Saturday, October 22, 2016

बजारमा नपाइने पुस्तक !

लेखक, कलाकार, प्राध्यापक र पत्रकारले आफूलाई मन परेको किताबमध्ये ‘त्यस बखतको नेपाल’को नाम लिएर पत्रपत्रिकामा वार्ता दिएको देखिन्छ । अनौपचारिक भेटघाटमा पनि यसबारे कुरो सुनिन्छ । ट्वीटर फेसबुकमा पनि यसबारे सोधीखोजी हुन्छ । ‘सेकेन हेन्ड’ पुस्तक पसलमा त यो किताब सोध्न आउने र रिजर्भ गर्नेको ताँतीमा म पनि छु । तर यो किताब बजारमा पाइँदैन । पारिवारिक कारणले यो किताबको नयाँ संस्करण बजारमा नपाइएको भन्ने पनि छ । यदि त्यसो हो भने यो लेखकको मर्म विपरीत छ । 
सरदार भीमबहादुर पाँडे, स्रोत: कान्तिपुर २०७३ कार्तिक ६, कोसेली 'च'

पुस्तकमा लेखकले आफ्नो मन्तव्यमा लेखेका छन्, ‘आफ्नो मुलुकका पुराना कुरा, विदेशीहरूले सुनेका भरमा बंग्याएर लेखेका पुस्तक पढी कुहिराका काग बन्न नपरोस् ।’ उनको तात्पर्य पुराना कुरा सबैले पढ्न पाउन भन्ने हो । ‘आफूभन्दा अघिकाले गरेका र भोगेका कुरा उनीहरूकै मुख वा लेखनीबाट सुन्न पाउँ’ भन्ने नयाँ पुस्ताका मानिसको अभिप्रायलाई ध्यानमा राखेर ६८ वर्षको उमेरमा उनले किताब लेखेका थिए । तर यस्तो विचार राख्ने लेखकको किताब सर्वसाधारणले पाउने गरी किन प्रकाशन तथा बिक्री वितरण भएको छैन ? यो लेख यस पुस्तकको विषयवस्तु र प्रकाशन हुन नसक्नुका कारणबारेमा केन्द्रित छ । पहिलो चरणमा यो किताब किन महत्त्वपूर्ण छ भन्ने जानकारी छ । लेखको अन्ततिर यो किन प्रकाशन हुन सकेन भन्नेबारे चर्चा गरिएको छ । 

के हो त्यस बखतको नेपाल ? 
विसं. १९७० मा स्याङ्जामा जन्मेर राणाकालको निजामती सेवामा १९८९ सालमा प्रवेश गरी विभिन्न विभागको हाकिम हुँदै पश्चिम जर्मनी र भारतको आवासीय राजदूत भएका सरदार भीमबहादुर पाँडे ६८ वर्षको हुँदा विसं. २०३८ मा ‘त्यस बखतको नेपाल’ छापिएको हो । पुस्तकको भूमिकामा भीमबहादुर पाँडे लेख्छन्, ‘पुस्तकमा १९७७–२००७ साल फागुनतक ५ जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, खुद आफ्नै आँखाले देखेको र खास आफैले भोगेका घटना, भेटेका व्यक्ति र भएगरेका कामकाज र कुरा समेटिएको छ ।’  मेरो विचारमा पुस्तक सत्तामा मात्र सीमित छैन । सामाजिक जीवनका विभिन्न पाटोमा पनि घोत्लिएको छ ।

यो किताबलाई सुरुमा दुई भाग (विसं. १९७७–१९९९ सालतक पहिलो भाग र वि.सं. २०००–२००७ सालतक दोस्रो भाग) छाप्ने मनसाय राखे पनि यसका ५ वटा भाग बनाइएको छ । २०४२ सालमा यसको पाँचौं भाग पनि छापिएको छ ।   

पुस्तकको पहिलो भागमा स्याङ्जाका भीरकोट, अर्मादी, खहरे गाउँका अनुभवलाई आत्मपरक तथा वस्तुपरक दुवै ढंगले समेटिएको छ । उदाहरणका लागि उति बेला ‘मतवालीहरूले जुत्ता लगाउँदैनथे, लगाइहाले पनि उनीहरूले तागाधारीहरूलाई देख्नासाथ सो फुकालेर परैबाट ‘जदौ बराजु’ भन्दथे’ (पहिलो भाग पृ. २४) । 

यो किताब मौखिक इतिहास जस्तै छ । सबैले बुझुन् भनेर यो पुस्तकलाई लेखकले ‘ठेट नेपाली भाषा र भिन्नै शैली’मा लेखिएको भनेका छन् ।  यो संस्मरण हो । यसमा धेरै विवरणहरू दिइएका छन् । ५ भागमा प्रकाशित यो किताबमा ‘पहिलो विश्वयुद्ध, विश्वव्यापी महामन्दी र श्री ३ चन्द्रशमशेरको आर्थिक नीतिले नेपालको घरेलु उद्योग ह्रास भइ स्वावलम्बी नेपाल परोमुखी भएको’ तर्क गरिएको छ । त्यस्तै ‘दुवै विश्वयुद्धमा अंग्रेजको गुहार गएबापत आएको पैसाले विकास ‘चटाचट’ भएका र नाजायज डरले शिक्षा प्रचारमा राणाकालभरि भारी नियन्त्रण लागेको’ भनी तर्क गरिएको छ । 

राणाहरूबीच घच्ची परेका पक्षलाई पनि विभिन्न ठाउँमा कोट्याइएको छ । ‘राणा सरकारले नेपालको आन्तरिक विकास नगरेको, आफ्ना जनतासँग भन्दा विदेशी राष्ट्रसँग बढी मेलमिलाप गर्न खोजेको’ जस्ता तर्क पुस्तकमा दिइएको छ । पहिलो भागमा ‘राणा व्यवस्था चरम कोटीमा’ भनी लेखिए पनि यसमा त त्यति बेला गाउँघरमा भएका जीवनशैलीको रुचिपूर्ण विवरण किताबैभरि दिइएको छ । उदाहरणका लागि ‘भैंसीको दूध अगेनाको कुँडेमा तताएर ठेकीमा हाल्दथे र एकाध दिन बिराएर घिउ पार्दथे । त्यसरी सँगालेको घिउको ठूलो टिन पाँच/छ दिनको बाटो बोकेर लगी बाह्र/पन्ध्र रुपैयाँमा बुटवलजस्ता तराईका बजारमा बेच्दथे । खाली कुराउनी, बिलाउनी र मोही मात्र गाउँलेहरूको पेटमा पर्दथ्यो’ (पहिलो भाग पृ. २७) ।  

