Thursday, September 17, 2015

डा. के.आई. सिंहको चीन प्रवास : नेपाल र चीनबीच औपचारिक सम्बन्धको सुरुवात-पुस्तक समीक्षा

पुस्तक : डा. के.आई. सिँहको चीन प्रवास (वि.सं. २००८–२०१२), लेखक : डा. भवेश्वर पंगेनी प्रकाशक : एड्रोइट पब्लिसर्स, न्यू दिल्ली । प्रकाशित मिति : २००६ ।
डा. भवेश्वर पंगेनीद्वारा लेखिएको डा. के.आई. सिँहको चीन प्रवास (वि.सं. २००८–२०१२) पुस्तकले भन्न खोजेको मुल कुरा डा. के. आई. सिंह राष्ट्रबादी व्यक्ति थिए भन्ने हो । यसका केही तर्कहरु छन् । पहिलो उनले २००७ सालमा भएको ‘दिल्ली सम्झौता’ को विरोध गरेका थिए । यो सम्झौता नेपालमा नै हुनुपथ्र्यो । जसकारणले डा. सिँहले नेपालमा प्रजातन्त्र आएपछि पनि शसस्त्र विद्रोहलाई कायम राखेका थिए । दोस्रो, स्वतन्त्र भारतले आफ्नो छिमेकी मुलुक नेपालमा सेना परिचालन गरेर उसको स्वतन्त्र अस्तित्वमाथि धावा बोलेकोमा उनको असहमति थियो । २००७ सालको प्रजातन्त्र आएपछि पनि उनले भैरहवा मोर्चाबाट शसस्त्र विद्रोह गरिरहँदा १००० को संख्यामा भारतीय फौज आएर उनलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको थियो । यो कुराबाट उनी भारतको विरोध गरेका थिए । २००८ सालमा उनलाई बन्दी बनाएर राखिएको सिँहदरबार नै कब्जा गरेर फेरि तत्कालिन नेपाली राजनीतिमा सनसनी मच्चाएका थिए । त्यतिबेला भारतीय राजदुतले नेपालमा भारतीय सेना भित्र्याउनुपर्छ भनेर पुनः राजासमक्ष अनुरोध गरेका थिए । त्यसैले उनी नेपालमा फेरि भारतीय सेना भित्रिने डरले ‘बरु’ आफै प्रवासी हुने सोँचले उनी उत्तरतिर लागेका थिए । यो पुस्तक पढेपछि मलाई लागेको कुरा अलि भिन्नै छ । डा. सिंहको यो ‘राष्ट्रवादी’ क्रियाकलापलाई महेन्द्रीय राष्ट्रवादको जग भनेको छु । किनभने यही कारणले नेपालले अन्तर्राष्ट्रिय रुपमा नेपाल र चीनबीच सम्बन्ध स्थापना गर्न मद्दत ग¥यो । चीनबाट फर्केपछि डा. सिँहलाई प्रधानमन्त्री बनाएर राजा महेन्द्रले चीनसँगको सम्बन्धलाई प्रगाढ बनाएका थिए । जुन कालान्तरमा पञ्चायत स्थापना गर्दा काम लाग्यो । भारतीय विरोध हुँदाहुँदै पनि उत्तरी छिमेकीसँगको ‘सुटुक्क’को सम्बन्धबाट राजालाई निर्वाचित सरकार विघटन गर्न हिम्मत बढेको थियो । मैले यो पुस्तकलाई तीन मुख्य रुपले हेरेको छु । पहिलो असफल विद्रोह र चीन प्रवास, दोस्रो भारत र अमेरिकी चासो । र, तेस्रोे नेपालमा उनको लोकप्रियता र फिर्ती प्रक्रिया । असफल विद्रोह र चीन प्रवास किन के.आई. सिंहले दिल्ली संझौताको विरोध गरे ? यो प्रश्नको उत्तर यो पुस्तकमा स्पष्ट छैन । तर दिल्ली सम्झौतालाई अस्वीकार गरेकोमा नेपालमा प्रजातन्त्र आएपछि पनि भारतीय सैनिकको संलग्नतामा गिरफ्तार गरी उनलाई सिंहदरवार भित्र कैद गरिएको थियो । उनी भारतीय सैनिक नेपालमा आएकोमा एकदमै रुष्ट थिए । उनको विचारमा स्वतन्त्र भारतले त्यस्तो कदम उठाउनु राष्ट्रवादी नेपालीको लागि