Wednesday, May 4, 2011

समर्पित पत्रकारको हार


धनगढीको राष्ट्रिय दैनिकमा गएको फागुन महिनामा एक पत्रकारले 'खुदा मेहरवान तो गधा पहलवान' शीर्षकको लेख लेखे । संभवतः यो लेख लेख्ने सुदूर सन्देश  दैनिकका समाचार सम्पादक डीपी भण्डारी हुन् । अहिले २०६७ सालको पत्रकार महासंघको चुनावमा भाग लिन आएका छैनन् । लेखअनुसार उनी धनगढीका पूर्णकालिन पत्रकार हुन् । उनले पत्रकारिता गरेको १३ वर्ष भयो । तर यति हुँदा हुँदै पनि उनले भर्खरै गएको जिल्ला पत्रकार महासंघको चुनावमा मात्र सदस्यता पाएका थिए । उनको प्यानलले ९९ प्रतिशत हार् यो । हारेको झोँकमा धनगढीका पत्रकारहरुले 'समर्पित पत्रकार महासंघ' भनेर छुट्टै समानान्तर महासंघको निर्माण गरेका थिए । तर त्यो हारको झोँक मात्र थियो । धनगढी नेपालगंज बुटवल विराटनगरका केही पत्रकारहरुका अनुसार जिल्ला महासंघहरु राजनीतिबाट मात्र विभाजित छैनन् । दुई नम्बरी काम गर्ने पत्रकारहरुको कारणबाट पनि प्रताडित छन् । जस्ले पायो उसैले आफूलाई पत्रकार भन्दै हिँडेपछि पत्रकार महासंघमा गैर व्यावसायिक पत्रकारहरुको प्रवेश बढ्दो छ । जिल्ला महासंघमा पत्रकारहरु व्यावसायिक र गैर व्यावसायिक भनेर विभाजित छन् । दुवै खेमामा राजनीति छँदै छ । त्यसैले वर्षभरि पत्रकारिता गर्ने र त्यसैलाई आफ्नो मुख्य पेशा ठान्ने समर्पित पत्रकार एकातिर छन । अर्कोतिर केही व्यक्तिहरु छन् जस्को मुख्य पेशा पत्रकारिता होइन । एनजिओ हो । शिक्षण हो । अथवा विगतमा पत्रकारिता गरेको पृष्ठभूमि हो तर हाल उनीहरु जग्गाको कारोवार गरिरहेका छन् । वा भन्सार नाकाहरुमा सामान ओसारपसार गर्ने गराउनेलाई प्रहरीको पंजाबाट उम्काउने काम गर्छन् । सँगसँगै उनीहरु पार्टीको कार्यकर्ता पनि छन् । यस्ता बहुरुपीहरु पनि पत्रकारिताको पंक्तिमा उभिएका छन् ।
धनगढीको पत्रकार महासंघको चुनावको बेला संयोगले म पनि त्यहाँ थिए । त्यहाँका स्थानीय पत्रिकाहरुमा थुप्रै समाचारका हेडलाइन र लेखहरु पढ्न पाएको थिएँ । जसमध्ये 'व्यावसायिक पत्रकारिताको हार', 'खुदा मेहरमान तो गधा पहलमान' आदि आदि । यी पत्रिकाहरुमा हारको आक्रोश देखिन्थ्यो । पत्रकारहरु पनि 'हामीले हारेनौ व्यावसायिक पत्रकारिताले हार् यो' भन्थे । उनीहरु सबै जिल्ला महासंघको चुनावमा समर्पित पत्रकारको तर्फबाट चुनाव लड्दा हार खाएका ९९ प्रतिशत पत्रकारहरुको खेमाका थिए । उनीहरुको आरोप थियो- 'पैसा खन्याउनेहरुले जिते एनजिओ पत्रकारहरुले जिते व्यापारीका पत्रकारहरुले जिते ।' र भन्थे- 'हामी व्यावसायिक पत्रकारहरु परिवार पाल्न त गार् हो हुन्छ कसरी चुनावमा पैसा खर्च गर्ने त्यसैले हामी हार् यौँ '।

जिल्ला पत्रकार महासंघको यो घटनालाई हेर्दा लडाइँ अब पत्रकारितालाई मुख्य पेशा बनाउने समर्पित पत्रकारहरुको मात्र रहेन । र राजनीतिक आस्थाका आधारमा बाँडिएका पत्रकारहरुको पनि रहेन । लडाइँ त अब पत्रकार र गैर पत्रकारहरु बीचको पनि भयो । गैर पत्रकार र राजनीति गर्ने पत्रकार मिलेपछि व्यावसायिकताको हार हुने नै भयो । धनगढीको उदाहरणमा समर्पित पत्रकारहरुको प्यानलले हार् यो । त्यसकारण त्यहाँका समर्पित पत्रकारको समुह काठमाडौँको चुनावमा भाग लिन पाएनन् । डीपी भण्डारीको लेखको आक्रोसको अर्थ थियो- भगवान सोझो भयो भने गधा पनि बलियो हुन्छ खुदा मेहरमान तो गधा पहलमान । अर्थात व्यावसायिक पत्रकार कमजोर भयो भने गैर व्यावसायिक पत्रकार बलियो हुन्छ । त्यसले अन्ततः केन्द्रको चुनावमा पनि असर गर्छ । धनगढीमा त्यही भयो । व्यावसायिक पत्रकारहरुले पैसाको खोलो बगाउन सकेनन् । र चुनाव हारे । वर्षभरी पत्रकारिता नगर्ने मान्छेहरुले पत्रकार महासंघको चुनावमा जितेको हुनाले उनले आक्रोश लेखमा पोखेका छन् । समाचारमा पोखेका छन् । महासंघको चुनावमा पैसा महत्वपूर्ण बन्न गयो । उनले लेखेका छन्- 'जाँड रक्सी धोकेर आफै नियन्त्रण बाहिर जानेहरु पनि पत्रकारकै लाइनमा पत्रकारिताको नाममा नपुंसक कलम बोकेकाहरु पनि पत्रकारको चुनावमा पंक्तिबद्ध बने । लाग्छ चुनाव पत्रकारको होइन एनजीओको हो । शिक्षकहरुको हो । व्यापारीहरुको हो । र एनजीओ पत्रकारहरु शिक्षक पत्रकारहरु र व्यापारी पत्रकारहरुको विजय भयो । व्यावसायिक पत्रकारको पराजय । एकथरी प्यानलले ९९ प्रतिशत जित्यो अर्कोथरीले ९९ प्रतिशत हार् यो ।'

