कीर्तिपुरमा सँगै पढेका साथीसँग
थापाथलीमा भेट्ने कुरा मात्र होइन चौतारीमा भेटियो पनि । सामान्य सन्चोबिसन्चोपछि
बसेर कुरा गरौँ न त भन्ने भयो, तर कहाँ ? कुरा मिल्यो, नजिकैको चियापसलमा । पसलैपसलको सहरमा चिया नपाउने कुरै थिएन । एउटा
पसलभित्र पसेर, ‘तीन कप चिया है, चिनी कम रङ कडा’ भन्दै अर्डर गर्यौँ । चिसो मौसम थियो, कुर्सीमा
बिस्तारै पिठ्युँ टेकाउँदै, गफ सुरु भयो । कुरा त्यो बसाइमा गरेको गफको हैन, चियाको बारेमा
हो । चिया बनाउने यस्तो टोले पसल कति होलान् ? चाय गफाडी कति होलान् ? अनुमान गर्न
सजिलो छैन । राणाकालमा हुन्थ्यो भने यसरी चिया खानेलाई ‘कांग्रेसी बानी’ भएको बात
लाग्थ्यो । लुकेर खानुपर्थ्यो । यसप्रकार यो लेख नेपालमा चियाको चलनको बारेमा
लेखिएको हो ।
नेपाली
सेनाबाट पेन्सन पकाएका लप्टनले २००७ सालअघि डिल्लीबजारको उकालोमा सामान्य चियापसल
खोलेका थिए । अरविन्द रिमालले यसबारे ‘डिल्लीबजारको लप्टनको होटल’ नामक संस्मरण
पुस्तक नै लेखेका छन् । उनका अनुसार त्यस बखत (राणाकालमा) घरबाहिर चिया खानुलाई
नागरिकको स्वतन्त्र विचार तथा व्यवहार ठानिन्थ्यो । त्यसैले खुलेआम खानु
हुँदैनथ्यो । सातसाल अघि बीपी कोइरालाले गुप्त रूपमा भेष बदलेर ‘धरहराको माहिला
साहुको पसल’मा चिया खान जान्थे । पद्मशमशेरको पालामा घरघरमा अलिअलि आँट गरेर
चिया खाने चलन सार्वजनिक ठाउँमा पनि हुन थालेको थियो ।
सात सालपछि त मध्यमवर्गीय परिवारमा चिया खाने
चलन व्यापक भइसकेको थियो । रिमालका अनुसार लप्टनको होटलमा ५ पैसाको आधा कप चिया
पाइन्थ्यो । २००४ सालको जयन्तु संस्कृतम् र त्यसलगत्तै भएको विद्यार्थी आन्दोलनका
व्यक्तिहरू लप्टनको होटलका ग्राहक थिए । त्यहाँ पाँडे, गुरुपुरेत, थापाकाजी, राणा शाह, दीक्षित लोहनी
आदि सम्भ्रान्त र मध्यमवर्गीय व्यक्ति तथा साहु–महाजन आउँथे । त्यस्तै भेला हुने, गफ गर्ने र
चिया पिउने अर्को ठाउँ नयाँ सडक पनि थियो । नयाँ सडकको कथा पनि रिमालले झैं कसैले
लेखे जाती हुन्थ्यो । यसरी जम्मा हुने क्रममा डिल्लीबजारलाई चीन समर्थित र नयाँ
सडकलाई भारत समर्थित क्षेत्र पनि भनिन्थ्यो भनेर रिमालको पुस्तकमा भूमिका लेख्ने
क्रममा श्यामदास वैष्णवले पनि लेखेका छन् ।
नेपाली
सेनामा काम गरेका बानेश्वरका ९० वर्षीय रत्नध्वज थापाले २००७ साल वरिपरि खुलेको
न्युरोडको एउटा पसलको कथा मलाई सुनाएका थिए । यस होटलको उपल्लो तलामा चिया
