चोखाछेँ गल्ली खोज्न कष्ट थिएन । इन्द्रचोकबाट पश्चिम फर्केर आँखा चिम्म पारे पनि पुगिँदो रहेछ । गल्ली साँगुरो थियो । अँध्यारो पनि । सनिबार र नाकावन्दी भएकाले होला अरुदिन झैँ भिडभाड थिएन । चुरोट तानिरहेका दाईले मेरो गन्तव्य देखाइदिँदै भने, "ऊ परै जानुस् त्यहाँ छ छाता भण्डार ।" सटरमाथि पुक्क उठेका ठाउँतिर लेखेका अक्षर पढ्दै हिँडे कतै देखिएन । अलि परपुगेपछि सुन टुकटुक पारेका युवाले अघि आएकै बाटोतिर औँला तेर्साउँदै भने "ऊ त्यही हो ।" उहीँनिर पुगेपछि ढोका ढ्याम्म लगाएको देखेँ । तर बाहिरपट्टी फोन नम्बर लेखेको थियो । मोबाइलमा 'बेलेन्स' सकिएकोले फेरि इन्द्रचोकमै फर्कनुपर्यो । रिचार्ज पछि फोन गरेँ । त्यो त साडीको फल्स राख्ने मान्छेको पो नम्मर पो रहेछ । भएन ! अब घण्टी बजाउँदै छिर्नुपर्यो भन्दै गएँ । ढोका लगाएका घरहरुमा विस्तारै हेरेँ कतै घन्टी थिएन । एउटा घरको ढोका खुल्लै थियो । ढोकामा '११९ क' का मुनी 'चोखाछेँ गल्ली' लेखिएको थियो । १८० डिग्री घुम्दा पनि घण्टी कतै देखिएन । निहुँरिँदै पुरानो घर कटेपछि भित्र नयाँ बान्कीको घर देखियो । खाली कम्पाउण्ड पनि थियो । सोध्नलाई यताउती मान्छे खोजेँ अहँ कोही चुँ सम्म बोलेको आवाज सुनिएन । जताततै चाबी झुन्डाइएको थियो । घन्टी पनि थिएन । गेट छङ्ग्रङ्ग बजाएँ । "तल को ?" नेपथ्यबाट आवाज आयो । के भन्ने एकैचोटी आफु आउनाको कारण बताउन नसकिने भएकाले "यसो तल आउनोस् न ।" विनयशिल आवाजले भने । चौथो तलाबाट इनारको पानी हेरे झैँ एक ढल्कँदो उमेरका मान्छेले मलाई हेरे र "के हो बाबु ?" भन्दै सोधे । इनारको पानीले बोले झैँ तलबाट माथि फर्कँदै भने "म विद्यार्थी हुँ छाताको बारेमा लेख्न चाहन्छु, मलाई कसैले यो गल्लीमा जानू, त्यहाँ छाता बनाउने पूराना मान्छे भेटिन्छन् भनेकाले आएको हुँ ।" उनी केही बोलेनन् । तल झर्न थाले । हात बाँधेर म उनको प्रतिक्षा गर्न थालेँ । यता उती हेरेँ । त्यहाँ बेतका घुम्री परेका प्रशस्त लौराहरु थिए । त्यस्ता लौरा टेकेर साहु तथा पण्डित बुढाहरु हाम्रो गाउँघरमा हिँडेको मलाई पनि थाहा छ । पक्कै पनि ठीक घरमा आएछु भन्ने लाग्यो । मनमा तर्कनाहरु खेलिरहेका थिए । उनी आउँदैनन् कि भन्ने शंका लागिरहेको थियो तैपनि धेरैबेर कुराएपछि तल झरे । मैले आफ्नो परिचय दिँदा पनि उति तत्तु दिएनन् । उतै अँधेरो गल्लीतिर मलाई डोराए । कोठा पनि एकदमै अँधेरो थियो । दक्षिणतिरको झ्यालबाट एकोहोरो लाइट आएकोले लेख्न मिल्थ्यो । विचमा मैले सोधेँ "सरको नाम के होला ?" त्रिभुवन विश्वविद्यालयले सम्मान गरेका प्रमाणपत्र घरबाहिरबाटै सिँढीपिच्छे देखिन्थे, त्यसैले मैले सर भनेर सोधेँ । नत्र बाजे भन्थे होला । नाम सोधेपछि उनले भने "विद्यामान शाक्य ।" घर्राबाट आफू र उद्योगको बारेमा लेखेका दुइटा चिर्कटा तेर्साउँदै भने, "मेरो बारेमा यहाँ लेखिएको छ ।" ति चिज मैले फुर्सदमा पढुँला भन्दै छेउ लगाएँ । बरु, उनीसित कुराको पोयो खोल्ने कोशिस गरेँ । ठाउँ एकदमै सुनसान थियो । काठमाडौँमा खोलिएको पहिलो छाता उद्योग विद्यामानका बाजे आशामानले वि.