पोखराबाट उत्तरपूर्वको
हिमाली गाउँ ताङ्गतिङ्गमा विदेशबाट आएका 'लाउरे'हरु आएको अर्कै दिन जंगल जान्छन् । रनबन डुलेको
याद मेटाउन । जंगल उनीहरुको निकै प्यारो थलो । त्यसैले ८४ पुगेका बृद्धहरु पनि जंगलमा
धर्मशाला बनाउँछन् । वर्खामा ओतिन । गोठबस्ने थलो, दाउरा, जडिबुटी, तरुल, यार्सागुम्बा आदि पाउने थलोसँग उनीहरुको जीवन
जोडिएको छ । म पनि एकदिन मान्छेहरुसँग कुराकानी गर्न बनतिर जाने योजना बनाएँ । गाउँबाट
१ घन्टा बनैबन हिँडेपछि गुरुङ्गहरुको चिहानघारी माथिको बारीमा साग टिप्दै गरेकी
आइमाइ देखेँ । कल्बन्धी पाखोको मुनीपट्टी बारीमा साग टिप्दैगरेकी आइमाइलाई नजिकै
गएपछि मैले चिनीहालेँ । मंगली रहिछन् । मंगलीले कल्बन्धीको पारीपट्टी रहेको
सिल्दुको पाखो नजिकै पूरानो स्वाँरमा तोरीको साग टिप्दै थिइन् । उनले साग टिप्ने बारी
गुरुङ्गको थियो । तोरीमात्र छरेको भए साग टिप्न पाइँदैनथ्यो । तर त्यो बारीमा जौ
पनि 'मिस्कट' गरेर छरेकाले टिप्न अनुमति थियो । जब म उनी नजिकै पुगेँ । उनले भनिन्, "नचिनेको बाटो एक्लै
नहिँड्नुस् बाबु ।" मैले उनलाई भने, "तरुल खोज्न आएका ठिटाहरु
खोज्दै हिँडेको थिए कसैलाई भेटिन । त्यसैले यता आएको ।"
तस्बीर १ : तोरी
टिप्नेबारीबाट देखिएको अन्नपूर्ण हिमालको दृष्य
माघे संक्रातीको
लागि बन तरुल खोज्न हिँडेका गाउँका ठिटाहरुलाई खोज्दै म पनि कलवन्धी पाखोतिर
लागेको थिएँ । 'ओइ' भन्दै चिच्चाउँदै हिँड्नुपर्ने नत्र तरुल खाल्टोभित्र मन्टो घुसारेका
केटाहरुले ढुंगा पल्टाइदिएमा 'डेन्जर' हुनसक्थ्यो । जति 'ओइ' भनेपनि केटाहरुले 'हुइ' भनेर जवाफ दिएनन् । उनीहरु अर्कै पाखोतिर गएछन् क्यारे ।
६७ वर्षकी मंगली
हुलाककी हल्करा हुन् । १० जना हुलाकी मध्ये उनी एक दलित हल्करा हुन् । मैनामा १
चोटीको पालोमा चिठ्ठी विनाको 'हुलाकी थैलो' लिएर उनले गाउँबाट पोखरा झर्नुपर्छ । पोखरामा उनी प्राय: फुलमाया गुर्सेनीको घरमा
बस्छिन् । मंगलीको गाउँ, ताङ्गतिङ्गबाट पोखरा २४ किलोमिटर टाढा भएपनि एकदिन उतैबास
बस्नुपर्छ । अघिल्लो मैनामा उनी पोखराकी फुलमायाकहाँ बास बसेकी थिइन् । त्यति बेला फुलमाया
गुर्सेनीले मंगलीलाई गाउँबाट सिन्की ल्याइदिन भनेकी थिइन ।
तस्बिर २ : बल्ल गुरुङ्गको बारीमा तोरीको साग टिप्दै गरेकी मंगली ।
फुलमायाले सिन्की
ल्याइदिन भनेकै बेला मंगली छोरी भेट्न याङ्गजाकोट गइन । त्यही बेला आफैले छोरीलाई
सम्चार छोडेकी थिइन् "पुसको आखिरीतिर मेरो पोखरा झर्ने हुलाकी पालो परेको छ, मलाई जसरी नि एकपाथी सिन्की
