Wednesday, November 19, 2014

काँग्रेस र कम्युनिष्टहरुका पत्रिका

मैले झापाको भद्रपुरमा एउटा पत्रिका पसलको फोटो खिचिरहेको थिए । पसलबाट फुत्त एउटी युवती निस्केर सोधीन 'किन फोटो खिच्नुभएको ? मैले भित्र कोही होला भन्ने सोँचीन । उनलाई हत्तपत्त उत्तर दिएँ । म पत्रिकाको अनुसन्धान गर्छु तपाईको पसललाई म्यागेजिनले चिटिक्क पारेको देखेर फोटो खिचेको हुँ । तपाईँ चाहनुहुन्छ भने मैले फोटोहरु सबै डिलिट गरिदिन्छु । उनले भनिन्- 'भो पर्दैन'। मेरो आकर्षण साँच्चै नै त्यो पसलमा चिरिच्याँट्ट परेका म्यागेजिन पट्टि नै थियो । रङ्गीविरङ्गी म्यागेजिनले पसललाई विवाहको मण्डपजस्तो सजाइदिएको थियो । त्यसैले आकर्षणको विन्दु बनेको थियो त्यो पसल । पत्रिका पसलमा जाँदा म्यागेजिन देखेर जाग्ने अर्को जिज्ञासा हो- यो म्यागेजिन कस्को हो कुन राजनीतिक पार्टीको हो आदि । भारतमा पनि त्यस्तो हुँदो रहेछ । एक प्रसिद्ध म्यागेजिन ुआउटलुकु का सम्पादक विनोद मेहेताले पत्रिका पन्ध्रौँ वर्ष पुगेको अवसरमा पाठकहरुकहाँ गएर उनीहरुको राय बुझेका छन् । उनलाई पाठकले सोधेका प्रश्नहरु मध्ये एउटा प्रश्न 'आउटलुकुले कुन राजनीतिक पार्टीलाई समर्थन गर्छ' भन्ने थियो । मेहेताले पत्रिकामा लेखेका छन्- आउटलुक 'लिवरल-सेन्टर-लेफ्ट पब्लिकेशनु'हो । उनका अनुसार पाठकहरु यसलाई काँग्रेस आईको पत्रिका भनेर बुझ्ने रहेछन् । अर्थात भारतीय जनता पार्टीको विरुद्ध समाचार छाप्ने उनीहरुका मान्छेका लेख नछाप्ने भन्ने बुझ्दा रहेछन् । र यसलाई 'सोनियाको चम्चागिरी' पनि भन्ने रहेछन् । हाम्रोमा पनि त्यो छ । कस्को पत्रिका कस्ले लगानी गरेको यी प्रश्न अहिलेका पाठकहरुमा निकै चल्ने गरेको छ । पञ्चायतकालमा नेपाली पत्रकारिताको एउटा मुख्य पहिचान नै पार्टीकारिता गर्ने थियो । रोजकुमार श्रेष्ठले नेपाल साँस्कृतिक संघले प्रकाशित गर्ने 'सँस्कृति' भन्ने स्मारिकामा लेख्नुभएअनुसार पंचायती समयमा 'समिक्षा' र 'नयाँ सन्देश' भन्ने पत्रिका लोकपि्रय थिए । यी पत्रिकाहरुलाई मान्छेहरुले क्रमशः रुस-समर्थक र अमेरिका-समर्थक भनेर चिन्थे । अर्थात काँग्रेस र कम्युनिष्ट । यिनीहरुमा छापिएका खवर र विचार नेपाल अधिराज्यभरि र राजनैतिक क्षेत्रमा उथलपुथल ल्याउँथे । जेहोस पाचायत कालबाट पत्रिकाहरुको पहिचान राजनीति गर्ने दलका आधारमा बन्ने गरेको हो । त्यो समयमा सरकारी प्रकाशनका बाहेकका पत्रकारहरु पार्टीको लेवल लगाएको बुझ्न सकिन्छ । यो धरातलमा २०४६ सालपछिका पत्रिकाहरु पनि खासगरी म्यागेजिनहरु र टेब्लोइड पत्रिकाहरु पनि काँग्रेस र कम्युनिष्टका पत्रिका भनेर चिनीएका छन् । अझ जनमञ्च पत्रिकाबारे गरिएकॊ अनुसन्धानको अनुभव के छ भने पत्रकारिताको व्यावसायिकता पनि पार्टीकारिताबाट हुर्किएको हो । त्यसैले यहाँ २०४६ सालपछि काँग्रेस र कम्युनिष्ट समर्थन गरिएका म्यागेजिनहरु के-के