विश्व राजनीतिका घटनाक्रम र त्यसले पारेका प्रभावबारे पनि किताबमा चर्चा गरिएको पक्षलाई पनि विर्सनु हुँदैन । पहिलो विश्वयुद्धबाट पहाडमा लाहुरेले ल्याएको ठूलो धनराशिले सामाजिक स्थितिमा ‘अवाञ्छित परिवर्तन’ ल्याएको पाँडेले तर्क गर्छन् । उनका अनुसार लाहुरेहरूले विदेशबाट तास मात्र ल्याएनन्, खेल्ने बानी पनि बोकेर आए । पाँडेको तर्क छ, जुवाले जाँड ख्वाउन सिकायो । उनी थप्छन्, ‘गाउँतिर जुवा र जाँडको त्यो प्रकोप विस्तारै पर्न थाल्यो जारीमा’ (पहिलो भाग पृ. १३१) । यसरी विश्वसँग नेपाली सामाजिक जीवन कसरी जोडिँदै त्यसमा राम्रा नराम्रा परिवर्तनका धर्साहरू देखिएका छन् भन्ने कुरा देखिन्छ ।  

दरबार स्कुलको बयान गर्दै ‘शिक्षामा असाधारण नियन्त्रण’को पक्षलाई उनले उकासेका छन् । जस्तो ‘१९८० सालसम्म पनि काठमाडौँमा अंग्रेजीको पढाइ राणाजी, गुरु पुरोहित, भाइ/भारदार, हुने खानेका परिवार र केही साहु/महाजनमा मात्र सीमित थियो’ (दोस्रो भाग पृ. १७०) । उनका अनुसार १८१० सालदेखि १९९० सम्म नेपालमा जे जति मानिसले अंग्रेजी र संस्कृत पढे ती कुनै न कुनै दिन दरबार स्कुलका विद्यार्थी थिए । ‘नेपालमा वैधानिक सरकारको खोजी’, ‘नेपालमा आर्थिक विकासको कल्पना’, ‘नेपालमा प्रजातन्त्रको प्रवेश’ र ‘निजामती र जङ्गी प्रशासन’ भन्ने विषय विभिन्न भागहरूमा परेका छन् ।  

पाँचौँ भाग दुर्लभ छ । साझा प्रकाशनले छापेको यो भाग साझा/प्रज्ञाको प्रदर्शनीमा पनि देखिँदैन । कतिपय पुस्तकालयमा पनि जम्मा गर्न सकिएको छैन । मैले प्रत्यूष वन्तसँग मागेर पढेको थिएँ । अरू भागहरूमा छुटेका राणाकालीन जंगी र निजामती प्रशासन पद्धतिबारेका कुरा यसमा परेको भनी पाँडेले भूमिकामा लेखेका छन् । यो भागमा ‘नेपालको प्रशासनिक जग’, ‘राणाकालीन केही प्रमुख अड्डा, नामी हाकिम र विशेषज्ञहरू’ आदि विषयहरूमा जानकारी दिएको छ । ‘त्यस बखत पनि सदरका कर्मचारीले मोफसलका अड्डालाई धर्तीको पल्लो छेउ जस्तो सम्झने हुँदा सकभर मोफसलमा जान मरे जस्तो मान्दथे’ (पाँचौं भाग पृ. १३१) । यी र यस्तै विवरण पाँचौं खण्डमा छ । 

के छ सम्पादकीय तथा प्रकाशकीयमा ? 
साझा प्रकाशनले २०४२ सालमा ११०० प्रति छापेको पुस्तकको पाँचै भागमा सर्वाधिकारबारे केही चर्चा गरिएको छैन । पुस्तकको १ देखि ४ भागमा ‘यसको सर्वाधिकार त्रिभुवन विश्वविद्यालय, नेपाल र एसियाली अनुसन्धान केन्द्रमा सुरक्षित’ भनी लेखिएको छ । यी भागमा सरदार भीमबहादुर पाँडेलाई यो पुस्तक लेखिदिन प्रकाशकले भनेको भन्ने आशय छ । 

यो पुस्तक प्रकाशन गर्ने बेलामा सिनासका प्रमुख डोरबहादुर विष्ट थिए । सो बेलाको प्रकाशकीयमा लेखिएको छ, ‘पाण्डेज्यूलाई हामीले विसं. १९७७–२००७ सम्म उहाँले देखे, भोगे र सुनेका कुरा लेखिदिन अनुरोध गर्‍यौं । यो पुस्तक त्यही अनुरोधको स्वीकृति हो ।’  प्रकाशकले भनेभन्दा अलि फरक ढंगले लेखक पाँडेले यो पुस्तक आफ्नो अभिरुचिले लेखेको बताएका छन् । उनले भनेका छन्, ‘नेपालको बारेमा लेख्न भनी घच्घच्याउने सत्यमोहन जोशी’ हुन् । जोशीले पुस्तकको लागि सल्लाह सुझाव पनि दिएको भनी लेखकले लेखेका छन् । यो किताब छपाउने प्रबन्ध डोरबहादुर विष्टले र सुझाव दिनेमा उत्तम कुँवर र फादर स्टेलर पनि हुन् । यो कुरा पाँडेले लेखेको भूमिकामा पढ्न सकिन्छ ।  

यसबाट पुस्तकको प्रकाशक को हो र प्रतिलिपि अधिकार कसमा छ भन्ने विषयमा अलमल देखिन्छ । २०४४ सालमा प्रकाशन गरेको दोस्रो संस्करणमा ‘एसियन तथा नेपाल अनुसन्धान केन्द्रबाट प्रथम संस्करण प्रकाशित भएकाले त्यसको अधिकार सुरक्षित राखी’ भने पनि त्यसको मुनिपट्टि ‘प्रकाशक : लेखक’ भनी लेखिएको छ । यसले प्रतिलिपि अधिकार कोसँग छ भन्ने अलमल देखिएको हो । यस विषयमा सिनासका नानीराम खत्रीसँग कुरा गर्दा ‘यसको प्रतिलिपि अधिकारबारे जे लेखिए पनि यसलाई छाप्नका लागि उहाँका छोराहरूको अनुमति चाहिने’ बताउनुभयो । यसबाट सिनासलाई ‘वन टाइम कपिराइट’ मात्र दिइएको हो कि ? भन्ने आशंका गर्न सकिन्छ ।  

बजारमा चलिरहेका प्रकाशकले यसलाई प्रकाशन गर्न खोजेको तर परिवारबाट अनुमति नपाएकाले रोकिएको बताउँछन् । यसमा रोयल्टी समस्या बनेको छ । सबै सन्तानहरूको अनुमति चाहिने हुनाले यसको प्रकाशन निजी क्षेत्रका प्रकाशकहरूले गर्न सकेका छैनन् । यो किताबको माग भएपछि छोराहरू स्वयंले यो किताबको २०७१ (?) सालमा पुनर्प्रकाशन गरेको र उहाँहरूले व्यक्तिगत रूपमा नभई संस्थागत रूपमा यो किताब दरबार मार्गको नेपाल इन्भेस्टमेन्ट बैंकबाट बिक्री वितरण गरेको सुने पनि, त्यहाँ सोधखोज गर्दा स्टक सकिएको जानकारी मैले पाएँ । यसैले यो नयाँ संस्करणबारे जान्न बाँकी नै छ ।

