Wednesday, November 19, 2014

पत्रकारिताको इतिहासमा जनमञ्च

नेपाली भाषाबाट साप्ताहिक रुपमा निस्कने न्यूज म्यागेजिन जनमञ्चको प्रकाशन २०४७ कात्तिक ८ बाट भएको हो । त्यतिबेला न्युज म्यागेजिनको लागि नेपाली पाठकहरुले भारतीय म्यागेजिन पढ्ने चलन पनि थियो । यो समयमा जनमञ्चमा लगानी गर्ने अमेरिकी नागरिक आर.डी. टटलले पञ्चायत कालमै सोल्टी होटलमा क्यासिनो खोलेका थिए । क्यासिनोको प्रचारका लागि नेपाल ट्राभलर म्यागेजिन पनि प्रकाशन हुन्थ्यो । व्यवस्था परिवर्तनपछि राजतन्त्र तुलनात्मक रुपमा कमजोर र दलहरु बलिया भएको सन्दर्भमा उनलाई दलहरुसँग नजिकको सम्बन्ध बढाउन आवश्यक थियो । कतिपय पत्रकारहरुले जनमञ्चलाई सम्बन्धको विकास गर्ने एउटा माध्यमको रुपमा पनि लिएका छन् । लगानीकर्ता टटल भएपनि यसका प्रकाशक किशोर सिलवाल थिए । सिलवाल पेसाले अमृत साइन्स क्याम्पसका प्राध्यापक र क्यासिनोका कर्मचारी पनि थिए । सम्पादकीय समूह बनाउनका लागि सिलवालले डिल्लीरमण रेग्मीसँग सल्लाह लिएका थिए । रेग्मीले गोरखापत्रमा काम गरिसकेका मुकुन्द पराजुलीलाई पत्रिकाको प्रधान सम्पादकका रुपमा राख्न सल्लाह दिए । २०४५ सालमा बालमुकुन्ददेव पाण्डेलाई सरकारले गोरखापत्रमा सम्पादक बनाएपछि निराश भएर बसेका पराजुली जनमञ्चमा आउनुअघि अंग्रेजी भाषाको न्यूज म्यागेजिन स्पटलाइटमा काम गरिरहेका थिए । उनले हरि अधिकारीको सहयोगमा सुरुको सम्पादकीय समुह बनाएका थिए ।
औपचारिक रुपमा जनमञ्चको व्यवस्थापकीय समुहको राजनीतिक सम्लग्नता नभएपनि सम्पादकीय समुह नेपाली काँग्रेससँग नजिक थियो । प्रधान सम्पादक मुकुन्द पराजुली गिरीजाप्रसाद कोइराला सरकारको पक्षमा देखिएपछि उनलाई कोइराला सरकारले २०४९ सालमा राष्ट्रिय समाचार समितिमा नियुक्त गर्यो । त्यति बेलासम्म अनुभवी पत्रकारहरु योगेश उपाध्याय, तारानाथ दाहाल, नारायण वाग्ले, जिवेन्द्र सिम्खडा, चन्द्रशेखर कार्की नयाँ दैनिक कान्तिपुरमा गए । त्यसपछि बालमुकुन्ददेव पाण्डे, देवप्रकाश त्रिपाठी, युवराज लुइँटेल लगायतका व्यक्तिहरु जनमञ्चमा आए । पत्रकार कुसुम भट्टराई अनुसार त्यतिबेला ‘कृष्णप्रसाद भट्टराईप्रति सहानुभूति देखाउने’ उपसम्पादक रेवतीरमण सुवेदी तथा पत्रकार केदार कोइराला र ‘गिरिजाप्रसाद कोइरालाको समर्थन गर्ने’ देवप्रकाश त्रिपाठीबीच बारम्बार विवाद भइरहने हुँदा बादेपालाई सल्लाहकार सम्पादकका रुपमा नियुक्त गरिएको थियो । यस्तै विवादमा असहमति हुँदा त्रिपाठीले प्रिन्टलाइनबाट आप्mनो नाम पनि झिकेका थिए । पछि त्रिपाठीलाई कोइराला नेतृत्वको सरकारले २०५० सालमा रेडियो नेपालमा पुरूषोत्तम दाहालको सट्टा घटना र विचार कार्यक्रमका लागि नियुक्ति दिएपछि कोइराला सरकारप्रति सहानुभूति राख्ने समूह जनमञ्चमा बाँकी रहेन । वि.