लाजमर्दो विषय थियो । त्यसैले उनलाई भैरहवामा पक्रेपछि उनको इच्छा ‘भारतको भूमि टेक्दिन भन्ने थियो । त्यसैले उनको इच्छा मुताविक पाल्पा, पोखरा हुँदै काठमाडौँ ल्याइएको थियो । हेपाहा प्रवृत्तिले सिँह भारतविरोधी बनेका थिए । त्यसैले उनलाई काठमाडौँमा मान्छेहरु राष्ट्रवादी भन्थे । गणेशमान बीपी, टङ्कप्रसाद आदिले पनि उनलाई यस्तो संज्ञा दिएका छन् । उनी सिंहदरवारमा कैद हुँदा सिँहदरवार नै कब्जा गरे । एक दिन सम्म । तर भारतीय फौज फेरि आउने वा नेपाली फौजसँग भिडन्त हुने भयले उनी त्यहाँबाट भागेर रसुवा हुँदै चीन प्रवासतीर लागेका हुन् । यति नै सहयोगी भन्ने नभएपनि ३० देखि ५० जनासम्मको फौजलाई लिएर उनी काठमाडौँबाट हिँडे । उनले विशाल हिमालय पर्वत देखाउँदै आफ्ना जवानहरुलाई भने ‘हामी ऊ ती हिमालहरुलाई नागेर जानुपर्छ, हिउँको बाटो हुँदै । तिमीहरुमध्ये कोही जान आँट गर्दैनौ भने यहीँ बस् । जानेहरु नेपाल आमालाई सम्झेर हिँड ।’ फौजमा २० वर्षका केदारमान श्रेष्ठ देखि ६० वर्ष पार गरेका खड्गबहादुर गुरुङहरु थिए । भुटेका मकै खाँदै तिब्बती गाउँ छिचोल्दै, हिउँले खाएको ज्यान लिएर लखतरान पर्दै उनीहरु हप्तौँ हिडेर तिब्बतको ल्हसा पुग्छन् । बाटोमा उनीहरुलाई लिन चिनीया सेनाहरु आउँछन् । खुब सम्मानपूर्वक आफ्नो निगरानीमा हप्ता महिना दिन विभिन्न ठाउँहरुमा बसाल्दै ल्हासा हुँदै पेकिङ पु¥याउँछन् । बाटोमा चिनीया सैनिकहरुले उनीहरुको उपचार गर्ने चिनीयाँ भाषा पढाउने, कम्युनिष्ट पार्टीका पुस्तकहरु पढ्न दिने गर्छन । डा. सिँहले चिनीयाँहरुले दिएको सुविधा र सम्मानले आफ्ना जवानहरुमा यतै बस्ने मोह जाग्ने हो कि भनेर उनीहरुलाई बेलाबेलामा नेपालको सम्झना दिलाउने गीत गाउन लगाउने, फर्कनको लागि शारीरिक अभ्यास गराउने काम गरिरहन्थे । पुस्तकमा चीन गएका डा. सिँहका एकजना सहयात्री केदारमान श्रेष्ठलाई उद्धृत गर्दै लेखकले लेख्छन् ः ‘चिनीया सरकारले उनीहरुको सेवामा युवतीहरु खटाउँथ्यो ।’ पेन्टी र ब्रा लगाएका चीनियाँ केटीहरु उनीहरुको विस्तारासम्म जाँदाका अनुभवहरु पनि यो पुस्तकमा उल्लेख गरिएको छ । पछि ती केटीहरुलाई डा. सिँह र साथीहरुको सल्लाहमा फिर्ता बोलाइयो । महिनौँ पछि उनीहरुमध्ये केही चीनको राजधानी पेकिङ् पुगे । त्यहाँ अध्यक्ष माओ र अन्य पदाधिकारीहरुलाई भेटे । त्यहाँ उनीहरुलाई चीनियाँ सेनाको निगरानीमा नजिकैका गाउँहरुमा जान दिइन्थ्यो । सुरुमा त उनीहरुलाई आफू चीनको पुरानो आदिवासी भएको परिचय दिनु भनेर चीनियाँ सरकारले अ¥हाएको थियो । लेखकले के.