खोजीदिनु ।" मंगली र उनकी याङ्गजाकोटे छोरी दुवैसँग मोबाइल थिएन । आमाले अह्राएको भरमा
छोरीले सिन्की खोजेर बसिन् । याङ्गजाकोट र ताङ्गतिङ्ग ओहरदोहर गर्नेसँग आमालाई 'तोरीको साग ल्याइदिनु' भनेर सम्चार पठाइन् । यता
मंगलीले पनि एक महिना अघि भनेको कुरा छोरीले विर्सिन्छेकी भनेर ३ दिन अघि
याङ्गजाकोट छोरी भेट्न जान लागेकी ताङ्गतिङ्गकी भउती गुर्सेनीसँग 'रिमाइन्डर' सम्चार पठाइन् । भउती
गुर्सेनीलाइ मंगलीले भनेको सम्चार यस्तो थियो । "आमा ३० गते सेवारै पोख्रा जाँदैछिन । जसरी नि
आउन भन्देउ है ।" भउती गुर्सेनीका तीनटी छोरीको विहे याङ्गजाकोटमै भएकाले
उनीसँग छोरी भेट्न जाँदा मंगलीले नियमित सम्चार पठाउने गर्छिन् । मोबाइल विनाका यि
आमाछोरीलाई एक गाउँदेखि अर्को गाउँसम्म आउनेजाने मान्छेका 'हात' पठाएको सम्चारले काम गर्छ
। मंगलीको याङ्गजाकोटे छोरीको घरमा वर्खा याम ताका मोबाइल थियो । पानीमा खसेर
विग्रेकोले छोरी पनि मोबाइल विहिन भएकी छन् । त्यसैले मंगलीलाई छिमेकीको मोबाइलबाट
फोन गरौँ भने पनि मिल्दैन । त्यसैले सम्चारमा भरपर्नुपर्छ ।
मान्छेले बोकेका सम्चारमा
भरपर्ने मंगलीले मोबाइलमा फोन नै नगरेकी भने होइनन् । कहिलेकाँही आफ्नो घर माथिकी छिमेकी
गुर्सेनीसँग मोबाइल मागेर फोन गर्छिन् । आफूले नाम भन्न नआउने भन्दै मंगलीले भनिन्
"उनको नाम त के हो कुन्नी, हाम्ले बबिताको आमा
भन्छम् । बबिताको आमासँग फोन मागेर कहिलेकाही छोरीलाई दुखविमार भएको छ कि छैन भनेर
छोरीको छिम्कीलाई फोन गर्छु ।" उनले यसरी फोन गर्दा 'एकपाली'मा बबिताको आमालाई ५० रुप्पेको रिचार्ज
गरिदिनुपर्छ । नातीनातिनाले चिर्कटोमा लेखेर दिएको फोन नम्बर मंगलीले जतनले राखेकी
छिन् । आफूलाइ 'दुखेको बेला' छोरीलाई फोन गर्छिन । छिमेकीको 'साहेताले' ।
मंगली हुलाकी हल्करा
भएकाले वृद्धभत्ता पाउन्नीन् । गाउँका ठालुहरुले दुइतिरबाट तलब थाप्न पाइन्न भनेर
उनले भत्ता नपाएकी हुन् । तर गाउँमा दुइतिर काम गरेर रुप्पे थाप्ने कतिछन् कति । आफूमात्र बञ्चित
भएकी मंगलीले आँशु पुछ्दै भनिन्, "एक्ली दमिनी भनेर हेपेका हुन् ।" अन्तिम आँशु पुछ्दै
मंगलीले भनिन्, "तर विष्टबराजुसँग निहुँ खोज्नु हुँदैन" ।
पोखराबाट फर्किँदा
कहिलेकाँही फुलमायाले मंगलीलाई लत्ताकपडा पनि दिन्छिन् । उनी पोखरामा फुलमायाको
टिभी कोठामा सुत्छिन् । गाउँमा गुरुङ्गको घरभित्र पस्न नपाएपनि पोखरामा भने
त्यस्तो शुद्ध अछुत भएर बस्नुपर्दैन । फुलमायाको घरमा मात्र होइन अरुको घरमा पनि ।
हुन त पोखरामा मंगलीका आफन्ती पनि छन् । ती आफन्तीहरु पाहुना धेरै आए भनेर