सं. २०५० को उपचुनावमा कृष्णप्रसाद भट्टराईको उमेद्वारीलाई जनमञ्चले खुलेरै समर्थन गरेको छ । वि.सं. २०५१ को मध्यावधि चुनावपछि नेकपा (एमाले)को अल्पमतको सरकारले नेपाली काँग्रेसले नियुक्त गरेका मान्छेलाई निकाल्ने काम ग¥यो । मुकुन्द पराजुली राससबाट निकालिनेमा परे । पुनः जनमञ्चमा प्रधानसम्पादक हुन आए । त्यसपछि जनमञ्चले सरकारको विरोधमा लेख छाप्न थाल्यो । उदाहरणका लागि २०५२ सालमा एमालेले गरेको मध्यावधि निर्वाचनको घोषणालाई सर्वोच्च अदालतले अवैध घोषणा गरेको बेला जनमञ्चले आप्mनो सम्पादकीयमा ‘साम्यवादी निरंकुशता लाद्ने अल्पसंख्यक सरकारको दुस्वप्न’, ‘काकतालीबस सत्तामा पुगेको कम्युनिष्ट सरकार’ ‘कम्युनिस्ट तानाशाही’, ‘विश्वमा सर्वत्र साम्यवादको जरो उखेलिँदै छ’ र ‘साम्यवादी निरंकुशता स्थापना गर्ने दुस्वप्न’ जस्ता शब्दावलीको प्रयोग गरेको थियो । सर्वोच्च अदालतको निर्णय नमान्ने र आन्दोलन गर्ने एमालेलाई अर्को एक सम्पादकीयमा ‘सत्ता गुमेको क्रोधमा रन्थनिएको एउटा हिंस्रक जत्था’ भनिएको छ । सम्पादकीयमा प्रयोग भएका यी शब्दहरुबाट जनमञ्चको पक्षधरता देखिन्छ ।
के जनमञ्च राजनीतिक पक्षधरता देखाउने पत्रिका नै थियो त ? माथिका विषयवस्तुको प्रस्तुति तथा त्यसको विवेचना हेर्दा त्यस्तो लाग्नसक्छ । तर त्यति मात्र होइन । जनमञ्चलाई म्यागेजिनको पूर्ण आकार दिन, सामान्य पाठकलाई पनि रूचिको पत्रिका बनाउन यसका गैरराजनीतिक विषयवस्तुको महत्वपूर्ण स्थान छ । पूर्ण म्यागेजिन बनाउन जनमञ्चमा साहित्य, रंगमञ्च, पर्यटन, पर्यावरण लगायत ४१ ओटा स्तम्भ थिए । यस्ता विषयवस्तु लेख्ने काम चाहिँ आन्तरिक जनशक्ति र बाह्य जनशक्तिबाट गरिएको थियो । त्यति बेला नाम चलेका थुप्रै लेखक तथा स्तम्भकारले जनमञ्चमा लेखेका छन् । अरु नै कामको शिलशिलामा काठमाडौँ बाहिर गएका बेला जनमञ्चको लागि बाहिरी लेखकहरुले केही रिपोर्टिङ गरेका छन् । यसले जनमञ्चको व्यावसायिकतालाई बोकेको छ । यसको अर्को प्रभावशाली पक्ष भनेको फोटोको प्रयोग थियो । जनमञ्च प्रकाशित हुँदाका फोटोग्राफर चन्द्रशेखर कार्कीका अनुसार अरु ट्याब्लोइडहरुले जनमञ्चको फोटो कटिङ गरेर छाप्थे । सुरूचि, प्रतिपक्ष, विमर्श साप्ताहिकले जनमञ्चका तस्बिरहरुलाई कटिङ गरेर प्रकाशन गर्थे । व्यावसायिकताको अर्को पाटो चाहिँ जनमञ्चले पत्रकारहरुलाई नियमित तलब दिने, आवश्यक परेको बेला पेश्की दिने गर्दथ्यो । जसले त्यतिबेलाका पत्रकारलाई आकर्षण गरेको थियो । रिपोर्टरहरुको तलब २०४७ सालको मध्यताका २२ सय देखि तीन हजार रूपैयाँ थियो । सोही समयमा सरकारी