आईं सिँहले अध्यक्ष माओसँग के कुरा गरे भन्ने स्रोत फेला पार्न सकेका छैनन् । उनका क्रियाकलापबारे पनि धेरै जानकारी छैन । उनीसँग गएका एकजना केदारमान श्रेष्ठको अनुभवलाई मुख्य रुपमा प्रस्तुत गरेको छ । भारत र अमेरिकी चासो उनी प्रवासमा गएपछि भारतमा उनीबारे भारतीय अखवारमा खुबै चर्चा हुने गथ्र्यो (पेज १३६) । अमेरिकामा पनि न्युजवीक, न्यूयोर्क टाइम्सले उनको प्रवासको बारेमा पनि समाचार छापेको छ । उनको साढे तीन वर्षको प्रवासको समयमा भारतीय अखवारले विभिन्न शंका गरेको भेटिन्छ । कतिबेला उनी चीन नै गएका छैनन्, त्यहाँको गृहमन्त्रालयले झुटो बोलेको हो भनिएको छ (पेज १५६) । नेपालको उत्तरी क्षेत्रमा केही घटनाहरु हुँदा भारतीय अखवारहरुले शंकाको भरमा तीब्बतमा बसी नेपालमा खल्बली गरेको समाचार छाप्थे । जुन कुरा होइन भनी सरकारले पनि स्पष्ट गरेको थियो । यसरी भारतीय र अमेरिकी अखवारमा उनको बारेमा चर्चा भएको कुरा यो पुस्तकमा पढ्न सकिन्छ । नेपालमा उनको लोकप्रियता र फिर्ती प्रक्रिया यसबारेमा लामो गन्थन यो पुस्तकमा छ । मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा यो घटना घटेको थियो । भारतको विरोध गरेर चीन प्रवास गएकोमा त्यतिबेलाको काँग्रेस सरकारले यसलाई कम्युनिष्टहरुको उक्साहटमा यो कार्य गरेको भनी उनीहरुलाई पनि प्रतिवन्ध लगाएको थियो । सिँहदरवार काण्डमा कस्को हात थियो ? भन्ने कुरामा अन्योलजस्तो देखिएको छ । बीपीले उक्साएको हो पनि भनिएको छ । मातृका र बीपीको झगडा भैरहेको बेलामा घटेको घटना भएकाले, त्यहाँ शंका गरिएको हो । तर पँगेनीको विचारमा यो दुवैले गर्दा होइन । डा. सिंहलाई सबै मान्छेले एउटा राष्ट्रवादी व्यक्ति मानेका थिए । भर्खर प्रजातन्त्र आएको सन्दर्भमा खोलिएका विभिन्न संगठनले उनको फिर्तीको लागि कोशिस गरेका छन् । विभिन्न ठाउँबाट काठमाडौँ आएर टुँडिखेलमा दिन विताउनेहरुले पनि उनको नाउँमा संगठन खोलेर विज्ञप्ती, पर्चा निकाल्ने काम गरेका छन् ( पेज २०४) । निर्दोष व्यक्तिलाई थुनेको, थुनुवामध्ये एक जना विद्यार्थी मरेपछि यसले सरकारलाई झन कमजोर पारेको थियो । यसलाई त ‘राष्ट्रवादी’ व्यक्तिलाई नेपाली काँग्रेसले लत्याएको प्रसङ्गसँग जोडिएको छ (पेज १९६) । कम्युनिष्ट पार्टीलाई पनि यसकै बहानामा प्रतिवन्ध लगाएपछि उनीहरुको आन्दोलन पनि डा. सिँह फिर्तीसँग जोडिएको छ । काठमाडौको वुद्धिजीविको विचार पनि सिँह राष्ट्रवादी व्यक्ति हुन र उनलाई सरकारले सम्मानपूर्वक फिर्ता बोलाउनुपर्छ भन्ने नै हो । यो पुस्तकमा सिंहको फिर्तीलाई नरुचाईको बारेमा विस्तारमा कुराहरु छैनन् । खासगरी बीपी त्यसपक्षमा थिए भन्ने प्रसङ्ग भएपनि त्यसबारे विस्तारमा चर्चा छैन । त्यतिबेला नेपाली काँग्रेस सत्तामा भएपनि राजा महेन्द्र नै बलिया थिए । त्यसैले राजासँग नै फिर्ता बोलाउनुपर्छ, उनी राष्ट्रवादी व्यक्ति हुन भन्ने कुरा बुझाउने कोशिस भएको बुझिन्छ । यसै सन्दर्भमा राजाले पनि एउटा टोलीलाई भेट दिएका छन् । जसमा खड्गबहादुर गुरुङकी श्रीमती शशीकला गुरुङ पनि थिइन । उनले २००७ सालको आन्दोलनमा आफ्ना श्रीमानसँगै भारतबाट हतियार भित्र्याउने काम गरेकी थिइन । यी प्रयासका र सरकारका बीचमा भएका छलफलको कारणले डा. के आई