बनाइन्थ्यो । त्यहाँबाट गिलास छिर्ने प्वाल पनि थियो । तल चिया खान आउनेले
प्वालतिर मुख सोझ्याउँदै माग्थे । माथिबाट चिया दिइन्थ्यो । उनका अनुसार
इन्द्रचोकमा त दूधैदूधको ‘लतरी चिया’ बनाइन्थ्यो । यहाँ को आउँथे भन्ने कुरा अनुत्तरित छ । तर रिमालले
नयाँ सडकको पीपलबोट (अखवारी थलो) र डिल्लीबजार (विवेचनात्मक) पनि भनेका छन् । तर
पीपलबोटेहरूले के सोच्दा हुन् जान्न बाँकी नै छ ।
उल्लिखित वयानबाट कम्तीमा सार्वजनिक ठाउँमा
चिया खानु भनेको स्वतन्त्रताको उपभोग गर्ने अर्थ पनि लाग्ने बुझियो । यसको अर्थ के
चिया ‘प्रगतिशील’ पेय हो ? भन्ने प्रश्न
मेरो मनमा उठेको थियो । राणाकाल र त्यसअघिका शासक र भारदारी खलकमा यसको प्रयोगको
अभ्यासबारे ज्ञानमणि नेपालको एउटा सामग्री छ । जसले भोट जाने व्यापारीले चियाको
चलन ल्याएको बताउँछ ।
२०४४
सालमा निस्केको ‘मुहूर्त’ भन्ने पत्रिका संकलनका सोखिन शिव रेग्मीकहाँबाट पढ्न पाएको थिएँ ।
सो पत्रिकामा ‘चिया खाने चलन’ शीर्षकमा ज्ञानमणि नेपालले एउटा लेख लेखेका रहेछन् । उनका अनुसार
पहिला (?) कुनै पनि नयाँ
चलन, नयाँ
खाद्यपदार्थ आउँदा धार्मिक दृष्टिले त्यस्ताको खेदो गरिन्थ्यो । भनाइको अर्थ
चियामा कुनै कानुनी बन्देज नभए पनि भावनात्मक रूपमा बन्देजजस्तै थियो । तर बसाइ–सराइ, युद्ध, भ्रमण, रोजगारीका
सिलसिलामा नयाँ–नयाँ पेय पदार्थबारे ज्ञान लिने र त्यसको प्रयोग चलन सुरु भएको
देखिन्छ ।
ज्ञानमणिको
स्रोत अनुसार वि.सं. १०९९ सम्म भारतमा पनि चियाको चलन थिएन । नेपाल हुँदै तिब्बत गएका
भारतका विक्रमशिला महाविहारका आचार्य दीपंकर श्रीविज्ञानले आफ्ना ३५ जना
अनुयायीसँग भोटमा जाँदा स्वागतमा चिया टक्राउँदा उनी ‘कन्फ्युज’ भएका र खाएपछि
प्रशंसा गरिएको कुरा अलका चट्टोपाध्यायको ‘अतिशा एन्ड तिबेट’ पुस्तकबाट
उद्धृत गरेका छन् । पछिपछि भोट जाँदा नेपाली प्रतिनिधिमण्डलका सदस्यलाई पनि
सत्कारमा चिया खुवाउन थालियो । यस अर्थमा चिया सत्कारको प्रतीक मान्न सकिन्छ ।
ज्ञानमणिले
भाषा वंशावलीलाई उद्धृत गर्दै लेखेअनुसार तिब्बतसँग ब्यापार सम्बन्ध राख्ने काजी
भीम मल्लले चियाको चलन ल्याएका हुन् । मल्लकालका अन्य व्यापारीहरूलाई यसको पहिचान
सर्वसाधारणसम्म पुर्याउने श्रेय जान्छ । त्यति बेला कचहरी बस्दा मुखियाका घरमा
तमाखु र चिया पकाउने व्यवस्था हुने कुरा नेपालले उल्लेख गरेका छन् । एकीकरणपछि