भीमबहादुर पाँडेले नै भनेका छन्, ‘ठेट नेपाली भाषा र भिन्नै शैलीमा लेख्न खोजेको छु, सबैले बुझुन् भनी ।’ अर्को वाक्यमा उनी लेख्छन्, ‘यो पुस्तक लेख्नाको मेरो एक मात्र तात्पर्य हो : हिजो भएका हाम्रा खास काम कुराहरू, आजका बुढापाकाले, भोलिका पिँढीलाई लेखेर छाडिदिए भने, इतिहासको तान्द्रो चुँडिँदैन र नेपालका भावि सन्ततिहरू पुरानो कुराबारे कुइराको काग जस्ता बन्न पर्दैन, भन्ने हो ।’ यस्तो मनसाय भएर तत्कालीन अवस्थाको चिरफार गरी लेखेको किताब सर्वसाधरणले पढ्न पाउनेगरी पुनर्प्रकाशन हुनु आवश्यक छ ।

 यो लेख कार्तिक ६, २०७३ मा कान्तिपुर कोसेली च पृष्ठमा प्रकाशित भएको थियो । 

जुत्ताको जुगान्तर



"नानी भने छोरा विग्रन्छ, जुत्ता लाए खुट्टा विग्रन्छ" भन्ने कहावत नेपाली गाउँघरमा थियो । परम्परागत रुपमा जुत्ता लगाउने चलनै थिएन । हिउँदतिर चिसोबाट बच्न उपल्लो भेगतिर स्थानिय कच्चा पदार्थबाट बनेको जुत्ता लगाए पनि वर्खा चाहिँ त्यता पनि नाङ्गै खुट्टा हिँडिन्थ्यो । तर विस्तारै पराल, नालुँ, कपडा, रबर, प्लास्टिक र छालाका जुत्ता चप्पल प्रयोग हुँदै आयो । अहिले वर्षेनी '६ करोड जोर' जुत्ता चप्पल बजारले माग गरेको अनुमान गरिन्छ । ६ सय बढि साना ठूला उद्योगमा हजारौँ सिपालुले काम पाएको सन्दर्भ दिँदै व्यावसायीले 'नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर हुँदैछ' भन्छन् । तर यो लेखको अन्त्यतिर त्यो पक्षमाथि प्रश्न गरिएको छ । लेखको सुरुमा नेपालमा जुत्ता प्रयोग र उत्पादनबारे खोज, संस्मरण तथा  कुराकानीलाई बटुलबाटुल गरिएको एउटा 'सर्सती वयान' छ ।
      गएको हिउँदमा हरिसिद्धितिर बरालिँदा, पिपलको बोटमुनी बसिरहेकी ९१ वर्षिया हिलठकुँ महर्जनले भनेकी थिइन "कपासको खोजीमा काठमाडौँ बाहिर जाँदा ३ जोर परालका जुत्ता लिएर जान्थ्यौँ, फर्किँदासम्म तीनै जोर फाट्थे ।" यो राणाकालको कुरा थियो । विभिन्न कामले उपत्यका बाहिर जाँदा 'उपत्यकेली'ले परालको जुत्ता लिएर जान्थे । चाहे राणासरकारको गाडि बोक्न होस् वा काठ बोक्न या उनीहरुको नुनतेल बोक्न अथवा आफ्नै कामले । उतै जुत्ता बनाउन भन्दै परालै वा तयारी जुत्ता बोकेर जान्थे ।
      उतिबेला कवाज खेल्ने सिपाहीलाई जुत्ता नलाउँदा पनि हुन्थ्यो रे । टुँडिखेलमा 'कवाज खेल्न बुटजुत्ता अनिवार्य थिएन । विशेष समारोहमा सिपाहीले बुटजुत्ता लगाउन पर्दा कति सिपाहीका हातमा जुत्ता हुन्थे, मेसो नपाएर हो वा जुत्ताले खुट्टा खाएर ।' त्यस्तो देखेरै भीमबहादुर पाँडेले त्यसबखतको नेपालमा लेखेका छन् । 'कताकति चाडपर्वमा मात्र सिपाहीले जुत्ता लगाउने हुँदा त्यस्ता बुटजुत्ता पनि बन्दुक झैँ हातहतियार राख्ने ठाउँमा राखिन्थ्यो' पनि भनेका छन् ।
                पाँडेकाअनुसार त्यस बखत मतवालीले जुत्ता लगाउँदैनथे । लगाइहाले पनि उनीहरुले तागाधारीलाई देख्नासाथ सो फुकालेर परैबाट 'जदौ बराजु' भन्दथे । खोजकर्ता दिपक अर्यालका अनुसार काँचा छालाका जुत्तालाई अशुद्ध मान्ने जात र सम्प्रदायका व्यक्तिले पनि वि.सं. २०७०–८०  तिर खेतबारीमा तिनको प्रयोग थालेका थिए । तर घरमा होइन । किनभने 'छालाका जुत्तालाई मूल घरको वरिपरि नराखी गोठ वा घरभन्दा केही पर राखिन्थ्यो ।' सहरतिर हिजोआज जुत्ता चप्पल लाएर भान्सामै पुगेपनि गाउँघरतिर त्यस्तो अझै मान्य छैन ।
     मदन पुरस्कार पुस्तकालयको स्रोत सामग्रीको आधारमा अध्येता अर्यालले तयार पारेको खोजी रिपोर्ट अनुसार ठहिँटीका मुसलमानका बाहेक अन्य पसलले छालाको जुत्ता विक्री गर्न तयार हुँदैनथे । भारतको कानपुरबाट आउने ति जुत्ताहरु मगाउन खुट्टाको नापो पठाउनुपर्थ्यो । व्यापारीहरूले ग्राहकका खुट्टा कुनै कागजमा राखेर त्यसको वरिपरि घेरा लगाई जुत्ताको अर्डर भारतका विभिन्न कारखानामा पठाउँथे । विस्तारै यो प्रचलन हराएर नम्बरी जुत्ताहरू आउन थाले । दिपकले हिमाल खबरपत्रिकामा लेखेका छन्, 'त्यो बेला काठमाडौंमा रेन्किङको कोट र ब्यारेटका जुत्ता मध्यमवर्गको सपना थियो' ।
                १९८८ सालतिर विश्वबजारमा मन्दि देखिएपछि उत्पादित बस्तुहरु उता विक्री हुन छाडे । अन्यत्र प्रसार हुनेक्रममा वि.सं. १९९० तिर ती वस्तुहरु काठमाडौँ पनि भित्रिए । भीमबहादुरका अनुसार 'त्यति बेला काठमाडौँ स्वदेशी माल पाउन छोडेर विदेशी मालको अड्डा बन्न थालेको थियो ।' २८ रुपैँया तोला सुन भएको बेलामा एक रुपैँया मोलको 'टेनिस सूज' काठमाडौँको बजारमा छ्यासछ्यास्ती पाउन थालेको थियो । आफ्नै उद्योगको नभएपनि ।
      राणा शासनको आखिरीतिर धेरै उद्योग खोलिएपनि जुत्ता उद्योग खोलेको देखिँदैन । यद्यपि, 'काठमाडौँका केही उद्योगहरुमा कपडाका जुत्ताहरु बन्थे' भन्ने पनि सुनिएको हो । यो लेखमा त्यसको पोयो भने फुकाउन सकिएन । यसबारे भन्न सकिने पक्ष भनेको, काठमाडौँ वरिपरीका मिजारहरुले छाला जुत्ताको उत्पादन गरिरहेका थिए । उनीहरुले नै काठमाडौँको लागि आपूर्ति गर्थे । वि.सं. २०००मा भएको 'प्रथम अखिल नेपाल ‌औद्योगिक प्रदर्शनी'मा पलाञ्चोके छालाका जुत्ता प्रदर्शनीमा राखिएको थियो । यसको मूल्य १ रुपैँया थियो । बनेपा, तिमाल, पलान्चोक, मण्डनजस्ता काठमाडौँ पूर्वका ठाउँगाउँका जुत्ता सिउने १२२ जना मिजारले २५ सय ८० जोर जुत्ता उत्पादन गरेको तथ्य पाँडेले दिएका छन् । यो राणाकालको अन्त्यतिरको कुरा हो । यसरी काठमाडौँले छालाका जुत्ता उत्पादन नगरेपनि आयात चाहीँ गरेको देखिन्छ ।
      काठमाडौँमा 'इलिट'हरुले लगाउने जुत्ता मध्ये पलाञ्चोके मिजारले बनाएको जुत्ता, हरिसिद्धिमा बनेको रेशादार नालुँको जुत्ता, मृगको छालाबाट बनेको दैलेखी सावरको जुत्ता प्रख्यात थिए । दमन तुलाधरले २०३९ सालमा प्रकाशित संस्मरणमा 'राणाकालमै प्रति जोर दैलेखी जुत्ताको एक मोहर पर्ने' सन्दर्भ कोट्याएका छन् । उनी लेख्छन्, "जेठा बा भन्ने गर्नुहुन्थ्यो 'नरम नरम लुगाफाटा आँगमा परेपछि केटाकेटीको बानी बिग्री हाल्छ नि' । हामीलाई उहाँले एक मोहर जाने दैलेखे जुत्ता, खाँडीको लुगा जीनको कोट हाली दिनुहुन्थ्यो" । यसले पनि काठमाडौँमा दैलेखी जुत्ता चल्तीमा रहेको बुझिन्छ । २०२९ सालमा दैलेख जिल्लामा १४ हजार ३ सय ४ टुक्रा छाला र १९ हजार २ सय जोर छालाको जुत्ता प्रतिवर्ष उत्पादन भएको देखिन्छ । दैलेख बजार र गाउँमा रहेका घरपरिवारले जुत्ता उत्पादन गरेका थिए भन्ने तथ्य २०३१ सालमा छापिएको 'मेचीदेखि महाकाली' पुस्तकमा उल्लेख छपछिसम्म नै दैलेखी सावरको जुत्ताको प्रख्यातीले यो जिल्लाको महत्त्व २०२९ सालअघि पनि रहेछ भन्ने बुझिन्छ ।
      जुत्ता उत्पादन र प्रयोगबारे नेपाली गाउँघरतिर कस्तो अभ्यास थियो भन्ने लेख्य प्रमाणको अभाव छ । पाका मान्छेबाट सुनिएका जनश्रुतिमा नै भरपर्नुपर्छ । गाउँघरतिर जुत्ताको उस्तो चलन नहुँदा, स्थानिय वस्तुभाउबाट उत्पादित तयारी छालालाई बोकेर अर्घाखाँचीका मिजारहरु नुन साट्न जाने ढाक्रे लहरमा मिसिन्थे, भन्ने कुरा स्थानिय पाका मानिसले बताएका थिए । विभिन्न पहाडि गाउँका मानिसहरु बटुलिएर जाने 'बटौली' बजारमा काँचो छालाले नुन साटिदिने व्यापारी भेटिँदैनथे । घ्यूले नुन साट्ने भेटिए पनि । त्यस्तो बेला आफ्ना 'बराजु'लाई बटौली छाडेर कानपुरका मिजारकहाँ पुग्नुपर्थ्यो । "भारतको लठ्ठावारतिर छाला लगेर त्यसले नुन बोकेर ल्याउँथ्यौँ" अर्घाखाँची ठूलापोखराका ७३ वर्षिय नमबहादुर मिजारले भने । त्यो लठ्ठावार कता पर्छ नभनेपनि कपिलवस्तुको कृष्णनगर हुँदै जाने कुरा बताएका थिए । नमबहादुरले भनिरहेको समय ठ्याक्कै थाहा हुन नसकेपनि संभवत: २०० साल वरिपरी वा त्यस अघिको कुरा हुनुपर्छ । बटौलीबाट सन्धिखर्क र तम्घास जाने मोटरबाटो नबन्दै । नेपालको अन्य भागमा पनि जुत्ता प्रयोगका आआफ्नै कथा होलान् ।
      डोल्पा जिल्लाको उत्तरी भेगतिरको कथा अर्कै छ । त्यहाँ ल्हाम(लामो आकारको) जुत्ता लगाइन्थ्यो । मेरा साथीका बाबु फुल्चिङ गाउँका ६२ वर्षिय काले चलाउनेका अनुसार त्यस्ता ल्हाम लगाएका मान्छेहरु हिउँदताका २२ सय मिटर उचाईको तल्लो भेग, फुल्चिङतिर व्यापारको लागि झर्थे । चलाउनेकाअनुसार यो पचास वर्ष अघि, लगभग २०२०/२०२२ सालतिरको कुरा हो । भोटबाट फुल्चिङतिर झरेका उनीहरुले उपल्लो भेगमा स्थानियले नै 'ल्हाम' जुत्ता बनाउने कुरा सुनाउँथे । त्यसको तलुवा चौँरी वा गाई गोरुको छालाबाट बन्थ्यो । यस्तो जुत्ताले हिउँमा टेक्दा पनि पैतालामा चिसो छिर्दैनथ्यो । 'पूरो'(माथिल्लो भाग) चाहिँ नीको डोरी बाटेर बनाइएको र न्यानोको लागि घुँडामुनिसम्म लगाउन मिल्ने गरी बनाइन्थ्यो । तर फुल्चिङतिर भने 'दोचा'को प्रयोग हुन्थ्यो । 'दोचा' पनि 'ल्हाम' जस्तै छालाकै तलुवा र 'बत्तो'(धागो)बाट बनाइन्थ्यो र 'पुरो' बनाउन अल्लोको 'फेरुवा'(डोरी) प्रयोग गरिन्थ्यो । यसलाई स्थानिय मिजारहरुले नै बनाउँथे । चलाउनेका अनुसार हिँउदताका 'ल्हाम''दोचा' प्रयोग गरेपनि वर्षातिर भने त्यति प्रयोग हुँदैनथ्यो । नाङ्गै खुट्टा हिँडिन्थ्यो ।
      नेपालको उपल्लो भेगतिर पर्वतारोहणको चलन आइसकेपछि जुत्ता प्रयोगमा फरकपन देखिँदै गयो ।   २००७ सालपछि पर्वतारोहणमा संलग्न भरिया, शेर्पा, गाइडहरुले विशेष प्रकारको आयातित जुत्ता पनि प्रयोग गर्न थाले । खास किसिमको जुत्ता किन्न नसक्ने भरियाहरुले हिमाल चढ्ने त के पदयात्राको लागि पनि अनुमति पाउँदैनथे । बीचैबाट फर्कनु पर्दथ्यो । यस्तो सन्दर्भमा हिमाल चढ्ने चाहना मात्र होइन पदयात्रा पनि जुत्ताले गर्दा अपुरै रहन्थ्यो । सन् १९६०/७० को दशकतिर पर्वतारोहण गर्दाको अनुभव संगालेर २०५९ सालमा छापिएको 'हिमश्रृंखलाको यात्रा' पुस्तकमा पर्वतारोहीले यसबारे केही संस्मरण पनि लेखेका छन् । जसमा उनीहरुले 'कुनै बेला 'कोप्लस' जुत्ता किन्ने सपना देखेको' कुरा पनि लेखिएको छ । 'कोप्लस' भएमा आफ्ना छोराछोरीलाई पर्वततिर लैजान वा चढाउन सकिन्थ्यो भन्ने कल्पना राखेका थिए । यस्ता जुत्ता हिउँमा टेक्दा नचिप्लनको लागि ६ ओटा काँडा भएको ख्राम्पुम लगाइन्थ्यो । अहिलेको पर्वत चढ्ने यस्ता जुत्तामा ख्राम्पुम ८ देखि १२ सम्म हुन्छन् ।
      यसरी पर्वतारोहण तथा पदयात्रासँगै भित्रिएका, परम्परागत सीपको आधारमा तयार पारिएका र भारतीय बजारहुँदै आएका जुत्ताको निरन्तरता छँदै २०२२ सालदेखि संस्थागत रुपमा नेपालमा जुत्ताको उत्पादन हुन थाल्यो । चिनीयाँ सहयोगमा बाँसबारी छाला जुत्ता कारखाना (बाछाजुका), अहिलेको गंगालाल हृदय रोग केन्द्र भएको ठाउँमा खोलिएको थियो । तर त्यति बेला उत्पादन भएका जुत्ता र जनसंख्याबिच ठूलो अन्तर नै देखिन्छ । यो आधारमा खाली खुट्टा हिड्ने मानिसको लामो ग्राफको अनुमान गर्न सकिन्छ ।
      २०१८ सालको जनगणना अनुसार नेपालको जनसंख्या ९४ लाख १२ हजार थियो । आर्थिक वर्ष २०२३/२४ सालमा बाछाजुकाले २० हजार ९५ जोर जुत्ता उत्पादन गर्थ्यो । अझ २०४१/४२ सालसम्म पनि यसले ५३ हजार १९८ जोर जुत्ता उत्पादन गरेको थियो । भनेपछि यति बेला धेरै मानिसहरु कि त जुत्ता नै लगाउँदैनथे । या त स्थानिय उत्पादनमा वा भारतीय बजारबाट आएका जुत्तामा भरपर्थे । जुत्ताभन्दा सूर्ती धेरै खपत हुने समय थियो त्यो । जस्तो आ.. २०२९/३० सालमा जुत्ता उपभोगको वार्षिक भार १.७३ प्रतिशत थियो । जवकी सूर्तीको भार २.६६ प्रतिशत थियो । यस्तो समयमा सर्वसाधरण त प्राय: खाली खुट्टामै हिँड्थे भनिन्छ । जुत्ता त समाजका ठालुको गहना जस्तो थियो ।
        बुद्धिनारायण श्रेष्ठले लेखेअनुसार सन् १९९२ मा नीजिकरण गरिएपछि बाछाजुकाको मेसिन भारतलाई बेचियो । यसको मेसिनले अझैपनि (२०७१ सम्म) गोरखपुरमा जुत्ताको उत्पादन गरिरहेको थियो । यो कारखाना आएपछि नेपालमा सुरुमा २० हजार जोर जुत्ता प्रति वर्ष उत्पादन गरिएको थियो । यसको नीजिकरण हुनुअघि २०४८/४९ सालमा नेपालमा १५ लाख जोर जुत्ता उत्पादन हुन्थ्यो । त्यस पछिका केही वर्ष नेपाली बजारमा विदेशी जुत्ताहरुको विक्री बढेको थियो ।
      हाल नेपालमा जुत्ता उत्पादन र यसको कच्चा पदार्थबारे दुइथरी विचारहरु सुन्न पाइन्छ । पहिलो प्रवर्धनात्मक ढंगको छ । जसले जुत्तामा नेपाल आत्म निर्भर छ भन्न खोजेको छ भने दोस्रो चाहिँले यो आत्मनिर्भर छैन भन्ने तर्क दिएको छ । आत्मनिर्भर छ भन्ने तर्कका प्रमाणअनुसार २०७१ सालसम्म नेपालमा ८ सयजति छालाजुत्ता उद्योग मध्ये ८० प्रतिशत काठमाडौँमा रहेका छन् । र करिब २ लाख ७५ हजार जनशक्ति जुत्ता उत्पादनमा सक्रिय छन् । २०७१ सम्ममा नेपालमा वार्षिक ५ करोड जोर जुत्ता विक्रीको अनुमान गरिन्छ । जसमध्ये ३ करोड जोर जुत्ता नेपालमै उत्पादन गरिन्छ भने २ करोड जोर जुत्ता विदेशबाट आयात गरिन्छ । यसको मतलब जनसंख्याको झण्डै दोब्बर अर्थात् १ जनाले वर्षमा डेढजोर जुत्ता किनेको देखिन्छ । तर यस्तो विचार राख्नेहरु केही पक्षमा मौन छन् ।
      जस्तो छाला जुत्ता उद्योगमा मध्यम व्यावसायिक घरानाको लगानी रहेकोले नयाँ नयाँ प्रविधिमा लगानी हुन सकेको छैन । यो जुत्ताचप्पलको आयातलाई रोक्न नसक्ने पक्ष एउटा हो । दोस्रो, एउटा मेसिनले एक खालको जुत्ता मात्र सिलाउन सक्छ । नेपालमा त्यस्तो थरीथरीका जुत्ता सिउने मेसिनमा लगानीको अवस्था कमजोर छ । फेसनेवल बजारको लागि यो पक्ष चुनौति बनेको छ । त्यसैले अझै पनि स्वयंनिर्भरता छैन । तेस्रो, नेपालमा छालाको उपयोग नहुँदा केही वर्ष यता छाला निर्यात गरिएको छ । २०७१/२०७२ सालमा २८ करोडको छाला निर्यात भएकोमा त्यसको अघिल्लो आर्थिक वर्षमा १६ करोडको छाला निर्यात भएको थियो ।
      अर्को बलियो प्रमाण अनुसार एउटा जुत्ता बनाउँदा ३७ वस्तुको प्रयोग हुने र ४७ प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ । ३७ वस्तुमध्ये नेपालमा २/३ वस्तुबाहेक अरु उत्पादन हुँदैन । सबै आयात गर्नुपर्छ । ४७ प्रक्रिया पार गर्न पनि नेपालमा दक्ष जनशक्ति छैन । विदेशबाट बोलाउनुपर्छ । जुत्ता उत्पादनको लागि गाई/ गोरुको छाला राम्रो मानिन्छ । जुन नेपालमा छैन । नेपालमा खाली भैँसी र वाख्राको छाला मात्र उत्पादन गरिन्छ । नेपालमा छाला निर्यातको ८० प्रतिशत काँचो छाला निर्यात हुन्छ । त्यही छाला प्रशोधन पछि महँगो मूल्यमा किनेर ल्याउनुपर्छ ।
      माथिल्ला दुइथरी विचारहरुबाट के नेपाल जुत्ता उत्पादनको लागि आत्मनिर्भर छ त, भन्ने प्रश्न जन्माउँछ । बरु कच्चा पदार्थ आयात गरेर नेपालमै जोडजाड गरी उत्पादन गरिने भएकाले यसलाई आत्मनिर्भर उद्योगको रुपमा परिभाषित गर्न खोजिएको हो कि ! यो प्रश्नलाई थाती राखेर, प्रयोगको पक्षलाई मात्र हेर्ने हो भने जुत्ताको व्यापकता भइसकेको छ । अहिले १० ओटा शहरी क्षेत्रमा गरिएको एक सर्वेक्षणले एक वर्षमा एक व्यक्तिले २.७ जोर जुत्ता र २ जोर चप्पलको खपत गर्ने देखाएको छ । गाउँघरमा पनि फेसनेवल जुत्ताको पसल नै देखिन थालेका छन् । यस्तो अनुभव वा तथ्यांकले जुत्ताबारे समाजको चित्र उल्टाएको छ । 'जुत्ता लाए खुट्टा विग्रन्थ्यो र ?' भन्ने प्रश्न अतिततिरै फर्काइदिएको छ ।

१५ साउन २०७३/३० जुलाई २०१६
थापागाउँ, वानेश्वर
यो लेख २०७३ भदौ १९ गते सनिबार अन्नपूर्ण पोष्टको फुर्सदमा पनि छापिएको थियो

Friday, July 1, 2016

साहेबको 'टाढाको घर'



सन् १९५० को दशकमा खोलिएका होटलको सुरुवाती कथा हो यो लेख । त्यति बेलाका एक पात्र बोरिस लिसानेभिचले राणा दरवारलाई प्रयोग गरेर कसरी होटल खोले, उनको योगदान र दुखबारेको वयान छ यहाँ । सन् १९६६ मा फ्रान्सेली नृवंशशास्त्री माइकल पिसेलले तयार पारेको टाइगर फर ब्रेकफास्टमा 'अलग तर प्राकृतिक काठमाडौँ'मा यूरोपेली र अमेरिकी मध्यमवर्गिय नागरिकलाई प्रवेश गराउने युक्रेनी (रसियन) बोरिस केन्द्रीय पात्र छन् । बोरिसको होटलमा ६ महिना बसेर उनको १२ वर्षको अनुभवलाई पिसेलले मानवशास्त्रिय खजाना बनाएका छन् । पिसेलबाहेक पुरुषोत्तम शमशेर जबरा, प्रभाकर शमशेर राणा, सुवोध राणा, नरेन्द्र कायस्थ, किसन उपाध्याय तथा न्यूयोर्क टाइम्सका रिपोर्ट पनि यो लेखका थप घुड्का हुन् ।




भुटान, तिब्बततिर हान्निन नपाएका पिसेल कालिम्पोङ्गमा अल्मलिँदा काठमाडौँतिर उक्लिने योजना बनाए । उपत्यका छिरेपछि सीधै रोयल होटल पुगे । उनी लेख्छन्,  त्यहाँ स्वागत गर्न सेवकहरु बाहेक बोरिस पनि आइपुगे । आयातकार तर अनौठो होटल देखेर पिसेलले बोरिसलाई सोधे, 'यहाँ बस्न कति महँगो छ ?' बोरिसले भने, 'बस तर पैसासँग नडराउ' । यो उनको टाढाको आतिथ्यता थियो ।

       'इसिएस' म्यागेजिनसँगको कुराकानीमा हानसनले रोयल होटल अघि खोलिएको स्नो भ्यू होटलको नारा 'तपाईँको टाढाको घर' भएको बताएका छन् । उनी स्नो भ्यूका सञ्चालक टोम मेन्डिसका सौतेला छोरा हुन् । बर्मामा जन्मिएका भारतिय मुलका मेन्डिसले लाजिम्पाट(हालको महागुठी)सँगै सन् १९५४ मै होटल स्नो भ्यू सुरु गरेका थिए । किसन उपाध्यायले आफ्नो पुस्तक दि लास्ट अरेन्ज अ लस्ट एण्ड फाउण्ड मेम्वायर (सन् २०१२)मा नरशमशेर राणाले उनलाई होटल खोल्न नेपाल बोलाएका थिए भनेका छन् । यो होटलको पक्ष अनुसन्धेय छ । 

       सन् १९०५ मा जन्मेका बोरिस १९ वर्षको उमेरमा बोल्सेभिकले सत्ता लिएपछि युक्रेन छाडेका थिए । भागेर रुमानिया हुँदै फ्रान्स पुगेका उनले नतर्कको काम पनि पाए । त्यही नतर्की जीवन बोरिसको लागि पूर्वीय समाज बुझ्ने एउटा बाटो बन्यो । उनी सन् १९३३ मा दक्षिण-पूर्वी एसियामा उपनिवेश जमाएका शासकको मनोरञ्जनको निम्ति मुम्बई आएका थिए । त्यति बेला इन्डियाका ठूलठूला होटलमा फजुल खर्च गर्न युरोपियन र अमेरिकन आउँथे । बोरिस र उनको पहिलो पत्नी किरा धनी ग्राहकको लागि नाचेर मनोरञ्जन दिए । मुम्बई टेकेपनि उनले धेरैजसो समय कलकत्तामै विताए । सुवोध राणाले आफ्नो ब्लगमा लेखेअनुसार यहि क्रममा त्यति बेला उनले कलकत्ताका ३ सय इलिटलाई सदस्य बनाई 'क्लब ३००' खोलेका थिए । लण्डनको 'क्लब ४००' जस्तै । तत्कालिन राजा त्रिभुवन कलकत्तामा रहेको 'क्लब ३००' मा सन् १९४४ मा पहिलो पटक जाँदा बोरिसले केही पुस्तक र बस्तुहरु उपहार दिएका पनि थिए । यसरी कलकत्तामै उनले नेपालका भविष्य(राणाशासन पछि)का नेतासँग सम्बन्ध बढाएको देखिन्छ ।

       सन् १९५४ मा बोरिसलाई होटल खोल्न अनुमति दिइएको दरबारको बारेमा पुरुषोत्तम शमशेरले लेखेका छन्, "दरबार सिलन्यास हालको वीर अस्पताल रहेको स्थानमा गरिएको थियो । तर त्यो स्थान शहर/बजारको नजिक रहेकाले निर्माण स्थगित गरियो ।" र जमलको पश्चिमपट्टि वीरशमशेरले चारबुर्जा दरबार स्थापना गराएका थिए । मुगालको परम्पराजस्तै । दरबारको छानोमा ४ ओटा मिनार(बुर्जा)हरु राखिएकाले यसलाई चारबुर्जा दरबार भनिएको हो । यसमा साढे २ महिना बसेर चन्द्रशमशेरले राजकाज पनि गरेका थिए ।