सं. १९९३ (सन् १९३६) सालमा अर्थात् राणाकालको आखिरी दशकतिर सुरु गरेका रहेछन् । कलकत्ताबाट छाताका सरसामान ल्याएर चोखाछेँ गल्लीमा त्यसको जडान गर्ने गरी । अंग्रेजी बान्कीमा कुरा गर्दै विद्यामानले भने "कलकत्ताबाट समान ल्याएर यहाँ एसेम्बल गर्थ्यौँ ।" उनका बाजे आशामान राणाकालमा ३२ कोठे साहु महाजन रहेछन् । उनले भने, "मेरा बाजेले नयाँ कामको सुरुवात गर्ने भनेर सुनको पेशा छोडेर छाता व्यावसायमा लाग्नुभएको हो ।" फेरि सोधेँ "किन छाता नै अरु व्यावसाय पनि त गर्न सकिन्थ्यो ?" मेरो खुल्दुलीको विद्यामानले बुझ्दो जवाफ दिन सकेनन् । उनले आफूसँग भएका अन्य सूचनाहरु भने मलाई दिँदै गए । सुरुमा अर्थात् १९९३ सालमा एउटा छाताको ७५ पैसा पर्थ्यो । त्यति बेला सुनको भाउ २८ रुपैँया तोला थियो । एउटा छाता किनेवापत एउटा पेन्सिल 'फ्रि'मा दिने 'स्किम' पनि उनका बाजेले चलाएको कुरा आशामानले बताए । वि.सं. १९९० र २००० को दशकमा २० जना कालीगढलाई काम भ्याइनभ्याइ हुन्थ्यो भन्दै उनले भने "त्यति बेला १ हजार दर्जन छाता नेपालभरका डिपोहरुमा सप्लाइ हुन्थ्यो ।" त्यो भनेको १२ हजार प्रति छाता हो । मैले कर गरेपछि उनले भने, "त्यस्तो छाताहरु नेपालभर रहेका करिब ५० डिपोहरुमा जान्थ्यो होला ।" जस्तो त्रिशुली डिपो, पाल्पा डिपो आदि । ति डिपोका महाजनले काठमाडौँको असन इन्द्रचोकमा समान खरिद गर्न आउँदा छाता पनि लिएर जान्थे । नेपालको पहाडी जिल्लाहरुमा यसको खपत निकै थियो । उनले भने "लौराको पनि काम गर्ने भएकाले यसको महत्व पहाडी इलाकामा एकदमै थियो ।" वि.सं. १९९० तिर छाताको विकल्पमा मान्छेहरुले के ओढ्दाहुन् । मेरो मनमा कुरो खेलिरहेको थियो । ठिक्क ठिक्क बोल्ने विद्यामानले मलाई प्रश्न सोध्ने ठाउँ पनि दिइरहेका थिए । उनले भने "त्यति बेला पातहरुलाई बाँसको चोयाले बाँधेर टाउकोमा झुन्डाउने 'घुम' ओडिन्थ्यो ।" त्यस्तोलाई अर्घाखाँचीतिर 'सेँव' पनि भनिन्छ । भर्लाका ठूल्ठूला पातलाई चोयाले उनेर अर्घाखाँचीतिर सेवँ बनाइन्थ्यो । त्यस्ता सेवँहरु अझै पनि प्रयोगमा छन् । पोखराबाट उत्तरपूर्वी दिशामा पर्ने ताङ्गतिङ्गमा यस्ता सेवँ ओडेका मान्छेहरु २०७१ सालमा मैले देखेको थिएँ । घुमको कुरा सकिएपछि शाक्यले पानीपर्दा ओढ्ने पानीकागजको पनि कुरा गरे । उनले भने, "पानीकागजको चलन छाता पछि नै आएको हो ।" विद्यामानका अनुसार उति बेला छातामा हुने कटनको कपडामाथि प्लास्टिक बेरेर पनि मान्छेहरुले ओढ्ने गर्थे । कटनको कपडाबाट पानी सिमसिम चुहिने भएकाले छातालाई पनि प्लास्टिक ओढाएर हिँडिन्थ्यो । विवाह, गाइजात्रा, देउता डुलाउँदा र राजा-राणाहरुको लागि 'झल्लरी छाता' पनि चाहिने हुनाले त्यसको उत्पादन पनि विद्यामानको छाता भण्डारले गरेको हुन्थ्यो । वि.