भोटका अलावा चीनसम्म जाने चलन पनि भयो । वि.सं. १८४९ देखि ५/५ वर्षमा नेपालबाट
काजी सरदारको नेतृत्वमा प्रतिनिधिमण्डल चीन वादशाहकहाँ दर्शन गर्न जाने क्रम चल्यो
। फर्केर आउँदा चीनबाट दिएको सौगातको सामानमा चिया पनि अनिवार्य रूपले पर्थ्यो ।
चियाको साथै चिया पकाउने चाँदीको कित्ली, कचौरा, चिया घोल्ने
डोब्बो पनि आउने गर्थे भनेर नेपालले लेखेका छन् ।
वि.सं. १८८४ मा
चौतारिया पुस्कर शाहको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपालबाट चीनको कुतीतर्फ गएको
थियो । फर्केपछि त्यति बेलाका महाराजाधिराजलाई चौतारियाले लेखेको कुरालाई
ज्ञानमणिले यसरी उल्लेख गरेका छन्, ‘यहाँ (त्यहाँ) चिया खुवाउने चलन
रहेछ । आइपुग्नासाथ चिया पकाइ बाटैमा पर्खेर बस्दा रहेछन् । अघि–अघि आउने काजीहरूले
चिया खाने गर्दा रहेछन् । तर मैले खाइनँ ।’ ठाउँठाउँमा पाल टाँगी चिया
खुवाउने चलन भए पनि पुष्कर शाहले चिया नखानुमा ‘आफ्नो धर्म नछाडेको’ अर्थमा उनले
बयान गरेका छन् । विदेश जाने मानिसहरू नियममै नरहने र खान नहुने चीज पनि खाने
हुँदा भोट वा मुग्लान जाने जोसुकैले सिमानामा पतिया गर्ने वा गोदान गरी चोख्याउने
वा प्रायश्चित्त गर्नुपर्थ्यो ।
यसप्रकार
ज्ञानमणि नेपालले ऊ बेला चिया खाने चलन भारदारी खलकसम्म र व्यापारीमार्फत्
सर्वसाधरणकहाँ पुगेको भनेर लेखे पनि साधारण परिवारकहाँ वा गाउँघरमा चिया खाने
अभ्यास कस्तो थियो भनेका छैनन् । काठमाडौँबाहेकका अन्य चिसो ठाउँहरूमा चियाजस्तै
तातो जिनिसको प्रयोग गरिन्थ्यो होला । यसबारे नेपालको लेख अनुत्तरित छ ।
नेपाली पारिवारिक वृत्तमा चिया पिउने चलन
कस्तो थियो भन्नेबारे जान्न सजिलो छैन । तर पनि केही फुटकर सामग्री भने नभएका
होइनन् । जनकलाल शर्माले आफ्नो पुस्तक ‘कौतुकमय डोल्पो’ (२०३१) मा
जुम्ला हुँदै डोल्पो जाँदा जुम्लाको डिल्लीकोटको एक घरमा बास बस्दा खाएको ‘भोटे चिया’ को बयान गरेका
छन् । उनले चिया खाँदा सुरुको सन्दर्भ कोटयाउँदै लेखेका छन्, ‘एकै छिनपछि
तिब्बती चिया आयो । चिया खाने क्रम पनि तिब्बती ढंगबाट बनेका चाँदीका फुरु थिए ।
फुरु भनेको चिया खाने भाँडो हो, गिलासजस्तै । शर्माले लेखेका छन्, ‘तिब्बती चिया खाने परम्पराअनुसार
फुरुको चिया घटाघट एकैचोटि खानु हुँदैन । बिस्तारै स्वाद लिईलिई खानुपर्छ ।’ (पृ. २५)