कचकचाउने भएकाले आफ्नी विष्टेनीकहाँ नै बस्न रुचाउँछिन् मंगली । कहिलेकाहीँ मंगली
फुलमायाबाहेक अरु विष्टकहाँ पनि बस्छिन् । गाउँबाट कसैले नासो पठाएमा त्यही नासो
पठाएका विष्टबराजुकहाँ बस्छिन् । गाउँका गुर्सेनीहरुले पोखरामा बस्ने आफन्तीलाई
साग, मुला, भट्ट, बनको न्यूरो जस्ता नासो बरोबर पठाउँछन् । मंगली सधै एउटै मान्छेकहाँ
बस्दिनन्, कहिलेकाहीँ मितेनी बुहारीको घरमा बस्छिन् । उनकी मितेनी छाचोककी 'कमेनी' हुन् । उनका छोराबुहारी
पोखराको मालेपाटनमा घर बनाइ बसेका छन् । २७ वर्ष पहिले उनले मित लाएकी थिइन् ।
ताङ्गतिङ्गबाट पोखरा जाँदा बाटोमा बास बस्नुपर्थ्यो । मंगलीले भनिन्, "बुढा छँदाको कुरा हो
। अँध्यारो भएपछि छाचोकको कमेनीकहाँ बास बस्यौँ । मितेनी पनि म जत्रै डल्ली थिइन्
। उत्रै होचाहोचा भएकाले उनको बुढा र मेरो बुढाले मित लाउन भने ।" उनीहरुले पैसा
ओहरदोहर गराएर मित लगाएका हुन् । कति रुपैँयामा मित लाउनुभएको भनि सोध्दा उनले
फुक्का हाँसो छोड्दै भनिन्, "पाँच रुप्पेले, हे हे हे" । पोखराबाट आउँदा कहिलेकाही तिनै मितेनीकहाँ पनि बास
बस्छिन्, मंगली ।
तस्बिर ३ : छोरीलाई तोरीको साग, छोरीसँग सिन्की लिएर पोखरा बासबस्ने योजनामा मंगली
पोखराबाट फर्किँदा
मंगलीले आफूलाई चाहिने मासु, नुन, खुर्सानी, मर/मसला, साबन, तेल, आदि डोकामा बोकेर आउँछिन् । उनले भनिन्, "चुरोट पनि छुटाउन्न
। त्यो त मेरो सास नै हो ।" चिसोले होला ताङ्गतिङ्गमा खुबै चुरोटको खपत हुन्छ ।
दैलामुनी मंगलीको अलिकति बारी त छ । बार्न नसकेकाले छिमेकीका कुखुराले हैरान
पार्छन् । बारीले खान पुग्दैन । बिष्टबराजुकहाँ काम खोज्न जानुपर्छ । बुढेसकाल
लागेपछि उनीहरुले पनि बोलाउन छोडे । कहिलेकाहीँ गोडमेल गर्न त बोलाउँछन् । त्यतिले
पुग्दैन । हल्कराको काम गरेर आएको पैसाले गुजारा चलेको छ । उनी भन्छिन्, "भारी बोक्न नि
सक्दिन, जडिबुटी खोज्न नि टाढा जानुपर्नेहुँदा सक्दिन । निगालो काट्न उतै बास
बस्नुपरेकाले जान सक्दिन । दाउराबाहेक नजिकको जंगलले पनि केही दिन नसकेकाले बन पनि
बिरानो भयो ।"
तस्बिर ४ : कल्बन्धि पाखोबाट घाँस काटेर फर्कँदै गरेका साथीलाई हेर्दै मंगली
एक घन्टा बढीको
कुराकानी पछि मंगलीले कलबन्धी पाखातिर गएका केटीहरुलाई देखाउँदै "उ दुइटी आए ।" आफू जाने जनाउ
दिँदै भनिन् । त्यसपछि मैले उनलाई छोडेर एक्लै गाउँतिर फर्केँ । फर्किँदा मादिनदी
एकोहोरो सुसाइरहेको सुनिन्थ्यो । मादिशीरे गाउँहरुमा ।
No comments:
Post a Comment