सेवामा काम गर्नेे शाखा अधिकृतको १४४० रूपैयाँ मासिक तलव थियो । यसबाट जनमञ्चले दिने पारिश्रमिक राम्रै थियो भन्न सकिन्छ । प्रकाशक किशोर सिलवालका अनुसार विज्ञापन भन्दा लगानीका भरमा पत्रिका चलेको थियो । विज्ञापनदाताले पैसाको सट्टा वस्तु प्रदान गर्थे । बियरको विज्ञापन छापेबापत कम्पनीले जनमञ्चको कार्यालयमा आधा वा एक कार्टुन बियर मात्रै ल्याइदिन्थ्यो । लगानीको भरमा मात्र टिकेको जनमञ्च २०५२ सालपछि ट््याब्लोइड साइजमा निस्कन थाल्यो । यसको संकेत पत्रिका आर्थिक रुपमा कमजोर स्थितिमा पुगेको अनुमान गर्न सकिन्छ । अनुभवी पत्रकारहरुले छोडेर कान्तिपुरमा जानु वा दैनिक पत्रिकाको आगमन पनि पत्रिका कमजोर हुनुको एउटा कारण थियो । जनमञ्चका सुरुवाती सम्वाददाता तारानाथ दाहालअनुसार लगानीकर्ताले लगानी त गरे तर लगानी बढाउन, विज्ञापन प्रवद्र्धनमा ध्यान नदिएकाले पनि पत्रिका सुरूदेखि नै स्वावलम्बी बन्ने प्रक्रियामा गएन । बरू यसले पत्रकारलाई मात्र समयमा तलब दिएर व्यावसायिकता नबढ्ने भन्ने पाठ सिकायो । जिवेन्द्र सिम्खडालाई प्रकाशक सिलवालले भनेअनुसार जम्माजम्मी दुई करोड नोक्सान सहेर पत्रिका २०५४ सालमा बन्द भएको थियो । उनले जिवेन्द्रलाई भनेका थिए रे, ‘हेर जिवेन्द्र, दुई करोडमा दुइ चारओटा कुर्सी र कम्प्युटर मात्र बाँकी छन्’ । अन्त्यमा दलगत साप्ताहिक पत्रिका निस्किरहेको समयलाई पन्छाउँदै यसले निजी क्षेत्रबाट व्यावसायिक पत्रकारिताको प्रारम्भ ग¥यो । कुनै खास दलमा आबद्ध रहेका वा मिसन पत्रकारिता गरिरहेका व्यक्तिलाई व्यावसायिक पत्रकारमा रुपान्तर गर्न भूमिका निर्वाह गर्‌यो । निस्कँदै गरेको दैनिक पत्रिकाको निम्ति एक जमात पत्रकार उत्पादन ग¥यो । निजी क्षेत्रमा काम गरिरहेका पत्रकारहरुलाई समयमा तलब दिने, बाहिरी पत्रकारलाई पनि पारिश्रमिकसहित लेख्न प्रोत्साहन गर्ने काम ग¥यो । खोजी रिपोर्टिङ, फलोअप रिपोर्टिङ, फोटोपत्रकारलाई छुट्टै तलब दिएर राख्नु आदि संकेतका आधारमा यसले व्यावसायिकताको सुरूआत गरेको हो । तर जनमञ्च दलगत गुटबाट मुक्त हुन सकेन । पार्टीगत त्यसमा पनि गुटको प्रभाव जनमञ्चमा देखिन्छ । जसले गर्दा केही सम्पादकहरुले राजनीतिक नियुक्तिका निम्ति लेखहरु लेखेर सरकारी जागिर खाने दाउमा गए । प्रकाशकीय समूहको मूल व्यवसाय नै पत्रिका प्रकाशन नहुँदा पत्रिकाको स्वावलम्बी बन्ने प्रक्रिया नै कमजोर भयो । व्यावसायिक पक्ष र अन्तर्वस्तु कमजोर हुँदै गयो । यसरी बलियो लगानीको पाटो पनि अन्ततः ट्याब्लोइड हुँदै बन्द भयो । 

 –मार्टिन चौतारीबाट प्रकाशित नेपाली म्यागेजिनका २५ वर्ष पुस्तकमा प्रकाशित लेखको छोटो रुप हो

No comments:

Post a Comment