थिए भन्ने जान्न खोजिएको छ । काङ्ग्रेसी म्यागेजिन : २०४८ सालपछि सत्तामा रहेको नेपाली काँग्रेस प्रति वफादार रहने गरि तुलनात्मक रुपमा कमै म्यागेजिनहरु निस्केका छन् । काँग्रेसको संस्थापन खेमाबाट असन्तुष्टहरुले पाक्षिक स्वतन्त्रता निकाल्ने अभ्यास २०४८ को सुरुदेखि नै गरे । यसका सुरुका कार्यकारी सम्पादक सुरेश आचार्यका अनुसार यो २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबाट असन्तुष्ट कांग्रेसले निकालेको पत्रिका हो । यसको सुरुको अङ्कमा खसीलाई काटेको आवरण तस्वीर राखिएको छ त्यसको लाक्षणिक अर्थ चाहिँ गिरिजाप्रसाद कोइरालाले शिशु प्रजातन्त्रको वध गरे भन्ने थियो । कृष्णप्रसाद भट्टराईको हारपछि नेपाली काँग्रेसमा चर्किएको विवादले यस्ता म्यागेजिन प्रकाशनको आधार बने । त्यस्तै लाक्षणिक चित्र स्वतन्त्रताको वर्ष २१ अङ्क ६मा पनि छ जहाँ एउटा बच्चालाई काँडेतारको विचमा राखिएको छ । त्यसको अर्थ चाहिँ शिशु प्रजातन्त्रलाई अप्ठ्यारोमा राखिएको भन्ने हो । यो म्यागेजिनको प्रकाशन २०२८ सालमा साहित्यिक पत्रिकाको रुपमा भएको थियो । यहि पत्रिकालाई २०४८ साल कात्तिक महिनामा पाक्षिक समाचार पत्रिकाको रुपमा प्रकाशित गरिएको हो । २०२८ सालमा स्वतन्त्रता प्रकाशन गर्नुको उद्देश्य 'साहित्यको माध्यमबाट पाचायती शासनको विरोध गर्नलाई हो' पहिलो अंकको प्रकाशकीयमा भनिएको छ । सोही प्रकाशकीय अनुसार स्वतन्त्रताको जन्म हुँदा पाचायती अवस्थामा मुलुकको वातावरण यस्तो थियो कि सरकार र व्यवस्थाको जायज विरोध गर्न पनि साहित्य र अमूर्त भावनाको सहारा लिनु पर्दथ्यो । अर्को पत्रिका 'अग्निपथ साप्ताहिक' २०५४ पनि नेपाली काँग्रेस पक्षधरले निकालेको म्यागेजिन नै हो । २०५५ सालमा पुनः प्रकाशन गरेको सन्दर्भमा भनिएको छ 'प्रजातन्त्रवादी भएकाले हामीलाई कांग्रेस्या भनिन्छ भने हामी त्यसलाई गाली ठान्दैनौ र कांग्रेस्या भन्दा भन्दै कसैले कांग्रेसको कुनै गुट र लवीमा लगेर सीमित गरिदिन्छन् भने तिनको मन्द बुद्धिप्रति हामी सहानुभूति जनाउनुबाहेक केही गर्न सक्दैनौ'। कांग्रेस्या पत्रिका भएपनि कुनै खेमामा नलाग्ने यो प्रकाशकीय टिप्पणीले बताउँछ । तर यसले गणेशमान सिंहले प्रजातन्त्रका निम्ति बीपी‚ केपी र जेपीसँग हिडेको कठोर यात्रालाई अग्निपथ भनेको छ । यो गणेशमान सिंहको जन्मतिथिमा निस्केको पत्रिका हो । यसआधारमा यो गणेशमान सिंह खेमाप्रति सहानुभूति राख्ने पत्रिका हो भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । २०५५ साउन महिनामा बीपी कोइरालाको १७ औँ पुन्यतिथिको अवसरमा यसले पुनः प्रकाशन गर् यो । यसका सम्पादक/प्रकाशक श्रीआचार्य थिए । यसले मुलतः नेपाली कांग्रेसका बारेमा विषयवस्तुहरु प्रस्तुत गरेको छ । तत्कालिन सत्तापक्ष नेपाली कांग्रेसको आन्तरिक राजनीति ऐतिहासिक अभिलेखलाई क्रमशः सुरुको अङ्कदेखि प्रकाशन गरिरहेको छ । त्यसैगरि बीपी कोइरालाका विभिन्न पुस्तकको बारेमा चर्चा पनि क्रमश विभिन्न अङ्कमा गरिएको छ । बीपीको समाजवाद बीपीको चिन्तन व्यक्तित्वबारे सामग्रीहरु प्रस्तुत गरेको छ । नेपालको व्यावसायिक म्यागेजिन जनमञ्च पनि प्रकाशनका हिसावले व्यावसायिक भएपनि यसमा काम गर्ने पत्रकारहरुको हिस्सा नै पंचायतकालमा हुर्किएको 'डेमोक्र्याट' खेमाबाट आएका पत्रकारको वाहुल्य भएकाले अन्तरवस्तुमा यसले असर पारेको थियो । त्यतिबेला कम्युनिष्ट पाठकहरुले यसलाई पनि काँग्रेसको पत्रिका भनेर चिन्थे । बाँकी अंश अन्नपूर्ण पोष्टमा छापिएको छ ।

पत्रकारिताको इतिहासमा जनमञ्च

नेपाली भाषाबाट साप्ताहिक रुपमा निस्कने न्यूज म्यागेजिन जनमञ्चको प्रकाशन २०४७ कात्तिक ८ बाट भएको हो । त्यतिबेला न्युज म्यागेजिनको लागि नेपाली पाठकहरुले भारतीय म्यागेजिन पढ्ने चलन पनि थियो । यो समयमा जनमञ्चमा लगानी गर्ने अमेरिकी नागरिक आर.डी. टटलले पञ्चायत कालमै सोल्टी होटलमा क्यासिनो खोलेका थिए । क्यासिनोको प्रचारका लागि नेपाल ट्राभलर म्यागेजिन पनि प्रकाशन हुन्थ्यो । व्यवस्था परिवर्तनपछि राजतन्त्र तुलनात्मक रुपमा कमजोर र दलहरु बलिया भएको सन्दर्भमा उनलाई दलहरुसँग नजिकको सम्बन्ध बढाउन आवश्यक थियो । कतिपय पत्रकारहरुले जनमञ्चलाई सम्बन्धको विकास गर्ने एउटा माध्यमको रुपमा पनि लिएका छन् । लगानीकर्ता टटल भएपनि यसका प्रकाशक किशोर सिलवाल थिए । सिलवाल पेसाले अमृत साइन्स क्याम्पसका प्राध्यापक र क्यासिनोका कर्मचारी पनि थिए । सम्पादकीय समूह बनाउनका लागि सिलवालले डिल्लीरमण रेग्मीसँग सल्लाह लिएका थिए । रेग्मीले गोरखापत्रमा काम गरिसकेका मुकुन्द पराजुलीलाई पत्रिकाको प्रधान सम्पादकका रुपमा राख्न सल्लाह दिए । २०४५ सालमा बालमुकुन्ददेव पाण्डेलाई सरकारले गोरखापत्रमा सम्पादक बनाएपछि निराश भएर बसेका पराजुली जनमञ्चमा आउनुअघि अंग्रेजी भाषाको न्यूज म्यागेजिन स्पटलाइटमा काम गरिरहेका थिए । उनले हरि अधिकारीको सहयोगमा सुरुको सम्पादकीय समुह बनाएका थिए ।
औपचारिक रुपमा जनमञ्चको व्यवस्थापकीय समुहको राजनीतिक सम्लग्नता नभएपनि सम्पादकीय समुह नेपाली काँग्रेससँग नजिक थियो । प्रधान सम्पादक मुकुन्द पराजुली गिरीजाप्रसाद कोइराला सरकारको पक्षमा देखिएपछि उनलाई कोइराला सरकारले २०४९ सालमा राष्ट्रिय समाचार समितिमा नियुक्त गर्यो । त्यति बेलासम्म अनुभवी पत्रकारहरु योगेश उपाध्याय, तारानाथ दाहाल, नारायण वाग्ले, जिवेन्द्र सिम्खडा, चन्द्रशेखर कार्की नयाँ दैनिक कान्तिपुरमा गए । त्यसपछि बालमुकुन्ददेव पाण्डे, देवप्रकाश त्रिपाठी, युवराज लुइँटेल लगायतका व्यक्तिहरु जनमञ्चमा आए । पत्रकार कुसुम भट्टराई अनुसार त्यतिबेला ‘कृष्णप्रसाद भट्टराईप्रति सहानुभूति देखाउने’ उपसम्पादक रेवतीरमण सुवेदी तथा पत्रकार केदार कोइराला र ‘गिरिजाप्रसाद कोइरालाको समर्थन गर्ने’ देवप्रकाश त्रिपाठीबीच बारम्बार विवाद भइरहने हुँदा बादेपालाई सल्लाहकार सम्पादकका रुपमा नियुक्त गरिएको थियो । यस्तै विवादमा असहमति हुँदा त्रिपाठीले प्रिन्टलाइनबाट आप्mनो नाम पनि झिकेका थिए । पछि त्रिपाठीलाई कोइराला नेतृत्वको सरकारले २०५० सालमा रेडियो नेपालमा पुरूषोत्तम दाहालको सट्टा घटना र विचार कार्यक्रमका लागि नियुक्ति दिएपछि कोइराला सरकारप्रति सहानुभूति राख्ने समूह जनमञ्चमा बाँकी रहेन । वि.सं. २०५० को उपचुनावमा कृष्णप्रसाद भट्टराईको उमेद्वारीलाई जनमञ्चले खुलेरै समर्थन गरेको छ । वि.सं. २०५१ को मध्यावधि चुनावपछि नेकपा (एमाले)को अल्पमतको सरकारले नेपाली काँग्रेसले नियुक्त गरेका मान्छेलाई निकाल्ने काम ग¥यो । मुकुन्द पराजुली राससबाट निकालिनेमा परे । पुनः जनमञ्चमा प्रधानसम्पादक हुन आए । त्यसपछि जनमञ्चले सरकारको विरोधमा लेख छाप्न थाल्यो । उदाहरणका लागि २०५२ सालमा एमालेले गरेको मध्यावधि निर्वाचनको घोषणालाई सर्वोच्च अदालतले अवैध घोषणा गरेको बेला जनमञ्चले आप्mनो सम्पादकीयमा ‘साम्यवादी निरंकुशता लाद्ने अल्पसंख्यक सरकारको दुस्वप्न’, ‘काकतालीबस सत्तामा पुगेको कम्युनिष्ट सरकार’ ‘कम्युनिस्ट तानाशाही’, ‘विश्वमा सर्वत्र साम्यवादको जरो उखेलिँदै छ’ र ‘साम्यवादी निरंकुशता स्थापना गर्ने दुस्वप्न’ जस्ता शब्दावलीको प्रयोग गरेको थियो । सर्वोच्च अदालतको निर्णय नमान्ने र आन्दोलन गर्ने एमालेलाई अर्को एक सम्पादकीयमा ‘सत्ता गुमेको क्रोधमा रन्थनिएको एउटा हिंस्रक जत्था’ भनिएको छ । सम्पादकीयमा प्रयोग भएका यी शब्दहरुबाट जनमञ्चको पक्षधरता देखिन्छ ।
के जनमञ्च राजनीतिक पक्षधरता देखाउने पत्रिका नै थियो त ? माथिका विषयवस्तुको प्रस्तुति तथा त्यसको विवेचना हेर्दा त्यस्तो लाग्नसक्छ । तर त्यति मात्र होइन । जनमञ्चलाई म्यागेजिनको पूर्ण आकार दिन, सामान्य पाठकलाई पनि रूचिको पत्रिका बनाउन यसका गैरराजनीतिक विषयवस्तुको महत्वपूर्ण स्थान छ । पूर्ण म्यागेजिन बनाउन जनमञ्चमा साहित्य, रंगमञ्च, पर्यटन, पर्यावरण लगायत ४१ ओटा स्तम्भ थिए । यस्ता विषयवस्तु लेख्ने काम चाहिँ आन्तरिक जनशक्ति र बाह्य जनशक्तिबाट गरिएको थियो । त्यति बेला नाम चलेका थुप्रै लेखक तथा स्तम्भकारले जनमञ्चमा लेखेका छन् । अरु नै कामको शिलशिलामा काठमाडौँ बाहिर गएका बेला जनमञ्चको लागि बाहिरी लेखकहरुले केही रिपोर्टिङ गरेका छन् । यसले जनमञ्चको व्यावसायिकतालाई बोकेको छ । यसको अर्को प्रभावशाली पक्ष भनेको फोटोको प्रयोग थियो । जनमञ्च प्रकाशित हुँदाका फोटोग्राफर चन्द्रशेखर कार्कीका अनुसार अरु ट्याब्लोइडहरुले जनमञ्चको फोटो कटिङ गरेर छाप्थे । सुरूचि, प्रतिपक्ष, विमर्श साप्ताहिकले जनमञ्चका तस्बिरहरुलाई कटिङ गरेर प्रकाशन गर्थे । व्यावसायिकताको अर्को पाटो चाहिँ जनमञ्चले पत्रकारहरुलाई नियमित तलब दिने, आवश्यक