       वीरशमशेरकी कान्छी महारानी तोपकुमारी देवीका छोरा रुद्रशमशेरलाई जुद्धशमशेरले पदमुक्त गरी पाल्पा पठाएपछि आफ्ना माहिला छोरा बहादुरशमशेरलाई दरबार दिए । त्यसैले यसलाई बहादुर भवन पनि भनिन्छ । २००७ सालपछि तिनै बहादुर शमशेरले १८ लाख रुपैँयामा त्रिभुवनका कान्छा छोरा बसुन्धरालाई बेचे । होटल सञ्चालन हुँदा समेत बहादुर शमशेर त्यो होटलका ४/५ ओटा कोठा प्रयोग गरी बस्थे । पुरुषोत्तमका अनुसार पछि १८ लाख फर्काई ४० लाखमा बेच्न खोजेकाले बसुन्धराले उनलाई त्यहाँबाट हटाए ।

       यो चारबुर्जा दरबारमा रहेको रोयल होटलले सन् १९५० र १९६० को दशकमा विश्वका ठूलठूला कम्पनीका पर्वतारोहीलाई आश्रय दिएको थियो । यहाँ वृटिश सेनाका अफिसर, प्रख्यात आरोहीहरु बसे । रसियन अन्तरिक्ष यात्री भेलेन्टिना तेरेस्कोभा हनिमुन मनाउन यही बसेकी थिइन् । यस्तै कथा स्नो भ्यू होटलबारेमा पनि पढ्न पाइन्छ । बोरिसले अंग्रेजी बोल्न नजान्ने फ्रान्सेली र स्वीसलाई पनि पर्वतारोहणमा धेरै सघाए । रोयल होटलमा आरोहीहरुले बोरिसलाई चुचुराका ढुंगा उपहारको रुपमा बोकेर ल्याइदिन्थे । हिँउका कथा, आरोहण गर्दाका सजिलो र अप्ठ्यरा सुनाउँथे, पिसेलको वयानमा छ । पर्वतारोहणको लागि काठमाडौँ 'गेटवे'हुँदा बोरिस'साइत' बनेका थिए पश्चिमाहरुको लागि । त्यसैले उति बेला 'सगरमाथापछि दोस्रो नम्बरमा लोकप्रिय' भनिने बोरिसलाई 'नेपाली आतिथ्यसंस्कार(हस्पिटालिटी)' उद्योगका पिता पनि भनिन्छ ।

       फजुल खर्च हुने राज्याभिषेकको तयारीको बेला सन् १९५६ मा रोयल होटल विदेशीलाई चाँजोपाँजो मिलाउने हेडक्वार्टर र बोरिस त्यसका व्यस्त नायक थिए । खास गरी नेपाली भाषा नबुझ्ने विदेशी र अंग्रेजी नजान्ने नेपालीका विचमा उनी आकर्षण थिए । रातविरात खटेर काम गरे । पहाडहरुमा बोरिसले राज्याभिषेकको लागि ५० हजार कुखुरा, १०० टन चामल, लाखौँ कुखुराका अण्डा किन्दैछ भन्ने हल्ला थियो रे, पिसेलले लेखेका छन् । न्यूयोर्क टाइम्सको अप्रिल २९, १९५६ को रिपोर्टिङ्ग अनुसार बोरिसले भारतबाट ४ हजार कुखुरा, २ हजार हाँस, १३० जना सेवक र २५ हजार अण्डा मगाएका थिए । उनले राज्याभिषेकको बेला ३० ओटा वाथरुम हवाइयात्राबाट नेपाल ल्याए । टनका टनमाछा आए । त्यसको लागि ३ ओटा भाडाका जहाज पटना काठमाडौँ चलिरहन्थे । ल्याएका मध्ये आधा कुखुरा मरेकाले पहाडी गाउँहरुमा हतारमा कुखुरा खोज्न पठाइएको थियो ।

       न्यूयोर्क टाइम्सले नेपाली अधिकारीको अनुमान उद्धृत गर्दै ४०० जति विदेशी पाहुना आएको हुनसक्ने बताएको थियो । पिसेलको बयानमा राज्याभिषेकको बेला काठमाडौँमा १६० प्रेस प्रतिनिधिहरु थिए, भनिएको छ । रोयल होटलको बँगैचामा पत्रकारको लागि टेन्टका घर बनाइएका थिए । नेपाली बोल्न नजान्ने फोटोपत्रकारले काठमाडौँको संभवत: सबैभन्दा धेरै फोटो खिचे । त्यही बेला पहिलो पटक आएकी फोटो पत्रकार हान स्वयेनले काठमाडौँ पटक पटक आइ 'द माउन्टेन इज योङ्ग' भन्ने प्रख्यात पुस्तक लेखिन् । राज्याभिषेकमा आएका विदेशी अध्ययनकर्ता, अन्वेषक, पत्रकार, कलाकार, धर्म प्रचारक आदिले काठमाडौँको समाजलाई व्यापक बनायो ।

       भाषाको समस्या, वाथरुमको अभाव, अमेरिकनहरु चाइनिजसँग बस्न नरुचाउने, कतिपय विशिष्टलाई खाजा पनि नपुग्ने समस्याले बोरिसलाई सताएको थियो । त्रिभुवनको पालामा व्रिटिश रेजिडेन्ट र ५ जना अरु विदेशीहरु थिए । महेन्द्रको पालोमा त्यति ठूलो संख्यामा विदेशीले राज्याभिषेक हेरेको पहिलो थियो । बोरिसले सन् १९६१ मा भएको बेलायती महारानी एलिजावेथको भ्रमणको बेला पनि हङकङमा १० दिन विताइ ४८ टन समान नेपाल भित्राएका थिए । त्यसमा खाना मात्र थिएन । फ्रिजर, क्याम्पमा प्रयोग गर्ने स्टोभ, कुर्ची थिए । त्यो बेला कम्तिमा  ३७६ ओटा हात्ती चितवनको सौराहमा तैनाथ भए । सबै विदेशीको लागि हात्तिहरु थिए । १० ओटा हात्ती पत्रकारको लागि छुट्टाइएको थियो । महेन्द्रको राज्याभिषेक र एलिजावेथ भ्रमणले पनि धेरै विदेशी भित्राएको र नेपालबारे विदेशमा प्रचार हुन सघाएको देखिन्छ ।

       पिसेलले लेखेका छन्, ५५ वर्षका बोरिस ४५ वर्षका जस्ता देखिन्थे । उनी निकै जोशिला मानिस थिए । कामले नथाक्ने । बोरिसले रोयल होटलमा स्ट्रबेरी रोपेका थिए । उनले त्यति बेला होटलको गार्डेनमा तरकारी खेति पनि गरेका थिए । उनले नेपालमा गाजर, चुकन्दर, पालुङ्गो, सलादमा राखिने साग, स्ट्रबेरी आदिलाई परिचित गराए । बोरिसले हप्तान्त विताउन इचङ्गु नारायणमा पनि घर बनाए र बुङ्गुर पनि पालेका थिए ।

