उनीहरुको उत्साहमा त्यहाँका पूराना पाठक, पत्रकार महासंघका पदाधिकारी, एनजिओ र सरकारी जागिर खाएका पूर्वपत्रकारहरु व्यक्तिगत सहयोग गरे । कसैले आर्थिक सहयोग दिए । कसैले पत्रिकालाई सम्पादन गरिदिए । इलामका इलमीहरुको सहयोगमा यो पत्रिका पुनः २०६७ सालमा साहित्यिक र समाचारमुलक म्यागेजिनको रुपमा निकालिएको छ । तर यसको चुनौती निरन्तरतामा नै छ । किनकी यसले पैसा मागेर कतिञ्जेल धान्ने ? तर अन्यत्र जस्तै यहाँपनि म्यागेजिनलाई विभिन्न अवसरका रुपमा निकालिएको छ ।
यहाँ निस्केको तर स्वयं इलामेलीलाई नै थाहा नभएको म्यागेजिन रिपब्लिका हो । यो एक पटकमात्र निस्क्यो । अंग्रेजी भाषामा निस्क्यो । खोजी गर्दा यसको प्रकाशनमा संलग्न कोही भेटिएनन् । तर पत्रकार महासंघका पदाधिकारीका अनुसार यो कुनै एनजिओको सहयोगमा काठमाडौँबाट मुद्रण भएको पत्रिका हो । यसलाई महेन्द्ररत्न क्याम्पस स्ववियुका पदाधिकारीले निकालेका हुन् । इलाम आफैमा सुन्दर ठाउँ भएकाले यसको पर्यटकीय विकास तथा इलाम नगरको प्रचारका लागि इलाम नगरपालिकाले २०५६ (?) सालमा इलाम भन्ने म्यागेजिन पनि निकालेको छ । यसमा इलामको ठाउँहरु, इलाम बजार, इलाममा उत्पादन हुने बस्तुहरुको बारमा जानकारी दिइएको छ । त्यसबाहेक इलामबाट काठमाडौँमा बस्नेहरुले इलाम टाइम्स पनि निकाल्ने गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment