Saturday, July 9, 2022

स्कुल खोल्ने त्यो दौडधुप

 द्वितिय विश्वयुद्ध (विसं १९९६–२००२) पछि अंग्रेजहरू बेलायत फर्कने पक्कापक्कीजस्तै थियो । त्योबेला भारत र नेपालमा जागरणका लहरहरू देखिन थालेका थिए । फलस्वरूप त्यसबखतको नेपालमा थोरैथोरै उज्यालो हुँदै गएको थियो । प्रजातन्त्रको मिर्मिरे हुँदै थियो । त्यो प्रभातीय समयमा विश्वयुद्धबाट फर्केका, शिक्षित र जागरुक युवकहरूले काठमाडौंको टुँडिखेल, चौर वा देवालयमा भेटिएर राजनीतिक, सामाजिक गफगाफ गर्ने, ‘गफ मण्डली’ बनाउँदै थिए । र, यही बेला विभिन्न संघ, संस्था र स्कुल खोल्नेबारे विमर्श गर्न थालिएको थियो ।




काठमाडौँ, भक्तपुर र ललितपुरको टोल टोलका घर–दलानमा यही समयमा विभिन्न नामले स्कुल पाठशालाहरू खोलिएको थियो । द्वितीय विश्वयुद्ध समाप्त भएपछिको सन्दर्भमा र विसं २००७ मा प्रजातन्त्र घोषणा हुनुअघि–पछिको समयमा खोलिएका पब्लिक स्कुलहरूको विवरणात्मक कथालाई यस लेखमा एकत्र पारिएको छ ।





हुन त पब्लिक स्कुल भनेर चैत २६, १९९५ मा काठमाडौंमा जुद्धोदय पब्लिक हाइस्कुल खोलिएको थियो । यो नै पहिलो पब्लिक स्कुल थियो । विसं १९९३ मा भूमिगत रूपमा खुलेको नेपाल प्रजा परिषद्ले प्रजातन्त्र ल्याउन चर्काएको आन्दोलनको प्रभावलाई राणाहरूले पन्छाउन नसकी काठमाडौं र तराईतिर एक–दुई पब्लिक हाइस्कुल खोल्न दिन करै लागेको थियो । किनभने आन्दोलन चर्काउन सक्ने युवकहरूलाई स्कुलमा भर्ना गरेर आन्दोलनको वेग कम गर्न सकिने सोच राज्यका प्रबन्धकहरूसँग रहेको हुन सक्छ । कुनै बखत जेपी स्कुलमा हेडमास्टर रहेका रामजीप्रसाद अर्याल लेख्छन्, ‘पब्लिक स्कुल खोल्न दिन कर लाग्यो भन्ने कुरा चैत २६ गते शुक्रबार जुद्धोदय पब्लिक हाइस्कुल खोल्नु र चैत २९ गते सोमबार मात्र शिक्षाको इस्तिहारमा


खड्गनिशाना हुनुले प्रत्यक्ष गराउँछ ।’ यहाँ उल्लिखित शिक्षाको इस्तिहार कानुनी मान्यताप्राप्त पहिलो शिक्षा–विधान थियो । यसले नै पब्लिक स्कुल खोल्न र सञ्चालन गर्न पाउने अधिकार दिएको थियो । यो इस्तिहारले १९९६ सालपछि जनतामा शैक्षिक संस्थाहरू पनि खोल्न पाइन्छ भन्ने चेतना ल्यायो । तैपनि अल्लि खुला भएर स्कुल खोल्न सकिएको थिएन, त्यसका लागि द्वितीय विश्वयुद्ध पछिको समय (२००३/२००४ साल) सम्म कुर्नुपर्‍यो । त्यसपछि भने तत्कालीन सत्ताका प्रबन्धकसँग ‘स्कुल राख्न पाउँ’ भनी बिन्ती हाल्ने क्रम बढेको थियो ।


आखिरी राणाकालीन शिक्षा विभागको पाठशाला बन्दोबस्त अंग्रेजी फाँटका कर्मचारी राममान प्रधान काठमाडौं हनुमानढोकाबाट केही उत्तरमा रहेको प्रभात स्कुल (स्थापना २००७ साल) को एक स्मारिकामा लेख्छन्, ‘कर्मचारी भएको नाताले जिल्ला जिल्ला गई सहर टोलटोलमा खोलिएका स्कुलको रिपोर्ट रोजरोजै आएको देख्न पाउने सौभाग्य मैले पाएको थिएँ ।’ यो २००७ सालमा प्रजातन्त्र आउनु केहीअघिको कुरा हो । यसै क्रममा राममान प्रधान र उनका साथीहरूलाई पनि स्कुल खोल्न मन लागेकाले अरू शिक्षित वर्गको सल्लाहमा हनुमानढोकाबाट उत्तरमा पर्ने नघल टोलमा प्रजातन्त्र आउनु महिना दिनअघि प्रभात स्कुल खोलिएको थियो । प्रजातन्त्रको प्रातःकालमा खोलिएकाले यसको नाम पनि ‘प्रभात’ राखिएको हुन सक्छ ।



यो समयमा त्रिचन्द्र कलेज पढिरहेका युवकहरूले दरबार नजिक रहेर काम गर्ने ‘हजुरियाहरू’ लाई अघि सारेर वा माध्यम बनाएर स्कुल खोल्न तम्सिएका हुन्थे । दरबार निकटका मानिसहरूले स्कुल खोल्न निवेदन दिएपछि तत्कालीन सत्तापतिबाट ‘चिनेकै मानिसका छोरा रहेछौ राम्ररी काम गर्नु, बरु कुन ठाउँमा के कसरी खोल्छौ ?’ भन्दै उनीहरूलाई सोधनी गर्थे । यो कुरा रामजीप्रसाद अर्यालले आफ्नो संस्मरणमा लेखेका छन् । चिनेजानेका मानिसहरूलाई काखी च्याप्ने प्रवृत्तिले अरूहरूले स्कुल खोले पनि सञ्चालन गर्न कठिनाइ पर्न सक्ने सहजै अनुमान गर्न सकिन्छ ।


त्यसैले चिनेका मानिसहरूले स्कुल खोल्ने प्रक्रिया पूरा गर्न शासकसमक्ष निवेदन दिने र शासकहरूकै नाममा स्कुलको नाम राखिदिने भनेर ‘दौडधुप’ चलिरहेको हुन्थ्यो । त्यो बेला ‘चिनेका’ मानिसहरूले खोलेको स्कुललाई शासक वर्गले चन्दा र जग्गा दिएर उन्नति गराइएका पनि छन् । जस्तो २००४ सालमा काठमाडौं नगरपालिकाको चुनाव गराएर शंकरदेव पन्त त्यसको अध्यक्ष बनेपछि उनले पुतलीसडकको दायाँ–बायाँका जमिनहरू ब्लक–ब्लक बनाएर बिक्री गर्न थालेका थिए । यो थाहा पाएर पद्मोदय नामबाट स्कुलका लागि स्वीकृति पाएका ईश्वरराज अर्याललगायत सात जना व्यक्तिहरू त्यतिबेलाका श्री ३ महाराज पद्मशमशेर बस्ने ठाउँ विशालनगर गई ‘स्कुललाई घर बनाउने जग्गा पाऊँ’ भन्दै बिन्ती गरेका थिए । यद्यपि यो स्कुलको प्रस्तावित नामचाहिँ ‘नेपाल हाइस्कुल’ थियो । यस स्कुलले त्यो बेला पानी जमेको एक गहिरो खाल्डो पाएको थियो, जसमा अहिलेको पद्मोदय स्कुलको अधिकांश भाग खडा भएको छ । यसरी शासकको नाम र निगाहबाट केही स्कुलले त्यो बेला जमिन पाएका थिए, तर सबै स्कुलको हकमा यो लागू हुँदैनथ्यो ।


‘नवजागरणका लहरहरू उर्लिरहेको’ त्यो बेलामा अन्य गैर–हजुरियाहरू, शिक्षित युवकहरू पनि स्कुल खोल्न सक्रिय थिए । प्रजातन्त्र ल्याउने क्रान्तितिर झुकाव भएकाहरूले सरकारी गुप्तचरसँग लुकीलुकी घर घरमा स्कुल खोलेको बुझिन्छ । प्रभात स्कुलका दिव्यरत्न तुलाधरका अनुसार, टोलैपिच्छे खोलिएका स्कुलहरू ‘प्रकटमा आउन उकुसमुकुस थिए, कतिपयले त स्वीकृति पाउन दरखास्त दिई पर्खेका थिए ।’ स्वतन्त्रता पर्खेर बसेका उनीहरूले प्रजातन्त्र आउला अनि केही त होला भन्ने आशा राखेको बुझिन्छ ।


एउटै टोलमा धेरै स्कुल खोलिएकाले त्यसलाई मिलान गरी नयाँ स्कुल खोल्ने अभ्यास पनि त्यति बेला गरिएको थियो । जस्तो काठमाडौंको हनुमानढोकाभन्दा उत्तरमा रहेका न्हैकन्तला, नघल, किलाघल र भेँडासिंका विभिन्न घर, चोकमा ‘जागरुक नवयुवकहरूले’ चलाएका स्कुललाई एकीकृत गरी २००२ सालमा शान्तिनिकुञ्ज स्कुल खोलिएको थियो । शान्तिनिकुञ्जका शिक्षकहरू प्रजातन्त्र ल्याउन क्रान्तिमा लागेकाले यसलाई मानिसहरूले ‘क्रान्तिनिकुञ्ज’ पनि भन्थे । २००७ सालको क्रान्तिमा सहयोगी बनेका यसप्रकारका स्कुलहरूको राजनीतिक पृष्ठभूमिले गर्दा तत्कालै शासकबाट चन्दा र भूमि निगाह पाउने सम्भावना थिएन । तैपनि प्रजातन्त्रोत्तर समयमा केही पाइएला कि भन्ने आशा यिनीहरूमा थियो ।


क्रान्तिपूर्वको समयमा विभिन्न ठाउँमा खोलिएका नयाँ संस्थाको सम्पत्तिको रूपमा आफ्नै घर जमिन हुने कुरा दुर्लभ थियो । स्कुल खोल्न जाँगर देखाउनेहरूले उनकै घर, छिँडी, चोटामा स्कुल खोलेका थिए । उनीहरू आफैं धसिएर पढाउँथे वा निःशुल्क पढाइदिने मास्टर खोजिन्थ्यो । त्यतिबेला उनीहरूको सार्वजनिक सम्पत्तिमा पहुँच पनि थिएन र अर्थाभाव थियो । प्रजातन्त्र घोषणा नभएको, तर मिर्मिरेको समयमा पनि विद्यार्थीको संख्या बढ्दै जाँदा इष्टमित्रका घर, व्यायामशाला, १९९० सालमा भूकम्प गएपछि बनाइएका टहरा, साहुका घर, घर नजिकैका पाटी, मन्दिरको भजनपाटी, पौवा, मन्दिरका पेटी, बौद्ध विहारको दलान, शासक परिवारका घर, बयलखाना वा घोडातबेला, आदिमा घुम्दै फिर्दै स्कुल चलेका देखिन्छन् । त्यो बेला स्कुलका लागि जग्गाको खोजी त हुन्थ्यो तापनि धेरै स्कुलले जमिन पाउन सकेका थिएनन् । निगाहाबिना जग्गा पाइन्नथ्यो । यस्तो अर्थाभावको समयमा पायक परेको ठाउँमा जग्गा किन्न सक्दैनथे, जग्गा माग्नु र भाडामा बस्नुको विकल्प थिएन ।


प्रजातन्त्रको घोषणा भएपछि स्कुलहरू पनि प्रकटमा आए । विद्यार्थी संख्या पनि पहिलेभन्दा ह्वात्तै बढ्यो । त्यसपछि आफ्नो घर छिँडीमा पढाइरहेका मानिसहरूले स्कुलका लागि जग्गा खोज्न र स्थायी घर खोज्न थाले । त्यो बेला धेरै जग्गाहरूको स्वामित्व शासक परिवार, साहु र जमिनदारसँग हुने हुनाले संघसंस्था खोल्ने ‘उत्साही’, ‘सक्रिय’ वा ‘होनाहार’ वा ‘जागरुक युवकहरूले’ आफू नजिक रहेका भूस्वामीहरूसँग संस्थाका लागि विनयपूर्वक जग्गा र पैसा माग्दै गए । घर, भजनपाटी इत्यादिले थाम्न नसकेपछि नजिकै रहेका सार्वजनिक जग्गामा फोहोर र घाँसका झाडी सफा गर्दै स्कुलका लागि भूमि तयार गरिँदै गयो । त्यसपछि संस्थापकहरूले एकअर्कासँग पैसा उठाएर घरटहरा बनाएका पनि उदाहरण छन् । जस्तो, हनुमानढोकाबाट उत्तरमा रहेको न्ह्योखाको कन्या मन्दिर स्कुलका नारायणबहादुर श्रेष्ठ स्कुलको एक स्मारिकामा लेख्छन्, ‘छिँडीबाट २०१० सालमा इखापोखरीको मैदानमा सर्दो फोहोरमैलाहरू सफा गरी त्यहीँ पढाउन थालियो । केही समयपछि आआफ्नो गहनाहरू बेचबिखन गरेर सानो टहरो बनायौँ ।’


प्रजातन्त्र आएपछिको समयमा स्कुलहरूले बिनासंकोच खुलेरै जमिन माग्न थाले । यसका लागि पूर्वराणा शासकहरूले प्रयोग गरेर छाडेका जमिनहरू धेरैको आँखामा पर्दै गए । जस्तो राणाकालीन समयमा विभिन्न दरबार बनाउन इँटा, काठ ओसार्न चाहिने राँगाहरू राख्ने ठाउँ, जसलाई ‘बयलखाना’ भनेर चिनिन्थ्यो । राणा शासनको अवसानपछि ती ‘बयलखाना’ निष्क्रिय हुँदै गएका थिए । त्यसैगरी तिनै गाडा तान्ने राँगाहरू डुबुल्की मार्ने आहालपोखरी पनि खाली हुँदै गए । इँटागोदाम, काठगोदाम पनि खाली हुँदै गए । हात्तिसार, सिकारी कुकुर राख्ने कुत्ताखाना आदि ठाउँ खाली हुँदै गए । जहाँजहाँ ठाउँ खाली हुँदै गए वा निष्क्रिय भए तिनलाई अर्को ठाउँमा सारेर नयाँ खुलेका शिक्षालयका लागि जग्गा माग्ने र पाउने क्रम चलिरह्यो ।


अहिले लैनचौरमा भएको स्कुल शान्ति विद्यागृह (शान्तिनिकुञ्ज होइन) ले २००८ सालमा बयलखाना भएको ठाउँ पाएको थियो । ती बयलखानामा रहने राँगाहरूले राणा दरबारका लागि काठका मुढा ओसार्ने काम गर्थे । लैनचौरको बयलखाना नजिकै काठ गोदाम पनि थियो । शान्ति विद्यागृहको एक स्मारिकामा छत्रविक्रम शाहले लेखेअनुसार, त्यो गोदामको केही जमिन र बयलखानाका राँगाहरू डुबुल्की मार्ने आहाल पोखरी अमृत साइन्स कलेजले मागेर पाएको थियो । लैनचौरकै शान्ति विद्यागृहमा विद्यार्थीको चाप बढ्दै जाँदा स्कुल पछाडिको जग्गा, जहाँ ‘सिकारी कुकुर राख्ने कुत्ताखाना’ थियो, त्यो जग्गा तत्कालीन नेपाली सेनाका जर्नेल श्री रङ्गविक्रम शाहको सहयोगमा २०१३ सालमा सो स्कुलले पाएको थियो । यी बयलखाना र आहाल पोखरी, कुत्ताखाना राणाहरूको शासन सकिएपछि ‘निष्क्रिय’ भएका थिए, जुन प्रजातन्त्रोत्तर समयमा खोलिएका विभिन्न संस्थाले मागेर पाएका थिए ।


राणा शासक परिवारसँग नजिक नहुने कतिपय मानिसहरूले आफ्नो टोलका साहुहरूलाई गुहारेर स्कुलका लागि जग्गा मागेका छन् । हनुमानढोकाबाट उत्तरमा रहेको नघल टोलको बौद्ध विहार नजिकै रहेको प्रभात मावि (स्थापना २००७) लाई साहु मानकाजी शाक्यले २०१६ सालमा ४ आना जग्गा दिएका थिए, २०२८ सालमा थप ४ आना किनिएको थियो । नघलका शाक्य बन्धुहरू र न्ह्योखा टोलका मानन्धर परिवारले गर्दा ‘स्कुलले बास’ पाएको थियो र त्यसपछि स्कुल ‘डेरा सराइको दुःखबाट मुक्त’ भएको थियो । प्रभात माविका प्रधानाध्यापक विद्यानन्द बज्राचार्य लेख्छन्, ‘साहु मानकाजी शाक्यज्यूले विद्यालयलाई जग्गा प्रदान गर्नुभएबाट सास फेर्न सजिलो भएजस्तो महसुस गरियो ।’


यस्तो मुक्तिको कथा अरू स्कुलको सन्दर्भमा पनि लागू हुन्छ । भुवनलाल प्रधान र विश्वरामभक्त माथेमाका अनुसार, २००२ सालमा खोलिएको शान्तिनिकुञ्ज स्कुललाई गणेशमान सिंहको अनुरोधमा तत्कालीन राजा त्रिभुवन शाहबाट २००९ सालमा मरुहिटीमुनि भगवतीबारीमा १७ रोपनी जग्गा ‘निगाह’ भएको थियो । स्कुलको स्मारिकामा शेषराज दलीले उल्लेख गरेअनुसार, गणेशमानकै अनुरोधमा भारतीय दूतावासबाट आर्थिक सहयोग पाएपछि शान्तिनिकुञ्जले एकतले घर बनाएको थियो । टहरो बनाएपछि २०१० मा शान्तिनिकुञ्ज स्कुल खुला ठाउँमा बस्न गयो । यस स्कुलले २०१० सालमा चौर पाएपछि काँचो इँटा र बाँसले बारबेर गरेर टहरो पनि बनाएको थियो । त्यो बेला शान्तिनिकुञ्जका एक विद्यार्थी साफल्य अमात्य सम्झन्छन्, ‘२०१० सालको कुरो हो । हाम्रो स्कुल मरुहिटी भगवतीबारीको ठूलो फाँटमा सर्‍यो । निकै ठूलो र खेल्नलाई पनि मनग्गे ठाउँ पुग्ने हुनाले हामी विद्यार्थीहरू पनि साह्रै रमाएका थियौँ ।’


द्वितीय विश्वयुद्धपछिको प्रभातीय समयमा खोलिएका पब्लिक स्कुलहरूले सुरुसुरुमा डेरा सरिरहनुपर्ने गरी अस्थायी जीवन बिताइरहेका थिए । प्रजातन्त्र आएपछि विद्यार्थी संख्या बढ्दै गएको हुनाले स्कुलहरू आफैं तत्काल चलिरहेको ठाउँभन्दा पर पुगेर भए पनि उनीहरूले घर–जग्गाको व्यवस्थापन गरी स्थायित्व दिन खोजेजस्तो देखिन्छ । त्योबेला धेरै स्कुलसँग जमिन थिएन र भएकासँग पनि प्रशस्त जमिन थिएन, यद्यपि घरेलु स्कुलले जमिन पाउन थालेको मूलतः २००२ सालपछिको समयमा हो ।


२००७ सालवरिपरि टोलटोलमा बग्रेल्ती खोलिएका यी घरेलु स्कुल प्रजातन्त्र आएपछि अँध्यारो कोठाबाट खुला ठाउँमा आएको र ‘सास फेर्न सजिलो भएजस्तो’ महसुस गरेको भने पनि केही स्कुलहरू साँघुरो ठाउँमै चलिरहेका थिए । त्यो प्रभातीय बेलाका केही पब्लिक स्कुलहरूले जसरीतसरी पाएका ती जमिनहरू कालान्तरमा कसरी र केका लागि प्रयोग भइरहेका होलान् ? यो प्रश्न सोचनीय छ ।


यो लेख असार २५, २०७९ मा कान्तिपुर कोसेली (ख पृष्ठ) मा प्रकाशन भएको थियो । यसको लिङ्क यहाँ पाइन्छ ।

‘कामीका गुरु’

 २०१५ सालमा अर्घाखाँचीको खिदिम गाउँमा श्रीराम मिडिल स्कुल खोलियो। यो साधारण स्कुलमा दलित समुदायलाई शिक्षा दिनुपर्छ भन्ने आवाज केही बाहुन युवाले उठाए। यो स्कुल नजिकै राणाकालदेखि चलिआएको हरिहर संस्कृत पाठशाला थियो। यो पाठशालामा पढिरहेका बेला कोही दलित देखिए पढाइ ठप्पै रोकिन्थ्यो र दलितले नेटो काटेपछि मात्र पढ्न सुरु हुन्थ्यो।


संस्कृत पाठशालाका गुरु–चेलालाई सामुन्नेको स्कुलमा उठेको आवाजले उद्वेलित बनाउने नै भयो। दलितलाई पढाउनुपर्छ भन्ने आवाज हाँकजस्तै सुनियो। पाठशालाका तर्पmबाट विरोधको स्वर उठ्यो— कामी–दमैलाई पढाउन पाइँदैन।


प्रतिरोधको स्वर साधारण स्कुलका तर्फबाट पनि सुनियो— प्रजातन्त्र आएको छ, किन नपाउने ?


दलितलाई पढाउने तर्फको नेतृत्व श्रीराम स्कुलका शिक्षक नारायण गौतमले गरे। उनलाई साथ दिन तत्कालीन क्रान्तिकारी केही कांग्रेसी अघि सरे।


दलितलाई पढाउने काम रोक्न संस्कृत पाठशालाका तर्फबाट पर्चाबाजी, घुर्की र धर्मसभासमेत गरियो।


गाउँमा खैलाबैला मच्चियो। सामाजिक विद्रोहको नेतृत्व गरेका साधारण स्कुलका नारायण गौतमलाई पुरातनवादीहरूले ‘कामीका गुरु’ भने। दलित समुदायलाई पढाएको भनेर सामाजिक बहिष्कारसमेत गरे।


०००


यो लेख २०१५ सालमा दलित समुदायलाई शिक्षा दिनुपर्छ भन्ने चेतना खिदिम गाउँका केही बाहुनमा कसरी आयो ? उनीहरूको समूहले किन र कसरी संघर्ष गरे ? र यो आन्दोलनले दलित समुदायमा कस्तो असर पर्‍यो भन्ने प्रश्नमा केन्द्रित छ। नारायण गौतमको स्वजीवनी, उनको स्मृतिग्रन्थमा समेटिएका लेख तथा केही कुराकानीका आधारमा यो लेख तयार पारिएको छ।


जग


वनारस र काठमाडौंबाट संस्कृत शिक्षा लिएका विद्यार्थीले १९७० सालदेखि नै खिदिम गाउँमा संस्कृत पढाउन थालेका हुन्। उच्च अध्ययनका लागि खिदिमका युवाहरू वनारस या काठमाडौंमा आउनेजाने क्रम मध्य राणाकालमै चलिरहेको थियो। चलायमान युवाहरूमा शैक्षिक मात्र हैन, क्रान्तिकारी चेतना अंकुराइरहेको थियो।


यस क्रममा यहाँका युवाहरू २००४ सालको जयतु संस्कृतम् आन्दोलनमा समेत सहभागी भएका थिए। अझ वनारस जाँदा उनीहरूको सम्बन्ध प्रवासी नेपाली परिवर्तनकारी शक्तिसँग हुन्थ्यो। यस आधारमा २००७ सालको परिवर्तनमा समेत खिदिमको हरिहर संस्कृत पाठशालामा पढेका युवाहरूको महत्त्वपूर्ण भूमिका थियो।


२००७ सालको प्रजातान्त्रिक वातावरणपछि चलायमान युवाहरूमा अझ केही गरौं भन्ने जोस पलायो। खिदिममा मात्र हैन, देशभरि नै एकखाले परिवर्तन गर्ने आशयका सामाजिक झिल्काहरू देखिएका थिए। कास्कीमा मुक्तिनाथले २०११ सालमा ‘को अछूत ? ’ किताब लेखे। सामाजिक स्थिति खल्बल्याउने भन्दै यो पुस्तकलाई अघोषित प्रतिबन्धसमेत लगाइयो।


अर्घाखाँचीतिर बाहुन पुरुषहरूले मात्रै होइन, बाहुन महिलाले समेत हलो जोते। हलो जोत्नेलाई सामाजिक बहिष्कार गरियो। संस्कृत पाठशालामा पढ्न दिइएन। यस्ता झिल्काहरू अरू पनि हुन सक्छन्। नेपाली समाजमा २००७ सालपछिको समयमा सुधारवादी र पुरातनवादीबीच क्षणिक संघर्ष चलेका घटना पढ्न या सुन्न अरू पनि पाइन्छ।


यही सन्दर्भमा २०१५ सालमा अर्घाखाँचीको खिदिम गाउँमा संस्कृत पाठशालामा पढेका एक बाहुन ‘कामीका गुरु’ बने।


सुधारवादी र पुरातनपन्थी


खिदिम गाउँमा २०११ सालतिर खुलेको अनौपचारिक स्कुलले २०१५ सालमा औपचारिक रूपमा श्रीराम मिडिल स्कुल नाम पायो। अंग्रेजी, गणित, भूगोल, इतिहास लगायतका विषय पढाउन थालियो। यसले परम्परागत संस्कृत शिक्षामा चुनौती थपेको थियो। त्यसैमा कामी, दमाई, सार्कीका छोराछोरीलाई पढाउने कुरा उठाउनु औडाहा नै बनेको थियो, संस्कृत स्कुलका लागि।


खासगरी काशीनाथ गौतमलगायत नेपाली कांग्रेसका स्थानीय नेताहरूले दलित शिक्षाको समर्थन गरे। परिवर्तनकारी पार्टीबाट आडभरोसा पाएका श्रीराम स्कुलका शिक्षक नारायण गौतमलगायतका शिक्षक यस काममा हौसिए।


श्रीराम स्कुलमा दलित विद्यार्थीलाई बाहुनका छोराछोरीभन्दा छुट्टै राखेर पढाउन थालिएको थियो। मोदनाथ प्रश्रित लेख्छन्, ‘हरिहर संस्कृत पाठशालामा छात्रहरूले लस्कर लागेर वेद घन्काइरहेको बेला बाहिर बाटोमा दलित समुदायको कोही मानिस आएको देखेमा वेदवाको अगुवाले ठ्याप्प ताली हान्थ्यो र सबै विद्यार्थी चूप लाग्थे।’


यस विषयमा खिदिमका भुवनबहादुर सुनारले भने, ‘हामी नेटो नकाटुन्जेल पढ्दैनथे, चुप्प लाएर बस्थे।’


त्यो बेला बाहुनले वेद पढेको ‘अछूत’ शूद्रहरूले सुन्नसमेत हुन्न भन्ने संस्कृत गुरुहरूको धारणा थियो।


संस्कृतका गुरुहरूले यो घटनालाई लिएर ‘धर्मको महाविनाश हुन लागेको, कलियुगको प्रभाव बढेको, समाजका सबै रीतिथिति समाप्त भई पाप र पाखण्डको नांगो नाच हुन थालेको भन्दै आक्रोश पोख्न थाल्नुभयो,’ मोदनाथ प्रश्रितले लेखेका छन्।


यसै क्रममा नारायण गौतमले गाउँका आफ्ना असाध्यै मिल्ने बालसखा लालबहादुर सुनारका घरमा गई कर्मकाण्डसमेत पढाउन थाले। नारायणले उबेला दलित समुदायका घरमा गएर र बालबालिकालाई डेरामा साँझबिहान बोलाएर पढाएका थिए भनिन्छ। कसैले भने यस कुरामा शंका गर्छन्।


पुरातन चलनमा बाहुनले क्षत्री, क्षत्रीले मगर र मगरले दलितलाई कर्मकाण्ड सिकाउन पाउँथे। तर बाहुनले सीधै दलितलाई कर्मकाण्ड सिकाएको सुनेपछि हरिहर संस्कृत पाठशालाका गुरुहरूमा चिसो पस्यो।


२०१५ मंसिरको कुरा हो, मिडिल स्कुल खोलेलगत्तै केही दिनका लागि स्कुल बन्द गरियो। कारण सहअध्यापक नारायण गौतम कामविशेषले गुल्मीको सदरमुकाम तम्घास गएको र अरू शिक्षक पनि उपचारका लागि पाल्पा तानसेन गएको बेला थियो। त्यही मौकामा संस्कृत पाठशालाका गुरुहरूले दलित शिक्षाको विरोधमा पर्चाबाजी गर्न थाले। नारायण गौतम आफ्नो स्वजीवनीमा लेख्छन्, ‘हरिजन शिक्षा विरोधीहरूले हरिजनलाई पढाउन नहुने भन्दै हामीविरुद्ध सूचना टाँसेका रहेछन्।’


मोदनाथ प्रश्रितको संकलनमा रहेको एउटा सूचना यस्तो छ :


सूचना !


खिदिमका जनता हो ! विचार गर ! हरिजनसँग मिसाई पढाउन छोराछोरी नपठाऊ। जनता धेरै भड्किसकेको छ, विरोध गर्न धेरै संगठित भइसकेको छ ! पछि पछुताउला, हलो जोतेजस्तो होला ! सावधान रहू ! अब जनताले अर्को पार्टी खोल्ने छ ! एकदम सावधान रहू जाग !


०००


२००८ सालतिर हलो जोत्दा सामाजिक बहिष्कार र संस्कृत पाठशालामा पढ्न बन्देज लगाइएको थियो। २०१५ सालताका खिदिममा सामाजिक र राजनीतिक दुवै सन्दर्भ बलिया थिए। २००७ सालको क्रान्तिमा होमिएका काशीनाथ गौतमलगायत नेपाली कांग्रेससँग आबद्ध क्रान्तिकारी नेताहरूको समूह एकातिर थियो। उनीहरूमध्ये कसैले क्रान्तिकारी कदम चाल्दा संस्कृतवालासँग बहिष्कृत हुनुपथ्र्याे। तर प्रजातान्त्रिक वातावरणले गर्दा मनोबलचाहिँ उच्च थियो।


अर्कोतिर संस्कृत पाठशालाका पण्डितहरूले परम्परागत कुललाई थामिरहेका थिए। मोदनाथ प्रश्रित तलगायत संस्कृत पाठशालाका छात्रहरूले पुरातन पक्षमा समर्थन जनाइरहेका थिए। यसरी खिदिम गाउँमा दुईखाले परिवेशले काम गरिरहेको थियो। सुधारवादी राजनीतिक धार र परम्परावादी सामाजिक धार।


धर्मसभा : द्वन्द्वको चरमोत्कर्ष


दुवै धारको संघर्ष चरम हुन थालेपछि २०१५ पुस २ गते हरिहर संस्कृत पाठशालाको आँगनमा धर्मसभा बस्यो। आठ नौ वर्षको उमेरमा देखेको त्यो धर्मसभा सम्झँदै माधवराज गौतम नारायण गौतमको स्मृतिग्रन्थमा लेख्छन्, ‘बाँसको ठूलो लिङ्गोमा पहेंलो कपडामा ‘सनातन धर्मो विजयते’ भन्ने मूलमन्त्र र ओम चिन्ह अङ्कित धर्मसभाको झण्डा राखी, एकातिर गुरुहरू र उहाँका तत्कालीन विद्यार्थी शिष्यहरू एवं अर्कोतर्फ उहाँका पूर्वशिष्य, दलित शिक्षाका उन्नायक पण्डित नारायण गौतमबीच कविता र भाषणको माध्यमबाट वादविवाद भयो।’


धर्मसभामा उपस्थितमध्ये दलितलाई पढाउनुहुन्छ भन्ने धारका बौद्धिकहरू खेती स्याहार्न मधेस गएको बेला थियो। तैपनि उनलाई साथ दिनेमा खेमराज गौतम, भानुभक्त गौतम, नागेन्द्रनाथ गौतम र लालबहादुर सुनारलगायत केही दलित समुदायका मान्छे थिए। अर्कोतिर खिदिमबाहेक अर्घाखाँचीका अरू गाउँ र गुल्मी, स्याङ्जा, कास्की, पोखरा, पाल्पा, प्यूठान, दाङका पण्डित पुरोहितसमेत धर्मसभामा बोलाइएका थिए।


निर्णायक मण्डल पनि थियो। तर नारायण गौतमको विरोधका मान्छेहरू त्यहाँ धेरै थिए। पं. बाबुराम भट्टराईले, त्यस धार्मिक वादविवाद सुन्न कम्तीमा पाँचसात सय मानिसको त्यहाँ भेला थियो, भनेका छन्। त्यस सभामा केही पुरोहितहरूले, ‘हामी बरु मर्न तयार छौं तर यसरी आफ्नो धर्म र परम्परा मासिएको देख्न सक्तैनौं’ भने।


केही पुरोहितले धर्मशास्त्रका उद्धरण सुनाएर दलित शिक्षा विरोधका लागि आह्वान गरे। मोदनाथ प्रश्रितहरू परम्पराकै पक्षमा थिए। उनीहरूले आफ्ना गुरुले भनेको कुरामा जोडदार समर्थन गरे।


त्यसपछि श्रीराम मिडिल स्कुलका शिक्षकलाई बोल्न लगाइयो। उनीहरूले ‘समयको माग बुझ्नुपर्ने’ भने। शिक्षा पाउनु सबै नेपालीको मौलिक अधिकार हो भन्दै पुरोहितका पक्षमा लागेनन्। अल्पउपस्थिति भए पनि नारायण गौतमले पनि शास्त्रीय विद्वता छाँटेको कुरा स्वजीवनीमा लेखेका छन्।


महाभारतको प्रसंग सुनाउँदै धर्मसभामा नारायणले भने, ‘शूद्र जातिको बालक एकलव्यले पनि द्रोणाचार्यलाई गुरु थापेर धनुर्विद्या सिक्न चाह्यो, उनी गुरु बन्न तयार भएनन्। त्यसपछि उनको मूर्ति बनाएर एक्लै धनुर्विद्याको साधना एकलव्यले गर्‍यो। यो अर्जुनभन्दा धनुर्विद्यामा बढी जान्ने भयो भन्ने ठानेर एकलव्यसामु गएर द्रोणाचार्य गुरु बन्न तयार भए।’


आफ्नो स्वार्थका लागि द्रोणाचार्य शूद्रको गुरु भएको तर्क नारायणप्रसादले दिँदै, ‘आफूले गरेको कामप्रति गौरव छ, त्यस कार्यबाट हामी पछि हट्दैनौं’ भनेर प्रतिवाद गरेपछि संस्कृतका गुरुहरू र त्यहाँ पढ्ने विद्यार्थी मुर्मुरिए।


दिनभर बहस भयो।


अन्त्यमा, ‘चिन्तनले होइन, ह्याकुलाले पेलेर जितेको घोषणा गरियो। ६ महिनासम्म नारायण गौतमलाई ब्राह्मण समाजले सामाजिक बहिष्कार गर्ने घोषणा गर्दै सभा विसर्जन भयो।’ पं बाबुराम भट्टराईले ‘नेपालका ज्योतिर्बा फुलेः नारायण गौतम’ शीर्षक लेखमा लेखेका छन्।


सामाजिक बहिष्कारस्वरूप नारायणलाई मूलतः श्राद्ध गर्न रोकिएको थियो। अर्कोतर्पm गाउँमा ‘कामीका गुरु’ भनेर बयान पैmलाइएको थियो।


संस्कृत पाठशालाका तर्पmबाट मोदनाथ प्रश्रितले धर्मसभा हुने राति ‘ श्री सनातन धर्मो विजयते’ भन्ने छन्दोबद्ध पर्चा लेखेर त्यहाँको दसैं–घरमा टाँसिदिए। त्यसको एउटा अंश यस्तो थियो :


हे हाम्रा प्रिय देशका सुजन हो ! हे भाइ हो ! दाजु हो !


आफ्नो धर्ममहाँ त लात दिइने के चाल यस्तो भयो !


हामी चूप भई बस्याँै अब भने सर्वस्व हाम्रो भयो


यस्मा ध्यान दिएर लौ अब उठौं नेपाली सन्तान हो !


नारायण गौतम यसबारे लेख्छन्, ‘अद्भुत साहसले भरिएको आत्मबलले गर्दा जहाँ जहाँ यस्ता सूचनाहरू टाँसिएका थिए, त्यहाँ भोलिपल्ट प्रत्युत्तर पत्र टाँस्दै बन्द भएको विद्यालय खोलेर पढाउन थालेँ।’


मोदनाथको संकलनमा रहेको उनको एउटा प्रत्युत्तर–पत्र यस्तो छ :


को हुन् लौ हरिजन् र हर्जन अनि को हुन् हरीहर जन


के यस्मा पनि उत्तरोत्तर ठूला हौ भन्दछौँ के भन ?


हाम्रा काम परे इनै सँग मिली गर्छौं कुरा काम कति


हर्पेमा किल ठोकने छिट लिने मानिन्छ काल्को गति।


पैले जोति हलोपछि थक गए क्यै थेन हठ् तेसमा


काल्को यो भलले बगाउँछ जगत् पर्ने भयौ एसमा


शिक्षा दीनु स्वधर्मिलाई उचितै धर्मै छ फेर् के डर !


आपसमा सहधर्मिको छल भए त्यो धर्मको के भर !


०००


पर्चा बहसहरू कवितामा हुन्थे। नारायण गौतमको यो पर्चा–कविता पढ्न खूब भीड लाग्यो। आफूहरू हेर्न आएमा सानो हुने डरले चेलालाई सार्न लगाएर हरिहर संस्कृत पाठशालाका गुरुहरूले पनि पढे।


नारायणलाई ‘गौतम वंशको कपुत’ भने। हरिहर पाठशालाका विद्यार्थीले घेरा हाल्ने र अर्कातिर गुरुहरूले फकाउने गरे। केही सीप नलागेपछि उनलाई सामाजिक बहिष्कार गरिएको थियो। नारायण गौतम लेख्छन्, ‘मेरो भातभान्सा बार्ने, पूजापाठ, तिथि श्राद्धमा कोही बाहुन घरमा गएर पूजापाठ नगराउने’ भनियो।


तर नारायण पछाडि हटेनन्। उनले निरन्तर पर्चा छापिरहे। उनले पुरातनपन्थीहरूको हर्कतको आलोचना गरिरहे, र पद्यमा मात्र नभएर गद्यसमेत पर्चामा टाँसियो। प्रश्रितको संकलनमा रहेको गद्यमा पुरोहित प्रवृत्तिको आलोचना गरिएको छ :


‘धेरै दक्षिणा पाए त मगर, घर्तीका घर रुद्री गर्न गराउन पनि शास्त्रले छेकेन। हामी मात्र जान्ने सुन्ने हुने हो भन्दै प्रत्यक्ष मानिसको अधिकार ढाँट्न नछोडेर कहिलेसम्म सत्यवादीको ढोँगी खप्परले मुख ढाकी हिँड्न सकिन्छ ! देशकाल परिस्थितिअनुसार विश्वमा चलिआएको प्रगतिको पहरालाई कुहिनाले धक्याउने कुचेष्टाझैँ हरिजन शिक्षा समर्थक साथीहरूको पानी हड्कने धम्कीको धुइरे घाँडो हल्लाई आजको मानव समाज धर्मलाई थर्काउने अप्रजातान्त्रिक कुन्सित भावनाले देशलाई शिक्षित बनाउने पण्डितम्मय विचारको आडम्बरी बकुलो कत्तिको दृढ भक्त बनी अडिएला !


आज प्रजातान्त्रिक मानव (शिक्षा) अधिकार हरिजन, हरजन, हरिहरजन सबै जनको समान मान्न कर छ, यही सत्यको जय छ !


प्रजातन्त्र, प्रजाधिकार— जिन्दावाद ! राक्षसीतन्त्र— झूठावाद मूर्दावाद !!’


यस्तो पर्चा संघर्ष चारपाँच पटकसम्म चलेको थियो।


नयाँ चेतना


यस्तो निरन्तरको तर्कपूर्ण संघर्षले गर्दा हरिजन शिक्षाविरोधी कित्तामा उभिएका मोदनाथ प्रश्रितको मथिंगल खलबलियो। मोदनाथ प्रश्रित लेख्छन्, ‘म ठूलो द्वन्द्वमा परेँ। रातभरि पनि मेरो दिमागमा दुई थरी विचार प्रवृत्तिहरूको घमासान युद्ध चल्दै रह्यो। तर मैले आफ्नो त्यो मानसिकी द्वन्द्व आफ्नै साथीहरूको बीचमा पनि राख्न सकिनँ। किनभने नारायणजीको विचार ठीक हो कि भन्ने मेरो मनको तर्कसम्म पनि कसैबाट गुरुहरूसम्म पुग्यो भने ठूलो सास्ती भोग्नुपर्छ भन्ने थाहा थियो।’


छात्रवृत्तिको डरले आपूmले नबोले पनि नारायण गौतमका विचार सही हुन् भन्ने संस्कृत पाठशालाका छात्र प्रश्रितलाई पनि लाग्न थालेको थियो। प्रश्रित लेख्छन्, ‘अनि मेरा कवितामा पनि ती नयाँ विचारहरू व्यक्त हुन थाले। नारायण गौतम र श्रीराम स्कुलका शिक्षकहरूप्रति मेरो मनमा श्रद्धा र सम्मान बढ्दै गयो।’ प्रश्रितले आफ्नो चेतना पुरातनपन्थी धारबाट बदलिएको घटनाको रूपमा यो संघर्षलाई लिएका छन्। यस घटनालाई आपूm जातपात र छुवाछूतको भावनाबाट मुक्त भएको दाबी गरेका छन्।


परिणाम


खिदिम गाउँका स्थानीय दलित समुदायले २०१५ सालको यो घटनाले आपूmहरूको जीवनमा तात्त्विक अन्तर नल्याएकाले यसलाई ‘सानो र उतिबेलैको मात्र घटना हो’ भन्छन्। २००४ सालमा जन्मेका लालबहादुरका छोरा भुवनबहादुरले त धर्मसभा बसेकै थाहा पाएनन्। धर्मसभाको बहसमा दलितलाई पढाउनुपर्छ भन्ने जोसिलो छवि देखाए पनि त्यस घटनापछि नारायण गौतम दलित पढाउने शैक्षिक अभियन्ता भएनन्। यो घटनाले आन्दोलनको रूपमा निरन्तरता पाएन।


स्थानीय भुवनबहादुर सुनारका अनुसार करिब सय धुरी घर भएका खिदिम वरिपरिका दलित समुदायले खासै पढाइमा ध्यान दिएनन्। उनीहरूको अवस्था आमदलित समुदायको जस्तै छ।


यो घटना मूलतः दलितलाई पढाउनु हुन्छ कि हुँदैन भन्ने पठित बाहुनहरूको द्वन्द्वको विषय थियो। यसले दलित चेतनामा खासै असर नगरे पनि बाहुनहरूको चेतना हल्लाउन मद्दतचाहिँ गरेको थियो, मोदनाथले त आफ्नो चेतना भत्केकै दाबी गर्नु एउटा उदाहरण हो।


कथित उच्च जातको मात्र बोलवाला रहेको समाजमा शैक्षिक र सामाजिक चेतनामा अघि रहेका बाहुनले नै दलितलाई पढ्ने अवसर दिनुपर्छ भन्ने कुरालाई बाहुनहरूले ‘ठूलो सामाजिक क्रान्ति’ माने पनि स्थानीय दलित समुदायले चाहिँ आफ्नो चेतनाको विकास भएको फलित घटनाको रूपमा हेरेका छैनन्। बलियो सामाजिक संरचनालाई हल्लाउन यसले सकेको छैन।


अन्त्यमा,


२००६ सालमा पण्डित तोयनाथ र उनका साथीहरूले लमजुङमा हलो जोतेर हल्लीखल्ली मच्चाए। २०११ सालमा मुक्तिनाथले ‘को अछूत ? ’ लेखे। २०१५ सालमा नारायण गौतम ‘कामीका गुरु’ बने। यी शैक्षिक चेतना या तिनले निम्त्याएका घटना हुन्। यी घटना २००७ सालको प्रजातन्त्र आउनु वरिपरि घटेका थिए। तर यी घटनाले समाजको जटिल संरचना या पुरातन सोचलाई परास्त गर्न सकेनन्। सामाजिक इतिहासमा सानो झिल्को या घटनाका रूपमा जीवित रहे। तत्कालीन समयमा परम्परागत बाहुन समुदायमा क्षणिक कम्पन ल्याएका घटनाको रूपमा यिनलाई लिन सकिन्छ।


यो लेख माघ १८, २०७६ मा अन्नपूर्ण पोस्ट्को फुर्सदमा छापिएको थियो । यसको लिङ्क यहाँ पाइन्छ ।