सिँहको टोली २०१२ साल भदौमा नेपाल फर्कन्छ । उनलाई काठमाडौमा भव्य स्वागत गरिएको थियो । राजा त्रिभुवन भारत प्रवास पछि नेपाल फर्किदा वा सगरमाथा आरोही तेञ्जिङ्ग शेर्पालाई स्वागत गरिँदाको समयसँग तुलना गरिएको छ । त्यतिबेला मान्छेहरुले नारा लगाएका थिए– राणाको छातीमा गोली हान्ने को ? डा. के. आई. सिँह । दुश्मनको अगाडि शीर नझुकाउने को ? डा. के. आई. सिंह आदि नाराहरु लगाएका थिए । उनलाई स्वागत गर्ने समितिका अध्यक्ष महाकवी लक्ष्मीप्रसाद देवकोटा थिए । त्यसैगरी कवि हृदयचन्द्र सिँह प्रधान पनि थिए । पुस्तकका केही कमजोरी पुस्तक पढ्दा डा. सिंहको ‘भारतको विरोध’ लाई नेपालको राष्ट्रबादी चरित्रसँग हेरिएको हो कि, भन्ने लाग्छ । के. आई. सिँहले भैरहवा मोर्चाबाट राणा विरोधी क्रान्तिमा भाग लिँदा भारतबाटै हतियार लिएर लडेका थिए । उनको पृष्ठभूमी भारतबाटै सुरु भएको थियो । त्यसकारण उनले के कारणले दिल्ली सम्झौताको विरोध गरेका थिए ? यो जानकारी पाउन सकिँदैन । यो पुस्तकमा बीपी र उनी मार्काका कुराहरुलाई स्पष्ट राखिएको छैन । डा. सिँहका दाइना खड्गबहादुर गुरुङकी श्रीमती शशिकला गुरुङले बीपीलाई चीनबाट सिँह फर्काउ आन्दोलनमा सहयोग नगरेको भनी १२ वर्ष ढुंग्रामा राखेको कुकुरको पुच्छर बाँङ्गाको बाँङ्गै भनेर बीपीलाई व्यङ्ग्य गरेकी छिन् । बीपीहरुले किन सहयोग गरेनन् ? विस्तारमा छैन । के. आई. सिंहसँगै चीन गएका केदारमान श्रेष्ठसँगको कुराकानीलाई चीन जाँदाखेरीको वर्णन अन्तर्गत खुब प्रयोग गरिएको छ । चीनबाट फर्किँदाको उनको अनुभवलाई स्थान दिइएको छैन । दोहोरिएका कुराहरु र उनलाई नेपालमा फर्काउन गरिएका कोशिसहरुको बारेमा पढ्न बोरिङ लाग्ने किसिमले चर्चा गरिएको छ । यद्यपि, यो पुस्तक एउटा जाँगरले लेखिएको हो । ढिलै भएपनि केही पात्रहरुसँग कुरा गर्न पाएकाले लेखकले किताबलाई महत्वपूर्ण बनाउन सकेका छन् । अर्को कुरा लेखकले विभिन्न पक्षलाई विभिन्न कोणबाट पुष्टि गर्न खोज्नु प्रसंसनिय पक्ष छ । संभवभएसम्मका उपायहरु यो किताबमा प्रयोग गरिएको छ । मैले पोखराको के.आई. सिंह पुलबारे मात्र सुनेको थिएँ । तर इतिहासका महत्वपूर्ण यी पात्रकोबारेमा जान्न पाएको थिइन । अन्त्यमा डा. के. आई. सिँहको चीन प्रवास नेपाल र चीनबीचको सम्बन्ध बढाउने एउटा बाटो भएको थियो । २०१२ सालमा नेपालले चीनसँग दौत्य सम्बन्ध स्थापना पनि गरेको थियो । यसले केही प्रश्नहरु पनि खडा गरेको छ । के महेन्द्रलाई यसले दीर्घकालिन फाइदा पुगेको थियो ? किनभने भारतले नचाहँदा नचाहँदै पनि उनले २०१७ सालमा पञ्चायतको स्थापना गर्न सके । के गोप्य रुपमा चिनीया पञ्चायत प्रति चिनीया सहयोग जुटाउने जग यही थियो ? यही सोँचले चतुर राजा महेन्द्रले डा. सिँहलाई प्रधानमन्त्री पनि बनाए ।

२७ मंसीर २०६८,
 १३ डिसेम्बर, २०११
 मैतिदेवी, काठमाडौँ, राती ११ बजे ।

No comments:

Post a Comment