शर्माका अनुसार आधा कप चिया बाँकी भएपछि चुप
लागेर धैर्यसाथ बस्नुपर्छ । आधा कप चियामाथि पुन: चिया थपिँदै जान्छ । जहिलेसम्म
कपको चिया पूरै समाप्त हुँदैन तबसम्म फुरुमा चिया थपिँदै जान्छ । कसैले अज्ञानवश
अथवा जानेर नै फुरुको अन्तिम घुँट लियो भने ऊ तृप्त भएको मानिन्छ र चिया थपिँदैन ।
चिया खाइसकेपछि स्थानीय मानिसहरू फुरुको भित्री भाग चाट्छन् । घ्यू फुरुको भित्री
भागमा जमेर बस्ने हुँदा त्यसलाई निकाल्ने क्रममा चाटिएको हो ।
चिया
बनाउने तरिका र यसमा प्रयोग हुने वस्तुबारे पनि शर्माले बयान गरेका छन् । जस्तो
चिया बनाउँदा पहिले चियाको पत्ति एउटा भाँडामा हालेर खुबसित पकाइन्छ र त्यसको पानी
एउटा काठको थिरीमा हालिन्छ । पुस्तक पढ्दा काठको थिरी कस्तो हुन्छ मैले जानिनँ ।
मेरो कल्पनामा त्यो मही राख्ने ठेकीजस्तै तर सानो आकारमा हो कि झैँ लाग्थ्यो ।
त्यसमा चौंरीको नौनी घ्यू र नुन हालेर एउटा फिर्के (सायद मदानीजस्तै सानो औजार
होला) ले तलमाथि गरेर खुब घोलेर मथिन्छ ।
यसरी घोलेपछि नौनी त्यसैमा मिलेर जान्छ ।
लेखकका अनुसार चिया ठीक भयो कि भएन भनेर स्वास्नीमानिसहरू चाख्ने पनि गर्छन् । ठीक
भएपछि एउटा ठूलो कित्लीमा हालेर आगाको छेउमा राखिन्छ र बाँडिन्छ ।
कहिलेकाहीँ
चिया नसेलाओस् भनेर फुरुको ढक्कन पनि लगाइएको हुन्छ । फुरु भने प्राय: काठको र
धेरैजसोमा बाहिरबाट, कसैकसैमा भित्रबाट पनि चाँदीले मोहरेको हुन्छ । पुस्तक पढ्दै जाँदा
मलाई अचम्म लागेको पक्ष भने, यसरी स्थानीय स्वाद दिने चियाको पत्ति भने कालिम्पोङबाट नै पैठारी
गरिएको हुन्थ्यो ।
यसप्रकार
पुस्तकमा चियाको कुरा अंग्रेजले स्थापित गरेको चियाबगानसँग ठोकियो । कालिम्पोङबाट
आएको चियापत्ती राख्नुअघि कस्तो पत्तीको प्रयोग गरिन्थ्यो भन्ने कुरा जान्न
सकिँदैन । किनभने अंग्रेजहरूले चिया खाने चलन चाइनिजहरूबाट सिकेका हुन् भन्ने
बुझाइ छ । त्यसैले डिल्लीकोटमा पनि चीन, तिब्बत हुँदै कुनै पत्ति आउँथ्यो
कि ? अथवा पत्ति नै
नराखी चिया खाइन्थ्यो, शर्माको बयान यसबारेमा अनुत्तरित छ ।
अंग्रेजसँगको
युद्धपछि नेपालले केही भूभाग गुमाउनुपर्यो
। त्यसमा सिक्किम, दार्जिलिङलगायतका ठाउँ थिए । चिया बगान खोलेर अंग्रेजहरूले
नेपालीलाई पनि कामदारको रूपमा ती क्षेत्रमा आकर्षण गर्न थाले । सन् १९८५ मा
लेखिएको ‘हिमालयन स्टेट
फर्मेसन’ लेखमा रिचार्ड