       त्यति बेला सेता कपडा र कालो टोपी लगाएका सेवकलाई बोरिसले विदेशीसँग बोल्ने र व्यवहार गर्ने तथा हात धुने विषयमा पनि सिकाउँथे । होटलमा सेवा दिनेमा काठमाडौँ र यस वरिपरीबाट तामाङ युवतीहरु पनि हुन्थे । उनीहरुले होटलको लागि विहानै दाउरा लिएर आउँथे । पैसा कुरेर बसिरहेका युवतीहरुलाई पिसेलले आफू बस्ने कोठाबाट देख्थे । कागजका नोटमा विश्वास नभएकाले सिक्का नै लिएर जान्थे । केही युवाहरु दाउरा चिर्न बस्थे । कसैले दाउरा ल्याउँथे । एउटा गईसकेपछि होटलमा अर्को समुह आउँथ्यो । कोही शिल्पी समुदायका हुन्थे । कोही अरुहरु हुन्थे । उनीहरुले आफ्नो सानो शोकेशमा सामान राखेर विक्रीको लागि बस्थे ।

       पानी पिउने गिलास, चक्कु, चम्चा काँटा जस्ता चिज काठमाडौँको बजारले होटललाई ढुवानी गर्न सिके । किचन र बेडमा चाहिने ससाना चिजबारे काठमाडौँको व्यापारीहरुलाई ज्ञान भयो । बोरिसले नै नेपालमा पहिलो पटक रसियन शैलीले केक बनाएका थिए । त्यसमा १० जनालाई काम पनि लगाएका थिए । एक अज्ञात टिप्पणीकारले सुवोध राणाद्वारा रोयल होटलबारे लेखिएको लेखको प्रतिक्रियामा त्यति बेला एक स्लाइस फ्रुट केक र कप चियाको ३ रुपैँया ५० पैसा पर्ने बताएका छन् ।

       बोरिसलाई बोरिङ लाग्ने पक्ष भनेको त्यति बेला होटल र पाहुनाको लागि काठमाडौँमा भैँसीको बाहेक मासु नपाइनु, चिठीपत्र पठाउन भारतीय दुतावासमा भरपर्नु इत्यादि थिए । नेपालको जातीय समस्या होटल व्यावसायमा पनि देखिन्थ्यो । कुचो लगाउने, किचनमा काम गर्ने मानिसका छुट्टाछुट्टै जात हुने र एकले अर्काको काम नगर्ने समस्या थियो । जस्तो कुचो लगाउने किचनमा नजाने, किचनकोले कुचो नलाउने आदि ।

       सन् १९५६ मा महेन्द्रको राज्याभिषेक अघि बोरिस साढे २ महिना जेल परेका थिए । कर नतिरेको कारणले । पिसेलको वयानअनुसार भारतको कुचविहारमा आफूले खोलेको डिस्टिलरीबाट सर्जाम ल्याई विराटनगरमा रक्सी उद्योग पनि खोलेका थिए । यो कारखाना खुलेपछि ४५० पसल यसका विक्रेता थिए । विभिन्न फलफुलको स्वाद आउने गैँडा, बाघ, चितुवा नामका रक्सी यिनले उत्पादन गरेका थिए । यो डिस्टिलरी उद्योगले त्यहाँका १२ सय रक्सी बेच्ने पसललाई धरापमा पारेको थियो । पछि स्थानियको विरोधबाट सरकारले यसको लाइसेन्स खारेज गर्यो । एक लाख ७५ हजार रुपैयाँ पनि सरकारले माग्यो । त्यो झोँकमा बोरिसले पैसा दिएनन् । बरु डिल्लीबजार सदरखोरमा बसे । नेपालको इतिहासमै एक विदेशी पाहुनालाई जेलखानमा हालियो । बोरिसको सम्झनाको बयान गर्दै पिसेल लेख्छन्, "डिल्लीबजारको सदरखोरमा उनलाई हेर्न सर्वसाधरण आउँथे । त्यति बेला बोरिसले आफूलाई चिडियाघरको बाँदरझैँ सम्झन्थे । अभिभावकले बच्चालाई काँधमा राखेर बोरिसलाई देखाउँथे ।" साढे २ महिना जेल बसेका उनलाई महेन्द्रको राज्याभिषेक समारोहमा आवश्यकता देखेर मुक्त गरिएको थियो ।

       सन् १९७६ मा न्युयोर्क टाइम्सका पत्रकारको उत्तरमा बोरिसले, "रोयल होटलमा १४० कोठा भएपनि त्यहाँ २/३ ओटामात्र वाथरुम भएकाले होटल बन्द गरेर याक एण्ड यति(सन् १९६५) खोलेको" बताएका छन् । तर पनि यो पक्षका अरु पाटा अनुसन्धेय छ । विदेशीको प्रवाह बढ्दै जाँदा पूराना भवनले नथेग्ने अवस्था आयो । उच्च वर्गीय विदेशीको लागि आधुनिक भवनको आवश्यकता थियो । नरेन्द्र कायस्थले सन् १९८५ मा तयार पारेको 'इम्प्लोयमेन्ट इन होटल इन्ड्स्ट्री' नामको रिपोर्टमा तेस्रो योजना अवधि(सन् १९६५-१९७०)मा नेपालमा थुप्रै होटलहरु खोलेको बताएका छन् । त्यति बेला ऋण, करमा सरकारले छुट दिएको थियो । २०१३ सालमा स्थापना भएको 'औद्योगिक विकास केन्द्र'मा युएसएआइडीको सहयोग भित्रिएपछि २०१६ सालमा 'औद्योगिक विकास कर्पोरेसन' भयो । यसले ऋण दिएकाले पनि सन् १९६५ मा सोल्टी होटल खोल्नको लागि सहायक भयो । त्यसै गरी १९६६ मा डेल अन्नपूर्ण खुल्यो । यी होटलहरु उच्च वर्गका टुरिस्टको लागि खोलिएको थियो । हाल यो उद्योग ठूलो लगानी र रोजगारको माध्यम हो ।

अन्तमा
नेपाली समाजको लागि होटल भनेको के हो ? यसले के माने दिन्छ ? भन्ने विश्लेषण पक्ष बाँकी नै छ । खास सन्दर्भ र प्रयासले सन् १९५० को दशक ब्रिटिश राजका 'साहेव'लाई नेपाल आकर्षण बनेको देखिन्छ । तिब्बत र भूटानतिर जान नपाएका मध्यमवर्गीय पश्चिमालीलाई त्यति बेला काठमाडौँमा खुलेका होटलले 'टाढाको घर'को अनुभूति दिलाए । यस बेला खुलेका होटलले पर्यटन सँगसँगै वस्तु प्रवेश र प्रयोगको हिसावमा पनि महत्त्वपूर्ण योगदान दिए ।

यो लेख २०७३ असार १८ अर्थात् २४ जुन २०१६ मा कान्तिपुर कोसेली, ृष्ठ ख मा प्रकाशित भएको थियो ।