सं. २००० को दशकतिर बनाइने झल्लरी छातामा प्रयोग गरिने करङ (रिब) पनि काठको हुन्थ्यो । नेपाली कालीगढले नै नरम काठबाट यस्ता रिबहरु बनाउन सक्थे । अहिले यी झल्लरी छाताको माग भएपनि कालीगढको अभावले यसको उत्पादन हुन छोडेको छ । पहिला राजा-राणा र बाहुन क्षेत्रीहरुबाट यस्ता झल्लरी छाताको माग हुने गरेको शाक्यले बताउँछन् । भीमबहादुर पाँडेले त्यस बखतको नेपालमा लेख्छन्, राणा सरकारबाट "नवनियुक्त वडाहाकिमहरु काठमाडौँमा जतिसुकै लुते, गएगुज्रेका भएपनि जिल्लामा उत्रिनासाथ उनीहरुले वडा हाकीमको रौस, रवाफ र शान देखाउन सुरु गर्थे. . . अड्डा भित्र-बाहिर गर्दा वडा हाकिमलाई झल्लरी छाता ओढाइन्थे । काठमाडौँमा प्रधानमन्त्रीले ओढे सरह ।" यसरी राजा–राणाहरुबाट सिकेर रजौटा वा वडाहाकिमहरुले पनि यस्ता छाताको प्रयोग गरेको देखिन्छ । यी छाताहरु सम्मानको प्रतिक भएकाले सर्वसाधरणमा पनि आफ्ना देउता डुलाउनलाई, विहेमा वेहुलालाई ओढाउनलाई पनि प्रयोग गरिन्थ्यो । तर बेहुलीलाई भने डोली वा कार्पेटमा राखेर भित्र्याइन्थ्यो । छाता भण्डारले उत्पादन गर्ने झल्लरी छाताको पछिल्लो पटकको मूल्य ४ हजार देखि ६ हजारसम्म थियो । माग यथावत भएपनि विद्यामानलाई १४ हजार दिन्छु बनाइदिनुस् भन्दा पनि कालीगढको अभावले बनाउन सकेनन् । वि.सं. २००० देखि नै नेपालमा जोडजाड गरी बनाइएका छाताहरुको बजारलाई २०३९ साल देखि व्यापक रुपमा खासा कोदारी हुँदै अन्य वस्तुसँग आएका चाइनिज छाताको बजारले कमजोर बनाएको छ । विद्यामानका अनुसार चाइनाबाट फोल्डिङ्ग छाता आएपछि घर-बनुवा छाताको बजार सकियो । वि.सं. १९९० र २०००को दशकतिर १२ हजार प्रति विक्री हुने छाता चाइनिज छाताको बजार आएपछि ४ सय प्रति मात्र माग हुनथाल्यो । उनी भन्छन् "वि.सं. २०७० को दशकमा आउँदा अर्डर बाहेक २० ओटा छाता वार्षिक रुपमा विक्री हुन्छन् ।" त्यो पनि मनसुन यामतिर बजेट सिद्धाउनलाई सरकारी कार्यालयहरुमा यसको खपत हुन्छ । जापानतिर लैजानलाई कसैकसैले 'बेम्बु अम्रेला' भन्दै माग गर्छन् । तर विद्यामान भन्छन्, "मेरा कालीगढ अहिले मरिसके उनीहरुका श्रीमतीहरुले मात्र घरमा लगेर अर्डर बमोजिम बनाइरहेका छन् । वौद्धका एकजना कालिगढ मरेपछि त सकिए झैँ भएको छ ।" शंकरदेव क्याम्पसका पूर्व क्याम्पस प्रमुख विद्यामान नरम स्वभावमै मैले सोधेका कुराको उत्तर दिइरहेका थिए । ७५ वर्षमा टेकिरहेका उनी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायबाट अवकाश खाँदै गरेका प्राध्यापक पनि हुन् । नयाँ घरको सिँढिमा उनलाई त्रिभुवन विश्वविद्यालयले सेवामा योगदान गरेवापत दिएका तस्विरहरु छिँडी पिच्छे नै छन् । तर उनलाई ति सम्मान भन्दा पनि सिँडिमुनी घुसारिएका घुम्रीपरेका वेतका लौराको माया देखिन्थ्यो । २०७२ सालको महाभूकम्पले थिलथिलो पारेको पुरानो घर र अँध्यारो कोठामा राखिएका सरसमानहरु प्रति उनको अगाध माया गाँसिएको मैले 'फिलिङ्ग' गरेँ । उनले भने "मेरा बाजे आशामानले सुरु गरेको व्यावसायमा मेरा बुवा जीवनभर आश्रित हुनुभयो । म चाहि अर्ध आश्रित भएँ ।" कलेजमा पढाएपछि फर्केर छाता भण्डारमै काम गर्ने विद्यामानले रिटायर्ड भएपछि पनि यहिँ दिन विताइरहेका छन् । कुराको विट मार्दै उनले भने, "मेरा छोराले वैँकमा काम गर्छन् । कालिगढ पनि मरे । भूकम्पले पूरानो घर पनि थिलथिलो पार्यो । म पनि ७५ वर्षको भएँ । घर-बनुवा छाता पनि मसँगै जानेभयो ।"
२०७२ असोज ९
यो लेख २०७२ असोज २३ गते सनिवारको कान्तिपुर कोसेली वा http://kantipur.ekantipur.com/printedition/news/2015-10-10/20151010094602.html मा पनि पढ्न सकिन्छ :
No comments:
Post a Comment