परेको बेला पेश्की दिने गर्दथ्यो । जसले त्यतिबेलाका पत्रकारलाई आकर्षण गरेको थियो । रिपोर्टरहरुको तलब २०४७ सालको मध्यताका २२ सय देखि तीन हजार रूपैयाँ थियो । सोही समयमा सरकारी सेवामा काम गर्नेे शाखा अधिकृतको १४४० रूपैयाँ मासिक तलव थियो । यसबाट जनमञ्चले दिने पारिश्रमिक राम्रै थियो भन्न सकिन्छ । प्रकाशक किशोर सिलवालका अनुसार विज्ञापन भन्दा लगानीका भरमा पत्रिका चलेको थियो । विज्ञापनदाताले पैसाको सट्टा वस्तु प्रदान गर्थे । बियरको विज्ञापन छापेबापत कम्पनीले जनमञ्चको कार्यालयमा आधा वा एक कार्टुन बियर मात्रै ल्याइदिन्थ्यो । लगानीको भरमा मात्र टिकेको जनमञ्च २०५२ सालपछि ट््याब्लोइड साइजमा निस्कन थाल्यो । यसको संकेत पत्रिका आर्थिक रुपमा कमजोर स्थितिमा पुगेको अनुमान गर्न सकिन्छ । अनुभवी पत्रकारहरुले छोडेर कान्तिपुरमा जानु वा दैनिक पत्रिकाको आगमन पनि पत्रिका कमजोर हुनुको एउटा कारण थियो । जनमञ्चका सुरुवाती सम्वाददाता तारानाथ दाहालअनुसार लगानीकर्ताले लगानी त गरे तर लगानी बढाउन, विज्ञापन प्रवद्र्धनमा ध्यान नदिएकाले पनि पत्रिका सुरूदेखि नै स्वावलम्बी बन्ने प्रक्रियामा गएन । बरू यसले पत्रकारलाई मात्र समयमा तलब दिएर व्यावसायिकता नबढ्ने भन्ने पाठ सिकायो । जिवेन्द्र सिम्खडालाई प्रकाशक सिलवालले भनेअनुसार जम्माजम्मी दुई करोड नोक्सान सहेर पत्रिका २०५४ सालमा बन्द भएको थियो । उनले जिवेन्द्रलाई भनेका थिए रे, ‘हेर जिवेन्द्र, दुई करोडमा दुइ चारओटा कुर्सी र कम्प्युटर मात्र बाँकी छन्’ । अन्त्यमा दलगत साप्ताहिक पत्रिका निस्किरहेको समयलाई पन्छाउँदै यसले निजी क्षेत्रबाट व्यावसायिक पत्रकारिताको प्रारम्भ ग¥यो । कुनै खास दलमा आबद्ध रहेका वा मिसन पत्रकारिता गरिरहेका व्यक्तिलाई व्यावसायिक पत्रकारमा रुपान्तर गर्न भूमिका निर्वाह गर्‌यो । निस्कँदै गरेको दैनिक पत्रिकाको निम्ति एक जमात पत्रकार उत्पादन ग¥यो । निजी क्षेत्रमा काम गरिरहेका पत्रकारहरुलाई समयमा तलब दिने, बाहिरी पत्रकारलाई पनि पारिश्रमिकसहित लेख्न प्रोत्साहन गर्ने काम ग¥यो । खोजी रिपोर्टिङ, फलोअप रिपोर्टिङ, फोटोपत्रकारलाई छुट्टै तलब दिएर राख्नु आदि संकेतका आधारमा यसले व्यावसायिकताको सुरूआत गरेको हो । तर जनमञ्च दलगत गुटबाट मुक्त हुन सकेन । पार्टीगत त्यसमा पनि गुटको प्रभाव जनमञ्चमा देखिन्छ । जसले गर्दा केही सम्पादकहरुले राजनीतिक नियुक्तिका निम्ति लेखहरु लेखेर सरकारी जागिर खाने दाउमा गए । प्रकाशकीय समूहको मूल व्यवसाय नै पत्रिका प्रकाशन नहुँदा पत्रिकाको स्वावलम्बी बन्ने प्रक्रिया नै कमजोर भयो । व्यावसायिक पक्ष र अन्तर्वस्तु कमजोर हुँदै गयो । यसरी बलियो लगानीको पाटो पनि अन्ततः ट्याब्लोइड हुँदै बन्द भयो । 

 –मार्टिन चौतारीबाट प्रकाशित नेपाली म्यागेजिनका २५ वर्ष पुस्तकमा प्रकाशित लेखको छोटो रुप हो