इंगलिसले यसबारे विस्तारमा लेखेका छन् । सन् १८२० को दशकमा ब्रिटिस ‘कोलोनियल’ अधिकारीले
चीनबाट ल्याएको चियाको बीउलाई कलकत्ताको ‘बोटानिकल गार्डेन’ मा परीक्षण
गरेपछि त्यसलाई सोही समयमा नै कुमाउमा रोपिएको थियो । त्यसको केही दशकपछि
दार्जिलिङमा पनि परीक्षण गरियो र सन् १८५४ मा दार्जिलिङमा यसको खेती गर्न युरोपियन
चिया व्यवसायीले अनुमति पनि पाए ।
सन् १८७० को दशकमा दार्जिलिङ र पश्चिमी असममा
३ सय चिया बगानहरू बनाइए । त्यो बेला यी ठाउँमा १० हजार मानिसलाई बसोबास गराइयो ।
खासगरी नेपाली, सिक्किमी, भुटानीलाई । पूर्वाञ्चलमा तैनाथ एक कमान्डर इन् चिफले मेजर जर्नेल
केदारनरसिं कुँवरलाई लेखेको अप्रकाशित पत्रलाई आधार मान्दै ज्ञानमणि नेपालले
लेख्छन्, ‘अंग्रेजी
चियाबगानमा वि.सं. १९२१ तिर ४ हजार जति नेपाली कुल्ली काम गर्थे ।’ इङ्लिसका
अनुसार उनीहरूले त्यहाँ मजदुरी, कुल्ली काम, काठ काट्ने, भवन बनाउने तथा नोकरको रूपमा काम गर्थे ।
ज्ञानमणि
नेपालका अनुसार कुल्ली काम गर्न नेपालीहरू भारतमा काम गर्न गएको जंगबहादुरलाई मन
परेको थिएन । हुन पनि रिचार्ड इङ्लिसका अनुसार सन् १८८१ देखि १९३१ को बीचको ४०
वर्षमा ३ लाख २७ हजार नेपाली मजदुर यी चिया बगानलगायत भारतका विभिन्न ठाउँमा कामको
सिलसिलामा गएका थिए । त्यो समयको जनसंख्या सानो कुरा थिएन ।
इङ्लिसले यो पनि लेखेका छन् कि नेपालका
स्थानीय जिम्दार मुखियाले लगाउने कर तथा राज्यले त्यसलाई पोस्ने चलन एकातिर र
अर्कोतिर अंग्रेजहरूले दिने सुविधाले गर्दा पूर्वी पहाडमा गाउँका गाउँ खाली हुँदै
गएका थिए ।
यो
सन्दर्भमा जंगबहादुरले केदारनरसिं कुँवरलाई त्यस्तै (दार्जिलिङमा जस्तै पूर्वी
नेपालमा पनि) चिया बगान खोल्न र ती कामदारलाई दिने रकमबारे बुझ्न लगाए । सुरुआती
सफलता नपाए पनि त्यति बेला राणाहरूले भारतीय बगानमा काम गर्न जाने नेपाली
कामदारलाई रोक्न पनि चिया बगानको सुरुआत गरेको बुझिन्छ ।
तर
राणाले न चिया बगानमा काम गर्न जाने नेपालीलाई रोक्न सके । न २००७ सालतिर उनीहरूले
‘कांग्रेसी बानी’ भनिएको चियाको
उपभोग गर्ने चलनलाई नै । अहिले नेपालमा पानी पछिको प्रमुख पेय चिया नै बनेको छ ।
चिया सत्कारको प्रतीक मात्र भएको छैन । जाडो भगाउने माध्यम मात्रै होइन ।
राणाकालमा जस्तो नभएर यो ‘नेपालीको बानी’ भइसकेको छ । टोले पसलहरूमा माथि जस्तै ‘चिनी कम, रङ कडा’ भन्दै ‘अर्डर’ गर्ने चलन
बढ्दो छ ।