तराईका जिल्लाहरुमा विभिन्न व्यापारी जग्गा दलाली भारतबाट सामान ओहरदोहर गराउने व्यक्तिहरु पत्रकार बन्न चाँहदा रहेछन् । उनीहरुले पत्रकार बनेर प्रहरीलाई पनि झुक्याउन पनि सजिलो हुने विभिन्न सभा सम्मेलनहरुमा भाग लिँदा सम्मान पनि पाईने । यस्तो सामाजिक प्रतिष्ठा साथै आफ्नो व्यावसाय पनि फस्टाउने र पार्टीको राजनीति पनि गर्ने तेहेरो फाइदा हुँदा पत्रकारिता प्रति गैर पत्रकारहरुको चासो बढेको देखिन्छ । डीपी भण्डारीले लेखेका छन्- 'कैलालीको खक्रौला नाकामा भन्सार कर्मचारी र प्रहरीले तस्करी गरेर ल्याएको सामान पक्रेका समयमा संचारकर्मीलाई समाचारका लागि खबर गरेपछि त्यहाँ पुगेर उल्टै तस्करीको माल समात्ने प्रहरीलाई हकार्दै तस्करलाई सघाएका एक पत्रकारले पनि चुनाव जितेका छन् ।' यो भनाईमा भण्डारीजीको आरोप पनि हुनसक्ला भन्ने शंका गर्न सकिन्छ सत्य हुन पनि सक्छ । तर घटना नहेरेर प्रवृत्ति हेर्ने हो भने यो प्रवृत्ति छ भनेर धेरै पत्रकारहरु स्वीकार्छन् । यसप्रकार तस्कर र व्यापारीहरुले पनि पत्रकार पाल्नुपर्ने देखियो । विराटनगरमा एकजना व्यावसायीले भनेका थिए- 'पहिला पहिला व्याबसाय गर्न लठैतहरु पाल्नुपर्थ्यो । तर अहिले लठैत पालेर मात्र काम हुन छोड्यो पत्रकार पनि पाल्नुपर्छ ।'  त्यसैले तराईका विभिन्न क्षेत्रहरुमा गैरव्यावसायिक पत्रकारहरु बढिरहेका छन् । काठमाडौँ बाहिरका क्षेत्रहरुमा 'गैर व्यावसायिक पत्रकार' छिर्ने सजिलो माध्यम रेडियो पत्रकार, शिक्षक पत्रकार, एनजिओ पत्रकार बनेर हो । खासगरी अन्धाधुन्ध खोलिएका रेडियोहरुबाट पनि केही व्यक्तिहरुले पत्रकारको नाममा व्यावसाय र राजनीति गर्न भ्याएका छन् । उनीहरुको मुख्य पेशा रेडियो होइन । मुख्य पेशा शिक्षण भएको व्यक्तिहरु पनि पत्रपत्रिकामा लेख लेख्ने पार्टटाइम रिपोर्टिङ गर्ने आधारमा पनि पत्रकार भएको भेटिन्छ । एनजिओहरुले निकाल्ने पत्रिका र त्यसमा लेख लेख्ने लेखकहरु पनि पत्रकार भनेर आफूलाई चिनाउन रुचाउँछन् । यो खालका पत्रकारहरुले चुनावमा निर्णायक भूमिका खेल्छन् । उनीहरुलाई किन्न सक्नेले चुनाव जित्छ । नसक्नेले हार्छ । भण्डारीले लेखेका छन्-चुनाव जित्नेहरु सबै गैर हुन् र म मात्र व्यावसायिक हुँ भनेर मैले भन्न खोजेको हैन । जित्नेहरुमा पनि केही व्यावसायिक पत्रकारहरु छन् तर जिताउनेमा निर्णायक भूमिका खेल्नेहरु भने गैरपत्रकारहरु नै हुन् ।

यसरी राजनैतिक नेतृत्व लिएका र सो को चुनाव लडेकाहरु एनजिओकर्मीहरु शिक्षक बनेर समय दिन नसकेकाहरु पहिले पत्रकारिता गरेका तर अहिले गैरकानुनी तबरबाट पैसा कमाउन पल्केकाहरुको हालीमुहालीबाट काठमाडौँ बाहिर खासगरि तराई क्षेत्रको पत्रकारिता अगाडि बढेको देखिन्छ । केन्द्रको चुनावमा पनि यस्तैको निर्णायक भूमिका हुन्छ हुँदैन त्यो त खोजिको विषय हुनसक्छ । तर पक्कै प्रभाव पार्छ भन्ने अनुमान गर्न सकिन्छ ।
Published in Annapurna Post on May 4, 2011 / 2067, Baishakh 21